मृत्यु कसैको पनि प्रिय हुँदैन। त्यसमाथि पनि पाँच-पाँच पटकसम्म देशको प्रधानमन्त्री भैसकेको, उमेर र अनुभवका हिसाबले सबैको अभिभावक भन्न मिल्ने नेताको मृत्यु दु:खको विषय बन्नु स्वभाविक हो। तर बाँचुञ्जेल गुमनाम वा बदनाम भएकाहरुलाई समेत मृत्युपछि महान् भन्दै स्तुतीगान गर्ने हाम्रो तुच्छ परम्पराकै निरन्तरता मान्नुपर्ला, गिरिजाप्रसाद कोइरालाको मृत्युसँगै अलौकिक राजनीतिक व्यक्तित्त्वका रुपमा उनको आदर्शीकरण गर्ने होडबाजीलाई।
पक्कै पनि नेपाली राजनीतिमा गिरिजाप्रसादको समग्र भूमिका मूल्यांकन गर्न त्यति सजिलो छैन, तर भावनामा नबहकिकन भन्दा उनी कुनै ‘महानायक’, ‘लोकनायक’ वा ‘युगपुरुष’ हुनै सक्दैनन्। तर गाली गर्दा होस् या स्तुती गर्दा, सन्तुलित हुन नसक्ने हाम्रो बानी न पर्यो, अखबारका पानाहरुदेखि फेसबुकका ‘स्ट्याटस’ हरुसम्ममा गिरिजाप्रसादका नामका अगाडि भएभरका विशेषण जोडिएका छन्। कतिले त ‘राष्ट्रपिता’ समेत भनिदिन भ्याइसकेछन्। धन्य हाम्रो लहडी मानसिकता!
शोकको घडीमा सुन्दा अप्रिय लागे पनि यथार्थ के हो भने २०४६ सालको राजनीतिक परिवर्तनपछिको नेपाली राजनीतिका सबैभन्दा विवादास्पद पात्र नै गिरिजाप्रसाद हुन्। उनी सत्ताभित्र वा सत्ताबाहिर जहाँ हुँदा पनि नेपालको राजनीति उनकै वरिपरि घुम्यो तर यो घुमाइ फगत घुमाइ सावित भयो किनभने यसले एउटा प्रष्ट दिशा कहिल्यै लिन सकेन। त्यसैले राजनीतिमा खासै चासो नलिनेहरुले समेत दिक्क मान्दै भनेको सुनिन्थ्यो - यो देशमा गिरिजा नमरेसम्म केही नहुने भयो।
आफ्नै दाजु बीपी कोइरालाबाट ‘हवल्दार’ को संज्ञा पाएका गिरिजाप्रसादको राजनीतिक आरोहण कुशल नेतृत्वशैली वा राजनीतिक दूरदृष्टिका कारण नभै षडयन्त्र र तिकडमका कारण भएको देखिन्छ। सत्ता र शक्तिका लागि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता आफ्नै पार्टीका वरिष्ठ नेताहरुलाई अपमानपूर्ण तरिकाले पाखा लगाउन पछि नपरेका उनी एकन्ताक इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्रीको रुपमा समेत चिनिएको तथ्य कसैबाट छिपेको छैन। तर तमाम दुर्गुणका बाबजुद २०५९ असोज १८ मा तत्कालिन राजा ज्ञानेन्द्रले चालेको प्रतिगामी कदमपछि त्यसका विरुद्ध प्रजातन्त्रका पक्षमा उनले देखाएको प्रतिवद्धता र 'माले, मसाले, मण्डले एकै हुन्' भन्ने पूर्वाग्रही सोँचबाट माथि उठेर माओवादी युद्धको अन्त्य गराई शान्ति प्रकृयाको शुरुवातका लागि उनले खेलेको सकारात्मक भूमिकाले उनको उचाइ चुलिएको थियो। जीवनको उत्तरार्द्धमा हासिल गरेको त्यो उचाइ कायम राख्न सकेका भए गिरिजाप्रसाद राजनेताको रुपमा आदरणीय त बन्थे नै, देशको गोलचक्करवादी राजनीतिले पनि एउटा टुङ्गो पाउँथ्यो होला। तर अपसोचको कुरा, उनी फेरि पनि आफ्नो संकीर्णताको घेराबाट माथि उठ्न सकेनन्। आफ्नी नालायक र बेसोमत छोरीको महत्त्वाकांक्षा पूर्तीका लागि आफ्नो सारा राजनीतिक जीवन दाउमा लगाउँदै आधुनिक धृतराष्ट्रको परिचय बनाउनु उनले उचित देखे र त्यही परिचयका बीच नै उनको इहलीला समाप्त भयो।
यति हुँदाहुँदै पनि गिरिजाप्रसादमा केही यस्ता सशक्त पक्ष थिए, जसले गर्दा नेपाली राजनीतिमा उनको रिक्तता भने पक्कै पनि महशुस हुनेछ। पदीय र राजनीतिक-कुटनीतिक मर्यादा बिर्सिएर निकै सस्तो गरी प्रस्तुत हुने नेताहरुको बीचमा गिरिजाप्रसाद मात्रै त्यस्ता नेता थिए जो आफूलाई ओजपूर्ण रुपमा प्रस्तुत गर्न सक्थे। बिना कुनै अड्कल मुखमा जे आयो त्यो बोल्दै हिँड्ने स्वभाव उनको थिएन, त्यसैले उनी जे बोल्थे, त्यसले सबैलाई तरंगित पार्थ्यो। पारिवारिक विरासतका साथै उनका यिनै गुणले गर्दा पनि हुनुपर्छ, क्षेत्रीय र अन्तरराष्ट्रिय रुपमा समेत उनको व्यक्तित्त्व स्थापित हुन पुगेको। आफ्नो उमेर, अनुभव र प्रभावका कारण विवादका विषयमा निर्णायक हस्तक्षेप गर्न सक्ने उनीजस्तो नेताको अभाव अहिलेको संक्रमणकालमा खट्किने कुरामा शंका छैन। गिरिजाप्रसादको मृत्युसँगै उनीसँग सामीप्यता दर्शाउँदै उनको महिमागानमा समय खर्चने नेताहरुले उनलाई ‘महामानव’ को रुपमा प्रस्तुत गर्नुभन्दा उनका सकारात्मक पक्षलाई चिनेर अनुसरण गर्ने चेष्टा मात्रै गर्न सके पनि धेरै हुन्थ्यो होला।
अन्त्यमा, गिरिजाप्रसाद कोइरालाको दिवंगत आत्माको चीरशान्तिको कामना।
You are right
ReplyDeleteगुण र अबगुण तुलना गर्ने मानिसै पिच्छेका आआफ्नै आधारको कारणले होला - कसैको नजरमा गिरिजा "युगपुरुष" देखिन्छन कसैको नजरमा "युगदानब"
ReplyDeleteमेरो विचारमा दुईटा कुरा एउटा कुरा चाहिं पक्का हो ... गिरिजाको लेबलको शातिर नेता नेपालमा कहिले पनि देखिएन... भ्रस्टचारको मामिलामा गिरिजा भन्दा फरक नेता कहिले पनि देखिएन
अन्तिम प्याराग्राफहरु चित्त बुझ्दा लागे....
कुरा चित्त बुझ्ने लाग्यो । असल वा खराव जे भएपनि त्यसको यथार्थीय धरातलमा बसेर लेखा जोखा गरिनुपर्छ भन्ने मेरो पनि मान्यता हो ।
ReplyDeleteउनका योगदानको अवमूल्यन गर्नु हुँदैन, तर आवेश प्रेरित मनस्थितिमा आएर उनलाई 'राष्ट्रपिता' वा 'महामानव'को संज्ञा दिनु पनि गल्ति नै हुने छ ।
उनकै मार्ग चित्रमा हिँडेको देशले शान्तिको सास नफेर्दाको स्थितिसम्ममा उनलाई यस्ता आलंकारीक शब्दका खोक्रा सम्मान दिनु तपाइले भने जस्तै 'लहडि मानसिकता' मात्रै हो ।
उनको आत्माको चीरशान्तिको कामना गर्दछु ।
प्रतिकृया व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद।
ReplyDeleteगाली गर्दा होस् या स्तुती गर्दा, सन्तुलित हुन नसक्ने हाम्रो बानी न पर्यो ।
ReplyDeleteगाँठीकुरो नै यै हो । न गाली गर्दा सन्तुलित भएर गर्न सक्छौँ हामी न कसैको गुणगान गाउँदा । समग्रमा लेख चित्त वुझ्दो लाग्यो मलाई । मेरो पनि धारणा यस्तै यस्तै छ । तर शोकको यो घडिमा किन नराम्रा कुरा गर्ने भनेर हिच्किचाएको थिएँ । हामीलाई वास्तविक राजनेता चाहिएको छ । देशलाई अग्रगमनतर्फ लैजाने । हामीलाई नेपाल र नेपालीको मुहार उज्यालो भएको हेर्ने रहर छ । कामन गरौँ, यि चाहनाहरू पुरा हुनेछन् ।
निकै दमदार बहस उठाउनु भएको रहेछ पन्थिजिले | मलाई पनि चर्काचर्की गरूँ जस्तो लाग्यो |
ReplyDelete१. राजनीतिक जीबनको शुरुवातमा प्राय: सबैजना हवल्दार नै हुन्छन, पन्थिजी | बिस्तारै परिपक्व हुँदै जाने हो| अहिले सबैभन्दा बढी हवल्दारहरु माओबादी पार्टीमा र अलि कम एमाले र कांग्रेसमा छन् जस्तो लाग्छ मलाई |
२. कांग्रेस पार्टीको संगठनमा गिरिजाप्रसादको निकै ठूलो पकड हुनुमा उनको लगन , खटन र कार्यकर्तासंग घुलमिल हुने बानी प्रमुख कारण हुन्, तिकडम मात्रै भन्दा अलि नमिलेको हो कि? राजनीति न पर्यो | गणेशमान र भट्टराई संगठनका हिसाबले निकै कम्जोर थिए, सजिलै पाखा लागे | छंदा खाँदाको संसद ढालेर भने नगर्नु गरेका हुन् है तेतिबेला |
३.भ्रष्टाचारको छेउ टुप्पो त गिरिजा मात्रै होइन, कुनै पनि नेताले भेटेको छ जस्तो लाग्दैन मलाई |
४-१० सम्म कुरा, तपाईंले भनेकामा सहि थाप्छु म| ११.मर्ने बेलामा छोरीलाई अलि माथिसम्म पुर्याएर, साथीलाई प्रधानमन्त्रिको कुर्चीमा बसाएर मरुँ भन्ने लाग्यो होला बिचरालाई, भैगो छोडदिनुस, अब प्रचन्डले त छोडिदिएजस्तो जस्तो छ|
चित्तबुझ्दो विश्लेषण!
ReplyDeleteधन्यवाद अशेषजी, चैतन्य सर अनि वसन्त सर।
ReplyDeleteचैतन्य सरको 'चर्काचर्की' को कुराले मञ्जुलको एउटा कविताको सम्झना गरायो। कविताको भाव थियो - गाली नै गर्नु छ भने चराहरुले जस्तो गर, सुन्न त मजा आउँछ :)
प्रसंगवश यहाँ गिरिजाप्रसादसँग जोडिएको भए पनि 'हवल्दार' प्रवृत्ति हाम्रा धेरै नेताहरुको साझा विशेषता नै हो। ठ्याक्कै मात्रा किट्न त नसकिएला तर 'नयाँ नेपाल' बनाउने भनेर हिँडेको माओवादी पार्टीमा 'हवल्दार' प्रवृत्तिको जगजगी भएको कुरामा म पनि तपाईंसँग सही थाप्छु। संगठन निर्माणमा गिरिजाप्रसादको आफ्नैखालको 'कुशलता' थियो तर त्यो 'कुशलता' को शिकार कैयौँ समर्पित नेता-कार्यकर्ता भएको कुरा मात्रै मैले संकेत गर्न खोजेको हुँ। भ्रष्टाचारको कुरा गर्दा गिरिजाप्रसाद एक्लैलाई आरोप लगाउन पक्कै पनि मिल्दैन तर उनी भ्रष्टाचारको मामिलामा पनि सबैभन्दा अग्ला नेता ठहरिएकै हुन्। अब 'भावुक' प्रचण्डको त झन् के कुरा गर्नु, उनको 'चमत्कार' नै यस्तै 'छोड्नु' मा देखिन्छ।
चिरफार 'जनआँखो' बाटै भएको पाएँ, बिनापूर्वाग्रह ।
ReplyDeleteपक्कै पनि हौवामा बहकिने हाम्रो बानी नै हो । महामानव, युगपुरुष के-कति थिए गिरिजा, उनको समग्रतालाई केलाउनुपर्ने हुन्छ । जसरी एक पक्षको हेराइबाट कुनै पनि वस्तुको चित्रण सम्भव छैन, उसै गरी एउटा व्यक्तिको अनेकौँ आयाम एक हेराइ र विश्लेषणमा पूरा उत्रिँदैन ।
गिरिजा खासमा न असल नेता थिए, न सफल राजनीतिज्ञ । र पनि उनको उपस्थिति सराप्नैपर्ने कोटिको थिएन । नेतृत्वको इमानमा उनको टिकाउ अलि चञ्चलताबीच घुम्यो, भावनात्मक बहकाउमा रुमल्लिए । तर अन्य (नेपाली) नेताभन्दा धेरै मानेमा उनी पत्यारिला नेता थिए ।
धन्यवाद धाइबाजी, विश्लेषणात्मक प्रतिक्रियाका लागि।
ReplyDelete