Showing posts with label यात्रा-संस्मरण-अनुभूति. Show all posts
Showing posts with label यात्रा-संस्मरण-अनुभूति. Show all posts

Friday, September 23, 2011

फुजीसानको टाकुरामा लै लै. . .

[ब्लगलाई चटक्कै माया मारेजस्तो भएको छ अचेल। न त आफूले केही लेख्न पाइएको छ, न त छिमेकी ब्लगहरुतिरै मजाले 'खुट्टा तन्काउन' निस्कन पाइएको छ। त्यसो त मेरो दैनिकी पनि अझै नियमित स्वरुपमा आउन सकेको छैन, पछिल्ला केही महिनादेखि। खासमा यसबीचमा मास्टर्स तहको थेसिस तयार पार्ने कामले स्वभाविकरुपमा बढी व्यस्त बनायो। गएको अगस्ट ३१ मा थेसिस डिफेन्स सकिएपछि अलिक फुर्सदिलो भइएला कि भनेको फेरि अहिले चलिरहेको इन्टर्नसिपले उत्तिकै बेफुर्सदी बनाइदिएको छ। टोकियोदेखि योकोहामासम्म आउजाउ गर्दा दिनको झन्डै चार घण्टा ट्रेनमा र अर्को नौ-दश घण्टा कार्यस्थलमा बित्ने भएपछि बाँकी समय नित्यक्रिया र निद्रादेवीलाई चढाउनु कि अर्थोक केही गर्नु! खैर, जापानजस्तो व्यस्त देशको टोकियोजस्तो तीव्र गतिमा हुइँकिने शहरमा अरुचाहिँ फुर्सदमै छन्, ममात्रै अचाक्ली व्यस्त छु भनेजस्तो गरी यसबारेमा थप चर्चा भने नगरुम् होला अहिलेलाई! :) तर पनि मे ७ मा ताकाओसानको बारेमा लेखेको टाँसोपछि एकैचोटि आज मात्र - त्यो पनि हाइकिङकै बारेमा - नयाँ टाँसो टाँस्ने संयोग जुराउन सकेकोमा अलिकति भूमिका त बाँध्नैपर्‍यो। :)]

जापानको सबैभन्दा अग्लो तथा कुनै कुशल कालिगढले धर्ती खोपेर तयार पारेजस्तो लाग्ने चिटिक्क आकार मिलेको फुजीसान (फुजी पहाड) (३,७७६ मिटर) जापानीहरुमाझ त अत्यधिक लोकप्रिय छ नै, विदेशीहरु पनि यसको सौन्दर्यको बखान गरेर थाक्दैनन्। हुनत शुरु-शुरुमा जापानीहरु फुजीसान-फुजीसान भनेर अति नै 'नाटक' गर्छन् जस्तो पनि लाग्थ्यो, तर केही समयअघि हाकोने घुम्न गएको बेला त्यहाँबाट देखिएको फुजीसानको अद्वितीय दृश्यले भने म आफैँ पनि असाध्यै रोमाञ्चित र मन्त्रमुग्ध भएको थिएँ। यही फुजीसान चढ्न जाने तारतम्मे मिल्यो गएको सेप्टेम्बर १० र ११ को सप्ताहान्तमा। 

फुजीसान चढ्ने हाम्रो टोली ठूलै थियो - जापानी र विदेशीहरु गरी झन्डै ५० जना जति। त्यसमा ८ जना त हामी नेपाली नै थियौँ, त्यसैले हाम्रो आफ्नै हालीमुहाली थियो। :) १० तारिख बेलुका टोकियोबाट प्रस्थान गरेको हाम्रो टोली करिब तीन घण्टाको बसयात्रापश्चात् राति नौ बजेतिर फुजीसानको बेस स्टेसन (खावागुचीको रुटमा पर्ने स्टेसन नं. ५) (२,३०५ मिटर) मा पुगेपछि फुजीसानको आरोहण शुरु भयो। रातभरि उकालो उक्लेर भोलिपल्ट बिहान फुजीसानको टाकुराबाट ५:१८ को सूर्योदय हेर्ने योजनामा थियौँ हामीहरु। 

आकाश छ्याङ्ग खुलेको जुनेली रात र अगाडि-पछाडि मान्छेहरुको लर्को हुनाले रातिपख हिँडेकोजस्तो खासै अनुभव नभए पनि कति उकालो चढियो र अझै कति बाँकी छ भन्ने मेसो भने केही नपाइने रहेछ। फुजीसानको टाकुरासम्म पुग्न पाँचौँ स्टेसनबाट दशौँ स्टेसनसम्म पुग्नुपर्नेमा शुरुको छैठौँ स्टेसन आउनै झन्डै दुईघण्टा लाग्दा त फुजीसानको उकालोले सातो नै लेलाजस्तो भयो। तर छैठौँ स्टेसनपछि सातौँ स्टेसन भने थाहै नपाइने गरी केहीबेरमै आइपुग्यो। अनि त केही माथि बलिरहेको बत्ति र त्यहीँनेर पुगेर टुङ्गिएकोजस्तो देखिने फुजीसानलाई औँल्याउँदै अब यस्सो दौडियो भने एकछिनमै टाकुरामा पुगिने रहेछ भन्ने 'अड्कलाइजेसन' गर्न पनि पछि परिएन। त्यही बेला एकजना साथीले भन्ने गरेको 'नाथे फुजीसान' को पनि सम्झना भयो। तर फुजीसानको टाकुरा त्यति नजिक त कहाँ थियो र! आठौँ स्टेसन कटेपछि भने बल्ल बाँकी उकालोको अलिअलि रुपरेखा थाहा भयो। यसबीचमा सुरक्षाका लागि बाटोको छेउमा राखिएको डोरीको साहरा लिँदै चट्टानमा सुरेली खेलेजस्तै गरी चढ्नुपर्ने उकालोले फेरि एकचोटि तर्स्याउन भ्याइसकेको थियो। धन्न, आठौँ स्टेसनपछिको उकालो लामो भए पनि चढ्न भने उस्तो अप्ठ्यारो रहेनछ। 

अन्तत: बिहानको झिसमिसेसँगै हामी फुजीसानको टाकुरासम्म उक्लन सफल भयौँ। बढ्दै गरेको उज्यालोमा बल्ल हामीहरु अनुभव गर्दै थियौँ, ज्वालामुखी चट्टानबाट बनेको पहाड कस्तो हुँदो रहेछ। फुजीसान टाढाबाट हेर्दाजस्तो वा तस्वीरहरुमा देखिनेजस्तो कहाँ रहेछ र! नजिक पुग्दा त यो डढेको रातो माटो, ढुङ्गा, बालुवा र खरानीकोको थुप्रो पो रहेछ! तर फुजीसानको विशेषता भन्नु नै यसको सममितीय (symmetrical) कोणाकार (अझ frustum को आकार भन्नु बेस हुन्छ होला) हो जसले गर्दा जताबाट जसरी हेर्दा पनि यो उत्तिकै राम्रो देखिन्छ। त्यसमाथि हिउँदयाममा हिउँको टोपीले छोपिँदा देखिने यसको अद्भूत सौन्दर्य त छँदैछ। जेहोस्, फुजीसानको टाकुरामा पुगेको केहीबेरमै हाम्रो बहुप्रतिक्षित घडी आइसकेको थियो अर्थात् पूर्वको क्षितिजमा लालीमा भर्दै सूर्यनारायण बिस्तारै आकाशतर्फ उक्लँदै थिए। त्यो क्षण थप आनन्ददायी र रोमाञ्चक यसकारण पनि थियो कि हामी 'सूर्योदयको देश' को सबैभन्दा अग्लो भागमा बसेर सूर्योदयको दृश्यास्वादन गरिरहेका थियौँ। हामी विशेष कृतज्ञ भने त्यो बिहानीको मौसमप्रति भयौँ जसले हामीलाई पूर्णरुपमा साथ दिएको थियो। तलपट्टि होचो भागमा कपासजस्तै गरी फैलिएको बादल र माथिपट्टि खुला आकाशमा उदाउँदै गरेको सूर्य, त्यो दृश्य साँच्चिकै अनुपम थियो।

सूर्योदयको दृश्य

सूर्योदयको दृश्यलाई क्यामेरा र मन दुवैमा कैद गरिसकेपछि पालो आयो - फुजीसानको शिखरमा नेपाली झण्डा फहराएर 'फोटो सेसन' गर्ने।  जापानीहरु यताबाट गएर हाम्रा सगरमाथा लगायतका हिमशिखरहरुमा आफ्नो झण्डा फहराउँछन् भने हामी पनि उनीहरुको सर्वोच्च शिखरमा पुगेका बेला राष्ट्रिय झण्डा फहराउन किन पछि पर्नु! (गफै त हो:)) हाम्रो 'फोटो सेसन' देखेर वरिपरिका जापानीहरु भने अनौठो मान्दै थिए।

नेपाली झण्डासहितको सामूहिक 'फोटो सेसन' :)

फुजीसानको आकारजस्तै यसको टाकुराको आकार र विशालता पनि मन लोभ्याउने खालको थियो। फुजीसानको टाकुराको चौडाइ र यसको बीचमा रहेको ज्वालामुखीको मुख (volcanic crater) को बारेमा केही त सुनिएको थियो, तर त्यो त्यति भव्य होला भन्ने चाहिँ मेरा लागि कल्पनाबाहिरकै कुरा थियो। बीचभागमा रहेको गहिरो 'क्रेटर' र वरिपरि केही माथि उठेका आठवटा थुम्काहरुका कारण फुजीसानको टाकुरालाई हेर्दा ठ्याक्कै एउटा ठूलो मैरी (तुलसीको मठ) जस्तो भान हुने रहेछ। फुजिसानको टाकुराको वरिपरि एक चक्कर लगाउन झन्डै डेढ घण्टाजति लाग्दो रहेछ, तर समयको सिमितताले गर्दा शुरुमा यसो कस्सिए पनि पछि दौडादौड गर्ने आँट गर्न सकिएन। ११ बजे तल पाँचौँ स्टेसनबाट छुट्ने भनेको हाम्रो बस छुट्ला र व्यर्थमा अर्को सास्ती पाइएला भन्ने डरले ओरालो लाग्नु नै बेस ठानेर फुजीसानको शिखरलाई 'सायोनारा' गरियो।

फुजीसानको 'क्रेटर' र वरिपरिका थुम्काहरु
टाकुरामा देखिएको मान्छेको भीडभाड


ज्वालामुखी चट्टानले बनेको फुजीसानको सतह
टाकुराबाट हेर्दा तलपट्टि देखिएको मनोरम दृश्य

ओरालो झर्दा चाल पाइयो, फुजीसानको उकालोभन्दा त ओरालो पो मापाको रहेछ। सुस्त रफ्तारमा रातिको समयमा हिँडेको भएर पनि होला, उकालोले त्यतिसारो हायलकायल बनाएको थिएन जति ओरालोले बनायो। मसिना ढुङ्गा र धुलोले भरिएको ओरालो बाटोमा खुट्टा राम्रोसँग अडिने कुरै भएन, लिरिक्क-लिरिक्क लिर्किँदै हिँड्नुपर्ने। त्यसमाथि रातिको अनिँदोले गर्दा पनि होला, एकैछिनको हिँडाइमा थाकेर चुर भइयो। तर यसो तल हेर्‍यो, ओरालोले सकिने नाम भने लिने होइन। सबैभन्दा ठूलो आपत चाहिँ शौचालयले पार्‍यो। उकालो चढ्ने रुटमा ठाउँठाउँमा शौचालय हुनाले केही अप्ठ्यारो परेको थिएन तर ओरालो झर्ने रुटमा भने शौचालयको नाकमुखै नदेखिने। बल्लतल्ल भेटियो भनेको निकै तलको एउटा शौचालय पनि स्थानीय सरकारले फुजीसान चढ्न तोकेको अवधि अघिल्लो हप्तै सकिएकाले बन्द अवस्थामा रहेछ। रुनु न हाँस्नु भइयो निकैबेर। यही शौचालय खोज्ने धुन र ओरालो झर्नका लागि हामीलाई भनिएको योसिदा रुटबारेको अलमल समेतले गर्दा हामी आठजना नेपाली साथीहरु पनि तीन-चारतिर हुन पुग्यौँ। सँगै रहनुभएका डमरू सर र म ओरालोमा अघि बढ्दै गर्दा अरु नेपाली साथीको त के कुरा, हाम्रो टोलीका अरु कोही विदेशी समेत देखिन छाडेपछि एकैछिन त बाटो बिराइएछ कि भन्ने डर पनि भयो। तर कुँदाकुँद गर्दै केहीबेरमा ओरालो सकेर तेर्छो लाग्ने बाटोसम्म पुगेपछि भने अलिकति सास आयो। 

तेर्छो लागेपछि पनि फर्कने रुट निकै घुमाउरो रहेछ। एउटा घुम्ती सकिएपछि अब त हाम्रो स्टेसन आइपुग्यो होला भन्यो, फेरि अर्को घुम्ती आइपुग्ने। जेहोस्, जसोतसो सवा दश बजेतिर पाँचौँ स्टेसनमा पुगियो। यतिञ्जेलसम्ममा एकातिर थकाइले जीउ थिलोथिलो भैसकेको थियो भने अर्कोतिर बाटोको धुलो, खरानी र पसिनाले एक-अर्काको अनुहार पनि हेर्नलायक बनाइदिएको थियो। पाँचौँ स्टेसनबाट ओन्सेनका लागि बस छुट्ने समय अर्थात् ११ बजेसम्ममा हामी ६ जना नेपाली साथीहरु मात्र त्यहाँ जम्मा हुन सक्यौँ। ६२ वर्षमा टेकिसक्नुभएका एकजना जापानी गुरुबालाई ओरालो झर्न केही गाह्रो परेका कारण उहाँसँगै रहनुभएका जीत सर र प्रमिला दिदीलाई फर्कन ढिलो हुने भयो र उहाँहरुले अर्को पब्लिक बस समात्नुपर्ने भयो। यसरी उहाँहरुलाई पर्खन नपाई स्नानादिका लागि ओन्सेनतर्फ लाग्नुपर्दा हामी सबैलाई केही नरमाइलो हुनु स्वभाविक थियो। 

ओरालो झरेर पाँचौँ स्टेसनमा पुग्ने क्रममा बाटोमा देखिएको घोडागाडी। तेर्छोमध्येको अन्तिम एक किलोमिटरजति बाटो यो गाडी चढेर पनि पार गर्न सकिने रहेछ।

ओन्सेनको तातो पानी र 'साउना' मा एक-डेढ घण्टाजति बिताउँदा अलिकति भए पनि थकाइ हराएजस्तो अनुभव भयो र जीउ पनि केही चङ्गा बन्यो। अनि दिउँसोको दुई बजेतिर फुजीसानको फेदीसँग समेत बिदा हुँदै हामी पुन: टोकियोकै दिशातर्फ मोडियौँ। यसरी पवर्तारोहण भने पनि, सामान्य पदयात्रा भने पनि फुजीसानसम्मको हाम्रो अविस्मरणीय यात्रा सम्पन्न भयो। 

अन्त्यमा, यो पूरानो सम्झना: गत डिसेम्बर ३१ मा हाकोने (आसी ताल) बाट देखिएको फुजी 'हिमाल'। फुजीसान अझ राम्रोसँग देखिने ठाउँसम्म पुग्दा भने 'बादलुको घुम्टो' ले धोका दियो।

Saturday, May 7, 2011

ताकाओ पहाडतिरको घुमघाम

यसपालिको 'गोल्डेन विक' को बिदामध्येको एक दिन साथी राजेन्द्रजीसँग ताकाओ पहाड (ताकाओ-सान) तिरको 'हाइकिङ' मा बिताइयो। जापानी फुच्चे पहाडहरुमा यो मेरो तेस्रो यात्रा थियो। यसअघिका यात्राहरुबारे यहाँ ('ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा') र यहाँ ('चुकुबा शहर र चुकुबा पहाडका कुरा') लेखिसकेको छु।

ताकाओ पहाड टोकियो शहरको मध्यभागबाट लगभग एक घण्टाको ट्रेन-यात्रामा पुगिने, समुद्री सतहबाट ५९९ मिटरको उचाइमा रहेको एउटा प्रसिद्ध 'हाइकिङ' गन्तव्य हो। साकुरा फुल्ने वसन्त ऋतुको समय होस् वा मेपल लगायतका रुखले पातको रङ फेर्दा प्रकृति नै रङ्गीन बन्ने शरद ऋतुको समय होस्, टोकियोबाट नजिकै रहेको गन्तव्यको रुपमा ताकाओ पहाडको चर्चा भइ नै हाल्छ। 'गोल्डेन विक' को बिदामा त झन् यो भीडभाडै हुने ठाउँका रुपमा चिनिन्छ। यसपालि त्यही 'भीडभाड' को एउटा हिस्सा भयौँ हामीहरु पनि।

तल ताकाओ पहाडतिरको घुमघामका क्रममा लिइएका केही तस्वीरहरु राख्ने जमर्को गरेको छु। तर म फोटोग्राफीमा कुनै खास 'अक्कल' वा प्राविधिक ज्ञान भएको व्यक्ति भने होइन है:)

बाटोमा देखिएका पदयात्रीहरु
बाटोमा बेच्न राखिएको 'दाङ्गो' (चामलको पीठोबाट बनेको एक किसिमको जापानी परिकार)
वरिपरिका हरिया थुम्काहरु
टोकियोमा साकुरा फुल्ने याम सकिए पनि ताकाओसानमा ढकमक्क फुलेको 'यामाजाकुरा' (साकुराको एउटा पर्वतीय प्रजाति)
ताकाओसान याकु-ओउ-इन मन्दिर (जापानका ४५ औँ सम्राट सोमुले सन् ७८८ मा पहिलोपल्ट यो बौद्ध मन्दिर बनाउन लगाएका रहेछन्)
ताकाओसान याकु-ओउ-इन मन्दिरको प्रवेशद्वार नजिकै रहेका 'तेङ्गु' नामका लामो नाक गरेका 'प्रेत' हरु
गुराँस फूल: 'मिचुबा चुचुजी'
बाटोमा देखिएका अन्य फूलहरु
ताकाओसानको टाकुरानेरै पुग्न लाग्दा देखिएको मान्छेको भीड
ताकाओसानको टाकुराबाट देखिएको पहाडी दृष्य (फुजीसान शायद यतै कतै थियो कि, तर आकाश त्यति नखुलेकाले खासै मेसो पाउन सकिएन)
ताकाओसानको फेदी र पृष्ठभूमिमा देखिएको हाचिओजी शहर
र अन्त्यमा, हाम्रो प्यारो 'लालीगुराँस' (फर्केर ताकाओसानको फेदीमा आइपुग्दा देखिएको)

Friday, August 13, 2010

'दुरुजा' को राफ्टिङ यात्रा

नेपालमा 'भदौरे गर्मी' शुरु हुने बेला हुन लाग्दा यता जापानमा पनि ग्रीष्मयाम उत्कर्षमै छ र 'नाचुयासुमी' (गर्मीबिदा) को समय शुरु भएको छ। यही मेसोमा मेरो ल्याबबाट आयोजना गरिएको दुईदिने 'ट्रिप' का केही अनुभवहरु यहाँ साट्दैछु।

'ट्रिप' का लागि रोजिएको ठाउँ थियो टोकियोको उत्तर-पश्चिममा रहेको मिनाकामी र योजनामध्येको मुख्य थियो राफ्टिङको रमाइलो। हुनत राफ्टिङको कुरा चल्ने क्रममा शुरुमै मैले एक राउन्ड 'स्पष्टिकरण' दिइहाल्नुपरेको थियो ल्याबका साथीहरुलाई। नेपाल हिमालैहिमालको देश भनेर जति नाक फुलाए पनि हिउँ नै देख्न मुश्किल भएजस्तै नेपाल नदीनालाले भरिएको देश, अझ त्यसमाथि पनि नेपालका नदीहरु राफ्टिङका लागि विख्यात भनेर के गर्नु, आफूसँग राफ्टिङको अनुभव थोपो पनि भएको होइन। त्यसैले बेला-बेलामा दिनुपर्ने यस्ता 'स्पष्टिकरण' ले भविष्यका लागि भने सचेत बनाइदिएका छन्, आफ्नै देश चिन्ने र आन्तरिक पर्यटनको महत्त्व बुझ्ने कुरामा।

जे होस्, जापानमै भए पनि राफ्टिङ लगायतको अनुभव बटुल्नका लागि अगस्ट ८ को सबेरै लागियो मिनाकामीतिर। मिनाकामीमा हाम्रो यात्राको प्रबन्ध गर्ने जिम्मा 'काप्पा क्लब' नामको स्थानीय 'आउटडोर अपरेटर' को थियो र उसैको योजना अनुसार राफ्टिङ-पोशाक लगाइवरी हाम्रो गन्तव्य तोने नदीकिनारमा पुग्दा बिहानको नौजति बजेको थियो। त्यहाँ गफगाफ चल्दै गर्दा मेरो प्रोफेसरले भन्न थाल्नुभयो - 'तिमीहरुको देशमा त राफ्टिङका लागि यस्ता ठाउँहरु थुप्रै छन् हगि!' मैले पनि पाएको बेला 'अँ, यस्ता ठाउँ त कति कति' भनिदिएँ। अनि अलिक परबाट हेर्दा तोने नदी निकै सानोजस्तो लागेकोले (खासमा नदी त्यति सानो पनि होइन रहेछ भन्ने त पछि मात्र थाहा भयो) 'यहाँको राफ्टिङ त के 'एड्भेन्चर' होला र, नेपालका नदीहरुमा बल्ल राफ्टिङको वास्तविक 'एड्भेन्चर' लिन पाइन्छ' भनेर पनि थपिदिएँ। एकपटक नेपाल पुगिसक्नुभएका गुरुबाले मेरो भनाइमा सहमति नजनाउने कुरा थिएन, बरु उहाँले नेपालको अपार जलसम्पदाका कारण जलविद्युतको ठूलो सम्भावना रहेको कुरा पनि अरु जापानीहरुलाई सुनाउनुभयो।

केहीबेरमै हाम्रो राफ्टिङ शुरु भयो, बाह्रजनामध्ये छ-छ जना दुइटा 'राफ्ट' मा बाँडिएर। त्यसमध्ये म बसेको 'राफ्ट' मा म नै एकजना 'गाइजिन' (विदेशी) भएकोले राफ्टिङ गाइडलाई मेरो बारेमा जान्ने उत्सुकता भएछ र उसले मेरो नाम सोध्यो। जापानी भाषामा ध्वनिहरु तुलनात्मक रुपमा थोरै भएकाले धेरैजसो विदेशी नामहरु त्यही रुपमा उच्चारण गर्न हम्मेहम्मे पर्छ। त्यसैले मेरो नामको उच्चारण 'ध्रुव' को सट्टा 'दुरुबा' (दो+उ+रु+बा) भएको छ जापानीमा तर राफ्टिङ गाइडले भने त्यही 'दुरुबा' लाई पनि 'दुरुजा' सुनेछ। अनि त राफ्टिङ अवधिभर मेरो नाम नै 'दुरुजा' भयो।

शुरुमा त राफ्टिङ भनेको विशुद्ध राफ्टिङ मात्र होला भन्ने बुझाई थियो मेरो तर कुरो परिदियो अर्कै। त्यहाँ त नदीको रहमा 'डाइभ' हान्नेदेखि पौडी खेलेर नदी पार गर्नेसम्मका 'इभेन्ट' थपिन थाले। अब परेन त आपत! पौडीको नाममा उही ८-९ वर्षको उमेरमा घरनजिकैको पनाहा खोलाका सानातिना रहमा डुबुल्की मारेको बाहेक आफूसँग कुनै अनुभव छैन, अहिले पौडिने कुरो कसरी आँट्नु? 'मलाई त पौडिन आउँदैन' भनेर पछि हट्न खोजेको सबैजनाले 'हामीलाई पनि आउँदैन, ल ल कोशिस गरीहेरौँ' भन्ने थाले। मेरो पालो म पनि सुरिएँ। तर उनीहरुले आउँदैन भन्नु र मैले आउँदैन भन्नुमा कति अन्तर रहेछ भन्नेचाहिँ त्यतिखेर मात्रै थाहा भयो जतिखेर पानीमा अतासिएर फनफनी घुमेको घुम्यै भइयो। त्यसपछि गाइडलाई पछ्याउँदै पानीबाट बाहिर निस्किनुपर्दा अघिको 'एड्भेन्चर' शब्दले मात्रा पुग्ने गरी आफैँलाई गिज्याएजस्तो लाग्यो। मेरो हालत त्यस्तो छ तर अघि 'मलाई पनि पौडिन आउँदैन' भन्ने जापानी साथीहरु भने मज्जाले पौडिँदै छन्। यसको मतलब उनीहरुले झुटो बोलेका थिएनन् तर उनीहरुका लागि पौडी आउनुको अर्थ त्यसमा पूर्ण दक्ष हुनु थियो जबकि उनीहरुलाई जति पौडी आउने भएको भए म आफूलाई ठूलै पौडीबाजको दर्जामा राखिसकेको हुने थिएँ। बुझाइमा यस्तो अन्तर अक्सर पर्ने गर्छ जापानीहरुसँग व्यवहार गर्दा। त्यतिबेला मैले मेरा केही नेपाली साथीहरुलाई सम्झिएँ जो जापानीहरुलाई बुझ्दै नबुझी उनीहरुभन्दा आफू खुबै चलाख भएको भ्रम पालेर रमाउनमा पछि परेका छैनन्।

पौडी खेल्न आउने त कुरा थिएन तर पनि जोशैजोशमा 'डाइभ' समेत हान्ने दुस्साहस गरेको सम्झिँदा भने अहिले पनि हाँसो उठिरहेको छ। आखिर अनुभवै त हो। तर पनि पौडी खेल्न फिटिक्कै नजान्दाको अवस्था भने निकै लाजमर्दो भयो, जस्तो होला भनेर त्यस दिनसम्म कहिल्यै लागेकै थिएन। त्यहाँ हेरेको जापानी केटाकेटीदेखि बूढाबूढीसम्म पौडी नआउने कोही पनि देखिएनन्। एउटा 'दुरुजा' नै 'नमुना' भयो त्यहाँ र 'दुरुजा' को मतलब थियो एउटा प्रतिनीधि नेपाली। खासमा पौडी लगायत खेलकुदका विभिन्न क्रियाकलापहरु विद्यालयस्तरको पढाइसँगै सिकाइन्छन् जापानमा (र निश्चय नै अरु विकसित देशहरुमा पनि) तर हाम्रो शिक्षाप्रणालीको कुरै बेग्लै, जहाँ 'शारीरिक शिक्षा' लाई ऐच्छिक विषयकै रुपमा पढेको विद्यार्थी मजस्तो भएर निस्किन्छ :)

राफ्टिङ सकाएर १२ बजेतिर दिउँसोको खाना खाइवरी एकछिन आराम गरेपछि पालो आयो 'सावर क्लाइम्बिङ' (shower climbing) को। 'अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ' भनेजस्तो 'सावर क्लाइम्बिङ' मा पनि हुस्सु भइने हो कि भन्ने डर थियो तर धन्न त्यस्तो केही भएन। 'सावर क्लाइम्बिङ' भनेको ठाडो बगिरहेको खोलामा एक किसिमको 'पर्वतारोहण' (mountaineering) जस्तो रहेछ। खोलैखोल हिँड्न र पानीमा चिप्लेटी खेल्न खासै सीप चाहिने कुरा भएन, अलिकति आँट भए पुग्ने। त्यसैले 'सावर क्लाइम्बिङ' को चाहिँ पूरै रमाइलो लिन पाइयो राफ्टिङको तुलनामा।

साँझपख 'बार्बेक्यु' को छुट्टै रमाइलो भयो। तर बिहान पनि सबेरै उठ्नुपरेको र दिनभरि जीउ थाकेर लखतरान भएकोले हतार भने सबैलाई सुत्नकै थियो, त्यसैले चाँच्चाँडै ओछ्यान तताउने काम भयो। भोलिपल्ट बिहान उठ्दा जीउ हल न चल हुने अवस्थामा हुनु स्वभाविकै थियो। तर गुरुबा र केही जापानी साथीहरुलाई भने टेनिस खेल्न जाने हतार भैसकेको थियो। त्यसैले बिहानको नास्ता लिइसकेपछि टेनिस कोर्टतिर लागियो, जहाँ आफूले पनि अलि-अलि खेलेजस्तो गर्नैपर्‍यो। टेनिस सकिएपछि दिउँसोको खाना खाने उपक्रम पनि टुङ्ग्याइयो र पालो आयो 'ओन्सेन' (तातोपानी) मा नुहाउन जाने।

जापानीहरुसँग 'ओन्सेन' मा जाँदा निर्वस्त्र भएर जानुपर्छ भन्ने कुरा नेपालदेखि नै सुनेको हुनाले मनमा कौतुहलता र असहजता दुवै थियो। नाङ्गै भने पनि सर्वाङ्ग नाङ्गै नै हुने चाहिँ होइन होला जस्तो लागेको थियो तर हुने त सर्वाङ्ग नाङ्गै नै रहेछ। यसो हेरेको त गुरुबा लगायत सबैजना मजाले कपडा फुकाल्दै छन्, बिना कुनै संकोच। एउटा मात्र निर्वस्त्र हुने र अरुले कुरीकुरी गर्ने भए पो लाज हुने रहेछ त, सबैजना निर्वस्त्र हुँदा केको लाज! त्यसैले एकछिनमै मेरो पनि लाजशरम भाग्यो अनि 'लङ्गडाको देशमा गए खुट्टा उचाल्नु, कानाको देशमा गए आँखा छोप्नु' भन्ने आहानलाई शिरोधार्य गरेँ। यसरी जापान आएको लामै समयपछि भए पनि 'ओन्सेन' को रमाइलो अनुभव समेत बटुलियो। र अन्त्यमा, दिउँसो तीन बजेतिर फेरि टोकियो फर्किनका लागि हाम्रो टोली रवाना भयो।

Monday, May 3, 2010

ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा

यसपालिको 'सुनौलो सप्ताह' (Golden Week) को बिदाको मेसो पारेर साथीहरुसँग ओकुतामा ताल (奥多摩湖, Okutama-ko) तिर घुम्न जाने कार्यक्रम बन्यो। टोकियो शहरमा खानेपानी आपूर्तिको लागि एउटा मुख्य स्रोतको रुपमा रहेको उक्त तालको बारेमा हामी कसैलाई खासै ज्ञान नभए पनि इन्टरनेटमा उपलब्ध सामान्य जानकारीकै भरमा पदयात्राको रमाइलो लिने उद्येश्यले त्यहाँ जाने निधो भएको थियो। कहिलेकाहीँ यसरी सिमित जानकारीका भरमा गरिने यात्रा झन् बढी रोमाञ्चक हुँदो रहेछ। जताजता पुगे पनि ठिकै छ, रमाइलो गर्नेसम्म त हो भनेजस्तो।

वसन्त ऋतुको पारिलो दिनमा जङ्गलको बाटो हुँदै उचाइका हिसाबले हाम्रोतिरका चुरेका डाँडाहरुजस्तै लाग्ने होचा पहाडहरु उक्लिएर तालसम्म पुग्दाको मजा नै बेग्लै थियो। तलतिर छङछङाउँदै बगिरहेको तामा खोला (Tamagawa) अनि रङ पोतेर सजाएजस्तो देखिने थरिथरि रङका रुखहरुले ढपक्क ढाकिएको वारिपारिको दृश्यावलीले गर्दा आतेजाते करिब पाँच घण्टाको पैदल यात्रा निकै अविस्मरणीय बन्यो। सँगसँगै जापानीहरुको विकास र सम्पन्नताका पछाडि रहेको उनीहरुको इच्छाशक्ति र दूरदर्शितालाई केही नजिकबाट नियाल्ने अवसर पनि बन्यो यो यात्रा। तामा खोलामा १४९ मिटर अग्लो ओगोची बाँध (Ogōchi Dam) बाँधेर निर्माण गरिएको ओकुतामा तालको इतिहास हेर्दा हामीले सिक्न सक्ने कुरा धेरै रहेछन्।

आजभन्दा धेरै पहिले सन् १९२६ मै कम्तिमा सय वर्षसम्म टोकियो शहरको खानेपानीको माग धान्ने गरी योजना बनाएर सन् १९३८ देखि ओगोची बाँधको निर्माण शुरु गरिएको रहेछ। बीचमा दोस्रो विश्वयुद्धका कारण १९४३ देखि १९४७ सम्म निर्माण कार्य रोकिएको र युद्धपछि देशको आर्थिक अवस्था तहसनहस भएको भए पनि १९५७ मै बाँधको निर्माणकार्य सम्पन्न हुनु चानचुने कुरा पक्कै थिएन होला। जापानीहरुको उसबेलादेखिको लगनशीलता र दीर्घकालीन सोँचकै कारण आज टोकियोको खानेपानी वितरण प्रणाली संसारकै ठूलो र उत्कृष्टमा गनिन्छ।

अर्कोतर्फ हामीकहाँ भने योजनाबद्ध विकासको लामो चरण पार भैसक्दा पनि 'योजनाबद्ध' ढंगले सोँच्ने परिपाटीकै विकास हुन नसकेको हो कि भन्नुपर्ने अवस्था छ। खानेपानी भनौँ या बिजुलीबत्ती, बाटोघाटो भनौँ या उद्योगधन्दा, हाम्रो सोँच केही वर्ष परसम्म पनि जान सकेको देखिँदैन। काठमाडौंको सडक धुने चर्का कुरासँगै शुरु भएको महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजना पूरा हुने बेलासम्म (आशा गरौँ पूरा चाहिँ पक्कै हुनेछ !) त्यही बेलाको माग धान्न आयोजना सक्षम हुँदैन भन्छन् स्वयम् सम्बन्धित नीतिनिर्माताहरु। लोडसेडिङ्को चर्को मारले देशलाई ढुंगेयुगतर्फ लैजाँदै गर्दा पनि न त हामीसँग भविष्यका लागि भरपर्दो उर्जा योजना देखिन्छ न त साथमा भएको योजनामा परेका आयोजनाहरुको शिघ्र कार्यान्वयनमा कुनै तदारुकता नै। पूर्वी तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रुपमा हामीहरु विपी राजमार्गको चर्चा गरिरहेका हुन्छौँ तर राजमार्गको चौडाइ हेर्दा अर्को त्रिभुवन राजपथको झल्को आउँछ। के-के विषयमा मात्रै कुरा गर्नु ! राजनीति बिग्रिएको देशमा सबै कुरा यस्तै भद्रगोल हुने रहेछन् भनेर जेजस्ता बेथितिलाई पनि सामान्य रुपमा लिनुपर्ने अवस्था छ।

राजनीति सुध्रिँदैमा अर्थात् एकखालको स्थिरता आउँदैमा पनि स्थिति आफसेआफ राम्रो हुने होइन। जबसम्म अलि पछिसम्म, अलि टाढासम्म हाम्रा लागि हामी आफैँ सोँच्न सक्ने हुँदैनौँ, तबसम्म विकास र सम्पन्नता आकाशकै फल हुनेछन्।

तल यात्राको क्रममा लिइएका केही तस्वीरहरु हेर्न सक्नुहुनेछ। तस्वीरहरुका लागि बुद्धजीलाई विशेष धन्यवाद !






Saturday, January 23, 2010

जापानमा हिउँ अनुभव


केही दिन पहिले ल्याबबाट साथीहरु मिलेर हिउँमा चिप्लेटी खेल्न जाने कुरा निस्कियो। कुरा रमाइलै भए पनि हिउँमा चिप्लेटी खेलेको आफ्नो कुनै अनुभव नभएका कारण के भन्नु के भन्नु! फेरि सामान्यतया नेपाल नपुगेका सबै विदेशीजस्तै जापानीहरु पनि नेपाल भनेपछि हिमालयको देश, जताततै हिउँ नै हिउँ होला भन्ठान्छन्। उनीहरुलाई के थाहा कि हिउँको मुखै नदेखेका नेपाली कति छन् भनेर। म आफैले पनि एकपटक मात्र हिउँसँग परिचित हुने मौका पाएको थिएँ नेपालमा छँदा। २०६३ सालको हिउँदमा हेटौँडाबाट अफिसका साथीहरुसँगै दामन पुगिएको थियो जीवनमा पहिलोपल्ट हिउँको दर्शन गर्न। धन्न त्यतिसम्म अनुभव बटुलेका कारण हिउँ नै देखेको छैन भन्नुपरेन जापानीहरुसँग। तर चिप्लेटी खेल्न (स्नोबोर्डिङ) चाहिँ फिटिक्कै आउँदैन भनेर भन्नैपर्‍यो। एउटा जापानी साथी पनि रहेछ स्नोबोर्डिङको खासै अनुभव नभएको। ल हामी सँगै सिकौँला नि त भन्न थाल्यो उसले। त्यसपछि मैले पनि हुन्छ भनेर हिउँमा चिप्लेटी खेल्न जाने निधो गरेँ।

हिउँमा खेल्ने ठाउँसम्म पुग्न टोकियोबाट केही घण्टाको यात्रा तय गर्नुपर्ने भएकोले बिहानै हिँड्नुपर्ने थियो। यसै त बिहान अबेलासम्म सुत्ने बानी, त्यसमाथि बिदाको दिनमा बिहान छ बजे स्टेशनमा भेट हुनका लागि चारै बज्ने उठ्नुपर्ने कुरो मेरा लागि टाउकामा हाने बराबर नै थियो। तर के गर्नु उठ्नु त परिहाल्यो। काठमाण्डौँ-घर गर्दा यसरी नै बिहानबिहानै उठेर हिँड्ने गरेको याद पनि ताजा भयो यसरी झिसमिसे हुन नपाउँदै उठेर हिँड्नुपर्दा। टोकियोको टोकियो नै भन्ने स्टेशनको ‘मिनामी गुची’ (south exit) मा भेट हुने कुरा भएको थियो चे दाइ - (मेरो ल्याबका पिएचडीमा अध्ययनरत सिनियर विद्यार्थी, हुनत उनी कोरियाका हुन् तर बोलीचालीदेखि हर हिसाबले जापानी नै लाग्छन् मेरा लागि) सँग। तर त्यति ठूलो स्टेशनमा उनले भनेको ‘मिनामी गुची’ र मैले बुझेको ‘मिनामी गुची’ कताको कता परेछ। लगभग आधा घण्टाजति अलमलमा यता र उता दौडेपछि बल्ल भेट भयो चे दाइ र अरु दुई साथीहरुसँग। धन्न बस छुट्ने समय नाघिसकेको रहेनछ र अरु विघ्न केही परेन।

बसमा पूरै पाँच घण्टा नै लाग्यो गुन्मा भन्ने प्रिफेक्चरमा पर्ने स्नो रिसोर्टसम्म पुग्न। स्नो रिसोर्ट आइपुग्नै लाग्दा बसबाट यसो बहिर चिहाएको त मजाले घाम लागिरहेको बेला पनि फुसुफुसु हिउँ झरिरहेको रहेछ। यसरी पहिलोपल्ट फुसुफुसु झरिरहेको हिउँ त्यो पनि घाम लागिरहेको बेलामा देख्न पाउँदा मन रोमाञ्चित नहुने कुरै भएन। बाटोको छेउमा र वरपर थुप्रिएको खातका खात हिउँ अनि हिउँले लछप्पै ढाकिएका घरका छाना, रुखका हाँगाबिँगा आदि पनि पहिलोपल्ट देख्दै थिएँ म।

बसबाट ओर्लिनेबित्तिकै हिउँमा खेल्न अनुकूलका जुत्ता-कपडा पहिरेपछि आ-आफ्ना बोर्ड बोकेर लागियो हिउँको एउटा पाखोतिर। चिप्लेटी खेल्नु त परैको कुरा, स्नोबोर्डमा त उभिन मात्रै पनि ठूलै अक्कल चहिने रहेछ। त्यसैले शुरुमा यसो उभिन मात्रै जान्दा पनि के-के नै गरेजस्तो लाग्यो। त्यही जोशमा उभिने, केही परसम्म चिप्लिने र पछारिने क्रममा चिप्लिनेभन्दा पछारिने कर्म बढि भयो। शुरुमा त त्यति चाल पाइएन तर विस्तारै पछाराइको पीडा अनुभव हुन थाल्यो। पछारिन पनि ढंग पुर्‍याएर जीउलाई कम चोट पर्ने गरी पछारिएको भए पो हुन्छ, मनपरी पछारिएपछि पीडा हुनु र चाँडै थाक्नु स्वभाविकै भयो। जब उभिएर चिप्लिन पनि अलि अलि सिकेजस्तो लाग्दै थियो, जीउ एक हिसाबले थिलोथिलो भैसकेको थियो। त्यसैले अर्कोपटक चाहिँ अलि ढंग पुर्‍याएर चिप्लेटी खेल्नुपर्ला भनेर आफैलाई सान्त्वना दिँदै थकाइ मार्न छेउतिर लागियो। स्नोबोर्डिङमा त्यति अभ्यस्त नभएको जापानी साथीको हालत पनि मेरैजस्तो रहेछ लगभग। त्यसैले अरु दुईजनालाई त्यहीँ छोडेर हामी दुई पेटपूजा गर्ने मेसोमा तलतिर लाग्यौँ।

बस फर्किने समय हुन अब केहीबेर मात्र बाँकी थियो। त्यसैले अरु दुईजना साथी पनि चाँडै नै तल आइपुगे। जापानीहरुको बानी नै भनौँ, सानो कुरामा पनि फुर्काइहाल्ने। त्यसैले मलाई पनि पहिलो प्रयासमै खुब राम्रो गरेको भन्न बाँकी राखेनन् जापानी साथीहरुले तर मैले कति सिकेको थिएँ, त्यो त आफ्नै ठाउँमा थियो।


करिब चार घण्टा हिउँको संसर्गमा बिताएपछि पुन: पाँच घण्टाको बस यात्रा पूरा गरेर टोकियो आइपुग्दा राति लगभग दश बजेको थियो। सिन्जुकु भन्ने ठाउँमा बसबाट ओर्लिएर रामेन (जापानी चाउचाउ) खाइवरी कोठासम्म आइपुग्दा बाह्र नै बज्यो। जीउ मजाले थाकेकोले र अघिल्लो दिनको निद्रा पनि कचल्टिएकोले राति त चाँडै नै भुसुक्क भइएछ। तर जीउ साँच्चिकै कति थाकेछ भन्ने चाहिँ भोलिपल्ट बिहान बल्ल महशुस हुँदै थियो।

Wednesday, November 25, 2009

“पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?”

२०६४ सालको असोज महिनातिरको कुरा हो। पहिलोपल्ट जागिर भन्ने चिजको अनुभव लिने क्रममा हेटौंडामा थिएँ। बिदाको दिन भएकोले कोठामा टीभी खोलेर रिमोट तल-माथि गराउँदै बसिरहेको बेला साथी सुरेन्द्रको फोन आयो। काठमाण्डौबाट आफ्नो घर जनकपुरतर्फ जाने क्रममा बस बिग्रिएर ऊ हेटौंडामा रोकिएको रहेछ। त्यसैले ऊसँग भेट हुन बस बनाउँदै गरेको ग्यारेजमा पुगेँ। गफगाफ चल्दै गर्दा सुरेन्द्रले जनकपुर जाउँ भन्न थाल्यो। जनकपुर जाने रहर त मलाई पनि पहिलेदेखि नै थियो। तर पछि कुनै बेला समय मिलाएर मजाले घुम्ने गरी जाउँला नि भनेको उसले मान्दै मानेन। लौ त जाने भने जाने भनेर मैले पनि हिँड्ने ‘मूड’ बनाइहालेँ। एकैछिनमा बस बन्यो र हामी लाग्यौँ जनकपुरतर्फ।

बाटो त लागियो तर जनकपुर बन्दको दिन पो परेछ। नेपालमा, खासगरी पूर्वी मधेसमा, बन्द-हड्ताल सामान्य नै बनेको समय पर्‍यो त्यो। साँझ पर्नै आँटेको बेला ढल्केवर पुगेपछि जनकपुरतिर छिर्न पाइने हो कि हैन भन्ने द्विविधा भयो एकैछिन तर भाग्यवश जनकपुरसम्म सजिलै पुगियो। समस्या चाँहि जनकपुरबाट सुरेन्द्रको गाउँ हर्दियासम्म पुग्न देखियो। हर्दिया जनकपुर-जलेश्वर मूलसडकमै पर्ने भए पनि बन्दले गर्दा गाडी पाइने सम्भावना थिएन। फेरि रातको समय र भय-त्रासको वातावरणको के कुरा गर्नु? आखिरमा डर मान्दै नै भए पनि जनकपुरमै बस्नुहुने सुरेन्द्रको भान्जदाइले मोटरसाइकलमा दुवैजनालाई राखेर पुर्‍याइदिनुभयो हर्दियासम्म।

खै यो बन्द-हड्तालको हल्लाले त कतै पनि घुमघाम गर्न नपाइने भो कि क्या हो भन्ने आशंकासँगै त्यो रात बिताइयो। धन्न भोलिपल्ट बन्दको हल्ला सुनिएन र अलिकता राहत महशुस गर्दै बिहानको चिया पिएर सुरेन्द्र र म जलेश्वरतर्फ लाग्यौँ। घरबाट निस्किनै लाग्दा सुरेन्द्रकी हजुरआमा सोध्दै हुनुहुन्थ्यो – “बस चलैछै?” मैले मैथिलीमै “अँ, बस चलेको छ” भनेर उत्तर दिने प्रयास गर्दा सुरेन्द्रलाई पछिसम्म हाँसोको विषय बन्यो।

जलेश्वर पुग्दा मधेसका औसत शहरहरुकै झल्को आउँथ्यो। पछिल्लो समयमा चर्केको मधेस आन्दोलनका चिन्हहरु देखिन्थे यत्रतत्र। त्यहाँको प्रसिद्ध जलेश्वर महादेवको दर्शन गरेर सुरेन्द्रको मामाघरमा खाना खाइसकेपछि सीमावर्ती बजार मटिहानी घुम्न जाने कुरा भयो। तर जलेश्वरबाट मटिहानीसम्म पुग्ने बाटोको अवस्था साह्रै नाजुक रहेछ। भर्खरैको वर्षाले गर्दा ठाउँठाउँमा बाटो छेँडेर ‘नदी’ वारपार भैरहेका रहेछन्। त्यसैले मोटरसाइकलमाभन्दा साइकलमा जान उचित हुने देखियो र एउटा साइकल लिएर लाग्यौँ मटिहानीतिर। दुईजनालाई एउटा साइकल, सास्ती र रमाइलो दुवै भयो। सुरेन्द्रको ज्यान हेरेर चलाउनको धौले पछाडि बस्छु भनेको, बस्न झन् आपत्। बरु सुरेन्द्रलाई बसालेर आफै साइकल चलाएँ पछि त।

मटिहानी, नेपालकै पुरानोमध्येको संस्कृत पाठशाला भएको ठाउँ। तर त्यहाँको वर्तमान अवस्था हेर्दा वैराग मात्र लाग्ने रहेछ। ऐतिहासिक मटिहानी मठ पनि जीर्ण र परित्यक्तजस्तै लाग्थ्यो। मटिहानीसँग टपक्क टाँसिएरै बसेको रहेछ भारतीय बजार मधवापुर। दशगजा भनिने अन्तरराष्ट्रिय सिमाना खुम्चिएर हराएजस्तै देखिन्थ्यो त्यहाँ। भारतीय बजारतर्फ लाग्दै गर्दा सरकार-प्रशासनविहिन लाग्ने नेपालतर्फको सीमा देखेर फेरि एकचोटि नरमाइलो अनुभव भयो।

मटिहानी वरपर घुमिसकेपछि जलेश्वरतर्फ फर्किँदै थियौँ। अलिक वर सुगा भन्ने गाउँमा केही केटाकेटीहरु बाटोमा खेल्दै थिए। उनीहरु खेलिरहेको ठाउँबाट अगाडि बढ्न नपाउँदै एउटा बच्चाको तिखो स्वर कानमा ठोक्कियो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?" मैले आवाज आएतिर हेरेँ तर त्यसो भन्ने बच्चालाई ठ्याक्कै ठम्याउन सकिनँ। शायद आफूहरुसँग खेल्न बोलाएको अर्को साथी नआइदिँदा उसले त्यो ‘डाइलग’ बोलेको थियो क्यारे। मैथिलीभाषी गाउँमा उसले बोलेको त्यो शुद्ध हिन्दी ‘डाइलग’ बलिउडको कुनै सिनेमाबाट प्रभावित थियो वा गाउँकै कुनै बुज्रुकको मुखबाट सुनेर उसले नक्कल गरेको थियो, त्यो त थाहा भएन तर उसको भनाइले हामी दुवैलाई अचम्मित र केही हदसम्म स्तब्ध पनि बनाइदियो। अनि मैले सम्झिन थालेँ हात्ती र कमिलाका प्रसंगहरु। हात्ती ठूलो हुनु र कमिला सानो हुनुमा नाथे पढाइको कुनै साइनो नभएको कुरासँग त हामी भलिभाँती परिचित नै थियौँ। तर भर्खर अक्षर चिन्दै गरेको उमेरको बालकको त्यो अभिव्यक्तिले खण्डित हुँदै गैरहेका हाम्रा सामाजिक मूल्य र मान्यतालाई थप उदांगो पारेजस्तो लाग्यो। हाम्रा कहिल्यै नटुंगिने आन्दोलन र विद्रोहका कथाले यस्तै मानकहरु पो स्थापित गर्दैछन् कि? 'कम्निस्ट' राजनीतिमा लागेकी एकजना क्याम्पसे दिदीको धेरै पहिलेको एउटा ‘दर्शन’ पनि सम्झना भयो। “तिम्रो ब्याकपेपर क्लियर भयो त नानी?” भनेर कसैले सोधिदिँदा लज्जित हुनुपरेपछि उनले "हामी त राजनीति गर्ने मान्छे, समाज नै हाम्रो विश्वविद्यालय हो, यो बुर्जुवा शिक्षाको के कुरा गर्नुहुन्छ?" भन्दै घोकेर कण्ठ पारिएको जस्तो लाग्ने ‘दर्शन’ सुनाएकी थिइन्। धन्य हो हाम्रो तर्कशीलता ! यस्ता तर्क सुने भने त वास्तविक अर्थमा समाजलाई विश्वविद्यालय बनाएका म्याक्सिम गोर्कीहरु नै तीनछक पर्न बेर छैन।

यस्तै कुरा कहिले मनमा खेलाउँदै र कहिले आपसमा गफिँदै जलेश्वर फर्कियौँ र त्यहाँ केहीबेर भुलेर जनकपुरतिर बाटो ततायौँ। जनकपुर पुग्दा साँझ परिसकेको थियो। भजनकिर्तनमय जानकी मन्दिर पुग्दा बेग्लै खालको आनन्द अनुभव भयो। त्यहाँको रमाइलो माहौलले गर्दा दिउँसो नै जनकपुर घुम्न नपाएकोमा पछुतो मान्नुपरेन। अनि झमक्क साँझ परिसकेको भए पनि फेरि आउने कहिले हो कहिले भन्दै त्यहाँ वरपरका मठमन्दिर, तालतलैया लगायत बाह्रबिघा मैदानतिर पनि घुमियो। जनकपुर पुगेपछि जेनतेन अस्तित्व धानिरहेको नेपालकै एकमात्र रेल पनि हेर्न छुटाउनु भएन। त्यसैले रेलवे स्टेसन पनि पुगियो। घुमघाम सकाएपछि त्यस दिन त्यहीँ सुरेन्द्रको सानीमाको घरमा बस्यौँ। भोलि त मलाई बिहानै फर्कनुपर्ने थियो दिउँसोसम्म भए पनि अफिस पुग्ने गरी।

भोलिपल्ट बिहानै मोटरसाइकलमा ढल्केवर पुगेर पश्चिम जाने गाडी कुरेर बसेको त एउटै गाडी आउँदैन। फेरि अर्को बन्दको पो हल्ला रहेछ। लौ आज फसिने भइयो कि क्या हो भनेको धन्न केहीबेरमा एउटा बस आइपुग्यो। सुरेन्द्रसँग बिदा भै म हतार-हतार बस चढेँ र लागेँ आफ्नै कर्मस्थलतर्फ।

यसरी बिना कुनै योजना र बन्दैबन्दको आतंकका बीच पनि रमाइलो र अविस्मरणीय रहने गरी सकियो मेरो छोटो जनकपुर यात्रा। सबैभन्दा अविस्मरणीय भने त्यही ‘डाइलग’ रह्यो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?"

[पहिलोपल्ट प्रकाशित टाँसोमा भूलचुकमा परेका केही अंशहरु सामान्य परिमार्जन गरेको छु।]