सबैलाई अवगत भएकै कुरा हो, जापान अहिले प्राकृतिक महाविपत्तिबाट उत्पन्न बहुआयामिक समस्याहरुसँग जुध्दै छ। भूकम्पसम्बन्धि अध्ययन-अनुसन्धानमा वर्षौँदेखि संलग्न वैज्ञानिकहरु तथा पूर्वानुमानकर्ताहरुलाई समेत स्तब्ध बनाउने गरी गएको ९ रिक्टर स्केलको महाभूकम्प, त्यसले निम्त्याएको प्रलयकारी चुनामी अनि त्यसपछि आइलागेको आणविक विकिरण चुहावटको समस्याबाट जापानको उत्तर-पूर्वी तोहोकु-कान्तो क्षेत्र नराम्ररी आहत भएको छ। यस दुखद घडीमा निर्दयी प्रकोपका कारण ज्यान गुमाउन पुगेका सबैको आत्माको चीरशान्तिको कामना गर्दै यस सङ्कटबाट जापान र जापानबासी सबैलाई चाँडोभन्दा चाँडो मुक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु।
भूकम्प र चुनामीले सबैभन्दा बढी क्षति पुर्याएको सेन्दाइ आसपासको क्षेत्र तथा आणविक समस्याको केन्द्रस्थल फुकुसिमाभन्दा केही टाढा भए पनि म अहिले बसिरहेको टोकियो शहर पनि महाविपत्तिले सिर्जना गरेका दुष्प्रभावहरुबाट मुक्त छैन। भूकम्पका साना-ठूला धक्काहरुले अहिलेसम्म तर्साउन छोडेका छैनन् तर मुख्य चिन्ता भने टोकियोसम्म आणविक विकिरण प्रसारको त्रास र विद्युत आपूर्तिको अनिश्चितता बनेका छन्।
हुनत व्यक्तिगत रुपमा म अनि मजस्ता थुप्रै साथीहरुको लागि नेपाली दूतावास र त्यहाँका मान्छेहरु 'गाड जाऊन् कि भीर जाऊन्' कुनै सरोकार छैन। तर यहाँनेर कुरा हाम्रा सरकारी संयन्त्रहरुको जवाफदेहिताको स्तरको हो। गैरजिम्मेवारिताको पनि शायद एउटा हद हुनुपर्ने हो। तर हाम्रो दूतावासका लागि त्यो हद पनि नभएको देखियो। अरु देशका मान्छेहरु जापानमै बस्ने कि जापान छोड्ने वा जापानमै बस्ने भए केकस्तो सतर्कता अपनाउने भनेर आफ्नो देशको दूतावासबाट जानकारी लिइरहेका रहेछन् तर कठै! हाम्रो दूतावासको अवस्था भने 'कुरा गर्यो, कुरैको दु:ख' भनेजस्तो। टोकियोमै बस्ने कि अन्यत्र जाने भनेर अलमलमा परेका एकजना नेपाली साथीलाई एउटा विदेशीले भन्दै थियो रे - 'टोकियोमा तिम्रो देशको दूतावास छैन र? दूतावासको मान्छेलाई फोन गर न, उनीहरुले आवश्यक सल्लाह दिइहाल्छन् नि!' बिचरा साथी के भनून् र, 'हाम्रो दूतावासका मान्छेहरु सप्पै अहिले सेन्दाइतिरका नेपालीहरुको उद्धारमा खटिइरहेका छन्, त्यसैले टोकियोका मान्छेहरुलाई सेवा र सल्लाह दिन पाइरहेका छैनन्, नत्र त म दूतावासमा सोधिहाल्थेँ नि!' भनेर उम्किएछन्। खै, कहिलेसम्म हामीहरु देशको लाज ढाकेजस्तो गर्दै यसरी नै उम्किरहनुपर्ने हो!
फुकुसिमास्थित आणविक उर्जा केन्द्रका आणविक भट्टीहरुमा विकिरण चुहावटको समस्या देखिएपछि सो समस्या देश-विदेश सबैतिर चर्चा र चासोको विषय बन्न पुग्यो। विकिरण चुहावटको हावा, पानी, माटो आदिबाट हुने प्रसार तथा त्यसबाट तत्कालै तथा दीर्घकालमा हुने खतरनाक असरका कारण सर्वत्र चिन्ता छाउनु स्वभाविक थियो। तर यथार्थपरक चिन्तासँगै जिम्मेवार भनिएका संचारमाध्यममा समेत अतिरञ्जित व्याख्या र हल्लाखल्लाको पनि कमी रहेन। फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा फैलिएका हावादारी सूचनाको त झन् कुरै भएन। आणविक भट्टीलाई आणविक बमकै रुपमा व्याख्या गरिदिने र आणविक दुर्घटना भन्नेबित्तिकै बुझे पनि नबुझे पनि 'चेर्नोबिल' कै बारेमा खोकिदिने केही उपबुज्रुकहरुसँग कसले पो सक्थ्यो र! यस्तै उपबुज्रुकहरुबाट आजित भएर एकजनाले ट्विटरमा लेख्न भ्याएका रहेछन् - 'किन सबै स्कुल ड्रपआउटहरु यहाँ आणविक विशेषज्ञ बनिटोपल्दैछन्? किनकि यो इन्टरनेट हो!'
तर मैले यहाँ उठाउन खोजेको प्रसङ्ग भने स्कुल ड्रपआउटहरुको नभएर बकाइदा 'डाक्टर' उपाधिधारी वैज्ञानिकका नाममा आएको एउटा लेखको हो। माइसंसारमा आएको 'आणविक दुर्घटना हुनै लागेको हो त जापानमा?' शिर्षकको लेखले 'डाक्टर' उपाधि र वैज्ञानिक भन्ने सम्मानप्रति नै लाजमर्दो बनाइदियो। लेख वैज्ञानिकले लेखेका छन् तर एउटा सामान्य इन्टरनेट-साक्षर व्यक्तिले पुर्याउनेजति ढङ्ग पनि नपुर्याइकन। आजको अति विशिष्टिकृत ज्ञानको जमानामा एउटा जलस्रोत वैज्ञानिक आणविक विषयको पनि ज्ञाता हुनुपर्छ भन्ने जरुरी छैन (खासमा सम्भव पनि छैन)। तर कुनै विषयमा, त्यो पनि संवेदनशील र समसामयिक चासोको विषयमा, केही लेख्न जमर्को गर्ने मान्छे जोकसैले पनि तत् विषयमा मोटामोटी जानकारी त राखेको हुनुपर्यो नि! नत्र आफ्नै आङ कन्याएर छारो किन उडाउनु?
भोपालको ग्यास चुहावटलाई आणविक विकिरण चुहावटको उदाहरणको रुपमा पेश गरिदिने, रेडियोधर्मी विकिरणलाई 'तेजाबी विकिरण' भनिदिने, समुन्द्रको पानी खपत गरेर आणविक उर्जा गृहहरु सञ्चालनमा रहन्छन् भनेर व्याख्या गरिदिने, सारा संचारमाध्यममा आएको हाइड्रोजन ग्यासको विस्फोटलाई उच्च-तापीय वाष्पको विष्फोट भनिदिनेजस्ता 'डाक्टर' र 'वैज्ञानिक' हरु शायद हामीकहाँ मात्रै भेटिने हुन् कि?
यस्तै 'डाक्टर' र 'वैज्ञानिक' हरुबाट वाक्क भएर होला, केही स्वनामधन्य 'डाक्टर' हरुलाई देख्यो भने मेरो एउटा साथीलाई 'डाक्टरसा'ब भिटामिन लेखिदिनुस् न!" भन्न मन लाग्छ रे! त्यसैले उसले यस्ता 'डाक्टर' हरुको नाम नै 'भिटामिन डाक्टर' राखिदिएको छ। धन्य हुन् 'भिटामिन डाक्टर' हरु!
(द्रष्टव्य: डा. सोहन घिमिरे आफ्नो क्षेत्रको प्राविधिक ज्ञानमा पक्कै पनि निकै राम्रो दक्खल राख्नुहुन्छ होला। आफ्नो अध्ययन-अनुसन्धानका माध्यमबाट उहाँले देशकै शीर उँचो पार्ने काम पनि गरिरहनुभएको होला। एउटा प्रतिष्ठित अनुसन्धान संस्थामा कार्यरत वैज्ञानिकको क्षमतामा प्रश्न उठाउने हैसियत म बबुरोको हुनै सक्दैन। तर जुन किसिमका त्रुटीपूर्ण तथ्य र जानकारीसहितको लेख आयो, त्यसले दिएको नकारात्मक सन्देश र हामीबीचको स्वनामधन्य प्रवृत्तिको बारेमा मात्रै मैले चर्चा गर्न खोजेको हुँ।)
पुनश्च: कतै पढ्न पुगेको थिएँ, जापानबासी सर्वसाधारण नेपालीलाई आणविक विकिरण चुहावटसम्बन्धि तथ्यपरक जानकारी दिन भनेर टोकियोस्थित नेपालीहरुको पहलमा एउटा 'प्राविधिक' टिम बनाइएको कुरा। टिममा मैले चिनेका केही पत्रकारहरु हुनुहुँदो रहेछ तर कुनै प्राविधिक पृष्ठभूमिको मान्छे त्यहाँ भएजस्तो लागेन। प्राविधिक ज्ञाता नै नभएको 'प्राविधिक' टिम कस्तो हो, कुरो बुझ्न सक्या'भे मार्दिनू! :( :)


