Showing posts with label कविता-काव्य. Show all posts
Showing posts with label कविता-काव्य. Show all posts

Sunday, January 17, 2016

हाइकु

हिउँको बाटो
झरी अनि बतास
बेहाल भैयो

मौसम शान्त भैसकेपछिको एउटा दृश्य 

(१८ जनवरी २०१६, टोकियो)

Friday, January 23, 2015

दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

धेरैले भनेजस्तै,
धर्तिको यो कुनामा धेरै चिज बदलियो
अन्धकार वस्ती बञ्जर खेतहरुबीच बग्ने
यहाँका नदीहरुमा पानी मात्र बगेन
थुप्रै नेपालीको रगत आँशु पनि बग्यो
पानी, रगत आँशुभन्दा वेगले शायद समय बग्यो
समयले धेरै चिज लछारेर बग्यो, पछारेर बग्यो
जुग बदल्छौँ भन्नेहरु
जुग के साँझ पनि नढल्दै आफै बदलिए
तर कठै! समय बगेर जहाँ पुगे पनि
हाम्रो नियति भने जमिरह्यो - एकनाससँग, एकतमाससँग
त्यसैले आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

अहो! कस्तो जीवन्त हुन्थ्यो दाइको कविता
शब्द-शब्दमा कसरी ज्यान भर्नुहुन्थ्यो उहाँ
उहाँ चट्टान फुटाएर फूल फुलाउने कुरा गर्नुहुन्थ्यो
पहरा रसाएर मूल फुटाउने कुरा गर्नुहुन्थ्यो
मक्किएको थोँत्रो घर भत्काएर
नयाँ सुन्दर घरको जग खन्ने कुरा गर्नुहुन्थ्यो
भोको पेटलाई खाना नाङ्गो आङलाई नाना
जोहो गर्ने कुरा गर्नुहुन्थ्यो
त्यो सबै गर्न नयाँ बलिदानको कुरा गर्नुहुन्थ्यो
हामी जुरुक्क उचालिन्थ्यौ उहाँको कविता सुन्दा।

मन छुने विम्ब प्रतीकहरु
विछट्टै राम्रोसँग मिलाएर सुनाउनुहुन्थ्यो उहाँ
कलात्मक भाषा जोशिलो शैलीमा
नवचेतनाको बिगुल फुक्नुहुन्थ्यो उहाँ
त्यहाँ आगोको भुङ्ग्रोमा खारिने सुनका कुरा हुन्थे
जस्तै आँधीहुरीमा पनि अविचल उभिने
सतिसालका कुरा हुन्थे
दाइको त्यो शब्दशिल्प यथावत्   
आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

विधिको विडम्बना वा हाम्रो युगको क्रुर ठट्टा!
समयले जस्तोसुकै कोल्टो फेरे पनि
मेरो दाइको कविता बदलिएको छैन
बदलिएको छैन दाइको कविताभित्रको उर्जा
बदलिएका छैनन् दाइको कविताभित्रका सपनाहरु
बदलिएको केवल दाइको कविताको सान्दर्भिकता
दाइको कविताभित्रको इमान्दारिता
हिजो दाइ कालोलाई कालो भनेर लेख्नुहुन्थ्यो
सेतोलाई सेतो भनेर लेख्नुहुन्थ्यो
आज यावत् खैरो चिजलाई
दाइ मुटु निचोरेर कालो सेतो बनाउनुहुन्छ
बलात्कृत आस्था विश्वासलाई सग्लो देखाउन
आफ्नै आँखामा कालो पट्टी बाँध्नुहुन्छ
पूर्ववत् मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!

सपना देखाउनेहरुले नै
सपनाहरु विरुप बनाइदिएपछि
तिनै विरुप सपनाहरुको बुइ चढेर
'एक्काइसौँ शताब्दी' को श्रीपेच पहिरिएपछि
पाखण्ड बनिसकेका छन्
तिनले जप्ने विज्ञान शास्त्रहरु
तिनले जोडतोडले खोक्ने मूल्य मान्यताहरु
तर यो सबै फगत दुष्प्रचार लाग्छ मेरो दाइलाई
आस्था विश्वासमा तथ्य तर्क खोज्नेहरुलाई
अचेल मेरो दाइ आँखामा फुलो परेको भनिदिनुहुन्छ
अवसरवादी, दलाल, भगौडा आदि करार गरिदिनुहुन्छ
अनि नयाँ जोश जाँगरमा
उहाँ अर्को एउटा 'युगीन' कविता कोर्न बस्नुहुन्छ
मलाई विश्वास गर्नुस्,
आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ

तस्वीर श्रोत: http://www.cartoonstock.com/

 (जनवरी २२, २०१५)

Friday, August 6, 2010

हाइकुको जमर्को

१.
पर क्षितिज
एकतमास मन
दैनिकी उस्तै

२.
भ्रान्तिको धारा
जीवनको दर्शन
बोध अमूल्य

३.
बहर गोरु
होक्काँ गर्ने रहर
रक्ताम्मे सिङ

४.
ओरालो बाटो
थामिनसक्नु वेग
यात्रा जारी छ

Thursday, February 25, 2010

कविता: हौसला

मलाई थाहा छ,
हिसाब खोज्न थालेँ भने
मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन
सरले त पढाउनुभएको थियो -
‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’
तर जतिपल्ट गणना दोहोर्‍याए पनि
त्यो बराबरी भेटिने छैन

‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि
‘नगदप्रवाह विवरण’ मा कतै तल-माथि नभए पनि
म मिलाउन सक्ने छैन मेरो ‘वासलात विवरण’
‘ह्रासकट्टी दर’ मिलाउन खोजुँला
‘प्राप्य लेखा’ र ‘देय लेखा’ यताउति पर्‍यो कि हेरुँला
मन बुझाउने बाटो जेजे गरे पनि
गणना सबै भद्रगोल भैसकेको हुनेछ
गणितका जटिल सुत्रहरु किन चाहिए र?
सामान्य जोडघटाउले गिज्याइरहेको हुनेछ

यस्तो अप्रिय यथार्थ स्विकार्ने आँट छैन ममा
त्यसैले म भाग्दैछु
हिसाब खोज्नुपर्ला र सबै पोल खुल्ला भनेर
झन् जोडजोडले भाग्दैछु
तैपनि खुशीको कुरा, म एक्लै छैन
मेरा अघिपछि थुप्रै साथीहरु छन्
यसरी नै भागिरहेका
उनीहरु मलाई हौसला दिँदै छन् -
'बुझ्यौ, भाग्दाभाग्दै पनि रमाउन सिक्नुपर्छ!
यही भागाभागको दौड जितेर छातीमा तक्मा थाप्नुपर्छ!!'

Wednesday, December 30, 2009

कविता: नयाँ वर्ष आएको छ

लामो बिदा लिएर
रंगीचंगी वातावरणमा
मसक्क मस्किँदै
तामझामसहित
नयाँ वर्ष आएको छ।

तर मूड छैन
कुनै उत्सवमा सामेल हुने
नयाँ वर्षको बाहनामा
नयाँ संकल्प रोज्ने
नयाँ तालिका बनाउने
अनि घरिघरि धमिला हुन खोज्ने
आफ्नै पुराना रहर र सपनाहरुलाई ढाँटेर
नयाँ सपनाहरुको खेती गर्ने।

फेरि पनि
सुख कहाँ पाइएला र ?
पूरा गर्नैपर्ने केही विधिहरुले
थिच्ने नै छन्, मिच्ने नै छन्
अनि झल्याँस्स केही सम्झेझैँ गरी
सलाम ठोक्नु नै पर्नेछ
निष्ठुरी बन्दै गरेको समयलाई
किनकि
नयाँ वर्ष आएको छ
यो पराइ भूमिमा झन् पराइ लाग्ने
नयाँ वर्ष आएको छ।


ग्रेगोरिअन पात्रोको नयाँ वर्ष २०१० सुखद रहोस्! यो पेजसम्म आइपुग्नुहुने सबैमा हार्दिक मंगलमय शुभकामना!!

Friday, November 13, 2009

गजल

यसपाली पुरानो संकलनबाट एउटा गजल राख्न मन लाग्यो। गजलको सामान्य नियमसँग परिचित रहे पनि मेरो यो रचना ठ्याक्कै गजल बनेको छ कि छैन, त्यसको बारेमा सुझाव र प्रतिकृयाको आशा गर्दछु। गजल भनेपछि गेयात्मकता पनि हुनुपर्छ भन्छन् क्यार, म चाँहि त्यसैमा निश्चित हुन सक्दिन। तैपनि यसलाई गजल भनेरै पस्केँ अहिलेलाई :)

मेरो विश्वासकी प्रतिमूर्ति मनभित्रकी रानी तिमी
राराको दहजस्तै शान्त तर कञ्चन पानी तिमी

हाँसो मात्रै कति मीठो ती अधरमा छचल्किएको
एकनास हेरिरहुँजस्तो लाग्ने आँखाकी नानी तिमी

झर्किँदा पनि कति मायालाग्दो गरी झर्किएकी
त्यसैले त भनेको नि, बिछट्टकी ज्ञानी तिमी

तिमी टाढा हुँदा पनि तिम्रै आभा खोजिहिँड्छु
नमेटिने, नरित्तिने सम्मोहनकी खानी तिमी

खोल्न त सकिन कहिल्यै मनका कुरा तिमीसँग
तर पनि मुटुभित्र छापिएकी मेरी कहानी तिमी

२०६५/१२/०५
पाटनढोका, ललितपुर

Wednesday, October 21, 2009

कविता

कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो

यस्तो भैदिएको भए हुन्थ्यो
उस्तो भैदिएको भए हुन्थ्यो
हुन त कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो
म तिमीले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
तिमी मैले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
फगत रहर गरेर हुने भए
यो संसारको रीतै अलि फरक भैदिएको भए हुन्थ्यो
एकले अर्कालाई इशारामै बुझिदिने
बुझेपछि बिझाउनु किन पर्थ्यो होला र?
हामी सबै बुद्धत्वबाट दीक्षित भैदिएका भए हुन्थ्यो
तर हामी सामान्य मान्छे न पर्यौँ
देवता र दानव सँगै बोकेर हिंड्ने मान्छे
हाम्रा आफ्नै बाध्यता छन्
फरक यत्ति हो
कहिले हामी बाध्यता पन्छाउन रुचाउँछौ
अनि फेरि कहिलेचाँहि नभएका बाध्यता थुपार्न रुचाउँछौ
बस् हामी यसरी नै चलिरहेका छौँ
यस्तो भैदिएको भए हुन्थ्यो
उस्तो भैदिएको भए हुन्थ्यो
खै कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो !

२० अक्टोबर २००९
सोशिगाया, टोकियो

Thursday, October 15, 2009

मुक्तक

देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन्
देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन्
आफ्ना ठाउँमा सबै इमानदार भैदिएको किन यस्तो हुन्थ्यो र?
देश बनाउँछु भनेर देशकै आन्द्राभुँडी लुछ्नेहरु धेरै छन्

१५ अक्टोबर २००९
सोशिगाया, टोकियो

Saturday, September 19, 2009

कविता

पहिले र अहिले

पहिले
भन्नेहरुले नानाथरि भने
तिमी आफ्नो बाटो हिँडिछाड्यौ
तिमी रोमान्टिक थियौ कि
विवशताले तिमीलाई डोर्‍याउँदै थियो -
तिमी आफै जान
मचाहिँ पक्कै पनि अलि रोमान्टिक थिएँ
त्यसैले धेरै नसोँचिकनै
सलाम गर्न मन लागेथ्यो तिमीलाई

अहिले
समय कति चाँडै बदलियो
हामीले हेर्दाहेर्दै तर हामीले पत्तै नपाइकन
अहिले यसो हेर्दा देख्छु
तिमी त त्यहीँ छौ
तिमीलाई धिक्कार्नेहरु पनि त्यहीँ छन्
केही थपिएको छ भने रिक्तता मात्रै
विघटित मूल्यहरुको रिक्तता
तिमीलाई सलाम गर्न उठेको मेरो हात त्यसै लत्रेको छ

पुनश्च:
तिम्रोजस्तै तर तिम्रोभन्दा भिन्न
एउटा नयाँ कथा मेरा आँखा अगाडि छ
हेर्दैछु कथाको पटाक्षेप कसरी हुन्छ

१७ सेप्टेम्बर २००९
सोशिगाया, टोकियो