Wednesday, December 30, 2009

कविता: नयाँ वर्ष आएको छ

लामो बिदा लिएर
रंगीचंगी वातावरणमा
मसक्क मस्किँदै
तामझामसहित
नयाँ वर्ष आएको छ।

तर मूड छैन
कुनै उत्सवमा सामेल हुने
नयाँ वर्षको बाहनामा
नयाँ संकल्प रोज्ने
नयाँ तालिका बनाउने
अनि घरिघरि धमिला हुन खोज्ने
आफ्नै पुराना रहर र सपनाहरुलाई ढाँटेर
नयाँ सपनाहरुको खेती गर्ने।

फेरि पनि
सुख कहाँ पाइएला र ?
पूरा गर्नैपर्ने केही विधिहरुले
थिच्ने नै छन्, मिच्ने नै छन्
अनि झल्याँस्स केही सम्झेझैँ गरी
सलाम ठोक्नु नै पर्नेछ
निष्ठुरी बन्दै गरेको समयलाई
किनकि
नयाँ वर्ष आएको छ
यो पराइ भूमिमा झन् पराइ लाग्ने
नयाँ वर्ष आएको छ।


ग्रेगोरिअन पात्रोको नयाँ वर्ष २०१० सुखद रहोस्! यो पेजसम्म आइपुग्नुहुने सबैमा हार्दिक मंगलमय शुभकामना!!

Friday, December 18, 2009

दुई फरक प्रसंगमाथि

हाम्रो कथा हाम्रै व्यथा

एउटा दैनिक पत्रिकामा लेखको रुपमा आएका दुइटा खबरले एकैपटक धेरै कुरा सोँच्न बाध्य बनाए। दुवै खबर झट्टा सुन्दा हाँसोउठ्दो खालका पनि छन् तर तिनले हाम्रो समाजको जुन तस्वीर उजागर गरेका छन्, त्यो साह्रै लज्जित र व्यथित बनाउने खालको छ।

मंसिर २२ को ‘कान्तिपुर’ मा कृष्णमुरारी भण्डारीले अपान वायु छोड्नुपरेको एउटा सानो घटनाबाट आहत भएर कसरी एउटी नवविवाहित युवती प्राणोत्सर्ग गर्न पुगिन् भन्ने विषयमा लेखेका छन्। घटना विवरण यस्तो छ:

'विवाह गरेर घर भित्र्याइएकी नयाँ बुहारीले भान्छामा खाना पकाइन् । खाना खान बसे ससुरा, जेठाजु र स्वयम् लोग्ने महाशय । खाना पस्कँदा-पस्कँदै बुहारीलाई वायु छोड्नुपर्ने भयो । रोकिन् । सकिनन् । आखिर घरका मान्यजन ससुरा, जेठाजु र पति परमेश्वर खाना खाँदैछन्, वायु छाडौं, असम्भव छ । भान्छा छाडेर हिँडौं, शोभाजनक भएन । वायु नछाडौं सक्दै नसकिने भयो । केही नलागेपछि उनी आफैंले अक्किल निकालिन्- तरकारी पकाएको कराइमा डाडु बजाउने र त्यही बेला वायु उत्सर्जन गर्ने अर्थात् पाध्ने । उनले त्यसै गरिन् ।'

तर जेठाजुले बुहारीको चलाखी थाहा पाए । उनले खाना खाइरहँदा पनि त्यो कुरा मनमा राख्न सकेनन् र प्रश्नवाचक खसखस पोखिहाले- 'पादको आवाज त भाँडा बजाएर छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ बुहारी ?'

त्यसपछि मुन्टो निहुराएर बुहारी भान्छाबाट फुत्त बाहिर निस्किन् । ससुरा, जेठाजु र श्रीमानले खाना खाएर चुठिनसक्दै हल्ला भयो- ए, नयाँ बुहारीले त पासो लगाएर आत्महत्या गरिन् ।


हाम्रा आम दिदीबहिनी र आमाहरुको स्थिती योभन्दा भिन्न छैन शायद। ती आम दिदीबहिनी र आमाहरु परम्परा, संस्कार, मर्यादा इत्यादि निर्वाह गर्ने नाममा यसरी नै पिल्सिएका छन्, ज्यानै उत्सर्ग गर्ने हदसम्म। यो कुरा छुट्टै हो कि यस्ता खबर मिडियामा खासै आउँदैनन् अनि गाउँघरमै पनि केही टाठाबाठा मिलेर गुपचुप राख्ने प्रयत्न हुन्छ। यता केही शहरीया महिलावादीहरुलाई भने टप्परटुइयाँ नारा उरालेर डलर सोहोर्दैमा फूर्सत देखिँदैन। त्यसैले त वैवाहिक बलात्कारजस्ता आम नेपाली समाजका लागि पूर्णत अव्यवहारिक (केही मुठ्ठिभर शहरीया सम्भ्रान्तवर्गको कुरा बेग्लै होला) मुद्दामा चर्का बहस गर्नेहरु यस्ता मुद्दामा चाहिँ चुइँक्क बोलेको पनि सुनिँदैन।

यो खबर छापिएको लगभग एक हप्तापछि ‘कान्तिपुर’ मै प्रतिमा बाँस्कोटाले अर्को एउटा नमिठो प्रसंग उप्काएकी छन्। दुई छोरीकी आमा भैसकेकी एउटी महिलाले लोग्नेले छोराको चाहनामा दिएको मानसिक पिडाबाट त्राण पाउन छिमेकीको सल्लाहमा गर्भवती भएको नाटक मात्र गरिनन्, सुत्केरी व्यथा लाग्यो भनेर अस्पतालसम्मै पुगिन्। तर छिमेकीले आफ्नो आफन्तले जन्माउँदै गरेका जुम्ल्याहा छोरामध्येबाट एउटा छोरा मिलाइदिने भनेर दिएको अश्वासन धोकामा परिणत भएपछि घटना सार्वजनिक हुन पुग्यो। प्रकृतिले छोरा वा छोरी के जन्मिने भन्ने निर्धारण पुरुषको शुक्रकिटमा रहेको क्रोमोजोमबाट हुने बनाइदिएको छ तर समाजमा व्याप्त छोराप्रतिको आशक्तीले महिलालाई नै प्रताडित गर्छ र यस्ता घटनाहरु राजाधनीमै घट्न छाड्दैनन्। खै कहिले हट्ला यो छोरावादी अन्धता? लौ यो अन्धता हट्न त समय लाग्ला रे तर छोरा नपाएको झोँकमा श्रीमतीलाई मानसिक यातना दिने लोग्नेमान्छेको कुबुद्धि त चाँडै हटिदिए हुन्थ्यो नि!

खाँचो फेरि पनि सकारात्मक सोँचकै

पत्रकार रवीन्द्र मिश्र, व्यवसायी कर्ण शाक्य र युवा नेता गगन थापा, यी तीनैजना विश्वास र श्रद्धा गर्न सकिने हाम्रो समाजका थोरै चर्चित व्यक्तिमध्ये पर्छन्। विश्वास र श्रद्धा गर्न सकिने यस अर्थमा कि यिनीहरुले कुराका अतिरिक्त व्यक्तिगत प्रयासमै केही प्रभावकारी काम पनि गरेर देखाएका छन् अनि सकारात्मक चिन्तन र इमान्दारिताको खडेरी पर्दै गएको समाजमा केही भए पनि आशा जगाउन सफल भएका छन्। यी तिनैजना जोडिन पुगे रवीन्द्र मिश्रले केही अघि लेखेको एउटा लेखमार्फत्, अलि अनपेक्षित ढंगले।

‘(अ) बौद्धिक बेइमानी’ शिर्षकमा मिश्रले लेखेको लेखमा शाक्य र थापाको उदाहरण दिँदै नेपाली समाजमा देखिने बौद्धिक बेइमानीको विषय उठाइएको थियो। कर्ण शाक्यले आफ्नो चर्चित पुस्तक ‘सोँच’ मा आफूलाई सकारात्मक सोँचका लागि उर्जा दिने पुस्तक ‘द पावर अफ पोजिटिभ थिङ्किङ’ का बारेमा उल्लेखै नगरेर र गगन थापाले एउटा टेलिभिजन अन्तर्वाताका क्रममा ‘भाइबहिनी अभियान’ को नाम लिँदा त्यो अभियानको शुरुवातकर्ता हेल्प नेपाल नेटवर्कको नाम लिन कन्जुस्याईँ गरेर इमान्दारिता र उदारता गुमाएको ठहर मिश्रको थियो। थापाको प्रसंगमा स्वयम् मिश्र आवद्ध हेल्प नेपाल नेटवर्कको कुरा जोडिएकोले व्यक्तिगत पूर्वग्रह राखेर लेख लेखिएको भन्ने अर्थ लगाउन सकिने भए पनि लेखको मूल आशय त्यस्तो देखिँदैनथियो। अपजश लिनै नचाहने अनि जश चाहिँ बाँड्नै नचाहने हाम्रो समाजको ठूलै रोग हो। मिश्रको लेख त्यही रोगको चिरफरमा केन्द्रित थियो।

तर हामीकहाँ कहिलेकाहीँ जानेर वा नजानेर हुने गल्ती स्विकार्दा सानो भइन्छ भन्ने सोँच राखेर एउटा गल्ती ढाक्न बरु अरु थप गल्ती गर्ने रोग झन् भयंकर छ। कता-कता त्यही कुरा झल्किएजस्तो लाग्यो मिश्रको लेखमाथि शाक्य र थापाका प्रतिकृया पढ्दा। ‘भाइबहिनी अभियान’ नामको प्रयोगका सम्बन्धमा ओँठे जवाफ नै दिएका भए पनि थापाको प्रतिकृया धेरै हदसम्म सन्तुलित नै थियो तर शाक्यको प्रतिकृया पढ्दा भने एमाले नेता प्रदीप नेपालको कुनै आलापप्रलापपूर्ण लेखको झल्को आयो। ‘द पावर अफ पोजिटिभ थिङ्किङ’ को नाम उल्लेख नगरेको सम्बन्धमा त उनले हदैसम्मको (कु) तर्क गर्न भ्याएका छन्:

जहँसम्म 'पावर अफ पोजिटिभ थिन्किङ'को कुरा छ, मैले थुप्रै त्यस्ता व्यक्तित्व विकासका किताब देखेको छु । तर इमानदारीका साथ भन्नुपर्दा मैले ती किताबहरू पढेको छैन । मलाई किताब पढ्न असाध्यै अल्छी लाग्छ र किताब पढ्ने धैर्य पनि ममा छैन । सायद त्यसैले होला, म सधैं स्कुल र कलेजको परीक्षामा तृतीय श्रेणीमा मात्र उत्तीर्ण हुन्थेँ ।

सकारात्मक सोँचको त्यत्रो पैरवी गर्ने मान्छेले पनि आफ्नो आलोचना यतिविघ्न सहन सक्दैन भन्ने कुरा शाक्यको प्रतिकृया पढेर देखियो। तर खाँचो फेरि पनि सकारात्मक सोँचकै छ। कर्ण शाक्यका योगदानहरुका अगाडि उनले देखाएको भावावेशपूर्ण कमजोरीलाई त्यही रुपमा बुझ्दै मिश्र, शाक्य र थापा तीनैजनाद्वारा र तीनैजनाका बारेमा सधैं राम्रो सुन्न-पढ्न पाइयोस् भन्ने हार्दिक कामना।

Thursday, December 10, 2009

डिजाइन @ सिसाकलम

The Practice of Machine Design को पछिल्लो क्लास एउटा पेन्सिलको डिजाइनमाथि छलफल गरेरै बित्यो। पेन्सिल थियो - जापानको मिचुबिसी पेन्सिलले केही पहिले बजारमा ल्याएको ‘कुरु तोगा’ नामको मेकानिकल पेन्सिल। सामान्यतया मेसिन डिजाइन भन्नेबित्तिकै अलि ‘हाइफाइ’ तस्वीर नै दिमागमा आउँछ तर छाता, पेन्सिल आदिजस्ता दैनिक प्रयोगका सामान्य वस्तुमा पनि डिजाइनसम्बन्धि कति ठूला अनुसन्धानहरु भैरहेका हुँदा रहेछन्, कहिलेकाहीँ त अचम्मै लाग्छ। मान्छेले सिर्जनशील जुक्ती प्रयोग नगरेको पनि कुनै ठाउँ छैन।

मेकानिकल पेन्सिल प्रयोग गर्ने गर्नुभएको छ भने तपाईंले यसको एउटा अवगुण पक्कै पनि ख्याल गरेको हुनुपर्छ। त्यो के भने लेख्दै जाँदा पेन्सिलको लीडको एकातिरको भाग खिइँदै जान्छ र लेखाइ मोटो तथा फिक्का हुन थाल्छ। हुनत मेकानिकल पेन्सिलमा प्रयोग हुने पेन्सिलको लीडको मोटाइ आफैमा निकै थोरै (०.५ मिलिमिटरको हाराहारीमा) हुन्छ तर पनि लीडको एकातिरको भाग खिइएर लेखाइको गुणस्तर बिग्रिँदै जाने कुरा टड्कारै अनुभव गर्न सकिन्छ। यही समस्यालाई हल गर्ने जुक्ती निकालेको रहेछ मिचुबिसी पेन्सिलले।


मिचुबिसीको 'कुरु तोगा' पेन्सिल यसरी डिजाइन गरिएको छ कि जब तपाईं लेख्दै जानुहुन्छ, यसको लीड आफै घुम्दै जान्छ र लीडको सबैतिरको भाग समानरुपमा खिइने भएकाले लेखाइ एकनास रहन्छ। अब प्रश्न उठ्छ, लीड कसरी घुम्छ त? यसको लागि विशेषखालको clutch mechanism प्रयोग गरिएको छ। लेख्ने बेलामा जब पेन्सिललाई कागजमाथि राखिन्छ, त्यतिबेला लीडमा पर्ने दवाबले lead-holding chuck मा जोडिएको toothed clutch माथि उठ्छ र क्लचका दाँतीहरु एकापसमा मिल्ने क्रममा लीड केही डिग्री घुम्दछ। यो क्रम हरेकपल्ट पेन्सिल कागजबाट माथि उठ्दा र कागजमा बस्दा दोहोरिइरहन्छ।

यसको डिजाइनको बारेमा अझ विस्तृत रुपमा बुझ्नचाहिँ पेन्सिललाई फुटाउनैपर्ने देखिँदैछ। तर झन्डै एकदिनको लञ्च बराबरको रकम (३७८ येन) हालेर किनेको पेन्सिल फुटाउन मनले अझै मानिहालेको छैन :) जे होस्, यो पेन्सिलले लेख्दा एउटा रमाइलो कुरा भने अनुभव गरेँ मैले। साधारण खालको लीड पेन्सिल प्रयोग गर्दा पेन्सिल घुमाई-घुमाई लेख्ने बानी परिसकेको रहेछ। त्यसैले यो पेन्सिल प्रयोग गर्दा पनि घुमाएरै लेख्न खोजिँदो रहेछ। अब automatically पनि घुम्ने, आफूले पनि घुमाउने भएपछि त समस्या सुल्झनुको सट्टा झन् बल्झने डर पो हुँदो रहेछ :)

‘कुरु तोगा’ पेन्सिल सम्बन्धि थप जानकारीका लागि यो ब्लग मा जान सक्नुहुन्छ (अंग्रेजी ब्लगहरुको विविधता देखेर पनि लोभै लाग्छ!)। युट्यूबको यो भिडियो मा पनि राम्रो जानकारी दिइएको छ।

Wednesday, November 25, 2009

“पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?”

२०६४ सालको असोज महिनातिरको कुरा हो। पहिलोपल्ट जागिर भन्ने चिजको अनुभव लिने क्रममा हेटौंडामा थिएँ। बिदाको दिन भएकोले कोठामा टीभी खोलेर रिमोट तल-माथि गराउँदै बसिरहेको बेला साथी सुरेन्द्रको फोन आयो। काठमाण्डौबाट आफ्नो घर जनकपुरतर्फ जाने क्रममा बस बिग्रिएर ऊ हेटौंडामा रोकिएको रहेछ। त्यसैले ऊसँग भेट हुन बस बनाउँदै गरेको ग्यारेजमा पुगेँ। गफगाफ चल्दै गर्दा सुरेन्द्रले जनकपुर जाउँ भन्न थाल्यो। जनकपुर जाने रहर त मलाई पनि पहिलेदेखि नै थियो। तर पछि कुनै बेला समय मिलाएर मजाले घुम्ने गरी जाउँला नि भनेको उसले मान्दै मानेन। लौ त जाने भने जाने भनेर मैले पनि हिँड्ने ‘मूड’ बनाइहालेँ। एकैछिनमा बस बन्यो र हामी लाग्यौँ जनकपुरतर्फ।

बाटो त लागियो तर जनकपुर बन्दको दिन पो परेछ। नेपालमा, खासगरी पूर्वी मधेसमा, बन्द-हड्ताल सामान्य नै बनेको समय पर्‍यो त्यो। साँझ पर्नै आँटेको बेला ढल्केवर पुगेपछि जनकपुरतिर छिर्न पाइने हो कि हैन भन्ने द्विविधा भयो एकैछिन तर भाग्यवश जनकपुरसम्म सजिलै पुगियो। समस्या चाँहि जनकपुरबाट सुरेन्द्रको गाउँ हर्दियासम्म पुग्न देखियो। हर्दिया जनकपुर-जलेश्वर मूलसडकमै पर्ने भए पनि बन्दले गर्दा गाडी पाइने सम्भावना थिएन। फेरि रातको समय र भय-त्रासको वातावरणको के कुरा गर्नु? आखिरमा डर मान्दै नै भए पनि जनकपुरमै बस्नुहुने सुरेन्द्रको भान्जदाइले मोटरसाइकलमा दुवैजनालाई राखेर पुर्‍याइदिनुभयो हर्दियासम्म।

खै यो बन्द-हड्तालको हल्लाले त कतै पनि घुमघाम गर्न नपाइने भो कि क्या हो भन्ने आशंकासँगै त्यो रात बिताइयो। धन्न भोलिपल्ट बन्दको हल्ला सुनिएन र अलिकता राहत महशुस गर्दै बिहानको चिया पिएर सुरेन्द्र र म जलेश्वरतर्फ लाग्यौँ। घरबाट निस्किनै लाग्दा सुरेन्द्रकी हजुरआमा सोध्दै हुनुहुन्थ्यो – “बस चलैछै?” मैले मैथिलीमै “अँ, बस चलेको छ” भनेर उत्तर दिने प्रयास गर्दा सुरेन्द्रलाई पछिसम्म हाँसोको विषय बन्यो।

जलेश्वर पुग्दा मधेसका औसत शहरहरुकै झल्को आउँथ्यो। पछिल्लो समयमा चर्केको मधेस आन्दोलनका चिन्हहरु देखिन्थे यत्रतत्र। त्यहाँको प्रसिद्ध जलेश्वर महादेवको दर्शन गरेर सुरेन्द्रको मामाघरमा खाना खाइसकेपछि सीमावर्ती बजार मटिहानी घुम्न जाने कुरा भयो। तर जलेश्वरबाट मटिहानीसम्म पुग्ने बाटोको अवस्था साह्रै नाजुक रहेछ। भर्खरैको वर्षाले गर्दा ठाउँठाउँमा बाटो छेँडेर ‘नदी’ वारपार भैरहेका रहेछन्। त्यसैले मोटरसाइकलमाभन्दा साइकलमा जान उचित हुने देखियो र एउटा साइकल लिएर लाग्यौँ मटिहानीतिर। दुईजनालाई एउटा साइकल, सास्ती र रमाइलो दुवै भयो। सुरेन्द्रको ज्यान हेरेर चलाउनको धौले पछाडि बस्छु भनेको, बस्न झन् आपत्। बरु सुरेन्द्रलाई बसालेर आफै साइकल चलाएँ पछि त।

मटिहानी, नेपालकै पुरानोमध्येको संस्कृत पाठशाला भएको ठाउँ। तर त्यहाँको वर्तमान अवस्था हेर्दा वैराग मात्र लाग्ने रहेछ। ऐतिहासिक मटिहानी मठ पनि जीर्ण र परित्यक्तजस्तै लाग्थ्यो। मटिहानीसँग टपक्क टाँसिएरै बसेको रहेछ भारतीय बजार मधवापुर। दशगजा भनिने अन्तरराष्ट्रिय सिमाना खुम्चिएर हराएजस्तै देखिन्थ्यो त्यहाँ। भारतीय बजारतर्फ लाग्दै गर्दा सरकार-प्रशासनविहिन लाग्ने नेपालतर्फको सीमा देखेर फेरि एकचोटि नरमाइलो अनुभव भयो।

मटिहानी वरपर घुमिसकेपछि जलेश्वरतर्फ फर्किँदै थियौँ। अलिक वर सुगा भन्ने गाउँमा केही केटाकेटीहरु बाटोमा खेल्दै थिए। उनीहरु खेलिरहेको ठाउँबाट अगाडि बढ्न नपाउँदै एउटा बच्चाको तिखो स्वर कानमा ठोक्कियो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?" मैले आवाज आएतिर हेरेँ तर त्यसो भन्ने बच्चालाई ठ्याक्कै ठम्याउन सकिनँ। शायद आफूहरुसँग खेल्न बोलाएको अर्को साथी नआइदिँदा उसले त्यो ‘डाइलग’ बोलेको थियो क्यारे। मैथिलीभाषी गाउँमा उसले बोलेको त्यो शुद्ध हिन्दी ‘डाइलग’ बलिउडको कुनै सिनेमाबाट प्रभावित थियो वा गाउँकै कुनै बुज्रुकको मुखबाट सुनेर उसले नक्कल गरेको थियो, त्यो त थाहा भएन तर उसको भनाइले हामी दुवैलाई अचम्मित र केही हदसम्म स्तब्ध पनि बनाइदियो। अनि मैले सम्झिन थालेँ हात्ती र कमिलाका प्रसंगहरु। हात्ती ठूलो हुनु र कमिला सानो हुनुमा नाथे पढाइको कुनै साइनो नभएको कुरासँग त हामी भलिभाँती परिचित नै थियौँ। तर भर्खर अक्षर चिन्दै गरेको उमेरको बालकको त्यो अभिव्यक्तिले खण्डित हुँदै गैरहेका हाम्रा सामाजिक मूल्य र मान्यतालाई थप उदांगो पारेजस्तो लाग्यो। हाम्रा कहिल्यै नटुंगिने आन्दोलन र विद्रोहका कथाले यस्तै मानकहरु पो स्थापित गर्दैछन् कि? 'कम्निस्ट' राजनीतिमा लागेकी एकजना क्याम्पसे दिदीको धेरै पहिलेको एउटा ‘दर्शन’ पनि सम्झना भयो। “तिम्रो ब्याकपेपर क्लियर भयो त नानी?” भनेर कसैले सोधिदिँदा लज्जित हुनुपरेपछि उनले "हामी त राजनीति गर्ने मान्छे, समाज नै हाम्रो विश्वविद्यालय हो, यो बुर्जुवा शिक्षाको के कुरा गर्नुहुन्छ?" भन्दै घोकेर कण्ठ पारिएको जस्तो लाग्ने ‘दर्शन’ सुनाएकी थिइन्। धन्य हो हाम्रो तर्कशीलता ! यस्ता तर्क सुने भने त वास्तविक अर्थमा समाजलाई विश्वविद्यालय बनाएका म्याक्सिम गोर्कीहरु नै तीनछक पर्न बेर छैन।

यस्तै कुरा कहिले मनमा खेलाउँदै र कहिले आपसमा गफिँदै जलेश्वर फर्कियौँ र त्यहाँ केहीबेर भुलेर जनकपुरतिर बाटो ततायौँ। जनकपुर पुग्दा साँझ परिसकेको थियो। भजनकिर्तनमय जानकी मन्दिर पुग्दा बेग्लै खालको आनन्द अनुभव भयो। त्यहाँको रमाइलो माहौलले गर्दा दिउँसो नै जनकपुर घुम्न नपाएकोमा पछुतो मान्नुपरेन। अनि झमक्क साँझ परिसकेको भए पनि फेरि आउने कहिले हो कहिले भन्दै त्यहाँ वरपरका मठमन्दिर, तालतलैया लगायत बाह्रबिघा मैदानतिर पनि घुमियो। जनकपुर पुगेपछि जेनतेन अस्तित्व धानिरहेको नेपालकै एकमात्र रेल पनि हेर्न छुटाउनु भएन। त्यसैले रेलवे स्टेसन पनि पुगियो। घुमघाम सकाएपछि त्यस दिन त्यहीँ सुरेन्द्रको सानीमाको घरमा बस्यौँ। भोलि त मलाई बिहानै फर्कनुपर्ने थियो दिउँसोसम्म भए पनि अफिस पुग्ने गरी।

भोलिपल्ट बिहानै मोटरसाइकलमा ढल्केवर पुगेर पश्चिम जाने गाडी कुरेर बसेको त एउटै गाडी आउँदैन। फेरि अर्को बन्दको पो हल्ला रहेछ। लौ आज फसिने भइयो कि क्या हो भनेको धन्न केहीबेरमा एउटा बस आइपुग्यो। सुरेन्द्रसँग बिदा भै म हतार-हतार बस चढेँ र लागेँ आफ्नै कर्मस्थलतर्फ।

यसरी बिना कुनै योजना र बन्दैबन्दको आतंकका बीच पनि रमाइलो र अविस्मरणीय रहने गरी सकियो मेरो छोटो जनकपुर यात्रा। सबैभन्दा अविस्मरणीय भने त्यही ‘डाइलग’ रह्यो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?"

[पहिलोपल्ट प्रकाशित टाँसोमा भूलचुकमा परेका केही अंशहरु सामान्य परिमार्जन गरेको छु।]

Friday, November 13, 2009

गजल

यसपाली पुरानो संकलनबाट एउटा गजल राख्न मन लाग्यो। गजलको सामान्य नियमसँग परिचित रहे पनि मेरो यो रचना ठ्याक्कै गजल बनेको छ कि छैन, त्यसको बारेमा सुझाव र प्रतिकृयाको आशा गर्दछु। गजल भनेपछि गेयात्मकता पनि हुनुपर्छ भन्छन् क्यार, म चाँहि त्यसैमा निश्चित हुन सक्दिन। तैपनि यसलाई गजल भनेरै पस्केँ अहिलेलाई :)

मेरो विश्वासकी प्रतिमूर्ति मनभित्रकी रानी तिमी
राराको दहजस्तै शान्त तर कञ्चन पानी तिमी

हाँसो मात्रै कति मीठो ती अधरमा छचल्किएको
एकनास हेरिरहुँजस्तो लाग्ने आँखाकी नानी तिमी

झर्किँदा पनि कति मायालाग्दो गरी झर्किएकी
त्यसैले त भनेको नि, बिछट्टकी ज्ञानी तिमी

तिमी टाढा हुँदा पनि तिम्रै आभा खोजिहिँड्छु
नमेटिने, नरित्तिने सम्मोहनकी खानी तिमी

खोल्न त सकिन कहिल्यै मनका कुरा तिमीसँग
तर पनि मुटुभित्र छापिएकी मेरी कहानी तिमी

२०६५/१२/०५
पाटनढोका, ललितपुर

Sunday, November 8, 2009

विज्ञान, वैज्ञानिक र हाम्रो नियति

नेपाल ईन्जिनियर्स एशोसिएसन जापान च्याप्टरले टोकियो विश्वविद्यालयमा आयोजना गरेको आजको वर्कशपमा विशुद्ध अध्ययन अनुसन्धानका अतिरिक्त थुप्रै समसामयिक विषयमा सुसूचित हुने अवसर जुर्‍यो। यसै क्रममा डा. सूर्यराज आचार्यले उठाउनुभएको एउटा प्रसंगले आफूलाई पनि केही समयदेखि खट्किरहेको यस विषयमा केही लेख्दैछु।

डा. आचार्यले उठाउनुभएको त्यो प्रसंग थियो - विज्ञान र प्रविधिको क्षेत्रमा हाम्रो टिठलाग्दो अवस्था झल्काउने गरी केही दिन अघि एउटा राष्ट्रिय दैनिकमा छापिएको ब्यानर न्यूज। साधनस्रोतको कमी र भौतिक विकासमा पछि परेको कुरा त छँदैछ, त्योभन्दा पनि विज्ञान-प्रविधिमा हाम्रो सोचाइको स्तर कति पछाडि छ भन्ने दर्शाउने शायद त्यो एउटा प्रतिनिधि समाचार थियो। यस्ता खबरहरु नेपाली मिडियामा आइरहन्छन्। हाइस्कूल/प्लस टूमा पढ्दै गरेका वा अन्य कोही सिकारु व्यक्तिलाई रातारात 'वैज्ञानिक' बनाइदिन पछि पर्दैनन् नेपाली मिडियाहरु। तर 'नेपालमा नयाँ आर्किमिडिज' शिर्षकको पछिल्लो समाचार अझ बढी ताज्जुबको किन थियो भने आर्किमिडिजको सिद्धान्त गलत सावित गर्ने विद्यार्थी गणितमा स्नातकोत्तर गर्दै रहेछन् र उनको दावीसँग सहमत हुनेमा एकजना फिजिक्स टिचर पनि रहेछन्। आजको युगको अध्ययन अनुसन्धानको प्रकृति प्राचीन ग्रीसको वा सत्रौँ-अठारौँ शताब्दीतिरको यूरोपको जस्तो पक्कै छैन। कुनै पनि सिद्धान्त अकाट्य हुन्छ भन्ने होइन तर आर्किमिडिजको सिद्धान्तजस्तो आधारभूत सिद्धान्तलाई नेपालका प्रयोगशालामा गलत प्रमाणित गरिएछ भन्ने सुने भने हामीमाथि कति हाँस्लान् विज्ञानको अनुसन्धानको बारेमा सामान्य ज्ञान मात्रै राख्ने मान्छेहरु समेत।

हुनत सम्बन्धित मिडियाकर्मीहरुको आशय राम्रो होला; सीप र प्रतिभा भएका अनि केही उदाहरणीय काम गर्न खोजेकाहरुलाई प्रोत्साहन गर्नु पक्कै पनि राम्रो हो। तर समस्या के हो भने साधारण पत्रकार मात्र होइन, राष्ट्रिय पत्रिका चलाएर बस्ने बडेबडे सम्पादकहरुलाई पनि थाहा छैन आविस्कार केलाई भनिन्छ वा वैज्ञानिक कसलाई भनिन्छ। थाहा हुँदो हो त कहिले नयाँ आर्किमिडिज जन्मेको अनि कहिले प्लस टू पढ्ने कुनै विद्यार्थीले अल्वर्ट आइन्स्टाइनको सिद्धान्तलाई गलत सावित गरिदिएको भनेर हाहोमै चाहिनेभन्दा ज्यादा महत्व दिएर लेखिएका यस्ता समाचार पढ्नुपर्थेन होला।

मेरो कुरा कसै-कसैलाई पटक्कै चित्त नबुझ्ला तर हामी आशावादी वा सकारात्मक बन्ने नाममा दिग्भ्रमित बन्नु पनि त जाती हुँदैन होला। केही समय अघिसम्म म पनि यस्ता समाचारलाई सकारात्मक ढंगले लिनुपर्छ भन्ने सोच्थेँ तर म गलत रहेछु भन्ने त्यतिखेर थाहा भयो जतिखेर एकन्ताक 'हेलिकप्टर वैज्ञानिक' भनेर मिडियाद्वारा चर्चामा ल्याइएका नवीन विश्वकर्माको बारेमा धेरै अन्तरालपछि एउटा टेलिविजन कार्यक्रममार्फत जान्ने अवसर पाएँ। उनी रुकुमको दुर्गम गाउँका बालक थिए तर रहर र परिश्रमले हेलिकप्टरको दुरुस्त मोडेल बनाउन सफल भएका थिए। नवीनको सिर्जनशीलता र लगन मुक्तकण्ठले प्रशंसा गर्न लायकको थियो। तर काठ वा फलामबाट हेलिकप्टरको मोडेल (आर्किटेक्चर) बनाउनु र वास्तविक हेलिकप्टरको विज्ञान बुझ्नु अनि त्यसलाई व्यवहारमा उतार्नुमा आकाश-जमीनको अन्तर थियो। त्यसैले स्वभाविक रुपमा उनको सिर्जनशीलताले चर्चा त पायो तर सही दिशा पाएन। केही समाजको (अतिरन्जित) अपेक्षा र केही आफ्नो रहरका कारण उनीभित्र हेलिकप्टर बनाउने धुन त अझै छ होला तर निराशा र गुनासो बढी सुनिन्थ्यो उनको बोलीमा।

नवीनको जस्ता कथा बोकेका अरु पनि थुप्रै होलान्। आज मिडियाले किशोर र युवा 'वैज्ञानिक' बनाइदिएकोमा दंग पर्दा भोलिको सही बाटो पहिल्याउन चुकियो भने दु:ख भोग्ने तिनै किशोर र युवाहरु हुनेछन्। र, हामी हाम्रो कमजोरी थाहा पाउनेतर्फभन्दा पनि नियतिलाई धिक्कार्नेतर्फ लाग्ने छौँ। यसको मतलब हामी सधैं हीन सोच राखेर, विज्ञान बुझ्नु वा वैज्ञानिक बन्नु भनेको हाम्रो वशको कुरा होइन भनेर पुर्पुरोमा हात लगएर बस्ने पक्कै पनि भन्न खोजिएको होइन। कुरो के मात्रै हो भने हामी दुनियाँ कता गैरहेको छ भन्ने वास्तविकतासँग पनि परिचित हुनुपर्‍यो। अरुहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो क्षमतामा निखार ल्याउनेतिर सोच्नुपर्‍यो। आखिर नेपालीका छोराछोरीले विदेशीलाई समेत हाँक दिएका वास्तविक सफलताका कथा पनि त छन् नि हैन र? बाग्लुङको एउटा स्कूले किशोरले सोलार प्यानल जोडेर गाडी चलाएर देखाउँछ भने उसको सिर्जनशीलतालाई सकारात्मक बाटोतिर कसरी डोर्‍याउने भन्नेतिर मिडियाले प्रचार गरिदिने हो। उसलाई सोलार कार वैज्ञानिक वा उसको कार्यलाई प्राविधिक चमत्कार भनेर फूलबुट्टा भर्ने होइन।

तपाईंलाई कस्तो लाग्छ कुन्नी?

Thursday, October 29, 2009

पशुपतिका भण्डारी र 'अत्याधुनिक' तर्कहरु

हुनत धार्मिक विषय मेरो उतिसारो रुचीको विषय होइन तर पनि धर्म र समाज एक-अर्कासँग निरपेक्ष नहुने वास्तविकताले गर्दा पशुपतिका भण्डारीहरुको कृत्यका बारेमा केही नलेखी मन थामिदै थामिएन।

मेरो विचारमा पशुपतिनाथको मन्दिरमा नेपाली पूजारी राख्ने कि भारतीय भन्ने कुरा जुँगाको लडाईं बनाउनुपर्ने विषय हुँदै होइन। मूल कुरा त त्यहाँभित्रको पारदर्शिताको हो जुन भारतीय पूजारीको परम्परालाई कायम राखेरै पनि गर्न नसकिने कुरा पक्कै पनि होइन होला, यदि नियतमा खोट छैन भने। तर यहाँ त मुद्दाको सारपक्ष एकातिर हुन्छ, रुपपक्षलाई बोकेर कोकोहोलो मच्चाउनेहरुकै बाहुल्यता छ। यसरी आ-आफ्नै डम्फु बजाउने क्रममा पशुपतिमा नयाँ पुजारी नियुक्ति संयुक्त संघर्ष समितिका संयोजक डा. ॠषिप्रसाद शर्माले पशुपतिमा पूजारीका रुपमा कार्यरत दुई भण्डारीहरुको असली चेहरा सार्वजनिक गरेको समाचार पढ्न पाइयो। संघर्ष समिति र डा. शर्माका आफ्नै 'इन्ट्रेस्ट' होलान् तर जुन तितो यथार्थ उनीहरुले सार्वजनिक गरेका छन्, त्यसका लागि उनीहरु धन्यवादका पात्र छन्। भट्ट र भण्डारीका बारेमा पहिले पनि धेरै कुरा नसुनिएका होइनन् तर गाइँगुइँ चल्नु र तथ्यसहित प्रमाणित हुनुमा ठूलो भिन्नता हुन्छ।

हुनत हरेक दिनजसो यस्तै बिग्रेका-भत्केका समाचार सुन्दै र बिर्सिँदै जाने बानी लागेका हामीहरुले केही दिनमै यसलाई पनि बिर्सिने छौ। तर यसबाट केही महत्वपूर्ण प्रश्न अवश्य पनि उब्जेका छन्। माओवादी सरकारले पशुपतिमा नेपाली पूजारी राख्न खोज्दा धर्म र सँस्कृतिलाई भाँड्न पाइँदैन भन्दै तीन बित्ता उफ्रिने रामचन्द्र पौडेलहरुले भण्डारीहरुको 'लीला' मा चाँही धर्म र सँस्कृति भाँडिएको देखेका छन् कि छैनन्? धर्म र सँस्कृतिको जगेर्नाका लागि नारा लगाउदै पशुपति पुग्नेहरुले यसबारेमा केही बोल्नुपर्दैन? हुनत यसलाई माओवादीको (डा. शर्मा माओवादी सरकारले पशुपतिमा नियुक्त गरेका पूजारी भएकैले!) मात्र मुद्दा ठानेर हो कि केही पत्रिकाले त यससम्बन्धी समाचार छाप्न नै आवश्यक देखेनछन्। अथवा हाम्रा पत्रकारहरु धेरै उँचा र उदार सोचका भैदिएर हो कि? पत्रकार मित्रहरुलाई लागेको हुन सक्छ पशुपतिका भण्डारीहरु पनि त मान्छे हुन् नि, अब उनीहरुले डान्स रेस्टुरेन्टमा सुन्दरीहरुसँग बसेर जाँडरक्सी खाए भन्दैमा कुनै समाचार हुन्छ र! 'इट्स नट अ बिग डील'।

वास्तवमा पत्रकार मात्र होइन, आफूलाई सभ्य, उदार र आधुनिक देखाउन चाहने नाममा यस्ता तर्क राख्नेहरुको कमी छैन। सतहमा कुरो ठिकै पनि देखिन्छ तर गहिराइमा कुरो त्यति मात्र हुँदै होइन। पशुपतिको भण्डारी हुनु वा अन्यत्र कहिँको पनि जागिरे आदि हुनु भनेको त्यहाँको नियमभित्र बाँधिनु पनि हो। अझ धर्मको कुरा त लाखौं-करोडौ मान्छेको आस्थासँग प्रत्यक्ष जोडिएको कुरा हो। धर्म र नियममा बाँधिन मन लाग्दैन, 'एक्काइसौ शताब्दी' को जीवन निस्फिक्री बाँच्न मन लाग्छ भने त्यसो गर्ने छुट सबैलाई छ होला। तर जिम्मेवारी ओगटेर अरुको आस्थामाथि खेलवाड गर्दै मनलागी गर्ने छुट चाँही कसैलाई पनि हुँदैन। आफूलाई आधुनिक वा अत्याधुनिक सम्झने मित्रहरुहरुले यतातिर पनि सोचिदिए हुन्थ्यो कि?

केही समय अघि जेरी ह्यलीवेल नामकी 'सेलिब्रिटी' सँग हाम्रा प्रधानमन्त्रीको प्रस्तुतीका बारेमा पनि केही अत्याधुनिक सोच राख्न रुचाउने मित्रहरुको तर्क देखेर टीठ नै लागेको थियो। कुरा अँगालो हाल्नु वा म्वाइँ खानुको मात्रै पक्कै थिएन। कुरा हाम्रा नेता, मन्त्री, प्रधानमन्त्रीहरुले कसरी होस्ल्याङे चाला देखाउँछन् र आफूलाई विदुषक बनाएर प्रस्तुत गर्छन् भन्ने पनि थियो। तर आधुनिकताको भूतले छोपेका मित्रहरुलाई अरु कुरा सोच्ने फुर्सत कहाँ? उनीहरुलाई त बस् प्रधानमन्त्रीको 'सभ्य' शैलीको मुक्तकण्ठले तारीफ गर्नु थियो, एक्काइसौ शताब्दी र पश्चिमा विकसित देशहरुको दुहाइ दिदै। अचम्मको कुरा त केही जानेमानेका पत्रकारहरु पनि त्यसैमा सामेल थिए।

जतिसुकै उँचा कुरा गर्न खोजे पनि, एक्काइसौ शताब्दी र अरु के-के फलाके पनि धरातलको वास्तविकताको हेक्का त सबैलाई हुनुपर्ने हो। तर अब के नै लाग्छ र आधुनिक कहलिने जबर्जस्त सोचका अगाडि। खैर, सबैको जय होस्!!

Wednesday, October 21, 2009

कविता

कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो

यस्तो भैदिएको भए हुन्थ्यो
उस्तो भैदिएको भए हुन्थ्यो
हुन त कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो
म तिमीले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
तिमी मैले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
फगत रहर गरेर हुने भए
यो संसारको रीतै अलि फरक भैदिएको भए हुन्थ्यो
एकले अर्कालाई इशारामै बुझिदिने
बुझेपछि बिझाउनु किन पर्थ्यो होला र?
हामी सबै बुद्धत्वबाट दीक्षित भैदिएका भए हुन्थ्यो
तर हामी सामान्य मान्छे न पर्यौँ
देवता र दानव सँगै बोकेर हिंड्ने मान्छे
हाम्रा आफ्नै बाध्यता छन्
फरक यत्ति हो
कहिले हामी बाध्यता पन्छाउन रुचाउँछौ
अनि फेरि कहिलेचाँहि नभएका बाध्यता थुपार्न रुचाउँछौ
बस् हामी यसरी नै चलिरहेका छौँ
यस्तो भैदिएको भए हुन्थ्यो
उस्तो भैदिएको भए हुन्थ्यो
खै कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो !

२० अक्टोबर २००९
सोशिगाया, टोकियो

Thursday, October 15, 2009

मुक्तक

देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन्
देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन्
आफ्ना ठाउँमा सबै इमानदार भैदिएको किन यस्तो हुन्थ्यो र?
देश बनाउँछु भनेर देशकै आन्द्राभुँडी लुछ्नेहरु धेरै छन्

१५ अक्टोबर २००९
सोशिगाया, टोकियो

Monday, September 21, 2009

अनलाइन नेपाली शब्दकोश: http://www.nepalisabdakos.com/

ब्लगको दुनियाँमा पाइला टेक्ने रहरकै क्रममा ईन्टरनेटमा बरालिँदै जाँदा थाहा भयो, नेपाली ब्लगरहरुको संख्या त उल्लेख्य भैसकेको रहेछ। तीमध्ये केही स्तरीय र गहकिला ब्लगहरु हेरिसकेपछि ममा पनि जोश थपिएको छ, ब्लगमार्फत नियमित रुपमा आफूलाई अभिव्यक्त गर्ने। ईन्टरनेटमा बरालिने क्रममै भेटियो यो अनलाइन नेपाली शब्दकोश पनि। हुनत केही साथीहरु पहिलेदेखि नै परिचित हुनुहुन्छ होला यो अनलाइन शब्दकोशसँग, तैपनि मजस्तै मेसो नपाएका साथीहरुलाई उपयोगी हुन सक्छ भनेर यहाँ उल्लेख गर्न मन लागिहाल्यो। झट्ट हेर्दा शब्दकोश प्रारम्भिक अवस्थामै देखिन्छ, ७६०५ वटा मात्रै नेपाली शब्द समेटिएका रहेछन् अहिलेसम्म। तर ईन्टरनेटमै नेपाली शब्दकोश प्रयोग गर्न पाउनु कम्ती खुशीको कुरा लागेन मलाई। यस्तो सर्हानीय प्रयासका निम्ति सम्बन्धित सबैमा मेरो साधुवाद!

Saturday, September 19, 2009

कविता

पहिले र अहिले

पहिले
भन्नेहरुले नानाथरि भने
तिमी आफ्नो बाटो हिँडिछाड्यौ
तिमी रोमान्टिक थियौ कि
विवशताले तिमीलाई डोर्‍याउँदै थियो -
तिमी आफै जान
मचाहिँ पक्कै पनि अलि रोमान्टिक थिएँ
त्यसैले धेरै नसोँचिकनै
सलाम गर्न मन लागेथ्यो तिमीलाई

अहिले
समय कति चाँडै बदलियो
हामीले हेर्दाहेर्दै तर हामीले पत्तै नपाइकन
अहिले यसो हेर्दा देख्छु
तिमी त त्यहीँ छौ
तिमीलाई धिक्कार्नेहरु पनि त्यहीँ छन्
केही थपिएको छ भने रिक्तता मात्रै
विघटित मूल्यहरुको रिक्तता
तिमीलाई सलाम गर्न उठेको मेरो हात त्यसै लत्रेको छ

पुनश्च:
तिम्रोजस्तै तर तिम्रोभन्दा भिन्न
एउटा नयाँ कथा मेरा आँखा अगाडि छ
हेर्दैछु कथाको पटाक्षेप कसरी हुन्छ

१७ सेप्टेम्बर २००९
सोशिगाया, टोकियो

My Request

Though I don't have much idea about blogging, I am starting this blog site just to express the way I experience things and events around me. Please feel free to comment on my posts. Moreover, your suggestions for any kind of improvement on this site will be highly appreciated.