Showing posts with label तस्वीर. Show all posts
Showing posts with label तस्वीर. Show all posts

Sunday, March 24, 2013

रेलगाडीको कथा र टोकियोको नयाँ वसन्त

'रेलै घुमेर, गयो दाजुको आधी उमेर...' राम थापा र सुनिता सुब्बाले गाएको यो सुमधुर लोकगीत सम्झनामा धेरैपल्ट गुञ्जन्छ - सन्दर्भ फरक भए पनि कता-कता आफैँप्रति लक्षितजस्तो लाग्ने गरी। टोकियोको झण्डै चार वर्षको बसाइ अवधिमा सयौँ हैन, हजारौँ घण्टा रेलगाडीको यात्रामा बिताइए होला। जापान, त्यसमाथि पनि टोकियोजस्तो ठूलो शहर, -मा राम्रो सार्वजनिक सवारी सुविधा (खासगरी ट्रेन) का बाबजुद दैनिक आवतजावतमा खर्च हुने समयको तुलनात्मक तस्वीर यहाँ भेट्न सकिन्छ। जेहोस्, रेलगाडी अभिन्न हिस्सा भएको छ दैनिक जीवनको। त्यसमध्ये पनि ओदाक्यु लाइन त 'आफ्नै' जस्तो लाग्ने भैसक्यो। टोकियोमा पाइला टेकेकै दिनदेखि शुरु भएको यो लाइनको यात्रा अहिलेसम्म पनि उसै गरी जारी छ। सधैं चढ्ने यही ओदाक्यु लाइन हिजो चढ्दा भने एक किसिमको नयाँ उत्साहका साथ चढियो। आफू सधैं हिँड्ने रुटमा पर्ने तीनवटा स्टेशनमा जमीनमाथिको ट्र्याकको सट्टा नयाँ विस्तार गरिएको भूमिगत ट्र्याक भएर ट्रेनमा यात्रा गर्दा जीवनमै पहिलोपल्ट भूमिगत ट्रेनमा यात्रा गरेभन्दा पनि बढी रोमाञ्चक अनुभव भयो। यो ट्र्याक विस्तारको काम मैले ओदाक्यु लाइन प्रयोग गर्न थालेदेखि नै भैरहेको थियो तर आफू पनि यसबाट लाभान्वित हुनेमध्ये परिएला भन्नेचाहिँ निश्चित थिएन। तर केही हप्ताअघि ट्र्याक विस्तारको काम सम्पन्न भै मार्च २३ तारिखबाट सञ्चालनमा आउने भन्ने सूचना देखेपछि भने मन चञ्चलजस्तै भयो। त्यो चञ्चलता त हिजो सकियो तर अर्को गजबको अनुभव पनि हिजै गर्न पाइयो। यति ठूलो निर्माण कार्य र परिवर्तनको काम पनि नियमित सेवामा बिना कुनै अवरोध गर्न सकिने रहेछ। अस्ति राती १ बजेसम्म ट्रेनहरु जमीनमाथिबाट हिँडिरहेका थिए, तर हिजो बिहान ५ बजेसम्ममा भूमिगत रुपमा ट्रेनहरु हिँड्ने र यात्रुहरु चढ्न-ओर्लन मिल्ने गरी सबै परिवर्तन सम्पन्न भैसकेछ। धन्य हो प्रविधि र धन्य हुन् प्रविधि तिखार्ने ती हातहरु!

भूमिगत भैसकेपछि सिमोकिताजावा स्टेसन (ओदाक्यु लाइन) को एक दृश्य

'भूमिगत' ओदाक्यु लाइनको यात्राका साथै हिजो अर्को उत्साहको विषय थियो - साकुरा फूलको दर्शन। यसपाली एक्कासी बढेको तापक्रमले वसन्तको रौनक चाँडै ल्याइदियो टोकियोमा। त्यसैले प्राय: अप्रिलको पहिलो-दोस्रो सातातिर फुल्ने साकुरा यो वर्ष भने मार्चको तेस्रो हप्तातिरै ढकमक्क फुल्यो। यही साकुराका केही बान्कीहरु समेट्ने सानो प्रयास तलका तस्वीरहरुमा गरेको छु। यी तस्वीरहरु टोकियो राजप्रासादनजिकैको चिदोरी-गा-फुचीमा लिइएका हुन्।  





Friday, September 23, 2011

फुजीसानको टाकुरामा लै लै. . .

[ब्लगलाई चटक्कै माया मारेजस्तो भएको छ अचेल। न त आफूले केही लेख्न पाइएको छ, न त छिमेकी ब्लगहरुतिरै मजाले 'खुट्टा तन्काउन' निस्कन पाइएको छ। त्यसो त मेरो दैनिकी पनि अझै नियमित स्वरुपमा आउन सकेको छैन, पछिल्ला केही महिनादेखि। खासमा यसबीचमा मास्टर्स तहको थेसिस तयार पार्ने कामले स्वभाविकरुपमा बढी व्यस्त बनायो। गएको अगस्ट ३१ मा थेसिस डिफेन्स सकिएपछि अलिक फुर्सदिलो भइएला कि भनेको फेरि अहिले चलिरहेको इन्टर्नसिपले उत्तिकै बेफुर्सदी बनाइदिएको छ। टोकियोदेखि योकोहामासम्म आउजाउ गर्दा दिनको झन्डै चार घण्टा ट्रेनमा र अर्को नौ-दश घण्टा कार्यस्थलमा बित्ने भएपछि बाँकी समय नित्यक्रिया र निद्रादेवीलाई चढाउनु कि अर्थोक केही गर्नु! खैर, जापानजस्तो व्यस्त देशको टोकियोजस्तो तीव्र गतिमा हुइँकिने शहरमा अरुचाहिँ फुर्सदमै छन्, ममात्रै अचाक्ली व्यस्त छु भनेजस्तो गरी यसबारेमा थप चर्चा भने नगरुम् होला अहिलेलाई! :) तर पनि मे ७ मा ताकाओसानको बारेमा लेखेको टाँसोपछि एकैचोटि आज मात्र - त्यो पनि हाइकिङकै बारेमा - नयाँ टाँसो टाँस्ने संयोग जुराउन सकेकोमा अलिकति भूमिका त बाँध्नैपर्‍यो। :)]

जापानको सबैभन्दा अग्लो तथा कुनै कुशल कालिगढले धर्ती खोपेर तयार पारेजस्तो लाग्ने चिटिक्क आकार मिलेको फुजीसान (फुजी पहाड) (३,७७६ मिटर) जापानीहरुमाझ त अत्यधिक लोकप्रिय छ नै, विदेशीहरु पनि यसको सौन्दर्यको बखान गरेर थाक्दैनन्। हुनत शुरु-शुरुमा जापानीहरु फुजीसान-फुजीसान भनेर अति नै 'नाटक' गर्छन् जस्तो पनि लाग्थ्यो, तर केही समयअघि हाकोने घुम्न गएको बेला त्यहाँबाट देखिएको फुजीसानको अद्वितीय दृश्यले भने म आफैँ पनि असाध्यै रोमाञ्चित र मन्त्रमुग्ध भएको थिएँ। यही फुजीसान चढ्न जाने तारतम्मे मिल्यो गएको सेप्टेम्बर १० र ११ को सप्ताहान्तमा। 

फुजीसान चढ्ने हाम्रो टोली ठूलै थियो - जापानी र विदेशीहरु गरी झन्डै ५० जना जति। त्यसमा ८ जना त हामी नेपाली नै थियौँ, त्यसैले हाम्रो आफ्नै हालीमुहाली थियो। :) १० तारिख बेलुका टोकियोबाट प्रस्थान गरेको हाम्रो टोली करिब तीन घण्टाको बसयात्रापश्चात् राति नौ बजेतिर फुजीसानको बेस स्टेसन (खावागुचीको रुटमा पर्ने स्टेसन नं. ५) (२,३०५ मिटर) मा पुगेपछि फुजीसानको आरोहण शुरु भयो। रातभरि उकालो उक्लेर भोलिपल्ट बिहान फुजीसानको टाकुराबाट ५:१८ को सूर्योदय हेर्ने योजनामा थियौँ हामीहरु। 

आकाश छ्याङ्ग खुलेको जुनेली रात र अगाडि-पछाडि मान्छेहरुको लर्को हुनाले रातिपख हिँडेकोजस्तो खासै अनुभव नभए पनि कति उकालो चढियो र अझै कति बाँकी छ भन्ने मेसो भने केही नपाइने रहेछ। फुजीसानको टाकुरासम्म पुग्न पाँचौँ स्टेसनबाट दशौँ स्टेसनसम्म पुग्नुपर्नेमा शुरुको छैठौँ स्टेसन आउनै झन्डै दुईघण्टा लाग्दा त फुजीसानको उकालोले सातो नै लेलाजस्तो भयो। तर छैठौँ स्टेसनपछि सातौँ स्टेसन भने थाहै नपाइने गरी केहीबेरमै आइपुग्यो। अनि त केही माथि बलिरहेको बत्ति र त्यहीँनेर पुगेर टुङ्गिएकोजस्तो देखिने फुजीसानलाई औँल्याउँदै अब यस्सो दौडियो भने एकछिनमै टाकुरामा पुगिने रहेछ भन्ने 'अड्कलाइजेसन' गर्न पनि पछि परिएन। त्यही बेला एकजना साथीले भन्ने गरेको 'नाथे फुजीसान' को पनि सम्झना भयो। तर फुजीसानको टाकुरा त्यति नजिक त कहाँ थियो र! आठौँ स्टेसन कटेपछि भने बल्ल बाँकी उकालोको अलिअलि रुपरेखा थाहा भयो। यसबीचमा सुरक्षाका लागि बाटोको छेउमा राखिएको डोरीको साहरा लिँदै चट्टानमा सुरेली खेलेजस्तै गरी चढ्नुपर्ने उकालोले फेरि एकचोटि तर्स्याउन भ्याइसकेको थियो। धन्न, आठौँ स्टेसनपछिको उकालो लामो भए पनि चढ्न भने उस्तो अप्ठ्यारो रहेनछ। 

अन्तत: बिहानको झिसमिसेसँगै हामी फुजीसानको टाकुरासम्म उक्लन सफल भयौँ। बढ्दै गरेको उज्यालोमा बल्ल हामीहरु अनुभव गर्दै थियौँ, ज्वालामुखी चट्टानबाट बनेको पहाड कस्तो हुँदो रहेछ। फुजीसान टाढाबाट हेर्दाजस्तो वा तस्वीरहरुमा देखिनेजस्तो कहाँ रहेछ र! नजिक पुग्दा त यो डढेको रातो माटो, ढुङ्गा, बालुवा र खरानीकोको थुप्रो पो रहेछ! तर फुजीसानको विशेषता भन्नु नै यसको सममितीय (symmetrical) कोणाकार (अझ frustum को आकार भन्नु बेस हुन्छ होला) हो जसले गर्दा जताबाट जसरी हेर्दा पनि यो उत्तिकै राम्रो देखिन्छ। त्यसमाथि हिउँदयाममा हिउँको टोपीले छोपिँदा देखिने यसको अद्भूत सौन्दर्य त छँदैछ। जेहोस्, फुजीसानको टाकुरामा पुगेको केहीबेरमै हाम्रो बहुप्रतिक्षित घडी आइसकेको थियो अर्थात् पूर्वको क्षितिजमा लालीमा भर्दै सूर्यनारायण बिस्तारै आकाशतर्फ उक्लँदै थिए। त्यो क्षण थप आनन्ददायी र रोमाञ्चक यसकारण पनि थियो कि हामी 'सूर्योदयको देश' को सबैभन्दा अग्लो भागमा बसेर सूर्योदयको दृश्यास्वादन गरिरहेका थियौँ। हामी विशेष कृतज्ञ भने त्यो बिहानीको मौसमप्रति भयौँ जसले हामीलाई पूर्णरुपमा साथ दिएको थियो। तलपट्टि होचो भागमा कपासजस्तै गरी फैलिएको बादल र माथिपट्टि खुला आकाशमा उदाउँदै गरेको सूर्य, त्यो दृश्य साँच्चिकै अनुपम थियो।

सूर्योदयको दृश्य

सूर्योदयको दृश्यलाई क्यामेरा र मन दुवैमा कैद गरिसकेपछि पालो आयो - फुजीसानको शिखरमा नेपाली झण्डा फहराएर 'फोटो सेसन' गर्ने।  जापानीहरु यताबाट गएर हाम्रा सगरमाथा लगायतका हिमशिखरहरुमा आफ्नो झण्डा फहराउँछन् भने हामी पनि उनीहरुको सर्वोच्च शिखरमा पुगेका बेला राष्ट्रिय झण्डा फहराउन किन पछि पर्नु! (गफै त हो:)) हाम्रो 'फोटो सेसन' देखेर वरिपरिका जापानीहरु भने अनौठो मान्दै थिए।

नेपाली झण्डासहितको सामूहिक 'फोटो सेसन' :)

फुजीसानको आकारजस्तै यसको टाकुराको आकार र विशालता पनि मन लोभ्याउने खालको थियो। फुजीसानको टाकुराको चौडाइ र यसको बीचमा रहेको ज्वालामुखीको मुख (volcanic crater) को बारेमा केही त सुनिएको थियो, तर त्यो त्यति भव्य होला भन्ने चाहिँ मेरा लागि कल्पनाबाहिरकै कुरा थियो। बीचभागमा रहेको गहिरो 'क्रेटर' र वरिपरि केही माथि उठेका आठवटा थुम्काहरुका कारण फुजीसानको टाकुरालाई हेर्दा ठ्याक्कै एउटा ठूलो मैरी (तुलसीको मठ) जस्तो भान हुने रहेछ। फुजिसानको टाकुराको वरिपरि एक चक्कर लगाउन झन्डै डेढ घण्टाजति लाग्दो रहेछ, तर समयको सिमितताले गर्दा शुरुमा यसो कस्सिए पनि पछि दौडादौड गर्ने आँट गर्न सकिएन। ११ बजे तल पाँचौँ स्टेसनबाट छुट्ने भनेको हाम्रो बस छुट्ला र व्यर्थमा अर्को सास्ती पाइएला भन्ने डरले ओरालो लाग्नु नै बेस ठानेर फुजीसानको शिखरलाई 'सायोनारा' गरियो।

फुजीसानको 'क्रेटर' र वरिपरिका थुम्काहरु
टाकुरामा देखिएको मान्छेको भीडभाड


ज्वालामुखी चट्टानले बनेको फुजीसानको सतह
टाकुराबाट हेर्दा तलपट्टि देखिएको मनोरम दृश्य

ओरालो झर्दा चाल पाइयो, फुजीसानको उकालोभन्दा त ओरालो पो मापाको रहेछ। सुस्त रफ्तारमा रातिको समयमा हिँडेको भएर पनि होला, उकालोले त्यतिसारो हायलकायल बनाएको थिएन जति ओरालोले बनायो। मसिना ढुङ्गा र धुलोले भरिएको ओरालो बाटोमा खुट्टा राम्रोसँग अडिने कुरै भएन, लिरिक्क-लिरिक्क लिर्किँदै हिँड्नुपर्ने। त्यसमाथि रातिको अनिँदोले गर्दा पनि होला, एकैछिनको हिँडाइमा थाकेर चुर भइयो। तर यसो तल हेर्‍यो, ओरालोले सकिने नाम भने लिने होइन। सबैभन्दा ठूलो आपत चाहिँ शौचालयले पार्‍यो। उकालो चढ्ने रुटमा ठाउँठाउँमा शौचालय हुनाले केही अप्ठ्यारो परेको थिएन तर ओरालो झर्ने रुटमा भने शौचालयको नाकमुखै नदेखिने। बल्लतल्ल भेटियो भनेको निकै तलको एउटा शौचालय पनि स्थानीय सरकारले फुजीसान चढ्न तोकेको अवधि अघिल्लो हप्तै सकिएकाले बन्द अवस्थामा रहेछ। रुनु न हाँस्नु भइयो निकैबेर। यही शौचालय खोज्ने धुन र ओरालो झर्नका लागि हामीलाई भनिएको योसिदा रुटबारेको अलमल समेतले गर्दा हामी आठजना नेपाली साथीहरु पनि तीन-चारतिर हुन पुग्यौँ। सँगै रहनुभएका डमरू सर र म ओरालोमा अघि बढ्दै गर्दा अरु नेपाली साथीको त के कुरा, हाम्रो टोलीका अरु कोही विदेशी समेत देखिन छाडेपछि एकैछिन त बाटो बिराइएछ कि भन्ने डर पनि भयो। तर कुँदाकुँद गर्दै केहीबेरमा ओरालो सकेर तेर्छो लाग्ने बाटोसम्म पुगेपछि भने अलिकति सास आयो। 

तेर्छो लागेपछि पनि फर्कने रुट निकै घुमाउरो रहेछ। एउटा घुम्ती सकिएपछि अब त हाम्रो स्टेसन आइपुग्यो होला भन्यो, फेरि अर्को घुम्ती आइपुग्ने। जेहोस्, जसोतसो सवा दश बजेतिर पाँचौँ स्टेसनमा पुगियो। यतिञ्जेलसम्ममा एकातिर थकाइले जीउ थिलोथिलो भैसकेको थियो भने अर्कोतिर बाटोको धुलो, खरानी र पसिनाले एक-अर्काको अनुहार पनि हेर्नलायक बनाइदिएको थियो। पाँचौँ स्टेसनबाट ओन्सेनका लागि बस छुट्ने समय अर्थात् ११ बजेसम्ममा हामी ६ जना नेपाली साथीहरु मात्र त्यहाँ जम्मा हुन सक्यौँ। ६२ वर्षमा टेकिसक्नुभएका एकजना जापानी गुरुबालाई ओरालो झर्न केही गाह्रो परेका कारण उहाँसँगै रहनुभएका जीत सर र प्रमिला दिदीलाई फर्कन ढिलो हुने भयो र उहाँहरुले अर्को पब्लिक बस समात्नुपर्ने भयो। यसरी उहाँहरुलाई पर्खन नपाई स्नानादिका लागि ओन्सेनतर्फ लाग्नुपर्दा हामी सबैलाई केही नरमाइलो हुनु स्वभाविक थियो। 

ओरालो झरेर पाँचौँ स्टेसनमा पुग्ने क्रममा बाटोमा देखिएको घोडागाडी। तेर्छोमध्येको अन्तिम एक किलोमिटरजति बाटो यो गाडी चढेर पनि पार गर्न सकिने रहेछ।

ओन्सेनको तातो पानी र 'साउना' मा एक-डेढ घण्टाजति बिताउँदा अलिकति भए पनि थकाइ हराएजस्तो अनुभव भयो र जीउ पनि केही चङ्गा बन्यो। अनि दिउँसोको दुई बजेतिर फुजीसानको फेदीसँग समेत बिदा हुँदै हामी पुन: टोकियोकै दिशातर्फ मोडियौँ। यसरी पवर्तारोहण भने पनि, सामान्य पदयात्रा भने पनि फुजीसानसम्मको हाम्रो अविस्मरणीय यात्रा सम्पन्न भयो। 

अन्त्यमा, यो पूरानो सम्झना: गत डिसेम्बर ३१ मा हाकोने (आसी ताल) बाट देखिएको फुजी 'हिमाल'। फुजीसान अझ राम्रोसँग देखिने ठाउँसम्म पुग्दा भने 'बादलुको घुम्टो' ले धोका दियो।

Saturday, May 7, 2011

ताकाओ पहाडतिरको घुमघाम

यसपालिको 'गोल्डेन विक' को बिदामध्येको एक दिन साथी राजेन्द्रजीसँग ताकाओ पहाड (ताकाओ-सान) तिरको 'हाइकिङ' मा बिताइयो। जापानी फुच्चे पहाडहरुमा यो मेरो तेस्रो यात्रा थियो। यसअघिका यात्राहरुबारे यहाँ ('ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा') र यहाँ ('चुकुबा शहर र चुकुबा पहाडका कुरा') लेखिसकेको छु।

ताकाओ पहाड टोकियो शहरको मध्यभागबाट लगभग एक घण्टाको ट्रेन-यात्रामा पुगिने, समुद्री सतहबाट ५९९ मिटरको उचाइमा रहेको एउटा प्रसिद्ध 'हाइकिङ' गन्तव्य हो। साकुरा फुल्ने वसन्त ऋतुको समय होस् वा मेपल लगायतका रुखले पातको रङ फेर्दा प्रकृति नै रङ्गीन बन्ने शरद ऋतुको समय होस्, टोकियोबाट नजिकै रहेको गन्तव्यको रुपमा ताकाओ पहाडको चर्चा भइ नै हाल्छ। 'गोल्डेन विक' को बिदामा त झन् यो भीडभाडै हुने ठाउँका रुपमा चिनिन्छ। यसपालि त्यही 'भीडभाड' को एउटा हिस्सा भयौँ हामीहरु पनि।

तल ताकाओ पहाडतिरको घुमघामका क्रममा लिइएका केही तस्वीरहरु राख्ने जमर्को गरेको छु। तर म फोटोग्राफीमा कुनै खास 'अक्कल' वा प्राविधिक ज्ञान भएको व्यक्ति भने होइन है:)

बाटोमा देखिएका पदयात्रीहरु
बाटोमा बेच्न राखिएको 'दाङ्गो' (चामलको पीठोबाट बनेको एक किसिमको जापानी परिकार)
वरिपरिका हरिया थुम्काहरु
टोकियोमा साकुरा फुल्ने याम सकिए पनि ताकाओसानमा ढकमक्क फुलेको 'यामाजाकुरा' (साकुराको एउटा पर्वतीय प्रजाति)
ताकाओसान याकु-ओउ-इन मन्दिर (जापानका ४५ औँ सम्राट सोमुले सन् ७८८ मा पहिलोपल्ट यो बौद्ध मन्दिर बनाउन लगाएका रहेछन्)
ताकाओसान याकु-ओउ-इन मन्दिरको प्रवेशद्वार नजिकै रहेका 'तेङ्गु' नामका लामो नाक गरेका 'प्रेत' हरु
गुराँस फूल: 'मिचुबा चुचुजी'
बाटोमा देखिएका अन्य फूलहरु
ताकाओसानको टाकुरानेरै पुग्न लाग्दा देखिएको मान्छेको भीड
ताकाओसानको टाकुराबाट देखिएको पहाडी दृष्य (फुजीसान शायद यतै कतै थियो कि, तर आकाश त्यति नखुलेकाले खासै मेसो पाउन सकिएन)
ताकाओसानको फेदी र पृष्ठभूमिमा देखिएको हाचिओजी शहर
र अन्त्यमा, हाम्रो प्यारो 'लालीगुराँस' (फर्केर ताकाओसानको फेदीमा आइपुग्दा देखिएको)

Monday, May 3, 2010

ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा

यसपालिको 'सुनौलो सप्ताह' (Golden Week) को बिदाको मेसो पारेर साथीहरुसँग ओकुतामा ताल (奥多摩湖, Okutama-ko) तिर घुम्न जाने कार्यक्रम बन्यो। टोकियो शहरमा खानेपानी आपूर्तिको लागि एउटा मुख्य स्रोतको रुपमा रहेको उक्त तालको बारेमा हामी कसैलाई खासै ज्ञान नभए पनि इन्टरनेटमा उपलब्ध सामान्य जानकारीकै भरमा पदयात्राको रमाइलो लिने उद्येश्यले त्यहाँ जाने निधो भएको थियो। कहिलेकाहीँ यसरी सिमित जानकारीका भरमा गरिने यात्रा झन् बढी रोमाञ्चक हुँदो रहेछ। जताजता पुगे पनि ठिकै छ, रमाइलो गर्नेसम्म त हो भनेजस्तो।

वसन्त ऋतुको पारिलो दिनमा जङ्गलको बाटो हुँदै उचाइका हिसाबले हाम्रोतिरका चुरेका डाँडाहरुजस्तै लाग्ने होचा पहाडहरु उक्लिएर तालसम्म पुग्दाको मजा नै बेग्लै थियो। तलतिर छङछङाउँदै बगिरहेको तामा खोला (Tamagawa) अनि रङ पोतेर सजाएजस्तो देखिने थरिथरि रङका रुखहरुले ढपक्क ढाकिएको वारिपारिको दृश्यावलीले गर्दा आतेजाते करिब पाँच घण्टाको पैदल यात्रा निकै अविस्मरणीय बन्यो। सँगसँगै जापानीहरुको विकास र सम्पन्नताका पछाडि रहेको उनीहरुको इच्छाशक्ति र दूरदर्शितालाई केही नजिकबाट नियाल्ने अवसर पनि बन्यो यो यात्रा। तामा खोलामा १४९ मिटर अग्लो ओगोची बाँध (Ogōchi Dam) बाँधेर निर्माण गरिएको ओकुतामा तालको इतिहास हेर्दा हामीले सिक्न सक्ने कुरा धेरै रहेछन्।

आजभन्दा धेरै पहिले सन् १९२६ मै कम्तिमा सय वर्षसम्म टोकियो शहरको खानेपानीको माग धान्ने गरी योजना बनाएर सन् १९३८ देखि ओगोची बाँधको निर्माण शुरु गरिएको रहेछ। बीचमा दोस्रो विश्वयुद्धका कारण १९४३ देखि १९४७ सम्म निर्माण कार्य रोकिएको र युद्धपछि देशको आर्थिक अवस्था तहसनहस भएको भए पनि १९५७ मै बाँधको निर्माणकार्य सम्पन्न हुनु चानचुने कुरा पक्कै थिएन होला। जापानीहरुको उसबेलादेखिको लगनशीलता र दीर्घकालीन सोँचकै कारण आज टोकियोको खानेपानी वितरण प्रणाली संसारकै ठूलो र उत्कृष्टमा गनिन्छ।

अर्कोतर्फ हामीकहाँ भने योजनाबद्ध विकासको लामो चरण पार भैसक्दा पनि 'योजनाबद्ध' ढंगले सोँच्ने परिपाटीकै विकास हुन नसकेको हो कि भन्नुपर्ने अवस्था छ। खानेपानी भनौँ या बिजुलीबत्ती, बाटोघाटो भनौँ या उद्योगधन्दा, हाम्रो सोँच केही वर्ष परसम्म पनि जान सकेको देखिँदैन। काठमाडौंको सडक धुने चर्का कुरासँगै शुरु भएको महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजना पूरा हुने बेलासम्म (आशा गरौँ पूरा चाहिँ पक्कै हुनेछ !) त्यही बेलाको माग धान्न आयोजना सक्षम हुँदैन भन्छन् स्वयम् सम्बन्धित नीतिनिर्माताहरु। लोडसेडिङ्को चर्को मारले देशलाई ढुंगेयुगतर्फ लैजाँदै गर्दा पनि न त हामीसँग भविष्यका लागि भरपर्दो उर्जा योजना देखिन्छ न त साथमा भएको योजनामा परेका आयोजनाहरुको शिघ्र कार्यान्वयनमा कुनै तदारुकता नै। पूर्वी तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रुपमा हामीहरु विपी राजमार्गको चर्चा गरिरहेका हुन्छौँ तर राजमार्गको चौडाइ हेर्दा अर्को त्रिभुवन राजपथको झल्को आउँछ। के-के विषयमा मात्रै कुरा गर्नु ! राजनीति बिग्रिएको देशमा सबै कुरा यस्तै भद्रगोल हुने रहेछन् भनेर जेजस्ता बेथितिलाई पनि सामान्य रुपमा लिनुपर्ने अवस्था छ।

राजनीति सुध्रिँदैमा अर्थात् एकखालको स्थिरता आउँदैमा पनि स्थिति आफसेआफ राम्रो हुने होइन। जबसम्म अलि पछिसम्म, अलि टाढासम्म हाम्रा लागि हामी आफैँ सोँच्न सक्ने हुँदैनौँ, तबसम्म विकास र सम्पन्नता आकाशकै फल हुनेछन्।

तल यात्राको क्रममा लिइएका केही तस्वीरहरु हेर्न सक्नुहुनेछ। तस्वीरहरुका लागि बुद्धजीलाई विशेष धन्यवाद !