Saturday, January 23, 2010

जापानमा हिउँ अनुभव


केही दिन पहिले ल्याबबाट साथीहरु मिलेर हिउँमा चिप्लेटी खेल्न जाने कुरा निस्कियो। कुरा रमाइलै भए पनि हिउँमा चिप्लेटी खेलेको आफ्नो कुनै अनुभव नभएका कारण के भन्नु के भन्नु! फेरि सामान्यतया नेपाल नपुगेका सबै विदेशीजस्तै जापानीहरु पनि नेपाल भनेपछि हिमालयको देश, जताततै हिउँ नै हिउँ होला भन्ठान्छन्। उनीहरुलाई के थाहा कि हिउँको मुखै नदेखेका नेपाली कति छन् भनेर। म आफैले पनि एकपटक मात्र हिउँसँग परिचित हुने मौका पाएको थिएँ नेपालमा छँदा। २०६३ सालको हिउँदमा हेटौँडाबाट अफिसका साथीहरुसँगै दामन पुगिएको थियो जीवनमा पहिलोपल्ट हिउँको दर्शन गर्न। धन्न त्यतिसम्म अनुभव बटुलेका कारण हिउँ नै देखेको छैन भन्नुपरेन जापानीहरुसँग। तर चिप्लेटी खेल्न (स्नोबोर्डिङ) चाहिँ फिटिक्कै आउँदैन भनेर भन्नैपर्‍यो। एउटा जापानी साथी पनि रहेछ स्नोबोर्डिङको खासै अनुभव नभएको। ल हामी सँगै सिकौँला नि त भन्न थाल्यो उसले। त्यसपछि मैले पनि हुन्छ भनेर हिउँमा चिप्लेटी खेल्न जाने निधो गरेँ।

हिउँमा खेल्ने ठाउँसम्म पुग्न टोकियोबाट केही घण्टाको यात्रा तय गर्नुपर्ने भएकोले बिहानै हिँड्नुपर्ने थियो। यसै त बिहान अबेलासम्म सुत्ने बानी, त्यसमाथि बिदाको दिनमा बिहान छ बजे स्टेशनमा भेट हुनका लागि चारै बज्ने उठ्नुपर्ने कुरो मेरा लागि टाउकामा हाने बराबर नै थियो। तर के गर्नु उठ्नु त परिहाल्यो। काठमाण्डौँ-घर गर्दा यसरी नै बिहानबिहानै उठेर हिँड्ने गरेको याद पनि ताजा भयो यसरी झिसमिसे हुन नपाउँदै उठेर हिँड्नुपर्दा। टोकियोको टोकियो नै भन्ने स्टेशनको ‘मिनामी गुची’ (south exit) मा भेट हुने कुरा भएको थियो चे दाइ - (मेरो ल्याबका पिएचडीमा अध्ययनरत सिनियर विद्यार्थी, हुनत उनी कोरियाका हुन् तर बोलीचालीदेखि हर हिसाबले जापानी नै लाग्छन् मेरा लागि) सँग। तर त्यति ठूलो स्टेशनमा उनले भनेको ‘मिनामी गुची’ र मैले बुझेको ‘मिनामी गुची’ कताको कता परेछ। लगभग आधा घण्टाजति अलमलमा यता र उता दौडेपछि बल्ल भेट भयो चे दाइ र अरु दुई साथीहरुसँग। धन्न बस छुट्ने समय नाघिसकेको रहेनछ र अरु विघ्न केही परेन।

बसमा पूरै पाँच घण्टा नै लाग्यो गुन्मा भन्ने प्रिफेक्चरमा पर्ने स्नो रिसोर्टसम्म पुग्न। स्नो रिसोर्ट आइपुग्नै लाग्दा बसबाट यसो बहिर चिहाएको त मजाले घाम लागिरहेको बेला पनि फुसुफुसु हिउँ झरिरहेको रहेछ। यसरी पहिलोपल्ट फुसुफुसु झरिरहेको हिउँ त्यो पनि घाम लागिरहेको बेलामा देख्न पाउँदा मन रोमाञ्चित नहुने कुरै भएन। बाटोको छेउमा र वरपर थुप्रिएको खातका खात हिउँ अनि हिउँले लछप्पै ढाकिएका घरका छाना, रुखका हाँगाबिँगा आदि पनि पहिलोपल्ट देख्दै थिएँ म।

बसबाट ओर्लिनेबित्तिकै हिउँमा खेल्न अनुकूलका जुत्ता-कपडा पहिरेपछि आ-आफ्ना बोर्ड बोकेर लागियो हिउँको एउटा पाखोतिर। चिप्लेटी खेल्नु त परैको कुरा, स्नोबोर्डमा त उभिन मात्रै पनि ठूलै अक्कल चहिने रहेछ। त्यसैले शुरुमा यसो उभिन मात्रै जान्दा पनि के-के नै गरेजस्तो लाग्यो। त्यही जोशमा उभिने, केही परसम्म चिप्लिने र पछारिने क्रममा चिप्लिनेभन्दा पछारिने कर्म बढि भयो। शुरुमा त त्यति चाल पाइएन तर विस्तारै पछाराइको पीडा अनुभव हुन थाल्यो। पछारिन पनि ढंग पुर्‍याएर जीउलाई कम चोट पर्ने गरी पछारिएको भए पो हुन्छ, मनपरी पछारिएपछि पीडा हुनु र चाँडै थाक्नु स्वभाविकै भयो। जब उभिएर चिप्लिन पनि अलि अलि सिकेजस्तो लाग्दै थियो, जीउ एक हिसाबले थिलोथिलो भैसकेको थियो। त्यसैले अर्कोपटक चाहिँ अलि ढंग पुर्‍याएर चिप्लेटी खेल्नुपर्ला भनेर आफैलाई सान्त्वना दिँदै थकाइ मार्न छेउतिर लागियो। स्नोबोर्डिङमा त्यति अभ्यस्त नभएको जापानी साथीको हालत पनि मेरैजस्तो रहेछ लगभग। त्यसैले अरु दुईजनालाई त्यहीँ छोडेर हामी दुई पेटपूजा गर्ने मेसोमा तलतिर लाग्यौँ।

बस फर्किने समय हुन अब केहीबेर मात्र बाँकी थियो। त्यसैले अरु दुईजना साथी पनि चाँडै नै तल आइपुगे। जापानीहरुको बानी नै भनौँ, सानो कुरामा पनि फुर्काइहाल्ने। त्यसैले मलाई पनि पहिलो प्रयासमै खुब राम्रो गरेको भन्न बाँकी राखेनन् जापानी साथीहरुले तर मैले कति सिकेको थिएँ, त्यो त आफ्नै ठाउँमा थियो।


करिब चार घण्टा हिउँको संसर्गमा बिताएपछि पुन: पाँच घण्टाको बस यात्रा पूरा गरेर टोकियो आइपुग्दा राति लगभग दश बजेको थियो। सिन्जुकु भन्ने ठाउँमा बसबाट ओर्लिएर रामेन (जापानी चाउचाउ) खाइवरी कोठासम्म आइपुग्दा बाह्र नै बज्यो। जीउ मजाले थाकेकोले र अघिल्लो दिनको निद्रा पनि कचल्टिएकोले राति त चाँडै नै भुसुक्क भइएछ। तर जीउ साँच्चिकै कति थाकेछ भन्ने चाहिँ भोलिपल्ट बिहान बल्ल महशुस हुँदै थियो।

Monday, January 18, 2010

धिक्कार छ तिम्रो पत्रकारितालाई!!

फेसबूकमा प्रभा उप्रेतीजीले 'Really Sad, कठैबरै यो बालकको के दोष थियो र !' शिर्षकको भिडियोको लिंक राख्नुभएको रहेछ। के रहेछ भनेर क्लिक गरेको, पोलियो रोगका कारण अपाङ्ग बन्न पुगेको एउटा बालकलाई उसकै बाबुआमाले सडक छेउमा ल्याएर अलपत्र छाडिदिएको मार्मिक दृश्य देखाइएको रहेछ। त्यसमाथि कपिलवस्तु नगरपालिकाभित्रको अर्थात् आफ्नै घर आसपासको घटना रहेछ। घटना मार्मिक भए पनि मिडियाको नजर त पुगेछ कमसेकम भनेर चित्त बुझाउँदै भिडियो हेर्दै थिएँ। तर म साँच्चिकै मर्माहत् त्यतिबेला भएँ जब उक्त बालकले यो संसार छाडिसकेको दृश्य देखाइयो। हरे! यो कस्तो पत्रकारिता हो? मान्छेका पीडा र सम्वेदनालाई जसरी भजाए पनि हुने? भिडियोमा कपिलवस्तुका जनता, राजनीतिक दल अनि बाल-अधिकारका नाममा खुलेका एनजिओ-आइएनजिओप्रति व्यंग्य त कसिएको छ तर घटनाका रिपोर्टर महाशय आफैले मानवीय नाताले सम्बन्धित निकायलाई झक्झकाउनेसम्मको प्रयास पनि गर्नुभयो भएन थाहा छैन। शायद त्यस्तो कुनै प्रयास गर्नुभएको भए भिडियो प्रसारका लागि त्यो अभागी बालकको मृत्‍यु कुरिरहनुपर्थेन होला। भिडियो हेरिसकेपछि लाग्छ, बालक सडकमा छाडिएपछि उसको प्राणपखेरु उड्दासम्मका दृश्यहरु क्यामेरामा कैद गरेर सनसनीपूर्ण समाचार बनाउने एक मात्र धोको थियो शायद पत्रकार मित्रको। धिक्कार छ यस्तो सस्तो, अनुत्तरदायी र मानवीय मूल्यहीन पत्रकारितालाई!!

भिडियो यो लिंक मा हेर्न सक्नुहुन्छ। भिडियो हेरेपछि आफै मूल्याङ्कन गर्न सक्नुहुनेछ, कस्तो पत्रकारिता हो यो भनेर।

Wednesday, December 30, 2009

कविता: नयाँ वर्ष आएको छ

लामो बिदा लिएर
रंगीचंगी वातावरणमा
मसक्क मस्किँदै
तामझामसहित
नयाँ वर्ष आएको छ।

तर मूड छैन
कुनै उत्सवमा सामेल हुने
नयाँ वर्षको बाहनामा
नयाँ संकल्प रोज्ने
नयाँ तालिका बनाउने
अनि घरिघरि धमिला हुन खोज्ने
आफ्नै पुराना रहर र सपनाहरुलाई ढाँटेर
नयाँ सपनाहरुको खेती गर्ने।

फेरि पनि
सुख कहाँ पाइएला र ?
पूरा गर्नैपर्ने केही विधिहरुले
थिच्ने नै छन्, मिच्ने नै छन्
अनि झल्याँस्स केही सम्झेझैँ गरी
सलाम ठोक्नु नै पर्नेछ
निष्ठुरी बन्दै गरेको समयलाई
किनकि
नयाँ वर्ष आएको छ
यो पराइ भूमिमा झन् पराइ लाग्ने
नयाँ वर्ष आएको छ।


ग्रेगोरिअन पात्रोको नयाँ वर्ष २०१० सुखद रहोस्! यो पेजसम्म आइपुग्नुहुने सबैमा हार्दिक मंगलमय शुभकामना!!

Friday, December 18, 2009

दुई फरक प्रसंगमाथि

हाम्रो कथा हाम्रै व्यथा

एउटा दैनिक पत्रिकामा लेखको रुपमा आएका दुइटा खबरले एकैपटक धेरै कुरा सोँच्न बाध्य बनाए। दुवै खबर झट्टा सुन्दा हाँसोउठ्दो खालका पनि छन् तर तिनले हाम्रो समाजको जुन तस्वीर उजागर गरेका छन्, त्यो साह्रै लज्जित र व्यथित बनाउने खालको छ।

मंसिर २२ को ‘कान्तिपुर’ मा कृष्णमुरारी भण्डारीले अपान वायु छोड्नुपरेको एउटा सानो घटनाबाट आहत भएर कसरी एउटी नवविवाहित युवती प्राणोत्सर्ग गर्न पुगिन् भन्ने विषयमा लेखेका छन्। घटना विवरण यस्तो छ:

'विवाह गरेर घर भित्र्याइएकी नयाँ बुहारीले भान्छामा खाना पकाइन् । खाना खान बसे ससुरा, जेठाजु र स्वयम् लोग्ने महाशय । खाना पस्कँदा-पस्कँदै बुहारीलाई वायु छोड्नुपर्ने भयो । रोकिन् । सकिनन् । आखिर घरका मान्यजन ससुरा, जेठाजु र पति परमेश्वर खाना खाँदैछन्, वायु छाडौं, असम्भव छ । भान्छा छाडेर हिँडौं, शोभाजनक भएन । वायु नछाडौं सक्दै नसकिने भयो । केही नलागेपछि उनी आफैंले अक्किल निकालिन्- तरकारी पकाएको कराइमा डाडु बजाउने र त्यही बेला वायु उत्सर्जन गर्ने अर्थात् पाध्ने । उनले त्यसै गरिन् ।'

तर जेठाजुले बुहारीको चलाखी थाहा पाए । उनले खाना खाइरहँदा पनि त्यो कुरा मनमा राख्न सकेनन् र प्रश्नवाचक खसखस पोखिहाले- 'पादको आवाज त भाँडा बजाएर छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ बुहारी ?'

त्यसपछि मुन्टो निहुराएर बुहारी भान्छाबाट फुत्त बाहिर निस्किन् । ससुरा, जेठाजु र श्रीमानले खाना खाएर चुठिनसक्दै हल्ला भयो- ए, नयाँ बुहारीले त पासो लगाएर आत्महत्या गरिन् ।


हाम्रा आम दिदीबहिनी र आमाहरुको स्थिती योभन्दा भिन्न छैन शायद। ती आम दिदीबहिनी र आमाहरु परम्परा, संस्कार, मर्यादा इत्यादि निर्वाह गर्ने नाममा यसरी नै पिल्सिएका छन्, ज्यानै उत्सर्ग गर्ने हदसम्म। यो कुरा छुट्टै हो कि यस्ता खबर मिडियामा खासै आउँदैनन् अनि गाउँघरमै पनि केही टाठाबाठा मिलेर गुपचुप राख्ने प्रयत्न हुन्छ। यता केही शहरीया महिलावादीहरुलाई भने टप्परटुइयाँ नारा उरालेर डलर सोहोर्दैमा फूर्सत देखिँदैन। त्यसैले त वैवाहिक बलात्कारजस्ता आम नेपाली समाजका लागि पूर्णत अव्यवहारिक (केही मुठ्ठिभर शहरीया सम्भ्रान्तवर्गको कुरा बेग्लै होला) मुद्दामा चर्का बहस गर्नेहरु यस्ता मुद्दामा चाहिँ चुइँक्क बोलेको पनि सुनिँदैन।

यो खबर छापिएको लगभग एक हप्तापछि ‘कान्तिपुर’ मै प्रतिमा बाँस्कोटाले अर्को एउटा नमिठो प्रसंग उप्काएकी छन्। दुई छोरीकी आमा भैसकेकी एउटी महिलाले लोग्नेले छोराको चाहनामा दिएको मानसिक पिडाबाट त्राण पाउन छिमेकीको सल्लाहमा गर्भवती भएको नाटक मात्र गरिनन्, सुत्केरी व्यथा लाग्यो भनेर अस्पतालसम्मै पुगिन्। तर छिमेकीले आफ्नो आफन्तले जन्माउँदै गरेका जुम्ल्याहा छोरामध्येबाट एउटा छोरा मिलाइदिने भनेर दिएको अश्वासन धोकामा परिणत भएपछि घटना सार्वजनिक हुन पुग्यो। प्रकृतिले छोरा वा छोरी के जन्मिने भन्ने निर्धारण पुरुषको शुक्रकिटमा रहेको क्रोमोजोमबाट हुने बनाइदिएको छ तर समाजमा व्याप्त छोराप्रतिको आशक्तीले महिलालाई नै प्रताडित गर्छ र यस्ता घटनाहरु राजाधनीमै घट्न छाड्दैनन्। खै कहिले हट्ला यो छोरावादी अन्धता? लौ यो अन्धता हट्न त समय लाग्ला रे तर छोरा नपाएको झोँकमा श्रीमतीलाई मानसिक यातना दिने लोग्नेमान्छेको कुबुद्धि त चाँडै हटिदिए हुन्थ्यो नि!

खाँचो फेरि पनि सकारात्मक सोँचकै

पत्रकार रवीन्द्र मिश्र, व्यवसायी कर्ण शाक्य र युवा नेता गगन थापा, यी तीनैजना विश्वास र श्रद्धा गर्न सकिने हाम्रो समाजका थोरै चर्चित व्यक्तिमध्ये पर्छन्। विश्वास र श्रद्धा गर्न सकिने यस अर्थमा कि यिनीहरुले कुराका अतिरिक्त व्यक्तिगत प्रयासमै केही प्रभावकारी काम पनि गरेर देखाएका छन् अनि सकारात्मक चिन्तन र इमान्दारिताको खडेरी पर्दै गएको समाजमा केही भए पनि आशा जगाउन सफल भएका छन्। यी तिनैजना जोडिन पुगे रवीन्द्र मिश्रले केही अघि लेखेको एउटा लेखमार्फत्, अलि अनपेक्षित ढंगले।

‘(अ) बौद्धिक बेइमानी’ शिर्षकमा मिश्रले लेखेको लेखमा शाक्य र थापाको उदाहरण दिँदै नेपाली समाजमा देखिने बौद्धिक बेइमानीको विषय उठाइएको थियो। कर्ण शाक्यले आफ्नो चर्चित पुस्तक ‘सोँच’ मा आफूलाई सकारात्मक सोँचका लागि उर्जा दिने पुस्तक ‘द पावर अफ पोजिटिभ थिङ्किङ’ का बारेमा उल्लेखै नगरेर र गगन थापाले एउटा टेलिभिजन अन्तर्वाताका क्रममा ‘भाइबहिनी अभियान’ को नाम लिँदा त्यो अभियानको शुरुवातकर्ता हेल्प नेपाल नेटवर्कको नाम लिन कन्जुस्याईँ गरेर इमान्दारिता र उदारता गुमाएको ठहर मिश्रको थियो। थापाको प्रसंगमा स्वयम् मिश्र आवद्ध हेल्प नेपाल नेटवर्कको कुरा जोडिएकोले व्यक्तिगत पूर्वग्रह राखेर लेख लेखिएको भन्ने अर्थ लगाउन सकिने भए पनि लेखको मूल आशय त्यस्तो देखिँदैनथियो। अपजश लिनै नचाहने अनि जश चाहिँ बाँड्नै नचाहने हाम्रो समाजको ठूलै रोग हो। मिश्रको लेख त्यही रोगको चिरफरमा केन्द्रित थियो।

तर हामीकहाँ कहिलेकाहीँ जानेर वा नजानेर हुने गल्ती स्विकार्दा सानो भइन्छ भन्ने सोँच राखेर एउटा गल्ती ढाक्न बरु अरु थप गल्ती गर्ने रोग झन् भयंकर छ। कता-कता त्यही कुरा झल्किएजस्तो लाग्यो मिश्रको लेखमाथि शाक्य र थापाका प्रतिकृया पढ्दा। ‘भाइबहिनी अभियान’ नामको प्रयोगका सम्बन्धमा ओँठे जवाफ नै दिएका भए पनि थापाको प्रतिकृया धेरै हदसम्म सन्तुलित नै थियो तर शाक्यको प्रतिकृया पढ्दा भने एमाले नेता प्रदीप नेपालको कुनै आलापप्रलापपूर्ण लेखको झल्को आयो। ‘द पावर अफ पोजिटिभ थिङ्किङ’ को नाम उल्लेख नगरेको सम्बन्धमा त उनले हदैसम्मको (कु) तर्क गर्न भ्याएका छन्:

जहँसम्म 'पावर अफ पोजिटिभ थिन्किङ'को कुरा छ, मैले थुप्रै त्यस्ता व्यक्तित्व विकासका किताब देखेको छु । तर इमानदारीका साथ भन्नुपर्दा मैले ती किताबहरू पढेको छैन । मलाई किताब पढ्न असाध्यै अल्छी लाग्छ र किताब पढ्ने धैर्य पनि ममा छैन । सायद त्यसैले होला, म सधैं स्कुल र कलेजको परीक्षामा तृतीय श्रेणीमा मात्र उत्तीर्ण हुन्थेँ ।

सकारात्मक सोँचको त्यत्रो पैरवी गर्ने मान्छेले पनि आफ्नो आलोचना यतिविघ्न सहन सक्दैन भन्ने कुरा शाक्यको प्रतिकृया पढेर देखियो। तर खाँचो फेरि पनि सकारात्मक सोँचकै छ। कर्ण शाक्यका योगदानहरुका अगाडि उनले देखाएको भावावेशपूर्ण कमजोरीलाई त्यही रुपमा बुझ्दै मिश्र, शाक्य र थापा तीनैजनाद्वारा र तीनैजनाका बारेमा सधैं राम्रो सुन्न-पढ्न पाइयोस् भन्ने हार्दिक कामना।

Thursday, December 10, 2009

डिजाइन @ सिसाकलम

The Practice of Machine Design को पछिल्लो क्लास एउटा पेन्सिलको डिजाइनमाथि छलफल गरेरै बित्यो। पेन्सिल थियो - जापानको मिचुबिसी पेन्सिलले केही पहिले बजारमा ल्याएको ‘कुरु तोगा’ नामको मेकानिकल पेन्सिल। सामान्यतया मेसिन डिजाइन भन्नेबित्तिकै अलि ‘हाइफाइ’ तस्वीर नै दिमागमा आउँछ तर छाता, पेन्सिल आदिजस्ता दैनिक प्रयोगका सामान्य वस्तुमा पनि डिजाइनसम्बन्धि कति ठूला अनुसन्धानहरु भैरहेका हुँदा रहेछन्, कहिलेकाहीँ त अचम्मै लाग्छ। मान्छेले सिर्जनशील जुक्ती प्रयोग नगरेको पनि कुनै ठाउँ छैन।

मेकानिकल पेन्सिल प्रयोग गर्ने गर्नुभएको छ भने तपाईंले यसको एउटा अवगुण पक्कै पनि ख्याल गरेको हुनुपर्छ। त्यो के भने लेख्दै जाँदा पेन्सिलको लीडको एकातिरको भाग खिइँदै जान्छ र लेखाइ मोटो तथा फिक्का हुन थाल्छ। हुनत मेकानिकल पेन्सिलमा प्रयोग हुने पेन्सिलको लीडको मोटाइ आफैमा निकै थोरै (०.५ मिलिमिटरको हाराहारीमा) हुन्छ तर पनि लीडको एकातिरको भाग खिइएर लेखाइको गुणस्तर बिग्रिँदै जाने कुरा टड्कारै अनुभव गर्न सकिन्छ। यही समस्यालाई हल गर्ने जुक्ती निकालेको रहेछ मिचुबिसी पेन्सिलले।


मिचुबिसीको 'कुरु तोगा' पेन्सिल यसरी डिजाइन गरिएको छ कि जब तपाईं लेख्दै जानुहुन्छ, यसको लीड आफै घुम्दै जान्छ र लीडको सबैतिरको भाग समानरुपमा खिइने भएकाले लेखाइ एकनास रहन्छ। अब प्रश्न उठ्छ, लीड कसरी घुम्छ त? यसको लागि विशेषखालको clutch mechanism प्रयोग गरिएको छ। लेख्ने बेलामा जब पेन्सिललाई कागजमाथि राखिन्छ, त्यतिबेला लीडमा पर्ने दवाबले lead-holding chuck मा जोडिएको toothed clutch माथि उठ्छ र क्लचका दाँतीहरु एकापसमा मिल्ने क्रममा लीड केही डिग्री घुम्दछ। यो क्रम हरेकपल्ट पेन्सिल कागजबाट माथि उठ्दा र कागजमा बस्दा दोहोरिइरहन्छ।

यसको डिजाइनको बारेमा अझ विस्तृत रुपमा बुझ्नचाहिँ पेन्सिललाई फुटाउनैपर्ने देखिँदैछ। तर झन्डै एकदिनको लञ्च बराबरको रकम (३७८ येन) हालेर किनेको पेन्सिल फुटाउन मनले अझै मानिहालेको छैन :) जे होस्, यो पेन्सिलले लेख्दा एउटा रमाइलो कुरा भने अनुभव गरेँ मैले। साधारण खालको लीड पेन्सिल प्रयोग गर्दा पेन्सिल घुमाई-घुमाई लेख्ने बानी परिसकेको रहेछ। त्यसैले यो पेन्सिल प्रयोग गर्दा पनि घुमाएरै लेख्न खोजिँदो रहेछ। अब automatically पनि घुम्ने, आफूले पनि घुमाउने भएपछि त समस्या सुल्झनुको सट्टा झन् बल्झने डर पो हुँदो रहेछ :)

‘कुरु तोगा’ पेन्सिल सम्बन्धि थप जानकारीका लागि यो ब्लग मा जान सक्नुहुन्छ (अंग्रेजी ब्लगहरुको विविधता देखेर पनि लोभै लाग्छ!)। युट्यूबको यो भिडियो मा पनि राम्रो जानकारी दिइएको छ।

Wednesday, November 25, 2009

“पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?”

२०६४ सालको असोज महिनातिरको कुरा हो। पहिलोपल्ट जागिर भन्ने चिजको अनुभव लिने क्रममा हेटौंडामा थिएँ। बिदाको दिन भएकोले कोठामा टीभी खोलेर रिमोट तल-माथि गराउँदै बसिरहेको बेला साथी सुरेन्द्रको फोन आयो। काठमाण्डौबाट आफ्नो घर जनकपुरतर्फ जाने क्रममा बस बिग्रिएर ऊ हेटौंडामा रोकिएको रहेछ। त्यसैले ऊसँग भेट हुन बस बनाउँदै गरेको ग्यारेजमा पुगेँ। गफगाफ चल्दै गर्दा सुरेन्द्रले जनकपुर जाउँ भन्न थाल्यो। जनकपुर जाने रहर त मलाई पनि पहिलेदेखि नै थियो। तर पछि कुनै बेला समय मिलाएर मजाले घुम्ने गरी जाउँला नि भनेको उसले मान्दै मानेन। लौ त जाने भने जाने भनेर मैले पनि हिँड्ने ‘मूड’ बनाइहालेँ। एकैछिनमा बस बन्यो र हामी लाग्यौँ जनकपुरतर्फ।

बाटो त लागियो तर जनकपुर बन्दको दिन पो परेछ। नेपालमा, खासगरी पूर्वी मधेसमा, बन्द-हड्ताल सामान्य नै बनेको समय पर्‍यो त्यो। साँझ पर्नै आँटेको बेला ढल्केवर पुगेपछि जनकपुरतिर छिर्न पाइने हो कि हैन भन्ने द्विविधा भयो एकैछिन तर भाग्यवश जनकपुरसम्म सजिलै पुगियो। समस्या चाँहि जनकपुरबाट सुरेन्द्रको गाउँ हर्दियासम्म पुग्न देखियो। हर्दिया जनकपुर-जलेश्वर मूलसडकमै पर्ने भए पनि बन्दले गर्दा गाडी पाइने सम्भावना थिएन। फेरि रातको समय र भय-त्रासको वातावरणको के कुरा गर्नु? आखिरमा डर मान्दै नै भए पनि जनकपुरमै बस्नुहुने सुरेन्द्रको भान्जदाइले मोटरसाइकलमा दुवैजनालाई राखेर पुर्‍याइदिनुभयो हर्दियासम्म।

खै यो बन्द-हड्तालको हल्लाले त कतै पनि घुमघाम गर्न नपाइने भो कि क्या हो भन्ने आशंकासँगै त्यो रात बिताइयो। धन्न भोलिपल्ट बन्दको हल्ला सुनिएन र अलिकता राहत महशुस गर्दै बिहानको चिया पिएर सुरेन्द्र र म जलेश्वरतर्फ लाग्यौँ। घरबाट निस्किनै लाग्दा सुरेन्द्रकी हजुरआमा सोध्दै हुनुहुन्थ्यो – “बस चलैछै?” मैले मैथिलीमै “अँ, बस चलेको छ” भनेर उत्तर दिने प्रयास गर्दा सुरेन्द्रलाई पछिसम्म हाँसोको विषय बन्यो।

जलेश्वर पुग्दा मधेसका औसत शहरहरुकै झल्को आउँथ्यो। पछिल्लो समयमा चर्केको मधेस आन्दोलनका चिन्हहरु देखिन्थे यत्रतत्र। त्यहाँको प्रसिद्ध जलेश्वर महादेवको दर्शन गरेर सुरेन्द्रको मामाघरमा खाना खाइसकेपछि सीमावर्ती बजार मटिहानी घुम्न जाने कुरा भयो। तर जलेश्वरबाट मटिहानीसम्म पुग्ने बाटोको अवस्था साह्रै नाजुक रहेछ। भर्खरैको वर्षाले गर्दा ठाउँठाउँमा बाटो छेँडेर ‘नदी’ वारपार भैरहेका रहेछन्। त्यसैले मोटरसाइकलमाभन्दा साइकलमा जान उचित हुने देखियो र एउटा साइकल लिएर लाग्यौँ मटिहानीतिर। दुईजनालाई एउटा साइकल, सास्ती र रमाइलो दुवै भयो। सुरेन्द्रको ज्यान हेरेर चलाउनको धौले पछाडि बस्छु भनेको, बस्न झन् आपत्। बरु सुरेन्द्रलाई बसालेर आफै साइकल चलाएँ पछि त।

मटिहानी, नेपालकै पुरानोमध्येको संस्कृत पाठशाला भएको ठाउँ। तर त्यहाँको वर्तमान अवस्था हेर्दा वैराग मात्र लाग्ने रहेछ। ऐतिहासिक मटिहानी मठ पनि जीर्ण र परित्यक्तजस्तै लाग्थ्यो। मटिहानीसँग टपक्क टाँसिएरै बसेको रहेछ भारतीय बजार मधवापुर। दशगजा भनिने अन्तरराष्ट्रिय सिमाना खुम्चिएर हराएजस्तै देखिन्थ्यो त्यहाँ। भारतीय बजारतर्फ लाग्दै गर्दा सरकार-प्रशासनविहिन लाग्ने नेपालतर्फको सीमा देखेर फेरि एकचोटि नरमाइलो अनुभव भयो।

मटिहानी वरपर घुमिसकेपछि जलेश्वरतर्फ फर्किँदै थियौँ। अलिक वर सुगा भन्ने गाउँमा केही केटाकेटीहरु बाटोमा खेल्दै थिए। उनीहरु खेलिरहेको ठाउँबाट अगाडि बढ्न नपाउँदै एउटा बच्चाको तिखो स्वर कानमा ठोक्कियो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?" मैले आवाज आएतिर हेरेँ तर त्यसो भन्ने बच्चालाई ठ्याक्कै ठम्याउन सकिनँ। शायद आफूहरुसँग खेल्न बोलाएको अर्को साथी नआइदिँदा उसले त्यो ‘डाइलग’ बोलेको थियो क्यारे। मैथिलीभाषी गाउँमा उसले बोलेको त्यो शुद्ध हिन्दी ‘डाइलग’ बलिउडको कुनै सिनेमाबाट प्रभावित थियो वा गाउँकै कुनै बुज्रुकको मुखबाट सुनेर उसले नक्कल गरेको थियो, त्यो त थाहा भएन तर उसको भनाइले हामी दुवैलाई अचम्मित र केही हदसम्म स्तब्ध पनि बनाइदियो। अनि मैले सम्झिन थालेँ हात्ती र कमिलाका प्रसंगहरु। हात्ती ठूलो हुनु र कमिला सानो हुनुमा नाथे पढाइको कुनै साइनो नभएको कुरासँग त हामी भलिभाँती परिचित नै थियौँ। तर भर्खर अक्षर चिन्दै गरेको उमेरको बालकको त्यो अभिव्यक्तिले खण्डित हुँदै गैरहेका हाम्रा सामाजिक मूल्य र मान्यतालाई थप उदांगो पारेजस्तो लाग्यो। हाम्रा कहिल्यै नटुंगिने आन्दोलन र विद्रोहका कथाले यस्तै मानकहरु पो स्थापित गर्दैछन् कि? 'कम्निस्ट' राजनीतिमा लागेकी एकजना क्याम्पसे दिदीको धेरै पहिलेको एउटा ‘दर्शन’ पनि सम्झना भयो। “तिम्रो ब्याकपेपर क्लियर भयो त नानी?” भनेर कसैले सोधिदिँदा लज्जित हुनुपरेपछि उनले "हामी त राजनीति गर्ने मान्छे, समाज नै हाम्रो विश्वविद्यालय हो, यो बुर्जुवा शिक्षाको के कुरा गर्नुहुन्छ?" भन्दै घोकेर कण्ठ पारिएको जस्तो लाग्ने ‘दर्शन’ सुनाएकी थिइन्। धन्य हो हाम्रो तर्कशीलता ! यस्ता तर्क सुने भने त वास्तविक अर्थमा समाजलाई विश्वविद्यालय बनाएका म्याक्सिम गोर्कीहरु नै तीनछक पर्न बेर छैन।

यस्तै कुरा कहिले मनमा खेलाउँदै र कहिले आपसमा गफिँदै जलेश्वर फर्कियौँ र त्यहाँ केहीबेर भुलेर जनकपुरतिर बाटो ततायौँ। जनकपुर पुग्दा साँझ परिसकेको थियो। भजनकिर्तनमय जानकी मन्दिर पुग्दा बेग्लै खालको आनन्द अनुभव भयो। त्यहाँको रमाइलो माहौलले गर्दा दिउँसो नै जनकपुर घुम्न नपाएकोमा पछुतो मान्नुपरेन। अनि झमक्क साँझ परिसकेको भए पनि फेरि आउने कहिले हो कहिले भन्दै त्यहाँ वरपरका मठमन्दिर, तालतलैया लगायत बाह्रबिघा मैदानतिर पनि घुमियो। जनकपुर पुगेपछि जेनतेन अस्तित्व धानिरहेको नेपालकै एकमात्र रेल पनि हेर्न छुटाउनु भएन। त्यसैले रेलवे स्टेसन पनि पुगियो। घुमघाम सकाएपछि त्यस दिन त्यहीँ सुरेन्द्रको सानीमाको घरमा बस्यौँ। भोलि त मलाई बिहानै फर्कनुपर्ने थियो दिउँसोसम्म भए पनि अफिस पुग्ने गरी।

भोलिपल्ट बिहानै मोटरसाइकलमा ढल्केवर पुगेर पश्चिम जाने गाडी कुरेर बसेको त एउटै गाडी आउँदैन। फेरि अर्को बन्दको पो हल्ला रहेछ। लौ आज फसिने भइयो कि क्या हो भनेको धन्न केहीबेरमा एउटा बस आइपुग्यो। सुरेन्द्रसँग बिदा भै म हतार-हतार बस चढेँ र लागेँ आफ्नै कर्मस्थलतर्फ।

यसरी बिना कुनै योजना र बन्दैबन्दको आतंकका बीच पनि रमाइलो र अविस्मरणीय रहने गरी सकियो मेरो छोटो जनकपुर यात्रा। सबैभन्दा अविस्मरणीय भने त्यही ‘डाइलग’ रह्यो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?"

[पहिलोपल्ट प्रकाशित टाँसोमा भूलचुकमा परेका केही अंशहरु सामान्य परिमार्जन गरेको छु।]

Friday, November 13, 2009

गजल

यसपाली पुरानो संकलनबाट एउटा गजल राख्न मन लाग्यो। गजलको सामान्य नियमसँग परिचित रहे पनि मेरो यो रचना ठ्याक्कै गजल बनेको छ कि छैन, त्यसको बारेमा सुझाव र प्रतिकृयाको आशा गर्दछु। गजल भनेपछि गेयात्मकता पनि हुनुपर्छ भन्छन् क्यार, म चाँहि त्यसैमा निश्चित हुन सक्दिन। तैपनि यसलाई गजल भनेरै पस्केँ अहिलेलाई :)

मेरो विश्वासकी प्रतिमूर्ति मनभित्रकी रानी तिमी
राराको दहजस्तै शान्त तर कञ्चन पानी तिमी

हाँसो मात्रै कति मीठो ती अधरमा छचल्किएको
एकनास हेरिरहुँजस्तो लाग्ने आँखाकी नानी तिमी

झर्किँदा पनि कति मायालाग्दो गरी झर्किएकी
त्यसैले त भनेको नि, बिछट्टकी ज्ञानी तिमी

तिमी टाढा हुँदा पनि तिम्रै आभा खोजिहिँड्छु
नमेटिने, नरित्तिने सम्मोहनकी खानी तिमी

खोल्न त सकिन कहिल्यै मनका कुरा तिमीसँग
तर पनि मुटुभित्र छापिएकी मेरी कहानी तिमी

२०६५/१२/०५
पाटनढोका, ललितपुर