Tuesday, February 9, 2010
लोडसेडिङ, गतिहीनता र फोस्रो राष्ट्रियता
राजनीतिक खिचातानी, बन्द-हड्ताल, महंगी, अभाव, अराजकता आदिमाथि पछिल्ला वर्षमा लोडसेडिङ पनि थपिएको छ नेपालीको टाउको दुखाइको विषय बनेर। बर्खायाममा धेरथोर लोडसेडिङ खप्नुपरे पनि चुपचाप जस्तै देखिन्छन् सबै। जब हिउँद लाग्न थाल्छ र विद्युत प्राधिकरणले हप्तामा यति घण्टा र उति घण्टा भनेर लोडसेडिङ अवधि बढाउन शुरु गर्छ, लोडसेडिङको चर्चाले फेरि बजार लिन थाल्छ। हप्ताको लोडसेडिङ अवधि दैनिकमा परिणत हुन धेरै कुर्नै पर्दैन। अनि दशबाट बाह्र घण्टा नपुगोस्, बाह्रबाट चौध घण्टा नपुगोस् भनेर कामना गर्नुको विकल्प रहँदैन हामीसँग।
हुनत लोडसेडिङको कुरा गर्दा कति प्रतिशत नेपालीको घरमा पो बिजुली पुगेको छ र यसलाई नेपालीको समस्या भन्ने भनेर प्रश्न तेर्स्याउन पनि नसकिने होइन। जलस्रोतको प्रचुरता र जलविद्युतको अपार सम्भावनाका बारेमा जति नै तथ्यहरु प्रस्तुत गरिए पनि बिजुलीबत्तीको पहुँच करिब एक तिहाइ जनसंख्यामा मात्र सिमित रहेको अवस्थामा यस्तो प्रश्न असान्दर्भिक त छैन तर विषयवस्तुको सम्वेदनशीलतालाई भने यसले प्रतिनिधित्व गर्दैन। लोडसेडिङको प्रतक्ष्य मार घरमा बत्ती बाल्ने, टेलिभिजन हेर्नेहरुलाई परेको देखिनु स्वभाविक हो तर समस्या त्यतिमै सिमित नभएको यथार्थ कसैबाट छिपेको छैन। लोडसेडिङका कारण उद्योगधन्दा, व्यापारदेखि शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा समेत पर्ने दुष्प्रभाव र फलत: समग्र अर्थतन्त्रको ओरालो हिँडाइ मुख्य चिन्ताको विषय हो। सँगसँगै बिग्रँदो राजनीतिले आक्रान्त पारेको वातावरणमा निराशा र गतिहीनता थप्ने माध्यम पनि भएको छ यो लोडसेडिङ। देशबाहिर रहे पनि देशभित्रको खबर पढ्दा वा घरपरिवार, साथीभाइसँग गफगाफ हुँदा त्यो गतिहीनता आफैलाई समेत महशुस हुन पुग्छ।
फेरि सबैभन्दा माथि हाम्रो नेपाली स्वभाव त छँदैछ, कुनै न कुनै बाहना पाए पुग्ने। कामचोरहरुलाई काम छल्न, पढाइचोरहरुलाई पढाइ छल्न अनि पियक्कडहरुलाई पिएर बस्नदेखि घुमक्कडहरुलाई घुमेरै खान समेत लोडसेडिङ राम्रो बाहना भएको कुरा प्रष्टै छ। यसै प्रसंगमा एकजना दाइको रमाइलो विश्लेषण सम्झिन्छु। पोहोर साल लगभग यसै समयमा मोटरसाइकलमा कुपोन्डोलको उकालो चढ्दै गर्दा बिदाको दिनमा पनि सडकमा गाडीको भीडम्भीड देखेर उनी भन्दै थिए - यो सब लोडसेडिङको कमाल हो। म त अचम्ममा परेँ, सडकमा गाडीको संख्या बढ्नुसँग लोडसेडिङको के साइनो होला? ती दाइले प्रष्ट पारे - लोडसेडिङले गर्दा घरमा टिभी हेर्न, कम्प्युटर चलाउन केही गर्न नपाएपछि मान्छे घाम ताप्न भए पनि बाहिर निस्किने भए नि, त्यसैले बढेका हुन् यी बाइक र गाडीहरु सडकमा। कुरामा दम थियो। लोडसेडिङको प्रभावका कुरा गर्दा लोडसेडिङकै कारण गर्भवती हुने महिलाहरुको संख्या बढेको समाचार पनि आउन भ्याएको थियो केही पहिले। उक्त समाचार तथ्यमा आधारित वा उडन्ते जे भए पनि लोडसेडिङले जीवनशैली असहज मात्र होइन, अलमस्त पनि बनाइदिएको भने पक्कै हो जस्तो लाग्छ।
लोडसेडिङको समस्या दिनप्रतिदिन विकराल बन्दै जाँदा पनि प्राथमिकता छुट्टाउन नसकेर चौबाटोमा रल्ल पर्दै बसेका जस्ता देखिन्छन् सरकारी निकायहरु। लोडसेडिङ यति घण्टा पुग्छ र उति घण्टा पुग्दैन भनेर चियापसलका जस्ता गफ हानेरै जिम्मेवारी पूरा गरेको सम्झिने उच्चपदस्थहरुको पनि कमी छैन। लज्जाबोध त कसैलाई हुने कुरै भएन। समस्याको गहिराइमा पुगेर स्पष्ट नीति र योजनाका साथ अघि बढ्नुपर्नेमा कमिशनको चक्करमा डिजेल प्लान्ट ल्याउने कि नल्याउने भन्ने जस्ता बेतुकका विषयमा अल्झिँदै फूर्सत हुँदैन उर्जा मन्त्रालयलाई।
हिजो त द्वन्द्वले गर्दा जलविद्युत आयोजनाहरु बन्न सकेनन् रे, तर अहिले बनाउने भनिएका र बन्दै गरेका आयोजनाहरुको गति आशाप्रद हुन सकेको खै? सबैतिर माफियातन्त्र र सिन्डिकेटप्रथा हावी भएको देशमा जलस्रोतको क्षेत्र अछुतो हुने कुरा त भएन नै, सबैभन्दा कहालीलाग्दो क्षेत्र नै यही हो कि भन्नुपर्ने अवस्था छ। त्यसैले त जलविद्युत आयोजना निर्माणको गति हेर्दा वर्तमान लोडसेडिङ धान्नै दुई सय वर्ष लाग्ने खबर पढ्न अभिशप्त छौँ हामीहरु। त्यसमाथि विद्युत शुल्क बढाउने कुरा गर्छन् मन्त्री महोदय। शुल्क नबढाएको यतिका वर्ष भयो, त्यसैले बढाउनुपर्यो भनेर तर्क गर्न सजिलै छ। विद्युत चुहावट घटाउनेदेखि बारम्बार सुन्नमा आउने सवारी साधनको चरम दुरुपयोग रोक्नेजस्ता कदम चालेर विद्युत प्राधिकरणको आर्थिक स्थिति सुधार्ने झन्झटिलो र सम्भवत: आफ्नै ‘शुभ-लाभ’ मा प्रतिकूल असर पर्ने काम कसले गरोस् !
जलविद्युतको कुरा गर्दा हामीहरु लज्जित हुनुपर्ने अर्को विषय यसमा जोडिएको फोस्रो राष्ट्रियता हो। यही फोस्रो राष्ट्रियताको दुहाइ दिँदै माओवादीहरु उपल्लो कर्णालीमा अवरोध गर्न पुग्छन्, जबकि यता सरकार जाबो २०-३० मेगावाट बिजुलीका लागि भारतसँग अनुनय गरिरहेको हुन्छ। धूर्त नेताहरुले राष्ट्रियतालाई पाएसम्म भजाउने अनि हामी जनता त्यसैमा बहकिएर फोस्रो राष्ट्रियताको राग अलाप्ने विडम्बनापूर्ण स्थिति कायम रहँदासम्म न हाम्रो राष्ट्रियता बलियो हुनेछ, न त हाम्रा समस्याहरु बल्झिन छाड्नेछन्।
राष्ट्रियताको बलियो आधार विकास र सम्पन्नता हो, क्षणिक आवेग होइन। राष्ट्रियताका चर्का कुरा गर्नेहरु सिक्किमीकरण र भुटानीकरणको खतरा औँल्याउने गर्छन्। सिक्किमको त कुरा नगरौँ, तर भुटानको कुरा गर्दा लाज मान्नुपर्ने बेला भैसकेन र? भारतविरोधी भावनामा अडिएको सतही राष्ट्रियताले हामीलाई थप अस्थिरता, अराजकता, विपन्नता र लोडसेडिङरुपी अन्धकारबाहेक केही दिनेवाला छैन। हो, भारतको व्यवहार हेपाहा र मिचाहा छ। सीमा अतिक्रमणलगायतका गम्भिर समस्याहरु पनि छन्। तर त्यसो भन्दैमा भारतलाई उत्तेजित पारेर र आपसमै गाँड कोराकोर गरेर समस्याको समाधान हुने त हैन। एकातिर रोइकराइ र अर्कोतिर धम्कीको भाषा विशुद्ध प्रहसनबाहेक केही हुन सक्दैन।
दास मानसिकता र मूढे राष्ट्रियताको धङधङी दुवै त्यागेर देशको व्यवहारिक र वृहत्तर स्वार्थका कुरामा हाम्रो ध्यान कहिले पुग्ने होला? नेताहरुको कुरा छाडिदिउँ, हामी नागरिकहरुले नै पहिला चेत्न जरुरी भैसकेको छ।
Subscribe to:
Post Comments (Atom)
लोडशेडिङ्को समस्या अझै कति बर्षसम्म रहने हो? यस्तै ताल् हो भने त दशकौ लाग्छ होला।
ReplyDelete''जलविद्युतको कुरा गर्दा हामीहरु लज्जित हुनुपर्ने अर्को विषय यसमा जोडिएको फोस्रो राष्ट्रियता हो।.....
ReplyDeleteराष्ट्रियताको बलियो आधार विकास र सम्पन्नता हो, क्षणिक आवेग होइन। ''
Very well said.
//
Sagar Pokhrel
लेख अत्यन्तै समसामयिक र तर्कपूर्ण लाग्यो | घनिभूत हुँदै गएका छन् समस्याहरु, तर यसलाई यसैगरी हल गरौंला भन्ने कसैको दिमागमा छ जस्तो लाग्दैन | राजनीति बिग्रेपछि देशका पुर्जा पुर्जा बिग्रने रहेछन, नयाँ राम्रा कुरा आउने त
ReplyDeleteसम्भावनै भएन, यसो भएका पनि बेथिति हुँदा रहेछन | अब बिग्रन पुग्यो, अब बनाउनतिर लागौं कहिले निस्कौंला हामी ?
...लागौं भनेर...
ReplyDeleteसामयिक, सान्दर्भिक र सहि विश्लेषण!
ReplyDeleteकति गर्नु यी कुरा !! बोल्नै मन लाग्न छाडिसक्यो अचेल त ! बोलेर केहि हुने होइन !! लेखन शैली साह्रै चित्त बुझ्यो तपाईँको ।
ReplyDeleteअमूल्य प्रतिक्रिया दिनुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु।
ReplyDelete