Tuesday, April 13, 2010

नयाँ वर्ष २०६७ शुभ रहोस्

विक्रम सम्वतको नयाँ वर्ष २०६७ भोलिदेखि शुरु हुँदैछ। चरम अवसरवादी राजनीति र स्वनामधन्य 'डेढ-अक्कलवादी' हरुको अक्कलको तारो विक्रम सम्वत पनि बन्न पुगेको छ अहिलेको 'नयाँ नेपाल' मा। त्यसैले कहिले बिना कुनै व्यवहारिक तयारी नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा गर्ने होड हुन्छ भने कहिले इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउने हल्ला चल्छ। मौलिकताका हिसाबले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ वा बदलिँदो विश्व परिवेशमा छरितोपनका लागि अन्तरराष्ट्रिय रुपमा प्रचलनमा रहेको इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ भन्ने तर्कहरु आफैँमा अनुचित होओइनन् तर वर्षौँदेखि आम नेपाली जनमानसमा भिजेको र आफ्नै किसिमको वैज्ञानिकता बोकेको विक्रम सम्वतप्रति पूर्वाग्रह राखिनु चाहिँ काग बढी बाठो भएर आची खानु बराबर नै हो। तर के गर्ने हामीकहाँको अन्त्यहीन प्रतीत हुने संक्रमणकालको मूल विशेषता नै यस्तै 'बाठोपन' देखिन्छ।

खैर, यी कुरालाई यहीँ छोडेर अहिलेलाई भने यहाँहरु सबैमा नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

नयाँ वर्ष २०६७ सबै हिसाबले शुभ रहोस्, मंगलकारी रहोस्!!



Yet the timeless in you is aware of life's timelessness, And knows that yesterday is but today's memory and tomorrow is today's dream.

-- Khalil Gibran

Sunday, March 21, 2010

गिरिजाप्रसादको अवसान र स्तुतीगानको हाम्रो संस्कृति

मृत्यु कसैको पनि प्रिय हुँदैन। त्यसमाथि पनि पाँच-पाँच पटकसम्म देशको प्रधानमन्त्री भैसकेको, उमेर र अनुभवका हिसाबले सबैको अभिभावक भन्न मिल्ने नेताको मृत्यु दु:खको विषय बन्नु स्वभाविक हो। तर बाँचुञ्जेल गुमनाम वा बदनाम भएकाहरुलाई समेत मृत्युपछि महान् भन्दै स्तुतीगान गर्ने हाम्रो तुच्छ परम्पराकै निरन्तरता मान्नुपर्ला, गिरिजाप्रसाद कोइरालाको मृत्युसँगै अलौकिक राजनीतिक व्यक्तित्त्वका रुपमा उनको आदर्शीकरण गर्ने होडबाजीलाई।

पक्कै पनि नेपाली राजनीतिमा गिरिजाप्रसादको समग्र भूमिका मूल्यांकन गर्न त्यति सजिलो छैन, तर भावनामा नबहकिकन भन्दा उनी कुनै ‘महानायक’, ‘लोकनायक’ वा ‘युगपुरुष’ हुनै सक्दैनन्। तर गाली गर्दा होस् या स्तुती गर्दा, सन्तुलित हुन नसक्ने हाम्रो बानी न पर्‍यो, अखबारका पानाहरुदेखि फेसबुकका ‘स्ट्याटस’ हरुसम्ममा गिरिजाप्रसादका नामका अगाडि भएभरका विशेषण जोडिएका छन्। कतिले त ‘राष्ट्रपिता’ समेत भनिदिन भ्याइसकेछन्। धन्य हाम्रो लहडी मानसिकता!

शोकको घडीमा सुन्दा अप्रिय लागे पनि यथार्थ के हो भने २०४६ सालको राजनीतिक परिवर्तनपछिको नेपाली राजनीतिका सबैभन्दा विवादास्पद पात्र नै गिरिजाप्रसाद हुन्। उनी सत्ताभित्र वा सत्ताबाहिर जहाँ हुँदा पनि नेपालको राजनीति उनकै वरिपरि घुम्यो तर यो घुमाइ फगत घुमाइ सावित भयो किनभने यसले एउटा प्रष्ट दिशा कहिल्यै लिन सकेन। त्यसैले राजनीतिमा खासै चासो नलिनेहरुले समेत दिक्क मान्दै भनेको सुनिन्थ्यो - यो देशमा गिरिजा नमरेसम्म केही नहुने भयो।

आफ्नै दाजु बीपी कोइरालाबाट ‘हवल्दार’ को संज्ञा पाएका गिरिजाप्रसादको राजनीतिक आरोहण कुशल नेतृत्वशैली वा राजनीतिक दूरदृष्टिका कारण नभै षडयन्त्र र तिकडमका कारण भएको देखिन्छ। सत्ता र शक्तिका लागि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता आफ्नै पार्टीका वरिष्ठ नेताहरुलाई अपमानपूर्ण तरिकाले पाखा लगाउन पछि नपरेका उनी एकन्ताक इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्रीको रुपमा समेत चिनिएको तथ्य कसैबाट छिपेको छैन। तर तमाम दुर्गुणका बाबजुद २०५९ असोज १८ मा तत्कालिन राजा ज्ञानेन्द्रले चालेको प्रतिगामी कदमपछि त्यसका विरुद्ध प्रजातन्त्रका पक्षमा उनले देखाएको प्रतिवद्धता र 'माले, मसाले, मण्डले एकै हुन्' भन्ने पूर्वाग्रही सोँचबाट माथि उठेर माओवादी युद्धको अन्त्य गराई शान्ति प्रकृयाको शुरुवातका लागि उनले खेलेको सकारात्मक भूमिकाले उनको उचाइ चुलिएको थियो। जीवनको उत्तरार्द्धमा हासिल गरेको त्यो उचाइ कायम राख्न सकेका भए गिरिजाप्रसाद राजनेताको रुपमा आदरणीय त बन्थे नै, देशको गोलचक्करवादी राजनीतिले पनि एउटा टुङ्गो पाउँथ्यो होला। तर अपसोचको कुरा, उनी फेरि पनि आफ्नो संकीर्णताको घेराबाट माथि उठ्न सकेनन्। आफ्नी नालायक र बेसोमत छोरीको महत्त्वाकांक्षा पूर्तीका लागि आफ्नो सारा राजनीतिक जीवन दाउमा लगाउँदै आधुनिक धृतराष्ट्रको परिचय बनाउनु उनले उचित देखे र त्यही परिचयका बीच नै उनको इहलीला समाप्त भयो।

यति हुँदाहुँदै पनि गिरिजाप्रसादमा केही यस्ता सशक्त पक्ष थिए, जसले गर्दा नेपाली राजनीतिमा उनको रिक्तता भने पक्कै पनि महशुस हुनेछ। पदीय र राजनीतिक-कुटनीतिक मर्यादा बिर्सिएर निकै सस्तो गरी प्रस्तुत हुने नेताहरुको बीचमा गिरिजाप्रसाद मात्रै त्यस्ता नेता थिए जो आफूलाई ओजपूर्ण रुपमा प्रस्तुत गर्न सक्थे। बिना कुनै अड्कल मुखमा जे आयो त्यो बोल्दै हिँड्ने स्वभाव उनको थिएन, त्यसैले उनी जे बोल्थे, त्यसले सबैलाई तरंगित पार्थ्यो। पारिवारिक विरासतका साथै उनका यिनै गुणले गर्दा पनि हुनुपर्छ, क्षेत्रीय र अन्तरराष्ट्रिय रुपमा समेत उनको व्यक्तित्त्व स्थापित हुन पुगेको। आफ्नो उमेर, अनुभव र प्रभावका कारण विवादका विषयमा निर्णायक हस्तक्षेप गर्न सक्ने उनीजस्तो नेताको अभाव अहिलेको संक्रमणकालमा खट्किने कुरामा शंका छैन। गिरिजाप्रसादको मृत्युसँगै उनीसँग सामीप्यता दर्शाउँदै उनको महिमागानमा समय खर्चने नेताहरुले उनलाई ‘महामानव’ को रुपमा प्रस्तुत गर्नुभन्दा उनका सकारात्मक पक्षलाई चिनेर अनुसरण गर्ने चेष्टा मात्रै गर्न सके पनि धेरै हुन्थ्यो होला।

अन्त्यमा, गिरिजाप्रसाद कोइरालाको दिवंगत आत्माको चीरशान्तिको कामना।

Wednesday, March 17, 2010

पुस्तक अनुभव: 'राधापुराण'

‘राधा’ का सर्जक कृष्ण धरावासीलाई पहिलोपल्ट उनको चर्चित कथा ‘झोला’ मार्फत् चिनेको थिएँ। ‘झोला’ कथासंग्रहका अरु कथाहरुको बारेमा त थाहा भएन, तर रेडियो नेपालबाट नवराज लम्सालको आवाजमा सुनेको उक्त मार्मिक शिर्षकथाले भने साह्रै प्रभावित बनाएको थियो। पछि ‘राधा’ पनि एक-दुई अंक रेडियो वाचनमा सुन्ने मौका मिल्यो, शायद हेटौंडा एफएम मार्फत् हुनुपर्छ हेटौंडामा हुँदा। रेडियो वाचनमा सुनेजतिका अंश निकै रमाइला लागेकाले र पत्रपत्रिकामा पनि राधाको धेरै चर्चा भएकाले ‘राधा’ पढिछाड्ने रहर उम्रिएको थियो। रहर गरे अनुसारकै सन्तुष्टी मिल्यो केही समय अगाडि धरावासीको यो उपन्यास पढिसकेपछि।

धरावासीकै शब्दमा ‘राधा’ एउटा आधुनिक पुराण हो। प्रेमकी प्रतिकका रुपमा पुजिँदै आएकी भए पनि पुराणहरुमा बालचरित्रमा सिमित राखी ओझेलमा पारिएकी पात्र राधालाई नै प्रमुख पात्र बनाउँदै पुराणका देवतालाई सामान्य मान्छेका चरित्रमा ढालेर बुनिएको छ यो आधुनिक पुराणको कथावस्तु। स्वभाविक रुपमा समग्र कथावस्तुमा खासै नवीनता छैन, तर प्रस्तुतीको नवीनताले उपन्यासलाई रोचक बनाएको छ। फेरि हाम्रा पुराणका कथाहरु इतिहासको कुनै कालखण्डमा घटित घटनाका वर्णनहरु नै हुन्, खालि तिनमा पछि देव र दानवका कुरा, माया र तिलस्मका कुराहरु थपथाप पारिएका हुन् पनि भनिन्छ। यदि त्यस्तो हो भने धरावासीको यो उपन्यास पो यथार्थको बढी नजिक हुन के बेर!

उपन्यासको भूमिका पढ्दापढ्दै दिमाग रन्थनिन्छ एकपटक। वास्तविक जीवनका पात्र राखेर वास्तविक जस्तो लाग्ने घटनाको वर्णन गर्दै जाँदा कहाँनेरबाट उपन्यासकारको कल्पनाशीलताले स्वच्छन्द उडान भर्न थाल्छ र उपन्यासको पृष्ठभूमि तयार हुन्छ, त्यसको भेउ पाउन गाह्रो पर्छ। झापाको कीचकवधमा भैरहेको पुरातात्त्विक उत्खननको प्रसंगलाई जोड्दै सोही उत्खननका क्रममा भेटिएको राधाको आत्मकथाका आधारमा उपन्यास अघि बढेको छ। हजारौं वर्ष अगाडि अहिले नबुझिने भाषामा लेखिएको राधाको आत्मकथा एकजना साधुले पढेर सबैलाई सुनाउँछन्। उपन्यासको अन्त्यमा मात्रै ती साधुबाबाको परिचय खुल्छ, ती त अष्टचिरञ्जीवीमध्येका एक द्रोणपुत्र अश्वत्थामा पो रहेछन्।

उपन्यासमा कृष्णको रासलीला, उनका बारेमा चलेका किंवदन्ती आदिलाई निकै रमाइलो ढंगले चित्रित गरिएको छ, कृष्णमा कुनै देवत्व नदेखाई। राधासँगको कृष्णको प्रेमलाई पनि किशोर-किशोरीहरुमा विपरितलिंगीप्रति उत्पन्न हुने स्वभाविक आकर्षणकै सेरोफेरोमा राखेर वर्णन गरिएको छ। व्रजस्थित नन्द रायको घरमा यशोदाको लाडप्यार पाएर चञ्चलताका साथ हुर्किँदै गरेका कृष्ण र उनका दाजु बलराम गर्ग ॠषिबाट कंसको षड्यन्त्रका बारेमा परिचित भएपछि कसरी यमुना किनारको जंगलमा भूमिगत सैन्यदस्ताको निर्माणमा जुट्छन्, कंसका मन्त्री अक्रूर र ॠषि गर्गले कसरी शस्त्रास्त्र तालिम आदिको लागि भित्रभित्रै सहयोग गर्छन्, त्यो सबैको रमाइलो इतिवृतान्त छ उपन्यासमा। हुन पनि कंसजस्तो बलियो तानशाही शासकलाई फुच्चे कृष्ण र बलरामले पराजित गर्नुका पछाडि छापामार युद्धशैलीको कुशलताले काम गरेको कुरा बढी पत्यारिलो लाग्छ।

कंसविरुद्धको युद्धको तयारीका क्रममा चिट्ठीपत्र मार्फत् भए पनि निरन्तरता पाइरहेको राधा र कृष्णबीचको प्रेम युद्धविजयपश्चात् भने विस्तारै अतितको विषय बन्न थाल्छ। पहिलोपल्ट नन्दबाबा, यशोदा र रोहिणीहरु कृष्णको निमन्त्रणामा मथुरा जाँदा कृष्णले मलाई बोलाएका छैनन् भनेर घुर्की लगाउँदै राधा व्रजमै बस्छिन्। दोस्रोपल्ट द्वारिका नगरीको उद्घाटनका बेला पनि कृष्ण आफै नआउञ्जेल उनलाई भेट्न नजाने ढिपी हुन्छ राधाको। तर द्वारिका पुगेर फर्किएकी सखी शशीकलाका मुखबाट कृष्णको आफूप्रतिको लगाव र समर्पणका बारेमा सुनेपछि आफ्नो अड्डी त्यागेर कृष्णलाई भेट्न जाने तरखरमा लागेकी राधा त्यतिबेला छाँगाबाट खसेजस्तै हुन्छिन्, जतिबेला द्वारिकाबाट कृष्णको विवाहको खबर आइपुग्छ। विदर्भदेशकी राजकुमारी रुक्मिणीलाई हरण गरेर विवाह गरेका कृष्णले चाँडै नै अरु सात युवतीलाई पनि हरण गरी पत्नीको रुपमा भित्र्याएको खबरले राधा मात्र हैन, सम्पूर्ण व्रजवासी नै दु:खी बन्न पुग्छन्। तर कृष्ण त कहाँ मान्नेवाला थिए र! नरकासुरको वधपछि उसको जेलमा भेटिएका सोह्र हजार एक सय कन्यासँग एकैसाथ विवाह गर्न पनि कुनै हिच्किचाहट हुँदैन उनलाई। कस्तो अचम्म!

कृष्णको विवाह-प्रकरणका कारण पुरुष जातिप्रति अनि विवाह, गृहस्थ जीवन आदि विधि-विधानप्रति नै आलोचनात्मक दृष्टिकोण बनाउँदै वैष्णवीरुप धारण गरी तीर्थाटन र मानवसेवाको यात्रामा निस्किने टुंगोमा पुग्छिन् राधा। राधाको यात्रामा साथ दिन आइपुग्छे उनकी सखी विशाखा र दुवैजना व्रज त्यागेर मथुरा हुँदै भारतवर्षका नितान्त अपरिचित ठाउँहरुको यात्रामा निस्किन्छन्। विभिन्न जंगल, गाउँ र नदिहरु हुँदै उनीहरुको यात्रा अघि बढिरहन्छ। यात्राले जीवनलाई धेरै नजिकबाट बुझ्न मद्दत गर्ने तर्क गर्दै राधा भन्छिन्:

जीवनलाई साँच्चै नजिकबाट बुझ्नका लागि त आफ्ना सारा अहंहरुबाट विसर्जित भएर भ्रमणमा निस्कनुपर्ने रहेछ। बिल्कुलै अपरिचित संसारमा आफ्ना सारा परिचयहरु गुमाएर।

तर मान्छेको मनस्थिति सधैं एकनास कहाँ रहन्छ र! जीवनका यावत् पक्षलाई चुनौती दिँदै यात्रामा निस्केका भए पनि समयक्रममा त्यही यात्राले जीवनप्रतिको मोह पनि जगाइदिन्छ राधा र विशाखामा। कृष्णप्रतिको वितृष्णा र घृणा सबै हराएर पुरानै प्रेमभाव पो जाग्न थाल्छ राधाको मनमा। त्यसैले उनीहरु द्वारिका हुँदै व्रज फर्किने निर्णयमा पुग्छन्। यसबीचमा यात्रामा एउटी विधवा युवती पिल्ली पनि थपिन पुग्छे। द्वारिकाका लागि हिँडेको राधाको टोली सिद्धाश्रम भन्ने तीर्थमा पुग्दा कृष्णसँग त्यहीँ भेट हुन्छ र कृष्णसित सँगसँगै उनीहरु द्वारिका पुग्छन्। कृष्णले रुक्मिणी लगायत आफ्ना रानीहरुसँग गराएको सहज परिचय र आफ्ना पतिकी पूर्व प्रेमिकाप्रति उनीहरुले दर्शाएको आदर र प्रेम देखेर राधा अचम्मित हुन्छिन्। द्वारिकामा आफ्नै प्रेमको प्रतिकस्वरुप कृष्णले निर्माण गर्न लगाएको अद्भूत वास्तुकलाले भरिपूर्ण 'राधाभवन' अगाडि पुग्दा कृष्णको मायालाग्दो अनुहार देखेर राधा आफैलाई प्रश्न गर्छिन्:

मलाई बिर्सिएर, एकैपल्ट पनि नसम्झिएर, लगालग हजारौं आइमाईसँग विवाह गर्ने कृष्ण के यिनै हुन् त?

तर पनि राधाको मनभित्रको उकुसमुकुस त कायम नै थियो, त्यसैले कृष्णलाई आफ्नो वचनको किन पालना नगरेको भन्दै थुप्रै प्रश्नहरु गर्छिन्। राधाका सबै प्रश्नको सोझो उत्तर कृष्णसँग कहाँ थियो र! आफ्नो लाचारी प्रकट गर्दै उनी भन्छन्:

मैले के गरेँ, किन गरेँ, किन गरिरहेको छु भन्ने कुरा अझै मलाई थाहा छैन। म कहाँबाट बहकिएँ, मलाई केले यसरी बहकाएको हो, म कहाँ पुगुँला पनि थाहा छैन। साँच्चै भन्दै छु राधा, मैले आफूलाई के बनाउनुपर्थ्यो, के बनाएँ। म आफैँ आफूदेखि विरक्त छु।

उनी आफ्नो प्रतिरक्षामा अगाडि भन्छन्:

जहाँजहाँ युद्धमा गइयो, विजयमालाका रुपमा राजकुमारीहरु फेला पर्दै आए। तिनलाई स्वीकार्नुपर्ने प्राविधिक बाध्यताहरुले एक-एक गर्दै पत्नीहरु थपिँदै गए। मैले नचाहँदानचाहँदै पनि तिनीहरु मेरा प्रिय पत्नी बन्दै थिए। जब तिनीहरु मेरा अघि पर्थे, कुनै न कुनै कुरामा तिनीहरु तिमीसँग मिल्थे। यसरी टुक्राटुक्रा बनेर तिमी छरिएकी छ्यौ राधा मेरा पत्नीहरुमा। ... मभित्र तिम्रो प्रेमले पारेको जुन खाडल थियो, त्यसलाई भर्न एक-एक गर्दै मैले विवाह गर्दै गएँ, तर ती कुनैले पनि त्यो प्रेमको अथाह खाडललाई भर्न सकेनन्। त्यो त झन्-झन् गहिरो पो हुँदै गयो। प्राप्तीभन्दा प्रतीक्षा नै मूल्यवान् रहेछ। अहिले पनि तिमी मेरा लागि जति महान छ्यौ, के टुंगो थियो र राधा? हाम्रो विवाह नै भएको भए पनि यो प्रेम यत्तिकै दिगो रहन्थ्यो भन्ने।

कृष्णका कुराले र आत्मीय व्यवहारले प्रभावित भएकी भए पनि द्वारिकामा लामो समय बस्नु भनेको कृष्णकी नयाँ रखेल्नी हुनुभन्दा बढी हुँदैन भनेर राधाले द्वारिका छोड्ने निर्णय लिन्छिन्। कृष्णले व्रजवासी सबैलाई द्वारिकामै व्यवस्था गरेर राखेका हुनाले राधाका लागि त्यहाँबाट हिँड्नु दोस्रोपल्ट व्रज त्याग्नुजस्तै थियो। यसपालीको यात्रामा विशाखा त जाने भइन, तर पिल्लीले भने सँगै जाने कुरा गर्छे र उनीहरु हिमालय क्षेत्रतिरको यात्राको तयारीमा लाग्छन्।

पुराणहरुमा वर्णन गरिएको र यस उपन्यासमा देखाइएको कृष्णको चरित्र जति बुझिनसक्नु छ, त्यति नै बुझिनसक्नु छ कृष्णप्रति राधाको दृष्टिकोण पनि। उनी उत्तिखेरै कृष्णप्रति आशक्ती देखाइरहेकी हुन्छिन् भने उत्तिखेरै कृष्णकै कारण सम्पूर्ण पुरुष जातिप्रति घृणा पनि। एक ठाउँमा राधा भन्छिन्:

कृष्ण कस्तो मान्छे हो, मैले कहिल्यै बुझ्न सकिनँ। उनको अनुपस्थितिमा कैयौँ दुर्गुणहरु, अव्यवस्थाहरु, हेपाहाप्रवृत्तिहरु सम्झेर म दिक्क हुन्थेँ, आलोचना गर्थेँ, रिसाउँथेँ। अरुसँग उनका नराम्रा बानीहरुको चर्चा गर्थेँ, तर जब उनी मेरा सामु पर्थे, म सब कुरा बिर्सन्थेँ।

राधा र पिल्ली यात्रामा निस्किने अघिल्लो दिन हस्तिनापुरबाट कौरवहरुसँग पाण्डवहरुले जुवामा सर्वस्व हारेको र उनीहरु वनवास जानुपर्ने भएको खबर आउँछ। सोको यथार्थ बुझ्नका लागि हस्तिनापुरतर्फ जाने भएका कृष्णले राधालाई पनि हस्तिनापुरसम्म सँगै जाने प्रस्ताव गर्छन्। राधाले कृष्णको अनुरोध टार्न नसकेकिले राधा, पिल्ली र कृष्ण तीनजना सँगै हस्तिनापुरतर्फ लाग्छन्। बाटोमा कृष्णले पाण्डव र कौरव लगायत भारतभरिका राजा-रजौटाका बारेमा र तिनीहरुबीचका द्वन्द्व-संघर्षका बारेमा राधालाई अवगत गराउँछन्। कृष्णबाट पाँच पाण्डवकी एक्ली पत्नी द्रौपदीका बारेमा सुनेपछि उनलाई भेट्ने रहरले राधा पनि हस्तिनापुरमै रोकिन्छिन्। शुरुमा कुन्ती माताबाट नपुंसक पतिकी पत्नी भएर बाँच्नुपर्दाका पीडाका कथा सुनेर पग्लिएकी राधालाई त्यतिबेला कुन्ती माताका कथाहरु फिक्का लाग्न थाल्छन्, जतिबेला कुन्तीकै आज्ञाका कारण द्रौपदी पाँच-पाँच जनाकी पत्नी भएर बस्नुपरेको यथार्थ उनलाई थाहा हुन्छ।

द्रौपदीसँगको भेटपछि राधाको यात्रा हिमालय क्षेत्रमा अघि बढ्छ र त्यसक्रममा बहुपतिप्रथा हुने शेर्पा समुदायका मान्छेलाई भेटेपछि उनी सोँच्न पुग्छिन् - माता कुन्तीले कतैबाट यो शेर्पा परम्परा सुनेकी त थिइनन्? हिमालय क्षेत्रका मुक्तिनाथ, काठमाडौं उपत्यका हुँदै पूर्वको कोच राज्यसम्म पुग्दा तीर्थ-तीर्थ चाहार्दै कृष्ण आफ्नै खोजीमा हिँडिरहेको कुराले राधामा फेरि कृष्णसँग भेट हुने इच्छा प्रबल भएर आउँछ। कृष्णसँग भेट हुन द्वारिका जाने योजना मनमा राखेर राधा र पिल्ली केही समय कोच राजा वीरसिंहको दरबारमा बस्न पुग्छन्। खासमा त्यहीँ बस्दाको एकान्तको सदुपयोग गर्दै राधाले यो आत्मकथा लेखेकी हुन्छिन्। उता पाण्डवहरुको वनवास र गुप्तवासको अवधि सकिएपछि राज्य बाँडफाँडको विवाद चर्किएर कौरव र पाण्डवबीच युद्ध हुने निश्चित हुन्छ। युद्धमा पाण्डवपक्षको सहयोगका लागि वीरसिंह पनि आफ्नो फौज लिएर कुरुक्षेत्रतर्फ लाग्ने भएपछि कृष्णलाई भेट्ने उद्येश्यले राधा र पिल्ली पनि वीरसिंहसँगै त्यतै लाग्ने निधो गर्छन्। राधाहरु तीन साता लगाएर कुरुक्षेत्र पुग्दा अठार दिनसम्मको युद्ध समाप्त भैसकेको हुन्छ। त्यहाँ युद्धपछिको विभत्स दृश्य र भयानक सन्नाटाबाहेक केही बाँकी हुँदैन।

यसरी कथा त टुंगिन्छ तर सो कौरव-पाण्डव युद्धकै एक पात्र अश्वत्थामामाथि स्रोताहरुले प्रश्न तेर्स्याउन भने छाड्दैनन्। महाभारतको कथा पढेका आधारमा पाण्डवहरुप्रति सहानुभूति राख्ने स्रोताहरुबाट एकपछि अर्को प्रश्न बर्सिएपछि कौरव पक्षबाट लडेका अश्वत्थामा लामो सास तान्दै भन्छन्:

तपाईंहरुको भनाइ जायज छ। हजारौँ वर्षदेखि पढ्दै आउनुभएको कथालाई नपत्याए केलाई पत्याउनु तपाईंहरुले। मैले पनि पढेको छु त्यो पुस्तक। तर साह्रै रिसउठ्दो र हाँसउठ्दो लाग्छ मलाई त्यो। कैयौँ वर्षअघि एक दिन व्यासजीसँग अनायासै भेट भएको थियो। मैले त्यस कृतिको चर्चा गर्दा त्यस बेला त्यस्तै लेखियो, पछि संशोधन गर्नुपरे मिलाउनेछु भन्नुहुन्थ्यो। शायद त्यसको संशोधन हुन बाँकी छ। त्यो पुस्तक त एकपक्षीय छ। पाण्डवहरुको पक्षमा। जित्नेहरुको पक्षमा। लेखकहरु मुक्त र स्वतन्त्र भएनन् भने साहित्यको अवस्था यस्तै हुन्छ।

अश्वत्थामाको आरोप साँचो होला त? व्यासजी भेटिए भने हामीले पनि राम्रैसँग केरकार गर्ने हो कि? :)

Thursday, February 25, 2010

कविता: हौसला

मलाई थाहा छ,
हिसाब खोज्न थालेँ भने
मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन
सरले त पढाउनुभएको थियो -
‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’
तर जतिपल्ट गणना दोहोर्‍याए पनि
त्यो बराबरी भेटिने छैन

‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि
‘नगदप्रवाह विवरण’ मा कतै तल-माथि नभए पनि
म मिलाउन सक्ने छैन मेरो ‘वासलात विवरण’
‘ह्रासकट्टी दर’ मिलाउन खोजुँला
‘प्राप्य लेखा’ र ‘देय लेखा’ यताउति पर्‍यो कि हेरुँला
मन बुझाउने बाटो जेजे गरे पनि
गणना सबै भद्रगोल भैसकेको हुनेछ
गणितका जटिल सुत्रहरु किन चाहिए र?
सामान्य जोडघटाउले गिज्याइरहेको हुनेछ

यस्तो अप्रिय यथार्थ स्विकार्ने आँट छैन ममा
त्यसैले म भाग्दैछु
हिसाब खोज्नुपर्ला र सबै पोल खुल्ला भनेर
झन् जोडजोडले भाग्दैछु
तैपनि खुशीको कुरा, म एक्लै छैन
मेरा अघिपछि थुप्रै साथीहरु छन्
यसरी नै भागिरहेका
उनीहरु मलाई हौसला दिँदै छन् -
'बुझ्यौ, भाग्दाभाग्दै पनि रमाउन सिक्नुपर्छ!
यही भागाभागको दौड जितेर छातीमा तक्मा थाप्नुपर्छ!!'

Tuesday, February 9, 2010

लोडसेडिङ, गतिहीनता र फोस्रो राष्ट्रियता


राजनीतिक खिचातानी, बन्द-हड्ताल, महंगी, अभाव, अराजकता आदिमाथि पछिल्ला वर्षमा लोडसेडिङ पनि थपिएको छ नेपालीको टाउको दुखाइको विषय बनेर। बर्खायाममा धेरथोर लोडसेडिङ खप्नुपरे पनि चुपचाप जस्तै देखिन्छन् सबै। जब हिउँद लाग्न थाल्छ र विद्युत प्राधिकरणले हप्तामा यति घण्टा र उति घण्टा भनेर लोडसेडिङ अवधि बढाउन शुरु गर्छ, लोडसेडिङको चर्चाले फेरि बजार लिन थाल्छ। हप्ताको लोडसेडिङ अवधि दैनिकमा परिणत हुन धेरै कुर्नै पर्दैन। अनि दशबाट बाह्र घण्टा नपुगोस्, बाह्रबाट चौध घण्टा नपुगोस् भनेर कामना गर्नुको विकल्प रहँदैन हामीसँग।

हुनत लोडसेडिङको कुरा गर्दा कति प्रतिशत नेपालीको घरमा पो बिजुली पुगेको छ र यसलाई नेपालीको समस्या भन्ने भनेर प्रश्न तेर्स्याउन पनि नसकिने होइन। जलस्रोतको प्रचुरता र जलविद्युतको अपार सम्भावनाका बारेमा जति नै तथ्यहरु प्रस्तुत गरिए पनि बिजुलीबत्तीको पहुँच करिब एक तिहाइ जनसंख्यामा मात्र सिमित रहेको अवस्थामा यस्तो प्रश्न असान्दर्भिक त छैन तर विषयवस्तुको सम्वेदनशीलतालाई भने यसले प्रतिनिधित्व गर्दैन। लोडसेडिङको प्रतक्ष्य मार घरमा बत्ती बाल्ने, टेलिभिजन हेर्नेहरुलाई परेको देखिनु स्वभाविक हो तर समस्या त्यतिमै सिमित नभएको यथार्थ कसैबाट छिपेको छैन। लोडसेडिङका कारण उद्योगधन्दा, व्यापारदेखि शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा समेत पर्ने दुष्प्रभाव र फलत: समग्र अर्थतन्त्रको ओरालो हिँडाइ मुख्य चिन्ताको विषय हो। सँगसँगै बिग्रँदो राजनीतिले आक्रान्त पारेको वातावरणमा निराशा र गतिहीनता थप्ने माध्यम पनि भएको छ यो लोडसेडिङ। देशबाहिर रहे पनि देशभित्रको खबर पढ्दा वा घरपरिवार, साथीभाइसँग गफगाफ हुँदा त्यो गतिहीनता आफैलाई समेत महशुस हुन पुग्छ।

फेरि सबैभन्दा माथि हाम्रो नेपाली स्वभाव त छँदैछ, कुनै न कुनै बाहना पाए पुग्ने। कामचोरहरुलाई काम छल्न, पढाइचोरहरुलाई पढाइ छल्न अनि पियक्कडहरुलाई पिएर बस्नदेखि घुमक्कडहरुलाई घुमेरै खान समेत लोडसेडिङ राम्रो बाहना भएको कुरा प्रष्टै छ। यसै प्रसंगमा एकजना दाइको रमाइलो विश्लेषण सम्झिन्छु। पोहोर साल लगभग यसै समयमा मोटरसाइकलमा कुपोन्डोलको उकालो चढ्दै गर्दा बिदाको दिनमा पनि सडकमा गाडीको भीडम्भीड देखेर उनी भन्दै थिए - यो सब लोडसेडिङको कमाल हो। म त अचम्ममा परेँ, सडकमा गाडीको संख्या बढ्नुसँग लोडसेडिङको के साइनो होला? ती दाइले प्रष्ट पारे - लोडसेडिङले गर्दा घरमा टिभी हेर्न, कम्प्युटर चलाउन केही गर्न नपाएपछि मान्छे घाम ताप्न भए पनि बाहिर निस्किने भए नि, त्यसैले बढेका हुन् यी बाइक र गाडीहरु सडकमा। कुरामा दम थियो। लोडसेडिङको प्रभावका कुरा गर्दा लोडसेडिङकै कारण गर्भवती हुने महिलाहरुको संख्या बढेको समाचार पनि आउन भ्याएको थियो केही पहिले। उक्त समाचार तथ्यमा आधारित वा उडन्ते जे भए पनि लोडसेडिङले जीवनशैली असहज मात्र होइन, अलमस्त पनि बनाइदिएको भने पक्कै हो जस्तो लाग्छ।

लोडसेडिङको समस्या दिनप्रतिदिन विकराल बन्दै जाँदा पनि प्राथमिकता छुट्टाउन नसकेर चौबाटोमा रल्ल पर्दै बसेका जस्ता देखिन्छन् सरकारी निकायहरु। लोडसेडिङ यति घण्टा पुग्छ र उति घण्टा पुग्दैन भनेर चियापसलका जस्ता गफ हानेरै जिम्मेवारी पूरा गरेको सम्झिने उच्चपदस्थहरुको पनि कमी छैन। लज्जाबोध त कसैलाई हुने कुरै भएन। समस्याको गहिराइमा पुगेर स्पष्ट नीति र योजनाका साथ अघि बढ्नुपर्नेमा कमिशनको चक्करमा डिजेल प्लान्ट ल्याउने कि नल्याउने भन्ने जस्ता बेतुकका विषयमा अल्झिँदै फूर्सत हुँदैन उर्जा मन्त्रालयलाई।

हिजो त द्वन्द्वले गर्दा जलविद्युत आयोजनाहरु बन्न सकेनन् रे, तर अहिले बनाउने भनिएका र बन्दै गरेका आयोजनाहरुको गति आशाप्रद हुन सकेको खै? सबैतिर माफियातन्त्र र सिन्डिकेटप्रथा हावी भएको देशमा जलस्रोतको क्षेत्र अछुतो हुने कुरा त भएन नै, सबैभन्दा कहालीलाग्दो क्षेत्र नै यही हो कि भन्नुपर्ने अवस्था छ। त्यसैले त जलविद्युत आयोजना निर्माणको गति हेर्दा वर्तमान लोडसेडिङ धान्नै दुई सय वर्ष लाग्ने खबर पढ्न अभिशप्त छौँ हामीहरु। त्यसमाथि विद्युत शुल्क बढाउने कुरा गर्छन् मन्त्री महोदय। शुल्क नबढाएको यतिका वर्ष भयो, त्यसैले बढाउनुपर्‍यो भनेर तर्क गर्न सजिलै छ। विद्युत चुहावट घटाउनेदेखि बारम्बार सुन्नमा आउने सवारी साधनको चरम दुरुपयोग रोक्नेजस्ता कदम चालेर विद्युत प्राधिकरणको आर्थिक स्थिति सुधार्ने झन्झटिलो र सम्भवत: आफ्नै ‘शुभ-लाभ’ मा प्रतिकूल असर पर्ने काम कसले गरोस् !

जलविद्युतको कुरा गर्दा हामीहरु लज्जित हुनुपर्ने अर्को विषय यसमा जोडिएको फोस्रो राष्ट्रियता हो। यही फोस्रो राष्ट्रियताको दुहाइ दिँदै माओवादीहरु उपल्लो कर्णालीमा अवरोध गर्न पुग्छन्, जबकि यता सरकार जाबो २०-३० मेगावाट बिजुलीका लागि भारतसँग अनुनय गरिरहेको हुन्छ। धूर्त नेताहरुले राष्ट्रियतालाई पाएसम्म भजाउने अनि हामी जनता त्यसैमा बहकिएर फोस्रो राष्ट्रियताको राग अलाप्ने विडम्बनापूर्ण स्थिति कायम रहँदासम्म न हाम्रो राष्ट्रियता बलियो हुनेछ, न त हाम्रा समस्याहरु बल्झिन छाड्नेछन्।

राष्ट्रियताको बलियो आधार विकास र सम्पन्नता हो, क्षणिक आवेग होइन। राष्ट्रियताका चर्का कुरा गर्नेहरु सिक्किमीकरण र भुटानीकरणको खतरा औँल्याउने गर्छन्। सिक्किमको त कुरा नगरौँ, तर भुटानको कुरा गर्दा लाज मान्नुपर्ने बेला भैसकेन र? भारतविरोधी भावनामा अडिएको सतही राष्ट्रियताले हामीलाई थप अस्थिरता, अराजकता, विपन्नता र लोडसेडिङरुपी अन्धकारबाहेक केही दिनेवाला छैन। हो, भारतको व्यवहार हेपाहा र मिचाहा छ। सीमा अतिक्रमणलगायतका गम्भिर समस्याहरु पनि छन्। तर त्यसो भन्दैमा भारतलाई उत्तेजित पारेर र आपसमै गाँड कोराकोर गरेर समस्याको समाधान हुने त हैन। एकातिर रोइकराइ र अर्कोतिर धम्कीको भाषा विशुद्ध प्रहसनबाहेक केही हुन सक्दैन।

दास मानसिकता र मूढे राष्ट्रियताको धङधङी दुवै त्यागेर देशको व्यवहारिक र वृहत्तर स्वार्थका कुरामा हाम्रो ध्यान कहिले पुग्ने होला? नेताहरुको कुरा छाडिदिउँ, हामी नागरिकहरुले नै पहिला चेत्न जरुरी भैसकेको छ।

Saturday, January 23, 2010

जापानमा हिउँ अनुभव


केही दिन पहिले ल्याबबाट साथीहरु मिलेर हिउँमा चिप्लेटी खेल्न जाने कुरा निस्कियो। कुरा रमाइलै भए पनि हिउँमा चिप्लेटी खेलेको आफ्नो कुनै अनुभव नभएका कारण के भन्नु के भन्नु! फेरि सामान्यतया नेपाल नपुगेका सबै विदेशीजस्तै जापानीहरु पनि नेपाल भनेपछि हिमालयको देश, जताततै हिउँ नै हिउँ होला भन्ठान्छन्। उनीहरुलाई के थाहा कि हिउँको मुखै नदेखेका नेपाली कति छन् भनेर। म आफैले पनि एकपटक मात्र हिउँसँग परिचित हुने मौका पाएको थिएँ नेपालमा छँदा। २०६३ सालको हिउँदमा हेटौँडाबाट अफिसका साथीहरुसँगै दामन पुगिएको थियो जीवनमा पहिलोपल्ट हिउँको दर्शन गर्न। धन्न त्यतिसम्म अनुभव बटुलेका कारण हिउँ नै देखेको छैन भन्नुपरेन जापानीहरुसँग। तर चिप्लेटी खेल्न (स्नोबोर्डिङ) चाहिँ फिटिक्कै आउँदैन भनेर भन्नैपर्‍यो। एउटा जापानी साथी पनि रहेछ स्नोबोर्डिङको खासै अनुभव नभएको। ल हामी सँगै सिकौँला नि त भन्न थाल्यो उसले। त्यसपछि मैले पनि हुन्छ भनेर हिउँमा चिप्लेटी खेल्न जाने निधो गरेँ।

हिउँमा खेल्ने ठाउँसम्म पुग्न टोकियोबाट केही घण्टाको यात्रा तय गर्नुपर्ने भएकोले बिहानै हिँड्नुपर्ने थियो। यसै त बिहान अबेलासम्म सुत्ने बानी, त्यसमाथि बिदाको दिनमा बिहान छ बजे स्टेशनमा भेट हुनका लागि चारै बज्ने उठ्नुपर्ने कुरो मेरा लागि टाउकामा हाने बराबर नै थियो। तर के गर्नु उठ्नु त परिहाल्यो। काठमाण्डौँ-घर गर्दा यसरी नै बिहानबिहानै उठेर हिँड्ने गरेको याद पनि ताजा भयो यसरी झिसमिसे हुन नपाउँदै उठेर हिँड्नुपर्दा। टोकियोको टोकियो नै भन्ने स्टेशनको ‘मिनामी गुची’ (south exit) मा भेट हुने कुरा भएको थियो चे दाइ - (मेरो ल्याबका पिएचडीमा अध्ययनरत सिनियर विद्यार्थी, हुनत उनी कोरियाका हुन् तर बोलीचालीदेखि हर हिसाबले जापानी नै लाग्छन् मेरा लागि) सँग। तर त्यति ठूलो स्टेशनमा उनले भनेको ‘मिनामी गुची’ र मैले बुझेको ‘मिनामी गुची’ कताको कता परेछ। लगभग आधा घण्टाजति अलमलमा यता र उता दौडेपछि बल्ल भेट भयो चे दाइ र अरु दुई साथीहरुसँग। धन्न बस छुट्ने समय नाघिसकेको रहेनछ र अरु विघ्न केही परेन।

बसमा पूरै पाँच घण्टा नै लाग्यो गुन्मा भन्ने प्रिफेक्चरमा पर्ने स्नो रिसोर्टसम्म पुग्न। स्नो रिसोर्ट आइपुग्नै लाग्दा बसबाट यसो बहिर चिहाएको त मजाले घाम लागिरहेको बेला पनि फुसुफुसु हिउँ झरिरहेको रहेछ। यसरी पहिलोपल्ट फुसुफुसु झरिरहेको हिउँ त्यो पनि घाम लागिरहेको बेलामा देख्न पाउँदा मन रोमाञ्चित नहुने कुरै भएन। बाटोको छेउमा र वरपर थुप्रिएको खातका खात हिउँ अनि हिउँले लछप्पै ढाकिएका घरका छाना, रुखका हाँगाबिँगा आदि पनि पहिलोपल्ट देख्दै थिएँ म।

बसबाट ओर्लिनेबित्तिकै हिउँमा खेल्न अनुकूलका जुत्ता-कपडा पहिरेपछि आ-आफ्ना बोर्ड बोकेर लागियो हिउँको एउटा पाखोतिर। चिप्लेटी खेल्नु त परैको कुरा, स्नोबोर्डमा त उभिन मात्रै पनि ठूलै अक्कल चहिने रहेछ। त्यसैले शुरुमा यसो उभिन मात्रै जान्दा पनि के-के नै गरेजस्तो लाग्यो। त्यही जोशमा उभिने, केही परसम्म चिप्लिने र पछारिने क्रममा चिप्लिनेभन्दा पछारिने कर्म बढि भयो। शुरुमा त त्यति चाल पाइएन तर विस्तारै पछाराइको पीडा अनुभव हुन थाल्यो। पछारिन पनि ढंग पुर्‍याएर जीउलाई कम चोट पर्ने गरी पछारिएको भए पो हुन्छ, मनपरी पछारिएपछि पीडा हुनु र चाँडै थाक्नु स्वभाविकै भयो। जब उभिएर चिप्लिन पनि अलि अलि सिकेजस्तो लाग्दै थियो, जीउ एक हिसाबले थिलोथिलो भैसकेको थियो। त्यसैले अर्कोपटक चाहिँ अलि ढंग पुर्‍याएर चिप्लेटी खेल्नुपर्ला भनेर आफैलाई सान्त्वना दिँदै थकाइ मार्न छेउतिर लागियो। स्नोबोर्डिङमा त्यति अभ्यस्त नभएको जापानी साथीको हालत पनि मेरैजस्तो रहेछ लगभग। त्यसैले अरु दुईजनालाई त्यहीँ छोडेर हामी दुई पेटपूजा गर्ने मेसोमा तलतिर लाग्यौँ।

बस फर्किने समय हुन अब केहीबेर मात्र बाँकी थियो। त्यसैले अरु दुईजना साथी पनि चाँडै नै तल आइपुगे। जापानीहरुको बानी नै भनौँ, सानो कुरामा पनि फुर्काइहाल्ने। त्यसैले मलाई पनि पहिलो प्रयासमै खुब राम्रो गरेको भन्न बाँकी राखेनन् जापानी साथीहरुले तर मैले कति सिकेको थिएँ, त्यो त आफ्नै ठाउँमा थियो।


करिब चार घण्टा हिउँको संसर्गमा बिताएपछि पुन: पाँच घण्टाको बस यात्रा पूरा गरेर टोकियो आइपुग्दा राति लगभग दश बजेको थियो। सिन्जुकु भन्ने ठाउँमा बसबाट ओर्लिएर रामेन (जापानी चाउचाउ) खाइवरी कोठासम्म आइपुग्दा बाह्र नै बज्यो। जीउ मजाले थाकेकोले र अघिल्लो दिनको निद्रा पनि कचल्टिएकोले राति त चाँडै नै भुसुक्क भइएछ। तर जीउ साँच्चिकै कति थाकेछ भन्ने चाहिँ भोलिपल्ट बिहान बल्ल महशुस हुँदै थियो।

Monday, January 18, 2010

धिक्कार छ तिम्रो पत्रकारितालाई!!

फेसबूकमा प्रभा उप्रेतीजीले 'Really Sad, कठैबरै यो बालकको के दोष थियो र !' शिर्षकको भिडियोको लिंक राख्नुभएको रहेछ। के रहेछ भनेर क्लिक गरेको, पोलियो रोगका कारण अपाङ्ग बन्न पुगेको एउटा बालकलाई उसकै बाबुआमाले सडक छेउमा ल्याएर अलपत्र छाडिदिएको मार्मिक दृश्य देखाइएको रहेछ। त्यसमाथि कपिलवस्तु नगरपालिकाभित्रको अर्थात् आफ्नै घर आसपासको घटना रहेछ। घटना मार्मिक भए पनि मिडियाको नजर त पुगेछ कमसेकम भनेर चित्त बुझाउँदै भिडियो हेर्दै थिएँ। तर म साँच्चिकै मर्माहत् त्यतिबेला भएँ जब उक्त बालकले यो संसार छाडिसकेको दृश्य देखाइयो। हरे! यो कस्तो पत्रकारिता हो? मान्छेका पीडा र सम्वेदनालाई जसरी भजाए पनि हुने? भिडियोमा कपिलवस्तुका जनता, राजनीतिक दल अनि बाल-अधिकारका नाममा खुलेका एनजिओ-आइएनजिओप्रति व्यंग्य त कसिएको छ तर घटनाका रिपोर्टर महाशय आफैले मानवीय नाताले सम्बन्धित निकायलाई झक्झकाउनेसम्मको प्रयास पनि गर्नुभयो भएन थाहा छैन। शायद त्यस्तो कुनै प्रयास गर्नुभएको भए भिडियो प्रसारका लागि त्यो अभागी बालकको मृत्‍यु कुरिरहनुपर्थेन होला। भिडियो हेरिसकेपछि लाग्छ, बालक सडकमा छाडिएपछि उसको प्राणपखेरु उड्दासम्मका दृश्यहरु क्यामेरामा कैद गरेर सनसनीपूर्ण समाचार बनाउने एक मात्र धोको थियो शायद पत्रकार मित्रको। धिक्कार छ यस्तो सस्तो, अनुत्तरदायी र मानवीय मूल्यहीन पत्रकारितालाई!!

भिडियो यो लिंक मा हेर्न सक्नुहुन्छ। भिडियो हेरेपछि आफै मूल्याङ्कन गर्न सक्नुहुनेछ, कस्तो पत्रकारिता हो यो भनेर।