यसपालिको 'सुनौलो सप्ताह' (Golden Week) को बिदाको मेसो पारेर साथीहरुसँग ओकुतामा ताल (奥多摩湖, Okutama-ko) तिर घुम्न जाने कार्यक्रम बन्यो। टोकियो शहरमा खानेपानी आपूर्तिको लागि एउटा मुख्य स्रोतको रुपमा रहेको उक्त तालको बारेमा हामी कसैलाई खासै ज्ञान नभए पनि इन्टरनेटमा उपलब्ध सामान्य जानकारीकै भरमा पदयात्राको रमाइलो लिने उद्येश्यले त्यहाँ जाने निधो भएको थियो। कहिलेकाहीँ यसरी सिमित जानकारीका भरमा गरिने यात्रा झन् बढी रोमाञ्चक हुँदो रहेछ। जताजता पुगे पनि ठिकै छ, रमाइलो गर्नेसम्म त हो भनेजस्तो।
वसन्त ऋतुको पारिलो दिनमा जङ्गलको बाटो हुँदै उचाइका हिसाबले हाम्रोतिरका चुरेका डाँडाहरुजस्तै लाग्ने होचा पहाडहरु उक्लिएर तालसम्म पुग्दाको मजा नै बेग्लै थियो। तलतिर छङछङाउँदै बगिरहेको तामा खोला (Tamagawa) अनि रङ पोतेर सजाएजस्तो देखिने थरिथरि रङका रुखहरुले ढपक्क ढाकिएको वारिपारिको दृश्यावलीले गर्दा आतेजाते करिब पाँच घण्टाको पैदल यात्रा निकै अविस्मरणीय बन्यो। सँगसँगै जापानीहरुको विकास र सम्पन्नताका पछाडि रहेको उनीहरुको इच्छाशक्ति र दूरदर्शितालाई केही नजिकबाट नियाल्ने अवसर पनि बन्यो यो यात्रा। तामा खोलामा १४९ मिटर अग्लो ओगोची बाँध (Ogōchi Dam) बाँधेर निर्माण गरिएको ओकुतामा तालको इतिहास हेर्दा हामीले सिक्न सक्ने कुरा धेरै रहेछन्।
आजभन्दा धेरै पहिले सन् १९२६ मै कम्तिमा सय वर्षसम्म टोकियो शहरको खानेपानीको माग धान्ने गरी योजना बनाएर सन् १९३८ देखि ओगोची बाँधको निर्माण शुरु गरिएको रहेछ। बीचमा दोस्रो विश्वयुद्धका कारण १९४३ देखि १९४७ सम्म निर्माण कार्य रोकिएको र युद्धपछि देशको आर्थिक अवस्था तहसनहस भएको भए पनि १९५७ मै बाँधको निर्माणकार्य सम्पन्न हुनु चानचुने कुरा पक्कै थिएन होला। जापानीहरुको उसबेलादेखिको लगनशीलता र दीर्घकालीन सोँचकै कारण आज टोकियोको खानेपानी वितरण प्रणाली संसारकै ठूलो र उत्कृष्टमा गनिन्छ।
अर्कोतर्फ हामीकहाँ भने योजनाबद्ध विकासको लामो चरण पार भैसक्दा पनि 'योजनाबद्ध' ढंगले सोँच्ने परिपाटीकै विकास हुन नसकेको हो कि भन्नुपर्ने अवस्था छ। खानेपानी भनौँ या बिजुलीबत्ती, बाटोघाटो भनौँ या उद्योगधन्दा, हाम्रो सोँच केही वर्ष परसम्म पनि जान सकेको देखिँदैन। काठमाडौंको सडक धुने चर्का कुरासँगै शुरु भएको महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजना पूरा हुने बेलासम्म (आशा गरौँ पूरा चाहिँ पक्कै हुनेछ !) त्यही बेलाको माग धान्न आयोजना सक्षम हुँदैन भन्छन् स्वयम् सम्बन्धित नीतिनिर्माताहरु। लोडसेडिङ्को चर्को मारले देशलाई ढुंगेयुगतर्फ लैजाँदै गर्दा पनि न त हामीसँग भविष्यका लागि भरपर्दो उर्जा योजना देखिन्छ न त साथमा भएको योजनामा परेका आयोजनाहरुको शिघ्र कार्यान्वयनमा कुनै तदारुकता नै। पूर्वी तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रुपमा हामीहरु विपी राजमार्गको चर्चा गरिरहेका हुन्छौँ तर राजमार्गको चौडाइ हेर्दा अर्को त्रिभुवन राजपथको झल्को आउँछ। के-के विषयमा मात्रै कुरा गर्नु ! राजनीति बिग्रिएको देशमा सबै कुरा यस्तै भद्रगोल हुने रहेछन् भनेर जेजस्ता बेथितिलाई पनि सामान्य रुपमा लिनुपर्ने अवस्था छ।
राजनीति सुध्रिँदैमा अर्थात् एकखालको स्थिरता आउँदैमा पनि स्थिति आफसेआफ राम्रो हुने होइन। जबसम्म अलि पछिसम्म, अलि टाढासम्म हाम्रा लागि हामी आफैँ सोँच्न सक्ने हुँदैनौँ, तबसम्म विकास र सम्पन्नता आकाशकै फल हुनेछन्।
तल यात्राको क्रममा लिइएका केही तस्वीरहरु हेर्न सक्नुहुनेछ। तस्वीरहरुका लागि बुद्धजीलाई विशेष धन्यवाद !
ताल र ताल वरिपरिको द्रिश्य त रमाईलो रहेछ। कता कता नेपाल तिरकै भु-भाग जस्तो।
ReplyDeleteतस्बीरहरु निकै राम्रा लागे, त्यत्तिकै राम्रा लेखकका भावनाका तस्बिरहरु पनि | तामागावा भन्दा तामाकोशी पो भन्ठानें |
ReplyDeletebhavana ra pictures ko samyojan kati ramro bhayeko. really couldn't control my feelings...
ReplyDeleteप्रतिकृया दिनुहुने सबैमा हार्दिक धन्यवाद टक्राउँछु।
ReplyDeleteचाखलाग्दो जानकारी र सुन्दर तस्बीरहरुका लागि हार्दिक धन्यबाद!
ReplyDeleteप्रतिक्रियाका लागि सादर धन्यवाद वसन्त सर।
ReplyDelete