Thursday, March 24, 2011

केही गन्थन

असाध्यै तिख्खर कविता र रमाइला गजलहरु लेख्ने मेरो एउटा साथी नयाँ रचनाको मेसो नजुरेको धेरै भएपछि भन्ने गर्थ्यो - 'म त अब भूतपूर्व कवि भैसकेँ यार।' अहिले आफू पनि उही पाराले 'भूतपूर्व ब्लगर' भइएला भन्ने भैसक्यो। लेख्ने विषय थुप्रै हुँदा पनि फुर्सद र 'मुड' को तादम्य मिलाउन सकिएको होइन। त्यसैले आज खत्राखुत्रु गन्थन कोरेर भए पनि 'भूपू ब्लगर' हुनबाट जोगिने प्रयास गर्दैछु। :)

सबैलाई अवगत भएकै कुरा हो, जापान अहिले प्राकृतिक महाविपत्तिबाट उत्पन्न बहुआयामिक समस्याहरुसँग जुध्दै छ। भूकम्पसम्बन्धि अध्ययन-अनुसन्धानमा वर्षौँदेखि संलग्न वैज्ञानिकहरु तथा पूर्वानुमानकर्ताहरुलाई समेत स्तब्ध बनाउने गरी गएको ९ रिक्टर स्केलको महाभूकम्प, त्यसले निम्त्याएको प्रलयकारी चुनामी अनि त्यसपछि आइलागेको आणविक विकिरण चुहावटको समस्याबाट जापानको उत्तर-पूर्वी तोहोकु-कान्तो क्षेत्र नराम्ररी आहत भएको छ। यस दुखद घडीमा निर्दयी प्रकोपका कारण ज्यान गुमाउन पुगेका सबैको आत्माको चीरशान्तिको कामना गर्दै यस सङ्कटबाट जापान र जापानबासी सबैलाई चाँडोभन्दा चाँडो मुक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु।

भूकम्प र चुनामीले सबैभन्दा बढी क्षति पुर्‍याएको सेन्दाइ आसपासको क्षेत्र तथा आणविक समस्याको केन्द्रस्थल फुकुसिमाभन्दा केही टाढा भए पनि म अहिले बसिरहेको टोकियो शहर पनि महाविपत्तिले सिर्जना गरेका दुष्प्रभावहरुबाट मुक्त छैन। भूकम्पका साना-ठूला धक्काहरुले अहिलेसम्म तर्साउन छोडेका छैनन् तर मुख्य चिन्ता भने टोकियोसम्म आणविक विकिरण प्रसारको त्रास र विद्युत आपूर्तिको अनिश्चितता बनेका छन्।

भाग्यवश आणविक विकिरणको त्रास अहिलेसम्म मोटामोटीरुपमा त्रासमै सिमित छ भन्दा फरक नपर्ला। टोकियोको वायुमण्डलमा रेडियोधर्मी विकिरणको मात्रा सामान्यभन्दा बढेको केही रिडिङमा देखिएको भए पनि खतराको स्तरमा नपुगेको प्रष्ट भैसकेको छ। तर खानेपानी तथा तरकारी, दूधलगायतका खाद्यवस्तुमा  चाहिँ सानै मात्रामा भए पनि समस्याहरु देखिएका छन्। यी समस्याहरु कति विकराल बन्नेछन् भन्ने कुरा फुकुसिमास्थित आणविक भट्टीहरुको अवस्था कहिलेसम्ममा पूर्ण स्थीर र नियन्त्रित हुनेछ भन्नेमा भर पर्नेछ। अहिलेसम्मको अवस्थालाई हेर्दा मलाई व्यक्तिगत रुपमा चाहिँ समस्याले त्यति ठूलो रुप लिइहाल्लाजस्तो लाग्दैन।

अर्कोतर्फ टोकियो क्षेत्रमा खपत हुने विद्युतको उल्लेख्य हिस्सा आपूर्ति गर्ने फुकुसिमास्थित आणविक उर्जा केन्द्र सञ्चालन हुनुको साटो आफैँ समस्याको केन्द्रबिन्दु बन्न पुगेका कारण स्वभाविक रुपमा यस क्षेत्रको विद्युतको माग र आपूर्तिबीचको सन्तुलन खल्बलिएको छ। तत्कालका लागि त उर्जा-वचतका उपायहरु अवलम्बन गरेर टोकियो महानगर क्षेत्रमा लोडसेडिङको समस्यालाई पन्छाउने प्रयास गरिएको छ तर दीर्घकालीनरुपमा कस्तो समाधानको उपाय अपनाइने हो, अनिश्चित नै छ।   

यिनै समस्याको पृष्‍ठभूमिमा मूलत: दुई विषयमा केही बिस्तारमा चर्चा गर्न मन लागेको छ। हुनत नकारात्मक सोँच र पाखण्डी प्रवृत्ति झन्पछि झन् हावी हुँदै गएको हाम्रो समाजको तस्वीर देख्दा हिजोआज नराम्रै कुरामा पनि नकारात्मक टिप्पणी गर्नुभन्दा मौन बस्नु पो श्रेयस्कर हो कि जस्तो पनि लाग्छ। तर साह्रै अपाच्य लागेका कारण यी दुई विषयमा भने केही लेख्ने अनुमति माग्दछु।

भगुवा दूतावास र लाज ढाकिदिनुपर्ने हामीहरु 

जापानमा आइलागेको विपत्तिपछि जापानको उत्तर-पूर्वी तथा अन्य भागका समेत विदेशीहरु सम्भावित त्रासका साथै पारिवारिक दबाव आदिका कारण जापानबाट बाहिरिने क्रम बढ्यो। तर त्यो बहिर्गमनमा (कम्तिमा पनि टोकियोबाट बाहिरिनेहरुको हकमा) वैज्ञानिक र तार्किक कारणभन्दा पनि भावनात्मक पक्ष प्रबल थियो। अनिश्चय, द्विविधा र अनेकथरि सूचनाको प्रदूषणका बीचमा त्यस्तो हुनु अस्वभाविक पनि थिएन। तर एक्कासी मार्च १९ तारिखका दिन नेपाली पत्रपत्रिकामा आएको टोकियोस्थित नेपाली राजदूतावासको स्थानान्तरणसम्बन्धि समाचार भने बडो आश्चर्यजनक र क्षोभपूर्ण थियो। समाचारबाट प्रष्ट हुन्थ्यो, दूतावासका मान्छेहरु चोरडाँकाको शैलीमा टोकियोबाट ओसाकातिर भागेका मात्र रहेनछन्, आफ्नो नालायकी ढाकछोप गर्न जापान सरकारबाट विशेष जानकारी पाएको भन्ने कुतर्क गरेर सर्वसाधारण नेपालीमा थप भ्रम र आतङ्क छर्न पनि भ्याएका रहेछन्। सेन्दाइबाट उद्धार गरेर टोकियो ल्याइपुर्‍याइएका नेपालीहरुलाई त्यसै अलपत्र छाडेर, अरुबेला निरन्तर सम्पर्कमा रहने टोकियोस्थित नेपाली संघसंस्था तथा तिनका अगुवाहरु कोहीकसैलाई सुइँको समेत नदिई एकाएक पत्रपत्रिकाबाट आफूहरु भागेको र टोकियो शहर आणविक विकिरणको चपेटामा परेर बस्नलायक नरहेको सनसनीपूर्ण समाचार प्रवाहित गर्ने दूतावासका मान्छेहरुको 'पुरुषार्थ' को जति चर्चा गरे पनि कमै होला।   

हुनत व्यक्तिगत रुपमा म अनि मजस्ता थुप्रै साथीहरुको लागि नेपाली दूतावास र त्यहाँका मान्छेहरु 'गाड जाऊन् कि भीर जाऊन्' कुनै सरोकार छैन। तर यहाँनेर कुरा हाम्रा सरकारी संयन्त्रहरुको जवाफदेहिताको स्तरको हो। गैरजिम्मेवारिताको पनि शायद एउटा हद हुनुपर्ने हो। तर हाम्रो दूतावासका लागि त्यो हद पनि नभएको देखियो। अरु देशका मान्छेहरु जापानमै बस्ने कि जापान छोड्ने वा जापानमै बस्ने भए केकस्तो सतर्कता अपनाउने भनेर आफ्नो देशको दूतावासबाट जानकारी लिइरहेका रहेछन् तर कठै! हाम्रो दूतावासको अवस्था भने 'कुरा गर्‍यो, कुरैको दु:ख' भनेजस्तो। टोकियोमै बस्ने कि अन्यत्र जाने भनेर अलमलमा परेका एकजना नेपाली साथीलाई एउटा विदेशीले भन्दै थियो रे - 'टोकियोमा तिम्रो देशको दूतावास छैन र? दूतावासको मान्छेलाई फोन गर न, उनीहरुले आवश्यक सल्लाह दिइहाल्छन् नि!' बिचरा साथी के भनून् र, 'हाम्रो दूतावासका मान्छेहरु सप्पै अहिले सेन्दाइतिरका नेपालीहरुको उद्धारमा खटिइरहेका छन्, त्यसैले टोकियोका मान्छेहरुलाई सेवा र सल्लाह दिन पाइरहेका छैनन्, नत्र त म दूतावासमा सोधिहाल्थेँ नि!' भनेर उम्किएछन्। खै, कहिलेसम्म हामीहरु देशको लाज ढाकेजस्तो गर्दै यसरी नै उम्किरहनुपर्ने हो!  

विकिरण चुहावाट र 'भिटामिन डाक्टर' हरुको प्रसङ्ग

फुकुसिमास्थित आणविक उर्जा केन्द्रका आणविक भट्टीहरुमा विकिरण चुहावटको समस्या देखिएपछि सो समस्या देश-विदेश सबैतिर चर्चा र चासोको विषय बन्न पुग्यो। विकिरण चुहावटको हावा, पानी, माटो आदिबाट हुने प्रसार तथा त्यसबाट तत्कालै तथा दीर्घकालमा हुने खतरनाक असरका कारण सर्वत्र चिन्ता छाउनु स्वभाविक थियो। तर यथार्थपरक चिन्तासँगै जिम्मेवार भनिएका संचारमाध्यममा समेत अतिरञ्जित व्याख्या र हल्लाखल्लाको पनि कमी रहेन। फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा फैलिएका हावादारी सूचनाको त झन् कुरै भएन। आणविक भट्टीलाई आणविक बमकै रुपमा व्याख्या गरिदिने र आणविक दुर्घटना भन्नेबित्तिकै बुझे पनि नबुझे पनि 'चेर्नोबिल' कै बारेमा खोकिदिने केही उपबुज्रुकहरुसँग कसले पो सक्थ्यो र! यस्तै उपबुज्रुकहरुबाट आजित भएर एकजनाले ट्विटरमा लेख्न भ्याएका रहेछन् - 'किन सबै स्कुल ड्रपआउटहरु यहाँ आणविक विशेषज्ञ बनिटोपल्दैछन्? किनकि यो इन्टरनेट हो!'

तर मैले यहाँ उठाउन खोजेको प्रसङ्ग भने स्कुल ड्रपआउटहरुको नभएर बकाइदा 'डाक्टर' उपाधिधारी वैज्ञानिकका नाममा आएको एउटा लेखको हो। माइसंसारमा आएको 'आणविक दुर्घटना हुनै लागेको हो त जापानमा?' शिर्षकको लेखले 'डाक्टर' उपाधि र वैज्ञानिक भन्ने सम्मानप्रति नै लाजमर्दो बनाइदियो। लेख वैज्ञानिकले लेखेका छन् तर एउटा सामान्य इन्टरनेट-साक्षर व्यक्तिले पुर्‍याउनेजति ढङ्ग पनि नपुर्‍याइकन। आजको अति विशिष्टिकृत ज्ञानको जमानामा एउटा जलस्रोत वैज्ञानिक आणविक विषयको पनि ज्ञाता हुनुपर्छ भन्ने जरुरी छैन (खासमा सम्भव पनि छैन)। तर कुनै विषयमा, त्यो पनि संवेदनशील र समसामयिक चासोको विषयमा, केही लेख्न जमर्को गर्ने मान्छे जोकसैले पनि तत् विषयमा मोटामोटी जानकारी त राखेको हुनुपर्‍यो नि! नत्र आफ्नै आङ कन्याएर छारो किन उडाउनु?

भोपालको ग्यास चुहावटलाई आणविक विकिरण चुहावटको उदाहरणको रुपमा पेश गरिदिने, रेडियोधर्मी विकिरणलाई 'तेजाबी विकिरण' भनिदिने, समुन्द्रको पानी खपत गरेर आणविक उर्जा गृहहरु सञ्चालनमा रहन्छन् भनेर व्याख्या गरिदिने, सारा संचारमाध्यममा आएको हाइड्रोजन ग्यासको विस्फोटलाई उच्च-तापीय वाष्पको विष्फोट भनिदिनेजस्ता 'डाक्टर' र 'वैज्ञानिक' हरु शायद हामीकहाँ मात्रै भेटिने हुन् कि?

यस्तै 'डाक्टर' र 'वैज्ञानिक' हरुबाट वाक्क भएर होला, केही स्वनामधन्य 'डाक्टर' हरुलाई देख्यो भने मेरो एउटा साथीलाई 'डाक्टरसा'ब भिटामिन लेखिदिनुस् न!" भन्न मन लाग्छ रे! त्यसैले उसले यस्ता 'डाक्टर' हरुको नाम नै 'भिटामिन डाक्टर' राखिदिएको छ। धन्य हुन् 'भिटामिन डाक्टर' हरु!

(द्रष्टव्य: डा. सोहन घिमिरे आफ्नो क्षेत्रको प्राविधिक ज्ञानमा पक्कै पनि निकै राम्रो दक्खल राख्नुहुन्छ होला। आफ्नो अध्ययन-अनुसन्धानका माध्यमबाट उहाँले देशकै शीर उँचो पार्ने काम पनि गरिरहनुभएको होला। एउटा प्रतिष्ठित अनुसन्धान संस्थामा कार्यरत वैज्ञानिकको क्षमतामा प्रश्न उठाउने हैसियत म बबुरोको हुनै सक्दैन। तर जुन किसिमका त्रुटीपूर्ण तथ्य र जानकारीसहितको लेख आयो, त्यसले दिएको नकारात्मक सन्देश र हामीबीचको स्वनामधन्य प्रवृत्तिको बारेमा मात्रै मैले चर्चा गर्न खोजेको हुँ।)

पुनश्च: कतै पढ्न पुगेको थिएँ, जापानबासी सर्वसाधारण नेपालीलाई आणविक विकिरण चुहावटसम्बन्धि तथ्यपरक जानकारी दिन भनेर टोकियोस्थित नेपालीहरुको पहलमा एउटा 'प्राविधिक' टिम बनाइएको कुरा। टिममा मैले चिनेका केही पत्रकारहरु हुनुहुँदो रहेछ तर कुनै प्राविधिक पृष्‍ठभूमिको मान्छे त्यहाँ भएजस्तो लागेन। प्राविधिक ज्ञाता नै नभएको 'प्राविधिक' टिम कस्तो हो, कुरो बुझ्न सक्या'भे मार्दिनू! :( :)   


Wednesday, January 19, 2011

'उसलाई पिएचडी दिनोस्'

आइन्सटाइनसँग केही भलाकुसारी

प्र: एकजना  भौतिकशास्त्रीको रुपमा आफ्नो लामो करिअरको आधारमा तपाईँ विज्ञानलाई कसरी परिभाषित गर्नुहुन्छ?
उ: हाम्रो चेतना-अनुभवमा रहेको विश्रृङ्खल विविधतालाई तार्किक हिसाबले एकरुप विचारपद्धतिसँग सङ्गत बनाउने प्रयास नै विज्ञान हो। यस्तो  पद्धतिमा भिन्नभिन्न अनुभवहरु सैद्धान्तिक संरचनामा यसरी सम्बन्धित गरिनुपर्छ कि परिणामस्वरुप प्राप्त हुने संयोजन अद्वितीय तथा विश्वासिलो होस्... चेतना-अनुभवहरु उपलब्ध विषयवस्तु हुन्, तर तिनलाई व्याख्या गर्ने सिद्धान्तचाहिँ मानव-निर्मित हो। यो... काल्पनिक, अपूर्ण र जहिले पनि प्रश्न उठाउन तथा शंका गर्न सकिने हुन्छ।

प्र: विज्ञानको क्षेत्रमा करिअर बनाउन चाहने युवालाई तपाईँ कस्तो सामान्य सल्लाह दिनुहुन्छ?
उ: वैज्ञानिक कार्यका लागि प्रयास गर्दा -- निकै प्रतिभाशाली व्यक्तिले समेत -- कुनै साँच्चिकै मूल्यवान् कुरा प्राप्त गर्ने सम्भावना निकै थोरै हुन्छ... त्यसको एउटै मात्र समाधान छ: आफ्नो धेरैजसो समय केही प्रयोगात्मक काममा लगाउनोस्...  जुन तपाईँको स्वभावसँग मिल्छ, र बाँकी समय अध्ययनमा खर्च गर्नुहोस्। तब तपाईँ सक्षम हुनुहुनेछ... कुनै दैवी आशिर्वादबिना पनि एउटा सामान्य र सामञ्जस्यपूर्ण जिन्दगी बाँच्न। 

प्र: वैज्ञानिक करिअरका आर्थिक सीमाहरुको बारेमा नि?
उ: विज्ञान एउटा गजबको कुरा हो, यदि यसबाट गुजारा चलाउनुपर्दैन भने। मान्छेले आफू जुन काममा सक्षम छु भन्ने लाग्छ त्यसैबाट जीवन गुजारा चलाउनुपर्ने हुन्छ। वैज्ञानिक कार्यको आनन्द तब मात्र लिन सकिन्छ जब हामी कसैप्रति पनि जवाफदेही हुनुपर्ने हुँदैन।  

प्र: त्यसो भए वैज्ञानिक करिअरका परिणामहरु के हुन् जसले यसलाई सार्थक र रोमाञ्चक बनाउँछन्?
उ: मानवलाई उदात्त बनाउने र उनीहरुको स्वभावलाई समृद्ध गराउने कुरा वैज्ञानिक अनुसन्धानको परिणाम होइन, बरु रचनात्मक तथा खुला दिमागले बौद्धिक कार्य सम्पन्न गर्ने बेला बुझाइको निम्ति गरिने संघर्ष हो। यो मेरो भित्री विश्वास हो कि विज्ञानको विकासले मुख्यरुपमा विशुद्ध ज्ञानको उत्कण्ठालाई शान्त पार्छ।  

प्र: तर मलाई लागेको हुन सक्थ्यो कि प्रकाशमा ल्याइने नयाँ ज्ञान -- अर्थात् आविष्कार -- नै त्यस्तो कुरा हो जसले वैज्ञानिक करिअरलाई सार्थक बनाउँछ?
उ: 'आविष्कार' भन्ने शब्द आफैँमा खेदजनक छ। किनकि आविष्कारको अर्थ पहिल्यै अस्तित्वमा रहेको कुनै वस्तुको बारेमा थाहा पाउनु बराबर हुन्छ; यो प्रमाणसँग जोडिएको हुन्छ जसले 'आविष्कार' को होइन कि आविष्कारसम्म पुग्ने साधनको विशेषता बोक्छ। ...आविष्कार वास्तवमा कुनै रचनात्मक कार्य होइन।

प्र: वैज्ञानिक प्रशिक्षणको लागि सबैभन्दा राम्रो स्कुल छान्न कस्तो सल्लाह दिनुहुन्छ?
उ: स्कुलको लक्ष्य जहिले पनि कुनै तन्नेरी त्यहाँबाट एउटा सामञ्जस्यपूर्ण व्यक्तित्व बनेर निस्कोस् भन्ने हुनुपर्छ न कि एउटा विशेषज्ञ। अन्यथा ऊ -- उसको विशेष ज्ञानका कारण -- सामञ्जस्यपूर्णरुपमा विकसित मान्छेभन्दा एउटा सुप्रशिक्षित कुकुरको ज्यादा निकट हुन्छ।  

प्र: एउटा शिक्षकमा चाहिँ तपाईँ के चाहनुहुन्छ?
उ: सबैभन्दा मूल्यवान् कुरा जुन एउटा शिक्षकले केटाकेटीलाई दिनसक्छ, त्यो खासमा ज्ञान र सुझबुझ होइन बरु ज्ञान र सुझबुझप्रतिको तीव्र इच्छा हो, र बौद्धिक मूल्यहरुप्रतिको सराहना हो, चाहे ती कलात्मक, वैज्ञानिक वा नैतिक जुनसुकै होऊन्। रचनात्मक अभिव्यक्ति र ज्ञानको मजा जागृत गर्नु नै एउटा शिक्षकको सर्वोच्च कला हो। धेरै शिक्षकहरु विद्यार्थीले नजानेको कुरा पत्ता लगाउने अभिप्रायका प्रश्नहरु सोधेर आफ्नो समय बर्बाद गर्छन् जबकि सोधपुछको साँचो कला विद्यार्थीले कुन कुरा जान्दछ वा ऊ कुन कुरा जान्न सक्षम छ भन्ने पत्ता लगाउनु हो।

प्र: अनि विद्यार्थीको मनोभावचाहिँ कस्तो हुनुपर्ला?
उ: तथ्यहरु सिक्नु त्यति धेरै महत्त्वपूर्ण कुरा हैन। त्यसको लागि कुनै व्यक्तिलाई साँच्चिकै कलेजको खाँचो पर्दैन। उसले किताबबाट ती कुरा सिक्न सक्छ। एउटा लिबरल आर्ट्स कलेजमा लिइने शिक्षाको महत्त्व धेरै तथ्यहरु सिक्नु होइन बरु पाठ्यपुस्तकबाट सिक्न नसकिने कुरा सोँच्न दिमागलाई प्रशिक्षित गर्नु हो।

प्र: सफल वैज्ञानिक करिअरका लागि उचित शैक्षिक स्थान भेट्न गाह्रो छ?
उ: शिक्षाको उद्देश्य स्वतन्त्ररुपमा काम गर्ने र सोँच्ने व्यक्तिहरु प्रशिक्षित गर्ने हुनुपर्छ, तथापि त्यस्ता व्यक्तिले समुदायको सेवामा आफ्नो जीवनको उच्चतम प्राप्ती देखून्। वास्तवमा यो कुनै चमत्कारभन्दा कम छैन कि आधुनिक शिक्षणविधिहरुले अनुसन्धानको पवित्र जिज्ञासालाई पूर्णरुपमा अँठ्याएर मार्न सकेका छैनन्; किनकि यो सानो सुन्दर बिरुवा प्रोत्साहनबिना, मुख्यरुपमा स्वतन्त्रताको चाहनाले खडा हुन्छ; यसबिना यो कष्टमा पर्छ र निश्चितरुपमा नष्ट हुन्छ।    

प्र: शिक्षण प्रक्रियामा परीक्षाहरू कति महत्त्वपूर्ण छन्?
उ: म परीक्षाहरुको विरोधी हुँ -- तिनले पढाइप्रतिको रुचीलाई रोक्ने मात्र काम गर्छन्। एउटा विद्यार्थीको [कलेज] करिअरभरिमा दुइटाभन्दा बढी परीक्षा लिइनुहुँदैन। म सेमिनारहरु आयोजना गर्ने थिएँ र यदि तन्नेरीहरु इच्छुक छन् अनि सुन्छन् भने उनीहरुलाई डिप्लोमा दिने थिएँ।

प्र: त्यसो गर्दा भौतिकशास्त्रको प्राध्यापकको रुपमा आफ्नो लामो अनुभवको हिसाबले कहिलेकाहीँ अयोग्य विद्यार्थी पनि पार होला भन्ने तपाईँलाई लाग्दैन?  
उ: त्यस केटालाई उसको पिएचडी दिनोस्। फिजिक्सको पिएचडीले उसले खास बिगार गर्न सक्नेवाला छैन।

प्र: तपाईँको विचारमा विज्ञानमा काम गर्न कस्तो वातावरण सबैभन्दा प्रभावकारी हुन्छ?
उ: आधुनिक समाजमा समेत केही खास पेशाहरु छन् जसमा एक्लिएर बस्नुपर्छ र कुनै ठूलो शारीरिक वा बौद्धिक मेहनत गर्नुपर्दैन। लाइटहाउसहरु तथा लाइटसिपहरुमा काम गर्नेजस्ता पेशाहरु दिमागमा आउँछन्। तन्नेरीहरु जो वैज्ञानिक, खासगरि गणितीय वा दार्शनिक प्रकृतिका, समस्याहरुको बारेमा सोँच्छन्, उनीहरुलाई यस्ता पेशामा राख्न सम्भव नहोला र? यस्तो महत्त्वाकांक्षा भएका ज्यादै थोरै तन्नेरीहरुले मात्र आफ्नो जीवनको उर्वर अवधिमा समेत बिना कुनै बाधा-अवरोध जतिसुकै लामो समयसम्म पनि वैज्ञानिक प्रकृतिका समस्यामा आफूलाई समर्पित गर्ने अवसर पाउँछन्।

प्र: पृथकीकरणका निम्ति तपाईँको रोजाइ के एकहिसाबले प्रतिस्पर्धा र प्राथमिकताको चासोबाट प्रभावित हो?
उ: विज्ञानको विकासका लागि केही योगदान दिन सक्ने विशेष सुविधाप्राप्त व्यक्तिहरुले साधारण प्रयासका फलहरुको निम्ति आफ्नो खुशीमा ग्रहण लाग्न दिनुहुँदैन।

प्र: सहकर्मी छान्दा कस्ता गुणहरुलाई बढी महत्त्व दिनुहुन्छ?
उ: वैज्ञानिक विशिष्टता र व्यक्तिगत गुणहरु सधैँ सँगसँगै गएको देखिँदैन। म कुनै महाछट्टु सूत्रबाज वा प्रयोगबाजभन्दा एउटा मिलनसार मान्छेलाई अधिक महत्त्व दिन्छु।

प्र: आफ्नो अनुसन्धानका लागि लक्ष्यहरु तय गर्दै गरेको एउटा वैज्ञानिकलाई कस्तो सल्लाह दिनुहुन्छ?
उ: कसैले पनि सजिलै प्राप्त हुने लक्ष्य लिनुहुँदैन। हरेकले कडाभन्दा कडा मेहनतद्वारा मात्र प्राप्त हुने लक्ष्यका लागि आफूलाई तयार पार्नुपर्छ।   

प्र: एउटा वैज्ञानिक पथभ्रष्ट हुने मुख्य बाटाहरु के-के हुन्?
उ: १) राक्षसी शक्तिले उसलाई झुटो परिकल्पनातिर मोडिदिन्छ। (यसको लागि ऊ हाम्रो दयाको हकदार हुन्छ।)
    २) उसका तर्कहरु त्रुटीपूर्ण र हावादारी छन्। (यसको लागि ऊ हाम्रो पिटाइको हकदार हुन्छ।)

प्र: एउटा सच्चा परिकल्पनाको विशेषता के हो?
उ: मेरो निम्ति परिकल्पना एउटा त्यस्तो कथन हो जसको सत्यता अस्थायी रुपमा मानिएको हुन्छ तर जसको अर्थ सबै शंकाभन्दा माथि हुनुपर्छ।  

प्र: 'प्रकृति' लाई बुझ्ने क्रममा एउटा वैज्ञानिकले सामना गर्ने सबैभन्दा ठूला चुनौतीहरु के-के हुन्?  
उ: १) भगवान आफूले चाहेअनुसार गर्छन् र उनी कसैको आज्ञा मान्दैनन्।
    २) परमेश्वर सुक्ष्म छन्, तर दुष्टचाहिँ उनी छैनन्।
    ३) मेरो अर्कै विचार छ। हुनसक्छ, ईश्वर दुष्ट छन्

प्र: विज्ञानको कलासँग के सम्बन्ध छ?
उ: प्राविधिक सीपको एउटा निश्चित उच्चतह प्राप्त गरिसकेपछि विज्ञान र कला एक-अर्कामा विलय हुन खोज्छन् - सौन्दर्यशास्त्र, लचकता र रुपमा। महान् वैज्ञानिकहरु कलाकार पनि हुन्।  

प्र: पश्चिमा विज्ञानको विकासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
उ: पश्चिमा विज्ञानको विकास दुइटा महान् उपलब्धिमा आधारित छ: ग्रिसेली दार्शनिकहरुले आविष्कार गरेको औपचारिक तार्किक पद्धति (युक्लिडियन ज्यामितिको रुपमा), अनि व्यवस्थित प्रयोगद्वारा कारण-सम्बन्ध पत्ता लगाउन सकिने सम्भावनाको अन्वेषण (पुनर्जागरण अवधिमा)। 

प्र: विज्ञानको क्षेत्रमा हामी कति पर पुगिसकेका छौँ?
उ: लामो जीवनमा मैले सिकेको एउटा कुरा हो: यथार्थको तुलनामा हाम्रो पूरै विज्ञान आदिम र शिशुसमान छ -- यद्यपी यो हामीसँग भएको सबैभन्दा मूल्यवान् वस्तु हो।

प्र: त्यस्तो विरल अवस्था जतिबेला तपाईँको कुनै शोधपत्रको रुखो समीक्षा गरिएको थियो, तपाईंको प्रतिक्रिया के थियो?
उ: अज्ञात समीक्षकका सिफारिसहरुलाई पालना गर्नुपर्ने म कुनै आवश्यकता देख्दिनँ (जो संयोगले त्रुटीपूर्ण हुन्छन्)। उपरोक्त आधारमा म आफ्नो काम अन्यत्र कहीँ प्रकाशित गराउनेबारेमा सोँच्नेछु।

*********************************************************************************** प्रस्तुत भलाकुसारी आधुनिक भौतिक विज्ञानका पिता तथा बिसौँ शताब्दीका 'शताब्दीपुरुष' अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५) ले विभिन्न विषयमा उनको जीवनको आखिरीतिर व्यक्त गरेका विचारहरुलाई प्रश्नोत्तरको रुपमा ढालेर ले तयार पारेको भलाकुसारीको नेपाली अनुवाद हो। यहाँ समेटिएका आइस्टाइनका विचारहरु Dan Albert ले Alice Calaprice द्वारा सम्पादित The Ultimate Quotable Einstein बाट लिएका हुन्। तर आइन्स्टाइनसँगको 'गफगाफ' पढ्नुअघि Albert ले सुझाएका चेतावनीहरु यहाँ पनि सान्दर्भिक हुन सक्छन्:
१) आइन्स्टाइनले बुढ्यौलीसँगै अनेक विषयमा आफ्नो धारणा फेरेका थिए।
२) उनका अलिक कडा टिप्पणीहरु आंशिकरुपमा हाँसोमा भनिएका हुन सक्छन्।
३) उनले विज्ञानलाई ज्यादातर एउटा भौतिकशास्त्रीको आँखाले हेरेका छन्।
***********************************************************************************

अन्त्यमा, आइन्स्टानलगायत संसारका थुप्रै महान् वैज्ञानिकहरुलाई एकसाथ देख्न सकिने आधुनिक विज्ञानको स्वर्णिमकाल झल्काउने यो 'आइकोनिक' तस्वीर पनि:

सन् १९२७ मा ब्रसेल्समा सम्पन्न पाँचौँ सोल्वे कन्फरेन्समा लिइएको यस तस्वीरमा देखिएका २९ मध्ये १७ जना वैज्ञानिकहरु कोही त्यतिबेलैका र कोही त्यसपछिका नोबेल पुरस्कार विजेता हुन्। क्वान्टम सिद्धान्तमाथिको तातो बहसमा केन्द्रित उक्त कन्फरेन्समा आइन्स्टाइन र अर्का वैज्ञानिक निल्स बोरबीच चलेको जुहारी पनि निकै चर्चित छ। 'ईश्वरले पासा खेल्दैनन्,' हेइजेनबर्गको 'अनिश्चितताको सिद्धान्त' को आलोचना गर्दै आइन्स्टाइनले भनेका रहेछन्। बोर पनि के कम, उनले मुख फर्काएका रहेछन्, 'आइन्स्टाइन, ईश्वरले के गर्नुपर्छ भन्न छोड।'

Sunday, January 2, 2011

मटेरादेखि खाँडाचक्रसम्म फन्को मार्दा

एकजना पत्रकारको कृति भएका कारण पत्रपत्रिकामा 'कर्नाली ब्लुज' को चर्चा अलिक बढी नै हुनु स्वभाविक देखिन्थ्यो, त्यसैले त्यस्तो चर्चालाई कृतिको गुणस्तरीयताको कसी मान्न तयार थिइनँ। फेरि 'मार्केटिङ' को बोलवाला भएको जमानामा जुन कृतिको बारेमा प्रकाशकहरुले बढी हल्लाखल्ला गर्छन्, त्यसैलाई उत्कृष्ट, बेजोड आदिको पगरी गुथाउनेहरुको पनि कमी हुने कुरा भएन। तर इन्टरनेटमा उपलब्ध 'कर्नाली ब्लुज' को सानो अंश पढिसकेपछि भने नेपाली साहित्यमा एउटा पढ्नैपर्ने कृति आएको कुरामा आश्वस्त भएको थिएँ। त्यसैले संयोगवश नेपाल जान लाग्नुभएका एकजना अग्रजसँग मदनमणि दीक्षितको 'माधवी' सँगै बुद्धिसागरको यो उपन्यास पनि मगाउन पुगेँ। 'माधवी' पढ्ने क्रममै , पढिसकेपछि उक्त गहन पुस्तकको बारेमा पनि केही लेख्ने नै छु, अहिलेलाई भने पढेर भर्खरै सकेको 'कर्नाली ब्लुज' का कुरा।

'कर्नाली ब्लुज' मा कथावस्तुकै हिसाबले नयाँ कुरा उस्तो केही छैन। 'नागरिकन्युज' मार्फत् कटासे बजार कालिकोटका प्रसङ्ग जोडिएका बुद्धिसागरका ब्लगहरु एकपल्ट पढिसकेको मान्छेले मोटामोटी अड्कल काट्न सक्छ, कैलालीको मटेरादेखि कालिकोटको खाँडाचक्रसम्मको कथा कसरी बुनिएको होला भनेर। तर कथावर्णनमा उपन्यासकारले जुन मिठास घोलेका छन्, त्यसले 'कर्नाली ब्लुज' लाई नेपाली साहित्यको श्रीवृद्धि गर्ने एउटा अब्बल दर्जाको कृतिको रुपमा उभ्याइदिएको छ।

उपन्यासमा एउटा निम्नमध्यमवर्गीय 'फिरन्ता' परिवारको कथा जो जिविकोपार्जनको सिलसिलामा सुर्खेतबाट मधेसतिर झरेको हुन्छ जसलाई समयक्रमले फेरि कालिकोटको पहाडतिर उकालो लाग्ने बनाइदिन्छ। उपन्यासमा गाउँले जीवनका कुरा छन्, अनि छन् गाउँ पनि नरहेका शहर पनि बन्न नसकेका साना 'बजारिया' बस्तीका कुरा। त्यस्ता ठाउँको जीवनशैली, सामाजिक मूल्यमान्यता, त्यहाँ भेटिने विविध प्रवृत्तिका पात्रहरु तत्कालिन समाजको बदलिँदो चरित्रलाई एउटा बालक, उसको परिवार उसका साथीसंगातीको माध्यमबाट उपन्यासमा निकै सरल सजीव ढङ्गले प्रस्तुत गरिएको छ। त्यसमा मिसिन आउने बालसुलभ चञ्चलता र बिठ्याइँका प्रसङ्गहरुले त झन् पाठकलाई आफ्नै कथा पो पढिरहेको छु कि भन्ने भान समेत पारिदिन्छन्।


ब्रेन ह्यामरेजका कारण प्यारालाइसिसले थलिएर अस्पातलको शैय्यामा संघर्षरत आफ्ना बाबुको कारुणिक अवस्था देख्दा छोराको मनमा उर्लिएका भावनाहरुलाई पूर्वस्मृतिको रुप दिएर लेखिएको उपन्यासको कथाले सबैभन्दा पहिले मटेरा गाउँ पुर्‍याउँछ जहाँ उपन्यासको मूल पात्र बृषबहादुरको बाल्यकालका प्रारम्भिक दिनहरु बितेका हुन्छन्। ती दिनहरुमा कटासे बजारमा औषधी पसल थापेर बसेका बाबु 'डाक्टर' हर्षबहादुरसँग साइकलको डन्डीमा बसेर मटेराबाट कटासे पुग्नु त्यहाँ पाउरोटी अनि ठन्डा बरफ खान पाउनुजस्तो रमाइलो कुरा बृषबहादुरका लागि अरु केही हुँदैन। मटेरामा चन्द्रे बृषबहादुरको सबैभन्दा मिल्ने साथी हुन्छ। त्यसैले चन्द्रेले अमौरीखोलामा भेटेको चुच्चेटोपी देख्नेबित्तिकै बृषबहादुरलाई पनि त्यस्तै टोपी नभै हुँदैन। केटाकेटीमा -साना कुराको पनि कस्तो ठूलो रहर हुन्छ मान्छेलाई! चुच्चेटोपीपछि चिमचिमे घडी, हिरो रेन्जर साइकल, जुली जुत्ता, रेडियो, लेदरको ज्याकेट आदि के-केको मात्र रहर हुँदैन बृषबहादुरलाई पनि! ती सबै रहर पूरा गरिदिने बाबुप्रति कृतज्ञ स्वयंमा दङ्दास हुँदै बेलाबेलामा भनिरहेको हुन्छ – 'मेरा बाजस्तो यो संसारमा कोई पनि छैन।'

केही समयपछि विविध कारणवश बृषबहादुरको परिवार मटेराबाट कटासे बसाइँ सर्न पुग्छ। बसाइँ सर्ने बेलाको बालमनोविज्ञानलाई उपन्यासकारले मन छुने गरी पोखेका छन्:

… कसरी छाडिएला यो मटेरा? अघिसम्म छलफल भएको थियो, के-के लैजाने? कालो बाकस, सिरक-डसना, भाँडाकुँडा, नागरिकता, हाम्रा चिना। धेरै नाम भेटिएनन् जो हामीसँग साथ लाग्थे। मेरो मन च्यातियो। के-के छाड्ने? अमौरीखोला? डुम्रीको रुख? यो घर? यो गोठ? लहरै उभिएका मेवाका रुख? पन्चेगोरू? लक्ष्मीगाई? आँगनको घन्टीफूल? यी चरा?

मलाई सप्पै लैजाऊँजस्तो लाग्यो, कटासे। सप्पै। तर सप्पै अटाउने झोला मसँग थिएन।

मटेराबाट कटासे बजार पुग्दा त्यहाँ अनुभव गर्न सकिने नौला कुराहरुको वर्णन घतलाग्दो छ। चन्द्रे, भागीराम, ममतादिदी, दैलेखी साउजी, राजासाहेब, खुशीराम, उमादिदी, मगरमामाजस्ता मटेराका प्रतिनिधि पात्रहरुको ठाउँमा कटासेका रमेश, एकराज, भक्ते, शिवशंकर, शर्मिला, शर्मा अंकल, बाटु, सद्दाम, बिष्टबुढा, गौली साउ, हजुर्को साउजी, ओमे साउजस्ता पात्रहरु उपन्यासमा झुल्किन आइपुग्छन्। सँगसँगै कर्नालीको पहाडतिरबाट किनमेलका लागि तल झर्ने हटेरुहरुका प्रसङ्ग पनि त्यहाँ जोडिन्छन्।

नजिकैको चिसापानीमा कर्नाली पुल बनेपछि चिसापानीको बजार चम्कने कटासेको बजार सुक्ने गाइँगुइँका बीच 'हजुर्को चियापसल' मा सुनिने संवादले हाम्रो 'चियागफ' संस्कृतिको प्रतिनिधित्व मात्र गरिरहेको हुँदैन, बरु हाम्रो समाजको मिहिन चित्रण समेत गरिरहेको हुन्छ:

'नेपालाँ यस्तो पुलै छैन,' एउटाले गिलास नचाउँदै जवाफ दियो।

'हजुर्को संसारमै यस्तो पुल छैन रे!' साउजीले पनि अरुबाटै सुनेको कुरा सुनायो, 'अब चिसापानीमा व्यापार सप्रिने भयो हजुर्को।'

'लाटो देशको गाँडो तन्नेरी भनेको यै हो,' बिष्टबुढा थर्थरी काँप्दै कराए, 'संसारका अरु पुल देख्या छस्? त्यसै ठूलो भन्छस्। पुलले व्यापार सप्रिन्छ, मुजी?'

कटासे बजार बिस्तारै उजाडिँदै गएपछि बृषबहादुरको परिवार फेरि बसाइँ सर्छ यसपालिको गन्तव्य हुन्छ कालिकोटको सदरमुकाम रहेको खाँडाचक्र बजार। जरिलाल अरु सात जना भरियासँगै कर्नालीको तिरैतिर कालिकोटतिर उकालो लाग्दाको बृषबहादुरको यात्रावर्णनले कर्नालीबासीको अपरिमित व्यथाभित्रको सानो अंश बोकेको जस्तो लाग्छ। ठाउँ परिवेश मात्र हैन भाषा समेत नौलो लाग्ने कालिकोटमा बृषबहादुरहरु कसरी अभ्यस्त हुँदै गए भन्ने कुरा पनि चाखलाग्दो छ। शुरु-शुरुमा कर्नालीको भाषा नबुझेर खप्नुपरेको हैरानी एकठाउँमा यसरी व्यक्त गरिएको :

'बज्जै चट्टी छन् कि?'

ग्राहकले सोधेपछि आमा ट्वाल्ल। कहिले यस्तो व्यापार गरेको भए पो।

'के मागेका हुन्?' आमा मतिर फर्किनुहुन्थ्यो।

इन्डियाबाट आएको होला नि! अन्दाज गर्थेँ, चड्डी भनेको पो हो कि? थरीथरीका कट्टु देखाउँथेँ।

'यी नाइँ।' ग्राहक हाँस्दै चप्पलका खाततिर देखाउँथ्यो।

उपन्यासको अन्त्यतिर माओवादी विद्रोहको शुरुवात त्यसले सर्वसाधारणका जीवनमा समेत ल्याएको उथलपुथललाई चित्रित गरिएको छ। तर उपन्यासको उठानका विपरित बैठान अलि हतारमा गर्न खोजेजस्तो देखिन्छ। त्यसैले शुरुमा लामो टेलिसिरियलका जस्ता लाग्ने दृश्य पछि सिनेमाका दृश्यजस्ता लाग्छन्।

जेहोस्, लेखक बुद्धिसागर चपाईँ प्रकाशक फाइनप्रिन्टले 'कर्नाली ब्लुज' मार्फत् नेपाली साहित्यजगत् यसका पाठकहरुलाई ठूलो गुन लगाएका छन्। साहित्यसँगै नेपाली भाषालाई समृद्ध बनाउन समेत यो उपन्यासले महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ। उपन्यासमा खासगरी मध्यपश्चिममा बोलिने नेपाली भाषाको लवज त्यहाँका झर्रा शब्दहरुको सुन्दर प्रयोग गरिएको नै, नेपाली भाषा कति मिठो गरी लेख्न सकिन्छ भन्ने नयाँ मानक पनि यसले स्थापित गरिदिएको छ। उपन्यासमा धेरै ठाउँमा आमाचकारी गाली अरु पनि अशिष्ट लाग्ने शब्दहरुलाई जस्ताको तस्तै राखिएको तर तिनको प्रयोग यति सहज स्वभाविक ढङ्गले गरिएको कि कतै पनि भाषा बिझाएको अनुभव हुँदैन।

तर भाषाकै कुरामा केही खट्किने पक्षहरु पनि छन्। उपन्यासको नाम आफैँमा किन 'कर्नाली ब्लुज' जुराइयो, बुझ्न सकिएन। शहरिया युवापाठकका जिब्रोमा सजिलै झुन्डिने नाम रोजिएको हो भने कुरा बेग्लै हो, अन्यथा 'ब्लुज' जस्तो नेपाली जनजिब्रोमा अलिकति पनि नपचेको अङ्ग्रेजी शब्द यो उपन्यासलाई सुहाएको देखिँदैन। त्यस्तै उपन्यासमा प्रयुक्त थारू भाषा कर्नाली भाषाले उपन्यासको सौन्दर्य वृद्धि गरेका छन् तर कतै-कतै भने ती भाषाको मेसो नपाउने पाठकहरुलाई 'खाए खा, नखाए घिच' पो गरिएको हो कि जस्तो लाग्छ। उपन्यासमा दृष्टान्त, विम्ब अनुकरणात्मक शब्दहरुको प्रचुर प्रयोग गरिएको तर केही ठाउँमा तिनको प्रयोगमा पर्याप्त ध्यान पुर्‍याइएको देखिन्छ। उदाहरणको लागि 'डुङ्डुङ्ती उडिरहेको धुलो' भन्नुभन्दा 'बुङ्बुङ्ती उडिरहेको धुलो' भन्नु बढी स्वभाविक हुन्थ्यो होला। त्यसमाथि पहिलो संस्करण भएकोले पनि हुन सक्छ, उपन्यासमा स-साना मुद्रणत्रुटिहरु पनि थुप्रै भेटिन्छन्।

Saturday, December 25, 2010

नेपाली ब्लग संसार - २०१०

गत अगस्टमा सम्पन्न नेपाली ब्लगरहरुको अनलाइन भेलामा नेपाली ब्लगहरुको 'रिडरसिप' बढाउने सम्बन्धमा उपयोगी छलफल भएको थियो। त्यसमा नवीनजीले अघि सार्नुभएको अवधारणा अनुसार ब्लगरहरुले आफूलाई उत्कृष्ट लागेका नेपाली ब्लगपोस्टहरुको सूचि (सकेसम्म आवधिक रुपमा) आ-आफ्नो ब्लगमा प्रकाशित गर्ने भन्ने विषय पनि परेको थियो। सोही अनुरुप केही ब्लगरहरुले पहिले नै यस्ता सूचिहरु प्रकाशित गरिसक्नुभएको छ, जसले नेपाली ब्लगजगतबारे खासै जानकारी नभएका पाठकहरुलाई राम्रा ब्लगहरुसम्म आकर्षित गर्न थोरै नै भए पनि मद्दत पुर्‍याउने आशा गर्न सकिन्छ। तर यस कुरामा 'गर्छु' भन्दाभन्दै निकै ढिलो हुनेमा परेँ मचाहिँ, कहिले अचानक आइलाग्ने व्यस्तता त कहिले आफ्नै अल्छिपनले गर्दा। जेहोस्, अब त २०१० सालको पात्रो नै फेरिने बेला हुन थालिसक्यो, त्यसैले २०१० मा प्रकाशित मलाई उत्कृष्ट लागेका दश ब्लगपोस्टहरुको सूचि यहाँ राख्दैछु।

यहाँ छानिएका ब्लगपोस्टहरु मलाई नितान्त व्यक्तिगत रुपमा मन परेका प्रतिनिधि ब्लगपोस्टहरु मात्र हुन्। त्यसैले अरु थुप्रै ब्लग र ब्लगपोस्टहरुप्रति मैले न्याय गर्न नसकेको पनि हुन सक्छु। तर उत्कृष्टमध्ये पनि दश उत्कृष्ट ब्लगपोस्ट छान्नुपर्ने अप्ठ्यारो र एक किसिमले अपजसे कामको प्रकृतिलाई यहाँहरुले बुझिदिनुहुने नै छ भन्ने आशा गर्दछु।

१. जिन्दगी/अनुभूति
http://sunraintales.blogspot.com/2010/02/blog-post.html

२. आमाको रेस्टुरेन्टको भात मिठो बाउको होटेलमा निन्द्रा प्यारो
http://archanashrestha.blogspot.com/2010/02/blog-post_06.html

३. वृद्धाश्रममा भेटिएका दुई वृद्ध युवा
http://ametya.blogspot.com/2010/03/blog-post.html

४. परदेशमा हामीले खेलेको भकुन्डो र संविधान
http://khullamanch.blogspot.com/2010/05/blog-post.html

५. तँ किन घर फर्किस्?
http://www.basantagautam.com/2010/08/blog-post_09.html

६. अम्रिका बस्दाका केही रोचक प्रसङ्गहरु-१
http://giri25.blogspot.com/2010/08/blog-post.html

७. सडकजाम एण्ड माई फिलिङ्स...
http://www.gufgaf.com/2010/08/blog-post_27.html

८. भूतवक्ताका कुरा !
http://dacharya.blogspot.com/2010/09/blog-post_11.html

९. बोत्तल पुराण !!!
http://www.aakarpost.com/2010/09/blog-post_27.html

१०. गफ दिए ओबामाले
http://www.milanl.com/2010/11/blog-post.html

र अन्त्यमा, यो पनि (२००९ बाट):
गफ
http://kamaladi.com/2009/08/10/guff/

(द्रष्टव्य: ब्लगहरुको १ देखि १० सम्मको क्रम प्रकाशित मिति अनुसार राखिएको छ।)

इसवी सम्वतको नयाँ वर्ष २०११ सुखद र मङ्गलमय रहोस्! यहाँहरु सबैमा हार्दिक शुभकामना!!

Saturday, November 13, 2010

'फेन्सी टेक्नोलोजी' का पक्षमा

गत सोमबार नेपालका पूर्व जलश्रोत मन्त्री तथा होनहार जलश्रोतविद्का रुपमा चिनिने दीपक ज्ञवालीज्यूले दिनुभएको एउटा प्रवचन कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। हाल संयुक्त राष्ट्रसंघ विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट फर एड्भान्स्ड स्टडिज् तथा युनेस्को-अन्तर्राष्ट्रिय जलविज्ञान कार्यक्रमको अतिथि प्राध्यापकका रुपमा योकोहामामा रहनुभएका ज्ञवालीले 'सांस्कृतिक सिद्धान्त, परम्परागत जल-ज्ञान तथा द्वन्द्व सुधार' विषयमा टोकियो विश्वविद्यालयमा दिनुभएको करिब डेढघण्टा लामो प्रवचनका तारिफयोग्य पक्षहरु थुप्रै थिए। विषयवस्तुमाथिको उहाँको गहिरो र व्यापक ज्ञान, अङ्ग्रेजी भाषामाथिको राम्रो पकड तथा 'बोल्ड' प्रस्तुतिले प्रवचन अवधिभर सबैलाई मन्त्रमुग्ध बनाएको प्रष्टै थियो। फेरि नेपालको मन्त्री वा पूर्वमन्त्री भन्नेबित्तिकै झट्ट हाम्रो मानसपटलमा बन्ने 'जोकर' तस्वीरभन्दा फरक उहाँको उपस्थिति टोकियो विश्वविद्यालयका अन्य विद्यार्थी तथा प्राध्यापकहरुका सामु हामी नेपाली विद्यार्थीहरुका लागि गर्वको विषय पनि थियो। तर कुरा यतिमै टुङ्गिँदैन, टुङ्गिँदो हो त हाम्रो देशको दुरावस्था यस्तो हुने पनि थिएन कि!

ज्ञवालीले आफ्नो प्रवचन अवधिमा निकैचोटि दोहोर्‍याउनुभएको एउटा शब्दावली थियो - 'फेन्सी टेक्नोलोजी'। उहाँको कुरा सुन्दा लाग्थ्यो, हामीहरुले विश्विद्यालयमा हासिल गरेको/ गरिरहेको शिक्षा सबै व्यर्थ हो। विश्वविद्यालयहरुमा पढाइ हुने सुत्र, समीकरण आदि सबै बेतुकका कुरा हुन्। के साँच्चै त्यसो हो त? त्यसो भए तिनै सुत्र, समीकरणका आधारमा अरुहरुले गरेको विकास पनि मिथ्या हुनुपर्‍यो। हैन, अरुले गरेको सही हो तर हाम्रो सन्दर्भमा चाहिँ ती सुत्र, समीकरणहरु काम लाग्दैनन् भन्ने हो भने जति सकिन्छ काम लाग्ने बनाउने जिम्मा पनि हाम्रो आफ्नै हो। 'अङ्गुर अमिलो छ' भनेर भाग्दैमा हुन्छ र? ज्ञवालीले भन्नुभएजस्तै नयाँ प्रविधिको विकास सँगसँगै परम्परागत जल-ज्ञानलाई पनि उपयोग गर्नुपर्छ भन्ने कुरामा विमति राख्ने ठाउँ छैन, बरु यो कुरा प्रविधिका अन्य क्षेत्रमा पनि लागु हुन्छ। तर यसको मतलब हामी सधैँ माटोको बाँध वा पानीघट्ट प्रविधिको 'गफ चुटेर' बसौँ भन्ने हुन सक्छ र? आधुनिक विज्ञान र प्रविधिका कुरालाई 'फेन्सी' नाम दिएर परम्परागत प्रविधिको रट लगाउँदैमा अहिलेको प्रतिष्पर्धात्मक संसारमा हामी खरो उत्रन सकौँला?


दिगो विकासका लागि कुनै पनि नयाँ प्रविधि वा विकासको अवधारणा प्राविधिक रुपमा सम्भव, आर्थिक तथा वातावरणीय रुपमा व्यवहार्य र सामाजिक रुपमा स्वीकार्य हुनुपर्छ भन्ने मान्यता अहिले निर्विवाद भैसकेको छ। परम्परादेखि चलिआएका चलन, स्थानीय समुदायका सरोकारका मुद्दाहरु आदिलाई ध्यान नदिइकन विकासको लक्ष्य प्राप्त नहुने कुरा पनि साँचो हो। तर त्यसो भन्दैमा दुई-चारवटा असफलताका कथाहरुलाई बढाइँचढाइँ गरेर आधुनिक प्रविधिको धज्जी उडाउनु हामीजस्तो पछौटे राष्ट्रका लागि सुहाउँदो कुरा हुनै सक्दैन।

जलसम्पादकै उपयोगका सन्दर्भमा कुरा गर्दा सबैभन्दा धेरै 'पानीविज्ञ' हामीकहाँ नै होलान् जस्तो लाग्छ, तर फेरि पनि किन हामी मध्ययुगतिर धकेलिँदै छौँ त? भन्न त सकिन्छ, हाम्रो सरकारमा बस्नेहरु गतिला भएनन्, हाम्रो ब्युरोक्रेसी गतिलो भएन, आदि। तर सरकार वा सरकारी निकाय बाहिर बसेकाहरुले गर्ने तर्कहरु पनि परिणाममुखी छन् र? जलश्रोतको क्षेत्रमा वर्षौँको अनुभव बटुलेकाहरुबाट हुने ठूला आयोजनाको विरोध, राष्ट्रियताको चर्को वकालत आदि फगत उनीहरुको व्यक्तिगत वृत्तिविकासका आधार हुन् वा साँच्चिकै राष्ट्रहितप्रति उनीहरुको प्रतिवद्धताका उदाहरण हुन्, प्रश्न अनुत्तरित नै छ। काठमाडौं उपत्यकाका ढुङ्गेधाराहरु हाम्रा अमूल्य निधि हुन्, तिनको संरक्षण हुनुपर्छ, सम्वर्द्धन हुनुपर्छ। तर हामीलाई मेलम्ची वा त्योभन्दा अझ ठूला महत्वाकांक्षी आयोजनाहरु पनि चाहिन्छन्। समस्या ठूला आयोजनाको सैद्धान्तिक वा दार्शनिक पक्षसँग हुँदै होइन, समस्या त हाम्रो फितलो र भ्रष्ट कार्यान्वयन पक्षसँग पो हो।

चीनले याङ्जे नदीमा 'थ्री गर्जेज्' बाँध बाँधेर २२,५०० मेगावाट क्षमताको जलविद्युत गृह निर्माण गर्न लाग्दा ठूलो बहसको विषय बन्यो। लाखौँ मान्छेहरु विस्थापित हुने र आसपासको पर्यावरणमा प्रतिकूल असर पर्नेजस्ता विवादास्पद विषयका बाबजुद चीनले उक्त आयोजना सम्पन्न गरिछाड्यो किनभने उर्जाको बढ्दो मागलाई धान्नुपर्ने चुनौती उसका सामु थियो। चीनमा निर्माण भएको उक्त बाँध वा अन्यत्र पनि निर्माण भएका/ भैरहेका ठूला बाँधहरु सही वा निर्विकल्प नै भन्ने होइन तर एउटा कुरा केचाहिँ निश्चित हो भने विकासोन्मुख राष्ट्रले आफ्ना स्वार्थहरु आफैँ पहिचान गर्न सक्नुपर्छ। विकसित राष्ट्रमा जोडतोडका साथ उठ्ने मुद्दाहरु हाम्रा मुद्दा नहुन पनि सक्छन्। आइएस्सी पढ्दा एकजना सरले भन्नुभएको कुरा अहिले पनि म बेला-बेलामा सम्झने गर्छु। एउटा प्रसङ्गमा उहाँको सटिक टिप्पणी थियो - 'नेपालीका घरका छानामा प्वाल परेको मतलब छैन, यहाँ कसै-कसैलाई ओजोनमा प्वाल परेको चिन्ता छ।' विकास र सम्पन्नताको एउटा चरणमा पुगेपछि 'आदर्श' का कुरा जति गर्दा पनि सुहाउँछ तर ढुङ्गेयुगमै बसेर परम्परागत प्रविधिको रक्षा गर्छु, पृथ्वी जोगाउँछु भन्नुचाहिँ हुट्टिट्याउँले आकाश थाम्छु भन्नुभन्दा बढी केही पनि होइन।

पुल्चोक क्याम्पसमा पढ्दा भौतिकशास्त्रका एकजना सर 'हलो प्रविधि' को कुरा गर्ने गर्नुहुन्थ्यो। हाम्रो विज्ञान-प्रविधिको 'फोकस' ठुल्ठुला कुरा गर्नेभन्दा पनि हलो-कोदालो सुधार्ने प्रविधिको विकासतिर हुनुपर्छ भनेर उहाँ हामीहरुलाई हौँस्याउनुहुन्थ्यो। कुरा मिठो सुनिन्छ तर वास्तविकता सायद त्यस्तो मिठो छैन। अरुहरु आधुनिक बन्दुक लिएर शिकार गर्न निस्किरहेका बेला हामी उही गुलेलीको 'इनोभेसन' मा रमाएर बस्दैमा होला र? यसको अर्थ हामी एकैचोटि फुलचोकीको डाँडाबाट रकेट उडाउने गुड्डी हाँकेर बसौँ भन्ने होइन तर दुनियाँ कता जाँदैछ भन्ने कुरासँग हामी अवगत हुनै पर्छ। हामीसँग पनि ठूला सपना हुनै पर्छ। 'फेन्सी टेक्नोलोजी' हामीले पनि भित्र्याउन सक्नुपर्छ, विकास गर्न सक्नुपर्छ। आधुनिक विज्ञान-प्रविधिको 'कोर' ज्ञानलाई आत्मसात् नगरिकन, ठूला स्केलका उद्योगधन्दा र आयोजनाहरुलाई प्रवर्द्धन नगरिकन 'जोगवाड' का भरमा कुनै पनि समाजले काँचुली फेरेको उदाहरण हाम्रासामु छैन। देवकोटाले त्यसै भनेका होइनन् - 'उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक'।

Thursday, September 16, 2010

कथा एक साँझको

आज उनी ल्याबमा नआएको दिन परेको थियो। उनी अर्थात् ल्याबका हर्ताकर्ता एकजना सिनियर रिसर्चर। किन हो कुन्नि, उनको अनुपस्थिति सबैलाई प्रिय बन्छ। उनी हुँदा पनि सबैजना हाँसोठट्टा, रमाइलो गरिरहेकै हुन्छन् तर उनी नहुँदा चुपचापै बसे पनि मानसिक शान्ति हुने भएर हो कि! उनको उपस्थिति वा अनुपस्थितिसँग मलाई खासै सरोकार त हुँदैन तर उनी ल्याबमा नआएको दिन एउटा कुरामा भने म पनि निश्चिन्त हुन्छु - आज ल्याबमा सबैको 'मुड' ठिकठाक छ र उनीहरुसँग कुनै सल्लाह-सहयोग माग्नुपरे उपयुक्त समय यही हो।

उनी नभएकै भएर होला, अरु दिन राती सात-आठ बज्दासम्म हल न चल भई बस्नेहरु आज पाँच नबज्दै 'ओसाकिनी' भन्दै निस्कन थालिसकेका थिए। त्यसैले अन्तिममा बाँकी बँच्नेमा मेरो एकजना 'सेम्पाई' र म मात्रै भयौँ ल्याबमा। अनि त झमझम पानी परिरहेको साँझको फाइदा उठाउँदै 'नोमिखाई' जाने योजना बनिहाल्यो। एकछिनमै हामीहरु पुग्यौँ नजिकै पर्ने सिमोकिताजावाको एउटा 'इजाकाया' मा।

खाने-पिउने कुरा मगाइसकेपछि गफगाफ शुरु हुन थाल्यो। गफगाफको विषय उही मौसम, खानाको स्वाद, ‘विकेन्ड’ को योजना, ‘हबी’ आदि आदि। अरु सबै त ठिकै छ, यो ‘हबी’ को कुरा भने बडो अप्ठ्यारो। नेपालमा जे भने पनि चल्थ्यो, शायद आफ्नो खास रुची वा सोख केमा हो भन्ने कुरालाई गम्भीरतापूर्वक सोँच्नै नपर्ने भएर होला। जस्तो कि कतिपय साथीहरु फगत 'गफगाफ' लाई नै आफ्नो ‘हबी’ भन्न पछि पर्थेनन्। म आफैँ चाहिँ नयाँ-नयाँ ठाउँको भ्रमणलाई आफ्नो ‘हबी’ भन्ने गर्थेँ। नेपालभित्र दुई-चार ठाउँ घुमिएको पनि थियो। तर यहाँ भ्रमणलाई ‘हबी’ भनौँ भने अहिलेसम्म कतिवटा देश घुमिस् भन्ने प्रश्न तेर्स्याउलान् भन्ने डर। देशको के कुरा, आफू आएको यही जापानमा पनि कहाँ नै पो घुमिएको छ र भ्रमणलाई सोख भन्न सुहाउने गरी। अब खेलकूद भनौँ, आफूले जानेको खेल कुन चाहिँ होला भनेर सोँच्नै आधा घण्टा लाग्छ। गाउने, नाच्ने, बजाउने आदि त झन् दश हात परका कुरा भैहाले। त्यसैले सेम्पाईले मेरो ‘हबी’ को बारेमा सोध्दा "यही नै भन्ने छैन, बदलिइरहन्छ" भनेर टार्नु बाहेक अर्को उपाय भेटिनँ मैले। बरु कुराकानीलाई रमाइलो बनाउन उनको गर्लफ्रेन्डको प्रसङ्ग निकाल्नु श्रेयस्कर लाग्यो।

केही महिनाअघि मात्रै हो, मैले नयाँ ‘रिलेसनसिप’ शुरु गरेँ भनेर उनले खुशी हुँदै मलाई सुनाएको। पछि भेट पनि गराएका थिए आफ्नी प्रेमिकासँग। तर अहिले सोध्दा त उनीहरुको ‘ब्रेक-अप’ पो भैसकेछ। कति सजिलो ‘रिलेसनसिप’ शुरु हुन र टुङ्गिन। किन ‘ब्रेक-अप’ भयो, त्यसको खासै कारण पनि छैन फेरि। "यत्तिकै ऊसँग डेटिङ जान त्यति रमाइलो लाग्न छोड्यो अनि..." रे।

"अनि नयाँ गर्लफ्रेन्डको बनाउने बारे नि?" मलाई यही विषयमै कुरा तान्न मन लाग्यो।

"त्यो त खै..."

"किन र?"

"अस्ति म मेरो घर गएको बेला एकजना साथीले 'मसँग डेटिङ शुरु गर' भन्दै थिई। ऊ मलाई मन पनि पर्छे। तर म यहाँ फर्कनुपर्ने, ऊ त्यहाँ टाढा छे। 'लङ डिस्टान्स रिलेसनसिप' मेन्टेन गर्न गाह्रो हुन्छ भनेर 'नो' भनिदिएँ।"

उनको यस्तो भनाइ सुन्दा "त्यसो भए मेरा ती साथीहरुको बारेमा के भन्छौ, जो बिचरा एकपटक पनि नदेखेको मान्छेसँग 'स्काइप' र 'याहु मेसिन्जर' कै भरमा 'डिस्टान्स लभ' मेन्टेन गरिरहेका छन् कोही 'इ-लभ' भन्दै कोही 'रेकमेन्डेड लभ' भन्दै?" भनेर सोध्न मन लागेको थियो। तर कहाँ उनीहरुको कुरा, कहाँ हाम्रो कुरा। पृष्ठभूमि बताउँदा बताउँदै रात बित्ला भन्ने डरले उनकै कुरामा केन्द्रित हुनुपर्‍यो।

"त्यसो भए टोकियोमै पनि भेटिइहाल्लान् नि मन मिल्ने केटीहरु?"

"भेटिन त भेटिन्छन् तर अर्को वर्ष मेरो जागिर ओसाकामा निश्चित भएको छ र म त्यहाँ जानुपर्ने छ। त्यसैले अब नयाँ गर्लफ्रेन्ड ओसाकामै बनाउनुपर्ला।"

"कुरा मनासिबै हो।"

"अनि तिम्रो आफ्नो बारेमा नि?" अब मैले सेम्पाईलाई छेँडछाँड गर्ने पालो सकिएको थियो, त्यसैले प्रश्नको वर्षा हुन थाल्यो आफैँमाथि।

"मेरो बारेमा त के हुनु र, म त बाआमाले जस्ती केटी खोजिदिनुहुन्छ, त्यस्तै बिहे गरेर घरजम गर्ने हो," मैले हाँस्दै उत्तर दिएँ। हाम्रोतिरको 'अरेन्ज्ड म्यारिज' को बारेमा मैले पहिले नै भनिसकेको भए पनि मेरो यस्तो सहज उत्तर उनलाई पचाउन गाह्रो परेको प्रष्टै थियो।

"रियल्ली?"

"हो।"

हुनत अहिले हाम्रोतिरको 'अरेन्ज्ड म्यारिज' पनि पहिलेजस्तो कहाँ छ र, मान्छेहरु 'अरेन्ज्ड' मा पनि 'लभ' जोड्न रुचाउँछन् आजभोलि। वास्तविक लभ पार्ने त छँदैछन्, त्यसमाथि कसैकसैको आफन्त-साथीभाइले कुरो ल्याएपछि लभ पर्ने, कसैकसैको बिहेको कुरो छिनिएपछि लभ पर्ने, कसैकसैको जनैसुपारी भैसकेपछि लभ पर्ने अनि कसैकसैको त जग्गेमा बस्दाबस्दै समेत। अझ बिहे नै भैसकेपछि लभ पर्नेहरुको त झन् कुरै नगरौँ। लभको महिमा बुझिनसक्नु भएको छ। तर यहाँ मेरो सेम्पाईलाई भने आफ्नो कुनै छनोट नभइकन बाआमाले छानेकी केटी बिहे गर्ने कुरा अलिक बढी नै अनौठो भैरहेको थियो। त्यसैले उनले सोध्न थाले - "टोकियोमा नेपाली केटीहरु छैनन् र?"

"छन त छन्, तर सबै घरबारे!" मैले अलि रमाइलो पाराले उत्तर दिएँ, "बिहे नगरेका त केटा मात्रै भेटिन्छन्, केटी एक-दुई जना पनि भेट्न गाह्रो छ।" यसो भन्दा मलाई टोकियोमै पढ्दै गरेको एकजना नेपाली साथीको सम्झना आइरहेको थियो। साथीले एकजना नेपाली केटी भेटेछ र एकछिनमै मन पनि पराइहालेछ। उसले खोजेजस्तै जातभात पनि मिल्ने, पढाइलेखाइ, रुपरङ, आनीबानी सबै फस्कलास। साथीको मन तरङ्गित हुन मात्रै के आँटेको थियो, केटीको फोनको घण्टी बजेछ। कसको फोन भनेर सोध्दा त केटीको बूढाको। बिचरा साथी हेर्‍याहेर्‍यै। "हाम्रो त भागै बाँकी छैन कि क्या हो?" ऊ गुनासो गर्दै थियो।

"हो है, अनि जापानी केटीहरुको बारेमा चाहिँ सोँचेका छैनौ?" सेम्पाईको प्रश्न टुङ्गिएको थिएन।

"अँ... त्यो त सोँचेको छैन। हाम्रोमा बिहे भनेको पारिवारिक र सामाजिक जिम्मेवारी पनि हो, यताजस्तो व्यक्तिगत कुरा मात्रै हैन।"

"मैले तिम्रो कुरा बुझेँ, तर यसो टाइमपासको बारेमा पनि त सोँच्न सकिन्छ नि!" उनले झटारो हान्न बाँकी राखेनन्।

"त्यो त सोँच्न सकिन्छ, तर रिलेसनसिप भन्ने कुरा... केटीको अन्डरस्ट्यान्डिङ पनि त्यस्तै हुनुपर्‍यो। फेरि के थाहा हुन्छ र, टाइमपास भनेर शुरु गर्‍यो, भोलि कतिबेला 'इमोसनली अट्याच्ड' भइन्छ भनेर।"

खासमा उत्तर अरु पनि दिन सकिन्थ्यो, जस्तै - "त्यस्तो टाइमपास रिलेसनसिप मेरो 'चियाको कप' होइन" वा "झट्ट बोल्न त गाह्रो मान्ने जापानी केटीहरुसँग के खाएर मेरो टाइमपास लभ पर्थ्यो!" तर किन-किन मलाई चाहिनेभन्दा अलिक बढी नै 'दार्शनिक' टाइपको उत्तर फुरेछ। एकछिनपछि पो मैले झल्याँस्स एउटा रङ्गीन साथीको श्याम-श्वेत कहानी सम्झेँ। जापानमा आएर टाइमपास लभको खेती गर्दै आफ्नै दुनियाँमा मस्त साथीको अवस्था केही समयपछि रुनु न हाँस्नु बनेको यिनै आँखाले देखेका थिए। त्यसैले लाग्यो, मेरो उत्तर ठिकै थियो। सेम्पाईलाई भने कस्तो लाग्यो कुन्नि मेरो उत्तर, हल्का टाउको मात्रै हल्लाए।

केहीबेरमा खानपिन र गफगाफ टुङ्गाएर छुट्टिने बेला भयो। सेम्पाईसँग छुट्टिएर ट्रेन स्टेसनतिर लाग्दै गर्दा एकजना उही ‘रेकमेन्डेड लभ’ वाला साथीको फोन आयो, नेपालमा लोडसेडिङ भएकोले आज 'नानु' सँग ‘स्काइप’ मा गफ गर्न पाइएन भन्ने गुनासो पोख्दै। अनि मैले 'लङ डिस्टान्स रिलेसनसिप' सम्बन्धी अघिको प्रसङ्ग सुनाएर जिस्काउन मात्र के लागेको थिएँ, साथीलाई झोँक चलेछ। "भन, भन, अहिले हामीलाई जे भने पनि हुन्छ, भोलि आफूलाई यस्तै पर्छ अनि बल्ल थाहा हुन्छ," साथीको जवाफ सुनेपछि बोल्ने ठाउँ नै रहेन। साँच्चै, भोलि त के पर्छ पर्छ, कसलाई पो थाहा छ र!

-------------------------------------------------------------------------------------

कथामा प्रयुक्त जापानी शब्दहरु

ओसाकिनी (ओसाकिनी सिचुरेइसिमास): "चाँडै निस्कन लागेकोमा क्षमाप्रार्थी छु" भन्ने अर्थमा प्रयोग हुने एक औपचारिक अभिव्यक्ति

सेम्पाई: आफूभन्दा सिनियर विद्यार्थी, सहकर्मी आदि जनाउने शब्द

नोमिखाई: पिउने पार्टी, जमघट आदि

सिमोकिताजावा: ठाउँको नाम

इजाकाया: जापानी बार, पब आदि जनाउने शब्द

Wednesday, September 1, 2010

प्रसङ्ग एसपी खरेलको, कुरा हाम्रो चिन्तनशैलीको

काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई प्रधानमन्त्री माधव नेपालले आफ्नो निवास बालुवाटारमै बोलाएर बधाई दिएछन् केही दिन पहिले। पोखरामा रहँदा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेर लोकप्रिय बनेका एसपी खरेल त्यहाँबाट सरुवा भएर आएपछिको चार महिनाको अवधिमा काठमाडौंमा पनि उस्तै उदाहरणीय काम गरेर देखाउन सक्षम भएका खबर पत्रपत्रिकामा आएका छन्। कानुनविहीनता र बेथितिका बढ्दा खबरहरु माझ खरेलजस्ता राष्ट्रसेवकका कार्यकुशलता र कर्तव्यपरायणताका खबर पढ्न पाउनु आफैँमा ठूलो खुशीको कुरा हुँदो रहेछ। त्यसमाथि आफूले केही सिन्को भाँच्नु त कहाँ हो कहाँ, अरुले गर्न थालेको कुनै गतिलो काम भए त्यसलाई पनि कतिबेला कसरी भाँजो हालिदिने हुन् भनेर डराउनुपर्ने खालका मन्त्री-प्रशासकहरुको बाहुल्य रहेको देशमा तिनका नेतृत्वकर्ता (कामचलाउ नै भए पनि) प्रधानमन्त्रीबाट समेत खरेलको कामको प्रशंसा हुनुलाई सुखद आश्चर्य भन्नुपर्ला।

उसो त 'सिस्टम' को खोट देखाउँदै 'सिस्टम' कै 'मूलप्रवाह' मा समाहित हुनेहरुको भीडमा त्यो 'मूलप्रवाह' भन्दा केही बाहिरै रहेर देश र समाजका लागि आफ्नो ठाउँबाट आफ्नो बुताले भ्याएसम्म सकारात्मक योगदान दिनेहरु थुप्रै छन् हामीकहाँ। फरक यत्ति हो कि कसैको योगदान अलि ठूलो वा मिडियाको रुचीभित्रको होला भने कसैको योगदान अलि सानो वा मिडियाको रुचीबाहिरको। केही महिना पहिले एकजना बैंक कर्मचारीको बाजा बजाएर बिदाइ गरिएको खबर छापिएको थियो एउटा राष्ट्रिय दैनिकमा। राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक केशव प्रधानले स्थानीयस्तरमा बैंकिङ सेवासुविधा पुर्‍याउन र यससम्बन्धी चेतना विस्तार गर्न दिएको योगदानको कदरस्वरूप पर्वत कुश्माका स्थानीयवासीले उक्त सम्मान गरेका रहेछन्। एउटा प्रबन्धकस्तरको मान्छेले राम्रो नेतृत्व दिन सक्दा मात्रै पनि वार्षिक १० लाख रुपैयाँ घाटा बेहोर्दै आएको एउटा सरकारी बैंकलाई एक करोड नाफा कमाउने बनाउन सकिँदो रहेछ। गरे हुन्छ, नेपालमा पनि हुन्छ।

परिवर्तन ल्याउने भनेको सबैले आ-आफ्ना ठाउँबाट लिने अग्रसरताले हो, स-साना अग्रसरताले। तर हाम्रो आम सोँच चाहिँ कस्तो भैदियो भने कि त 'सतिले सरापेको देश' भनेर जे कुरामा पनि अँध्यारै देख्ने कि त 'आमूल परिवर्तन' को धङधङी बोकेर रुमानी उडान भरिरहने। 'सतिले सरापेको देश' को मान्यता स्थापित गर्नेहरुले त्यसैका बलमा देश लुटेर आजको अवस्थामा पुर्‍याए, आज 'आमूल परिवर्तन' को नाममा देश थप खोक्रो बन्दै गरेको दृष्य टुलुटुलु हेर्न विवश छौँ हामीहरु। तर पनि लाग्छ, हाम्रो चेत खुलेको छैन। हामीमध्ये धेरैलाई 'आमूल परिवर्तन' नै चाहिएको छ। तर त्यो आमूल परिवर्तन आउने चाहिँ कसरी हो? आकाशबाट झर्ने त होइन होला।

फेरि बेइमान र फटाहा प्रवृत्तिका अगुवाहरुले गर्दा हाम्रो मानसिकता पनि यस्तो बनिसक्यो कि कसैले जतिसुकै राम्रो काम गरे पनि सहजै स्वीकार्न गाह्रो पर्ने। अगाडि राम्रो कामजस्तो देखिए पनि त्यसका पछाडि सत्य अर्कै हुनुपर्छ भन्ने लागिहाल्ने। मिडियामा आउने कतिपय अतिरञ्जित अनि कतिपय त झन् प्रायोजित खबरका कारण पनि यस्तो भएको होला। तर 'आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने' हाम्रो संस्कार पनि जिम्मेवार छ शायद यसका लागि। आफूले अलि नजिकबाट चिनेको मान्छेको सकारात्मक कुराको चर्चा सुन्यो भने 'ए, त्यो त यस्तो हो नि, बाहिर पो त्यस्तो आदर्शवादी देखाउँछ आफूलाई' भनेर टिप्पणी गर्न मन लागिहाल्छ हामीहरुलाई (आफ्नो नातापाताभित्रको वा आफूले चाकडी-चाप्लुसी बजाउनुपर्ने मान्छे भए कुरा बेग्लै हो)। त्यति टिप्पणी पनि गर्न नसके त नजिकबाट चिनेको अर्थै नहुने जस्तो। तर राम्रो मान्छे पनि गाईको दूधले नुहाएको त कहाँ हुन्छ र! उसका गुन बढी छन् कि बैगुन, त्यो पो हेर्ने हो। गुन बढी भएका मान्छेलाई पनि गुनी भन्न हिच्किचाउने हो भने हामी उँभो लाग्ने कसरी हो? कि अरु कोही आएर उँभो लगाइदेला भन्ने परमुखी चिन्तन पालेरै बसिरहने हो?

यहाँनेर एउटा प्रसङ्ग जोड्न मन लाग्यो। डा. भगवान कोइराला एउटा सक्षम र समर्पित चिकित्सकका रुपमा हामी धेरैले चिनेको नाम हो। एकदिन उनै डा. कोइरालाको बारेमा कुनै समयमा उनको उपचार टिममा समेत संलग्न एकजना साथीसँग जिज्ञासा राखेको झोँकै चल्ने खालको जवाफ सुन्नुपर्‍यो। राम्रो मान्छेलाई राम्रो भन्दा समेत आफ्नो 'ओज' घट्ला भन्ने डरले प्रशंसा गरे पनि 'तर...' जोड्न मन लागिहाल्ने हामीहरुलाई। 'डा. कोइराला ठीक त ठीकै छन्, तर...' रे। अनि 'तर के' भनेर सोध्दा जवाफ हुन्छ, 'स्टाफहरुसँग चाहिँ अलि 'स्ट्रिक्ट' छन्।' 'उनी आफू चाहिँ त्यो 'स्ट्रिक्टनेस' अनुसारको काम गर्छन् कि गर्दैनन् त?' 'त्यो त गर्छन्।' यो पनि कुनै काइदाको कुरा भयो त? 'तर...' किन जोड्नुपर्ने त्यसो भए?

देश र समाजप्रति चिन्तित हुने हाम्रो तरिका पनि बडो अनौठो छ। देश र समाजका समस्या अनि तिनका समाधानका बारेमा आकाश-पाताल गफ चुटेर दिनरात बिताइदिने तर आफूले अलिकति केही गर्नुपर्छ भन्ने बोध चाहिँ नगरिदिने। पूर्व प्रधानमन्त्री प्रचण्डले (उनको आफ्नै अकर्मण्यता जतिसुकै आलोच्य भए पनि) राष्ट्रका नाममा गरेको सम्बोधन (२०६५ माघ) मा समेत घुसाएको उदाहरण थियो केराको बोक्राको। त्यो सम्बोधनमा भनिएजस्तै आफैँले फालेको केराको बोक्रामा चिप्लेर लडे पनि हामी बरु कुनै अदृश्य शत्रुलाई सरापेर बसौँला तर त्यो बोक्रो त्यसरी फाल्न हुने रहेनछ भनेर चेत्न तयार छैनौँ।

भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले हैदरावादमा दिएको एउटा चर्चित भाषणका केही अंशहरु हाम्रा लागि पनि मननयोग्य हुन सक्छन्:

So who's going to change the system? What does a system consist of? Very conveniently for us it consists of our neighbors, other households, other cities, other communities and the government. But definitely not me and YOU. When it comes to us actually making a positive contribution to the system we lock ourselves along with our families into a safe cocoon and look into the distance at countries far away and wait for a Mr. Clean to come along & work miracles for us with a majestic sweep of his hand or we leave the country and run away. Like lazy cowards hounded by our fears we run to America to bask in their glory and praise their system. When New York becomes insecure we run to England. When England experiences unemployment, we take the next flight out to the Gulf. When the Gulf is war struck, we demand to be rescued and brought home by the Indian government.

(त्यसो भए सिस्टम कसले बदल्दै छ त? सिस्टम केले बनेको हुन्छ? हाम्रा लागि एकदमै सुविस्तापूर्वक यो हाम्रा छिमेकीहरु, अरु परिवारहरु, अरु शहरहरु, अरु समुदायहरु र सरकार मिलेर बनेको हुन्छ। तर पक्कै पनि म र तपाईँ चाहिँ होइन। जब हामी आफैँले सिस्टममा केही सकारात्मक योगदान दिने कुरा आउँछ, हामी आफू र आफ्नो परिवारलाई एउटा सुरक्षित खोलभित्र बन्द गर्छौँ र पर कतै टाढाको भूभागतिर हेर्न थाल्छौँ कुनै एउटा 'मिस्टर क्लिन' को आगमनको प्रतिक्षा गर्दै जसले जादुको छडी घुमाएर हाम्रा लागि चमत्कार गरिदेओस्, अथवा हामी देश छोड्छौँ र पलायन हुन्छौँ। अल्छी डरपोकजस्तै आफ्नै डरबाट लखेटिएर हामी अमेरिका दौडन्छौँ उनीहरुको उपलब्धीमा रमाउन र उनीहरुको सिस्टमको बखान गर्न। जब न्युयोर्क असुरक्षित हुन्छ, हामी बेलायततिर दौडन्छौँ। जब बेलायतमा बेरोजगारी बढ्छ, हामी खाडीतिर उड्छौँ। जब खाडीमा युद्ध छेँडिन्छ, हामी आफ्नो उद्धार र घरफिर्तीका लागि भारतीय सरकारसँग माग गर्छौँ।)

कलामले भारतको सन्दर्भमा भारतीय नागरिकहरुलाई भनेका भए पनि हाम्रो सन्दर्भमा पनि ठ्याक्कै लागु हुने कुरा यिनै हैनन् र?