Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Friday, January 13, 2017

हिन्दू परिचयबारे थप चर्चा

मूर्धन्य लेखक तथा साहित्यकार डा. तारानाथ शर्माको "‘हिन्दू’को परिचय" शिर्षकमा नागरिक दैनिकमा हालै प्रकाशित लेखको मूल मर्मप्रति असहमत हुने ठाउँ खासै नभए पनि केही तथ्यगत त्रुटिहरू औँल्याउनु भने वाञ्छनीय देखिन्छ। लेखमा ‘हिन्दू’ शब्द कसरी बन्यो र वेद-उपनिषद् कतै पनि नभएको ‘हिन्दू’ शब्द नै कसरी हाम्रो धर्मको रुपमा समेत चिनिन पुग्यो भन्ने बारेमा लेखकले ऐतिहासिक कारण खोतलेका छन्। तर लामो ऐतिहासिक विकासक्रमलाई सानो लेखमा समेट्ने क्रममा हुन सक्छ, तथ्यहरू भने गोलमटोल हुन गएका छन्।

लेखक भन्छन्:
वैदिक आर्यहरू पश्चिमतिर बसाइँ सर्दै सिन्धुनदीका किनारमा स्थित मैदानमा पुगेर बस्न थाले। ती जनता सिन्धु किनारामा बस्ता त्यो ठाउँ भारतकै अधीनमा थियो। त्यस क्षेत्रको छिमेकमा अरबी जनता बस्थे। तिनमा इराकी, सिरियाली, इरानीसमेत थिए। अरबी मूलका जनता ‘स’ को उच्चारण गर्न नसकी त्यसलाई ‘ह’ भन्छन्।… सिन्धुनदीको किनारमा बस्ने वैदिक आर्यहरूलाई तिनका पश्चिमी छिमेकीहरूले ‘स’ लाई ‘ह’ र ‘ध’ लाई ‘द’ पारी ‘हिन्दु’ शब्दले सम्बोधन गर्न थाले। यसरी भारतको अधीनका आर्यहरू अरबी प्रभावले सिन्धु नदीको किनारमा बस्ने हुनाले ‘हिन्दू’ भए।

पहिलो कुरा त वैदिक आर्यहरू सिन्धुनदी किनारमा आइपुग्ने समयमा भारत भन्ने कुनै देश वा शासकीय इकाई अस्तित्वमा थिएन। बरु त्यस ठाउँमा छिन्नभिन्न भैसकेको विशाल सिन्धु सभ्यताका अवशेषहरू थिए भन्ने इतिहासकारहरूको मत छ। त्यही बाँकी रहेको सिन्धु सभ्यता र मध्य-एशियाबाट आइपुगेका वैदिक आर्यहरूको संस्कृतिको सम्मिश्रणबाट नै वैदिक सभ्यता वा वैदिक सनातन धर्मको निर्माण हुन पुगेको विश्वास गरिन्छ। दोस्रो कुरा, सिन्धुनदी क्षेत्रको छिमेकमा अरबी होइन, इरानी जनता बस्ने गर्थे। वास्तवमा वैदिक आर्यहरू (जसलाई हिन्द-आर्य पनि भनिन्छ) हिन्द-इरानी आर्य समूह (जुन आफैँमा हिन्द-यूरोपेली वा भारोपेली परिवारभित्र पर्छ) को एउटा हाँगो हुन्। यसै आर्य समूहको अर्को हाँगोमा इरानीहरू (अहिलेका इरानी, अफगानी आदि) पर्दछन्। वैदिक आर्यहरूका छिमेकी यिनै इरानीहरू थिए। त्यसैले संस्कृतको 'सिन्धु' शब्दको उच्चारण अरबीमा नभै फारसीमा 'हिन्दू' हुन पुगेको हो। यसरी संस्कृतको उच्चारण परिवर्तन भई बनेका (वा संस्कृतसँग मिल्दोजुल्दो उच्चारण भएका) फारसी शब्दहरू अरु पनि थुप्रै भेटिन्छन्, जस्तै: हफ्ता (सप्ताह), माह (मास), अहुरा (असुर) आदि। इरानी र अरबीबीचको अन्तरमा यहाँ किन जोड दिन खोजिएको हो भने यी दुईले आधारभूत रुपमै भिन्न जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व गर्दछन्। इरानी जाति र भाषा (फारसी) सँग हामी आद्य हिन्द-इरानीकालदेखि जोडिएका छौँ। अरबी जाति र भाषा भने भारोपेली परिवारभन्दा नितान्त भिन्न अफ्रो-एशियाली परिवारको समिटिक समूहसँग सम्बन्धित छन्। 

लेखमा युनानी (ग्रीसेली) हरूले गर्दा ‘इन्डस नदी’ र ‘इन्डिया’ जस्ता शब्दहरू फैलिएको चर्चा पनि गरिएको छ। तर यहाँनेर छुटेको तथ्य के हो भने जसरी ‘सिन्धु’ अपभ्रंशित भएर ‘हिन्दू’ भयो त्यसरी नै ‘हिन्दू’ अपभ्रंशित भएर ‘इन्डस’ बनेको हो किनभने युनानीहरूले इरानीहरूमार्फत् नै पहिलोपल्ट सिन्धुनदी र यहाँका बासिन्दाबारे थाहा पाएका थिए। सिन्धुनदी अर्थात् इन्डस नदी किनारका मान्छेहरूलाई युनानीहरूले 'इन्डोई' भन्न थाले जुन कालान्तरमा अङ्ग्रेजी भाषामा पुग्दा 'इन्डिया' भयो। 

(तस्वीर स्रोत: नागरिक दैनिक )
 
लेखकको अर्को तर्क छ, "…अरबी, सिरियाली, इराकी, इरानी आदि जातिहरूले समेत संस्कृत भाषाको ‘स्थान’ लाई टपक्क टिपेर आफ्ना विभिन्न ठाउँहरूलाई ‘उज्बेकिस्तान’, ‘तुर्कमेनिस्तान’, ‘अफगानिस्तान’ र पछि गएर ‘पाकिस्तान’ समेत बनाए।" यसलाई अरु जातिले संस्कृत भाषाको ‘स्थान’ लाई टपक्क टिपेको रुपमा बुझ्नुभन्दा संस्कृतको ‘स्थान’ शब्द फारसीमा ‘स्तान’ हुन पुगेको र सोही ‘स्तान’ शब्द जोडिएर विभिन्न देशको नाम बनेको भनेर बुझ्नु तथ्यपूर्ण हुनेछ। आखिरमा फारसी, संस्कृत लगायतका भाषाहरूको स्रोत एउटै अर्थात् आद्य हिन्द-इरानी भाषा हो। त्यसैले त थुप्रै फारसी र संस्कृत शब्दहरूमा समानता भेटिन्छ, जस्तै: अस्ब (अश्व), गाव (गौ), बिरादर (भ्रातृ), पुश्त (पृष्ठ) आदि।


लेखमा भएको एउटा रोचक प्रसङ्ग चाहिँ जुम्ला-हुम्लाका नेपालीभाषीले पनि फारसी भाषामा (लेखकले अरबी भनेका छन्) जस्तै ‘स’ लाई ‘ह’ को रुपमा उच्चारण गर्ने (जस्तै ‘सक्नुपर्छ’ लाई ‘हक्नुपर्छ’) बारेको हो। तर लेखकले संकेत गरेजस्तै त्यो फारसी प्रभाव नै होला त? नेपाली भाषाको उद्गमस्थल कर्णाली क्षेत्र, खासगरी जुम्लाको सिँजा उपत्यकालाई मानिन्छ। यदि जुम्लाको स्थानीय नेपाली भाषामा फारसी प्रभाव रहेको मान्ने हो भने जुम्लाबाटै फैलिएको नेपाली भाषामा चाहिँ त्यो प्रभाव किन देखिएन? डा. शर्माजस्ता नेपाली भाषा-साहित्यका दिग्गज व्यक्तित्वबाट यस सम्बन्धमा थप जानकारी र व्याख्या पनि आएको भए बढी पत्यारिलो हुन्थ्यो कि! जेहोस्, नेपाली भाषाको अध्ययन-अनुसन्धानमा संलग्न र यसबारे रुची राख्ने सबैले थप खोजी गर्नुपर्ने विषय यस प्रसङ्गले कोट्याइदिएको छ।


नागरिक दैनिक (पुस २९, २०७३) मा पहिलोपल्ट प्रकाशित

Sunday, March 24, 2013

रेलगाडीको कथा र टोकियोको नयाँ वसन्त

'रेलै घुमेर, गयो दाजुको आधी उमेर...' राम थापा र सुनिता सुब्बाले गाएको यो सुमधुर लोकगीत सम्झनामा धेरैपल्ट गुञ्जन्छ - सन्दर्भ फरक भए पनि कता-कता आफैँप्रति लक्षितजस्तो लाग्ने गरी। टोकियोको झण्डै चार वर्षको बसाइ अवधिमा सयौँ हैन, हजारौँ घण्टा रेलगाडीको यात्रामा बिताइए होला। जापान, त्यसमाथि पनि टोकियोजस्तो ठूलो शहर, -मा राम्रो सार्वजनिक सवारी सुविधा (खासगरी ट्रेन) का बाबजुद दैनिक आवतजावतमा खर्च हुने समयको तुलनात्मक तस्वीर यहाँ भेट्न सकिन्छ। जेहोस्, रेलगाडी अभिन्न हिस्सा भएको छ दैनिक जीवनको। त्यसमध्ये पनि ओदाक्यु लाइन त 'आफ्नै' जस्तो लाग्ने भैसक्यो। टोकियोमा पाइला टेकेकै दिनदेखि शुरु भएको यो लाइनको यात्रा अहिलेसम्म पनि उसै गरी जारी छ। सधैं चढ्ने यही ओदाक्यु लाइन हिजो चढ्दा भने एक किसिमको नयाँ उत्साहका साथ चढियो। आफू सधैं हिँड्ने रुटमा पर्ने तीनवटा स्टेशनमा जमीनमाथिको ट्र्याकको सट्टा नयाँ विस्तार गरिएको भूमिगत ट्र्याक भएर ट्रेनमा यात्रा गर्दा जीवनमै पहिलोपल्ट भूमिगत ट्रेनमा यात्रा गरेभन्दा पनि बढी रोमाञ्चक अनुभव भयो। यो ट्र्याक विस्तारको काम मैले ओदाक्यु लाइन प्रयोग गर्न थालेदेखि नै भैरहेको थियो तर आफू पनि यसबाट लाभान्वित हुनेमध्ये परिएला भन्नेचाहिँ निश्चित थिएन। तर केही हप्ताअघि ट्र्याक विस्तारको काम सम्पन्न भै मार्च २३ तारिखबाट सञ्चालनमा आउने भन्ने सूचना देखेपछि भने मन चञ्चलजस्तै भयो। त्यो चञ्चलता त हिजो सकियो तर अर्को गजबको अनुभव पनि हिजै गर्न पाइयो। यति ठूलो निर्माण कार्य र परिवर्तनको काम पनि नियमित सेवामा बिना कुनै अवरोध गर्न सकिने रहेछ। अस्ति राती १ बजेसम्म ट्रेनहरु जमीनमाथिबाट हिँडिरहेका थिए, तर हिजो बिहान ५ बजेसम्ममा भूमिगत रुपमा ट्रेनहरु हिँड्ने र यात्रुहरु चढ्न-ओर्लन मिल्ने गरी सबै परिवर्तन सम्पन्न भैसकेछ। धन्य हो प्रविधि र धन्य हुन् प्रविधि तिखार्ने ती हातहरु!

भूमिगत भैसकेपछि सिमोकिताजावा स्टेसन (ओदाक्यु लाइन) को एक दृश्य

'भूमिगत' ओदाक्यु लाइनको यात्राका साथै हिजो अर्को उत्साहको विषय थियो - साकुरा फूलको दर्शन। यसपाली एक्कासी बढेको तापक्रमले वसन्तको रौनक चाँडै ल्याइदियो टोकियोमा। त्यसैले प्राय: अप्रिलको पहिलो-दोस्रो सातातिर फुल्ने साकुरा यो वर्ष भने मार्चको तेस्रो हप्तातिरै ढकमक्क फुल्यो। यही साकुराका केही बान्कीहरु समेट्ने सानो प्रयास तलका तस्वीरहरुमा गरेको छु। यी तस्वीरहरु टोकियो राजप्रासादनजिकैको चिदोरी-गा-फुचीमा लिइएका हुन्।  





Wednesday, April 20, 2011

भ्रष्टाचारीलाई कीरा परोस्!

आजको नागरिक दैनिकमा पत्रकार रवीन्द्र मिश्रले 'भ्रष्टाचारको सत्यानाश!' शिर्षकमा निकै चित्तबुझ्दो लेख लेखेका छन्। नयाँ वर्षको प्रणको रुपमा टोल-टोल, बस्ती-बस्तीबाट भ्रष्टाचारीलाई निरुत्साहित पार्ने अभियानको शुरुवात गरौँ भन्ने उनको आह्वान छ। त्यही आह्वानप्रति समर्थन ऐक्यवद्धता जनाउन मलाई पनि आफ्नो ब्लगमा भ्रष्टाचारीलाई भरमार गाली गर्न मन लागेको छ।

हुनत शब्दमा भ्रष्टाचारीलाई गाली नगर्ने हामीमध्ये कमै होऔँला। तर भ्रष्टाचारी भनेका टप्पर्टुइँया नेताहरु वा साना-ठूला सरकारी ओहोदामा बसेर अनियमितता गर्नेहरु मात्र होइनन्। ती राजश्व छल्ने कालो व्यापार गर्नेहरु मात्र नै हुन्। भ्रष्टाचार एउटा प्रवृत्ति हो - लोभलालचको, बेइमानीको नैतिकताहीनताको। आफूले बेलामौकामा सय-पचास रुपैयाँमा पनि इमान्दारिता देखाउन नसक्नेले भ्रष्टाचारले गर्दा देश बिग्रियो भनेर डाँको छोड्ने गरेको देखिनु हाम्रो समाजमा नौलो होइन। फेरि मिश्रले नै भनेजस्तै 'भ्रष्टाचारका कीटाणु हाम्रा नसानसामा कसरी बास गरिसकेका छन् भने तिनलाई हामीले स्वभाविकरूपमा ग्रहण गर्न थालिसकेका छौँ। हामीले भ्रष्टाचार गरेर लाज ग्लानि महसुसै नहुने मानसिकताको विकास गरिसकेका छौँ।' तर यो विडम्बनापूर्ण स्थितिको अन्त्य नगरी हाम्रो उन्नति हुनेवाला छैन। 

त्यसैले सबै किसिमका भ्रष्ट आचार आचरणका विरुद्ध आफ्नो तर्फबाट जेजस्तो उपाय अपनाउन सकिन्छ, हामी पनि प्रयास गरौँ। पेशागत निष्ठा इमान्दारिताका पक्षमा सतिसालझैँ उभिने रामेश्वर खनाल रामप्रसाद श्रेष्ठजस्ता अरु थुप्रै सुपुत्रहरु जन्मने/जन्माउने बाटो पनि ही नै हो।
******************************************************************

भ्रष्टाचारीलाई स्याउँस्याउँती कीरा परोस्!

भ्रष्टाचार गरेर कमाएको धनले भत्भति पोलोस्!

भ्रष्टाचारीको उठीबास होस्!

भ्रष्टाचारीलाई मर्ने बेलामा मुखमा पानी हालिदिने समेत कोही नहोस्!

तर त्यो सबैभन्दा पहिले, हुनसक्छ भने

भ्रष्टाचारीमा सद्बुद्धि पलाओस्!



नववर्ष २०६८ भ्रष्टाचार भ्रष्टाचारीको सत्यानाशको वर्ष बन्न सकोस्! ढिलै भए पनि यहाँहरु सबैमा हार्दिक मङ्गलमय शुभकामना!!  

Monday, September 21, 2009

अनलाइन नेपाली शब्दकोश: http://www.nepalisabdakos.com/

ब्लगको दुनियाँमा पाइला टेक्ने रहरकै क्रममा ईन्टरनेटमा बरालिँदै जाँदा थाहा भयो, नेपाली ब्लगरहरुको संख्या त उल्लेख्य भैसकेको रहेछ। तीमध्ये केही स्तरीय र गहकिला ब्लगहरु हेरिसकेपछि ममा पनि जोश थपिएको छ, ब्लगमार्फत नियमित रुपमा आफूलाई अभिव्यक्त गर्ने। ईन्टरनेटमा बरालिने क्रममै भेटियो यो अनलाइन नेपाली शब्दकोश पनि। हुनत केही साथीहरु पहिलेदेखि नै परिचित हुनुहुन्छ होला यो अनलाइन शब्दकोशसँग, तैपनि मजस्तै मेसो नपाएका साथीहरुलाई उपयोगी हुन सक्छ भनेर यहाँ उल्लेख गर्न मन लागिहाल्यो। झट्ट हेर्दा शब्दकोश प्रारम्भिक अवस्थामै देखिन्छ, ७६०५ वटा मात्रै नेपाली शब्द समेटिएका रहेछन् अहिलेसम्म। तर ईन्टरनेटमै नेपाली शब्दकोश प्रयोग गर्न पाउनु कम्ती खुशीको कुरा लागेन मलाई। यस्तो सर्हानीय प्रयासका निम्ति सम्बन्धित सबैमा मेरो साधुवाद!