वैशाख १२ मा गएको
ठूलो भूकम्प र त्यसपछिका साना-ठूला परकम्पले पुर्याएको क्षति र हाम्रो जनजीवनमा परेको
गहिरो असरसँगै विविध बहसहरुको उठान भएको छ। एकातिर भूकम्पपीडित जनताको राहत-पुनर्स्थापनाको
लागि तत्काल चालिनुपर्ने कदम र कार्ययोजनाका विषयहरु छन् भने अर्कोतिर क्षतिग्रस्त
भौतिक संरचनाहरुको उचित ढङ्गले मर्मत तथा पुनर्निर्माणका लागि अपनाइनुपर्ने रणनीति
एवं साधनस्रोत व्यवस्थापनका विषयहरु छन्। भूकम्पको मुख्य असर देशको राजधानी र त्यस
वरपरका जिल्लाहरुमा पर्नु, कैयौँ ठाउँमा भूस्खलनका कारण सम्पूर्ण बस्ती नै विनाश हुनु
तथा नजिकिनै लागेको वर्षायाममा बाढीपहिरो लगायतका प्रकोपको जोखिम अत्यधिक बढेको देखिनुजस्ता
कारणहरुले गर्दा यस विपत्तिले हाम्रो जनजीवन एवं राष्ट्रिय अर्थतन्त्रमा गम्भीर र दीर्घकालीन
दुष्प्रभाव पार्ने कुरामा दुईमत रहेन। त्यसैले पनि अबका दिनमा समग्र राष्ट्रले विकास
तथा पुनर्निर्माणका लागि कस्तो संकल्प लिने भन्ने प्रश्न अहम् भएको छ र यस सम्बन्धमा
केही सकारात्मक मन्थनहरु शुरु भएको पनि देखिएको छ। वैज्ञानिक अध्ययनहरुले पहिले नै
किटान गरेका भए पनि अब हामीले प्रत्यक्ष नै अनुभव गरिसकेका छौँ कि हामी भूकम्पको उच्च
जोखिम भएको क्षेत्रमा थियौँ र छौँ। यो पनि हामीलाई प्रत्यक्ष महशुस भयो कि भूकम्पजस्ता
प्राकृतिक विपतबाट जोगिने र तिनको सामना गर्ने हाम्रो तयारी साह्रै कमजोर अवस्थामा
रहेछ। त्यसमाथि काठमाडौं उपत्यकामा भएको धेरैजसो क्षतिका लागि हामीले मलजल गरेको चरम
अव्यवस्थित शहरीकरण जिम्मेवार रहेको कुरा पनि प्रष्ट भयो। अब पनि दुई-चार दिन आ-आफ्ना
विज्ञता देखाउँदै मच्चिने र भूकम्पको प्रत्यक्ष असर घट्न थालेपछि पुरानै दैनिकीमा फर्कने
हो भने त्योभन्दा ठूलो मूर्खता केही हुने छैन। तर दु:खको कुरा, नीति-योजनाहरु तर्जुमा
गर्दा वा तिनको कार्यन्वयन गर्दा विगतको दीर्घस्मरण र आगतप्रतिको दूरदर्शिता हामीमा
विरलै देखिने गरेको छ। आशा गरौँ, यसपल्ट त्यस्तो गल्ती दोहोरिने छैन र संकटको यस घडीलाई
नवनिर्माणको अवसरमा परिणत गर्न सकिने सम्भावनामाथि हामीहरु साँच्चिकै गम्भीर बन्नेछौँ।
नवनिर्माणको सन्दर्भमा
यहाँ उठाउन खोजिएको विषय भने वैकल्पिक राजधानीबारेको हो। पक्कै पनि अहिले केही आममानिसमा
देखिएको 'काठमाडौं असुरक्षित रहेछ, अब यहाँ बस्नु हुँदैन' भन्नेजस्तो असुरक्षा र अनिश्चयको
भावबाट प्रेरित भएर वैकल्पिक राजधानीको कुरा गर्न खोजिएको होइन। प्राकृतिक विपत्ति
भन्ने कुरा अहिले काठमाडौंमा पर्यो, भोलि अर्को ठाउँमा पर्न सक्छ। त्यसैले अहिलेको
भूकम्पले पारेको असरका भरमा राजधानी स्थानान्तरणको कुरा गर्न खोजियो भने त्यो एउटा
केटौले कुरा मात्र हुनेछ। तर अहिलेको भूकम्पले पढाएको पाठलाई आत्मसात् गर्दै काठमाडौंलाई
पनि एउटा सुन्दर शहरको रुपमा पुनर्जीवन दिने र अतिकेन्द्रीकरणले जन्माएका हाम्रा विविध
समस्याहरुलाई पनि दिगो ढङ्गले समाधान गर्ने हो भने वैकल्पिक राजधानीबारे गम्भीरतापूर्वक
सोँच्ने बेला यही हो। हुनत यसबीचमा काठमाडौंको जनसँख्याको चाँपलाई खुकुलो गर्न काठमाडौं
वरिपरि उपशहर (स्याटेलाइट सिटी) हरु निर्माण गर्ने कुराहरु पनि आएका छन्। तर त्यस्ता
उपशहरहरु निर्माण भइ नै हाले पनि ती आफैमा कति आत्मनिर्भर प्रकृतिका बन्लान् र तिनले
हामीबीच जरा गाडेको काठमाडौं-केन्द्रित मानसिकतालाई कसरी सम्बोधन गर्लान् भन्ने कुरा
प्रष्ट छैन। त्यसैले राष्ट्रिय नवनिर्माणका लागि अलिकति 'बोल्ड' कदम चाल्ने हो भने
हामीहरुले वैकल्पिक राजधानीको बारेमा सोँच्नैपर्छ।
काठमाडौंका सिमितताहरु
काठमाडौं अहिले
हाम्रो देशको प्रशासनिक केन्द्र मात्र नभएर व्यापारिक, साँस्कृतिक, धार्मिक तथा शैक्षिक
केन्द्र समेत हो। यस्तो सबै विशेषता बोकेका राजधानी शहरहरु (केही सिटी-स्टेटलाई छोडेर)
संसारमा विरलै भेटिन्छन् होला। तर यी सबै विशेषतालाई व्यवस्थित गर्न नसक्दा हामीले
काठमाडौंलाई दिन प्रतिदिन झन्-झन् निसास्सिँदो शहरको रुपमा परिणत गरिरहेका छौँ। सुविधा
र अवसरहरुको अतिकेन्द्रीकरणले बढाएको जनसँख्याको चाँपसँगै विगत दशकहरुमा चुलिएको अव्यवस्थित
शहरीकरण, वातावरण प्रदुषण र काठमाडौंको समग्र सौन्दर्यको क्षयीकरणका लागि हाम्रो भ्रष्ट
शासनप्रणाली, कमजोर नियमकानुनहरु र त्योभन्दा पनि कमजोर विद्यमान नियमकानुनहरुको कार्यान्वयन
आदि त जिम्मेवार छन् नै। तर त्यससँगै काठमाडौंका केही प्राकृतिक-भौगोलिक सिमितताहरु
पनि हामीहरुले मनन गर्नैपर्छ। पछिल्ला वर्षहरुमा तीव्ररुपले बढ्दै गएको शहरको आकारसँगै
काठमाडौं उपत्यकाको उर्वर खेतीयोग्य जमीन इतिहास बन्ने अवस्थामा पुगिसकेको छ। अब अझै
पनि शहर यसैगरी बढ्दै जाने हो भने चारैतिर अग्ला पहाडहरुले घेरिएर सिमित क्षेत्रफलमा
फैलिएको काठमाडौंको जनघनत्व कहाँ पुग्ला? यहाँ ओइरिने जनसँख्याले प्राप्त गर्ने शहरी
सेवा-सुविधाको स्तर कस्तो होला? फेरि, काठमाडौं उपत्यकाको अवस्थिति र हाम्रो यातायात
पूर्वाधारको अवस्था यस्तो छ कि अहिलेसम्म पनि उपत्यकाको एकमात्र 'लाइफलाइन' को रुपमा
हामीहरु नागढुङ्गाको बाटोमै निर्भर छौँ। विगतमा केही दिन मात्र पनि यो बाटो बन्द हुँदा
काठमाडौंको जनजीवन अस्तव्यस्त हुने गरेको कटु यथार्थ हामीबाट छिपेको छैन। काठमाडौं
उपत्यकाको कमलो भूगर्भ र त्यसले बढाएको भूकम्पीय संवेदनशीलताको बारेमा त थुप्रै चर्चा
भैसकेका छन्, त्यसैले यहाँ दोहोर्याइरहनु नपर्ला। तर त्यसका साथै उपत्यकाको कचौरा
आकारले गर्दा यसलाई वातावरणीय हिसाबले पनि संवेदनशील बनाइदिएको छ। चारैतिर उठेको भूभागका
कारण हावाको बहाव निर्वाधरुपमा हुन नपाउने हुनाले सवारीसाधन तथा कलकारखाना आदिबाट निस्कने
वायुप्रदूषकहरु काठमाडौंको आकाशमा तितरबितर हुनुको साटो यहीँ जम्मा हुने गर्छन्। निरन्तर
खस्किरहेको काठमाडौंको हावाको गुणस्तरका लागि बढ्दो शहरीकरण, अनियन्त्रित सवारीसाधन
आदिसँगै काठमाडौंको भौगोलिक अवस्था पनि जिम्मेवार रहेको वैज्ञानिक अध्ययनहरुले देखाइसकेका
छन्। त्यसैले हामीहरुले अहिलेसम्म जति बुझ पचाए पनि काठमाडौंले थेग्न सक्ने भारका आफ्ना
सिमितताहरु छन्। यी सिमितताहरु बुझेर काठमाडौंको जनसँख्याको चाँपलाई घटाउँदै र यसको
मौलिकतालाई संरक्षण गर्दै एउटा व्यवस्थित शहरको रुपमा यसलाई पुनर्निर्माण गर्ने कि
टालटुल गरेजस्तो गरेर अझै केही दशक यसैगरी घिस्रने, रोजाइ हाम्रै हो।
पछिल्ला वर्षहरुमा हामीले काठमाडौंमा विकास गरेको कुरुप शहरीकरणको एउटा दृष्टान्त (तस्वीर श्रोत: http://www.ekantipur.com/) |
वैकल्पिक राजधानी कहाँ राख्ने?
मूल मुद्दामा
भन्दा सहायक मुद्दाहरुमा बहस गर्न बेसी समय खर्चने हाम्रो पुरानै बानी हो। त्यसैले
वैकल्पिक राजधानी निर्माण गर्ने कि नगर्नेभन्दा पनि कहाँ निर्माण गर्ने भने विषयमा
हामीहरु अल्झने सम्भावना बढी छ। काठमाडौंबाहिर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने
आवश्यकता धेरै पहिले महशुस हुँदाहुँदै पनि हामीले थुप्रै वर्ष कुन ठाउँमा भन्ने व्यर्थको
बहसमा खेर फालेको धेरै भएको छैन। काठमाडौंबाहिर एउटा मात्र होइन, एकभन्दा बढी विभिन्न
क्षमताका अन्तर्राष्ट्रिय विमानस्थलहरु चाहिन्छ भन्ने तथ्य समेत मनन गर्न नसकेर यो
ठाउँ कि त्यो ठाउँ भन्दै समय खेर फाल्ने हामीहरु राजधानीजस्तो विषयमा त झन् कसो गरौँला?
शायद यसैले पनि हो कि हामीकहाँ वैकल्पिक राजधानीको मुद्दा सुषुप्त रुपमा उठे पनि अहिलेसम्म
गम्भीरतापूर्वक उठ्न नसकेको। तर हामीलाई वैकल्पिक राजधानी किन चाहिएको हो भन्ने प्रश्नमा
सैद्धान्तिक रुपमा प्रष्ट हुन सक्यौँ भने कुन ठाउँ भन्ने भन्ने कुरा त्यति महत्त्वपूर्ण
हुँदैन होला। वैकल्पिक राजधानी हामीलाई एउटा पुरानो काठमाडौंको सट्टा अर्को नयाँ काठमाडौं
निर्माण गरेर सबै सेवा-सुविधा त्यहीँ थुपार्न किमार्थ चाहिएको होइन। नयाँ राजधानी मुख्यत:
देशको प्रशासनिक केन्द्रको रुपमा निर्माण गरिनुपर्छ। त्यसैले यो पूर्व-पश्चिम, उत्तर-दक्षिण
सबैतिरका जनतालाई यथोचित रुपमा पायक पर्ने ठाउँमा हुनुपर्छ। तर यस्तो नयाँ राजधानी
पहिले नै घनाबस्तीका रुपमा विकास भैसकेका शहरी क्षेत्रभन्दा टाढा राख्नु बुद्धिमानी
हुनेछ। यसो गर्दा थुप्रै नयाँ भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने र समय पनि लामै लाग्ने
हुनसक्छ। तर त्यसका लागि तयार भएरै नयाँ राजधानी निर्माणमा कँस्सिने हो।
अन्तर्राष्ट्रिय अनुभवहरु
अन्तर्राष्ट्रिय
अनुभवहरुलाई हेर्दा देशको राजधानी योजनावद्ध हिसाबले एक ठाउँबाट अर्को ठाउँमा सारिएका
थुप्रै उदाहरणहरु भेटिन्छन्। ब्राजिलको राजधानी रियो दि जेनेरियोबाट ब्राजिलियामा सारिनु
(सन् १९६१), नाइजेरियाको राजधानी लागोसबाट अबुजामा सारिनु (सन् १९९१), कजाखस्तानको
राजधानी अल्माटीबाट अस्टानामा सारिनु (सन् १९९७), म्यानमारको राजधानी याङ्गुनबाट नेपिदामा
सारिनु (सन् २००५) केही यस्तै उदाहरणहरु हुन्। भर्खरै मात्र पनि इजिप्टले आफ्नो राजधानी
कायरोबाट नयाँ ठाउँमा सार्ने घोषणा गरेको छ र त्यसका लागि केही महत्वाकांक्षी निर्माण
योजनाहरु अघि सारेको छ। दक्षिण एशियामै हेर्दा पनि भारत र पाकिस्तानका राजधानी शहरहरु
पछि बसाइएका शहरहरु हुन्। भारत (तत्कालिन ब्रिटिश इन्डिया) को राजधानी सन् १९११ मा
कलकत्ताबाट नयाँ दिल्ली सरेको हो भने पाकिस्तानको राजधानी सन् १९५९ मा कराँचीबाट रावलपिण्डी
र १९६७ मा त्यहाँबाट इस्लामावाद सरेको हो। राजधानी स्थानान्तरणका अभ्यासहरु सबैतिर
उत्तिकै सफल भएका भने देखिँदैनन्। त्यसैले अन्तर्राष्ट्रिय अनुभवहरुका आधारमा आवश्यक
सावधानी अपनाउँदै देशको सन्तुलित आर्थिक विकास र नवनिर्माणको अभियानको रुपमा वैकल्पिक
राजधानीको अवधारणालाई अगाडि बढाइनुपर्छ।
वैकल्पिक राजधानीपछिको काठमाडौं
नयाँ राजधानी
निर्माण भैसकेपछि काठमाडौं शहरको अवस्था वा अस्तित्व के हुने त भन्ने प्रश्न पनि उठ्न
सक्छ। तर यस्तो प्रश्न आफैमा असान्दर्भिक प्रश्न हो। हामीलाई चाहिएको नयाँ राजधानी मूलत:
प्रशासनिक राजधानी हो। यसले प्रशासनिक भारसँगै केही हदसम्म काठमाडौंको व्यापारिक र
शैक्षिक भार पनि घटाउन मद्दत गर्नेछ। तर यस्तो नयाँ राजधानीको निर्माणपश्चात् पनि काठमाडौं
देशको ठूलो आर्थिक केन्द्र रही नै रहनेछ। काठमाडौंमा उपलब्ध भौतिक संरचना र सुविधाहरु,
यहाँको स्थायी जनसँख्या, भौगोलिक अवस्थिति आदि सबैका कारण यहाँका प्रशासनिक अड्डाहरु
स्थानान्तरण हुँदैमा काठमाडौंको आकर्षण वा महत्ता घट्ने देखिँदैन। त्यसमाथि काठमाडौंको
धार्मिक-साँस्कृतिक विरासत त आफ्नै ठाउँमा रहनेछ र यसले झन् व्यवस्थित रुपमा संरक्षित
एवं संवर्धित हुने अवसर पाउनेछ। त्यसैले धार्मिक-साँस्कृतिक र पर्यटकीय शहरको रुपमा
काठमाडौंलाई नयाँ जीवन दिने, यहाँको बसाइलाई सहज र सुरक्षित बनाउने तथा पर्यावरणीय
अवस्था सुधार्ने दिशामा महत्त्वपूर्ण कडी हुने गरी नयाँ राजधानी निर्माणको योजना अघि
बढ्नुपर्छ। यस सम्बन्धमा सम्बन्धित नीति-निर्माताहरुको ध्यान पुग्ला त? नीति-निर्माताहरुको
ध्यान तत्कालै नपुगे पनि योजनाविद् तथा सम्बन्धित विषयका ज्ञाताहरुले त यस विषयमा बहसको
शुरुवात गर्ने कि!
(जुन १, २०१५, टोकियो)