Saturday, May 15, 2010

मैलो देशमा धमिलो माओवादी राजनीतिबारे

'अन्तिम धक्का', 'महान् प्रयोग', 'तेस्रो जनआन्दोलन' इत्यादि नामका साथ एनेकपा माओवादीले सडकको 'सुन्दर प्रयोग' गरिरहँदा डा. जुगल भुर्तेलले कान्तिपुर पत्रिकामा लेखेका थिए - 'आमहडतालको भयंकर ब्रह्मास्त्र उचालेर 'सुकिला विरुद्धको युद्ध' लड्न हिंडेको माओवादीले विश्वको सबैभन्दा अकिञ्चन मुलुक बन्ने दिशातिर उन्मुख नेपालमा सुकिला मान्छे नगन्यप्रायः छन् भन्ने ख्याल गरेन। फलस्वरूप उसले मुलुक ठप्प पार्दा मैला मान्छे नै सबैभन्दा बढी पीडित भएका छन्।' डा. भुर्तेलको 'कित्ता' तोकेर उनको लेखको जस्तो अर्थ लगाउन सकिए पनि माओवादीको मनोगत राजनीतिले उसलाई आत्मघाती बाटोतर्फ हिँडाउँदै गरेको भने पछिल्ला घटनाक्रमले प्रष्ट देखाइरहेका छन्।

खुलामञ्चमा 'सुकिलामुकिला' विरुद्ध चर्का गालीगलौज गरेर 'मैलाधैला' जनताको मन जित्ने ढोँग गरिएको भए पनि अहिले धेरैले उठाएको प्रश्न हो - के माओवादी 'मैलाधैला' जनतालाई 'सुकिलामुकिला' बनाउन साँच्चै प्रतिवद्ध छ त? उसको आवेश, घुर्की र सत्तालोलुपतामा आधारित राजनीति हेर्दा ऊ 'मैलाधैला' जनतालाई 'सुकिलामुकिला' बनाउनतर्फ हैन कि 'सुकिलामुकिला' लाई पनि 'मैलाधैला' बनाउन अग्रसर देखिन्छ भन्ने आरोपमा सत्यको अंश भेटिन्छ। देशलाई झनपछि झन् तन्नम अवस्थामा पुर्‍याएर ल्याइने 'जनवाद' पोलपोट शैलीको 'जनवाद' भन्दा फरक हुन सक्दैन। हुनत देश तन्नम अवस्थामा पुग्नुमा २४० वर्षदेखिको इतिहास भट्याउँदै अनेक कारण दिन सकिएला, अहिलेको सरकारका मन्त्रीहरुलाई औँल्याएर आफू सरकारमा हुनुपर्ने जिकिरमा थप जोड दिन पनि सकिएला, तर मौका आउँदा आफू अरुभन्दा फरक हुन नसकेपछि अरुको विरोध गर्ने नैतिकता पनि खस्किँदै जान्छ। माओवादीले अहिलेसम्म पाएको सफलता उसको स्पष्ट मार्गचित्र र दूरदृष्टि नभै अन्य राजनीतिक पार्टीहरुको अकर्मण्यता र आपसी झिनाझप्टीको परिणाम मात्र रहेछ भन्ने अब छर्लङ्ग भैसकेको छ। निश्चित छ, माओवादीले अब त्यो सुविधा किमार्थ पाउने छैन। माधव नेपालको सरकार अपेक्षा गरिए विपरित झन्-झन् बलियो देखिनुमा दक्षिणी 'प्रभु' को आशिर्वाद आफ्नो ठाउँमा होला, त्योभन्दा बढी माओवादीको अर्घेल्याइँ जिम्मेवार छ। दक्षिणी 'प्रभु' को हस्तक्षेपकारी भूमिकाकै कुरा गर्दा पनि इतिहासले प्रचण्डको उट्पट्याङ र पाखण्डी राष्ट्रवादलाई नै दोषी देखाउने कुरामा शंका छैन।

'जबसम्म विचार ठिक हुन्छ, तबसम्म सबै ठिक हुन्छ,' माओवादीहरुले सबैभन्दा बढी दोहोर्‍याउनेमध्येको वाक्य हो यो। तर यहाँ समस्या विचार बिग्रिएपछि नै उत्पन्न भएको छ। माओवादीले अहिले पनि विचारको राजनीति गरिरहेका छौँ भन्नु जति हाँस्यास्पद कुरो के होला र ! एउटा झूठलाई सयचोटि दोहोर्‍याएर सत्य बनाउनु र मार्क्सवादको जामा पहिर्‍याउँदै त्यसैको सैद्धान्तिकरण गर्नु नै माओवादीको अहिलेको परिचय भएको छ। त्यसैले त 'फ्युजनवाद' को रुपमा विकास गरिएको 'प्रचण्डपथ' ले कुनै दिन गाईको गोबर र मानव मलको 'फ्युजन' गर्ने भन्यो भने पनि आश्चर्य नमाने हुने अवस्था छ। माओवादीहरुले 'बूढो गोरु' को संज्ञा दिने मोहनविक्रम सिंह माओवादीहरुको छेँडेको 'जनयुद्ध' लाई निम्नपूँजीवादी स्वार्थबाट प्रेरित 'शहीदको खेती' भन्दै आलोचना गर्ने गर्थे। सिंहको आफ्नै राजनीतिक इमान्दारिताको धरातल कस्तो छ भन्नेबारेमा धेरै चर्चा गर्नु नपर्ला तर अहिलेको माओवादी राजनीतिले उनको आरोपलाई भने खण्डन हैन, पुष्टि नै गर्दै छ।

यति हुँदाहुँदै पनि माओवादी नेतृत्वको मति फिरोस् र उसले आफैँ उठाएका मुद्दाहरु एउटा टुङ्गोमा पुर्‍याउन उसको सकारात्मक योगदान रहोस् भनेर कामना गर्नुको विकल्प छैन। देशमा उत्पन्न यावत् समस्याको जड माओवादी हो र माओवादीहरुलाई निषेध गर्नेबित्तिकै देशले यी सबबाट चुड्कीको भरमा मुक्ति पाउँछ भन्ने सोँच राख्नेहरुको कमी छैन। उनीहरुलाई सही सावित गर्ने कि गलत, त्यो धेरै हदसम्म माओवादीहरुकै क्रियाकलापमा भर पर्नेछ। बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन।

Monday, May 3, 2010

ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा

यसपालिको 'सुनौलो सप्ताह' (Golden Week) को बिदाको मेसो पारेर साथीहरुसँग ओकुतामा ताल (奥多摩湖, Okutama-ko) तिर घुम्न जाने कार्यक्रम बन्यो। टोकियो शहरमा खानेपानी आपूर्तिको लागि एउटा मुख्य स्रोतको रुपमा रहेको उक्त तालको बारेमा हामी कसैलाई खासै ज्ञान नभए पनि इन्टरनेटमा उपलब्ध सामान्य जानकारीकै भरमा पदयात्राको रमाइलो लिने उद्येश्यले त्यहाँ जाने निधो भएको थियो। कहिलेकाहीँ यसरी सिमित जानकारीका भरमा गरिने यात्रा झन् बढी रोमाञ्चक हुँदो रहेछ। जताजता पुगे पनि ठिकै छ, रमाइलो गर्नेसम्म त हो भनेजस्तो।

वसन्त ऋतुको पारिलो दिनमा जङ्गलको बाटो हुँदै उचाइका हिसाबले हाम्रोतिरका चुरेका डाँडाहरुजस्तै लाग्ने होचा पहाडहरु उक्लिएर तालसम्म पुग्दाको मजा नै बेग्लै थियो। तलतिर छङछङाउँदै बगिरहेको तामा खोला (Tamagawa) अनि रङ पोतेर सजाएजस्तो देखिने थरिथरि रङका रुखहरुले ढपक्क ढाकिएको वारिपारिको दृश्यावलीले गर्दा आतेजाते करिब पाँच घण्टाको पैदल यात्रा निकै अविस्मरणीय बन्यो। सँगसँगै जापानीहरुको विकास र सम्पन्नताका पछाडि रहेको उनीहरुको इच्छाशक्ति र दूरदर्शितालाई केही नजिकबाट नियाल्ने अवसर पनि बन्यो यो यात्रा। तामा खोलामा १४९ मिटर अग्लो ओगोची बाँध (Ogōchi Dam) बाँधेर निर्माण गरिएको ओकुतामा तालको इतिहास हेर्दा हामीले सिक्न सक्ने कुरा धेरै रहेछन्।

आजभन्दा धेरै पहिले सन् १९२६ मै कम्तिमा सय वर्षसम्म टोकियो शहरको खानेपानीको माग धान्ने गरी योजना बनाएर सन् १९३८ देखि ओगोची बाँधको निर्माण शुरु गरिएको रहेछ। बीचमा दोस्रो विश्वयुद्धका कारण १९४३ देखि १९४७ सम्म निर्माण कार्य रोकिएको र युद्धपछि देशको आर्थिक अवस्था तहसनहस भएको भए पनि १९५७ मै बाँधको निर्माणकार्य सम्पन्न हुनु चानचुने कुरा पक्कै थिएन होला। जापानीहरुको उसबेलादेखिको लगनशीलता र दीर्घकालीन सोँचकै कारण आज टोकियोको खानेपानी वितरण प्रणाली संसारकै ठूलो र उत्कृष्टमा गनिन्छ।

अर्कोतर्फ हामीकहाँ भने योजनाबद्ध विकासको लामो चरण पार भैसक्दा पनि 'योजनाबद्ध' ढंगले सोँच्ने परिपाटीकै विकास हुन नसकेको हो कि भन्नुपर्ने अवस्था छ। खानेपानी भनौँ या बिजुलीबत्ती, बाटोघाटो भनौँ या उद्योगधन्दा, हाम्रो सोँच केही वर्ष परसम्म पनि जान सकेको देखिँदैन। काठमाडौंको सडक धुने चर्का कुरासँगै शुरु भएको महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजना पूरा हुने बेलासम्म (आशा गरौँ पूरा चाहिँ पक्कै हुनेछ !) त्यही बेलाको माग धान्न आयोजना सक्षम हुँदैन भन्छन् स्वयम् सम्बन्धित नीतिनिर्माताहरु। लोडसेडिङ्को चर्को मारले देशलाई ढुंगेयुगतर्फ लैजाँदै गर्दा पनि न त हामीसँग भविष्यका लागि भरपर्दो उर्जा योजना देखिन्छ न त साथमा भएको योजनामा परेका आयोजनाहरुको शिघ्र कार्यान्वयनमा कुनै तदारुकता नै। पूर्वी तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रुपमा हामीहरु विपी राजमार्गको चर्चा गरिरहेका हुन्छौँ तर राजमार्गको चौडाइ हेर्दा अर्को त्रिभुवन राजपथको झल्को आउँछ। के-के विषयमा मात्रै कुरा गर्नु ! राजनीति बिग्रिएको देशमा सबै कुरा यस्तै भद्रगोल हुने रहेछन् भनेर जेजस्ता बेथितिलाई पनि सामान्य रुपमा लिनुपर्ने अवस्था छ।

राजनीति सुध्रिँदैमा अर्थात् एकखालको स्थिरता आउँदैमा पनि स्थिति आफसेआफ राम्रो हुने होइन। जबसम्म अलि पछिसम्म, अलि टाढासम्म हाम्रा लागि हामी आफैँ सोँच्न सक्ने हुँदैनौँ, तबसम्म विकास र सम्पन्नता आकाशकै फल हुनेछन्।

तल यात्राको क्रममा लिइएका केही तस्वीरहरु हेर्न सक्नुहुनेछ। तस्वीरहरुका लागि बुद्धजीलाई विशेष धन्यवाद !