Thursday, October 29, 2009

पशुपतिका भण्डारी र 'अत्याधुनिक' तर्कहरु

हुनत धार्मिक विषय मेरो उतिसारो रुचीको विषय होइन तर पनि धर्म र समाज एक-अर्कासँग निरपेक्ष नहुने वास्तविकताले गर्दा पशुपतिका भण्डारीहरुको कृत्यका बारेमा केही नलेखी मन थामिदै थामिएन।

मेरो विचारमा पशुपतिनाथको मन्दिरमा नेपाली पूजारी राख्ने कि भारतीय भन्ने कुरा जुँगाको लडाईं बनाउनुपर्ने विषय हुँदै होइन। मूल कुरा त त्यहाँभित्रको पारदर्शिताको हो जुन भारतीय पूजारीको परम्परालाई कायम राखेरै पनि गर्न नसकिने कुरा पक्कै पनि होइन होला, यदि नियतमा खोट छैन भने। तर यहाँ त मुद्दाको सारपक्ष एकातिर हुन्छ, रुपपक्षलाई बोकेर कोकोहोलो मच्चाउनेहरुकै बाहुल्यता छ। यसरी आ-आफ्नै डम्फु बजाउने क्रममा पशुपतिमा नयाँ पुजारी नियुक्ति संयुक्त संघर्ष समितिका संयोजक डा. ॠषिप्रसाद शर्माले पशुपतिमा पूजारीका रुपमा कार्यरत दुई भण्डारीहरुको असली चेहरा सार्वजनिक गरेको समाचार पढ्न पाइयो। संघर्ष समिति र डा. शर्माका आफ्नै 'इन्ट्रेस्ट' होलान् तर जुन तितो यथार्थ उनीहरुले सार्वजनिक गरेका छन्, त्यसका लागि उनीहरु धन्यवादका पात्र छन्। भट्ट र भण्डारीका बारेमा पहिले पनि धेरै कुरा नसुनिएका होइनन् तर गाइँगुइँ चल्नु र तथ्यसहित प्रमाणित हुनुमा ठूलो भिन्नता हुन्छ।

हुनत हरेक दिनजसो यस्तै बिग्रेका-भत्केका समाचार सुन्दै र बिर्सिँदै जाने बानी लागेका हामीहरुले केही दिनमै यसलाई पनि बिर्सिने छौ। तर यसबाट केही महत्वपूर्ण प्रश्न अवश्य पनि उब्जेका छन्। माओवादी सरकारले पशुपतिमा नेपाली पूजारी राख्न खोज्दा धर्म र सँस्कृतिलाई भाँड्न पाइँदैन भन्दै तीन बित्ता उफ्रिने रामचन्द्र पौडेलहरुले भण्डारीहरुको 'लीला' मा चाँही धर्म र सँस्कृति भाँडिएको देखेका छन् कि छैनन्? धर्म र सँस्कृतिको जगेर्नाका लागि नारा लगाउदै पशुपति पुग्नेहरुले यसबारेमा केही बोल्नुपर्दैन? हुनत यसलाई माओवादीको (डा. शर्मा माओवादी सरकारले पशुपतिमा नियुक्त गरेका पूजारी भएकैले!) मात्र मुद्दा ठानेर हो कि केही पत्रिकाले त यससम्बन्धी समाचार छाप्न नै आवश्यक देखेनछन्। अथवा हाम्रा पत्रकारहरु धेरै उँचा र उदार सोचका भैदिएर हो कि? पत्रकार मित्रहरुलाई लागेको हुन सक्छ पशुपतिका भण्डारीहरु पनि त मान्छे हुन् नि, अब उनीहरुले डान्स रेस्टुरेन्टमा सुन्दरीहरुसँग बसेर जाँडरक्सी खाए भन्दैमा कुनै समाचार हुन्छ र! 'इट्स नट अ बिग डील'।

वास्तवमा पत्रकार मात्र होइन, आफूलाई सभ्य, उदार र आधुनिक देखाउन चाहने नाममा यस्ता तर्क राख्नेहरुको कमी छैन। सतहमा कुरो ठिकै पनि देखिन्छ तर गहिराइमा कुरो त्यति मात्र हुँदै होइन। पशुपतिको भण्डारी हुनु वा अन्यत्र कहिँको पनि जागिरे आदि हुनु भनेको त्यहाँको नियमभित्र बाँधिनु पनि हो। अझ धर्मको कुरा त लाखौं-करोडौ मान्छेको आस्थासँग प्रत्यक्ष जोडिएको कुरा हो। धर्म र नियममा बाँधिन मन लाग्दैन, 'एक्काइसौ शताब्दी' को जीवन निस्फिक्री बाँच्न मन लाग्छ भने त्यसो गर्ने छुट सबैलाई छ होला। तर जिम्मेवारी ओगटेर अरुको आस्थामाथि खेलवाड गर्दै मनलागी गर्ने छुट चाँही कसैलाई पनि हुँदैन। आफूलाई आधुनिक वा अत्याधुनिक सम्झने मित्रहरुहरुले यतातिर पनि सोचिदिए हुन्थ्यो कि?

केही समय अघि जेरी ह्यलीवेल नामकी 'सेलिब्रिटी' सँग हाम्रा प्रधानमन्त्रीको प्रस्तुतीका बारेमा पनि केही अत्याधुनिक सोच राख्न रुचाउने मित्रहरुको तर्क देखेर टीठ नै लागेको थियो। कुरा अँगालो हाल्नु वा म्वाइँ खानुको मात्रै पक्कै थिएन। कुरा हाम्रा नेता, मन्त्री, प्रधानमन्त्रीहरुले कसरी होस्ल्याङे चाला देखाउँछन् र आफूलाई विदुषक बनाएर प्रस्तुत गर्छन् भन्ने पनि थियो। तर आधुनिकताको भूतले छोपेका मित्रहरुलाई अरु कुरा सोच्ने फुर्सत कहाँ? उनीहरुलाई त बस् प्रधानमन्त्रीको 'सभ्य' शैलीको मुक्तकण्ठले तारीफ गर्नु थियो, एक्काइसौ शताब्दी र पश्चिमा विकसित देशहरुको दुहाइ दिदै। अचम्मको कुरा त केही जानेमानेका पत्रकारहरु पनि त्यसैमा सामेल थिए।

जतिसुकै उँचा कुरा गर्न खोजे पनि, एक्काइसौ शताब्दी र अरु के-के फलाके पनि धरातलको वास्तविकताको हेक्का त सबैलाई हुनुपर्ने हो। तर अब के नै लाग्छ र आधुनिक कहलिने जबर्जस्त सोचका अगाडि। खैर, सबैको जय होस्!!

Wednesday, October 21, 2009

कविता

कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो

यस्तो भैदिएको भए हुन्थ्यो
उस्तो भैदिएको भए हुन्थ्यो
हुन त कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो
म तिमीले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
तिमी मैले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
फगत रहर गरेर हुने भए
यो संसारको रीतै अलि फरक भैदिएको भए हुन्थ्यो
एकले अर्कालाई इशारामै बुझिदिने
बुझेपछि बिझाउनु किन पर्थ्यो होला र?
हामी सबै बुद्धत्वबाट दीक्षित भैदिएका भए हुन्थ्यो
तर हामी सामान्य मान्छे न पर्यौँ
देवता र दानव सँगै बोकेर हिंड्ने मान्छे
हाम्रा आफ्नै बाध्यता छन्
फरक यत्ति हो
कहिले हामी बाध्यता पन्छाउन रुचाउँछौ
अनि फेरि कहिलेचाँहि नभएका बाध्यता थुपार्न रुचाउँछौ
बस् हामी यसरी नै चलिरहेका छौँ
यस्तो भैदिएको भए हुन्थ्यो
उस्तो भैदिएको भए हुन्थ्यो
खै कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो !

२० अक्टोबर २००९
सोशिगाया, टोकियो

Thursday, October 15, 2009

मुक्तक

देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन्
देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन्
आफ्ना ठाउँमा सबै इमानदार भैदिएको किन यस्तो हुन्थ्यो र?
देश बनाउँछु भनेर देशकै आन्द्राभुँडी लुछ्नेहरु धेरै छन्

१५ अक्टोबर २००९
सोशिगाया, टोकियो

Monday, September 21, 2009

अनलाइन नेपाली शब्दकोश: http://www.nepalisabdakos.com/

ब्लगको दुनियाँमा पाइला टेक्ने रहरकै क्रममा ईन्टरनेटमा बरालिँदै जाँदा थाहा भयो, नेपाली ब्लगरहरुको संख्या त उल्लेख्य भैसकेको रहेछ। तीमध्ये केही स्तरीय र गहकिला ब्लगहरु हेरिसकेपछि ममा पनि जोश थपिएको छ, ब्लगमार्फत नियमित रुपमा आफूलाई अभिव्यक्त गर्ने। ईन्टरनेटमा बरालिने क्रममै भेटियो यो अनलाइन नेपाली शब्दकोश पनि। हुनत केही साथीहरु पहिलेदेखि नै परिचित हुनुहुन्छ होला यो अनलाइन शब्दकोशसँग, तैपनि मजस्तै मेसो नपाएका साथीहरुलाई उपयोगी हुन सक्छ भनेर यहाँ उल्लेख गर्न मन लागिहाल्यो। झट्ट हेर्दा शब्दकोश प्रारम्भिक अवस्थामै देखिन्छ, ७६०५ वटा मात्रै नेपाली शब्द समेटिएका रहेछन् अहिलेसम्म। तर ईन्टरनेटमै नेपाली शब्दकोश प्रयोग गर्न पाउनु कम्ती खुशीको कुरा लागेन मलाई। यस्तो सर्हानीय प्रयासका निम्ति सम्बन्धित सबैमा मेरो साधुवाद!

Saturday, September 19, 2009

कविता

पहिले र अहिले

पहिले
भन्नेहरुले नानाथरि भने
तिमी आफ्नो बाटो हिँडिछाड्यौ
तिमी रोमान्टिक थियौ कि
विवशताले तिमीलाई डोर्‍याउँदै थियो -
तिमी आफै जान
मचाहिँ पक्कै पनि अलि रोमान्टिक थिएँ
त्यसैले धेरै नसोँचिकनै
सलाम गर्न मन लागेथ्यो तिमीलाई

अहिले
समय कति चाँडै बदलियो
हामीले हेर्दाहेर्दै तर हामीले पत्तै नपाइकन
अहिले यसो हेर्दा देख्छु
तिमी त त्यहीँ छौ
तिमीलाई धिक्कार्नेहरु पनि त्यहीँ छन्
केही थपिएको छ भने रिक्तता मात्रै
विघटित मूल्यहरुको रिक्तता
तिमीलाई सलाम गर्न उठेको मेरो हात त्यसै लत्रेको छ

पुनश्च:
तिम्रोजस्तै तर तिम्रोभन्दा भिन्न
एउटा नयाँ कथा मेरा आँखा अगाडि छ
हेर्दैछु कथाको पटाक्षेप कसरी हुन्छ

१७ सेप्टेम्बर २००९
सोशिगाया, टोकियो

My Request

Though I don't have much idea about blogging, I am starting this blog site just to express the way I experience things and events around me. Please feel free to comment on my posts. Moreover, your suggestions for any kind of improvement on this site will be highly appreciated.