Saturday, November 13, 2010

'फेन्सी टेक्नोलोजी' का पक्षमा

गत सोमबार नेपालका पूर्व जलश्रोत मन्त्री तथा होनहार जलश्रोतविद्का रुपमा चिनिने दीपक ज्ञवालीज्यूले दिनुभएको एउटा प्रवचन कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। हाल संयुक्त राष्ट्रसंघ विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट फर एड्भान्स्ड स्टडिज् तथा युनेस्को-अन्तर्राष्ट्रिय जलविज्ञान कार्यक्रमको अतिथि प्राध्यापकका रुपमा योकोहामामा रहनुभएका ज्ञवालीले 'सांस्कृतिक सिद्धान्त, परम्परागत जल-ज्ञान तथा द्वन्द्व सुधार' विषयमा टोकियो विश्वविद्यालयमा दिनुभएको करिब डेढघण्टा लामो प्रवचनका तारिफयोग्य पक्षहरु थुप्रै थिए। विषयवस्तुमाथिको उहाँको गहिरो र व्यापक ज्ञान, अङ्ग्रेजी भाषामाथिको राम्रो पकड तथा 'बोल्ड' प्रस्तुतिले प्रवचन अवधिभर सबैलाई मन्त्रमुग्ध बनाएको प्रष्टै थियो। फेरि नेपालको मन्त्री वा पूर्वमन्त्री भन्नेबित्तिकै झट्ट हाम्रो मानसपटलमा बन्ने 'जोकर' तस्वीरभन्दा फरक उहाँको उपस्थिति टोकियो विश्वविद्यालयका अन्य विद्यार्थी तथा प्राध्यापकहरुका सामु हामी नेपाली विद्यार्थीहरुका लागि गर्वको विषय पनि थियो। तर कुरा यतिमै टुङ्गिँदैन, टुङ्गिँदो हो त हाम्रो देशको दुरावस्था यस्तो हुने पनि थिएन कि!

ज्ञवालीले आफ्नो प्रवचन अवधिमा निकैचोटि दोहोर्‍याउनुभएको एउटा शब्दावली थियो - 'फेन्सी टेक्नोलोजी'। उहाँको कुरा सुन्दा लाग्थ्यो, हामीहरुले विश्विद्यालयमा हासिल गरेको/ गरिरहेको शिक्षा सबै व्यर्थ हो। विश्वविद्यालयहरुमा पढाइ हुने सुत्र, समीकरण आदि सबै बेतुकका कुरा हुन्। के साँच्चै त्यसो हो त? त्यसो भए तिनै सुत्र, समीकरणका आधारमा अरुहरुले गरेको विकास पनि मिथ्या हुनुपर्‍यो। हैन, अरुले गरेको सही हो तर हाम्रो सन्दर्भमा चाहिँ ती सुत्र, समीकरणहरु काम लाग्दैनन् भन्ने हो भने जति सकिन्छ काम लाग्ने बनाउने जिम्मा पनि हाम्रो आफ्नै हो। 'अङ्गुर अमिलो छ' भनेर भाग्दैमा हुन्छ र? ज्ञवालीले भन्नुभएजस्तै नयाँ प्रविधिको विकास सँगसँगै परम्परागत जल-ज्ञानलाई पनि उपयोग गर्नुपर्छ भन्ने कुरामा विमति राख्ने ठाउँ छैन, बरु यो कुरा प्रविधिका अन्य क्षेत्रमा पनि लागु हुन्छ। तर यसको मतलब हामी सधैँ माटोको बाँध वा पानीघट्ट प्रविधिको 'गफ चुटेर' बसौँ भन्ने हुन सक्छ र? आधुनिक विज्ञान र प्रविधिका कुरालाई 'फेन्सी' नाम दिएर परम्परागत प्रविधिको रट लगाउँदैमा अहिलेको प्रतिष्पर्धात्मक संसारमा हामी खरो उत्रन सकौँला?


दिगो विकासका लागि कुनै पनि नयाँ प्रविधि वा विकासको अवधारणा प्राविधिक रुपमा सम्भव, आर्थिक तथा वातावरणीय रुपमा व्यवहार्य र सामाजिक रुपमा स्वीकार्य हुनुपर्छ भन्ने मान्यता अहिले निर्विवाद भैसकेको छ। परम्परादेखि चलिआएका चलन, स्थानीय समुदायका सरोकारका मुद्दाहरु आदिलाई ध्यान नदिइकन विकासको लक्ष्य प्राप्त नहुने कुरा पनि साँचो हो। तर त्यसो भन्दैमा दुई-चारवटा असफलताका कथाहरुलाई बढाइँचढाइँ गरेर आधुनिक प्रविधिको धज्जी उडाउनु हामीजस्तो पछौटे राष्ट्रका लागि सुहाउँदो कुरा हुनै सक्दैन।

जलसम्पादकै उपयोगका सन्दर्भमा कुरा गर्दा सबैभन्दा धेरै 'पानीविज्ञ' हामीकहाँ नै होलान् जस्तो लाग्छ, तर फेरि पनि किन हामी मध्ययुगतिर धकेलिँदै छौँ त? भन्न त सकिन्छ, हाम्रो सरकारमा बस्नेहरु गतिला भएनन्, हाम्रो ब्युरोक्रेसी गतिलो भएन, आदि। तर सरकार वा सरकारी निकाय बाहिर बसेकाहरुले गर्ने तर्कहरु पनि परिणाममुखी छन् र? जलश्रोतको क्षेत्रमा वर्षौँको अनुभव बटुलेकाहरुबाट हुने ठूला आयोजनाको विरोध, राष्ट्रियताको चर्को वकालत आदि फगत उनीहरुको व्यक्तिगत वृत्तिविकासका आधार हुन् वा साँच्चिकै राष्ट्रहितप्रति उनीहरुको प्रतिवद्धताका उदाहरण हुन्, प्रश्न अनुत्तरित नै छ। काठमाडौं उपत्यकाका ढुङ्गेधाराहरु हाम्रा अमूल्य निधि हुन्, तिनको संरक्षण हुनुपर्छ, सम्वर्द्धन हुनुपर्छ। तर हामीलाई मेलम्ची वा त्योभन्दा अझ ठूला महत्वाकांक्षी आयोजनाहरु पनि चाहिन्छन्। समस्या ठूला आयोजनाको सैद्धान्तिक वा दार्शनिक पक्षसँग हुँदै होइन, समस्या त हाम्रो फितलो र भ्रष्ट कार्यान्वयन पक्षसँग पो हो।

चीनले याङ्जे नदीमा 'थ्री गर्जेज्' बाँध बाँधेर २२,५०० मेगावाट क्षमताको जलविद्युत गृह निर्माण गर्न लाग्दा ठूलो बहसको विषय बन्यो। लाखौँ मान्छेहरु विस्थापित हुने र आसपासको पर्यावरणमा प्रतिकूल असर पर्नेजस्ता विवादास्पद विषयका बाबजुद चीनले उक्त आयोजना सम्पन्न गरिछाड्यो किनभने उर्जाको बढ्दो मागलाई धान्नुपर्ने चुनौती उसका सामु थियो। चीनमा निर्माण भएको उक्त बाँध वा अन्यत्र पनि निर्माण भएका/ भैरहेका ठूला बाँधहरु सही वा निर्विकल्प नै भन्ने होइन तर एउटा कुरा केचाहिँ निश्चित हो भने विकासोन्मुख राष्ट्रले आफ्ना स्वार्थहरु आफैँ पहिचान गर्न सक्नुपर्छ। विकसित राष्ट्रमा जोडतोडका साथ उठ्ने मुद्दाहरु हाम्रा मुद्दा नहुन पनि सक्छन्। आइएस्सी पढ्दा एकजना सरले भन्नुभएको कुरा अहिले पनि म बेला-बेलामा सम्झने गर्छु। एउटा प्रसङ्गमा उहाँको सटिक टिप्पणी थियो - 'नेपालीका घरका छानामा प्वाल परेको मतलब छैन, यहाँ कसै-कसैलाई ओजोनमा प्वाल परेको चिन्ता छ।' विकास र सम्पन्नताको एउटा चरणमा पुगेपछि 'आदर्श' का कुरा जति गर्दा पनि सुहाउँछ तर ढुङ्गेयुगमै बसेर परम्परागत प्रविधिको रक्षा गर्छु, पृथ्वी जोगाउँछु भन्नुचाहिँ हुट्टिट्याउँले आकाश थाम्छु भन्नुभन्दा बढी केही पनि होइन।

पुल्चोक क्याम्पसमा पढ्दा भौतिकशास्त्रका एकजना सर 'हलो प्रविधि' को कुरा गर्ने गर्नुहुन्थ्यो। हाम्रो विज्ञान-प्रविधिको 'फोकस' ठुल्ठुला कुरा गर्नेभन्दा पनि हलो-कोदालो सुधार्ने प्रविधिको विकासतिर हुनुपर्छ भनेर उहाँ हामीहरुलाई हौँस्याउनुहुन्थ्यो। कुरा मिठो सुनिन्छ तर वास्तविकता सायद त्यस्तो मिठो छैन। अरुहरु आधुनिक बन्दुक लिएर शिकार गर्न निस्किरहेका बेला हामी उही गुलेलीको 'इनोभेसन' मा रमाएर बस्दैमा होला र? यसको अर्थ हामी एकैचोटि फुलचोकीको डाँडाबाट रकेट उडाउने गुड्डी हाँकेर बसौँ भन्ने होइन तर दुनियाँ कता जाँदैछ भन्ने कुरासँग हामी अवगत हुनै पर्छ। हामीसँग पनि ठूला सपना हुनै पर्छ। 'फेन्सी टेक्नोलोजी' हामीले पनि भित्र्याउन सक्नुपर्छ, विकास गर्न सक्नुपर्छ। आधुनिक विज्ञान-प्रविधिको 'कोर' ज्ञानलाई आत्मसात् नगरिकन, ठूला स्केलका उद्योगधन्दा र आयोजनाहरुलाई प्रवर्द्धन नगरिकन 'जोगवाड' का भरमा कुनै पनि समाजले काँचुली फेरेको उदाहरण हाम्रासामु छैन। देवकोटाले त्यसै भनेका होइनन् - 'उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक'।