Monday, January 18, 2010

धिक्कार छ तिम्रो पत्रकारितालाई!!

फेसबूकमा प्रभा उप्रेतीजीले 'Really Sad, कठैबरै यो बालकको के दोष थियो र !' शिर्षकको भिडियोको लिंक राख्नुभएको रहेछ। के रहेछ भनेर क्लिक गरेको, पोलियो रोगका कारण अपाङ्ग बन्न पुगेको एउटा बालकलाई उसकै बाबुआमाले सडक छेउमा ल्याएर अलपत्र छाडिदिएको मार्मिक दृश्य देखाइएको रहेछ। त्यसमाथि कपिलवस्तु नगरपालिकाभित्रको अर्थात् आफ्नै घर आसपासको घटना रहेछ। घटना मार्मिक भए पनि मिडियाको नजर त पुगेछ कमसेकम भनेर चित्त बुझाउँदै भिडियो हेर्दै थिएँ। तर म साँच्चिकै मर्माहत् त्यतिबेला भएँ जब उक्त बालकले यो संसार छाडिसकेको दृश्य देखाइयो। हरे! यो कस्तो पत्रकारिता हो? मान्छेका पीडा र सम्वेदनालाई जसरी भजाए पनि हुने? भिडियोमा कपिलवस्तुका जनता, राजनीतिक दल अनि बाल-अधिकारका नाममा खुलेका एनजिओ-आइएनजिओप्रति व्यंग्य त कसिएको छ तर घटनाका रिपोर्टर महाशय आफैले मानवीय नाताले सम्बन्धित निकायलाई झक्झकाउनेसम्मको प्रयास पनि गर्नुभयो भएन थाहा छैन। शायद त्यस्तो कुनै प्रयास गर्नुभएको भए भिडियो प्रसारका लागि त्यो अभागी बालकको मृत्‍यु कुरिरहनुपर्थेन होला। भिडियो हेरिसकेपछि लाग्छ, बालक सडकमा छाडिएपछि उसको प्राणपखेरु उड्दासम्मका दृश्यहरु क्यामेरामा कैद गरेर सनसनीपूर्ण समाचार बनाउने एक मात्र धोको थियो शायद पत्रकार मित्रको। धिक्कार छ यस्तो सस्तो, अनुत्तरदायी र मानवीय मूल्यहीन पत्रकारितालाई!!

भिडियो यो लिंक मा हेर्न सक्नुहुन्छ। भिडियो हेरेपछि आफै मूल्याङ्कन गर्न सक्नुहुनेछ, कस्तो पत्रकारिता हो यो भनेर।

6 comments:

  1. ध्रुब जी, हरेक क्षेत्र मा कट थ्रोट कम्पिटिसन छ सबैलाई ठुलो मान्छे हुनुछ पत्रकार को पेसा पनि धेरै कठिन छ धेरै जसो श्रम जीवी नै छन् मालिक लाइ फाइदा हुने म्याटर खोज्नुपर्छ हरेक कुराको बजारीकरण भएकोले दया माया समबेदना हुने मान्छे धेरै ठाउमा अल्झिन्छ

    तेसैले मेरो कुनै समबेदना छैन

    ReplyDelete
  2. पत्रकारिताको परिभाषा नै के हो भन्ने राम्रो थाहा छैन मलाई । खवर-घटनालाई जस्ताको तस्तै जनतासामु पुर्याउनु मात्र हो अथवा सम्वन्धित पक्षलाई घचघच्याउनु पनि हो ।
    तर तपाईँको कुरोसँग म पनि सहमत छु । यदि जिउँदो छँदै यो भिडियो प्रसारित भएको भए सायद केहि राम्रो हुन्थ्यो कि भनेर आश सम्म गर्न सकिन्थ्यो । यो त सरासर मानविय संवेदनासँग गरिएको खेलवाड मात्र हो । कुनै तुक छैन यस्तो समाचारको ।
    म पनि तपाईँकै कुरा भन्छु,
    ' धिक्कार छ यस्तो सस्तो, अनुत्तरदायी र मानवीय मूल्यहीन पत्रकारितालाई'!!

    ReplyDelete
  3. हावा ब्रो र अशेषजी, प्रतिक्रियाका लागि हार्दिक धन्यवाद।

    हावा ब्रो, तपाईंले औँल्याउनुभएको कुरा साँचो हो। तर कहिलेकाहीँ असह्य हुँदो रहेछ, समाजको आँखा खोल्छौँ भन्नेहरुले यति हदसम्म गरेको देख्दा। तपाईंले भनेजस्तो बजारिकरणलाई दोष दिएर मात्रै पनि त भएन, बजारको माग सिर्जना गर्ने तत्त्व त तपाईं-हामी पनि हौँ नि। अनि 'श्रमजीवी' शब्द प्रयोग गर्ने र यस्ता प्रवृत्तिका पत्रकारहरुलाई पनि?

    अशेषजी, हुनत खबर-घटनालाई जस्ताको तस्तै जनतासामु पुर्‍याउनु नै होला पत्रकारिता भनेको तर एउटा पत्रकार पनि सबैभन्दा पहिले मान्छे हैन र? मैले बुझ्न सकेको छैन, खै किन केही पत्रकारहरु आफूलाई अर्कै लोकबाट आएको ठान्छन्।

    ब्लगभित्र र फेसबुकमा बाहेक केही प्रतक्ष्य प्रतिक्रिया पनि पाएको थिएँ। यस्ता घटनाहरु हामीकहाँ सधैं घटिरहेका हुन्छन्, कुन चाहिँ नौलो कुरा भयो र ब्लग नै लेख्नुपर्ने भन्ने आलोचनात्मक टिप्पणी पनि आएको थियो। म पनि मान्छु, यस्ता घटना भैरहन्छन् भनेर चुप लाग्न नसक्नु म र मजस्ताहरुको कमजोरी हुन सक्छ। पक्कै पनि यस्तैखाले सबै घटनाहरु ब्लगमा समेटिन सक्दैनन् तर त्यसको मतलब कि सबैको बारेमा लेख्ने कि लेख्दै नलेख्ने भन्ने हुन सक्दैन। जाबो ब्लगमा लेखेर के हुन्छ आत्मसन्तुष्टी बाहेक भन्ने प्रश्न पनि तेर्सिन सक्छ। त्यो पनि म मान्न तयार छु। तर आत्मसन्तुष्टीका नाममा क्षणिक आवेग वा खोक्रो आडम्बर दर्शाउनु मेरो ध्येय किमार्थ होइन।

    ReplyDelete
  4. हालसालै मात्र मनोज बोगटीको एउटा कविता पढेको थिएँ 'तिम्रो सम्बेदनामा काठ पलाउँदै गईरहेछ'| ठ्याक्कै मिल्ने सन्दर्भ जस्तो लाग्यो यो पोस्ट | सभ्यताको विकाससंगै मानवीय सम्बेदनाहरु झन् झन् मिहिन बनेर जान्छन, तर हाम्रा सम्बेदनाहरु कठोर बन्दै गईरहेको जस्तो लाग्छ मलाई| पत्रकारले पत्रकारिताको मात्रै नियम बुझे यहाँनिर, मानवताको ख्याल गरेनन |

    ReplyDelete
  5. धु्रव जी, पोष्ट र भिडियोले मर्माहित बनायो । जोकोहीलाई पनि पीडाबोध हुन्छ । पैसामा लम्पट भएकाहरुको स्वार्थीपनको पराकाष्ठ हो यो । सबैलाई चेतना भया !!

    ReplyDelete
  6. चैतन्य सर र राजेशजीलाई प्रतिक्रियाका लागि हार्दिक धन्यवाद।

    चैतन्य सर, पत्रकारिताको नियम बुझे भन्न पनि अप्ठ्यारो लाग्छ भिडियोमा देखिने 'निर्मित' दृश्यहरुलाई हेर्दा त।

    हो राजेशजी, पैसा अनि जतिसक्दो चाँडो चर्चित हुने लालसाले नै प्रेरित हुन्छ होला मान्छे यस्ता काम गर्न।

    ReplyDelete