आज उनी ल्याबमा नआएको दिन परेको थियो। उनी अर्थात् ल्याबका हर्ताकर्ता एकजना सिनियर रिसर्चर। किन हो कुन्नि, उनको अनुपस्थिति सबैलाई प्रिय बन्छ। उनी हुँदा पनि सबैजना हाँसोठट्टा, रमाइलो गरिरहेकै हुन्छन् तर उनी नहुँदा चुपचापै बसे पनि मानसिक शान्ति हुने भएर हो कि! उनको उपस्थिति वा अनुपस्थितिसँग मलाई खासै सरोकार त हुँदैन तर उनी ल्याबमा नआएको दिन एउटा कुरामा भने म पनि निश्चिन्त हुन्छु - आज ल्याबमा सबैको 'मुड' ठिकठाक छ र उनीहरुसँग कुनै सल्लाह-सहयोग माग्नुपरे उपयुक्त समय यही हो।
उनी नभएकै भएर होला, अरु दिन राती सात-आठ बज्दासम्म हल न चल भई बस्नेहरु आज पाँच नबज्दै 'ओसाकिनी' भन्दै निस्कन थालिसकेका थिए। त्यसैले अन्तिममा बाँकी बँच्नेमा मेरो एकजना 'सेम्पाई' र म मात्रै भयौँ ल्याबमा। अनि त झमझम पानी परिरहेको साँझको फाइदा उठाउँदै 'नोमिखाई' जाने योजना बनिहाल्यो। एकछिनमै हामीहरु पुग्यौँ नजिकै पर्ने सिमोकिताजावाको एउटा 'इजाकाया' मा।
खाने-पिउने कुरा मगाइसकेपछि गफगाफ शुरु हुन थाल्यो। गफगाफको विषय उही मौसम, खानाको स्वाद, ‘विकेन्ड’ को योजना, ‘हबी’ आदि आदि। अरु सबै त ठिकै छ, यो ‘हबी’ को कुरा भने बडो अप्ठ्यारो। नेपालमा जे भने पनि चल्थ्यो, शायद आफ्नो खास रुची वा सोख केमा हो भन्ने कुरालाई गम्भीरतापूर्वक सोँच्नै नपर्ने भएर होला। जस्तो कि कतिपय साथीहरु फगत 'गफगाफ' लाई नै आफ्नो ‘हबी’ भन्न पछि पर्थेनन्। म आफैँ चाहिँ नयाँ-नयाँ ठाउँको भ्रमणलाई आफ्नो ‘हबी’ भन्ने गर्थेँ। नेपालभित्र दुई-चार ठाउँ घुमिएको पनि थियो। तर यहाँ भ्रमणलाई ‘हबी’ भनौँ भने अहिलेसम्म कतिवटा देश घुमिस् भन्ने प्रश्न तेर्स्याउलान् भन्ने डर। देशको के कुरा, आफू आएको यही जापानमा पनि कहाँ नै पो घुमिएको छ र भ्रमणलाई सोख भन्न सुहाउने गरी। अब खेलकूद भनौँ, आफूले जानेको खेल कुन चाहिँ होला भनेर सोँच्नै आधा घण्टा लाग्छ। गाउने, नाच्ने, बजाउने आदि त झन् दश हात परका कुरा भैहाले। त्यसैले सेम्पाईले मेरो ‘हबी’ को बारेमा सोध्दा "यही नै भन्ने छैन, बदलिइरहन्छ" भनेर टार्नु बाहेक अर्को उपाय भेटिनँ मैले। बरु कुराकानीलाई रमाइलो बनाउन उनको गर्लफ्रेन्डको प्रसङ्ग निकाल्नु श्रेयस्कर लाग्यो।
केही महिनाअघि मात्रै हो, मैले नयाँ ‘रिलेसनसिप’ शुरु गरेँ भनेर उनले खुशी हुँदै मलाई सुनाएको। पछि भेट पनि गराएका थिए आफ्नी प्रेमिकासँग। तर अहिले सोध्दा त उनीहरुको ‘ब्रेक-अप’ पो भैसकेछ। कति सजिलो ‘रिलेसनसिप’ शुरु हुन र टुङ्गिन। किन ‘ब्रेक-अप’ भयो, त्यसको खासै कारण पनि छैन फेरि। "यत्तिकै ऊसँग डेटिङ जान त्यति रमाइलो लाग्न छोड्यो अनि..." रे।
"अनि नयाँ गर्लफ्रेन्डको बनाउने बारे नि?" मलाई यही विषयमै कुरा तान्न मन लाग्यो।
"त्यो त खै..."
"किन र?"
"अस्ति म मेरो घर गएको बेला एकजना साथीले 'मसँग डेटिङ शुरु गर' भन्दै थिई। ऊ मलाई मन पनि पर्छे। तर म यहाँ फर्कनुपर्ने, ऊ त्यहाँ टाढा छे। 'लङ डिस्टान्स रिलेसनसिप' मेन्टेन गर्न गाह्रो हुन्छ भनेर 'नो' भनिदिएँ।"
उनको यस्तो भनाइ सुन्दा "त्यसो भए मेरा ती साथीहरुको बारेमा के भन्छौ, जो बिचरा एकपटक पनि नदेखेको मान्छेसँग 'स्काइप' र 'याहु मेसिन्जर' कै भरमा 'डिस्टान्स लभ' मेन्टेन गरिरहेका छन् कोही 'इ-लभ' भन्दै कोही 'रेकमेन्डेड लभ' भन्दै?" भनेर सोध्न मन लागेको थियो। तर कहाँ उनीहरुको कुरा, कहाँ हाम्रो कुरा। पृष्ठभूमि बताउँदा बताउँदै रात बित्ला भन्ने डरले उनकै कुरामा केन्द्रित हुनुपर्यो।
"त्यसो भए टोकियोमै पनि भेटिइहाल्लान् नि मन मिल्ने केटीहरु?"
"भेटिन त भेटिन्छन् तर अर्को वर्ष मेरो जागिर ओसाकामा निश्चित भएको छ र म त्यहाँ जानुपर्ने छ। त्यसैले अब नयाँ गर्लफ्रेन्ड ओसाकामै बनाउनुपर्ला।"
"कुरा मनासिबै हो।"
"अनि तिम्रो आफ्नो बारेमा नि?" अब मैले सेम्पाईलाई छेँडछाँड गर्ने पालो सकिएको थियो, त्यसैले प्रश्नको वर्षा हुन थाल्यो आफैँमाथि।
"मेरो बारेमा त के हुनु र, म त बाआमाले जस्ती केटी खोजिदिनुहुन्छ, त्यस्तै बिहे गरेर घरजम गर्ने हो," मैले हाँस्दै उत्तर दिएँ। हाम्रोतिरको 'अरेन्ज्ड म्यारिज' को बारेमा मैले पहिले नै भनिसकेको भए पनि मेरो यस्तो सहज उत्तर उनलाई पचाउन गाह्रो परेको प्रष्टै थियो।
"रियल्ली?"
"हो।"
हुनत अहिले हाम्रोतिरको 'अरेन्ज्ड म्यारिज' पनि पहिलेजस्तो कहाँ छ र, मान्छेहरु 'अरेन्ज्ड' मा पनि 'लभ' जोड्न रुचाउँछन् आजभोलि। वास्तविक लभ पार्ने त छँदैछन्, त्यसमाथि कसैकसैको आफन्त-साथीभाइले कुरो ल्याएपछि लभ पर्ने, कसैकसैको बिहेको कुरो छिनिएपछि लभ पर्ने, कसैकसैको जनैसुपारी भैसकेपछि लभ पर्ने अनि कसैकसैको त जग्गेमा बस्दाबस्दै समेत। अझ बिहे नै भैसकेपछि लभ पर्नेहरुको त झन् कुरै नगरौँ। लभको महिमा बुझिनसक्नु भएको छ। तर यहाँ मेरो सेम्पाईलाई भने आफ्नो कुनै छनोट नभइकन बाआमाले छानेकी केटी बिहे गर्ने कुरा अलिक बढी नै अनौठो भैरहेको थियो। त्यसैले उनले सोध्न थाले - "टोकियोमा नेपाली केटीहरु छैनन् र?"
"छन त छन्, तर सबै घरबारे!" मैले अलि रमाइलो पाराले उत्तर दिएँ, "बिहे नगरेका त केटा मात्रै भेटिन्छन्, केटी एक-दुई जना पनि भेट्न गाह्रो छ।" यसो भन्दा मलाई टोकियोमै पढ्दै गरेको एकजना नेपाली साथीको सम्झना आइरहेको थियो। साथीले एकजना नेपाली केटी भेटेछ र एकछिनमै मन पनि पराइहालेछ। उसले खोजेजस्तै जातभात पनि मिल्ने, पढाइलेखाइ, रुपरङ, आनीबानी सबै फस्कलास। साथीको मन तरङ्गित हुन मात्रै के आँटेको थियो, केटीको फोनको घण्टी बजेछ। कसको फोन भनेर सोध्दा त केटीको बूढाको। बिचरा साथी हेर्याहेर्यै। "हाम्रो त भागै बाँकी छैन कि क्या हो?" ऊ गुनासो गर्दै थियो।
"हो है, अनि जापानी केटीहरुको बारेमा चाहिँ सोँचेका छैनौ?" सेम्पाईको प्रश्न टुङ्गिएको थिएन।
"अँ... त्यो त सोँचेको छैन। हाम्रोमा बिहे भनेको पारिवारिक र सामाजिक जिम्मेवारी पनि हो, यताजस्तो व्यक्तिगत कुरा मात्रै हैन।"
"मैले तिम्रो कुरा बुझेँ, तर यसो टाइमपासको बारेमा पनि त सोँच्न सकिन्छ नि!" उनले झटारो हान्न बाँकी राखेनन्।
"त्यो त सोँच्न सकिन्छ, तर रिलेसनसिप भन्ने कुरा... केटीको अन्डरस्ट्यान्डिङ पनि त्यस्तै हुनुपर्यो। फेरि के थाहा हुन्छ र, टाइमपास भनेर शुरु गर्यो, भोलि कतिबेला 'इमोसनली अट्याच्ड' भइन्छ भनेर।"
खासमा उत्तर अरु पनि दिन सकिन्थ्यो, जस्तै - "त्यस्तो टाइमपास रिलेसनसिप मेरो 'चियाको कप' होइन" वा "झट्ट बोल्न त गाह्रो मान्ने जापानी केटीहरुसँग के खाएर मेरो टाइमपास लभ पर्थ्यो!" तर किन-किन मलाई चाहिनेभन्दा अलिक बढी नै 'दार्शनिक' टाइपको उत्तर फुरेछ। एकछिनपछि पो मैले झल्याँस्स एउटा रङ्गीन साथीको श्याम-श्वेत कहानी सम्झेँ। जापानमा आएर टाइमपास लभको खेती गर्दै आफ्नै दुनियाँमा मस्त साथीको अवस्था केही समयपछि रुनु न हाँस्नु बनेको यिनै आँखाले देखेका थिए। त्यसैले लाग्यो, मेरो उत्तर ठिकै थियो। सेम्पाईलाई भने कस्तो लाग्यो कुन्नि मेरो उत्तर, हल्का टाउको मात्रै हल्लाए।
केहीबेरमा खानपिन र गफगाफ टुङ्गाएर छुट्टिने बेला भयो। सेम्पाईसँग छुट्टिएर ट्रेन स्टेसनतिर लाग्दै गर्दा एकजना उही ‘रेकमेन्डेड लभ’ वाला साथीको फोन आयो, नेपालमा लोडसेडिङ भएकोले आज 'नानु' सँग ‘स्काइप’ मा गफ गर्न पाइएन भन्ने गुनासो पोख्दै। अनि मैले 'लङ डिस्टान्स रिलेसनसिप' सम्बन्धी अघिको प्रसङ्ग सुनाएर जिस्काउन मात्र के लागेको थिएँ, साथीलाई झोँक चलेछ। "भन, भन, अहिले हामीलाई जे भने पनि हुन्छ, भोलि आफूलाई यस्तै पर्छ अनि बल्ल थाहा हुन्छ," साथीको जवाफ सुनेपछि बोल्ने ठाउँ नै रहेन। साँच्चै, भोलि त के पर्छ पर्छ, कसलाई पो थाहा छ र!
-------------------------------------------------------------------------------------
कथामा प्रयुक्त जापानी शब्दहरु
ओसाकिनी (ओसाकिनी सिचुरेइसिमास): "चाँडै निस्कन लागेकोमा क्षमाप्रार्थी छु" भन्ने अर्थमा प्रयोग हुने एक औपचारिक अभिव्यक्ति
सेम्पाई: आफूभन्दा सिनियर विद्यार्थी, सहकर्मी आदि जनाउने शब्द
नोमिखाई: पिउने पार्टी, जमघट आदि
सिमोकिताजावा: ठाउँको नाम
इजाकाया: जापानी बार, पब आदि जनाउने शब्द
Thursday, September 16, 2010
Wednesday, September 1, 2010
प्रसङ्ग एसपी खरेलको, कुरा हाम्रो चिन्तनशैलीको
काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई प्रधानमन्त्री माधव नेपालले आफ्नो निवास बालुवाटारमै बोलाएर बधाई दिएछन् केही दिन पहिले। पोखरामा रहँदा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेर लोकप्रिय बनेका एसपी खरेल त्यहाँबाट सरुवा भएर आएपछिको चार महिनाको अवधिमा काठमाडौंमा पनि उस्तै उदाहरणीय काम गरेर देखाउन सक्षम भएका खबर पत्रपत्रिकामा आएका छन्। कानुनविहीनता र बेथितिका बढ्दा खबरहरु माझ खरेलजस्ता राष्ट्रसेवकका कार्यकुशलता र कर्तव्यपरायणताका खबर पढ्न पाउनु आफैँमा ठूलो खुशीको कुरा हुँदो रहेछ। त्यसमाथि आफूले केही सिन्को भाँच्नु त कहाँ हो कहाँ, अरुले गर्न थालेको कुनै गतिलो काम भए त्यसलाई पनि कतिबेला कसरी भाँजो हालिदिने हुन् भनेर डराउनुपर्ने खालका मन्त्री-प्रशासकहरुको बाहुल्य रहेको देशमा तिनका नेतृत्वकर्ता (कामचलाउ नै भए पनि) प्रधानमन्त्रीबाट समेत खरेलको कामको प्रशंसा हुनुलाई सुखद आश्चर्य भन्नुपर्ला।
उसो त 'सिस्टम' को खोट देखाउँदै 'सिस्टम' कै 'मूलप्रवाह' मा समाहित हुनेहरुको भीडमा त्यो 'मूलप्रवाह' भन्दा केही बाहिरै रहेर देश र समाजका लागि आफ्नो ठाउँबाट आफ्नो बुताले भ्याएसम्म सकारात्मक योगदान दिनेहरु थुप्रै छन् हामीकहाँ। फरक यत्ति हो कि कसैको योगदान अलि ठूलो वा मिडियाको रुचीभित्रको होला भने कसैको योगदान अलि सानो वा मिडियाको रुचीबाहिरको। केही महिना पहिले एकजना बैंक कर्मचारीको बाजा बजाएर बिदाइ गरिएको खबर छापिएको थियो एउटा राष्ट्रिय दैनिकमा। राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक केशव प्रधानले स्थानीयस्तरमा बैंकिङ सेवासुविधा पुर्याउन र यससम्बन्धी चेतना विस्तार गर्न दिएको योगदानको कदरस्वरूप पर्वत कुश्माका स्थानीयवासीले उक्त सम्मान गरेका रहेछन्। एउटा प्रबन्धकस्तरको मान्छेले राम्रो नेतृत्व दिन सक्दा मात्रै पनि वार्षिक १० लाख रुपैयाँ घाटा बेहोर्दै आएको एउटा सरकारी बैंकलाई एक करोड नाफा कमाउने बनाउन सकिँदो रहेछ। गरे हुन्छ, नेपालमा पनि हुन्छ।
परिवर्तन ल्याउने भनेको सबैले आ-आफ्ना ठाउँबाट लिने अग्रसरताले हो, स-साना अग्रसरताले। तर हाम्रो आम सोँच चाहिँ कस्तो भैदियो भने कि त 'सतिले सरापेको देश' भनेर जे कुरामा पनि अँध्यारै देख्ने कि त 'आमूल परिवर्तन' को धङधङी बोकेर रुमानी उडान भरिरहने। 'सतिले सरापेको देश' को मान्यता स्थापित गर्नेहरुले त्यसैका बलमा देश लुटेर आजको अवस्थामा पुर्याए, आज 'आमूल परिवर्तन' को नाममा देश थप खोक्रो बन्दै गरेको दृष्य टुलुटुलु हेर्न विवश छौँ हामीहरु। तर पनि लाग्छ, हाम्रो चेत खुलेको छैन। हामीमध्ये धेरैलाई 'आमूल परिवर्तन' नै चाहिएको छ। तर त्यो आमूल परिवर्तन आउने चाहिँ कसरी हो? आकाशबाट झर्ने त होइन होला।
फेरि बेइमान र फटाहा प्रवृत्तिका अगुवाहरुले गर्दा हाम्रो मानसिकता पनि यस्तो बनिसक्यो कि कसैले जतिसुकै राम्रो काम गरे पनि सहजै स्वीकार्न गाह्रो पर्ने। अगाडि राम्रो कामजस्तो देखिए पनि त्यसका पछाडि सत्य अर्कै हुनुपर्छ भन्ने लागिहाल्ने। मिडियामा आउने कतिपय अतिरञ्जित अनि कतिपय त झन् प्रायोजित खबरका कारण पनि यस्तो भएको होला। तर 'आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने' हाम्रो संस्कार पनि जिम्मेवार छ शायद यसका लागि। आफूले अलि नजिकबाट चिनेको मान्छेको सकारात्मक कुराको चर्चा सुन्यो भने 'ए, त्यो त यस्तो हो नि, बाहिर पो त्यस्तो आदर्शवादी देखाउँछ आफूलाई' भनेर टिप्पणी गर्न मन लागिहाल्छ हामीहरुलाई (आफ्नो नातापाताभित्रको वा आफूले चाकडी-चाप्लुसी बजाउनुपर्ने मान्छे भए कुरा बेग्लै हो)। त्यति टिप्पणी पनि गर्न नसके त नजिकबाट चिनेको अर्थै नहुने जस्तो। तर राम्रो मान्छे पनि गाईको दूधले नुहाएको त कहाँ हुन्छ र! उसका गुन बढी छन् कि बैगुन, त्यो पो हेर्ने हो। गुन बढी भएका मान्छेलाई पनि गुनी भन्न हिच्किचाउने हो भने हामी उँभो लाग्ने कसरी हो? कि अरु कोही आएर उँभो लगाइदेला भन्ने परमुखी चिन्तन पालेरै बसिरहने हो?
यहाँनेर एउटा प्रसङ्ग जोड्न मन लाग्यो। डा. भगवान कोइराला एउटा सक्षम र समर्पित चिकित्सकका रुपमा हामी धेरैले चिनेको नाम हो। एकदिन उनै डा. कोइरालाको बारेमा कुनै समयमा उनको उपचार टिममा समेत संलग्न एकजना साथीसँग जिज्ञासा राखेको झोँकै चल्ने खालको जवाफ सुन्नुपर्यो। राम्रो मान्छेलाई राम्रो भन्दा समेत आफ्नो 'ओज' घट्ला भन्ने डरले प्रशंसा गरे पनि 'तर...' जोड्न मन लागिहाल्ने हामीहरुलाई। 'डा. कोइराला ठीक त ठीकै छन्, तर...' रे। अनि 'तर के' भनेर सोध्दा जवाफ हुन्छ, 'स्टाफहरुसँग चाहिँ अलि 'स्ट्रिक्ट' छन्।' 'उनी आफू चाहिँ त्यो 'स्ट्रिक्टनेस' अनुसारको काम गर्छन् कि गर्दैनन् त?' 'त्यो त गर्छन्।' यो पनि कुनै काइदाको कुरा भयो त? 'तर...' किन जोड्नुपर्ने त्यसो भए?
देश र समाजप्रति चिन्तित हुने हाम्रो तरिका पनि बडो अनौठो छ। देश र समाजका समस्या अनि तिनका समाधानका बारेमा आकाश-पाताल गफ चुटेर दिनरात बिताइदिने तर आफूले अलिकति केही गर्नुपर्छ भन्ने बोध चाहिँ नगरिदिने। पूर्व प्रधानमन्त्री प्रचण्डले (उनको आफ्नै अकर्मण्यता जतिसुकै आलोच्य भए पनि) राष्ट्रका नाममा गरेको सम्बोधन (२०६५ माघ) मा समेत घुसाएको उदाहरण थियो केराको बोक्राको। त्यो सम्बोधनमा भनिएजस्तै आफैँले फालेको केराको बोक्रामा चिप्लेर लडे पनि हामी बरु कुनै अदृश्य शत्रुलाई सरापेर बसौँला तर त्यो बोक्रो त्यसरी फाल्न हुने रहेनछ भनेर चेत्न तयार छैनौँ।
भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले हैदरावादमा दिएको एउटा चर्चित भाषणका केही अंशहरु हाम्रा लागि पनि मननयोग्य हुन सक्छन्:
So who's going to change the system? What does a system consist of? Very conveniently for us it consists of our neighbors, other households, other cities, other communities and the government. But definitely not me and YOU. When it comes to us actually making a positive contribution to the system we lock ourselves along with our families into a safe cocoon and look into the distance at countries far away and wait for a Mr. Clean to come along & work miracles for us with a majestic sweep of his hand or we leave the country and run away. Like lazy cowards hounded by our fears we run to America to bask in their glory and praise their system. When New York becomes insecure we run to England. When England experiences unemployment, we take the next flight out to the Gulf. When the Gulf is war struck, we demand to be rescued and brought home by the Indian government.
(त्यसो भए सिस्टम कसले बदल्दै छ त? सिस्टम केले बनेको हुन्छ? हाम्रा लागि एकदमै सुविस्तापूर्वक यो हाम्रा छिमेकीहरु, अरु परिवारहरु, अरु शहरहरु, अरु समुदायहरु र सरकार मिलेर बनेको हुन्छ। तर पक्कै पनि म र तपाईँ चाहिँ होइन। जब हामी आफैँले सिस्टममा केही सकारात्मक योगदान दिने कुरा आउँछ, हामी आफू र आफ्नो परिवारलाई एउटा सुरक्षित खोलभित्र बन्द गर्छौँ र पर कतै टाढाको भूभागतिर हेर्न थाल्छौँ कुनै एउटा 'मिस्टर क्लिन' को आगमनको प्रतिक्षा गर्दै जसले जादुको छडी घुमाएर हाम्रा लागि चमत्कार गरिदेओस्, अथवा हामी देश छोड्छौँ र पलायन हुन्छौँ। अल्छी डरपोकजस्तै आफ्नै डरबाट लखेटिएर हामी अमेरिका दौडन्छौँ उनीहरुको उपलब्धीमा रमाउन र उनीहरुको सिस्टमको बखान गर्न। जब न्युयोर्क असुरक्षित हुन्छ, हामी बेलायततिर दौडन्छौँ। जब बेलायतमा बेरोजगारी बढ्छ, हामी खाडीतिर उड्छौँ। जब खाडीमा युद्ध छेँडिन्छ, हामी आफ्नो उद्धार र घरफिर्तीका लागि भारतीय सरकारसँग माग गर्छौँ।)
कलामले भारतको सन्दर्भमा भारतीय नागरिकहरुलाई भनेका भए पनि हाम्रो सन्दर्भमा पनि ठ्याक्कै लागु हुने कुरा यिनै हैनन् र?

Subscribe to:
Posts (Atom)