The Practice of Machine Design को पछिल्लो क्लास एउटा पेन्सिलको डिजाइनमाथि छलफल गरेरै बित्यो। पेन्सिल थियो - जापानको मिचुबिसी पेन्सिलले केही पहिले बजारमा ल्याएको ‘कुरु तोगा’ नामको मेकानिकल पेन्सिल। सामान्यतया मेसिन डिजाइन भन्नेबित्तिकै अलि ‘हाइफाइ’ तस्वीर नै दिमागमा आउँछ तर छाता, पेन्सिल आदिजस्ता दैनिक प्रयोगका सामान्य वस्तुमा पनि डिजाइनसम्बन्धि कति ठूला अनुसन्धानहरु भैरहेका हुँदा रहेछन्, कहिलेकाहीँ त अचम्मै लाग्छ। मान्छेले सिर्जनशील जुक्ती प्रयोग नगरेको पनि कुनै ठाउँ छैन।
मेकानिकल पेन्सिल प्रयोग गर्ने गर्नुभएको छ भने तपाईंले यसको एउटा अवगुण पक्कै पनि ख्याल गरेको हुनुपर्छ। त्यो के भने लेख्दै जाँदा पेन्सिलको लीडको एकातिरको भाग खिइँदै जान्छ र लेखाइ मोटो तथा फिक्का हुन थाल्छ। हुनत मेकानिकल पेन्सिलमा प्रयोग हुने पेन्सिलको लीडको मोटाइ आफैमा निकै थोरै (०.५ मिलिमिटरको हाराहारीमा) हुन्छ तर पनि लीडको एकातिरको भाग खिइएर लेखाइको गुणस्तर बिग्रिँदै जाने कुरा टड्कारै अनुभव गर्न सकिन्छ। यही समस्यालाई हल गर्ने जुक्ती निकालेको रहेछ मिचुबिसी पेन्सिलले।
मिचुबिसीको 'कुरु तोगा' पेन्सिल यसरी डिजाइन गरिएको छ कि जब तपाईं लेख्दै जानुहुन्छ, यसको लीड आफै घुम्दै जान्छ र लीडको सबैतिरको भाग समानरुपमा खिइने भएकाले लेखाइ एकनास रहन्छ। अब प्रश्न उठ्छ, लीड कसरी घुम्छ त? यसको लागि विशेषखालको clutch mechanism प्रयोग गरिएको छ। लेख्ने बेलामा जब पेन्सिललाई कागजमाथि राखिन्छ, त्यतिबेला लीडमा पर्ने दवाबले lead-holding chuck मा जोडिएको toothed clutch माथि उठ्छ र क्लचका दाँतीहरु एकापसमा मिल्ने क्रममा लीड केही डिग्री घुम्दछ। यो क्रम हरेकपल्ट पेन्सिल कागजबाट माथि उठ्दा र कागजमा बस्दा दोहोरिइरहन्छ।
यसको डिजाइनको बारेमा अझ विस्तृत रुपमा बुझ्नचाहिँ पेन्सिललाई फुटाउनैपर्ने देखिँदैछ। तर झन्डै एकदिनको लञ्च बराबरको रकम (३७८ येन) हालेर किनेको पेन्सिल फुटाउन मनले अझै मानिहालेको छैन :) जे होस्, यो पेन्सिलले लेख्दा एउटा रमाइलो कुरा भने अनुभव गरेँ मैले। साधारण खालको लीड पेन्सिल प्रयोग गर्दा पेन्सिल घुमाई-घुमाई लेख्ने बानी परिसकेको रहेछ। त्यसैले यो पेन्सिल प्रयोग गर्दा पनि घुमाएरै लेख्न खोजिँदो रहेछ। अब automatically पनि घुम्ने, आफूले पनि घुमाउने भएपछि त समस्या सुल्झनुको सट्टा झन् बल्झने डर पो हुँदो रहेछ :)
‘कुरु तोगा’ पेन्सिल सम्बन्धि थप जानकारीका लागि यो ब्लग मा जान सक्नुहुन्छ (अंग्रेजी ब्लगहरुको विविधता देखेर पनि लोभै लाग्छ!)। युट्यूबको यो भिडियो मा पनि राम्रो जानकारी दिइएको छ।
गजबको पद्धति विकास गरेको रहेछ है !जानकारीका लागि धन्यवाद | जापानीहरु यस्ता साना साना कुरामा ठूलो विचार पुर्याउन पोख्त छन् जस्तो लाग्छ |
ReplyDeleteप्रतिकृयाका लागि धन्यवाद चैतन्य सर। यस्तै कुरा नै जापानीहरुले हासिल गरेको प्रगतिका द्योतक हुन् जस्तो लाग्छ मलाई पनि।
ReplyDeleteका पेन्सिल को कुरा गरिरा ब्रो ?... पुल्टिस को कुरा गरम न
ReplyDeleteसबैले सधैं कति पुल्टिसको कुरा गर्ने भनेर हो हावा ब्रो। तपाईं चैँ पुल्टिसको कुरा गर्न नछोड्नुस् है। लेख्नभन्दा कमेन्ट हान्न मज्जा आउँछ क्या ;)
ReplyDeleteध्रव सर, खै के भनम् र म!! साह्रै नयाँ कुरो पर्यो कुरो गर्न पनि । खै यो मसँग भाको पेन्सिलले नि ऐसै राम्रो लेख्छ हौ त्यो तपाईँको ले जस्तै!!
ReplyDeleteहा हा हा....