Tuesday, March 17, 2015

देशको नाम राख्ने लहड र कीर्तिमानी हामी!

शायद हाम्रो 'जीन' नै त्यसैगरी विकास भैसकेको छ। हामीलाई सानो कुरा गर्न पटक्कै मन लाग्दैन। हरेक मान्छे आफ्नो पेशा-व्यवसाय आदिसँग सम्बन्धित काम र कर्तव्यहरुबाट बाँधिएको हुन्छ। त्यसमाथि पृष्ठभूमि, तालीम, अनुभव आदिका आधारमा मान्छेका आ-आफ्ना सीप, दक्षता र रुचीका क्षेत्रहरु हुन्छन्। तर हाम्रा लागि त्यस्ता काम, कर्तव्य, सीप, दक्षता, रुची इत्यादि भनेका गौण कुरा हुन्। प्रधान कुरा त 'देश बनाउने', 'देशको नाम राख्ने' पो हो। यस्तो दिव्य ज्ञान बोकेका हामीहरुले सानो कुरा गर्न कसरी जान्नु! सबुत-प्रमाणका लागि धेरै टाढा जानु पर्दैन। एउटा अनलाइन पत्रिकामा फागुन २८ (मार्च १२) मा एकैदिन छापिएका दुईवटा प्रतिनिधि समाचारहरु नै पर्याप्त छन्।

तलदेखि माथिसम्म सबैलाई 'देशको नाम राख्ने' भूत सवार भएको देशमा संविधान सभाका माननीय सभासदहरुलाई पनि 'देशको नाम राख्ने' केही काम गर्ने रहर जाग्नु अस्वभाविक भएन। त्यसैले आफूलाई प्रगति र अग्रगमनको पर्याय ठान्ने पार्टीका दुईजना 'साहसी' सभासदहरुले संविधान सभाबाट ४५ दिनको विदा लिएर सगरमाथा आरोहण गर्ने तयारी गर्दै रहेछन्। लाटो बुद्धिले हेर्दा सभासदहरुको काम, कर्तव्य वा उपलब्धि भनेको संविधान निर्माणमा उनीहरुको योगदान हो र उनीहरुका क्रियाकलापहरु त्यसैतर्फ केन्द्रित हुनुपर्ने हो। तर 'देशको नाम राख्ने' महान् बुद्धिले त्यसो भन्दो रहेनछ। यस महान् बुद्धिले त 'विश्वमै नभएको' काम गर्ने भन्दो रहेछ। निर्लज्जताको पराकाष्ठा नाघ्ने धेरै कामहरु संसारमा हुन बाँकी नै छन्। त्यस्तै एउटा 'अनुपम' काम होला, आफ्नो जिम्मेवारीलाई विद्रुप ठट्टा बनाउँदै सगरमाथाको टाकुरामा पुगेर 'विश्वमा नयाँ सन्देश' दिने पनि। पर्वतारोहण आफैमा एउटा साहसिक काम हो, त्यसमा पनि सगरमाथाको शिखर चुम्ने काम त पर्वतारोहणमा लामो अनुभव र रुची भएकाहरुका लागि समेत एउटा ठूलो र रोमाञ्चक चुनौती हो भन्ने कुरामा शंका छैन। तर त्यही काम आफ्नो तोकिएको काम र कर्तव्यको खिल्ली उड्ने गरी कसैले गर्छ र उल्टो 'रेकर्ड' राख्छु भन्छ भने त्योभन्दा ठूलो पाखण्ड के होला! फेरि एकपछि अर्को गरी यस्तै पाखण्डी क्रियाकलापहरु 'अनुमोदन' गरेर हामीले तर्कसंगत र तर्कहीन कुराहरुबीचको भेद पनि मेटिसकेका हौँ कि! कुरा पक्कै पनि यी दुईजना सभासदहरुको मात्रै होइन। कुरा त आफ्नो काम, कर्तव्य र जवाफदेहिताबाट च्यूत हुँदै 'देशको नाम राख्ने' लहडबाजहरुको हो र त्यस्तो लहडबाजीलाई संस्थागत गर्ने हाम्रा राजनीतिक दलहरु, नागरिक समाज, संचारमाध्यम र पछिल्ला वर्षहरुमा हामीले विकास गरेको समग्र 'संस्कार' को हो।

सगरमाथालगायत हाम्रा मनोरम हिमश्रृंखलाहरु अवलोकन गर्न, पदयात्रा आदि गर्न नेपाल आउन चाहने थुप्रै पर्यटकहरु सिधा हवाइसम्पर्कको अभावमा वैकल्पिक गन्तव्य खोज्न बाध्य छन्। सिधा हवाइसम्पर्कको अभावका बाबजुद नेपाल आउन चाहने पर्यटकहरु समेत देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको 'ख्याती' सुनेर उतै रोकिने वा केही गरी नेपाल आइहाले पनि यहाँको बेथिति र चरम अव्यवस्था देखेर 'खुइय्य' गर्दै फर्कनुपर्ने स्थिति छ। अरु कुरा छाडेर सगरमाथाकै मात्र कुरा गर्दा पनि पछिल्लो समयमा त्यहाँ फोहरमैला व्यवस्थापनलगायतका वातावरणीय समस्याहरु टड्कारोरुपमा देखिन थालेका खबरहरु आइरहेका छन्। यस्ता समस्याहरुका विषयमा संवेदनशील हुँदै तिनको समाधानका लागि सिर्जनात्मक प्रयास गरेर 'विश्वलाई नयाँ सन्देश' दिनेतर्फ हाम्रो ध्यान जाँदैन। बस्, एउटा उट्पट्याङ काम गर्‍यो, सकिन्छ भने त्यसकै नाममा जनताले आफ्नो गास काटेर तिरेको कर दुरुपयोग गर्‍यो अनि त्यसैलाई 'महान्' र 'ऐतिहासिक' भन्यो, हामीले जानेको-सिकेको यत्ति हो क्यारे! हाम्रो 'चेतनास्तर उठेको' पनि यही हो क्यारे!       

त्यसैदिनको अर्को समाचार अनुसार 'नेपाललाई विश्वमा चिनाउन' विश्व साइकलयात्रामा निस्केका एकजना नेपाली अमेरिकाको ग्रीनकार्ड लिएर उतै एउटा रेस्टुरेन्टमा काम गर्दै बस्न थालेका रहेछन्। औपचारिक रुपमा देशको प्रतिनिधित्व गर्दै विदेश जाने र सोही 'मौका' मा उतै भासिने खेलाडी, कलाकारदेखि देशको उच्च ओहोदामा पुगिसकेर पनि विदेशमा 'शरणार्थी' हुन किञ्चित संकोच नमान्ने नेता, राजदूतसम्मको कमी नभएको देशमा एकजना साइकलयात्रीको बारेमा आएको यो समाचार नयाँ भए पनि खासै आश्चर्यजनक भने छैन। आश्चर्यजनक त हामीले समाजमा स्थापित गरेको 'देशप्रेम' को मानक छ। अन्य थुप्रै सोख र रुचीजस्तै हो साइकलयात्रा पनि। त्यसैले साइकलयात्रामा रुची राख्ने मान्छे आफ्नो साइकल लिएर देशभित्र वा विदेशसम्म यात्रामा निस्कनु अनौठो कुरा होइन। फेरि उसको यात्राका लागि केही मनकारीहरुले थोरैधेरै आर्थिक सहयोग गर्छन् भने त्यो पनि अनौठो कुरा भएन। तर यस्तो साइकलयात्रालाई कसैले 'देशको नाम राख्न' को लागि गरेको भन्छ र उसलाई सहयोग गर्नेहरुले पनि 'देशको नाम राख्ने' गहिरो भावनामा डुबेर सहयोग गर्छन् भने त्योचाहिँ अनौठो कुरा हो। यसो भनिरहँदा मैले साइकलयात्राका माध्यमबाट बाँड्न सकिने केही सन्देश र प्रचारप्रसारका कुरालाई पूरै नकार्न खोजेको होइन। तर यस्ता यात्रा वा क्रियाकलापहरुलाई आवश्यकताभन्दा बढी देशप्रेम र देशको चिनारीसँग जोड्नुचाँहि हाम्रो मूर्खता मात्रै हो।

यी प्रतिनिधि समाचारहरुले उदाङ्गो पार्छन, देशप्रेम वा देशको नाम राख्ने कुरा कति हलुका छ हाम्रो लागि। तर निर्मम सत्य के हो भने जबसम्म विश्व मानचित्रमा हामी 'भिखारी देश' को हैसियतबाट माथि उठ्न सक्दैनौँ, तबसम्म हामीले 'विश्वलाई दिने सन्देश' एउटा कारुणिक 'ठट्टा' भैरहनेछ। 'भिखारी' को देशको हैसियतबाट माथि उठ्न भने हामी आफ्नो स्वैरकल्पनाको संसारबाट बहिर निस्कन सक्नुपर्छ। हामीले हाम्रो वर्तमान सम्पन्न र गर्वलायक बनाउन सक्यौँ भने सगरमाथा र लुम्बिनी नेपालमा छन् भनेर विदेशीहरुसँग व्यग्र भएर भनिरहनै पर्दैन। सगरमाथा र लुम्बिनीको सन्देश विश्वलाई दिने भनेर नानाथरि उट्पट्याङ पनि गर्नु पर्दैन। हामीले साँचो अर्थमा उपलब्धिपूर्ण काम गर्न सक्यौँ भने त्यसको सन्देश लिन मान्छेहरु आफै आउने छन्, हामीले 'हाम्रो सन्देश लिइदिनुहोस्' भनेर उनीहरुसँग रोइकराइ गर्नुपर्ने आवश्यकतै पर्ने छैन।

देशको चिनारीका लागि पहिलो र अपरिहार्य कदम भनेको हामी आफ्नै काम-कर्तव्यमा लगनशील र इमान्दार हुनु हो। जुन दिनदेखि हामी सबैले 'देश बनाउने काम' छोडेर आ-आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न थाल्ने छौँ, त्यो दिनदेखि देश आफैँ बन्न थाल्नेछ वा कम्तीमा देश बन्ने लक्षणहरु देखिन थाल्ने छन् । देश बन्ने र चिनिने सिर्जनात्मक र उत्पादनमूलक कामहरुले हो, सस्तो प्रचारका लागि गरिने 'कीर्तिमानी' कामहरुले होइन। हामी सबैको घैँटोमा बेलैमा घाम लागोस्!

तस्वीर श्रोत: http://www.cartoonstock.com/directory/m/mountaineering.asp

 (मार्च १५, २०१५)

Friday, January 23, 2015

दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

धेरैले भनेजस्तै,
धर्तिको यो कुनामा धेरै चिज बदलियो
अन्धकार वस्ती बञ्जर खेतहरुबीच बग्ने
यहाँका नदीहरुमा पानी मात्र बगेन
थुप्रै नेपालीको रगत आँशु पनि बग्यो
पानी, रगत आँशुभन्दा वेगले शायद समय बग्यो
समयले धेरै चिज लछारेर बग्यो, पछारेर बग्यो
जुग बदल्छौँ भन्नेहरु
जुग के साँझ पनि नढल्दै आफै बदलिए
तर कठै! समय बगेर जहाँ पुगे पनि
हाम्रो नियति भने जमिरह्यो - एकनाससँग, एकतमाससँग
त्यसैले आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

अहो! कस्तो जीवन्त हुन्थ्यो दाइको कविता
शब्द-शब्दमा कसरी ज्यान भर्नुहुन्थ्यो उहाँ
उहाँ चट्टान फुटाएर फूल फुलाउने कुरा गर्नुहुन्थ्यो
पहरा रसाएर मूल फुटाउने कुरा गर्नुहुन्थ्यो
मक्किएको थोँत्रो घर भत्काएर
नयाँ सुन्दर घरको जग खन्ने कुरा गर्नुहुन्थ्यो
भोको पेटलाई खाना नाङ्गो आङलाई नाना
जोहो गर्ने कुरा गर्नुहुन्थ्यो
त्यो सबै गर्न नयाँ बलिदानको कुरा गर्नुहुन्थ्यो
हामी जुरुक्क उचालिन्थ्यौ उहाँको कविता सुन्दा।

मन छुने विम्ब प्रतीकहरु
विछट्टै राम्रोसँग मिलाएर सुनाउनुहुन्थ्यो उहाँ
कलात्मक भाषा जोशिलो शैलीमा
नवचेतनाको बिगुल फुक्नुहुन्थ्यो उहाँ
त्यहाँ आगोको भुङ्ग्रोमा खारिने सुनका कुरा हुन्थे
जस्तै आँधीहुरीमा पनि अविचल उभिने
सतिसालका कुरा हुन्थे
दाइको त्यो शब्दशिल्प यथावत्   
आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

विधिको विडम्बना वा हाम्रो युगको क्रुर ठट्टा!
समयले जस्तोसुकै कोल्टो फेरे पनि
मेरो दाइको कविता बदलिएको छैन
बदलिएको छैन दाइको कविताभित्रको उर्जा
बदलिएका छैनन् दाइको कविताभित्रका सपनाहरु
बदलिएको केवल दाइको कविताको सान्दर्भिकता
दाइको कविताभित्रको इमान्दारिता
हिजो दाइ कालोलाई कालो भनेर लेख्नुहुन्थ्यो
सेतोलाई सेतो भनेर लेख्नुहुन्थ्यो
आज यावत् खैरो चिजलाई
दाइ मुटु निचोरेर कालो सेतो बनाउनुहुन्छ
बलात्कृत आस्था विश्वासलाई सग्लो देखाउन
आफ्नै आँखामा कालो पट्टी बाँध्नुहुन्छ
पूर्ववत् मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

सपना देखाउनेहरुले नै
सपनाहरु विरुप बनाइदिएपछि
तिनै विरुप सपनाहरुको बुइ चढेर
'एक्काइसौँ शताब्दी' को श्रीपेच पहिरिएपछि
पाखण्ड बनिसकेका छन्
तिनले जप्ने विज्ञान शास्त्रहरु
तिनले जोडतोडले खोक्ने मूल्य मान्यताहरु
तर यो सबै फगत दुष्प्रचार लाग्छ मेरो दाइलाई
आस्था विश्वासमा तथ्य तर्क खोज्नेहरुलाई
अचेल मेरो दाइ आँखामा फुलो परेको भनिदिनुहुन्छ
अवसरवादी, दलाल, भगौडा आदि करार गरिदिनुहुन्छ
अनि नयाँ जोश जाँगरमा
उहाँ अर्को एउटा 'युगीन' कविता कोर्न बस्नुहुन्छ
मलाई विश्वास गर्नुस्,
आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ

तस्वीर श्रोत: http://www.cartoonstock.com/

 (जनवरी २२, २०१५)

Friday, November 21, 2014

सार्क सम्मेलनमा विदा र राज्य सञ्चालनको हाम्रो मानसिकता

देश अहिले सार्क सम्मेलनमय भएको छ। आफ्नो लागि आफैले र समयमा कहिल्यै केही नगर्ने पुस्तैनी संस्कार बोकेका हामीहरु यही सार्क सम्मेलनको बाहनामा बाटो टाल्दैछौँ, बाटो छेउछाउ लिपपोत गर्दैछौँ र दुइचारवटा सरकारी भवन सजाउँदैछौँ। देशको प्रशासनिक केन्द्रविन्दु भनिने सिंहदरबारका खुइलिएका भित्ता र चुहिएका छाना रङरोगन र मर्मत गर्न त छिमेकी देशको सरकार प्रमुखको भ्रमण वा सार्क शिखर सम्मेलनजस्तो अवसर कुर्नुपर्ने हाम्रा लागि दुई-चार दिनकै लागि भए पनि राजधानी सिँगारिनु राम्रै मान्नुपर्ला। तर सार्क सम्मेलनको नाममा भइरहेका केही उदेकलाग्दा कृयाकलापहरु देख्दा भने हाम्रा राज्यसञ्चालकहरुको गैरजिम्मेवारीताले पराकाष्ठा नै नाघेको हो कि भन्ने अनुभूति भएको छ।

सार्क सम्मेलनमा सार्वजनिक विदा दिने तयारी हुँदै गरेको समाचार पहिलोपल्ट एउटा अनलाइन पत्रिकामा पढ्दा लागेको थियो, यो कामचोर प्रवृत्तिका केही कर्मचारीहरुले फैलाएको हल्ला मात्र होला। यसै त सार्वजनिक विदाको संख्या कहालीलाग्दो गरी बढी छ, त्यसमाथि सभा-सम्मेलनको नाममा पनि विदा थप्ने? यस्तो 'मजाक' होला भनेर पत्यार लागेको थिएन। तर आफै कामचोरी र अनुत्तरदायीताको पर्यायको रुपमा रहेको हाम्रो सरकारले एउटा सम्मेलनका नाममा काठमाडौं उपत्यकामा दुई-दुई दिन सार्वजनिक विदा दिने घोषणा गरिछाडेछ। अझ शैक्षिक संस्थाहरुमा त चार-चार दिन विदा दिइने रे। त्यतिले नपुगेर देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि दिउँसोको समयमा बन्द रहने रे। अनि यो सबै सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षा र सवारी साधन व्यवस्थापनका लागि रे। कतिसम्मको जगहँसाइ! कतिसम्मको निकम्मा हाम्रो राज्यप्रणाली! सार्क सम्मेलनमा जम्मा हुने दुई-चार सय (वा ल एकछिनलाई दुइ-चार हजार नै मानौँ) पाहुनाको व्यवस्थापनको लागि हाम्रा सारा सरकारी कामकाज नै बन्द गर्नुपर्ने? हाम्रा शैक्षिक संस्थाहरुको पठनपाठन नै ठप्प पार्नुपर्ने? कस्तो निर्लज्ज तर्क हो यो? हाम्रा सुरक्षा संयन्त्रहरु अनि सम्मेलन व्यवस्थापकहरु त्यो हदसम्म नालायक रहेछन्?

हो, सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाहरुको सुरक्षा संवेदनशीलता बुझ्न सकिन्छ। त्यसमाथि काठमाडौंको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण छ। तर यति संवेदनशीलता र चुनौतीलाई पनि उचित तवरले संवोधन गर्न नसक्ने सरकारले सार्क सम्मेलन आयोजना गर्ने आँट नै किन गर्नु? सार्क सम्मेलनको तयारीको शुरुवातमा यो सम्मेलन पोखरामा गर्न लागिएको चर्चा सुनिएको थियो। सम्मेलन पोखरामा आयोजना गर्न सकिएको भए यसकै बाहनामा भए पनि केही भौतिक संरचनाहरु पोखरामा निर्माण हुन्थे होलान्। काठमाडौंको तुलनामा सानो शहर भएकोले सुरक्षा बन्दोबस्त र ट्राफिक व्यवस्थापनमा पनि सहजता हुन्थ्यो होला। त्योभन्दा पनि बढी त सम्मेलनको क्रममा पोखराको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हुने चर्चा-परिचर्चाले त्यहाँको पर्यटनलाई कति धेरै बढावा दिन्थ्यो होला। तर हर विषयमा काठमाडौंकेन्द्रित सोँच पालेर बसेको अकर्मण्य कर्मचारीतन्त्रको रोजाइमा पोखरा पर्न सकेन। पोखरामा पर्याप्त भौतिक संरचना नभएको र अरु के-के बाहना बनाइयो, र फेरि पनि सार्क सम्मेलनको भारी काठमाडौंलाई नै बोकाइयो। परिणामस्वरुप अहिले दुई दिनदेखि चार दिनसम्मको सार्वजनिक विदाको बम्पर उपहार पनि काठमाडौंको पोल्टामा थपिएको छ।

केही अघिसम्म हामीकहाँ बन्दको नाङ्गो आतङ्क चल्ने गर्थ्यो (संविधान लेखनका मुद्दाहरु पेचिला बन्दै जाँदा र संविधान निर्माणको समयसीमा नजिकिँदै गर्दा बन्दको मौसम फेरि शुरु नहोला भन्न सकिन्न)। शायद त्यस्ता बन्दको 'क्षतिपूर्ति' सरकार स्वयम् गर्न खोज्दैछ यसपाली काठमाडौंबासीका लागि। बन्दको बेला त झिनै भए पनि विरोध हुने गर्छ, एक दिन बन्द हुँदा देशको अर्थतन्त्रमा यति र उति नोक्सान भएको भनेर हिसाब निकालिन्छ। तर यस्ता सरकारी विदामा भने शायद सबैलाई 'हाइसञ्चो' हुने रहेछ। नत्र खै मनपरी सार्वजनिक विदाको औचित्यमथि कुनै प्रश्न? खै यस्ता विदाले हाम्रो उत्पादकत्व र समग्र अर्थतन्त्रमा पार्ने दुष्प्रभावबारेको बहस? खै हाम्रा नानीहरुको पढाइलेखाइ र शैक्षिक क्यालेन्डरमा पर्ने असरबारेको चिन्ता? बरु सामाजिक सञ्जाल वा समाचार पोर्टलहरुतिर हेर्यो भने यस्ता 'जन-आवाज' सुन्न पाइन्छ - काठमाडौं उपत्यकामा मात्रै विदा किन, काठमाडौं बाहिरकालाई किन भेदभाव गरेको? विदा दुई दिन होइन, चार दिन नै दिएको भए राम्रो हुन्थ्यो; विदा सरकारी अड्डामा मात्र होइन, निजी क्षेत्रमा पनि अनिवार्य गर्नु पर्यो; इत्यादि। धन्य छ हाम्रो मध्ययुगीन मानसिकता! हामीमा चेतना कहिले आउला? हामी हाम्रो पछौटेपन, कामचोर प्रवृत्ति र समग्र दरिद्रतामाथि साँच्चिकै लाज मान्न सक्ने कहिले बनौँला? अल्बर्ट आइन्स्टाइनले त्यसै भनेका होइन रहेछन् - ब्रह्माण्डको विशालताको बरु सीमा होला, मान्छेको मूर्खताको कुनै सीमा छैन। 


(नोभेम्बर १९, २०१४)

यो लेख मेरो संसारमा पनि पढ्न सक्नुहुनेछ। 

Sunday, March 24, 2013

रेलगाडीको कथा र टोकियोको नयाँ वसन्त

'रेलै घुमेर, गयो दाजुको आधी उमेर...' राम थापा र सुनिता सुब्बाले गाएको यो सुमधुर लोकगीत सम्झनामा धेरैपल्ट गुञ्जन्छ - सन्दर्भ फरक भए पनि कता-कता आफैँप्रति लक्षितजस्तो लाग्ने गरी। टोकियोको झण्डै चार वर्षको बसाइ अवधिमा सयौँ हैन, हजारौँ घण्टा रेलगाडीको यात्रामा बिताइए होला। जापान, त्यसमाथि पनि टोकियोजस्तो ठूलो शहर, -मा राम्रो सार्वजनिक सवारी सुविधा (खासगरी ट्रेन) का बाबजुद दैनिक आवतजावतमा खर्च हुने समयको तुलनात्मक तस्वीर यहाँ भेट्न सकिन्छ। जेहोस्, रेलगाडी अभिन्न हिस्सा भएको छ दैनिक जीवनको। त्यसमध्ये पनि ओदाक्यु लाइन त 'आफ्नै' जस्तो लाग्ने भैसक्यो। टोकियोमा पाइला टेकेकै दिनदेखि शुरु भएको यो लाइनको यात्रा अहिलेसम्म पनि उसै गरी जारी छ। सधैं चढ्ने यही ओदाक्यु लाइन हिजो चढ्दा भने एक किसिमको नयाँ उत्साहका साथ चढियो। आफू सधैं हिँड्ने रुटमा पर्ने तीनवटा स्टेशनमा जमीनमाथिको ट्र्याकको सट्टा नयाँ विस्तार गरिएको भूमिगत ट्र्याक भएर ट्रेनमा यात्रा गर्दा जीवनमै पहिलोपल्ट भूमिगत ट्रेनमा यात्रा गरेभन्दा पनि बढी रोमाञ्चक अनुभव भयो। यो ट्र्याक विस्तारको काम मैले ओदाक्यु लाइन प्रयोग गर्न थालेदेखि नै भैरहेको थियो तर आफू पनि यसबाट लाभान्वित हुनेमध्ये परिएला भन्नेचाहिँ निश्चित थिएन। तर केही हप्ताअघि ट्र्याक विस्तारको काम सम्पन्न भै मार्च २३ तारिखबाट सञ्चालनमा आउने भन्ने सूचना देखेपछि भने मन चञ्चलजस्तै भयो। त्यो चञ्चलता त हिजो सकियो तर अर्को गजबको अनुभव पनि हिजै गर्न पाइयो। यति ठूलो निर्माण कार्य र परिवर्तनको काम पनि नियमित सेवामा बिना कुनै अवरोध गर्न सकिने रहेछ। अस्ति राती १ बजेसम्म ट्रेनहरु जमीनमाथिबाट हिँडिरहेका थिए, तर हिजो बिहान ५ बजेसम्ममा भूमिगत रुपमा ट्रेनहरु हिँड्ने र यात्रुहरु चढ्न-ओर्लन मिल्ने गरी सबै परिवर्तन सम्पन्न भैसकेछ। धन्य हो प्रविधि र धन्य हुन् प्रविधि तिखार्ने ती हातहरु!

भूमिगत भैसकेपछि सिमोकिताजावा स्टेसन (ओदाक्यु लाइन) को एक दृश्य

'भूमिगत' ओदाक्यु लाइनको यात्राका साथै हिजो अर्को उत्साहको विषय थियो - साकुरा फूलको दर्शन। यसपाली एक्कासी बढेको तापक्रमले वसन्तको रौनक चाँडै ल्याइदियो टोकियोमा। त्यसैले प्राय: अप्रिलको पहिलो-दोस्रो सातातिर फुल्ने साकुरा यो वर्ष भने मार्चको तेस्रो हप्तातिरै ढकमक्क फुल्यो। यही साकुराका केही बान्कीहरु समेट्ने सानो प्रयास तलका तस्वीरहरुमा गरेको छु। यी तस्वीरहरु टोकियो राजप्रासादनजिकैको चिदोरी-गा-फुचीमा लिइएका हुन्।  





Wednesday, October 26, 2011

उता गद्दाफीको महान् राष्ट्रप्रेम, यता हाम्रा बाबुरामको राष्ट्रघात

भर्खरै मारिएका लिबियाली तानाशाह मुअम्मर गद्दाफी र उनको पालाको लिबियाका बारेमा फेसबुक लगायत इन्टरनेटका विभिन्न साइटहरुमा एउटा यस्तो टिपोट पढ्न पाइने रहेछ (भाषा जस्ताको तस्तै):

1. There is no electricity bill in... Libya; electricity is free for all its citizens.

2. There is no interest on loans, banks in Libya are state-owned and loans given to all its citizens at 0% interest by law.


3. Home considered a human right in Libya – Gaddafi vowed that his parents would not get a house until everyone in Libya had a home. Gaddafi’s father has died while him, his wife and his mother are still living
in a tent.

4. All newlyweds in Libya receive $60,000 Dinar (US$ 50,000) by the government to buy their first apartment so to help start up the family.


5. Education and medical treatments are free in Libya. Before Gaddafi only 25% of Libyans are literate. Today the figure is 83%.


6. Should Libyans want to take up farming career, they would receive farming land, a farming house, equipments, seeds and livestock to kick- start their farms – all for free.


7. If Libyans cannot find the education or medical facilities they need in Libya, the government funds them to go abroad for it – not only free but they get US $2, 300/mth accommodation and car allowance.


8. In Libyan, if a Libyan buys a car, the government subsidized 50% of the price.


9. The price of petrol in Libya is $ 0. 14 per liter.


10. Libya has no external debt and its reserves amount to $150 billion – now frozen globally.


11. If a Libyan is unable to get employment after graduation the state would pay the average salary of the profession as if he or she is employed until employment is found.


12. A portion of Libyan oil sale is, credited directly to the bank accounts of all Libyan citizens.


13. A mother who gave birth to a child receive US$ 5 ,000.


14. 40 loaves of bread in Libya costs $ 0.15.


15. 25% of Libyans have a university degree.


16. Gaddafi carried out the world’s largest irrigation project, known as the Great Man-Made River project, to make water readily available throughout the desert country.

यो टिपोट पढ्दा लाग्छ, लिबिया कुनै रामराज्य नै रहेछ र गद्दाफी त्यहाँका प्रजापालक राजा रामचन्द्र नै रहेछन्। त्यही भएर त होला, केही साथीहरुलाई लागेछ, गद्दाफी शासनको पतनमा लिबियाली जनमतको कुनै भूमिका रहेनछ। अझ कतिपय साथीहरुको तात्तातो प्रतिक्रिया त नेपालमा पनि गद्दाफीजस्तो शासक चाहियो भन्नेसम्मको रहेछ। हुनत माथिको टिपोटमा उल्लेख भएका अधिकांश तथ्यहरु सही पनि हुन सक्छन्, तर सहज-चेतना भएको जोकसैले पनि बुझ्न सक्ने कुरा के हो भने यी तथ्यहरुले यथार्थको एउटा पाटो मात्रै देखाउँछन्। यथार्थको अर्को पाटो कुरुप र भद्दा नभएको भए 'राजाहरुका पनि राजा' भनेर विभुषित एउटा तानाशाहको मरण यस्तो किसिमले हुँदैनथ्यो होला। निश्चय पनि लिबियाको गृहयुद्ध र गद्दाफीको पतनमा अमेरिकालगायत पश्चिमेली राष्ट्रहरुको भूमिका र 'तेल राजनीति' कसैबाट छिपेको छैन। तर त्यसकै भरमा गद्दाफीलाई महान् राष्ट्रवादी 'हिरो' देख्नु चाहिँ फोस्रो रुमानी सोँचबाहेक केही पनि हुन सक्दैन।

संसारको इतिहासले देखाएको छ, जस्ता मिठा नारा दिए पनि तानाशाहहरु मूलत: तानाशाह नै हुन्छन्। विचित्र-विचित्रका सोख, सनक र दुस्साहस धेरैजसो तानाशाहका साझा विशेषता हुने गर्छन्। गद्दाफी त झन् यस मामिलामा अग्रपंक्तिमै देखिन्छन्। जहाँ जाँदा पनि पाल टाँगेर बस्नुपर्ने उनको जीवनशैली (उदाहरणका लागि) कसैलाई ढोँगी विलासिता नलागेर 'समाजवाद' लाग्छ भने कुरा बेग्लै हो। 

गद्दाफीको राष्ट्रवादको चर्चा गर्दा यता हाम्रो आफ्नै राष्ट्रवादको प्रसङ्गलाई पनि छुटाउनु भएन। भनिरहनु पर्दैन कि हाम्रा लागि राष्ट्रवाद भनेकै दक्षिणी छिमेकीको ओँठे विरोध हो। त्यो ओँठे विरोध पनि दास मनोवृत्तिको राजनीतिक नेतृत्वले फगत आफ्नो दाउ मिलाउनका लागि हामीलाई सिकाइदिएको। हामीलाई हाम्रो हेपाहा र मिचाहा छिमेकीप्रति साँच्चिकै पेच र इख हुँदो हो त, हाम्रो अवस्था अर्कै भैसक्थ्यो होला। हामीले आफ्नो मान र शान बढ्ने गरी आफूलाई समृद्ध र सबल बनाइसकेका हुन्थ्यौँ होला। तर हामी 'वीर गोर्खाली' न पर्‍यौँ, हामीलाई त आफ्नै आङ कन्याएर छारो उडाउँदैमा फुर्सत छैन। त्यही भएर त नेपाल आफैँले यसअघि अन्य पाँच देशसँग गरिसकेको र भारतले अन्य ८० देशसँग गरिसकेको 'लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता' जस्तो सामान्य अन्तर्राष्ट्रिय प्रचलनको सम्झौतामा हस्ताक्षर हुँदा समेत 'भारतीय विस्तारवाद' का विरुद्ध हाम्रो राष्ट्रवाद कोकोहोलो मच्चाउन पुग्छ। हामीलाई सम्झौता राम्रोसँग पढ्ने धैर्य हुँदैन, सम्झौताको विकल्प के हो र अगाडि बढ्ने दिशा कुन हो केही हेक्का हुँदैन, तर हामीलाई राष्ट्रियताको उही बासी नारा घन्काउन मन लागिहाल्छ। धन्य हो हाम्रो बोक्रे स्वाभिमान, धन्य हो हाम्रो खोक्रो राष्ट्रवाद!

माओवादीभित्रका केही शास्त्रीयतावादीहरु, रामचन्द्र पौडेलहरु वा माधव नेपालहरुले बाबुरामलाई एक नम्बरको राष्ट्रघाती करार गर्दासम्म त खासै अनौठो लागेको थिएन, तर बाबुरामलाई 'दोस्रो मातृका' सिद्ध गरिदिने प्रा. र डा. को लुर्को जोडिएका केही 'बुद्धिजीवीहरु' का वाणी सुनिसकेपछि भने एकजना ब्लगर मित्रले केही पहिले भनेजस्तै यी देश र समाजप्रति उत्तरदायी साँच्चैका बुद्धिजीवी हुन् कि केवल बुद्धिवेश्या हुन्, म पनि विलखबन्दमा परेको छु। कवि श्यामलको 'लुतो' कविताका यी पंक्तिहरुमा भनिएको लुतो कन्याइ र हाम्रो राष्ट्रियताको डम्फू बजाइ उस्तै-उस्तै पो हुन् कि!

बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेख्ने औँलाहरूले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।

पुनश्च: उज्यालो, समृद्धि तथा दाजुभाइ-दिदीबहिनीबीचको अगाध स्नेहको प्रतिक हाम्रो महान् चाड तिहारको उपलक्ष्यमा यहाँहरु सबैमा हार्दिक मङ्गलमय शुभकामना! 

Friday, September 23, 2011

फुजीसानको टाकुरामा लै लै. . .

[ब्लगलाई चटक्कै माया मारेजस्तो भएको अचेल। आफूले केही लेख्न पाइएको , छिमेकी ब्लगहरुतिरै मजाले 'खुट्टा तन्काउन' निस्कन पाइएको छ। त्यसो मेरो दैनिकी पनि अझै नियमित स्वरुपमा आउन सकेको छैन, पछिल्ला केही महिनादेखि। खासमा यसबीचमा मास्टर्स तहको थेसिस तयार पार्ने कामले स्वभाविकरुपमा बढी व्यस्त बनायो। गएको अगस्ट ३१ मा थेसिस डिफेन्स सकिएपछि अलिक फुर्सदिलो भइएला कि भनेको फेरि अहिले चलिरहेको इन्टर्नसिपले उत्तिकै बेफुर्सदी बनाइदिएको छ। टोकियोदेखि योकोहामासम्म आउजाउ गर्दा दिनको झन्डै चार घण्टा ट्रेनमा अर्को नौ-दश घण्टा कार्यस्थलमा बित्ने भएपछि बाँकी समय नित्यक्रिया निद्रादेवीलाई चढाउनु कि अर्थोक केही गर्नु! खैर, जापानजस्तो व्यस्त देशको टोकियोजस्तो तीव्र गतिमा हुइँकिने शहरमा अरुचाहिँ फुर्सदमै छन्, ममात्रै अचाक्ली व्यस्त छु भनेजस्तो गरी यसबारेमा थप चर्चा भने नगरुम् होला अहिलेलाई! :) तर पनि मे मा ताकाओसानको बारेमा लेखेको टाँसोपछि एकैचोटि आज मात्र - त्यो पनि हाइकिङकै बारेमा - नयाँ टाँसो टाँस्ने संयोग जुराउन सकेकोमा अलिकति भूमिका बाँध्नैपर्‍यो :)]

जापानको सबैभन्दा अग्लो तथा कुनै कुशल कालिगढले धर्ती खोपेर तयार पारेजस्तो लाग्ने चिटिक्क आकार मिलेको फुजीसान (फुजी पहाड) (३,७७६ मिटर) जापानीहरुमाझ त अत्यधिक लोकप्रिय छ नै, विदेशीहरु पनि यसको सौन्दर्यको बखान गरेर थाक्दैनन्। हुनत शुरु-शुरुमा जापानीहरु फुजीसान-फुजीसान भनेर अति नै 'नाटक' गर्छन् जस्तो पनि लाग्थ्यो, तर केही समयअघि हाकोने घुम्न गएको बेला त्यहाँबाट देखिएको फुजीसानको अद्वितीय दृश्यले भने म आफैँ पनि असाध्यै रोमाञ्चित र मन्त्रमुग्ध भएको थिएँ। यही फुजीसान चढ्न जाने तारतम्मे मिल्यो गएको सेप्टेम्बर १० र ११ को सप्ताहान्तमा। 

फुजीसान चढ्ने हाम्रो टोली ठूलै थियो - जापानी र विदेशीहरु गरी झन्डै ५० जना जति। त्यसमा ८ जना त हामी नेपाली नै थियौँ, त्यसैले हाम्रो आफ्नै हालीमुहाली थियो। :) १० तारिख बेलुका टोकियोबाट प्रस्थान गरेको हाम्रो टोली करिब तीन घण्टाको बसयात्रापश्चात् राति नौ बजेतिर फुजीसानको बेस स्टेसन (खावागुचीको रुटमा पर्ने स्टेसन नं. ५) (२,३०५ मिटर) मा पुगेपछि फुजीसानको आरोहण शुरु भयो। रातभरि उकालो उक्लेर भोलिपल्ट बिहान फुजीसानको टाकुराबाट ५:१८ को सूर्योदय हेर्ने योजनामा थियौँ हामीहरु। 

आकाश छ्याङ्ग खुलेको जुनेली रात र अगाडि-पछाडि मान्छेहरुको लर्को हुनाले रातिपख हिँडेकोजस्तो खासै अनुभव नभए पनि कति उकालो चढियो र अझै कति बाँकी छ भन्ने मेसो भने केही नपाइने रहेछ। फुजीसानको टाकुरासम्म पुग्न पाँचौँ स्टेसनबाट दशौँ स्टेसनसम्म पुग्नुपर्नेमा शुरुको छैठौँ स्टेसन आउनै झन्डै दुईघण्टा लाग्दा त फुजीसानको उकालोले सातो नै लेलाजस्तो भयो। तर छैठौँ स्टेसनपछि सातौँ स्टेसन भने थाहै नपाइने गरी केहीबेरमै आइपुग्यो। अनि त केही माथि बलिरहेको बत्ति र त्यहीँनेर पुगेर टुङ्गिएकोजस्तो देखिने फुजीसानलाई औँल्याउँदै अब यस्सो दौडियो भने एकछिनमै टाकुरामा पुगिने रहेछ भन्ने 'अड्कलाइजेसन' गर्न पनि पछि परिएन। त्यही बेला एकजना साथीले भन्ने गरेको 'नाथे फुजीसान' को पनि सम्झना भयो। तर फुजीसानको टाकुरा त्यति नजिक त कहाँ थियो र! आठौँ स्टेसन कटेपछि भने बल्ल बाँकी उकालोको अलिअलि रुपरेखा थाहा भयो। यसबीचमा सुरक्षाका लागि बाटोको छेउमा राखिएको डोरीको साहरा लिँदै चट्टानमा सुरेली खेलेजस्तै गरी चढ्नुपर्ने उकालोले फेरि एकचोटि तर्स्याउन भ्याइसकेको थियो। धन्न, आठौँ स्टेसनपछिको उकालो लामो भए पनि चढ्न भने उस्तो अप्ठ्यारो रहेनछ। 

अन्तत: बिहानको झिसमिसेसँगै हामी फुजीसानको टाकुरासम्म उक्लन सफल भयौँ। बढ्दै गरेको उज्यालोमा बल्ल हामीहरु अनुभव गर्दै थियौँ, ज्वालामुखी चट्टानबाट बनेको पहाड कस्तो हुँदो रहेछ। फुजीसान टाढाबाट हेर्दाजस्तो वा तस्वीरहरुमा देखिनेजस्तो कहाँ रहेछ र! नजिक पुग्दा त यो डढेको रातो माटो, ढुङ्गा, बालुवा र खरानीकोको थुप्रो पो रहेछ! तर फुजीसानको विशेषता भन्नु नै यसको सममितीय (symmetrical) कोणाकार (अझ frustum को आकार भन्नु बेस हुन्छ होला) हो जसले गर्दा जताबाट जसरी हेर्दा पनि यो उत्तिकै राम्रो देखिन्छ। त्यसमाथि हिउँदयाममा हिउँको टोपीले छोपिँदा देखिने यसको अद्भूत सौन्दर्य त छँदैछ। जेहोस्, फुजीसानको टाकुरामा पुगेको केहीबेरमै हाम्रो बहुप्रतिक्षित घडी आइसकेको थियो अर्थात् पूर्वको क्षितिजमा लालीमा भर्दै सूर्यनारायण बिस्तारै आकाशतर्फ उक्लँदै थिए। त्यो क्षण थप आनन्ददायी र रोमाञ्चक यसकारण पनि थियो कि हामी 'सूर्योदयको देश' को सबैभन्दा अग्लो भागमा बसेर सूर्योदयको दृश्यास्वादन गरिरहेका थियौँ। हामी विशेष कृतज्ञ भने त्यो बिहानीको मौसमप्रति भयौँ जसले हामीलाई पूर्णरुपमा साथ दिएको थियो। तलपट्टि होचो भागमा कपासजस्तै गरी फैलिएको बादल र माथिपट्टि खुला आकाशमा उदाउँदै गरेको सूर्य, त्यो दृश्य साँच्चिकै अनुपम थियो।

सूर्योदयको दृश्य

सूर्योदयको दृश्यलाई क्यामेरा र मन दुवैमा कैद गरिसकेपछि पालो आयो - फुजीसानको शिखरमा नेपाली झण्डा फहराएर 'फोटो सेसन' गर्ने।  जापानीहरु यताबाट गएर हाम्रा सगरमाथा लगायतका हिमशिखरहरुमा आफ्नो झण्डा फहराउँछन् भने हामी पनि उनीहरुको सर्वोच्च शिखरमा पुगेका बेला राष्ट्रिय झण्डा फहराउन किन पछि पर्नु! (गफै त हो:)) हाम्रो 'फोटो सेसन' देखेर वरिपरिका जापानीहरु भने अनौठो मान्दै थिए।

नेपाली झण्डासहितको सामूहिक 'फोटो सेसन' :)

फुजीसानको आकारजस्तै यसको टाकुराको आकार र विशालता पनि मन लोभ्याउने खालको थियो। फुजीसानको टाकुराको चौडाइ र यसको बीचमा रहेको ज्वालामुखीको मुख (volcanic crater) को बारेमा केही त सुनिएको थियो, तर त्यो त्यति भव्य होला भन्ने चाहिँ मेरा लागि कल्पनाबाहिरकै कुरा थियो। बीचभागमा रहेको गहिरो 'क्रेटर' र वरिपरि केही माथि उठेका आठवटा थुम्काहरुका कारण फुजीसानको टाकुरालाई हेर्दा ठ्याक्कै एउटा ठूलो मैरी (तुलसीको मठ) जस्तो भान हुने रहेछ। फुजिसानको टाकुराको वरिपरि एक चक्कर लगाउन झन्डै डेढ घण्टाजति लाग्दो रहेछ, तर समयको सिमितताले गर्दा शुरुमा यसो कस्सिए पनि पछि दौडादौड गर्ने आँट गर्न सकिएन। ११ बजे तल पाँचौँ स्टेसनबाट छुट्ने भनेको हाम्रो बस छुट्ला र व्यर्थमा अर्को सास्ती पाइएला भन्ने डरले ओरालो लाग्नु नै बेस ठानेर फुजीसानको शिखरलाई 'सायोनारा' गरियो।

फुजीसानको 'क्रेटर' र वरिपरिका थुम्काहरु
टाकुरामा देखिएको मान्छेको भीडभाड


ज्वालामुखी चट्टानले बनेको फुजीसानको सतह
टाकुराबाट हेर्दा तलपट्टि देखिएको मनोरम दृश्य

ओरालो झर्दा चाल पाइयो, फुजीसानको उकालोभन्दा त ओरालो पो मापाको रहेछ। सुस्त रफ्तारमा रातिको समयमा हिँडेको भएर पनि होला, उकालोले त्यतिसारो हायलकायल बनाएको थिएन जति ओरालोले बनायो। मसिना ढुङ्गा र धुलोले भरिएको ओरालो बाटोमा खुट्टा राम्रोसँग अडिने कुरै भएन, लिरिक्क-लिरिक्क लिर्किँदै हिँड्नुपर्ने। त्यसमाथि रातिको अनिँदोले गर्दा पनि होला, एकैछिनको हिँडाइमा थाकेर चुर भइयो। तर यसो तल हेर्‍यो, ओरालोले सकिने नाम भने लिने होइन। सबैभन्दा ठूलो आपत चाहिँ शौचालयले पार्‍यो। उकालो चढ्ने रुटमा ठाउँठाउँमा शौचालय हुनाले केही अप्ठ्यारो परेको थिएन तर ओरालो झर्ने रुटमा भने शौचालयको नाकमुखै नदेखिने। बल्लतल्ल भेटियो भनेको निकै तलको एउटा शौचालय पनि स्थानीय सरकारले फुजीसान चढ्न तोकेको अवधि अघिल्लो हप्तै सकिएकाले बन्द अवस्थामा रहेछ। रुनु न हाँस्नु भइयो निकैबेर। यही शौचालय खोज्ने धुन र ओरालो झर्नका लागि हामीलाई भनिएको योसिदा रुटबारेको अलमल समेतले गर्दा हामी आठजना नेपाली साथीहरु पनि तीन-चारतिर हुन पुग्यौँ। सँगै रहनुभएका डमरू सर र म ओरालोमा अघि बढ्दै गर्दा अरु नेपाली साथीको त के कुरा, हाम्रो टोलीका अरु कोही विदेशी समेत देखिन छाडेपछि एकैछिन त बाटो बिराइएछ कि भन्ने डर पनि भयो। तर कुँदाकुँद गर्दै केहीबेरमा ओरालो सकेर तेर्छो लाग्ने बाटोसम्म पुगेपछि भने अलिकति सास आयो। 

तेर्छो लागेपछि पनि फर्कने रुट निकै घुमाउरो रहेछ। एउटा घुम्ती सकिएपछि अब त हाम्रो स्टेसन आइपुग्यो होला भन्यो, फेरि अर्को घुम्ती आइपुग्ने। जेहोस्, जसोतसो सवा दश बजेतिर पाँचौँ स्टेसनमा पुगियो। यतिञ्जेलसम्ममा एकातिर थकाइले जीउ थिलोथिलो भैसकेको थियो भने अर्कोतिर बाटोको धुलो, खरानी र पसिनाले एक-अर्काको अनुहार पनि हेर्नलायक बनाइदिएको थियो। पाँचौँ स्टेनबाट ओन्सेनका लागि बस छुट्ने समय अर्थात् ११ बजेसम्ममा हामी ६ जना नेपाली साथीहरु मात्र त्यहाँ जम्मा हुन सक्यौँ। ६२ वर्षमा टेकिसक्नुभएका एकजना जापानी गुरुबालाई ओरालो झर्न केही गाह्रो परेका कारण उहाँसँगै रहनुभएका जीत सर र प्रमिला दिदीलाई फर्कन ढिलो हुने भयो र उहाँहरुले अर्को पब्लिक बस समात्नुपर्ने भयो। यसरी उहाँहरुलाई पर्खन नपाई स्नानादिका लागि ओन्सेनतर्फ लाग्नुपर्दा हामी सबैलाई केही नरमाइलो हुनु स्वभाविक थियो। 

ओरालो झरेर पाँचौँ स्टेसनमा पुग्ने क्रममा बाटोमा देखिएको घोडागाडी। तेर्छोमध्येको अन्तिम एक किलोमिटरजति बाटो यो गाडी चढेर पनि पार गर्न सकिने रहेछ।

ओन्सेनको तातो पानी र 'साउना' मा एक-डेढ घण्टाजति बिताउँदा अलिकति भए पनि थकाइ हराएजस्तो अनुभव भयो र जीउ पनि केही चङ्गा बन्यो। अनि दिउँसोको दुई बजेतिर फुजीसानको फेदीसँग समेत बिदा हुँदै हामी पुन: टोकियोकै दिशातर्फ मोडियौँ। यसरी पवर्तारोहण भने पनि, सामान्य पदयात्रा भने पनि फुजीसानसम्मको हाम्रो अविस्मरणीय यात्रा सम्पन्न भयो। 

अन्त्यमा, यो पूरानो सम्झना: गत डिसेम्बर ३१ मा हाकोने (आसी ताल) बाट देखिएको फुजी 'हिमाल'। फुजीसान अझ राम्रोसँग देखिने ठाउँसम्म पुग्दा भने 'बादलुको घुम्टो' ले धोका दियो।

Saturday, May 7, 2011

ताकाओ पहाडतिरको घुमघाम

यसपालिको 'गोल्डेन विक' को बिदामध्येको एक दिन साथी राजेन्द्रजीसँग ताकाओ पहाड (ताकाओ-सान) तिरको 'हाइकिङ' मा बिताइयो। जापानी फुच्चे पहाडहरुमा यो मेरो तेस्रो यात्रा थियो। यसअघिका यात्राहरुबारे यहाँ ('ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा') र यहाँ ('चुकुबा शहर र चुकुबा पहाडका कुरा') लेखिसकेको छु।

ताकाओ पहाड टोकियो शहरको मध्यभागबाट लगभग एक घण्टाको ट्रेन-यात्रामा पुगिने, समुद्री सतहबाट ५९९ मिटरको उचाइमा रहेको एउटा प्रसिद्ध 'हाइकिङ' गन्तव्य हो। साकुरा फुल्ने वसन्त ऋतुको समय होस् वा मेपल लगायतका रुखले पातको रङ फेर्दा प्रकृति नै रङ्गीन बन्ने शरद ऋतुको समय होस्, टोकियोबाट नजिकै रहेको गन्तव्यको रुपमा ताकाओ पहाडको चर्चा भइ नै हाल्छ। 'गोल्डेन विक' को बिदामा त झन् यो भीडभाडै हुने ठाउँका रुपमा चिनिन्छ। यसपालि त्यही 'भीडभाड' को एउटा हिस्सा भयौँ हामीहरु पनि।

तल ताकाओ पहाडतिरको घुमघामका क्रममा लिइएका केही तस्वीरहरु राख्ने जमर्को गरेको छु। तर म फोटोग्राफीमा कुनै खास 'अक्कल' वा प्राविधिक ज्ञान भएको व्यक्ति भने होइन है:)

बाटोमा देखिएका पदयात्रीहरु
बाटोमा बेच्न राखिएको 'दाङ्गो' (चामलको पीठोबाट बनेको एक किसिमको जापानी परिकार)
वरिपरिका हरिया थुम्काहरु
टोकियोमा साकुरा फुल्ने याम सकिए पनि ताकाओसानमा ढकमक्क फुलेको 'यामाजाकुरा' (साकुराको एउटा पर्वतीय प्रजाति)
ताकाओसान याकु-ओउ-इन मन्दिर (जापानका ४५ औँ सम्राट सोमुले सन् ७८८ मा पहिलोपल्ट यो बौद्ध मन्दिर बनाउन लगाएका रहेछन्)
ताकाओसान याकु-ओउ-इन मन्दिरको प्रवेशद्वार नजिकै रहेका 'तेङ्गु' नामका लामो नाक गरेका 'प्रेत' हरु
गुराँस फूल: 'मिचुबा चुचुजी'
बाटोमा देखिएका अन्य फूलहरु
ताकाओसानको टाकुरानेरै पुग्न लाग्दा देखिएको मान्छेको भीड
ताकाओसानको टाकुराबाट देखिएको पहाडी दृष्य (फुजीसान शायद यतै कतै थियो कि, तर आकाश त्यति नखुलेकाले खासै मेसो पाउन सकिएन)
ताकाओसानको फेदी पृष्ठभूमिमा देखिएको हाचिओजी शहर
र अन्त्यमा, हाम्रो प्यारो 'लालीगुराँस' (फर्केर ताकाओसानको फेदीमा आइपुग्दा देखिएको)