Wednesday, September 1, 2010

प्रसङ्ग एसपी खरेलको, कुरा हाम्रो चिन्तनशैलीको

काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई प्रधानमन्त्री माधव नेपालले आफ्नो निवास बालुवाटारमै बोलाएर बधाई दिएछन् केही दिन पहिले। पोखरामा रहँदा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेर लोकप्रिय बनेका एसपी खरेल त्यहाँबाट सरुवा भएर आएपछिको चार महिनाको अवधिमा काठमाडौंमा पनि उस्तै उदाहरणीय काम गरेर देखाउन सक्षम भएका खबर पत्रपत्रिकामा आएका छन्। कानुनविहीनता र बेथितिका बढ्दा खबरहरु माझ खरेलजस्ता राष्ट्रसेवकका कार्यकुशलता र कर्तव्यपरायणताका खबर पढ्न पाउनु आफैँमा ठूलो खुशीको कुरा हुँदो रहेछ। त्यसमाथि आफूले केही सिन्को भाँच्नु त कहाँ हो कहाँ, अरुले गर्न थालेको कुनै गतिलो काम भए त्यसलाई पनि कतिबेला कसरी भाँजो हालिदिने हुन् भनेर डराउनुपर्ने खालका मन्त्री-प्रशासकहरुको बाहुल्य रहेको देशमा तिनका नेतृत्वकर्ता (कामचलाउ नै भए पनि) प्रधानमन्त्रीबाट समेत खरेलको कामको प्रशंसा हुनुलाई सुखद आश्चर्य भन्नुपर्ला।

उसो त 'सिस्टम' को खोट देखाउँदै 'सिस्टम' कै 'मूलप्रवाह' मा समाहित हुनेहरुको भीडमा त्यो 'मूलप्रवाह' भन्दा केही बाहिरै रहेर देश र समाजका लागि आफ्नो ठाउँबाट आफ्नो बुताले भ्याएसम्म सकारात्मक योगदान दिनेहरु थुप्रै छन् हामीकहाँ। फरक यत्ति हो कि कसैको योगदान अलि ठूलो वा मिडियाको रुचीभित्रको होला भने कसैको योगदान अलि सानो वा मिडियाको रुचीबाहिरको। केही महिना पहिले एकजना बैंक कर्मचारीको बाजा बजाएर बिदाइ गरिएको खबर छापिएको थियो एउटा राष्ट्रिय दैनिकमा। राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक केशव प्रधानले स्थानीयस्तरमा बैंकिङ सेवासुविधा पुर्‍याउन र यससम्बन्धी चेतना विस्तार गर्न दिएको योगदानको कदरस्वरूप पर्वत कुश्माका स्थानीयवासीले उक्त सम्मान गरेका रहेछन्। एउटा प्रबन्धकस्तरको मान्छेले राम्रो नेतृत्व दिन सक्दा मात्रै पनि वार्षिक १० लाख रुपैयाँ घाटा बेहोर्दै आएको एउटा सरकारी बैंकलाई एक करोड नाफा कमाउने बनाउन सकिँदो रहेछ। गरे हुन्छ, नेपालमा पनि हुन्छ।

परिवर्तन ल्याउने भनेको सबैले आ-आफ्ना ठाउँबाट लिने अग्रसरताले हो, स-साना अग्रसरताले। तर हाम्रो आम सोँच चाहिँ कस्तो भैदियो भने कि त 'सतिले सरापेको देश' भनेर जे कुरामा पनि अँध्यारै देख्ने कि त 'आमूल परिवर्तन' को धङधङी बोकेर रुमानी उडान भरिरहने। 'सतिले सरापेको देश' को मान्यता स्थापित गर्नेहरुले त्यसैका बलमा देश लुटेर आजको अवस्थामा पुर्‍याए, आज 'आमूल परिवर्तन' को नाममा देश थप खोक्रो बन्दै गरेको दृष्य टुलुटुलु हेर्न विवश छौँ हामीहरु। तर पनि लाग्छ, हाम्रो चेत खुलेको छैन। हामीमध्ये धेरैलाई 'आमूल परिवर्तन' नै चाहिएको छ। तर त्यो आमूल परिवर्तन आउने चाहिँ कसरी हो? आकाशबाट झर्ने त होइन होला।

फेरि बेइमान र फटाहा प्रवृत्तिका अगुवाहरुले गर्दा हाम्रो मानसिकता पनि यस्तो बनिसक्यो कि कसैले जतिसुकै राम्रो काम गरे पनि सहजै स्वीकार्न गाह्रो पर्ने। अगाडि राम्रो कामजस्तो देखिए पनि त्यसका पछाडि सत्य अर्कै हुनुपर्छ भन्ने लागिहाल्ने। मिडियामा आउने कतिपय अतिरञ्जित अनि कतिपय त झन् प्रायोजित खबरका कारण पनि यस्तो भएको होला। तर 'आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने' हाम्रो संस्कार पनि जिम्मेवार छ शायद यसका लागि। आफूले अलि नजिकबाट चिनेको मान्छेको सकारात्मक कुराको चर्चा सुन्यो भने 'ए, त्यो त यस्तो हो नि, बाहिर पो त्यस्तो आदर्शवादी देखाउँछ आफूलाई' भनेर टिप्पणी गर्न मन लागिहाल्छ हामीहरुलाई (आफ्नो नातापाताभित्रको वा आफूले चाकडी-चाप्लुसी बजाउनुपर्ने मान्छे भए कुरा बेग्लै हो)। त्यति टिप्पणी पनि गर्न नसके त नजिकबाट चिनेको अर्थै नहुने जस्तो। तर राम्रो मान्छे पनि गाईको दूधले नुहाएको त कहाँ हुन्छ र! उसका गुन बढी छन् कि बैगुन, त्यो पो हेर्ने हो। गुन बढी भएका मान्छेलाई पनि गुनी भन्न हिच्किचाउने हो भने हामी उँभो लाग्ने कसरी हो? कि अरु कोही आएर उँभो लगाइदेला भन्ने परमुखी चिन्तन पालेरै बसिरहने हो?

यहाँनेर एउटा प्रसङ्ग जोड्न मन लाग्यो। डा. भगवान कोइराला एउटा सक्षम र समर्पित चिकित्सकका रुपमा हामी धेरैले चिनेको नाम हो। एकदिन उनै डा. कोइरालाको बारेमा कुनै समयमा उनको उपचार टिममा समेत संलग्न एकजना साथीसँग जिज्ञासा राखेको झोँकै चल्ने खालको जवाफ सुन्नुपर्‍यो। राम्रो मान्छेलाई राम्रो भन्दा समेत आफ्नो 'ओज' घट्ला भन्ने डरले प्रशंसा गरे पनि 'तर...' जोड्न मन लागिहाल्ने हामीहरुलाई। 'डा. कोइराला ठीक त ठीकै छन्, तर...' रे। अनि 'तर के' भनेर सोध्दा जवाफ हुन्छ, 'स्टाफहरुसँग चाहिँ अलि 'स्ट्रिक्ट' छन्।' 'उनी आफू चाहिँ त्यो 'स्ट्रिक्टनेस' अनुसारको काम गर्छन् कि गर्दैनन् त?' 'त्यो त गर्छन्।' यो पनि कुनै काइदाको कुरा भयो त? 'तर...' किन जोड्नुपर्ने त्यसो भए?

देश र समाजप्रति चिन्तित हुने हाम्रो तरिका पनि बडो अनौठो छ। देश र समाजका समस्या अनि तिनका समाधानका बारेमा आकाश-पाताल गफ चुटेर दिनरात बिताइदिने तर आफूले अलिकति केही गर्नुपर्छ भन्ने बोध चाहिँ नगरिदिने। पूर्व प्रधानमन्त्री प्रचण्डले (उनको आफ्नै अकर्मण्यता जतिसुकै आलोच्य भए पनि) राष्ट्रका नाममा गरेको सम्बोधन (२०६५ माघ) मा समेत घुसाएको उदाहरण थियो केराको बोक्राको। त्यो सम्बोधनमा भनिएजस्तै आफैँले फालेको केराको बोक्रामा चिप्लेर लडे पनि हामी बरु कुनै अदृश्य शत्रुलाई सरापेर बसौँला तर त्यो बोक्रो त्यसरी फाल्न हुने रहेनछ भनेर चेत्न तयार छैनौँ।

भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले हैदरावादमा दिएको एउटा चर्चित भाषणका केही अंशहरु हाम्रा लागि पनि मननयोग्य हुन सक्छन्:

So who's going to change the system? What does a system consist of? Very conveniently for us it consists of our neighbors, other households, other cities, other communities and the government. But definitely not me and YOU. When it comes to us actually making a positive contribution to the system we lock ourselves along with our families into a safe cocoon and look into the distance at countries far away and wait for a Mr. Clean to come along & work miracles for us with a majestic sweep of his hand or we leave the country and run away. Like lazy cowards hounded by our fears we run to America to bask in their glory and praise their system. When New York becomes insecure we run to England. When England experiences unemployment, we take the next flight out to the Gulf. When the Gulf is war struck, we demand to be rescued and brought home by the Indian government.

(त्यसो भए सिस्टम कसले बदल्दै छ त? सिस्टम केले बनेको हुन्छ? हाम्रा लागि एकदमै सुविस्तापूर्वक यो हाम्रा छिमेकीहरु, अरु परिवारहरु, अरु शहरहरु, अरु समुदायहरु र सरकार मिलेर बनेको हुन्छ। तर पक्कै पनि म र तपाईँ चाहिँ होइन। जब हामी आफैँले सिस्टममा केही सकारात्मक योगदान दिने कुरा आउँछ, हामी आफू र आफ्नो परिवारलाई एउटा सुरक्षित खोलभित्र बन्द गर्छौँ र पर कतै टाढाको भूभागतिर हेर्न थाल्छौँ कुनै एउटा 'मिस्टर क्लिन' को आगमनको प्रतिक्षा गर्दै जसले जादुको छडी घुमाएर हाम्रा लागि चमत्कार गरिदेओस्, अथवा हामी देश छोड्छौँ र पलायन हुन्छौँ। अल्छी डरपोकजस्तै आफ्नै डरबाट लखेटिएर हामी अमेरिका दौडन्छौँ उनीहरुको उपलब्धीमा रमाउन र उनीहरुको सिस्टमको बखान गर्न। जब न्युयोर्क असुरक्षित हुन्छ, हामी बेलायततिर दौडन्छौँ। जब बेलायतमा बेरोजगारी बढ्छ, हामी खाडीतिर उड्छौँ। जब खाडीमा युद्ध छेँडिन्छ, हामी आफ्नो उद्धार र घरफिर्तीका लागि भारतीय सरकारसँग माग गर्छौँ।)

कलामले भारतको सन्दर्भमा भारतीय नागरिकहरुलाई भनेका भए पनि हाम्रो सन्दर्भमा पनि ठ्याक्कै लागु हुने कुरा यिनै हैनन् र?

9 comments:

  1. Sometime I wonder whether it is the common human nature...

    ReplyDelete
  2. Good article Dhruba jee

    Rajendra PARAJULI

    ReplyDelete
  3. Really nice article

    ReplyDelete
  4. सकरात्मकतालाई अँगाल्न सक्नुपर्छ...यो नै अन्तिम सत्य हो...धेरै सहि कुरा ध्रुव दाइ...

    ReplyDelete
  5. निकै खरो लाग्यो यहाँको लेख |एसपी साब पोखरै बसेको भए ठिक हुन्थ्यो ,उनी जस्ता मान्छे जताततै चाहिएको छ |

    ReplyDelete
  6. अमूल्य प्रतिक्रिया दिनुहुने सबैमा हार्दिक धन्यवाद टक्राउँछु।

    @ N K M जी: मानव स्वभाव धेरथोर त सबैतिर उस्तै हो तर हाम्रोतिर अलिक बेसी हो कि! :)

    ReplyDelete
  7. Dherai daami 6 Dhruba ji article, keep it up.

    ReplyDelete
  8. dhurba dai....nice article...

    ReplyDelete
  9. Thanks a lot BN ji and Thakur bhai!

    ReplyDelete