२०६४ सालको असोज महिनातिरको कुरा हो। पहिलोपल्ट जागिर भन्ने चिजको अनुभव लिने क्रममा हेटौंडामा थिएँ। बिदाको दिन भएकोले कोठामा टीभी खोलेर रिमोट तल-माथि गराउँदै बसिरहेको बेला साथी सुरेन्द्रको फोन आयो। काठमाण्डौबाट आफ्नो घर जनकपुरतर्फ जाने क्रममा बस बिग्रिएर ऊ हेटौंडामा रोकिएको रहेछ। त्यसैले ऊसँग भेट हुन बस बनाउँदै गरेको ग्यारेजमा पुगेँ। गफगाफ चल्दै गर्दा सुरेन्द्रले जनकपुर जाउँ भन्न थाल्यो। जनकपुर जाने रहर त मलाई पनि पहिलेदेखि नै थियो। तर पछि कुनै बेला समय मिलाएर मजाले घुम्ने गरी जाउँला नि भनेको उसले मान्दै मानेन। लौ त जाने भने जाने भनेर मैले पनि हिँड्ने ‘मूड’ बनाइहालेँ। एकैछिनमा बस बन्यो र हामी लाग्यौँ जनकपुरतर्फ।
बाटो त लागियो तर जनकपुर बन्दको दिन पो परेछ। नेपालमा, खासगरी पूर्वी मधेसमा, बन्द-हड्ताल सामान्य नै बनेको समय पर्यो त्यो। साँझ पर्नै आँटेको बेला ढल्केवर पुगेपछि जनकपुरतिर छिर्न पाइने हो कि हैन भन्ने द्विविधा भयो एकैछिन तर भाग्यवश जनकपुरसम्म सजिलै पुगियो। समस्या चाँहि जनकपुरबाट सुरेन्द्रको गाउँ हर्दियासम्म पुग्न देखियो। हर्दिया जनकपुर-जलेश्वर मूलसडकमै पर्ने भए पनि बन्दले गर्दा गाडी पाइने सम्भावना थिएन। फेरि रातको समय र भय-त्रासको वातावरणको के कुरा गर्नु? आखिरमा डर मान्दै नै भए पनि जनकपुरमै बस्नुहुने सुरेन्द्रको भान्जदाइले मोटरसाइकलमा दुवैजनालाई राखेर पुर्याइदिनुभयो हर्दियासम्म।
खै यो बन्द-हड्तालको हल्लाले त कतै पनि घुमघाम गर्न नपाइने भो कि क्या हो भन्ने आशंकासँगै त्यो रात बिताइयो। धन्न भोलिपल्ट बन्दको हल्ला सुनिएन र अलिकता राहत महशुस गर्दै बिहानको चिया पिएर सुरेन्द्र र म जलेश्वरतर्फ लाग्यौँ। घरबाट निस्किनै लाग्दा सुरेन्द्रकी हजुरआमा सोध्दै हुनुहुन्थ्यो – “बस चलैछै?” मैले मैथिलीमै “अँ, बस चलेको छ” भनेर उत्तर दिने प्रयास गर्दा सुरेन्द्रलाई पछिसम्म हाँसोको विषय बन्यो।
जलेश्वर पुग्दा मधेसका औसत शहरहरुकै झल्को आउँथ्यो। पछिल्लो समयमा चर्केको मधेस आन्दोलनका चिन्हहरु देखिन्थे यत्रतत्र। त्यहाँको प्रसिद्ध जलेश्वर महादेवको दर्शन गरेर सुरेन्द्रको मामाघरमा खाना खाइसकेपछि सीमावर्ती बजार मटिहानी घुम्न जाने कुरा भयो। तर जलेश्वरबाट मटिहानीसम्म पुग्ने बाटोको अवस्था साह्रै नाजुक रहेछ। भर्खरैको वर्षाले गर्दा ठाउँठाउँमा बाटो छेँडेर ‘नदी’ वारपार भैरहेका रहेछन्। त्यसैले मोटरसाइकलमाभन्दा साइकलमा जान उचित हुने देखियो र एउटा साइकल लिएर लाग्यौँ मटिहानीतिर। दुईजनालाई एउटा साइकल, सास्ती र रमाइलो दुवै भयो। सुरेन्द्रको ज्यान हेरेर चलाउनको धौले पछाडि बस्छु भनेको, बस्न झन् आपत्। बरु सुरेन्द्रलाई बसालेर आफै साइकल चलाएँ पछि त।
मटिहानी, नेपालकै पुरानोमध्येको संस्कृत पाठशाला भएको ठाउँ। तर त्यहाँको वर्तमान अवस्था हेर्दा वैराग मात्र लाग्ने रहेछ। ऐतिहासिक मटिहानी मठ पनि जीर्ण र परित्यक्तजस्तै लाग्थ्यो। मटिहानीसँग टपक्क टाँसिएरै बसेको रहेछ भारतीय बजार मधवापुर। दशगजा भनिने अन्तरराष्ट्रिय सिमाना खुम्चिएर हराएजस्तै देखिन्थ्यो त्यहाँ। भारतीय बजारतर्फ लाग्दै गर्दा सरकार-प्रशासनविहिन लाग्ने नेपालतर्फको सीमा देखेर फेरि एकचोटि नरमाइलो अनुभव भयो।
मटिहानी वरपर घुमिसकेपछि जलेश्वरतर्फ फर्किँदै थियौँ। अलिक वर सुगा भन्ने गाउँमा केही केटाकेटीहरु बाटोमा खेल्दै थिए। उनीहरु खेलिरहेको ठाउँबाट अगाडि बढ्न नपाउँदै एउटा बच्चाको तिखो स्वर कानमा ठोक्कियो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?" मैले आवाज आएतिर हेरेँ तर त्यसो भन्ने बच्चालाई ठ्याक्कै ठम्याउन सकिनँ। शायद आफूहरुसँग खेल्न बोलाएको अर्को साथी नआइदिँदा उसले त्यो ‘डाइलग’ बोलेको थियो क्यारे। मैथिलीभाषी गाउँमा उसले बोलेको त्यो शुद्ध हिन्दी ‘डाइलग’ बलिउडको कुनै सिनेमाबाट प्रभावित थियो वा गाउँकै कुनै बुज्रुकको मुखबाट सुनेर उसले नक्कल गरेको थियो, त्यो त थाहा भएन तर उसको भनाइले हामी दुवैलाई अचम्मित र केही हदसम्म स्तब्ध पनि बनाइदियो। अनि मैले सम्झिन थालेँ हात्ती र कमिलाका प्रसंगहरु। हात्ती ठूलो हुनु र कमिला सानो हुनुमा नाथे पढाइको कुनै साइनो नभएको कुरासँग त हामी भलिभाँती परिचित नै थियौँ। तर भर्खर अक्षर चिन्दै गरेको उमेरको बालकको त्यो अभिव्यक्तिले खण्डित हुँदै गैरहेका हाम्रा सामाजिक मूल्य र मान्यतालाई थप उदांगो पारेजस्तो लाग्यो। हाम्रा कहिल्यै नटुंगिने आन्दोलन र विद्रोहका कथाले यस्तै मानकहरु पो स्थापित गर्दैछन् कि? 'कम्निस्ट' राजनीतिमा लागेकी एकजना क्याम्पसे दिदीको धेरै पहिलेको एउटा ‘दर्शन’ पनि सम्झना भयो। “तिम्रो ब्याकपेपर क्लियर भयो त नानी?” भनेर कसैले सोधिदिँदा लज्जित हुनुपरेपछि उनले "हामी त राजनीति गर्ने मान्छे, समाज नै हाम्रो विश्वविद्यालय हो, यो बुर्जुवा शिक्षाको के कुरा गर्नुहुन्छ?" भन्दै घोकेर कण्ठ पारिएको जस्तो लाग्ने ‘दर्शन’ सुनाएकी थिइन्। धन्य हो हाम्रो तर्कशीलता ! यस्ता तर्क सुने भने त वास्तविक अर्थमा समाजलाई विश्वविद्यालय बनाएका म्याक्सिम गोर्कीहरु नै तीनछक पर्न बेर छैन।
यस्तै कुरा कहिले मनमा खेलाउँदै र कहिले आपसमा गफिँदै जलेश्वर फर्कियौँ र त्यहाँ केहीबेर भुलेर जनकपुरतिर बाटो ततायौँ। जनकपुर पुग्दा साँझ परिसकेको थियो। भजनकिर्तनमय जानकी मन्दिर पुग्दा बेग्लै खालको आनन्द अनुभव भयो। त्यहाँको रमाइलो माहौलले गर्दा दिउँसो नै जनकपुर घुम्न नपाएकोमा पछुतो मान्नुपरेन। अनि झमक्क साँझ परिसकेको भए पनि फेरि आउने कहिले हो कहिले भन्दै त्यहाँ वरपरका मठमन्दिर, तालतलैया लगायत बाह्रबिघा मैदानतिर पनि घुमियो। जनकपुर पुगेपछि जेनतेन अस्तित्व धानिरहेको नेपालकै एकमात्र रेल पनि हेर्न छुटाउनु भएन। त्यसैले रेलवे स्टेसन पनि पुगियो। घुमघाम सकाएपछि त्यस दिन त्यहीँ सुरेन्द्रको सानीमाको घरमा बस्यौँ। भोलि त मलाई बिहानै फर्कनुपर्ने थियो दिउँसोसम्म भए पनि अफिस पुग्ने गरी।
भोलिपल्ट बिहानै मोटरसाइकलमा ढल्केवर पुगेर पश्चिम जाने गाडी कुरेर बसेको त एउटै गाडी आउँदैन। फेरि अर्को बन्दको पो हल्ला रहेछ। लौ आज फसिने भइयो कि क्या हो भनेको धन्न केहीबेरमा एउटा बस आइपुग्यो। सुरेन्द्रसँग बिदा भै म हतार-हतार बस चढेँ र लागेँ आफ्नै कर्मस्थलतर्फ।
यसरी बिना कुनै योजना र बन्दैबन्दको आतंकका बीच पनि रमाइलो र अविस्मरणीय रहने गरी सकियो मेरो छोटो जनकपुर यात्रा। सबैभन्दा अविस्मरणीय भने त्यही ‘डाइलग’ रह्यो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?"
[पहिलोपल्ट प्रकाशित टाँसोमा भूलचुकमा परेका केही अंशहरु सामान्य परिमार्जन गरेको छु।]
Wednesday, November 25, 2009
Friday, November 13, 2009
गजल
यसपाली पुरानो संकलनबाट एउटा गजल राख्न मन लाग्यो। गजलको सामान्य नियमसँग परिचित रहे पनि मेरो यो रचना ठ्याक्कै गजल बनेको छ कि छैन, त्यसको बारेमा सुझाव र प्रतिकृयाको आशा गर्दछु। गजल भनेपछि गेयात्मकता पनि हुनुपर्छ भन्छन् क्यार, म चाँहि त्यसैमा निश्चित हुन सक्दिन। तैपनि यसलाई गजल भनेरै पस्केँ अहिलेलाई :)
मेरो विश्वासकी प्रतिमूर्ति मनभित्रकी रानी तिमी
राराको दहजस्तै शान्त तर कञ्चन पानी तिमी
हाँसो मात्रै कति मीठो ती अधरमा छचल्किएको
एकनास हेरिरहुँजस्तो लाग्ने आँखाकी नानी तिमी
झर्किँदा पनि कति मायालाग्दो गरी झर्किएकी
त्यसैले त भनेको नि, बिछट्टकी ज्ञानी तिमी
तिमी टाढा हुँदा पनि तिम्रै आभा खोजिहिँड्छु
नमेटिने, नरित्तिने सम्मोहनकी खानी तिमी
खोल्न त सकिन कहिल्यै मनका कुरा तिमीसँग
तर पनि मुटुभित्र छापिएकी मेरी कहानी तिमी
२०६५/१२/०५
पाटनढोका, ललितपुर

Labels:
कविता-काव्य,
पुरानो संकलनबाट
Sunday, November 8, 2009
विज्ञान, वैज्ञानिक र हाम्रो नियति
नेपाल ईन्जिनियर्स एशोसिएसन जापान च्याप्टरले टोकियो विश्वविद्यालयमा आयोजना गरेको आजको वर्कशपमा विशुद्ध अध्ययन अनुसन्धानका अतिरिक्त थुप्रै समसामयिक विषयमा सुसूचित हुने अवसर जुर्यो। यसै क्रममा डा. सूर्यराज आचार्यले उठाउनुभएको एउटा प्रसंगले आफूलाई पनि केही समयदेखि खट्किरहेको यस विषयमा केही लेख्दैछु।
डा. आचार्यले उठाउनुभएको त्यो प्रसंग थियो - विज्ञान र प्रविधिको क्षेत्रमा हाम्रो टिठलाग्दो अवस्था झल्काउने गरी केही दिन अघि एउटा राष्ट्रिय दैनिकमा छापिएको ब्यानर न्यूज। साधनस्रोतको कमी र भौतिक विकासमा पछि परेको कुरा त छँदैछ, त्योभन्दा पनि विज्ञान-प्रविधिमा हाम्रो सोचाइको स्तर कति पछाडि छ भन्ने दर्शाउने शायद त्यो एउटा प्रतिनिधि समाचार थियो। यस्ता खबरहरु नेपाली मिडियामा आइरहन्छन्। हाइस्कूल/प्लस टूमा पढ्दै गरेका वा अन्य कोही सिकारु व्यक्तिलाई रातारात 'वैज्ञानिक' बनाइदिन पछि पर्दैनन् नेपाली मिडियाहरु। तर 'नेपालमा नयाँ आर्किमिडिज' शिर्षकको पछिल्लो समाचार अझ बढी ताज्जुबको किन थियो भने आर्किमिडिजको सिद्धान्त गलत सावित गर्ने विद्यार्थी गणितमा स्नातकोत्तर गर्दै रहेछन् र उनको दावीसँग सहमत हुनेमा एकजना फिजिक्स टिचर पनि रहेछन्। आजको युगको अध्ययन अनुसन्धानको प्रकृति प्राचीन ग्रीसको वा सत्रौँ-अठारौँ शताब्दीतिरको यूरोपको जस्तो पक्कै छैन। कुनै पनि सिद्धान्त अकाट्य हुन्छ भन्ने होइन तर आर्किमिडिजको सिद्धान्तजस्तो आधारभूत सिद्धान्तलाई नेपालका प्रयोगशालामा गलत प्रमाणित गरिएछ भन्ने सुने भने हामीमाथि कति हाँस्लान् विज्ञानको अनुसन्धानको बारेमा सामान्य ज्ञान मात्रै राख्ने मान्छेहरु समेत।
हुनत सम्बन्धित मिडियाकर्मीहरुको आशय राम्रो होला; सीप र प्रतिभा भएका अनि केही उदाहरणीय काम गर्न खोजेकाहरुलाई प्रोत्साहन गर्नु पक्कै पनि राम्रो हो। तर समस्या के हो भने साधारण पत्रकार मात्र होइन, राष्ट्रिय पत्रिका चलाएर बस्ने बडेबडे सम्पादकहरुलाई पनि थाहा छैन आविस्कार केलाई भनिन्छ वा वैज्ञानिक कसलाई भनिन्छ। थाहा हुँदो हो त कहिले नयाँ आर्किमिडिज जन्मेको अनि कहिले प्लस टू पढ्ने कुनै विद्यार्थीले अल्वर्ट आइन्स्टाइनको सिद्धान्तलाई गलत सावित गरिदिएको भनेर हाहोमै चाहिनेभन्दा ज्यादा महत्व दिएर लेखिएका यस्ता समाचार पढ्नुपर्थेन होला।
मेरो कुरा कसै-कसैलाई पटक्कै चित्त नबुझ्ला तर हामी आशावादी वा सकारात्मक बन्ने नाममा दिग्भ्रमित बन्नु पनि त जाती हुँदैन होला। केही समय अघिसम्म म पनि यस्ता समाचारलाई सकारात्मक ढंगले लिनुपर्छ भन्ने सोच्थेँ तर म गलत रहेछु भन्ने त्यतिखेर थाहा भयो जतिखेर एकन्ताक 'हेलिकप्टर वैज्ञानिक' भनेर मिडियाद्वारा चर्चामा ल्याइएका नवीन विश्वकर्माको बारेमा धेरै अन्तरालपछि एउटा टेलिविजन कार्यक्रममार्फत जान्ने अवसर पाएँ। उनी रुकुमको दुर्गम गाउँका बालक थिए तर रहर र परिश्रमले हेलिकप्टरको दुरुस्त मोडेल बनाउन सफल भएका थिए। नवीनको सिर्जनशीलता र लगन मुक्तकण्ठले प्रशंसा गर्न लायकको थियो। तर काठ वा फलामबाट हेलिकप्टरको मोडेल (आर्किटेक्चर) बनाउनु र वास्तविक हेलिकप्टरको विज्ञान बुझ्नु अनि त्यसलाई व्यवहारमा उतार्नुमा आकाश-जमीनको अन्तर थियो। त्यसैले स्वभाविक रुपमा उनको सिर्जनशीलताले चर्चा त पायो तर सही दिशा पाएन। केही समाजको (अतिरन्जित) अपेक्षा र केही आफ्नो रहरका कारण उनीभित्र हेलिकप्टर बनाउने धुन त अझै छ होला तर निराशा र गुनासो बढी सुनिन्थ्यो उनको बोलीमा।
नवीनको जस्ता कथा बोकेका अरु पनि थुप्रै होलान्। आज मिडियाले किशोर र युवा 'वैज्ञानिक' बनाइदिएकोमा दंग पर्दा भोलिको सही बाटो पहिल्याउन चुकियो भने दु:ख भोग्ने तिनै किशोर र युवाहरु हुनेछन्। र, हामी हाम्रो कमजोरी थाहा पाउनेतर्फभन्दा पनि नियतिलाई धिक्कार्नेतर्फ लाग्ने छौँ। यसको मतलब हामी सधैं हीन सोच राखेर, विज्ञान बुझ्नु वा वैज्ञानिक बन्नु भनेको हाम्रो वशको कुरा होइन भनेर पुर्पुरोमा हात लगएर बस्ने पक्कै पनि भन्न खोजिएको होइन। कुरो के मात्रै हो भने हामी दुनियाँ कता गैरहेको छ भन्ने वास्तविकतासँग पनि परिचित हुनुपर्यो। अरुहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो क्षमतामा निखार ल्याउनेतिर सोच्नुपर्यो। आखिर नेपालीका छोराछोरीले विदेशीलाई समेत हाँक दिएका वास्तविक सफलताका कथा पनि त छन् नि हैन र? बाग्लुङको एउटा स्कूले किशोरले सोलार प्यानल जोडेर गाडी चलाएर देखाउँछ भने उसको सिर्जनशीलतालाई सकारात्मक बाटोतिर कसरी डोर्याउने भन्नेतिर मिडियाले प्रचार गरिदिने हो। उसलाई सोलार कार वैज्ञानिक वा उसको कार्यलाई प्राविधिक चमत्कार भनेर फूलबुट्टा भर्ने होइन।
तपाईंलाई कस्तो लाग्छ कुन्नी?

विचार,
विज्ञान-प्रविधि,
समसामयिक
Subscribe to:
Posts (Atom)