नेपालमा 'भदौरे गर्मी' शुरु हुने बेला हुन लाग्दा यता जापानमा पनि ग्रीष्मयाम उत्कर्षमै छ र 'नाचुयासुमी' (गर्मीबिदा) को समय शुरु भएको छ। यही मेसोमा मेरो ल्याबबाट आयोजना गरिएको दुईदिने 'ट्रिप' का केही अनुभवहरु यहाँ साट्दैछु।
'ट्रिप' का लागि रोजिएको ठाउँ थियो टोकियोको उत्तर-पश्चिममा रहेको मिनाकामी र योजनामध्येको मुख्य थियो राफ्टिङको रमाइलो। हुनत राफ्टिङको कुरा चल्ने क्रममा शुरुमै मैले एक राउन्ड 'स्पष्टिकरण' दिइहाल्नुपरेको थियो ल्याबका साथीहरुलाई। नेपाल हिमालैहिमालको देश भनेर जति नाक फुलाए पनि हिउँ नै देख्न मुश्किल भएजस्तै नेपाल नदीनालाले भरिएको देश, अझ त्यसमाथि पनि नेपालका नदीहरु राफ्टिङका लागि विख्यात भनेर के गर्नु, आफूसँग राफ्टिङको अनुभव थोपो पनि भएको होइन। त्यसैले बेला-बेलामा दिनुपर्ने यस्ता 'स्पष्टिकरण' ले भविष्यका लागि भने सचेत बनाइदिएका छन्, आफ्नै देश चिन्ने र आन्तरिक पर्यटनको महत्त्व बुझ्ने कुरामा।
जे होस्, जापानमै भए पनि राफ्टिङ लगायतको अनुभव बटुल्नका लागि अगस्ट ८ को सबेरै लागियो मिनाकामीतिर। मिनाकामीमा हाम्रो यात्राको प्रबन्ध गर्ने जिम्मा 'काप्पा क्लब' नामको स्थानीय 'आउटडोर अपरेटर' को थियो र उसैको योजना अनुसार राफ्टिङ-पोशाक लगाइवरी हाम्रो गन्तव्य तोने नदीकिनारमा पुग्दा बिहानको नौजति बजेको थियो। त्यहाँ गफगाफ चल्दै गर्दा मेरो प्रोफेसरले भन्न थाल्नुभयो - 'तिमीहरुको देशमा त राफ्टिङका लागि यस्ता ठाउँहरु थुप्रै छन् हगि!' मैले पनि पाएको बेला 'अँ, यस्ता ठाउँ त कति कति' भनिदिएँ। अनि अलिक परबाट हेर्दा तोने नदी निकै सानोजस्तो लागेकोले (खासमा नदी त्यति सानो पनि होइन रहेछ भन्ने त पछि मात्र थाहा भयो) 'यहाँको राफ्टिङ त के 'एड्भेन्चर' होला र, नेपालका नदीहरुमा बल्ल राफ्टिङको वास्तविक 'एड्भेन्चर' लिन पाइन्छ' भनेर पनि थपिदिएँ। एकपटक नेपाल पुगिसक्नुभएका गुरुबाले मेरो भनाइमा सहमति नजनाउने कुरा थिएन, बरु उहाँले नेपालको अपार जलसम्पदाका कारण जलविद्युतको ठूलो सम्भावना रहेको कुरा पनि अरु जापानीहरुलाई सुनाउनुभयो।
केहीबेरमै हाम्रो राफ्टिङ शुरु भयो, बाह्रजनामध्ये छ-छ जना दुइटा 'राफ्ट' मा बाँडिएर। त्यसमध्ये म बसेको 'राफ्ट' मा म नै एकजना 'गाइजिन' (विदेशी) भएकोले राफ्टिङ गाइडलाई मेरो बारेमा जान्ने उत्सुकता भएछ र उसले मेरो नाम सोध्यो। जापानी भाषामा ध्वनिहरु तुलनात्मक रुपमा थोरै भएकाले धेरैजसो विदेशी नामहरु त्यही रुपमा उच्चारण गर्न हम्मेहम्मे पर्छ। त्यसैले मेरो नामको उच्चारण 'ध्रुव' को सट्टा 'दुरुबा' (दो+उ+रु+बा) भएको छ जापानीमा तर राफ्टिङ गाइडले भने त्यही 'दुरुबा' लाई पनि 'दुरुजा' सुनेछ। अनि त राफ्टिङ अवधिभर मेरो नाम नै 'दुरुजा' भयो।
शुरुमा त राफ्टिङ भनेको विशुद्ध राफ्टिङ मात्र होला भन्ने बुझाई थियो मेरो तर कुरो परिदियो अर्कै। त्यहाँ त नदीको रहमा 'डाइभ' हान्नेदेखि पौडी खेलेर नदी पार गर्नेसम्मका 'इभेन्ट' थपिन थाले। अब परेन त आपत! पौडीको नाममा उही ८-९ वर्षको उमेरमा घरनजिकैको पनाहा खोलाका सानातिना रहमा डुबुल्की मारेको बाहेक आफूसँग कुनै अनुभव छैन, अहिले पौडिने कुरो कसरी आँट्नु? 'मलाई त पौडिन आउँदैन' भनेर पछि हट्न खोजेको सबैजनाले 'हामीलाई पनि आउँदैन, ल ल कोशिस गरीहेरौँ' भन्ने थाले। मेरो पालो म पनि सुरिएँ। तर उनीहरुले आउँदैन भन्नु र मैले आउँदैन भन्नुमा कति अन्तर रहेछ भन्नेचाहिँ त्यतिखेर मात्रै थाहा भयो जतिखेर पानीमा अतासिएर फनफनी घुमेको घुम्यै भइयो। त्यसपछि गाइडलाई पछ्याउँदै पानीबाट बाहिर निस्किनुपर्दा अघिको 'एड्भेन्चर' शब्दले मात्रा पुग्ने गरी आफैँलाई गिज्याएजस्तो लाग्यो। मेरो हालत त्यस्तो छ तर अघि 'मलाई पनि पौडिन आउँदैन' भन्ने जापानी साथीहरु भने मज्जाले पौडिँदै छन्। यसको मतलब उनीहरुले झुटो बोलेका थिएनन् तर उनीहरुका लागि पौडी आउनुको अर्थ त्यसमा पूर्ण दक्ष हुनु थियो जबकि उनीहरुलाई जति पौडी आउने भएको भए म आफूलाई ठूलै पौडीबाजको दर्जामा राखिसकेको हुने थिएँ। बुझाइमा यस्तो अन्तर अक्सर पर्ने गर्छ जापानीहरुसँग व्यवहार गर्दा। त्यतिबेला मैले मेरा केही नेपाली साथीहरुलाई सम्झिएँ जो जापानीहरुलाई बुझ्दै नबुझी उनीहरुभन्दा आफू खुबै चलाख भएको भ्रम पालेर रमाउनमा पछि परेका छैनन्।
पौडी खेल्न आउने त कुरा थिएन तर पनि जोशैजोशमा 'डाइभ' समेत हान्ने दुस्साहस गरेको सम्झिँदा भने अहिले पनि हाँसो उठिरहेको छ। आखिर अनुभवै त हो। तर पनि पौडी खेल्न फिटिक्कै नजान्दाको अवस्था भने निकै लाजमर्दो भयो, जस्तो होला भनेर त्यस दिनसम्म कहिल्यै लागेकै थिएन। त्यहाँ हेरेको जापानी केटाकेटीदेखि बूढाबूढीसम्म पौडी नआउने कोही पनि देखिएनन्। एउटा 'दुरुजा' नै 'नमुना' भयो त्यहाँ र 'दुरुजा' को मतलब थियो एउटा प्रतिनीधि नेपाली। खासमा पौडी लगायत खेलकुदका विभिन्न क्रियाकलापहरु विद्यालयस्तरको पढाइसँगै सिकाइन्छन् जापानमा (र निश्चय नै अरु विकसित देशहरुमा पनि) तर हाम्रो शिक्षाप्रणालीको कुरै बेग्लै, जहाँ 'शारीरिक शिक्षा' लाई ऐच्छिक विषयकै रुपमा पढेको विद्यार्थी मजस्तो भएर निस्किन्छ :)
राफ्टिङ सकाएर १२ बजेतिर दिउँसोको खाना खाइवरी एकछिन आराम गरेपछि पालो आयो 'सावर क्लाइम्बिङ' (shower climbing) को। 'अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ' भनेजस्तो 'सावर क्लाइम्बिङ' मा पनि हुस्सु भइने हो कि भन्ने डर थियो तर धन्न त्यस्तो केही भएन। 'सावर क्लाइम्बिङ' भनेको ठाडो बगिरहेको खोलामा एक किसिमको 'पर्वतारोहण' (mountaineering) जस्तो रहेछ। खोलैखोल हिँड्न र पानीमा चिप्लेटी खेल्न खासै सीप चाहिने कुरा भएन, अलिकति आँट भए पुग्ने। त्यसैले 'सावर क्लाइम्बिङ' को चाहिँ पूरै रमाइलो लिन पाइयो राफ्टिङको तुलनामा।
साँझपख 'बार्बेक्यु' को छुट्टै रमाइलो भयो। तर बिहान पनि सबेरै उठ्नुपरेको र दिनभरि जीउ थाकेर लखतरान भएकोले हतार भने सबैलाई सुत्नकै थियो, त्यसैले चाँच्चाँडै ओछ्यान तताउने काम भयो। भोलिपल्ट बिहान उठ्दा जीउ हल न चल हुने अवस्थामा हुनु स्वभाविकै थियो। तर गुरुबा र केही जापानी साथीहरुलाई भने टेनिस खेल्न जाने हतार भैसकेको थियो। त्यसैले बिहानको नास्ता लिइसकेपछि टेनिस कोर्टतिर लागियो, जहाँ आफूले पनि अलि-अलि खेलेजस्तो गर्नैपर्यो। टेनिस सकिएपछि दिउँसोको खाना खाने उपक्रम पनि टुङ्ग्याइयो र पालो आयो 'ओन्सेन' (तातोपानी) मा नुहाउन जाने।
जापानीहरुसँग 'ओन्सेन' मा जाँदा निर्वस्त्र भएर जानुपर्छ भन्ने कुरा नेपालदेखि नै सुनेको हुनाले मनमा कौतुहलता र असहजता दुवै थियो। नाङ्गै भने पनि सर्वाङ्ग नाङ्गै नै हुने चाहिँ होइन होला जस्तो लागेको थियो तर हुने त सर्वाङ्ग नाङ्गै नै रहेछ। यसो हेरेको त गुरुबा लगायत सबैजना मजाले कपडा फुकाल्दै छन्, बिना कुनै संकोच। एउटा मात्र निर्वस्त्र हुने र अरुले कुरीकुरी गर्ने भए पो लाज हुने रहेछ त, सबैजना निर्वस्त्र हुँदा केको लाज! त्यसैले एकछिनमै मेरो पनि लाजशरम भाग्यो अनि 'लङ्गडाको देशमा गए खुट्टा उचाल्नु, कानाको देशमा गए आँखा छोप्नु' भन्ने आहानलाई शिरोधार्य गरेँ। यसरी जापान आएको लामै समयपछि भए पनि 'ओन्सेन' को रमाइलो अनुभव समेत बटुलियो। र अन्त्यमा, दिउँसो तीन बजेतिर फेरि टोकियो फर्किनका लागि हाम्रो टोली रवाना भयो।
Friday, August 13, 2010
Friday, August 6, 2010
हाइकुको जमर्को
१.
पर क्षितिज
एकतमास मन
दैनिकी उस्तै
२.
भ्रान्तिको धारा
जीवनको दर्शन
बोध अमूल्य
३.
बहर गोरु
होक्काँ गर्ने रहर
रक्ताम्मे सिङ
४.
ओरालो बाटो
थामिनसक्नु वेग
यात्रा जारी छ
पर क्षितिज
एकतमास मन
दैनिकी उस्तै
२.
भ्रान्तिको धारा
जीवनको दर्शन
बोध अमूल्य
३.
बहर गोरु
होक्काँ गर्ने रहर
रक्ताम्मे सिङ
४.
ओरालो बाटो
थामिनसक्नु वेग
यात्रा जारी छ
Labels:
कविता-काव्य
Saturday, June 12, 2010
'समयको इतिहास' पढ्दाको अनुभव
नयाँ विषयवस्तुमा कलम चलाउन मेसो नमिलिरहेको अवस्थाको उपज भनौँ वा कम्प्युटरमा सुरक्षित यो पुरानो लेखोटप्रतिको मोह, आज ब्लगमा यसैलाई बाँड्न मन लाग्यो। हुनत यो टाँसो 'पुरानो रक्सी, पुरानै बोतल' जस्तो पनि हुन सक्छ किनभने हकिङको यो पुस्तक आफैँमा नयाँ होइन (पहिलो संस्करण १९८८ मा निस्केको रहेछ) अनि मैले पढेको पनि झण्डै डेढ वर्ष पुग्न थालेछ। तैपनि अहिलेलाई यही पस्किएँ :)
अल्बर्ट आइन्स्टाइनको समयपछिका सबैभन्दा तिक्ष्ण वैज्ञानिक प्रतिभा भनेर चिनिएका भौतिकशास्त्री स्टेफन हकिङद्वारा लिखित चर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम: फ्रम द बिग ब्याङ टु ब्ल्याक होल्स्' (अर्थात् 'समयको संक्षिप्त इतिहास: महाविष्फोटदेखि काला छिद्रहरुसम्म') पढ्ने रहर पहिलेदेखि नै थियो । तर सो रहर पुरा गर्ने मौका भने भर्खरै मात्र जुर्यो । वास्तवमा पुस्तकको नाम नै आफैमा अचम्मको छ । हामीले सामान्य अर्थमा बुझ्दा समय त्यस्तो निरन्तर प्रवाह हो जसको न कुनै शुरुवात छ न कुनै अन्त्य नै । तर हकिङको पुस्तक पढ्दै जाँदा थाहा हुन्छ - समयको शुरुवात र अन्त्य त ब्रहृमाण्डको शुरुवात र अन्त्यसँग पो जोडिएको रहेछ । ब्रहृमाण्डको उत्पत्तिभन्दा पूर्व वा ब्रहृमाण्डको विलयपश्चात् समय भन्ने चिजको पनि कुनै अर्थ नहुँदो रहेछ । यर्सथ यो पुस्तक हाम्रो ब्रहृमाण्डको उत्पत्ति, यसको विकासक्रम, वर्तमान स्वरुप र भविष्यबारेको भौतिकशास्त्रीय दृष्टिकोणको नालीबेली हो ।
विभिन्न धर्मशास्त्रहरुले दैवीशक्तिलाई आधार बनाई ब्रहृमाण्डका बारेमा आआफ्नै ढङ्गले चर्चा गरेका भए पनि वैज्ञानिक अवलोकन र अनुसन्धानहरुका आधारमा ब्रहृमाण्डका बारेमा नयाँभन्दा नयाँ जानकारी हासिल गर्ने र अन्तिम सत्य (अल्टिमेट ट्रुथ) सम्म पुग्ने प्रयास भने जारी नै छ । यस पुस्तकमा यिनै प्रयासहरुलाई क्रमबद्ध रुपमा सरल भाषामा प्रस्तुत गरिएको छ । ईसापूर्व ३४० मा ग्रीक दार्शनिक एरिस्टोटलले पहिलोपल्ट पृथ्वी प्लेटजस्तो चेप्टो आकारको नभई गोलाकार भएको दावी गरेका थिए । त्यसपछि विभिन्न कालखण्डमा टोलेमी, कोपर्निकस, केप्लर, ग्यालिलियो आदि वैज्ञानिकहरुले गरेका खोजअनुसन्धानबाट पृथ्वी मात्र होइन, अन्तरिक्षमा रहेका अन्य ग्रह र नक्षत्रहरुको बारेमा समेत बढी विश्वसनीय जानकारी हासिल गर्ने क्रम जारी रहयो । सन् १६८७ मा सर आइज्याक न्यूटनले 'प्रिन्सिपिया म्याथमेटिका' भन्ने पुस्तक पकाशित गरेपछि त झन् गुरुत्वाकर्षण बलको सिद्धान्तका आधारमा ग्रह, उपग्रह आदिको अवस्थिति, तिनको आपसी चाल, तिनले अनुसरण गर्ने कक्ष आदिबारे ठिकठिक जानकारी लिन सम्भव भयो । तर अर्कोतर्फ न्यूटनको यसै सिद्धान्तले ब्रहृमाण्ड स्थीर नभई गतिशील वा विस्तार भइरहेको अवस्थामा रहेको इङ्गित गर्यो, जुन कुरा त्यतिबेला न्यूटन आफैलाई समेत विश्वास गर्न गाह्रो भयो । पछि सन् १९२९ मा अमेरिकी खगोल वैज्ञानिक एड्विन हबलले गरेको खोजबाट ब्रहृमाण्ड साँच्चिकै विस्तार भइरहेको पत्ता लाग्यो । यसले ब्रहृमाण्ड स्थीर छ र अनादिकालदेखि यही रुपमा छ भन्ने मान्यतालाइ खण्डन गरिदियो र ब्रहृमाण्डको शुरुवात अनन्त घनत्व भएको अत्यन्तै सुक्ष्म र तातो पिण्डको विष्फोटन अर्थात् 'बिग ब्याङ' बाट भएको हो भन्ने मान्यता स्थापित भयो ।
तर यतिले मात्र ब्रहृमाण्डसम्बन्धि रहस्यहरु सुल्झिएका छैनन्, बरु थुप्रै नयाँ जिज्ञासाहरु थपिएका छन् । ब्रहृमाण्डको व्याख्या गर्न अहिले वैज्ञानिकहरु बीसौं शताब्दीको पूर्वार्द्धका दुई ठूला सिद्धान्तहरु सापेक्षताको सामान्य सिद्धान्त र क्वान्टम यान्त्रिकीको सहायता लिन्छन् । यी दुवै सिद्धान्तहरु आफैमा भौतिक विज्ञानका ठूला उपलब्धि भए पनि यिनीहरु एकआपसमा बाझिने खालका पनि छन्, जसका कारण हकिङ र उनीजस्ता सैद्धान्तिक भौतिकशास्त्रका अनुसन्धाताहरुको लक्ष्य भनेको यी दुवै सिद्धान्त समेटिने गरी 'एकिकृत पूर्ण सिद्धान्त' विकास गर्नु हो । यसै सिद्धान्तलाइ हकिङले 'ब्रहृमाण्डको अन्तिम सिद्धान्त' पनि भनेका छन् । हुनत यस्तो सिद्धान्त अहिलेसम्म अनुसन्धानकै विषय रहिआएको छ तर यस्तो सिद्धान्तका आधार र विशेषताहरुबारे पुस्तकमा सविस्तार चर्चा गरिएको छ । पूर्ण सिद्धान्तसम्बन्धि आफ्नो पछिल्लो खोजलाइ प्रस्टयाउने क्रममा उनले प्रस्तावित 'स्ट्रिङ् सिद्धान्त' को बारेमा समेत उल्लेख गरेका छन्, जसमा कुनै पनि पदार्थ आधारभूत कणहरुको सट्टा लम्बाइ भएका तर मोटाइ नभएका स्ट्रिङ् अर्थात् डोरीजस्ता वस्तुहरुबाट बनेको हुन्छ ।
यदि हकिङ र अन्य भौतिकशास्त्रीहरुले खोज गरेजस्तै ब्रहृमाण्डको अन्तिम सिद्धान्त पत्ता लाग्यो भने त्यसले अहिलेसम्मको मानवीय ज्ञानमा कस्तो प्रभाव पार्ला त? पुस्तकमा यस सम्बन्धमा रमाइलो ढङ्गले वर्णन गरिएको छ । न्यूटनको पालासम्म कुनै पनि एउटा शिक्षित मानिसले मानवजातिले हासिल गरेका ज्ञानहरुको बारेमा मोटामोटी नै भए पनि सम्पूर्ण जानकारी राख्न सक्थ्यो । तर त्यसपछिको समयमा विज्ञान र प्रविधिमा भएको तीव्र विकासले यो कुरा असम्भव बनाउँदै लग्यो । आजको दिनसम्म आइपुग्दा त कुनै सानो विषयवस्तुबारे राम्ररी बुझन समेत सम्बन्धित क्षेत्रकै विशेषज्ञ हुनुपर्ने अवस्था छ । तर 'एकिकृत पूर्ण सिद्धान्त' आइसकेपछि भने यो अवस्था रहने छैन । हकिङ भन्छन् - यस्तो पूर्ण सिद्धान्त एकाध वैज्ञानिकहरुले मात्र नभई वृहत् अर्थमा सबैजनाले बुझ्न सक्नेछन् । त्यतिखेर हामी सबैजना, दार्शनिकहरु, वैज्ञानिकहरु र सर्वसाधारणहरु सँगै बसेर ब्रहृमाण्डको बारेमा छलफल गर्न सक्नेछौं । साँच्चै त्यस्तो समय कति टाढा होला - कल्पना मात्रैले पनि रोमाञ्चित बनाउँछ । रोमाञ्चित नबनाओस् पनि कसरी, यो कुनै काल्पनिक विज्ञान उपन्यासको प्रसङ्ग नभएर वास्तविकतामा आधारित वैज्ञानिक अनुसन्धानले औँल्याएको कुरा पो हो त ।
स्वभाविक हो, सबै मानिसले गल्ती गर्छन् । वैज्ञानिक खोजअनुसन्धानका कममा वैज्ञानिकहरुबाट पनि गल्ती नहुने कुरै भएन । अझ विज्ञानको इतिहास त झन् गल्ती गर्दै र तिनै गल्तीबाट सिकेर थप समृद्ध हुँदै अघि बढेको पाइन्छ । आफूले गरेको एउटा यस्तै गल्तीलाइ स्वीकार्दै हकिङ भन्छन् - गल्ती नस्वीकारी अघि बढेर गल्तीमाथि गल्ती गर्दै जानु वा त्यसबाट पन्छिन खोज्नुभन्दा लिखित रुपमा गल्ती स्वीकार्नु धेरै बेस हो । यस सन्दर्भमा उनले आइन्स्टाइनलाई असल उदाहरणको रुपमा लिएका छन्, जसले ब्रहृमाण्डलाई स्थीर देखाउनका लागि प्रयोग गरेको 'ब्रहृमाण्डीय अचल' (कस्मोलोजिकल कन्स्ट्यान्ट) लाई पछि आफ्नो जिन्दगीको सबैभन्दा ठूलो गल्ती भनेका थिए ।
यस पुस्तकको सबैभन्दा ठूलो विशेषता भनेकै भौतिकशास्त्रका सामान्यदेखि जटिलसम्मका सिद्धान्तहरुलाई साधारण मानिसले बुझ्ने भाषामा व्याख्या गर्दै ब्रहृमाण्डसम्बन्धि अध्ययनमा तिनको अन्तर्सम्बन्ध केलाइनु हो । आफू पनि विज्ञान र प्रविधि क्षेत्रकै एउटा विद्यार्थी भएको हिसाबले मैले अनुभव गरेको कुरा के हो भने जुन सिद्धान्त र परिकल्पना (हाइपोथेसिस) हरु पाठयपुस्तकमा पढ्दा अत्यन्तै पट्यारलाग्दा र अमूर्त लाग्छन्, तिनै कुरालाई यस पुस्तकमा यति चाखलाग्दो तरिकाले वर्णन गरिएको छ कि नजानिंदो पाराले विज्ञान र त्यसमा पनि भौतिकशास्त्रप्रतिको मोह चुलिएर जान्छ । ब्रहृमाण्डको व्याख्या गर्ने क्रममा आउने विभिन्न वैज्ञानिकहरु र उनीहरुले गरेका खोजअनुसन्धानका चर्चाहरु तथा तीसँगै जोडिएर आउने नोबेल पुरस्कारका प्रसङ्गहरुले त पुस्तकलाई एकैसासमा पढी सिध्याउन पाए हुन्थ्योजस्तो बनाइदिन्छन् ।
समष्टिमा भन्नुपर्दा यो पुस्तक ब्रहृमाण्डको भूत, वर्तमान र भविष्यबारे तर्कपूर्ण जिज्ञासा राख्ने सबैले एकपटक पढ्नैपर्ने पुस्तक हो । अझ त्यसमा पनि विज्ञानका विद्यार्थीहरुले त यो पुस्तक छुटाउनु नै हुँदैनजस्तो लाग्छ ।
२०६५/१०/०९
पाटनढोका, ललितपुर

पुस्तक अनुभव,
विज्ञान-प्रविधि
Saturday, May 15, 2010
मैलो देशमा धमिलो माओवादी राजनीतिबारे
'अन्तिम धक्का', 'महान् प्रयोग', 'तेस्रो जनआन्दोलन' इत्यादि नामका साथ एनेकपा माओवादीले सडकको 'सुन्दर प्रयोग' गरिरहँदा डा. जुगल भुर्तेलले कान्तिपुर पत्रिकामा लेखेका थिए - 'आमहडतालको भयंकर ब्रह्मास्त्र उचालेर 'सुकिला विरुद्धको युद्ध' लड्न हिंडेको माओवादीले विश्वको सबैभन्दा अकिञ्चन मुलुक बन्ने दिशातिर उन्मुख नेपालमा सुकिला मान्छे नगन्यप्रायः छन् भन्ने ख्याल गरेन। फलस्वरूप उसले मुलुक ठप्प पार्दा मैला मान्छे नै सबैभन्दा बढी पीडित भएका छन्।' डा. भुर्तेलको 'कित्ता' तोकेर उनको लेखको जस्तो अर्थ लगाउन सकिए पनि माओवादीको मनोगत राजनीतिले उसलाई आत्मघाती बाटोतर्फ हिँडाउँदै गरेको भने पछिल्ला घटनाक्रमले प्रष्ट देखाइरहेका छन्।
खुलामञ्चमा 'सुकिलामुकिला' विरुद्ध चर्का गालीगलौज गरेर 'मैलाधैला' जनताको मन जित्ने ढोँग गरिएको भए पनि अहिले धेरैले उठाएको प्रश्न हो - के माओवादी 'मैलाधैला' जनतालाई 'सुकिलामुकिला' बनाउन साँच्चै प्रतिवद्ध छ त? उसको आवेश, घुर्की र सत्तालोलुपतामा आधारित राजनीति हेर्दा ऊ 'मैलाधैला' जनतालाई 'सुकिलामुकिला' बनाउनतर्फ हैन कि 'सुकिलामुकिला' लाई पनि 'मैलाधैला' बनाउन अग्रसर देखिन्छ भन्ने आरोपमा सत्यको अंश भेटिन्छ। देशलाई झनपछि झन् तन्नम अवस्थामा पुर्याएर ल्याइने 'जनवाद' पोलपोट शैलीको 'जनवाद' भन्दा फरक हुन सक्दैन। हुनत देश तन्नम अवस्थामा पुग्नुमा २४० वर्षदेखिको इतिहास भट्याउँदै अनेक कारण दिन सकिएला, अहिलेको सरकारका मन्त्रीहरुलाई औँल्याएर आफू सरकारमा हुनुपर्ने जिकिरमा थप जोड दिन पनि सकिएला, तर मौका आउँदा आफू अरुभन्दा फरक हुन नसकेपछि अरुको विरोध गर्ने नैतिकता पनि खस्किँदै जान्छ। माओवादीले अहिलेसम्म पाएको सफलता उसको स्पष्ट मार्गचित्र र दूरदृष्टि नभै अन्य राजनीतिक पार्टीहरुको अकर्मण्यता र आपसी झिनाझप्टीको परिणाम मात्र रहेछ भन्ने अब छर्लङ्ग भैसकेको छ। निश्चित छ, माओवादीले अब त्यो सुविधा किमार्थ पाउने छैन। माधव नेपालको सरकार अपेक्षा गरिए विपरित झन्-झन् बलियो देखिनुमा दक्षिणी 'प्रभु' को आशिर्वाद आफ्नो ठाउँमा होला, त्योभन्दा बढी माओवादीको अर्घेल्याइँ जिम्मेवार छ। दक्षिणी 'प्रभु' को हस्तक्षेपकारी भूमिकाकै कुरा गर्दा पनि इतिहासले प्रचण्डको उट्पट्याङ र पाखण्डी राष्ट्रवादलाई नै दोषी देखाउने कुरामा शंका छैन।
'जबसम्म विचार ठिक हुन्छ, तबसम्म सबै ठिक हुन्छ,' माओवादीहरुले सबैभन्दा बढी दोहोर्याउनेमध्येको वाक्य हो यो। तर यहाँ समस्या विचार बिग्रिएपछि नै उत्पन्न भएको छ। माओवादीले अहिले पनि विचारको राजनीति गरिरहेका छौँ भन्नु जति हाँस्यास्पद कुरो के होला र ! एउटा झूठलाई सयचोटि दोहोर्याएर सत्य बनाउनु र मार्क्सवादको जामा पहिर्याउँदै त्यसैको सैद्धान्तिकरण गर्नु नै माओवादीको अहिलेको परिचय भएको छ। त्यसैले त 'फ्युजनवाद' को रुपमा विकास गरिएको 'प्रचण्डपथ' ले कुनै दिन गाईको गोबर र मानव मलको 'फ्युजन' गर्ने भन्यो भने पनि आश्चर्य नमाने हुने अवस्था छ। माओवादीहरुले 'बूढो गोरु' को संज्ञा दिने मोहनविक्रम सिंह माओवादीहरुको छेँडेको 'जनयुद्ध' लाई निम्नपूँजीवादी स्वार्थबाट प्रेरित 'शहीदको खेती' भन्दै आलोचना गर्ने गर्थे। सिंहको आफ्नै राजनीतिक इमान्दारिताको धरातल कस्तो छ भन्नेबारेमा धेरै चर्चा गर्नु नपर्ला तर अहिलेको माओवादी राजनीतिले उनको आरोपलाई भने खण्डन हैन, पुष्टि नै गर्दै छ।
यति हुँदाहुँदै पनि माओवादी नेतृत्वको मति फिरोस् र उसले आफैँ उठाएका मुद्दाहरु एउटा टुङ्गोमा पुर्याउन उसको सकारात्मक योगदान रहोस् भनेर कामना गर्नुको विकल्प छैन। देशमा उत्पन्न यावत् समस्याको जड माओवादी हो र माओवादीहरुलाई निषेध गर्नेबित्तिकै देशले यी सबबाट चुड्कीको भरमा मुक्ति पाउँछ भन्ने सोँच राख्नेहरुको कमी छैन। उनीहरुलाई सही सावित गर्ने कि गलत, त्यो धेरै हदसम्म माओवादीहरुकै क्रियाकलापमा भर पर्नेछ। बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन।

Monday, May 3, 2010
ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा
यसपालिको 'सुनौलो सप्ताह' (Golden Week) को बिदाको मेसो पारेर साथीहरुसँग ओकुतामा ताल (奥多摩湖, Okutama-ko) तिर घुम्न जाने कार्यक्रम बन्यो। टोकियो शहरमा खानेपानी आपूर्तिको लागि एउटा मुख्य स्रोतको रुपमा रहेको उक्त तालको बारेमा हामी कसैलाई खासै ज्ञान नभए पनि इन्टरनेटमा उपलब्ध सामान्य जानकारीकै भरमा पदयात्राको रमाइलो लिने उद्येश्यले त्यहाँ जाने निधो भएको थियो। कहिलेकाहीँ यसरी सिमित जानकारीका भरमा गरिने यात्रा झन् बढी रोमाञ्चक हुँदो रहेछ। जताजता पुगे पनि ठिकै छ, रमाइलो गर्नेसम्म त हो भनेजस्तो।
वसन्त ऋतुको पारिलो दिनमा जङ्गलको बाटो हुँदै उचाइका हिसाबले हाम्रोतिरका चुरेका डाँडाहरुजस्तै लाग्ने होचा पहाडहरु उक्लिएर तालसम्म पुग्दाको मजा नै बेग्लै थियो। तलतिर छङछङाउँदै बगिरहेको तामा खोला (Tamagawa) अनि रङ पोतेर सजाएजस्तो देखिने थरिथरि रङका रुखहरुले ढपक्क ढाकिएको वारिपारिको दृश्यावलीले गर्दा आतेजाते करिब पाँच घण्टाको पैदल यात्रा निकै अविस्मरणीय बन्यो। सँगसँगै जापानीहरुको विकास र सम्पन्नताका पछाडि रहेको उनीहरुको इच्छाशक्ति र दूरदर्शितालाई केही नजिकबाट नियाल्ने अवसर पनि बन्यो यो यात्रा। तामा खोलामा १४९ मिटर अग्लो ओगोची बाँध (Ogōchi Dam) बाँधेर निर्माण गरिएको ओकुतामा तालको इतिहास हेर्दा हामीले सिक्न सक्ने कुरा धेरै रहेछन्।
आजभन्दा धेरै पहिले सन् १९२६ मै कम्तिमा सय वर्षसम्म टोकियो शहरको खानेपानीको माग धान्ने गरी योजना बनाएर सन् १९३८ देखि ओगोची बाँधको निर्माण शुरु गरिएको रहेछ। बीचमा दोस्रो विश्वयुद्धका कारण १९४३ देखि १९४७ सम्म निर्माण कार्य रोकिएको र युद्धपछि देशको आर्थिक अवस्था तहसनहस भएको भए पनि १९५७ मै बाँधको निर्माणकार्य सम्पन्न हुनु चानचुने कुरा पक्कै थिएन होला। जापानीहरुको उसबेलादेखिको लगनशीलता र दीर्घकालीन सोँचकै कारण आज टोकियोको खानेपानी वितरण प्रणाली संसारकै ठूलो र उत्कृष्टमा गनिन्छ।
अर्कोतर्फ हामीकहाँ भने योजनाबद्ध विकासको लामो चरण पार भैसक्दा पनि 'योजनाबद्ध' ढंगले सोँच्ने परिपाटीकै विकास हुन नसकेको हो कि भन्नुपर्ने अवस्था छ। खानेपानी भनौँ या बिजुलीबत्ती, बाटोघाटो भनौँ या उद्योगधन्दा, हाम्रो सोँच केही वर्ष परसम्म पनि जान सकेको देखिँदैन। काठमाडौंको सडक धुने चर्का कुरासँगै शुरु भएको महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजना पूरा हुने बेलासम्म (आशा गरौँ पूरा चाहिँ पक्कै हुनेछ !) त्यही बेलाको माग धान्न आयोजना सक्षम हुँदैन भन्छन् स्वयम् सम्बन्धित नीतिनिर्माताहरु। लोडसेडिङ्को चर्को मारले देशलाई ढुंगेयुगतर्फ लैजाँदै गर्दा पनि न त हामीसँग भविष्यका लागि भरपर्दो उर्जा योजना देखिन्छ न त साथमा भएको योजनामा परेका आयोजनाहरुको शिघ्र कार्यान्वयनमा कुनै तदारुकता नै। पूर्वी तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रुपमा हामीहरु विपी राजमार्गको चर्चा गरिरहेका हुन्छौँ तर राजमार्गको चौडाइ हेर्दा अर्को त्रिभुवन राजपथको झल्को आउँछ। के-के विषयमा मात्रै कुरा गर्नु ! राजनीति बिग्रिएको देशमा सबै कुरा यस्तै भद्रगोल हुने रहेछन् भनेर जेजस्ता बेथितिलाई पनि सामान्य रुपमा लिनुपर्ने अवस्था छ।
राजनीति सुध्रिँदैमा अर्थात् एकखालको स्थिरता आउँदैमा पनि स्थिति आफसेआफ राम्रो हुने होइन। जबसम्म अलि पछिसम्म, अलि टाढासम्म हाम्रा लागि हामी आफैँ सोँच्न सक्ने हुँदैनौँ, तबसम्म विकास र सम्पन्नता आकाशकै फल हुनेछन्।
तल यात्राको क्रममा लिइएका केही तस्वीरहरु हेर्न सक्नुहुनेछ। तस्वीरहरुका लागि बुद्धजीलाई विशेष धन्यवाद !

जापान,
तस्वीर,
यात्रा-संस्मरण-अनुभूति
Tuesday, April 13, 2010
नयाँ वर्ष २०६७ शुभ रहोस्
विक्रम सम्वतको नयाँ वर्ष २०६७ भोलिदेखि शुरु हुँदैछ। चरम अवसरवादी राजनीति र स्वनामधन्य 'डेढ-अक्कलवादी' हरुको अक्कलको तारो विक्रम सम्वत पनि बन्न पुगेको छ अहिलेको 'नयाँ नेपाल' मा। त्यसैले कहिले बिना कुनै व्यवहारिक तयारी नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा गर्ने होड हुन्छ भने कहिले इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउने हल्ला चल्छ। मौलिकताका हिसाबले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ वा बदलिँदो विश्व परिवेशमा छरितोपनका लागि अन्तरराष्ट्रिय रुपमा प्रचलनमा रहेको इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ भन्ने तर्कहरु आफैँमा अनुचित होओइनन् तर वर्षौँदेखि आम नेपाली जनमानसमा भिजेको र आफ्नै किसिमको वैज्ञानिकता बोकेको विक्रम सम्वतप्रति पूर्वाग्रह राखिनु चाहिँ काग बढी बाठो भएर आची खानु बराबर नै हो। तर के गर्ने हामीकहाँको अन्त्यहीन प्रतीत हुने संक्रमणकालको मूल विशेषता नै यस्तै 'बाठोपन' देखिन्छ।
खैर, यी कुरालाई यहीँ छोडेर अहिलेलाई भने यहाँहरु सबैमा नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
नयाँ वर्ष २०६७ सबै हिसाबले शुभ रहोस्, मंगलकारी रहोस्!!

Yet the timeless in you is aware of life's timelessness, And knows that yesterday is but today's memory and tomorrow is today's dream.
-- Khalil Gibran

समसामयिक
Sunday, March 21, 2010
गिरिजाप्रसादको अवसान र स्तुतीगानको हाम्रो संस्कृति
मृत्यु कसैको पनि प्रिय हुँदैन। त्यसमाथि पनि पाँच-पाँच पटकसम्म देशको प्रधानमन्त्री भैसकेको, उमेर र अनुभवका हिसाबले सबैको अभिभावक भन्न मिल्ने नेताको मृत्यु दु:खको विषय बन्नु स्वभाविक हो। तर बाँचुञ्जेल गुमनाम वा बदनाम भएकाहरुलाई समेत मृत्युपछि महान् भन्दै स्तुतीगान गर्ने हाम्रो तुच्छ परम्पराकै निरन्तरता मान्नुपर्ला, गिरिजाप्रसाद कोइरालाको मृत्युसँगै अलौकिक राजनीतिक व्यक्तित्त्वका रुपमा उनको आदर्शीकरण गर्ने होडबाजीलाई।
पक्कै पनि नेपाली राजनीतिमा गिरिजाप्रसादको समग्र भूमिका मूल्यांकन गर्न त्यति सजिलो छैन, तर भावनामा नबहकिकन भन्दा उनी कुनै ‘महानायक’, ‘लोकनायक’ वा ‘युगपुरुष’ हुनै सक्दैनन्। तर गाली गर्दा होस् या स्तुती गर्दा, सन्तुलित हुन नसक्ने हाम्रो बानी न पर्यो, अखबारका पानाहरुदेखि फेसबुकका ‘स्ट्याटस’ हरुसम्ममा गिरिजाप्रसादका नामका अगाडि भएभरका विशेषण जोडिएका छन्। कतिले त ‘राष्ट्रपिता’ समेत भनिदिन भ्याइसकेछन्। धन्य हाम्रो लहडी मानसिकता!
शोकको घडीमा सुन्दा अप्रिय लागे पनि यथार्थ के हो भने २०४६ सालको राजनीतिक परिवर्तनपछिको नेपाली राजनीतिका सबैभन्दा विवादास्पद पात्र नै गिरिजाप्रसाद हुन्। उनी सत्ताभित्र वा सत्ताबाहिर जहाँ हुँदा पनि नेपालको राजनीति उनकै वरिपरि घुम्यो तर यो घुमाइ फगत घुमाइ सावित भयो किनभने यसले एउटा प्रष्ट दिशा कहिल्यै लिन सकेन। त्यसैले राजनीतिमा खासै चासो नलिनेहरुले समेत दिक्क मान्दै भनेको सुनिन्थ्यो - यो देशमा गिरिजा नमरेसम्म केही नहुने भयो।
आफ्नै दाजु बीपी कोइरालाबाट ‘हवल्दार’ को संज्ञा पाएका गिरिजाप्रसादको राजनीतिक आरोहण कुशल नेतृत्वशैली वा राजनीतिक दूरदृष्टिका कारण नभै षडयन्त्र र तिकडमका कारण भएको देखिन्छ। सत्ता र शक्तिका लागि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता आफ्नै पार्टीका वरिष्ठ नेताहरुलाई अपमानपूर्ण तरिकाले पाखा लगाउन पछि नपरेका उनी एकन्ताक इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्रीको रुपमा समेत चिनिएको तथ्य कसैबाट छिपेको छैन। तर तमाम दुर्गुणका बाबजुद २०५९ असोज १८ मा तत्कालिन राजा ज्ञानेन्द्रले चालेको प्रतिगामी कदमपछि त्यसका विरुद्ध प्रजातन्त्रका पक्षमा उनले देखाएको प्रतिवद्धता र 'माले, मसाले, मण्डले एकै हुन्' भन्ने पूर्वाग्रही सोँचबाट माथि उठेर माओवादी युद्धको अन्त्य गराई शान्ति प्रकृयाको शुरुवातका लागि उनले खेलेको सकारात्मक भूमिकाले उनको उचाइ चुलिएको थियो। जीवनको उत्तरार्द्धमा हासिल गरेको त्यो उचाइ कायम राख्न सकेका भए गिरिजाप्रसाद राजनेताको रुपमा आदरणीय त बन्थे नै, देशको गोलचक्करवादी राजनीतिले पनि एउटा टुङ्गो पाउँथ्यो होला। तर अपसोचको कुरा, उनी फेरि पनि आफ्नो संकीर्णताको घेराबाट माथि उठ्न सकेनन्। आफ्नी नालायक र बेसोमत छोरीको महत्त्वाकांक्षा पूर्तीका लागि आफ्नो सारा राजनीतिक जीवन दाउमा लगाउँदै आधुनिक धृतराष्ट्रको परिचय बनाउनु उनले उचित देखे र त्यही परिचयका बीच नै उनको इहलीला समाप्त भयो।
यति हुँदाहुँदै पनि गिरिजाप्रसादमा केही यस्ता सशक्त पक्ष थिए, जसले गर्दा नेपाली राजनीतिमा उनको रिक्तता भने पक्कै पनि महशुस हुनेछ। पदीय र राजनीतिक-कुटनीतिक मर्यादा बिर्सिएर निकै सस्तो गरी प्रस्तुत हुने नेताहरुको बीचमा गिरिजाप्रसाद मात्रै त्यस्ता नेता थिए जो आफूलाई ओजपूर्ण रुपमा प्रस्तुत गर्न सक्थे। बिना कुनै अड्कल मुखमा जे आयो त्यो बोल्दै हिँड्ने स्वभाव उनको थिएन, त्यसैले उनी जे बोल्थे, त्यसले सबैलाई तरंगित पार्थ्यो। पारिवारिक विरासतका साथै उनका यिनै गुणले गर्दा पनि हुनुपर्छ, क्षेत्रीय र अन्तरराष्ट्रिय रुपमा समेत उनको व्यक्तित्त्व स्थापित हुन पुगेको। आफ्नो उमेर, अनुभव र प्रभावका कारण विवादका विषयमा निर्णायक हस्तक्षेप गर्न सक्ने उनीजस्तो नेताको अभाव अहिलेको संक्रमणकालमा खट्किने कुरामा शंका छैन। गिरिजाप्रसादको मृत्युसँगै उनीसँग सामीप्यता दर्शाउँदै उनको महिमागानमा समय खर्चने नेताहरुले उनलाई ‘महामानव’ को रुपमा प्रस्तुत गर्नुभन्दा उनका सकारात्मक पक्षलाई चिनेर अनुसरण गर्ने चेष्टा मात्रै गर्न सके पनि धेरै हुन्थ्यो होला।
अन्त्यमा, गिरिजाप्रसाद कोइरालाको दिवंगत आत्माको चीरशान्तिको कामना।

Subscribe to:
Posts (Atom)