Wednesday, October 26, 2011

उता गद्दाफीको महान् राष्ट्रप्रेम, यता हाम्रा बाबुरामको राष्ट्रघात

भर्खरै मारिएका लिबियाली तानाशाह मुअम्मर गद्दाफी र उनको पालाको लिबियाका बारेमा फेसबुक लगायत इन्टरनेटका विभिन्न साइटहरुमा एउटा यस्तो टिपोट पढ्न पाइने रहेछ (भाषा जस्ताको तस्तै):

1. There is no electricity bill in... Libya; electricity is free for all its citizens.

2. There is no interest on loans, banks in Libya are state-owned and loans given to all its citizens at 0% interest by law.


3. Home considered a human right in Libya – Gaddafi vowed that his parents would not get a house until everyone in Libya had a home. Gaddafi’s father has died while him, his wife and his mother are still living
in a tent.

4. All newlyweds in Libya receive $60,000 Dinar (US$ 50,000) by the government to buy their first apartment so to help start up the family.


5. Education and medical treatments are free in Libya. Before Gaddafi only 25% of Libyans are literate. Today the figure is 83%.


6. Should Libyans want to take up farming career, they would receive farming land, a farming house, equipments, seeds and livestock to kick- start their farms – all for free.


7. If Libyans cannot find the education or medical facilities they need in Libya, the government funds them to go abroad for it – not only free but they get US $2, 300/mth accommodation and car allowance.


8. In Libyan, if a Libyan buys a car, the government subsidized 50% of the price.


9. The price of petrol in Libya is $ 0. 14 per liter.


10. Libya has no external debt and its reserves amount to $150 billion – now frozen globally.


11. If a Libyan is unable to get employment after graduation the state would pay the average salary of the profession as if he or she is employed until employment is found.


12. A portion of Libyan oil sale is, credited directly to the bank accounts of all Libyan citizens.


13. A mother who gave birth to a child receive US$ 5 ,000.


14. 40 loaves of bread in Libya costs $ 0.15.


15. 25% of Libyans have a university degree.


16. Gaddafi carried out the world’s largest irrigation project, known as the Great Man-Made River project, to make water readily available throughout the desert country.

यो टिपोट पढ्दा लाग्छ, लिबिया कुनै रामराज्य नै रहेछ र गद्दाफी त्यहाँका प्रजापालक राजा रामचन्द्र नै रहेछन्। त्यही भएर त होला, केही साथीहरुलाई लागेछ, गद्दाफी शासनको पतनमा लिबियाली जनमतको कुनै भूमिका रहेनछ। अझ कतिपय साथीहरुको तात्तातो प्रतिक्रिया त नेपालमा पनि गद्दाफीजस्तो शासक चाहियो भन्नेसम्मको रहेछ। हुनत माथिको टिपोटमा उल्लेख भएका अधिकांश तथ्यहरु सही पनि हुन सक्छन्, तर सहज-चेतना भएको जोकसैले पनि बुझ्न सक्ने कुरा के हो भने यी तथ्यहरुले यथार्थको एउटा पाटो मात्रै देखाउँछन्। यथार्थको अर्को पाटो कुरुप र भद्दा नभएको भए 'राजाहरुका पनि राजा' भनेर विभुषित एउटा तानाशाहको मरण यस्तो किसिमले हुँदैनथ्यो होला। निश्चय पनि लिबियाको गृहयुद्ध र गद्दाफीको पतनमा अमेरिकालगायत पश्चिमेली राष्ट्रहरुको भूमिका र 'तेल राजनीति' कसैबाट छिपेको छैन। तर त्यसकै भरमा गद्दाफीलाई महान् राष्ट्रवादी 'हिरो' देख्नु चाहिँ फोस्रो रुमानी सोँचबाहेक केही पनि हुन सक्दैन।

संसारको इतिहासले देखाएको छ, जस्ता मिठा नारा दिए पनि तानाशाहहरु मूलत: तानाशाह नै हुन्छन्। विचित्र-विचित्रका सोख, सनक र दुस्साहस धेरैजसो तानाशाहका साझा विशेषता हुने गर्छन्। गद्दाफी त झन् यस मामिलामा अग्रपंक्तिमै देखिन्छन्। जहाँ जाँदा पनि पाल टाँगेर बस्नुपर्ने उनको जीवनशैली (उदाहरणका लागि) कसैलाई ढोँगी विलासिता नलागेर 'समाजवाद' लाग्छ भने कुरा बेग्लै हो। 

गद्दाफीको राष्ट्रवादको चर्चा गर्दा यता हाम्रो आफ्नै राष्ट्रवादको प्रसङ्गलाई पनि छुटाउनु भएन। भनिरहनु पर्दैन कि हाम्रा लागि राष्ट्रवाद भनेकै दक्षिणी छिमेकीको ओँठे विरोध हो। त्यो ओँठे विरोध पनि दास मनोवृत्तिको राजनीतिक नेतृत्वले फगत आफ्नो दाउ मिलाउनका लागि हामीलाई सिकाइदिएको। हामीलाई हाम्रो हेपाहा र मिचाहा छिमेकीप्रति साँच्चिकै पेच र इख हुँदो हो त, हाम्रो अवस्था अर्कै भैसक्थ्यो होला। हामीले आफ्नो मान र शान बढ्ने गरी आफूलाई समृद्ध र सबल बनाइसकेका हुन्थ्यौँ होला। तर हामी 'वीर गोर्खाली' न पर्‍यौँ, हामीलाई त आफ्नै आङ कन्याएर छारो उडाउँदैमा फुर्सत छैन। त्यही भएर त नेपाल आफैँले यसअघि अन्य पाँच देशसँग गरिसकेको र भारतले अन्य ८० देशसँग गरिसकेको 'लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता' जस्तो सामान्य अन्तर्राष्ट्रिय प्रचलनको सम्झौतामा हस्ताक्षर हुँदा समेत 'भारतीय विस्तारवाद' का विरुद्ध हाम्रो राष्ट्रवाद कोकोहोलो मच्चाउन पुग्छ। हामीलाई सम्झौता राम्रोसँग पढ्ने धैर्य हुँदैन, सम्झौताको विकल्प के हो र अगाडि बढ्ने दिशा कुन हो केही हेक्का हुँदैन, तर हामीलाई राष्ट्रियताको उही बासी नारा घन्काउन मन लागिहाल्छ। धन्य हो हाम्रो बोक्रे स्वाभिमान, धन्य हो हाम्रो खोक्रो राष्ट्रवाद!

माओवादीभित्रका केही शास्त्रीयतावादीहरु, रामचन्द्र पौडेलहरु वा माधव नेपालहरुले बाबुरामलाई एक नम्बरको राष्ट्रघाती करार गर्दासम्म त खासै अनौठो लागेको थिएन, तर बाबुरामलाई 'दोस्रो मातृका' सिद्ध गरिदिने प्रा. र डा. को लुर्को जोडिएका केही 'बुद्धिजीवीहरु' का वाणी सुनिसकेपछि भने एकजना ब्लगर मित्रले केही पहिले भनेजस्तै यी देश र समाजप्रति उत्तरदायी साँच्चैका बुद्धिजीवी हुन् कि केवल बुद्धिवेश्या हुन्, म पनि विलखबन्दमा परेको छु। कवि श्यामलको 'लुतो' कविताका यी पंक्तिहरुमा भनिएको लुतो कन्याइ र हाम्रो राष्ट्रियताको डम्फू बजाइ उस्तै-उस्तै पो हुन् कि!

बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेख्ने औँलाहरूले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।

पुनश्च: उज्यालो, समृद्धि तथा दाजुभाइ-दिदीबहिनीबीचको अगाध स्नेहको प्रतिक हाम्रो महान् चाड तिहारको उपलक्ष्यमा यहाँहरु सबैमा हार्दिक मङ्गलमय शुभकामना! 

Friday, September 23, 2011

फुजीसानको टाकुरामा लै लै. . .

[ब्लगलाई चटक्कै माया मारेजस्तो भएको अचेल। आफूले केही लेख्न पाइएको , छिमेकी ब्लगहरुतिरै मजाले 'खुट्टा तन्काउन' निस्कन पाइएको छ। त्यसो मेरो दैनिकी पनि अझै नियमित स्वरुपमा आउन सकेको छैन, पछिल्ला केही महिनादेखि। खासमा यसबीचमा मास्टर्स तहको थेसिस तयार पार्ने कामले स्वभाविकरुपमा बढी व्यस्त बनायो। गएको अगस्ट ३१ मा थेसिस डिफेन्स सकिएपछि अलिक फुर्सदिलो भइएला कि भनेको फेरि अहिले चलिरहेको इन्टर्नसिपले उत्तिकै बेफुर्सदी बनाइदिएको छ। टोकियोदेखि योकोहामासम्म आउजाउ गर्दा दिनको झन्डै चार घण्टा ट्रेनमा अर्को नौ-दश घण्टा कार्यस्थलमा बित्ने भएपछि बाँकी समय नित्यक्रिया निद्रादेवीलाई चढाउनु कि अर्थोक केही गर्नु! खैर, जापानजस्तो व्यस्त देशको टोकियोजस्तो तीव्र गतिमा हुइँकिने शहरमा अरुचाहिँ फुर्सदमै छन्, ममात्रै अचाक्ली व्यस्त छु भनेजस्तो गरी यसबारेमा थप चर्चा भने नगरुम् होला अहिलेलाई! :) तर पनि मे मा ताकाओसानको बारेमा लेखेको टाँसोपछि एकैचोटि आज मात्र - त्यो पनि हाइकिङकै बारेमा - नयाँ टाँसो टाँस्ने संयोग जुराउन सकेकोमा अलिकति भूमिका बाँध्नैपर्‍यो :)]

जापानको सबैभन्दा अग्लो तथा कुनै कुशल कालिगढले धर्ती खोपेर तयार पारेजस्तो लाग्ने चिटिक्क आकार मिलेको फुजीसान (फुजी पहाड) (३,७७६ मिटर) जापानीहरुमाझ त अत्यधिक लोकप्रिय छ नै, विदेशीहरु पनि यसको सौन्दर्यको बखान गरेर थाक्दैनन्। हुनत शुरु-शुरुमा जापानीहरु फुजीसान-फुजीसान भनेर अति नै 'नाटक' गर्छन् जस्तो पनि लाग्थ्यो, तर केही समयअघि हाकोने घुम्न गएको बेला त्यहाँबाट देखिएको फुजीसानको अद्वितीय दृश्यले भने म आफैँ पनि असाध्यै रोमाञ्चित र मन्त्रमुग्ध भएको थिएँ। यही फुजीसान चढ्न जाने तारतम्मे मिल्यो गएको सेप्टेम्बर १० र ११ को सप्ताहान्तमा। 

फुजीसान चढ्ने हाम्रो टोली ठूलै थियो - जापानी र विदेशीहरु गरी झन्डै ५० जना जति। त्यसमा ८ जना त हामी नेपाली नै थियौँ, त्यसैले हाम्रो आफ्नै हालीमुहाली थियो। :) १० तारिख बेलुका टोकियोबाट प्रस्थान गरेको हाम्रो टोली करिब तीन घण्टाको बसयात्रापश्चात् राति नौ बजेतिर फुजीसानको बेस स्टेसन (खावागुचीको रुटमा पर्ने स्टेसन नं. ५) (२,३०५ मिटर) मा पुगेपछि फुजीसानको आरोहण शुरु भयो। रातभरि उकालो उक्लेर भोलिपल्ट बिहान फुजीसानको टाकुराबाट ५:१८ को सूर्योदय हेर्ने योजनामा थियौँ हामीहरु। 

आकाश छ्याङ्ग खुलेको जुनेली रात र अगाडि-पछाडि मान्छेहरुको लर्को हुनाले रातिपख हिँडेकोजस्तो खासै अनुभव नभए पनि कति उकालो चढियो र अझै कति बाँकी छ भन्ने मेसो भने केही नपाइने रहेछ। फुजीसानको टाकुरासम्म पुग्न पाँचौँ स्टेसनबाट दशौँ स्टेसनसम्म पुग्नुपर्नेमा शुरुको छैठौँ स्टेसन आउनै झन्डै दुईघण्टा लाग्दा त फुजीसानको उकालोले सातो नै लेलाजस्तो भयो। तर छैठौँ स्टेसनपछि सातौँ स्टेसन भने थाहै नपाइने गरी केहीबेरमै आइपुग्यो। अनि त केही माथि बलिरहेको बत्ति र त्यहीँनेर पुगेर टुङ्गिएकोजस्तो देखिने फुजीसानलाई औँल्याउँदै अब यस्सो दौडियो भने एकछिनमै टाकुरामा पुगिने रहेछ भन्ने 'अड्कलाइजेसन' गर्न पनि पछि परिएन। त्यही बेला एकजना साथीले भन्ने गरेको 'नाथे फुजीसान' को पनि सम्झना भयो। तर फुजीसानको टाकुरा त्यति नजिक त कहाँ थियो र! आठौँ स्टेसन कटेपछि भने बल्ल बाँकी उकालोको अलिअलि रुपरेखा थाहा भयो। यसबीचमा सुरक्षाका लागि बाटोको छेउमा राखिएको डोरीको साहरा लिँदै चट्टानमा सुरेली खेलेजस्तै गरी चढ्नुपर्ने उकालोले फेरि एकचोटि तर्स्याउन भ्याइसकेको थियो। धन्न, आठौँ स्टेसनपछिको उकालो लामो भए पनि चढ्न भने उस्तो अप्ठ्यारो रहेनछ। 

अन्तत: बिहानको झिसमिसेसँगै हामी फुजीसानको टाकुरासम्म उक्लन सफल भयौँ। बढ्दै गरेको उज्यालोमा बल्ल हामीहरु अनुभव गर्दै थियौँ, ज्वालामुखी चट्टानबाट बनेको पहाड कस्तो हुँदो रहेछ। फुजीसान टाढाबाट हेर्दाजस्तो वा तस्वीरहरुमा देखिनेजस्तो कहाँ रहेछ र! नजिक पुग्दा त यो डढेको रातो माटो, ढुङ्गा, बालुवा र खरानीकोको थुप्रो पो रहेछ! तर फुजीसानको विशेषता भन्नु नै यसको सममितीय (symmetrical) कोणाकार (अझ frustum को आकार भन्नु बेस हुन्छ होला) हो जसले गर्दा जताबाट जसरी हेर्दा पनि यो उत्तिकै राम्रो देखिन्छ। त्यसमाथि हिउँदयाममा हिउँको टोपीले छोपिँदा देखिने यसको अद्भूत सौन्दर्य त छँदैछ। जेहोस्, फुजीसानको टाकुरामा पुगेको केहीबेरमै हाम्रो बहुप्रतिक्षित घडी आइसकेको थियो अर्थात् पूर्वको क्षितिजमा लालीमा भर्दै सूर्यनारायण बिस्तारै आकाशतर्फ उक्लँदै थिए। त्यो क्षण थप आनन्ददायी र रोमाञ्चक यसकारण पनि थियो कि हामी 'सूर्योदयको देश' को सबैभन्दा अग्लो भागमा बसेर सूर्योदयको दृश्यास्वादन गरिरहेका थियौँ। हामी विशेष कृतज्ञ भने त्यो बिहानीको मौसमप्रति भयौँ जसले हामीलाई पूर्णरुपमा साथ दिएको थियो। तलपट्टि होचो भागमा कपासजस्तै गरी फैलिएको बादल र माथिपट्टि खुला आकाशमा उदाउँदै गरेको सूर्य, त्यो दृश्य साँच्चिकै अनुपम थियो।

सूर्योदयको दृश्य

सूर्योदयको दृश्यलाई क्यामेरा र मन दुवैमा कैद गरिसकेपछि पालो आयो - फुजीसानको शिखरमा नेपाली झण्डा फहराएर 'फोटो सेसन' गर्ने।  जापानीहरु यताबाट गएर हाम्रा सगरमाथा लगायतका हिमशिखरहरुमा आफ्नो झण्डा फहराउँछन् भने हामी पनि उनीहरुको सर्वोच्च शिखरमा पुगेका बेला राष्ट्रिय झण्डा फहराउन किन पछि पर्नु! (गफै त हो:)) हाम्रो 'फोटो सेसन' देखेर वरिपरिका जापानीहरु भने अनौठो मान्दै थिए।

नेपाली झण्डासहितको सामूहिक 'फोटो सेसन' :)

फुजीसानको आकारजस्तै यसको टाकुराको आकार र विशालता पनि मन लोभ्याउने खालको थियो। फुजीसानको टाकुराको चौडाइ र यसको बीचमा रहेको ज्वालामुखीको मुख (volcanic crater) को बारेमा केही त सुनिएको थियो, तर त्यो त्यति भव्य होला भन्ने चाहिँ मेरा लागि कल्पनाबाहिरकै कुरा थियो। बीचभागमा रहेको गहिरो 'क्रेटर' र वरिपरि केही माथि उठेका आठवटा थुम्काहरुका कारण फुजीसानको टाकुरालाई हेर्दा ठ्याक्कै एउटा ठूलो मैरी (तुलसीको मठ) जस्तो भान हुने रहेछ। फुजिसानको टाकुराको वरिपरि एक चक्कर लगाउन झन्डै डेढ घण्टाजति लाग्दो रहेछ, तर समयको सिमितताले गर्दा शुरुमा यसो कस्सिए पनि पछि दौडादौड गर्ने आँट गर्न सकिएन। ११ बजे तल पाँचौँ स्टेसनबाट छुट्ने भनेको हाम्रो बस छुट्ला र व्यर्थमा अर्को सास्ती पाइएला भन्ने डरले ओरालो लाग्नु नै बेस ठानेर फुजीसानको शिखरलाई 'सायोनारा' गरियो।

फुजीसानको 'क्रेटर' र वरिपरिका थुम्काहरु
टाकुरामा देखिएको मान्छेको भीडभाड


ज्वालामुखी चट्टानले बनेको फुजीसानको सतह
टाकुराबाट हेर्दा तलपट्टि देखिएको मनोरम दृश्य

ओरालो झर्दा चाल पाइयो, फुजीसानको उकालोभन्दा त ओरालो पो मापाको रहेछ। सुस्त रफ्तारमा रातिको समयमा हिँडेको भएर पनि होला, उकालोले त्यतिसारो हायलकायल बनाएको थिएन जति ओरालोले बनायो। मसिना ढुङ्गा र धुलोले भरिएको ओरालो बाटोमा खुट्टा राम्रोसँग अडिने कुरै भएन, लिरिक्क-लिरिक्क लिर्किँदै हिँड्नुपर्ने। त्यसमाथि रातिको अनिँदोले गर्दा पनि होला, एकैछिनको हिँडाइमा थाकेर चुर भइयो। तर यसो तल हेर्‍यो, ओरालोले सकिने नाम भने लिने होइन। सबैभन्दा ठूलो आपत चाहिँ शौचालयले पार्‍यो। उकालो चढ्ने रुटमा ठाउँठाउँमा शौचालय हुनाले केही अप्ठ्यारो परेको थिएन तर ओरालो झर्ने रुटमा भने शौचालयको नाकमुखै नदेखिने। बल्लतल्ल भेटियो भनेको निकै तलको एउटा शौचालय पनि स्थानीय सरकारले फुजीसान चढ्न तोकेको अवधि अघिल्लो हप्तै सकिएकाले बन्द अवस्थामा रहेछ। रुनु न हाँस्नु भइयो निकैबेर। यही शौचालय खोज्ने धुन र ओरालो झर्नका लागि हामीलाई भनिएको योसिदा रुटबारेको अलमल समेतले गर्दा हामी आठजना नेपाली साथीहरु पनि तीन-चारतिर हुन पुग्यौँ। सँगै रहनुभएका डमरू सर र म ओरालोमा अघि बढ्दै गर्दा अरु नेपाली साथीको त के कुरा, हाम्रो टोलीका अरु कोही विदेशी समेत देखिन छाडेपछि एकैछिन त बाटो बिराइएछ कि भन्ने डर पनि भयो। तर कुँदाकुँद गर्दै केहीबेरमा ओरालो सकेर तेर्छो लाग्ने बाटोसम्म पुगेपछि भने अलिकति सास आयो। 

तेर्छो लागेपछि पनि फर्कने रुट निकै घुमाउरो रहेछ। एउटा घुम्ती सकिएपछि अब त हाम्रो स्टेसन आइपुग्यो होला भन्यो, फेरि अर्को घुम्ती आइपुग्ने। जेहोस्, जसोतसो सवा दश बजेतिर पाँचौँ स्टेसनमा पुगियो। यतिञ्जेलसम्ममा एकातिर थकाइले जीउ थिलोथिलो भैसकेको थियो भने अर्कोतिर बाटोको धुलो, खरानी र पसिनाले एक-अर्काको अनुहार पनि हेर्नलायक बनाइदिएको थियो। पाँचौँ स्टेनबाट ओन्सेनका लागि बस छुट्ने समय अर्थात् ११ बजेसम्ममा हामी ६ जना नेपाली साथीहरु मात्र त्यहाँ जम्मा हुन सक्यौँ। ६२ वर्षमा टेकिसक्नुभएका एकजना जापानी गुरुबालाई ओरालो झर्न केही गाह्रो परेका कारण उहाँसँगै रहनुभएका जीत सर र प्रमिला दिदीलाई फर्कन ढिलो हुने भयो र उहाँहरुले अर्को पब्लिक बस समात्नुपर्ने भयो। यसरी उहाँहरुलाई पर्खन नपाई स्नानादिका लागि ओन्सेनतर्फ लाग्नुपर्दा हामी सबैलाई केही नरमाइलो हुनु स्वभाविक थियो। 

ओरालो झरेर पाँचौँ स्टेसनमा पुग्ने क्रममा बाटोमा देखिएको घोडागाडी। तेर्छोमध्येको अन्तिम एक किलोमिटरजति बाटो यो गाडी चढेर पनि पार गर्न सकिने रहेछ।

ओन्सेनको तातो पानी र 'साउना' मा एक-डेढ घण्टाजति बिताउँदा अलिकति भए पनि थकाइ हराएजस्तो अनुभव भयो र जीउ पनि केही चङ्गा बन्यो। अनि दिउँसोको दुई बजेतिर फुजीसानको फेदीसँग समेत बिदा हुँदै हामी पुन: टोकियोकै दिशातर्फ मोडियौँ। यसरी पवर्तारोहण भने पनि, सामान्य पदयात्रा भने पनि फुजीसानसम्मको हाम्रो अविस्मरणीय यात्रा सम्पन्न भयो। 

अन्त्यमा, यो पूरानो सम्झना: गत डिसेम्बर ३१ मा हाकोने (आसी ताल) बाट देखिएको फुजी 'हिमाल'। फुजीसान अझ राम्रोसँग देखिने ठाउँसम्म पुग्दा भने 'बादलुको घुम्टो' ले धोका दियो।

Saturday, May 7, 2011

ताकाओ पहाडतिरको घुमघाम

यसपालिको 'गोल्डेन विक' को बिदामध्येको एक दिन साथी राजेन्द्रजीसँग ताकाओ पहाड (ताकाओ-सान) तिरको 'हाइकिङ' मा बिताइयो। जापानी फुच्चे पहाडहरुमा यो मेरो तेस्रो यात्रा थियो। यसअघिका यात्राहरुबारे यहाँ ('ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा') र यहाँ ('चुकुबा शहर र चुकुबा पहाडका कुरा') लेखिसकेको छु।

ताकाओ पहाड टोकियो शहरको मध्यभागबाट लगभग एक घण्टाको ट्रेन-यात्रामा पुगिने, समुद्री सतहबाट ५९९ मिटरको उचाइमा रहेको एउटा प्रसिद्ध 'हाइकिङ' गन्तव्य हो। साकुरा फुल्ने वसन्त ऋतुको समय होस् वा मेपल लगायतका रुखले पातको रङ फेर्दा प्रकृति नै रङ्गीन बन्ने शरद ऋतुको समय होस्, टोकियोबाट नजिकै रहेको गन्तव्यको रुपमा ताकाओ पहाडको चर्चा भइ नै हाल्छ। 'गोल्डेन विक' को बिदामा त झन् यो भीडभाडै हुने ठाउँका रुपमा चिनिन्छ। यसपालि त्यही 'भीडभाड' को एउटा हिस्सा भयौँ हामीहरु पनि।

तल ताकाओ पहाडतिरको घुमघामका क्रममा लिइएका केही तस्वीरहरु राख्ने जमर्को गरेको छु। तर म फोटोग्राफीमा कुनै खास 'अक्कल' वा प्राविधिक ज्ञान भएको व्यक्ति भने होइन है:)

बाटोमा देखिएका पदयात्रीहरु
बाटोमा बेच्न राखिएको 'दाङ्गो' (चामलको पीठोबाट बनेको एक किसिमको जापानी परिकार)
वरिपरिका हरिया थुम्काहरु
टोकियोमा साकुरा फुल्ने याम सकिए पनि ताकाओसानमा ढकमक्क फुलेको 'यामाजाकुरा' (साकुराको एउटा पर्वतीय प्रजाति)
ताकाओसान याकु-ओउ-इन मन्दिर (जापानका ४५ औँ सम्राट सोमुले सन् ७८८ मा पहिलोपल्ट यो बौद्ध मन्दिर बनाउन लगाएका रहेछन्)
ताकाओसान याकु-ओउ-इन मन्दिरको प्रवेशद्वार नजिकै रहेका 'तेङ्गु' नामका लामो नाक गरेका 'प्रेत' हरु
गुराँस फूल: 'मिचुबा चुचुजी'
बाटोमा देखिएका अन्य फूलहरु
ताकाओसानको टाकुरानेरै पुग्न लाग्दा देखिएको मान्छेको भीड
ताकाओसानको टाकुराबाट देखिएको पहाडी दृष्य (फुजीसान शायद यतै कतै थियो कि, तर आकाश त्यति नखुलेकाले खासै मेसो पाउन सकिएन)
ताकाओसानको फेदी पृष्ठभूमिमा देखिएको हाचिओजी शहर
र अन्त्यमा, हाम्रो प्यारो 'लालीगुराँस' (फर्केर ताकाओसानको फेदीमा आइपुग्दा देखिएको)

Wednesday, April 20, 2011

भ्रष्टाचारीलाई कीरा परोस्!

आजको नागरिक दैनिकमा पत्रकार रवीन्द्र मिश्रले 'भ्रष्टाचारको सत्यानाश!' शिर्षकमा निकै चित्तबुझ्दो लेख लेखेका छन्। नयाँ वर्षको प्रणको रुपमा टोल-टोल, बस्ती-बस्तीबाट भ्रष्टाचारीलाई निरुत्साहित पार्ने अभियानको शुरुवात गरौँ भन्ने उनको आह्वान छ। त्यही आह्वानप्रति समर्थन ऐक्यवद्धता जनाउन मलाई पनि आफ्नो ब्लगमा भ्रष्टाचारीलाई भरमार गाली गर्न मन लागेको छ।

हुनत शब्दमा भ्रष्टाचारीलाई गाली नगर्ने हामीमध्ये कमै होऔँला। तर भ्रष्टाचारी भनेका टप्पर्टुइँया नेताहरु वा साना-ठूला सरकारी ओहोदामा बसेर अनियमितता गर्नेहरु मात्र होइनन्। ती राजश्व छल्ने कालो व्यापार गर्नेहरु मात्र नै हुन्। भ्रष्टाचार एउटा प्रवृत्ति हो - लोभलालचको, बेइमानीको नैतिकताहीनताको। आफूले बेलामौकामा सय-पचास रुपैयाँमा पनि इमान्दारिता देखाउन नसक्नेले भ्रष्टाचारले गर्दा देश बिग्रियो भनेर डाँको छोड्ने गरेको देखिनु हाम्रो समाजमा नौलो होइन। फेरि मिश्रले नै भनेजस्तै 'भ्रष्टाचारका कीटाणु हाम्रा नसानसामा कसरी बास गरिसकेका छन् भने तिनलाई हामीले स्वभाविकरूपमा ग्रहण गर्न थालिसकेका छौँ। हामीले भ्रष्टाचार गरेर लाज ग्लानि महसुसै नहुने मानसिकताको विकास गरिसकेका छौँ।' तर यो विडम्बनापूर्ण स्थितिको अन्त्य नगरी हाम्रो उन्नति हुनेवाला छैन। 

त्यसैले सबै किसिमका भ्रष्ट आचार आचरणका विरुद्ध आफ्नो तर्फबाट जेजस्तो उपाय अपनाउन सकिन्छ, हामी पनि प्रयास गरौँ। पेशागत निष्ठा इमान्दारिताका पक्षमा सतिसालझैँ उभिने रामेश्वर खनाल रामप्रसाद श्रेष्ठजस्ता अरु थुप्रै सुपुत्रहरु जन्मने/जन्माउने बाटो पनि ही नै हो।
******************************************************************

भ्रष्टाचारीलाई स्याउँस्याउँती कीरा परोस्!

भ्रष्टाचार गरेर कमाएको धनले भत्भति पोलोस्!

भ्रष्टाचारीको उठीबास होस्!

भ्रष्टाचारीलाई मर्ने बेलामा मुखमा पानी हालिदिने समेत कोही नहोस्!

तर त्यो सबैभन्दा पहिले, हुनसक्छ भने

भ्रष्टाचारीमा सद्बुद्धि पलाओस्!



नववर्ष २०६८ भ्रष्टाचार भ्रष्टाचारीको सत्यानाशको वर्ष बन्न सकोस्! ढिलै भए पनि यहाँहरु सबैमा हार्दिक मङ्गलमय शुभकामना!!  

Thursday, March 24, 2011

केही गन्थन

असाध्यै तिख्खर कविता र रमाइला गजलहरु लेख्ने मेरो एउटा साथी नयाँ रचनाको मेसो नजुरेको धेरै भएपछि भन्ने गर्थ्यो - 'म त अब भूतपूर्व कवि भैसकेँ यार।' अहिले आफू पनि उही पाराले 'भूतपूर्व ब्लगर' भइएला भन्ने भैसक्यो। लेख्ने विषय थुप्रै हुँदा पनि फुर्सद र 'मुड' को तादम्य मिलाउन सकिएको होइन। त्यसैले आज खत्राखुत्रु गन्थन कोरेर भए पनि 'भूपू ब्लगर' हुनबाट जोगिने प्रयास गर्दैछु। :)

सबैलाई अवगत भएकै कुरा हो, जापान अहिले प्राकृतिक महाविपत्तिबाट उत्पन्न बहुआयामिक समस्याहरुसँग जुध्दै छ। भूकम्पसम्बन्धि अध्ययन-अनुसन्धानमा वर्षौँदेखि संलग्न वैज्ञानिकहरु तथा पूर्वानुमानकर्ताहरुलाई समेत स्तब्ध बनाउने गरी गएको ९ रिक्टर स्केलको महाभूकम्प, त्यसले निम्त्याएको प्रलयकारी चुनामी अनि त्यसपछि आइलागेको आणविक विकिरण चुहावटको समस्याबाट जापानको उत्तर-पूर्वी तोहोकु-कान्तो क्षेत्र नराम्ररी आहत भएको छ। यस दुखद घडीमा निर्दयी प्रकोपका कारण ज्यान गुमाउन पुगेका सबैको आत्माको चीरशान्तिको कामना गर्दै यस सङ्कटबाट जापान र जापानबासी सबैलाई चाँडोभन्दा चाँडो मुक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु।

भूकम्प र चुनामीले सबैभन्दा बढी क्षति पुर्‍याएको सेन्दाइ आसपासको क्षेत्र तथा आणविक समस्याको केन्द्रस्थल फुकुसिमाभन्दा केही टाढा भए पनि म अहिले बसिरहेको टोकियो शहर पनि महाविपत्तिले सिर्जना गरेका दुष्प्रभावहरुबाट मुक्त छैन। भूकम्पका साना-ठूला धक्काहरुले अहिलेसम्म तर्साउन छोडेका छैनन् तर मुख्य चिन्ता भने टोकियोसम्म आणविक विकिरण प्रसारको त्रास र विद्युत आपूर्तिको अनिश्चितता बनेका छन्।

भाग्यवश आणविक विकिरणको त्रास अहिलेसम्म मोटामोटीरुपमा त्रासमै सिमित छ भन्दा फरक नपर्ला। टोकियोको वायुमण्डलमा रेडियोधर्मी विकिरणको मात्रा सामान्यभन्दा बढेको केही रिडिङमा देखिएको भए पनि खतराको स्तरमा नपुगेको प्रष्ट भैसकेको छ। तर खानेपानी तथा तरकारी, दूधलगायतका खाद्यवस्तुमा  चाहिँ सानै मात्रामा भए पनि समस्याहरु देखिएका छन्। यी समस्याहरु कति विकराल बन्नेछन् भन्ने कुरा फुकुसिमास्थित आणविक भट्टीहरुको अवस्था कहिलेसम्ममा पूर्ण स्थीर र नियन्त्रित हुनेछ भन्नेमा भर पर्नेछ। अहिलेसम्मको अवस्थालाई हेर्दा मलाई व्यक्तिगत रुपमा चाहिँ समस्याले त्यति ठूलो रुप लिइहाल्लाजस्तो लाग्दैन।

अर्कोतर्फ टोकियो क्षेत्रमा खपत हुने विद्युतको उल्लेख्य हिस्सा आपूर्ति गर्ने फुकुसिमास्थित आणविक उर्जा केन्द्र सञ्चालन हुनुको साटो आफैँ समस्याको केन्द्रबिन्दु बन्न पुगेका कारण स्वभाविक रुपमा यस क्षेत्रको विद्युतको माग र आपूर्तिबीचको सन्तुलन खल्बलिएको छ। तत्कालका लागि त उर्जा-वचतका उपायहरु अवलम्बन गरेर टोकियो महानगर क्षेत्रमा लोडसेडिङको समस्यालाई पन्छाउने प्रयास गरिएको छ तर दीर्घकालीनरुपमा कस्तो समाधानको उपाय अपनाइने हो, अनिश्चित नै छ।   

यिनै समस्याको पृष्‍ठभूमिमा मूलत: दुई विषयमा केही बिस्तारमा चर्चा गर्न मन लागेको छ। हुनत नकारात्मक सोँच र पाखण्डी प्रवृत्ति झन्पछि झन् हावी हुँदै गएको हाम्रो समाजको तस्वीर देख्दा हिजोआज नराम्रै कुरामा पनि नकारात्मक टिप्पणी गर्नुभन्दा मौन बस्नु पो श्रेयस्कर हो कि जस्तो पनि लाग्छ। तर साह्रै अपाच्य लागेका कारण यी दुई विषयमा भने केही लेख्ने अनुमति माग्दछु।

भगुवा दूतावास र लाज ढाकिदिनुपर्ने हामीहरु 

जापानमा आइलागेको विपत्तिपछि जापानको उत्तर-पूर्वी तथा अन्य भागका समेत विदेशीहरु सम्भावित त्रासका साथै पारिवारिक दबाव आदिका कारण जापानबाट बाहिरिने क्रम बढ्यो। तर त्यो बहिर्गमनमा (कम्तिमा पनि टोकियोबाट बाहिरिनेहरुको हकमा) वैज्ञानिक र तार्किक कारणभन्दा पनि भावनात्मक पक्ष प्रबल थियो। अनिश्चय, द्विविधा र अनेकथरि सूचनाको प्रदूषणका बीचमा त्यस्तो हुनु अस्वभाविक पनि थिएन। तर एक्कासी मार्च १९ तारिखका दिन नेपाली पत्रपत्रिकामा आएको टोकियोस्थित नेपाली राजदूतावासको स्थानान्तरणसम्बन्धि समाचार भने बडो आश्चर्यजनक र क्षोभपूर्ण थियो। समाचारबाट प्रष्ट हुन्थ्यो, दूतावासका मान्छेहरु चोरडाँकाको शैलीमा टोकियोबाट ओसाकातिर भागेका मात्र रहेनछन्, आफ्नो नालायकी ढाकछोप गर्न जापान सरकारबाट विशेष जानकारी पाएको भन्ने कुतर्क गरेर सर्वसाधारण नेपालीमा थप भ्रम र आतङ्क छर्न पनि भ्याएका रहेछन्। सेन्दाइबाट उद्धार गरेर टोकियो ल्याइपुर्‍याइएका नेपालीहरुलाई त्यसै अलपत्र छाडेर, अरुबेला निरन्तर सम्पर्कमा रहने टोकियोस्थित नेपाली संघसंस्था तथा तिनका अगुवाहरु कोहीकसैलाई सुइँको समेत नदिई एकाएक पत्रपत्रिकाबाट आफूहरु भागेको र टोकियो शहर आणविक विकिरणको चपेटामा परेर बस्नलायक नरहेको सनसनीपूर्ण समाचार प्रवाहित गर्ने दूतावासका मान्छेहरुको 'पुरुषार्थ' को जति चर्चा गरे पनि कमै होला।   

हुनत व्यक्तिगत रुपमा म अनि मजस्ता थुप्रै साथीहरुको लागि नेपाली दूतावास र त्यहाँका मान्छेहरु 'गाड जाऊन् कि भीर जाऊन्' कुनै सरोकार छैन। तर यहाँनेर कुरा हाम्रा सरकारी संयन्त्रहरुको जवाफदेहिताको स्तरको हो। गैरजिम्मेवारिताको पनि शायद एउटा हद हुनुपर्ने हो। तर हाम्रो दूतावासका लागि त्यो हद पनि नभएको देखियो। अरु देशका मान्छेहरु जापानमै बस्ने कि जापान छोड्ने वा जापानमै बस्ने भए केकस्तो सतर्कता अपनाउने भनेर आफ्नो देशको दूतावासबाट जानकारी लिइरहेका रहेछन् तर कठै! हाम्रो दूतावासको अवस्था भने 'कुरा गर्‍यो, कुरैको दु:ख' भनेजस्तो। टोकियोमै बस्ने कि अन्यत्र जाने भनेर अलमलमा परेका एकजना नेपाली साथीलाई एउटा विदेशीले भन्दै थियो रे - 'टोकियोमा तिम्रो देशको दूतावास छैन र? दूतावासको मान्छेलाई फोन गर न, उनीहरुले आवश्यक सल्लाह दिइहाल्छन् नि!' बिचरा साथी के भनून् र, 'हाम्रो दूतावासका मान्छेहरु सप्पै अहिले सेन्दाइतिरका नेपालीहरुको उद्धारमा खटिइरहेका छन्, त्यसैले टोकियोका मान्छेहरुलाई सेवा र सल्लाह दिन पाइरहेका छैनन्, नत्र त म दूतावासमा सोधिहाल्थेँ नि!' भनेर उम्किएछन्। खै, कहिलेसम्म हामीहरु देशको लाज ढाकेजस्तो गर्दै यसरी नै उम्किरहनुपर्ने हो!  

विकिरण चुहावाट र 'भिटामिन डाक्टर' हरुको प्रसङ्ग

फुकुसिमास्थित आणविक उर्जा केन्द्रका आणविक भट्टीहरुमा विकिरण चुहावटको समस्या देखिएपछि सो समस्या देश-विदेश सबैतिर चर्चा र चासोको विषय बन्न पुग्यो। विकिरण चुहावटको हावा, पानी, माटो आदिबाट हुने प्रसार तथा त्यसबाट तत्कालै तथा दीर्घकालमा हुने खतरनाक असरका कारण सर्वत्र चिन्ता छाउनु स्वभाविक थियो। तर यथार्थपरक चिन्तासँगै जिम्मेवार भनिएका संचारमाध्यममा समेत अतिरञ्जित व्याख्या र हल्लाखल्लाको पनि कमी रहेन। फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा फैलिएका हावादारी सूचनाको त झन् कुरै भएन। आणविक भट्टीलाई आणविक बमकै रुपमा व्याख्या गरिदिने र आणविक दुर्घटना भन्नेबित्तिकै बुझे पनि नबुझे पनि 'चेर्नोबिल' कै बारेमा खोकिदिने केही उपबुज्रुकहरुसँग कसले पो सक्थ्यो र! यस्तै उपबुज्रुकहरुबाट आजित भएर एकजनाले ट्विटरमा लेख्न भ्याएका रहेछन् - 'किन सबै स्कुल ड्रपआउटहरु यहाँ आणविक विशेषज्ञ बनिटोपल्दैछन्? किनकि यो इन्टरनेट हो!'

तर मैले यहाँ उठाउन खोजेको प्रसङ्ग भने स्कुल ड्रपआउटहरुको नभएर बकाइदा 'डाक्टर' उपाधिधारी वैज्ञानिकका नाममा आएको एउटा लेखको हो। माइसंसारमा आएको 'आणविक दुर्घटना हुनै लागेको हो त जापानमा?' शिर्षकको लेखले 'डाक्टर' उपाधि र वैज्ञानिक भन्ने सम्मानप्रति नै लाजमर्दो बनाइदियो। लेख वैज्ञानिकले लेखेका छन् तर एउटा सामान्य इन्टरनेट-साक्षर व्यक्तिले पुर्‍याउनेजति ढङ्ग पनि नपुर्‍याइकन। आजको अति विशिष्टिकृत ज्ञानको जमानामा एउटा जलस्रोत वैज्ञानिक आणविक विषयको पनि ज्ञाता हुनुपर्छ भन्ने जरुरी छैन (खासमा सम्भव पनि छैन)। तर कुनै विषयमा, त्यो पनि संवेदनशील र समसामयिक चासोको विषयमा, केही लेख्न जमर्को गर्ने मान्छे जोकसैले पनि तत् विषयमा मोटामोटी जानकारी त राखेको हुनुपर्‍यो नि! नत्र आफ्नै आङ कन्याएर छारो किन उडाउनु?

भोपालको ग्यास चुहावटलाई आणविक विकिरण चुहावटको उदाहरणको रुपमा पेश गरिदिने, रेडियोधर्मी विकिरणलाई 'तेजाबी विकिरण' भनिदिने, समुन्द्रको पानी खपत गरेर आणविक उर्जा गृहहरु सञ्चालनमा रहन्छन् भनेर व्याख्या गरिदिने, सारा संचारमाध्यममा आएको हाइड्रोजन ग्यासको विस्फोटलाई उच्च-तापीय वाष्पको विष्फोट भनिदिनेजस्ता 'डाक्टर' र 'वैज्ञानिक' हरु शायद हामीकहाँ मात्रै भेटिने हुन् कि?

यस्तै 'डाक्टर' र 'वैज्ञानिक' हरुबाट वाक्क भएर होला, केही स्वनामधन्य 'डाक्टर' हरुलाई देख्यो भने मेरो एउटा साथीलाई 'डाक्टरसा'ब भिटामिन लेखिदिनुस् न!" भन्न मन लाग्छ रे! त्यसैले उसले यस्ता 'डाक्टर' हरुको नाम नै 'भिटामिन डाक्टर' राखिदिएको छ। धन्य हुन् 'भिटामिन डाक्टर' हरु!

(द्रष्टव्य: डा. सोहन घिमिरे आफ्नो क्षेत्रको प्राविधिक ज्ञानमा पक्कै पनि निकै राम्रो दक्खल राख्नुहुन्छ होला। आफ्नो अध्ययन-अनुसन्धानका माध्यमबाट उहाँले देशकै शीर उँचो पार्ने काम पनि गरिरहनुभएको होला। एउटा प्रतिष्ठित अनुसन्धान संस्थामा कार्यरत वैज्ञानिकको क्षमतामा प्रश्न उठाउने हैसियत म बबुरोको हुनै सक्दैन। तर जुन किसिमका त्रुटीपूर्ण तथ्य र जानकारीसहितको लेख आयो, त्यसले दिएको नकारात्मक सन्देश र हामीबीचको स्वनामधन्य प्रवृत्तिको बारेमा मात्रै मैले चर्चा गर्न खोजेको हुँ।)

पुनश्च: कतै पढ्न पुगेको थिएँ, जापानबासी सर्वसाधारण नेपालीलाई आणविक विकिरण चुहावटसम्बन्धि तथ्यपरक जानकारी दिन भनेर टोकियोस्थित नेपालीहरुको पहलमा एउटा 'प्राविधिक' टिम बनाइएको कुरा। टिममा मैले चिनेका केही पत्रकारहरु हुनुहुँदो रहेछ तर कुनै प्राविधिक पृष्‍ठभूमिको मान्छे त्यहाँ भएजस्तो लागेन। प्राविधिक ज्ञाता नै नभएको 'प्राविधिक' टिम कस्तो हो, कुरो बुझ्न सक्या'भे मार्दिनू! :( :)   


Wednesday, January 19, 2011

'उसलाई पिएचडी दिनोस्'

आइन्सटाइनसँग केही भलाकुसारी

प्र: एकजना  भौतिकशास्त्रीको रुपमा आफ्नो लामो करिअरको आधारमा तपाईँ विज्ञानलाई कसरी परिभाषित गर्नुहुन्छ?
उ: हाम्रो चेतना-अनुभवमा रहेको विश्रृङ्खल विविधतालाई तार्किक हिसाबले एकरुप विचारपद्धतिसँग सङ्गत बनाउने प्रयास नै विज्ञान हो। यस्तो  पद्धतिमा भिन्नभिन्न अनुभवहरु सैद्धान्तिक संरचनामा यसरी सम्बन्धित गरिनुपर्छ कि परिणामस्वरुप प्राप्त हुने संयोजन अद्वितीय तथा विश्वासिलो होस्... चेतना-अनुभवहरु उपलब्ध विषयवस्तु हुन्, तर तिनलाई व्याख्या गर्ने सिद्धान्तचाहिँ मानव-निर्मित हो। यो... काल्पनिक, अपूर्ण र जहिले पनि प्रश्न उठाउन तथा शंका गर्न सकिने हुन्छ।

प्र: विज्ञानको क्षेत्रमा करिअर बनाउन चाहने युवालाई तपाईँ कस्तो सामान्य सल्लाह दिनुहुन्छ?
उ: वैज्ञानिक कार्यका लागि प्रयास गर्दा -- निकै प्रतिभाशाली व्यक्तिले समेत -- कुनै साँच्चिकै मूल्यवान् कुरा प्राप्त गर्ने सम्भावना निकै थोरै हुन्छ... त्यसको एउटै मात्र समाधान छ: आफ्नो धेरैजसो समय केही प्रयोगात्मक काममा लगाउनोस्...  जुन तपाईँको स्वभावसँग मिल्छ, र बाँकी समय अध्ययनमा खर्च गर्नुहोस्। तब तपाईँ सक्षम हुनुहुनेछ... कुनै दैवी आशिर्वादबिना पनि एउटा सामान्य र सामञ्जस्यपूर्ण जिन्दगी बाँच्न। 

प्र: वैज्ञानिक करिअरका आर्थिक सीमाहरुको बारेमा नि?
उ: विज्ञान एउटा गजबको कुरा हो, यदि यसबाट गुजारा चलाउनुपर्दैन भने। मान्छेले आफू जुन काममा सक्षम छु भन्ने लाग्छ त्यसैबाट जीवन गुजारा चलाउनुपर्ने हुन्छ। वैज्ञानिक कार्यको आनन्द तब मात्र लिन सकिन्छ जब हामी कसैप्रति पनि जवाफदेही हुनुपर्ने हुँदैन।  

प्र: त्यसो भए वैज्ञानिक करिअरका परिणामहरु के हुन् जसले यसलाई सार्थक र रोमाञ्चक बनाउँछन्?
उ: मानवलाई उदात्त बनाउने र उनीहरुको स्वभावलाई समृद्ध गराउने कुरा वैज्ञानिक अनुसन्धानको परिणाम होइन, बरु रचनात्मक तथा खुला दिमागले बौद्धिक कार्य सम्पन्न गर्ने बेला बुझाइको निम्ति गरिने संघर्ष हो। यो मेरो भित्री विश्वास हो कि विज्ञानको विकासले मुख्यरुपमा विशुद्ध ज्ञानको उत्कण्ठालाई शान्त पार्छ।  

प्र: तर मलाई लागेको हुन सक्थ्यो कि प्रकाशमा ल्याइने नयाँ ज्ञान -- अर्थात् आविष्कार -- नै त्यस्तो कुरा हो जसले वैज्ञानिक करिअरलाई सार्थक बनाउँछ?
उ: 'आविष्कार' भन्ने शब्द आफैँमा खेदजनक छ। किनकि आविष्कारको अर्थ पहिल्यै अस्तित्वमा रहेको कुनै वस्तुको बारेमा थाहा पाउनु बराबर हुन्छ; यो प्रमाणसँग जोडिएको हुन्छ जसले 'आविष्कार' को होइन कि आविष्कारसम्म पुग्ने साधनको विशेषता बोक्छ। ...आविष्कार वास्तवमा कुनै रचनात्मक कार्य होइन।

प्र: वैज्ञानिक प्रशिक्षणको लागि सबैभन्दा राम्रो स्कुल छान्न कस्तो सल्लाह दिनुहुन्छ?
उ: स्कुलको लक्ष्य जहिले पनि कुनै तन्नेरी त्यहाँबाट एउटा सामञ्जस्यपूर्ण व्यक्तित्व बनेर निस्कोस् भन्ने हुनुपर्छ न कि एउटा विशेषज्ञ। अन्यथा ऊ -- उसको विशेष ज्ञानका कारण -- सामञ्जस्यपूर्णरुपमा विकसित मान्छेभन्दा एउटा सुप्रशिक्षित कुकुरको ज्यादा निकट हुन्छ।  

प्र: एउटा शिक्षकमा चाहिँ तपाईँ के चाहनुहुन्छ?
उ: सबैभन्दा मूल्यवान् कुरा जुन एउटा शिक्षकले केटाकेटीलाई दिनसक्छ, त्यो खासमा ज्ञान र सुझबुझ होइन बरु ज्ञान र सुझबुझप्रतिको तीव्र इच्छा हो, र बौद्धिक मूल्यहरुप्रतिको सराहना हो, चाहे ती कलात्मक, वैज्ञानिक वा नैतिक जुनसुकै होऊन्। रचनात्मक अभिव्यक्ति र ज्ञानको मजा जागृत गर्नु नै एउटा शिक्षकको सर्वोच्च कला हो। धेरै शिक्षकहरु विद्यार्थीले नजानेको कुरा पत्ता लगाउने अभिप्रायका प्रश्नहरु सोधेर आफ्नो समय बर्बाद गर्छन् जबकि सोधपुछको साँचो कला विद्यार्थीले कुन कुरा जान्दछ वा ऊ कुन कुरा जान्न सक्षम छ भन्ने पत्ता लगाउनु हो।

प्र: अनि विद्यार्थीको मनोभावचाहिँ कस्तो हुनुपर्ला?
उ: तथ्यहरु सिक्नु त्यति धेरै महत्त्वपूर्ण कुरा हैन। त्यसको लागि कुनै व्यक्तिलाई साँच्चिकै कलेजको खाँचो पर्दैन। उसले किताबबाट ती कुरा सिक्न सक्छ। एउटा लिबरल आर्ट्स कलेजमा लिइने शिक्षाको महत्त्व धेरै तथ्यहरु सिक्नु होइन बरु पाठ्यपुस्तकबाट सिक्न नसकिने कुरा सोँच्न दिमागलाई प्रशिक्षित गर्नु हो।

प्र: सफल वैज्ञानिक करिअरका लागि उचित शैक्षिक स्थान भेट्न गाह्रो छ?
उ: शिक्षाको उद्देश्य स्वतन्त्ररुपमा काम गर्ने र सोँच्ने व्यक्तिहरु प्रशिक्षित गर्ने हुनुपर्छ, तथापि त्यस्ता व्यक्तिले समुदायको सेवामा आफ्नो जीवनको उच्चतम प्राप्ती देखून्। वास्तवमा यो कुनै चमत्कारभन्दा कम छैन कि आधुनिक शिक्षणविधिहरुले अनुसन्धानको पवित्र जिज्ञासालाई पूर्णरुपमा अँठ्याएर मार्न सकेका छैनन्; किनकि यो सानो सुन्दर बिरुवा प्रोत्साहनबिना, मुख्यरुपमा स्वतन्त्रताको चाहनाले खडा हुन्छ; यसबिना यो कष्टमा पर्छ र निश्चितरुपमा नष्ट हुन्छ।    

प्र: शिक्षण प्रक्रियामा परीक्षाहरू कति महत्त्वपूर्ण छन्?
उ: म परीक्षाहरुको विरोधी हुँ -- तिनले पढाइप्रतिको रुचीलाई रोक्ने मात्र काम गर्छन्। एउटा विद्यार्थीको [कलेज] करिअरभरिमा दुइटाभन्दा बढी परीक्षा लिइनुहुँदैन। म सेमिनारहरु आयोजना गर्ने थिएँ र यदि तन्नेरीहरु इच्छुक छन् अनि सुन्छन् भने उनीहरुलाई डिप्लोमा दिने थिएँ।

प्र: त्यसो गर्दा भौतिकशास्त्रको प्राध्यापकको रुपमा आफ्नो लामो अनुभवको हिसाबले कहिलेकाहीँ अयोग्य विद्यार्थी पनि पार होला भन्ने तपाईँलाई लाग्दैन?  
उ: त्यस केटालाई उसको पिएचडी दिनोस्। फिजिक्सको पिएचडीले उसले खास बिगार गर्न सक्नेवाला छैन।

प्र: तपाईँको विचारमा विज्ञानमा काम गर्न कस्तो वातावरण सबैभन्दा प्रभावकारी हुन्छ?
उ: आधुनिक समाजमा समेत केही खास पेशाहरु छन् जसमा एक्लिएर बस्नुपर्छ र कुनै ठूलो शारीरिक वा बौद्धिक मेहनत गर्नुपर्दैन। लाइटहाउसहरु तथा लाइटसिपहरुमा काम गर्नेजस्ता पेशाहरु दिमागमा आउँछन्। तन्नेरीहरु जो वैज्ञानिक, खासगरि गणितीय वा दार्शनिक प्रकृतिका, समस्याहरुको बारेमा सोँच्छन्, उनीहरुलाई यस्ता पेशामा राख्न सम्भव नहोला र? यस्तो महत्त्वाकांक्षा भएका ज्यादै थोरै तन्नेरीहरुले मात्र आफ्नो जीवनको उर्वर अवधिमा समेत बिना कुनै बाधा-अवरोध जतिसुकै लामो समयसम्म पनि वैज्ञानिक प्रकृतिका समस्यामा आफूलाई समर्पित गर्ने अवसर पाउँछन्।

प्र: पृथकीकरणका निम्ति तपाईँको रोजाइ के एकहिसाबले प्रतिस्पर्धा र प्राथमिकताको चासोबाट प्रभावित हो?
उ: विज्ञानको विकासका लागि केही योगदान दिन सक्ने विशेष सुविधाप्राप्त व्यक्तिहरुले साधारण प्रयासका फलहरुको निम्ति आफ्नो खुशीमा ग्रहण लाग्न दिनुहुँदैन।

प्र: सहकर्मी छान्दा कस्ता गुणहरुलाई बढी महत्त्व दिनुहुन्छ?
उ: वैज्ञानिक विशिष्टता र व्यक्तिगत गुणहरु सधैँ सँगसँगै गएको देखिँदैन। म कुनै महाछट्टु सूत्रबाज वा प्रयोगबाजभन्दा एउटा मिलनसार मान्छेलाई अधिक महत्त्व दिन्छु।

प्र: आफ्नो अनुसन्धानका लागि लक्ष्यहरु तय गर्दै गरेको एउटा वैज्ञानिकलाई कस्तो सल्लाह दिनुहुन्छ?
उ: कसैले पनि सजिलै प्राप्त हुने लक्ष्य लिनुहुँदैन। हरेकले कडाभन्दा कडा मेहनतद्वारा मात्र प्राप्त हुने लक्ष्यका लागि आफूलाई तयार पार्नुपर्छ।   

प्र: एउटा वैज्ञानिक पथभ्रष्ट हुने मुख्य बाटाहरु के-के हुन्?
उ: १) राक्षसी शक्तिले उसलाई झुटो परिकल्पनातिर मोडिदिन्छ। (यसको लागि ऊ हाम्रो दयाको हकदार हुन्छ।)
    २) उसका तर्कहरु त्रुटीपूर्ण र हावादारी छन्। (यसको लागि ऊ हाम्रो पिटाइको हकदार हुन्छ।)

प्र: एउटा सच्चा परिकल्पनाको विशेषता के हो?
उ: मेरो निम्ति परिकल्पना एउटा त्यस्तो कथन हो जसको सत्यता अस्थायी रुपमा मानिएको हुन्छ तर जसको अर्थ सबै शंकाभन्दा माथि हुनुपर्छ।  

प्र: 'प्रकृति' लाई बुझ्ने क्रममा एउटा वैज्ञानिकले सामना गर्ने सबैभन्दा ठूला चुनौतीहरु के-के हुन्?  
उ: १) भगवान आफूले चाहेअनुसार गर्छन् र उनी कसैको आज्ञा मान्दैनन्।
    २) परमेश्वर सुक्ष्म छन्, तर दुष्टचाहिँ उनी छैनन्।
    ३) मेरो अर्कै विचार छ। हुनसक्छ, ईश्वर दुष्ट छन्

प्र: विज्ञानको कलासँग के सम्बन्ध छ?
उ: प्राविधिक सीपको एउटा निश्चित उच्चतह प्राप्त गरिसकेपछि विज्ञान र कला एक-अर्कामा विलय हुन खोज्छन् - सौन्दर्यशास्त्र, लचकता र रुपमा। महान् वैज्ञानिकहरु कलाकार पनि हुन्।  

प्र: पश्चिमा विज्ञानको विकासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
उ: पश्चिमा विज्ञानको विकास दुइटा महान् उपलब्धिमा आधारित छ: ग्रिसेली दार्शनिकहरुले आविष्कार गरेको औपचारिक तार्किक पद्धति (युक्लिडियन ज्यामितिको रुपमा), अनि व्यवस्थित प्रयोगद्वारा कारण-सम्बन्ध पत्ता लगाउन सकिने सम्भावनाको अन्वेषण (पुनर्जागरण अवधिमा)। 

प्र: विज्ञानको क्षेत्रमा हामी कति पर पुगिसकेका छौँ?
उ: लामो जीवनमा मैले सिकेको एउटा कुरा हो: यथार्थको तुलनामा हाम्रो पूरै विज्ञान आदिम र शिशुसमान छ -- यद्यपी यो हामीसँग भएको सबैभन्दा मूल्यवान् वस्तु हो।

प्र: त्यस्तो विरल अवस्था जतिबेला तपाईँको कुनै शोधपत्रको रुखो समीक्षा गरिएको थियो, तपाईंको प्रतिक्रिया के थियो?
उ: अज्ञात समीक्षकका सिफारिसहरुलाई पालना गर्नुपर्ने म कुनै आवश्यकता देख्दिनँ (जो संयोगले त्रुटीपूर्ण हुन्छन्)। उपरोक्त आधारमा म आफ्नो काम अन्यत्र कहीँ प्रकाशित गराउनेबारेमा सोँच्नेछु।

*********************************************************************************** प्रस्तुत भलाकुसारी आधुनिक भौतिक विज्ञानका पिता तथा बिसौँ शताब्दीका 'शताब्दीपुरुष' अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५) ले विभिन्न विषयमा उनको जीवनको आखिरीतिर व्यक्त गरेका विचारहरुलाई प्रश्नोत्तरको रुपमा ढालेर ले तयार पारेको भलाकुसारीको नेपाली अनुवाद हो। यहाँ समेटिएका आइस्टाइनका विचारहरु Dan Albert ले Alice Calaprice द्वारा सम्पादित The Ultimate Quotable Einstein बाट लिएका हुन्। तर आइन्स्टाइनसँगको 'गफगाफ' पढ्नुअघि Albert ले सुझाएका चेतावनीहरु यहाँ पनि सान्दर्भिक हुन सक्छन्:
१) आइन्स्टाइनले बुढ्यौलीसँगै अनेक विषयमा आफ्नो धारणा फेरेका थिए।
२) उनका अलिक कडा टिप्पणीहरु आंशिकरुपमा हाँसोमा भनिएका हुन सक्छन्।
३) उनले विज्ञानलाई ज्यादातर एउटा भौतिकशास्त्रीको आँखाले हेरेका छन्।
***********************************************************************************

अन्त्यमा, आइन्स्टानलगायत संसारका थुप्रै महान् वैज्ञानिकहरुलाई एकसाथ देख्न सकिने आधुनिक विज्ञानको स्वर्णिमकाल झल्काउने यो 'आइकोनिक' तस्वीर पनि:

सन् १९२७ मा ब्रसेल्समा सम्पन्न पाँचौँ सोल्वे कन्फरेन्समा लिइएको यस तस्वीरमा देखिएका २९ मध्ये १७ जना वैज्ञानिकहरु कोही त्यतिबेलैका र कोही त्यसपछिका नोबेल पुरस्कार विजेता हुन्। क्वान्टम सिद्धान्तमाथिको तातो बहसमा केन्द्रित उक्त कन्फरेन्समा आइन्स्टाइन र अर्का वैज्ञानिक निल्स बोरबीच चलेको जुहारी पनि निकै चर्चित छ। 'ईश्वरले पासा खेल्दैनन्,' हेइजेनबर्गको 'अनिश्चितताको सिद्धान्त' को आलोचना गर्दै आइन्स्टाइनले भनेका रहेछन्। बोर पनि के कम, उनले मुख फर्काएका रहेछन्, 'आइन्स्टाइन, ईश्वरले के गर्नुपर्छ भन्न छोड।'