मलाई थाहा छ,
हिसाब खोज्न थालेँ भने
मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन
सरले त पढाउनुभएको थियो -
‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’
तर जतिपल्ट गणना दोहोर्याए पनि
त्यो बराबरी भेटिने छैन
‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि
‘नगदप्रवाह विवरण’ मा कतै तल-माथि नभए पनि
म मिलाउन सक्ने छैन मेरो ‘वासलात विवरण’
‘ह्रासकट्टी दर’ मिलाउन खोजुँला
‘प्राप्य लेखा’ र ‘देय लेखा’ यताउति पर्यो कि हेरुँला
मन बुझाउने बाटो जेजे गरे पनि
गणना सबै भद्रगोल भैसकेको हुनेछ
गणितका जटिल सुत्रहरु किन चाहिए र?
सामान्य जोडघटाउले गिज्याइरहेको हुनेछ
यस्तो अप्रिय यथार्थ स्विकार्ने आँट छैन ममा
त्यसैले म भाग्दैछु
हिसाब खोज्नुपर्ला र सबै पोल खुल्ला भनेर
झन् जोडजोडले भाग्दैछु
तैपनि खुशीको कुरा, म एक्लै छैन
मेरा अघिपछि थुप्रै साथीहरु छन्
यसरी नै भागिरहेका
उनीहरु मलाई हौसला दिँदै छन् -
'बुझ्यौ, भाग्दाभाग्दै पनि रमाउन सिक्नुपर्छ!
यही भागाभागको दौड जितेर छातीमा तक्मा थाप्नुपर्छ!!'
वा वा वा ... अरु भन्ने शब्दै भेटिनँ । हिसाब मिलेको भए किन हुन्थ्यो र लडाईं समाजमा ?
ReplyDeleteकुनै समय पढेको लेखा प्रणालीले निकै सघायो है, यो कविता बुझ्नलाई ! कविताको सारसंक्षेप निकै राम्रो लाग्यो, हामी भागदौडमै छौं |
ReplyDeleteगज्जब! गज्जब!! गज्जब!!!
ReplyDeleteजिन्दगीको पर्याय बनिसकेको यो भागदौडलाई सटीक ढंगले पस्कनुभयो।
अमूल्य प्रतिक्रिया दिनुहुने सबैमा सादर धन्यवाद।
ReplyDelete