'अन्तिम धक्का', 'महान् प्रयोग', 'तेस्रो जनआन्दोलन' इत्यादि नामका साथ एनेकपा माओवादीले सडकको 'सुन्दर प्रयोग' गरिरहँदा डा. जुगल भुर्तेलले कान्तिपुर पत्रिकामा लेखेका थिए - 'आमहडतालको भयंकर ब्रह्मास्त्र उचालेर 'सुकिला विरुद्धको युद्ध' लड्न हिंडेको माओवादीले विश्वको सबैभन्दा अकिञ्चन मुलुक बन्ने दिशातिर उन्मुख नेपालमा सुकिला मान्छे नगन्यप्रायः छन् भन्ने ख्याल गरेन। फलस्वरूप उसले मुलुक ठप्प पार्दा मैला मान्छे नै सबैभन्दा बढी पीडित भएका छन्।' डा. भुर्तेलको 'कित्ता' तोकेर उनको लेखको जस्तो अर्थ लगाउन सकिए पनि माओवादीको मनोगत राजनीतिले उसलाई आत्मघाती बाटोतर्फ हिँडाउँदै गरेको भने पछिल्ला घटनाक्रमले प्रष्ट देखाइरहेका छन्।
खुलामञ्चमा 'सुकिलामुकिला' विरुद्ध चर्का गालीगलौज गरेर 'मैलाधैला' जनताको मन जित्ने ढोँग गरिएको भए पनि अहिले धेरैले उठाएको प्रश्न हो - के माओवादी 'मैलाधैला' जनतालाई 'सुकिलामुकिला' बनाउन साँच्चै प्रतिवद्ध छ त? उसको आवेश, घुर्की र सत्तालोलुपतामा आधारित राजनीति हेर्दा ऊ 'मैलाधैला' जनतालाई 'सुकिलामुकिला' बनाउनतर्फ हैन कि 'सुकिलामुकिला' लाई पनि 'मैलाधैला' बनाउन अग्रसर देखिन्छ भन्ने आरोपमा सत्यको अंश भेटिन्छ। देशलाई झनपछि झन् तन्नम अवस्थामा पुर्याएर ल्याइने 'जनवाद' पोलपोट शैलीको 'जनवाद' भन्दा फरक हुन सक्दैन। हुनत देश तन्नम अवस्थामा पुग्नुमा २४० वर्षदेखिको इतिहास भट्याउँदै अनेक कारण दिन सकिएला, अहिलेको सरकारका मन्त्रीहरुलाई औँल्याएर आफू सरकारमा हुनुपर्ने जिकिरमा थप जोड दिन पनि सकिएला, तर मौका आउँदा आफू अरुभन्दा फरक हुन नसकेपछि अरुको विरोध गर्ने नैतिकता पनि खस्किँदै जान्छ। माओवादीले अहिलेसम्म पाएको सफलता उसको स्पष्ट मार्गचित्र र दूरदृष्टि नभै अन्य राजनीतिक पार्टीहरुको अकर्मण्यता र आपसी झिनाझप्टीको परिणाम मात्र रहेछ भन्ने अब छर्लङ्ग भैसकेको छ। निश्चित छ, माओवादीले अब त्यो सुविधा किमार्थ पाउने छैन। माधव नेपालको सरकार अपेक्षा गरिए विपरित झन्-झन् बलियो देखिनुमा दक्षिणी 'प्रभु' को आशिर्वाद आफ्नो ठाउँमा होला, त्योभन्दा बढी माओवादीको अर्घेल्याइँ जिम्मेवार छ। दक्षिणी 'प्रभु' को हस्तक्षेपकारी भूमिकाकै कुरा गर्दा पनि इतिहासले प्रचण्डको उट्पट्याङ र पाखण्डी राष्ट्रवादलाई नै दोषी देखाउने कुरामा शंका छैन।
'जबसम्म विचार ठिक हुन्छ, तबसम्म सबै ठिक हुन्छ,' माओवादीहरुले सबैभन्दा बढी दोहोर्याउनेमध्येको वाक्य हो यो। तर यहाँ समस्या विचार बिग्रिएपछि नै उत्पन्न भएको छ। माओवादीले अहिले पनि विचारको राजनीति गरिरहेका छौँ भन्नु जति हाँस्यास्पद कुरो के होला र ! एउटा झूठलाई सयचोटि दोहोर्याएर सत्य बनाउनु र मार्क्सवादको जामा पहिर्याउँदै त्यसैको सैद्धान्तिकरण गर्नु नै माओवादीको अहिलेको परिचय भएको छ। त्यसैले त 'फ्युजनवाद' को रुपमा विकास गरिएको 'प्रचण्डपथ' ले कुनै दिन गाईको गोबर र मानव मलको 'फ्युजन' गर्ने भन्यो भने पनि आश्चर्य नमाने हुने अवस्था छ। माओवादीहरुले 'बूढो गोरु' को संज्ञा दिने मोहनविक्रम सिंह माओवादीहरुको छेँडेको 'जनयुद्ध' लाई निम्नपूँजीवादी स्वार्थबाट प्रेरित 'शहीदको खेती' भन्दै आलोचना गर्ने गर्थे। सिंहको आफ्नै राजनीतिक इमान्दारिताको धरातल कस्तो छ भन्नेबारेमा धेरै चर्चा गर्नु नपर्ला तर अहिलेको माओवादी राजनीतिले उनको आरोपलाई भने खण्डन हैन, पुष्टि नै गर्दै छ।
यति हुँदाहुँदै पनि माओवादी नेतृत्वको मति फिरोस् र उसले आफैँ उठाएका मुद्दाहरु एउटा टुङ्गोमा पुर्याउन उसको सकारात्मक योगदान रहोस् भनेर कामना गर्नुको विकल्प छैन। देशमा उत्पन्न यावत् समस्याको जड माओवादी हो र माओवादीहरुलाई निषेध गर्नेबित्तिकै देशले यी सबबाट चुड्कीको भरमा मुक्ति पाउँछ भन्ने सोँच राख्नेहरुको कमी छैन। उनीहरुलाई सही सावित गर्ने कि गलत, त्यो धेरै हदसम्म माओवादीहरुकै क्रियाकलापमा भर पर्नेछ। बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन।
लेख अत्यन्तै राम्रो लाग्यो ।तर मेरो मनमा खड्कियको एउटा कुरा , कम्युनिस्मको नाम मा स्टालिन ले रुसमा लाखौं जनता मार्यो , चाइना मा माओ ले पनि लाखौं जनता मर्यो , क्युबामा क्यस्त्रो ले मारी राखेको छ , उत्तर कोरियामा पनि जनता मारिराखेको छ , भियतनाममा ७० को दसकमा भोक्मरी ले लाखौं जनता मरे , झन पोल्पोत को त कुरै नगरौ । यत्रो उदाहरणका बाबजुद पनि मानिसहरुलाई मार्क्स्बाद को सनक ले छोदेको छैन ? पस्चिमा देश हरु पूँजीवाद को प्रयोग ले सम्पन्नता र स्वतन्त्रता को सिखरमा पुगी सके हामी भने अझै निम्न स्तर को पूँजीवाद को कुरा गरि राखेको छौ । के हो निम्नस्तर को पूँजीवाद भनेको ? निम्नस्तर को त सम्यबादी सोच हो भन्ने कुरा ईतिहास ले देखाई सक्यो नी ।
ReplyDeleteसुरथजी प्रतिक्रियाका लागि हार्दिक धन्यवाद!
ReplyDeleteसाम्यवाद विचारमा जति आदर्शपूर्ण भए पनि साम्यवादका नाममा संसारमा भएका प्रयोगले यसलाई निम्नस्तरको सावित गरिदिएको कुरामा म पनि तपाईंसँग सहमत छु। तर पनि विकृतिहरुका बाबजुद रुस र चीनमा भएका साम्यवादी क्रान्तिहरुले तत्कालिन विश्व परिवेशमा आफ्नै महत्त्व राख्छन् भन्ने मेरो बुझाई छ। अनि नेपालको सन्दर्भमा कुरा गर्दा चाहिँ साम्यवादी राजनीतिलाई साम्यवाद र पूँजीवादबीचको भेदको कोणबाट मात्र हेर्दा सही निष्कर्षमा पुग्न सकिँदैन जस्तो लाग्छ। काङ्ग्रेस र पछिल्लो समयमा एमालेजस्ता आफूलाई अब्बल दर्जाका प्रजातन्त्रवादी भन्ने दलहरु राष्ट्रियता र जनसरोकारका सवालहरुमा उदासिन भैदिँदा नै माओवादीहरुले गुलिया आश्वासन बाँड्दै विचारमा विशुद्ध स्वैरकल्पना र व्यवहारमा चरम ढोँगमा आधारित राजनीति गर्ने मौका पाइरहेको विडम्बनापूर्ण स्थिति हाम्रा अगाडि छ।
अत्यन्तै सान्दर्भिक,तथ्यपरक र सन्तुलित लेख। यो लेखमा मेरो पूर्ण समर्थन ।
ReplyDeleteपोष्ट अत्यन्तै राम्रो लाग्यो ।
ReplyDeleteनेपालको हालको ठूलो पार्टिको हैसियतमा जस्तो जिम्मेवारीपूर्ण सहभागिताको अपेक्षा गरिएको थियो संविधान निर्माणको सन्दर्भमा एनेकपा माओवादिसँग त्यस्तो खालको उसको उपस्थिति भएन । त्यो त एकठाउँमा छदै थियो त्यसमाथि जनविद्रोह र जनपरिचालन जस्ता ठुला ठूला शब्दहरुको प्रयोग गरी असफल आन्दोलनको आयोजना गरी देशको अवस्थालाई झन् खराब पार्ने काम समेत गरेको छ ।
माओबादीका बिगत एक बर्षका धेरै प्रयोगहरु बेकम्मा साबित भए, संबिधानसभामा त्यत्रो बिशाल उपस्थिति हुँदा हुँदै पनि आफ्नै मूल मार्ग भन्ने नयाँ संबिधान बनाउनतर्फ माओबादी गम्भीर नहुनुले झन् ठूलो शंका पैदा हुन्छ यसमाथि |माओबादीले चाहेको खास कुरो के हो,मैले बुझेकै छैन|तपाइंले बुझ्नुभएको छ?यसो बुझेर बताइदिनुहुने आशमा छु |
ReplyDeleteप्रतिक्रियाका लागि दिलिप सर, रमेशमोहन सर र चैतन्य सर सबैमा सादर धन्यवाद।
ReplyDelete@ चैतन्य सर: माओवादीहरुको केटौले र गैरजिम्मेवार राजनीति हेर्दा आफूहरुले चाहेको खास कुरा के हो भन्ने कुरामा उनीहरु आफैँ नै पूर्ण दिग्भ्रमित अवस्थामा देखिन्छन्; अब म बबुरोले तपाईंलाई खास कुरो कसरी बुझाउन सकुँला र? हुनत राजनीतिमा गरिने प्रयोगहरु असफल हुनु ठूलो कुरा नहोला, तर ती असफलताहरुबाट पाठ सिक्नुको सट्टा झन्-झन् दिशाहीन बाटोतर्फ लम्किनु चाहिँ माओवादी राजनीतिको सबैभन्दा ठूलो विडम्बना भएको छ यतिबेला।