Thursday, September 16, 2010

कथा एक साँझको

आज उनी ल्याबमा नआएको दिन परेको थियो। उनी अर्थात् ल्याबका हर्ताकर्ता एकजना सिनियर रिसर्चर। किन हो कुन्नि, उनको अनुपस्थिति सबैलाई प्रिय बन्छ। उनी हुँदा पनि सबैजना हाँसोठट्टा, रमाइलो गरिरहेकै हुन्छन् तर उनी नहुँदा चुपचापै बसे पनि मानसिक शान्ति हुने भएर हो कि! उनको उपस्थिति वा अनुपस्थितिसँग मलाई खासै सरोकार त हुँदैन तर उनी ल्याबमा नआएको दिन एउटा कुरामा भने म पनि निश्चिन्त हुन्छु - आज ल्याबमा सबैको 'मुड' ठिकठाक छ र उनीहरुसँग कुनै सल्लाह-सहयोग माग्नुपरे उपयुक्त समय यही हो।

उनी नभएकै भएर होला, अरु दिन राती सात-आठ बज्दासम्म हल न चल भई बस्नेहरु आज पाँच नबज्दै 'ओसाकिनी' भन्दै निस्कन थालिसकेका थिए। त्यसैले अन्तिममा बाँकी बँच्नेमा मेरो एकजना 'सेम्पाई' र म मात्रै भयौँ ल्याबमा। अनि त झमझम पानी परिरहेको साँझको फाइदा उठाउँदै 'नोमिखाई' जाने योजना बनिहाल्यो। एकछिनमै हामीहरु पुग्यौँ नजिकै पर्ने सिमोकिताजावाको एउटा 'इजाकाया' मा।

खाने-पिउने कुरा मगाइसकेपछि गफगाफ शुरु हुन थाल्यो। गफगाफको विषय उही मौसम, खानाको स्वाद, ‘विकेन्ड’ को योजना, ‘हबी’ आदि आदि। अरु सबै त ठिकै छ, यो ‘हबी’ को कुरा भने बडो अप्ठ्यारो। नेपालमा जे भने पनि चल्थ्यो, शायद आफ्नो खास रुची वा सोख केमा हो भन्ने कुरालाई गम्भीरतापूर्वक सोँच्नै नपर्ने भएर होला। जस्तो कि कतिपय साथीहरु फगत 'गफगाफ' लाई नै आफ्नो ‘हबी’ भन्न पछि पर्थेनन्। म आफैँ चाहिँ नयाँ-नयाँ ठाउँको भ्रमणलाई आफ्नो ‘हबी’ भन्ने गर्थेँ। नेपालभित्र दुई-चार ठाउँ घुमिएको पनि थियो। तर यहाँ भ्रमणलाई ‘हबी’ भनौँ भने अहिलेसम्म कतिवटा देश घुमिस् भन्ने प्रश्न तेर्स्याउलान् भन्ने डर। देशको के कुरा, आफू आएको यही जापानमा पनि कहाँ नै पो घुमिएको छ र भ्रमणलाई सोख भन्न सुहाउने गरी। अब खेलकूद भनौँ, आफूले जानेको खेल कुन चाहिँ होला भनेर सोँच्नै आधा घण्टा लाग्छ। गाउने, नाच्ने, बजाउने आदि त झन् दश हात परका कुरा भैहाले। त्यसैले सेम्पाईले मेरो ‘हबी’ को बारेमा सोध्दा "यही नै भन्ने छैन, बदलिइरहन्छ" भनेर टार्नु बाहेक अर्को उपाय भेटिनँ मैले। बरु कुराकानीलाई रमाइलो बनाउन उनको गर्लफ्रेन्डको प्रसङ्ग निकाल्नु श्रेयस्कर लाग्यो।

केही महिनाअघि मात्रै हो, मैले नयाँ ‘रिलेसनसिप’ शुरु गरेँ भनेर उनले खुशी हुँदै मलाई सुनाएको। पछि भेट पनि गराएका थिए आफ्नी प्रेमिकासँग। तर अहिले सोध्दा त उनीहरुको ‘ब्रेक-अप’ पो भैसकेछ। कति सजिलो ‘रिलेसनसिप’ शुरु हुन र टुङ्गिन। किन ‘ब्रेक-अप’ भयो, त्यसको खासै कारण पनि छैन फेरि। "यत्तिकै ऊसँग डेटिङ जान त्यति रमाइलो लाग्न छोड्यो अनि..." रे।

"अनि नयाँ गर्लफ्रेन्डको बनाउने बारे नि?" मलाई यही विषयमै कुरा तान्न मन लाग्यो।

"त्यो त खै..."

"किन र?"

"अस्ति म मेरो घर गएको बेला एकजना साथीले 'मसँग डेटिङ शुरु गर' भन्दै थिई। ऊ मलाई मन पनि पर्छे। तर म यहाँ फर्कनुपर्ने, ऊ त्यहाँ टाढा छे। 'लङ डिस्टान्स रिलेसनसिप' मेन्टेन गर्न गाह्रो हुन्छ भनेर 'नो' भनिदिएँ।"

उनको यस्तो भनाइ सुन्दा "त्यसो भए मेरा ती साथीहरुको बारेमा के भन्छौ, जो बिचरा एकपटक पनि नदेखेको मान्छेसँग 'स्काइप' र 'याहु मेसिन्जर' कै भरमा 'डिस्टान्स लभ' मेन्टेन गरिरहेका छन् कोही 'इ-लभ' भन्दै कोही 'रेकमेन्डेड लभ' भन्दै?" भनेर सोध्न मन लागेको थियो। तर कहाँ उनीहरुको कुरा, कहाँ हाम्रो कुरा। पृष्ठभूमि बताउँदा बताउँदै रात बित्ला भन्ने डरले उनकै कुरामा केन्द्रित हुनुपर्‍यो।

"त्यसो भए टोकियोमै पनि भेटिइहाल्लान् नि मन मिल्ने केटीहरु?"

"भेटिन त भेटिन्छन् तर अर्को वर्ष मेरो जागिर ओसाकामा निश्चित भएको छ र म त्यहाँ जानुपर्ने छ। त्यसैले अब नयाँ गर्लफ्रेन्ड ओसाकामै बनाउनुपर्ला।"

"कुरा मनासिबै हो।"

"अनि तिम्रो आफ्नो बारेमा नि?" अब मैले सेम्पाईलाई छेँडछाँड गर्ने पालो सकिएको थियो, त्यसैले प्रश्नको वर्षा हुन थाल्यो आफैँमाथि।

"मेरो बारेमा त के हुनु र, म त बाआमाले जस्ती केटी खोजिदिनुहुन्छ, त्यस्तै बिहे गरेर घरजम गर्ने हो," मैले हाँस्दै उत्तर दिएँ। हाम्रोतिरको 'अरेन्ज्ड म्यारिज' को बारेमा मैले पहिले नै भनिसकेको भए पनि मेरो यस्तो सहज उत्तर उनलाई पचाउन गाह्रो परेको प्रष्टै थियो।

"रियल्ली?"

"हो।"

हुनत अहिले हाम्रोतिरको 'अरेन्ज्ड म्यारिज' पनि पहिलेजस्तो कहाँ छ र, मान्छेहरु 'अरेन्ज्ड' मा पनि 'लभ' जोड्न रुचाउँछन् आजभोलि। वास्तविक लभ पार्ने त छँदैछन्, त्यसमाथि कसैकसैको आफन्त-साथीभाइले कुरो ल्याएपछि लभ पर्ने, कसैकसैको बिहेको कुरो छिनिएपछि लभ पर्ने, कसैकसैको जनैसुपारी भैसकेपछि लभ पर्ने अनि कसैकसैको त जग्गेमा बस्दाबस्दै समेत। अझ बिहे नै भैसकेपछि लभ पर्नेहरुको त झन् कुरै नगरौँ। लभको महिमा बुझिनसक्नु भएको छ। तर यहाँ मेरो सेम्पाईलाई भने आफ्नो कुनै छनोट नभइकन बाआमाले छानेकी केटी बिहे गर्ने कुरा अलिक बढी नै अनौठो भैरहेको थियो। त्यसैले उनले सोध्न थाले - "टोकियोमा नेपाली केटीहरु छैनन् र?"

"छन त छन्, तर सबै घरबारे!" मैले अलि रमाइलो पाराले उत्तर दिएँ, "बिहे नगरेका त केटा मात्रै भेटिन्छन्, केटी एक-दुई जना पनि भेट्न गाह्रो छ।" यसो भन्दा मलाई टोकियोमै पढ्दै गरेको एकजना नेपाली साथीको सम्झना आइरहेको थियो। साथीले एकजना नेपाली केटी भेटेछ र एकछिनमै मन पनि पराइहालेछ। उसले खोजेजस्तै जातभात पनि मिल्ने, पढाइलेखाइ, रुपरङ, आनीबानी सबै फस्कलास। साथीको मन तरङ्गित हुन मात्रै के आँटेको थियो, केटीको फोनको घण्टी बजेछ। कसको फोन भनेर सोध्दा त केटीको बूढाको। बिचरा साथी हेर्‍याहेर्‍यै। "हाम्रो त भागै बाँकी छैन कि क्या हो?" ऊ गुनासो गर्दै थियो।

"हो है, अनि जापानी केटीहरुको बारेमा चाहिँ सोँचेका छैनौ?" सेम्पाईको प्रश्न टुङ्गिएको थिएन।

"अँ... त्यो त सोँचेको छैन। हाम्रोमा बिहे भनेको पारिवारिक र सामाजिक जिम्मेवारी पनि हो, यताजस्तो व्यक्तिगत कुरा मात्रै हैन।"

"मैले तिम्रो कुरा बुझेँ, तर यसो टाइमपासको बारेमा पनि त सोँच्न सकिन्छ नि!" उनले झटारो हान्न बाँकी राखेनन्।

"त्यो त सोँच्न सकिन्छ, तर रिलेसनसिप भन्ने कुरा... केटीको अन्डरस्ट्यान्डिङ पनि त्यस्तै हुनुपर्‍यो। फेरि के थाहा हुन्छ र, टाइमपास भनेर शुरु गर्‍यो, भोलि कतिबेला 'इमोसनली अट्याच्ड' भइन्छ भनेर।"

खासमा उत्तर अरु पनि दिन सकिन्थ्यो, जस्तै - "त्यस्तो टाइमपास रिलेसनसिप मेरो 'चियाको कप' होइन" वा "झट्ट बोल्न त गाह्रो मान्ने जापानी केटीहरुसँग के खाएर मेरो टाइमपास लभ पर्थ्यो!" तर किन-किन मलाई चाहिनेभन्दा अलिक बढी नै 'दार्शनिक' टाइपको उत्तर फुरेछ। एकछिनपछि पो मैले झल्याँस्स एउटा रङ्गीन साथीको श्याम-श्वेत कहानी सम्झेँ। जापानमा आएर टाइमपास लभको खेती गर्दै आफ्नै दुनियाँमा मस्त साथीको अवस्था केही समयपछि रुनु न हाँस्नु बनेको यिनै आँखाले देखेका थिए। त्यसैले लाग्यो, मेरो उत्तर ठिकै थियो। सेम्पाईलाई भने कस्तो लाग्यो कुन्नि मेरो उत्तर, हल्का टाउको मात्रै हल्लाए।

केहीबेरमा खानपिन र गफगाफ टुङ्गाएर छुट्टिने बेला भयो। सेम्पाईसँग छुट्टिएर ट्रेन स्टेसनतिर लाग्दै गर्दा एकजना उही ‘रेकमेन्डेड लभ’ वाला साथीको फोन आयो, नेपालमा लोडसेडिङ भएकोले आज 'नानु' सँग ‘स्काइप’ मा गफ गर्न पाइएन भन्ने गुनासो पोख्दै। अनि मैले 'लङ डिस्टान्स रिलेसनसिप' सम्बन्धी अघिको प्रसङ्ग सुनाएर जिस्काउन मात्र के लागेको थिएँ, साथीलाई झोँक चलेछ। "भन, भन, अहिले हामीलाई जे भने पनि हुन्छ, भोलि आफूलाई यस्तै पर्छ अनि बल्ल थाहा हुन्छ," साथीको जवाफ सुनेपछि बोल्ने ठाउँ नै रहेन। साँच्चै, भोलि त के पर्छ पर्छ, कसलाई पो थाहा छ र!

-------------------------------------------------------------------------------------

कथामा प्रयुक्त जापानी शब्दहरु

ओसाकिनी (ओसाकिनी सिचुरेइसिमास): "चाँडै निस्कन लागेकोमा क्षमाप्रार्थी छु" भन्ने अर्थमा प्रयोग हुने एक औपचारिक अभिव्यक्ति

सेम्पाई: आफूभन्दा सिनियर विद्यार्थी, सहकर्मी आदि जनाउने शब्द

नोमिखाई: पिउने पार्टी, जमघट आदि

सिमोकिताजावा: ठाउँको नाम

इजाकाया: जापानी बार, पब आदि जनाउने शब्द

8 comments:

  1. Good article Dhruba Panthi jee!

    Rajendra PARAJULI

    ReplyDelete
  2. As always..mind blowing article Dhruba. excellent.
    Sathi ko article le Malai pani bloggers ko Member banna lai utprerit garaudai chha..

    ReplyDelete
  3. Nice article..I could not stop myself reading twice.. Keep it up..
    Damaru Paudel

    ReplyDelete
  4. dherai ramro dhrubaji:)
    pramila

    ReplyDelete
  5. malai ta sabai ghatana tatha patra haru merai samu pradarshan gardai gareko jasto po anubhav vota!!!

    ReplyDelete
  6. साह्रै रमाईलो प्रस्तुति!

    ReplyDelete
  7. बडो रमाइलो लाग्यो है तपाइंको प्रस्तुति !

    ReplyDelete
  8. मन पराएर हौसलापूर्ण प्रतिक्रिया दिनुहुने सबैमा आभारी छु।

    @ अनन्त: शुभस्य शिघ्रम्! ब्लग संसारमा स्वागत छ :)

    ReplyDelete