Monday, December 4, 2017

हार्नेलाई भोट दिने कि जित्नेलाई?

पहिलो संविधान सभाको चुनावको बेलाको एउटा रमाइलो प्रसङ्ग छ। माओवादी मधेसकेन्द्रित दलहरूप्रति केही बढी आकर्षण अपेक्षाको समय भएकाले नेपाली काङ्ग्रेस एमालेजस्ता दलहरूलाई एककिसिमको दबाव थियो। कपिलवस्तुको हाम्रो निर्वाचन क्षेत्रमा एमालेको प्रभाव खासै नभएका कारण एमालेभन्दा पनि नेपाली काङ्ग्रेसका लागि बढी चुनौतिपूर्ण थियो त्यो चुनाव। त्यसमाथि त्यस क्षेत्रका स्थापित काङ्ग्रेस नेता दीपकुमार उपाध्यायको पनि निर्वाचन क्षेत्र परिवर्तन भएको नयाँ उम्मेदवारसहित पार्टी चुनावमा होमिएको अवस्था थियो। यस्तो बेलामा तमलोपाका प्रतिस्पर्धी उम्मेदवारको सामना गर्न नेपाली काङ्ग्रेसका नेता-कार्यकर्ताले एमाले तथा माओवादीका शुभचिन्तकहरूको भोट तान्न प्रयोग गर्ने गरेको एउटा जुक्ति थियो - "जित्ने सम्भावना भएको उम्मेदवारलाई भोट दिनुहोस्, आफ्नो भोट खेर नफाल्नुहोस्।" यसले कतिपय गैरकाङ्ग्रेसी मतदातामा सजिलै प्रभाव पारेको देखिन्थ्यो। "यसपालि दिनुपर्ने माओवादीलाई हो तर दिए पनि जित्ने हैनन्, त्यसैले नेपाली काङ्ग्रेसलाई नै दिनुपर्ला," "हाम्रो पार्टी एमाले हो तर कहिल्यै जित्ने हैन, नेपाली काङ्ग्रेसलाई नै दिनुपर्ला," यस्ता प्रतिक्रिया मैले थुप्रैबाट सुनेको थिएँ। तर चुनाव भनेको सजिलै लख काट्न सकिने विषय कहाँ हो ! चुनावमा हाम्रो क्षेत्रबाट विजयी तमलोपा भयो दोस्रो स्थानमा आउने नेपाली काङ्ग्रेस नै भयो। तर तमलोपा नेपाली काङ्ग्रेसबीचको मतान्तर यति ठूलो थियो किजित्ने सम्भावना भएका’ नेपाली काङ्ग्रेसका उम्मेदवारले मुश्किलले माओवादीका उम्मेदवारलाई उछिन्न सके। त्यसैले मतगणनाका प्रारम्भिक रिपोर्टहरु आउँदै गर्दा नेपाली काङ्ग्रेस समर्थक मेरा केही साथीहरू भन्दै थिए - "जित्ने चान्स भएको उम्मेदवारलाई भोट दिनुस् भनी भनी भोट मागियो, अब त्यो घरमा कसरी मुख देखाउने बे!"    

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरण ढोकैमा आइपुग्दा अहिले पनि धेरै क्षेत्रमा माथिकै जस्तो जुक्ति प्रयोग गरी मतदाताको मनोविज्ञानमा खेल्न खोजिएको कुरा बुझ्न गाह्रो छैन। त्यसैले फेरि पनि मनन गरौँ:

चुनावमा जित्ने सम्भावना शुरूमै तोकिएको हुँदैन, त्यो तोक्ने तपाईं-हाम्रो एक-एक भोटले हो। त्यसैले 'जित्ने नेता' हैन, तपाईंको विवेक ब्रम्हले सही ठहर्याएको, नीति-निर्माण गर्ने ठाउँमा पुग्न लायक भन्ने ठानेको नेतालाई भोट दिनुहोस्।

तपाईंले भोट दिएको उम्मेदवारले चुनाव जिते पनि, नजिते पनि लोकतन्त्रमा कुनै भोट खेर जाँदैन। तपाईंको भोट तपाईंको सन्देश हो। यसले खराब उम्मेदवार/पार्टीलाई खबरदारी असल उम्मेदवार/पार्टीलाई प्रोत्साहन गर्न सकेन भने के अर्थ

लोकतन्त्रमा नागरिकसँग भएको सबैभन्दा ठूलो हतियार मताधिकार हो। यस्तो हतियारलाई भावनामा बगेर वा "सधैं भोट दिइराखेको पार्टी, अर्कोतिर हातै जाँदैन" भनेर भुत्ते नबनाऊँ।

(तस्वीर स्रोत: http://www.myrepublica.com/)

नेपालबाहिर भएका कारण यस ऐतिहासिक चुनावमा मैले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न नपाउने भएँ तर चुनावी माहोलमा यति नलेखी भने चित्तै बुझेन। :)

डिसेम्बर ४, २०१७ 
केन्ट, ओहायो

Friday, January 13, 2017

हिन्दू परिचयबारे थप चर्चा

मूर्धन्य लेखक तथा साहित्यकार डा. तारानाथ शर्माको "‘हिन्दू’को परिचय" शिर्षकमा नागरिक दैनिकमा हालै प्रकाशित लेखको मूल मर्मप्रति असहमत हुने ठाउँ खासै नभए पनि केही तथ्यगत त्रुटिहरू औँल्याउनु भने वाञ्छनीय देखिन्छ। लेखमा ‘हिन्दू’ शब्द कसरी बन्यो र वेद-उपनिषद् कतै पनि नभएको ‘हिन्दू’ शब्द नै कसरी हाम्रो धर्मको रुपमा समेत चिनिन पुग्यो भन्ने बारेमा लेखकले ऐतिहासिक कारण खोतलेका छन्। तर लामो ऐतिहासिक विकासक्रमलाई सानो लेखमा समेट्ने क्रममा हुन सक्छ, तथ्यहरू भने गोलमटोल हुन गएका छन्।

लेखक भन्छन्:
वैदिक आर्यहरू पश्चिमतिर बसाइँ सर्दै सिन्धुनदीका किनारमा स्थित मैदानमा पुगेर बस्न थाले। ती जनता सिन्धु किनारामा बस्ता त्यो ठाउँ भारतकै अधीनमा थियो। त्यस क्षेत्रको छिमेकमा अरबी जनता बस्थे। तिनमा इराकी, सिरियाली, इरानीसमेत थिए। अरबी मूलका जनता ‘स’ को उच्चारण गर्न नसकी त्यसलाई ‘ह’ भन्छन्।… सिन्धुनदीको किनारमा बस्ने वैदिक आर्यहरूलाई तिनका पश्चिमी छिमेकीहरूले ‘स’ लाई ‘ह’ र ‘ध’ लाई ‘द’ पारी ‘हिन्दु’ शब्दले सम्बोधन गर्न थाले। यसरी भारतको अधीनका आर्यहरू अरबी प्रभावले सिन्धु नदीको किनारमा बस्ने हुनाले ‘हिन्दू’ भए।

पहिलो कुरा त वैदिक आर्यहरू सिन्धुनदी किनारमा आइपुग्ने समयमा भारत भन्ने कुनै देश वा शासकीय इकाई अस्तित्वमा थिएन। बरु त्यस ठाउँमा छिन्नभिन्न भैसकेको विशाल सिन्धु सभ्यताका अवशेषहरू थिए भन्ने इतिहासकारहरूको मत छ। त्यही बाँकी रहेको सिन्धु सभ्यता र मध्य-एशियाबाट आइपुगेका वैदिक आर्यहरूको संस्कृतिको सम्मिश्रणबाट नै वैदिक सभ्यता वा वैदिक सनातन धर्मको निर्माण हुन पुगेको विश्वास गरिन्छ। दोस्रो कुरा, सिन्धुनदी क्षेत्रको छिमेकमा अरबी होइन, इरानी जनता बस्ने गर्थे। वास्तवमा वैदिक आर्यहरू (जसलाई हिन्द-आर्य पनि भनिन्छ) हिन्द-इरानी आर्य समूह (जुन आफैँमा हिन्द-यूरोपेली वा भारोपेली परिवारभित्र पर्छ) को एउटा हाँगो हुन्। यसै आर्य समूहको अर्को हाँगोमा इरानीहरू (अहिलेका इरानी, अफगानी आदि) पर्दछन्। वैदिक आर्यहरूका छिमेकी यिनै इरानीहरू थिए। त्यसैले संस्कृतको 'सिन्धु' शब्दको उच्चारण अरबीमा नभै फारसीमा 'हिन्दू' हुन पुगेको हो। यसरी संस्कृतको उच्चारण परिवर्तन भई बनेका (वा संस्कृतसँग मिल्दोजुल्दो उच्चारण भएका) फारसी शब्दहरू अरु पनि थुप्रै भेटिन्छन्, जस्तै: हफ्ता (सप्ताह), माह (मास), अहुरा (असुर) आदि। इरानी र अरबीबीचको अन्तरमा यहाँ किन जोड दिन खोजिएको हो भने यी दुईले आधारभूत रुपमै भिन्न जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व गर्दछन्। इरानी जाति र भाषा (फारसी) सँग हामी आद्य हिन्द-इरानीकालदेखि जोडिएका छौँ। अरबी जाति र भाषा भने भारोपेली परिवारभन्दा नितान्त भिन्न अफ्रो-एशियाली परिवारको समिटिक समूहसँग सम्बन्धित छन्। 

लेखमा युनानी (ग्रीसेली) हरूले गर्दा ‘इन्डस नदी’ र ‘इन्डिया’ जस्ता शब्दहरू फैलिएको चर्चा पनि गरिएको छ। तर यहाँनेर छुटेको तथ्य के हो भने जसरी ‘सिन्धु’ अपभ्रंशित भएर ‘हिन्दू’ भयो त्यसरी नै ‘हिन्दू’ अपभ्रंशित भएर ‘इन्डस’ बनेको हो किनभने युनानीहरूले इरानीहरूमार्फत् नै पहिलोपल्ट सिन्धुनदी र यहाँका बासिन्दाबारे थाहा पाएका थिए। सिन्धुनदी अर्थात् इन्डस नदी किनारका मान्छेहरूलाई युनानीहरूले 'इन्डोई' भन्न थाले जुन कालान्तरमा अङ्ग्रेजी भाषामा पुग्दा 'इन्डिया' भयो। 

(तस्वीर स्रोत: नागरिक दैनिक )
 
लेखकको अर्को तर्क छ, "…अरबी, सिरियाली, इराकी, इरानी आदि जातिहरूले समेत संस्कृत भाषाको ‘स्थान’ लाई टपक्क टिपेर आफ्ना विभिन्न ठाउँहरूलाई ‘उज्बेकिस्तान’, ‘तुर्कमेनिस्तान’, ‘अफगानिस्तान’ र पछि गएर ‘पाकिस्तान’ समेत बनाए।" यसलाई अरु जातिले संस्कृत भाषाको ‘स्थान’ लाई टपक्क टिपेको रुपमा बुझ्नुभन्दा संस्कृतको ‘स्थान’ शब्द फारसीमा ‘स्तान’ हुन पुगेको र सोही ‘स्तान’ शब्द जोडिएर विभिन्न देशको नाम बनेको भनेर बुझ्नु तथ्यपूर्ण हुनेछ। आखिरमा फारसी, संस्कृत लगायतका भाषाहरूको स्रोत एउटै अर्थात् आद्य हिन्द-इरानी भाषा हो। त्यसैले त थुप्रै फारसी र संस्कृत शब्दहरूमा समानता भेटिन्छ, जस्तै: अस्ब (अश्व), गाव (गौ), बिरादर (भ्रातृ), पुश्त (पृष्ठ) आदि।


लेखमा भएको एउटा रोचक प्रसङ्ग चाहिँ जुम्ला-हुम्लाका नेपालीभाषीले पनि फारसी भाषामा (लेखकले अरबी भनेका छन्) जस्तै ‘स’ लाई ‘ह’ को रुपमा उच्चारण गर्ने (जस्तै ‘सक्नुपर्छ’ लाई ‘हक्नुपर्छ’) बारेको हो। तर लेखकले संकेत गरेजस्तै त्यो फारसी प्रभाव नै होला त? नेपाली भाषाको उद्गमस्थल कर्णाली क्षेत्र, खासगरी जुम्लाको सिँजा उपत्यकालाई मानिन्छ। यदि जुम्लाको स्थानीय नेपाली भाषामा फारसी प्रभाव रहेको मान्ने हो भने जुम्लाबाटै फैलिएको नेपाली भाषामा चाहिँ त्यो प्रभाव किन देखिएन? डा. शर्माजस्ता नेपाली भाषा-साहित्यका दिग्गज व्यक्तित्वबाट यस सम्बन्धमा थप जानकारी र व्याख्या पनि आएको भए बढी पत्यारिलो हुन्थ्यो कि! जेहोस्, नेपाली भाषाको अध्ययन-अनुसन्धानमा संलग्न र यसबारे रुची राख्ने सबैले थप खोजी गर्नुपर्ने विषय यस प्रसङ्गले कोट्याइदिएको छ।


नागरिक दैनिक (पुस २९, २०७३) मा पहिलोपल्ट प्रकाशित