Showing posts with label विज्ञान-प्रविधि. Show all posts
Showing posts with label विज्ञान-प्रविधि. Show all posts

Friday, March 18, 2016

बहकिएको बहस र ऊर्जा सुरक्षाको मुद्दा

पछिल्ला दिनमा ऊर्जाको विषयमा थुप्रै बहस भए। हुनत यसबीचमा गत वैशाखको भूकम्पले पुर्‍याएको क्षति, भूकम्पपीडितको पुनर्स्थापना र भौतिक पुनर्निर्माणका गम्भीर मुद्दाहरु एकातिर थिए/छन् भने नयाँ संविधानको घोषणासँगै विशेषत: तराई-मधेसमा देखिएको असन्तुष्टि र असहज अवस्थाका मुद्दाहरु अर्कोतिर थिए। तर तराई-मधेसको असन्तुष्टि र असहज अवस्थाकै पृष्ठभूमिमा भारतीय सरकारले शुरु गरेको नाकाबन्दी र त्यसले सिर्जना गरेको चरम इन्धन सङ्कटका कारण हाम्रा तात्कालिक चासो र चिन्ताका विषय पनि फेरिए। फलस्वरुप ऊर्जा र यसअघि हामीले सोँच्नै नचाहेका ऊर्जा आत्मनिर्भरता तथा ऊर्जा सुरक्षाजस्ता विषय आम बहसका केन्द्रीय विषय बन्न पुगे। यस क्रममा आयातित खनिज इन्धनमाथिको परनिर्भरता अन्त्य गर्नका लागि साइकल चढ्नेदेखि विद्युतीय सवारी साधनको प्रवर्धनसम्मका कुरा उठे। देशभित्र सम्भाव्य भनिएका ठाउँमा तेलकुवा खन्न ग्लोबल टेन्डर आव्हान गर्नेदेखि प्लाष्टिकको फोहरबाट तेलको जोहो गर्नेसम्मका उत्साही कुरा पनि उठे। नाकाबन्दीले निम्त्याएको इन्धन सङ्कटको मूल कारण खनिज इन्धनमा हाम्रो परनिर्भरताभन्दा पनि भारतमाथिको एक्लो निर्भरता थियो। त्यसैले भारत टेढिएको बेला हाम्रा आँखा चीनतर्फ सोझिनु स्वभाविक नै भयो। चीनबाट खनिज इन्धन भित्र्याउने विषयमा पनि हामीले राम्रै बहस गर्‍यौँ। जिम्मेवार तहमा आवश्यक सुझबुझ र त्यसअनुसारको तयारी फिटिक्कै नदेखिए पनि मूलत: चीनको सदाशयताका कारण अनुदानको भए पनि केही तेल केरुङ नाकाबाट नेपाल भित्रिएरै छाड्यो। जेहोस्, मस्त निद्राबाट केही क्षणका लागि भए पनि हामी ब्युँझिएका हौँ कि भन्ने अवस्था सिर्जना भयो।

लोडसेडिङ त हाम्रो पुरानो समस्या छँदै थियो, त्यसको अन्त्य पनि एक वर्षभित्रै हुने प्रतिवद्धता आयो, स्वयम् प्रधानमन्त्रीकै स्तरबाट। आयातित एलपिजी ग्यासको अभावमा बिजुली प्रयोग गरेर खाना बनाऔँ भन्दा त्यो पनि लोडसेडिङका कारण नपाइरहेका आम नागरिकलाई आश्वस्त तुल्याउन 'लोकप्रिय' कदमको रुपमा उक्त प्रतिवद्धता आएको भए पनि सरकारसँग कुनै गृहकार्य वा पूर्वतयारी छँदै थिएन। त्यसैले कहिले सौर्यऊर्जाको प्रयोगबाट लोडसेडिङ अन्त्य गर्ने त कहिले वायुऊर्जाबाट दुई महिनामै ३०० मेगावाट बिजुली निकाल्नेजस्ता केटौले तर्कमै प्रधानमन्त्री केपी ओली र उनका निकटवर्तीहरुको समय बित्यो। हुनत समयक्रममा प्रधानमन्त्रीको प्रतिवद्धता 'टुक्के' गफभन्दा बढी केही नभएको प्रमाणित भयो। तर त्यसअघि विशेषगरी हावाबाट बिजुली निकालेर लोडसेडिङ निमिट्यान्न पार्ने कुरा प्रधानमन्त्रीबाट बारम्बार आउन थालेपछि ऊर्जाबारे सचेत मान्छेहरु संशयमा परे र हाम्रो बहस हाइड्रो कि सोलार कि विन्ड भन्ने 'नन-इस्यु' तर्फ मोडियो।

हामीकहाँ उपलब्ध जलसम्पदा, विद्युत उत्पादनका लागि सस्तो प्रतियुनिट लागत मूल्य, अविच्छिन्न विद्युत आपूर्तिका लागि जलविद्युतको विश्वसनीयता आदिका कारण सौर्य र वायुऊर्जा तत्कालका लागि जलविद्युतका विकल्प हुन सक्दैनन्। तर विकल्प हुन सक्दैनन् भन्नुको तात्पर्य पूरक पनि हुन सक्दैनन् भन्ने चाहिँ होइन। हरेकखाले ऊर्जास्रोतका आफ्नै फाइदा र बेफाइदा हुन्छन्। फेरि, शहरीकरण र औद्योगिक गतिविधि बढ्दै जाँदा ऊर्जाको माग पनि तीव्रगतिमा बढ्ने भएकाले कुनै एउटा ऊर्जास्रोतले मात्र अनन्तकालसम्म पुग्ने भन्ने पनि हुँदैन। यिनै पक्षलाई मध्यनजर गर्दै ऊर्जा मिश्रण वा ऊर्जा विविधीकरणमा जोड दिने गरिन्छ। हाम्रो सन्दर्भमा हेर्दा निर्माण अवधि छोटो हुने हुनाले अहिले हामीले भोगिरहेको लोडसेडिङको विकराल समस्यालाई चाँडोभन्दा चाँडो सम्बोधन गर्नका लागि सौर्य वा वायुऊर्जाले केही भूमिका खेल्न सक्ने सम्भावना पक्कै छ। अझ सौर्यऊर्जाका लागि त छुट्टै ठूलो पावरप्लान्टको सट्टा व्यक्तिगत घर, उद्योग, व्यापारिक प्रतिष्ठान आदिमा सोलार प्यानल राख्न प्रोत्साहन गरी नेट मिटरिङमार्फत् राष्ट्रिय ग्रिडका लागि बिजुली किन्ने व्यवहारिक र तुलनात्मक रुपमा कम खर्चिलो विकल्पसमेत छ। तर एकाएक जादुगरी शैलीमा सौर्य र वायुऊर्जाको प्रयोग गरेर लोडसेडिङ अन्त्य गरिदिने प्रधानमन्त्रीको खोक्रो दाबीले हाम्रो बहस नै बहकियो र व्यवहारिक ढङ्गबाट लोडसेडिङ कसरी अन्त्य गर्ने भन्ने विषयमा पर्याप्त र गम्भीर छलफल नै हुन पाएन।

प्रधानमन्त्री र उनका निकटवर्तीहरुको अदूरदर्शिता र फोस्रो दम्भका कारण लामो समयसम्म हामीहरु 'नन-इस्यु' मा अल्झिन पुगे पनि अब भने धेरै हदसम्म पानी सङ्लिएको अवस्था छ। भर्खरै जारी भएको ऊर्जा संकट निवारण अवधारणापत्रलाई यसको एउटा कडीका रुपमा लिन सकिन्छ। अवधारणापत्रमा आएका धेरैजसो बुँदा सकारात्मक र व्यवहारिक रुपमा सम्भव देखिन्छन्। तर मुख्य चुनौति त कार्यान्वयनकै हो, जुन अहिलेकै कार्यशैलीमा सम्भव हुने छैन। यसै पनि यो चौथो पटकको ऊर्जासंकट निवारणकाल हो र अघिल्ला ऊर्जासंकट निवारणकालको अनुभव त्यति उत्साहप्रद छैन। यति हुँदाहुँदै पनि विद्युत विकास र लोडसेडिङको अन्त्यका लागि केही गम्भीरता देखिएकोमा सन्तोष नै मान्नुपर्ला। तर नाकाबन्दीको यति लामो कष्टकर अनुभव र ऊर्जाबारेका यति धेरै बहसपछि पनि समग्र ऊर्जा क्षेत्रलाई एकीकृत ढङ्गबाट बुझ्न र ऊर्जा सुरक्षाको महत्त्वलाई आत्मसात् गर्न भने हामीहरु फेरि पनि चुकेका हौँ कि भन्ने अनुभव भैरहेको छ।     

नाकाबन्दी खुकुलो हुँदै गएपछि सुस्ताएको ऊर्जा सुरक्षासम्बन्धि हाम्रो चासो अहिले नाकाबन्दी खुलिसकेको अवस्थामा पूरै विस्मृतिको विषय बन्ने त हैन भन्ने खतरा देखिन थालेको छ। हामीले हाम्रो कमजोर सामूहिक स्मृति (कलेक्टिभ मेमोरी) का कारण पटक-पटक दु:ख र सास्ती भोग्दै आएका छौँ तर त्यसबाट पाठ सिक्न भने अटेरी गर्ने गरेका छौँ। २०४५ सालको नाकाबन्दीमा चेतेनौँ भनेर २०७२ सालमा चुक्चुकाउने हामी अब २०७२ सालको नाकाबन्दीमा पनि चेतिएनछ भनेर अर्को कुन वर्ष चुक्चुकाउने? फेरि यहाँनेर ऊर्जा सुरक्षासम्बन्धि हाम्रो बुझाई पनि अधुरो वा भ्रमपूर्ण देखिएको छ। पत्रपत्रिकामा आएका केही लेख/टिप्पणीमा जलविद्युतजस्ता परम्परागत ऊर्जास्रोत र सौर्य, वायुजस्ता वैकल्पिक स्रोतको मिश्रणलाई नै ऊर्जा सुरक्षाको रुपमा बुझेको समेत देखिएको छ। माथि भनिएजस्तै ऊर्जास्रोतको विविधीकरण पनि ऊर्जा सुरक्षाको एउटा अङ्ग हो तर हाम्रा लागि अहिलेको सबैभन्दा संवेदनशील मुद्दा भनेको चाहिँ खनिज इन्धनको आपूर्ति र उपयोगको हो।

डा. श्रीराज शाक्यले २०११ मा प्रकाशित गरेको एउटा शोध अनुसार नेपालको खूद ऊर्जा आयात अनुपात सन् २००५ मा १०.३ प्रतिशत रहेको थियो जुन बढेर सन् २०३० मा १९.३ र २०५० मा ४५.४ प्रतिशत हुनेछ। यो आफैमा एउटा कहालीलाग्दो तथ्य हो। यस तथ्यलाई बुद्धिमतापूर्वक सामना गर्ने र बदल्ने एउटै मात्र तरिका भनेको ऊर्जा खपतका बढीभन्दा बढी क्षेत्रमा घरेलु ऊर्जास्रोत (मुख्यत: जलविद्युत) को उपयोग बढाउँदै लैजानु हो। खासगरी खाना पकाउने र यातायातको क्षेत्रमा विद्युतीकरण बढाउन सके नाकाबन्दीजस्ता अमानवीय क्रियाकलापको दुष्प्रभाव अहिलेजस्तो हुने छैन, साथै खनिज इन्धनको खरिदमा खर्च हुने हाम्रो 'हार्ड करेन्सी' जोगिने र अर्थतन्त्र पनि तङ्ग्रिनेजस्ता फाइदा त छँदैछन्। ल भैगो, एकातिर चर्को लोडसेडिङ भोगिरहेको र अर्कोतिर खनिज इन्धनले नपुगेर बिजुली समेत भारतबाट किनेर गर्जो टार्ने कुरा सुन्नुपरिरहेको अवस्थामा विद्युतीकरणको कुरा तत्कालका लागि टाढाको कुरा भयो रे। तर तत्कालै पनि हामीले गर्न सक्ने काम नभएका होइनन्। पेट्रोलमा एथानोल मिसाएर उपयोग गर्नु त्यस्तै एउटा काम हुन सक्छ, जसका लागि कुनै ठुलो प्राविधिक वा प्रक्रियागत माथापच्ची गर्नुपर्दैन।  

सामान्य पेट्रोल इन्जिन नै १० प्रतिशतसम्म एथानोल मिसाएको पेट्रोल (इ१०) राखेर चलाउन सकिने कुरा स्थापित तथ्य हो। यसरी पेट्रोलमा मिसाउन चाहिने एथानोल हाम्रै चिनी मिलहरुबाट सह-उत्पादनका निकाल्न सकिन्छ। सन् २०१० मा प्रकाशित एउटा अध्ययनले देखाए अनुसार काठमाडौं उपत्यकामा गुड्ने गाडीमा मात्रै यसरी पेट्रोलमा १० प्रतिशत एथानोल मिसाएर चलाउँदा झन्डै ७ प्रतिशत पेट्रोल आयात कटौती गर्न सकिन्छ (जुन पछिल्लो अर्थिक वर्षको आँकडा अनुसार २०,००० किलोलिटरको हाराहारी हुन आउँछ)। त्यो गर्न हाम्रा नीति-निर्माताहरुमा केवल सामान्य इच्छाशक्ति भए पुग्छ। यो एउटा उदाहरण हो, अल्पकाल, मध्यकाल र दीर्घकालमा कार्यान्वयन गर्ने गरी यस्ता अरु थुप्रै कदमको खाँचो हामीलाई छ।

विभिन्न उपायद्वारा खनिज इन्धनको आयात कम गर्न सकिए पनि पूर्णरुपमा विस्थापित गर्न सकिने अवस्था छैन। त्यसैले हाम्रो अर्को महत्त्वपूर्ण र दीर्घकालीन रणनीति इन्धन आयातको सुरक्षा अर्थात् आयात विविधीकरणमा हुनुपर्छ। छिमेकी देश अर्घेलो नहुँदाको अवस्थामा त एउटै देश, त्यसमाथि पनि कुनै एउटा सीमानाकामा निर्भर हुनु राष्ट्रिय स्वार्थका हिसाबले मूर्खतापूर्ण हुन्छ भने हामी त भारतजस्तो ठालु छिमेकीसँग आफ्नै बुतामा भरे-भोलिका लागि पनि नसोँची 'मस्तराम' निर्भर भैरहेको अवस्था छ। त्यसैले तत्कालै वा निकट भविष्यमा भारतीय पक्षले गर्न सक्ने गुलिया कुराको भर नपरी र भारतसँग अनावश्यक जोरी पनि नखोजी चीन तथा अन्य तेस्रो देशबाट पनि पेट्रोलियम इन्धन आयात गर्ने हाम्रो तयारी अघि बढ्नैपर्छ। यसै सन्दर्भमा गत भदौमा सम्झौता गरिएको रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको औचित्य पनि मूल्याङ्कन गरिनुपर्छ। नेपालमा बन्द, हड्ताल आदि हुँदा पनि निर्वाध रुपमा पेट्रोलियम पदार्थको ढुवानीका लागि उपयोगी हुने भनेर प्रचार गरिएको भए पनि उक्त पाइपलाइनले हामीलाई झन् भारतनिर्भर बनाउने र राष्ट्रिय स्वार्थमा आँच पुर्‍याउने खतराबारे हामी बेलैमा सावधान हुन आवश्यक छ।

पेट्रोल भर्ने पर्खाइमा: महेन्द्र राजमार्गमा पर्ने भुमही (नवलपरासी) मा फाल्गुण २१ गते देखिएको एउटा दृश्य। नाकाबन्दी हटिसकेपछि पनि यस्ता दृश्य देखिन छाडेका छैनन्।

पेट्रोलियम इन्धनजस्तो अत्यावश्यक वस्तुमा बाह्य आयातको सुरक्षाका साथै आम उपभोक्ताको हित सुनिश्चित हुने गरी आन्तरिक वितरणको सुरक्षा पनि कति पेचिलो हुँदो रहेछ भन्ने कुरा हामीले भर्खरै भोगेका छौँ। नाकाबन्दीको दौरान र त्यसपछिको लामो समयसम्म पनि नेपाल आयल निगमले देखाएको/देखाइरहेको चरम गैरजिम्मेवारी हाम्रा लागि नाकाबन्दीभन्दा पनि पीडादायी बनेको छ। त्यसैले अबको अर्को अपरिहार्य कदम भनेको स्वतन्त्र ऊर्जा नियमन निकायको व्यवस्था गरी पेट्रोलियम पदार्थको व्यापारमा आयल निगमको एकाधिकार अन्त्य गर्नु हो। यस्तो व्यवस्थाले पेट्रोलियम पदार्थको व्यापारलाई प्रतिस्पर्धी र आम उपभोक्ताको हीतमुखी बनाउन मद्दत गर्नेछ। इन्धन आयातमा भारतमाथिको एकल निर्भरता हटाउन, मूल्य निर्धारण, वितरण आदिलाई पारदर्शी र चुस्त बनाउन तथा देशभित्रै इन्धन भण्डारण क्षमता बढाउनका लागि पनि यस्तो कदम सहयोगी हुनेछ। ऊर्जा नियमन निकायको कुरा गर्दा यसको क्षेत्राधिकारमा खनिज इन्धन मात्र नभएर विद्युतलगायत समग्र ऊर्जाक्षेत्रलाई समेट्न सके ऊर्जा विकास र उपयोगको एकीकृत योजना बनाउन र ऊर्जा सुरक्षाको दीर्घकालीन रणनीति कार्यान्वयन गर्न बढी व्यवहारिक हुने अपेक्षा गर्न सकिन्छ।

केही बाध्यता, केही आवेग र केही क्षणिक प्रतिक्रियाको रुपमा भए पनि यसबीचमा हामीले गरेका तर्क र बहसबाट पनि सिक्ने ठाउँ प्रशस्त हुन सक्छन्। भरपर्दो तथ्याङ्क र तयारीबिनै हावाबाट बिजुली निकाल्ने कुरा गरेका हामीले भविष्यमा वायुऊर्जाको उपयोगका लागि चाहिने तथ्याङ्क सङ्कलनको काम (जुन आफैमा लामो समय लाग्ने हुन्छ) लाई किन अघि नबढाउने? काठमाडौं तथा देशका अन्य भागमा समेत फाट्टफुट्ट भेटिएको प्राकृतिक ग्यासलाई व्यापारिक हिसाबले उपयोग गर्न सकिने सम्भावनाको भरपर्दो अध्ययन गर्नतर्फ किन नलाग्ने? तेलकुवा खन्ने विषयलाइ मौसमी गफ बनाउनुको सट्टा त्यसतर्फ सानै तर गम्भीर प्रयास किन शुरु नगर्ने? नाकाबन्दीले निम्त्याएको बाध्यताका बीच हामीले इन्डक्सन हिटर, ग्यासिफायर चुह्लो आदि प्रयोग गर्न सिक्यौँ, अब त्यस्ता किफायती प्रविधिहरु देशभित्रै विकास गरेर उपयोग गर्न निरन्तर प्रोत्साहन किन नगर्ने? यस्ता विषयमा जिम्मेवार निकायमा बस्नेहरुले मनन गर्नुपर्ने आवश्यकता त छँदैछ, जिम्मेवार नागरिकको कर्तव्यबोध गर्दै हामी सबैले उनीहरुलाई झक्झक्याउनु पनि महत्त्वपूर्ण रहनेछ।  
 
अन्त्यमा, मनमा गढेको एउटा प्रसङ्ग राख्न चाहन्छु। गत अक्टोबरमा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न एउटा कन्फरेन्सको क्रममा सिड्नी विश्वविद्यालयका प्रोफेसर थोमस मास्क्मेयरको विस्तृत प्रवचन (प्लेनरी लेक्चर) सुन्ने अवसर मिलेको थियो। उक्त प्रवचनमा उनले खैरो कोइला (लिग्नाइट) र बायोमासबाट तेल निकाल्ने प्रविधिबारे वर्णन गरेका थिए। व्यापारिक रुपमा समेत उक्त प्रविधिको कार्यान्वयनमा संलग्न रहेका उनले मूल्यको आधारमा तत्कालका लागि आफ्नो प्रविधि आकर्षक नभए पनि अस्ट्रेलियाको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण रहेको दाबी गरे। उनको भनाइ थियो, "खनिज तेलमा अस्ट्रेलिया पूर्णरुपमा आत्मनिर्भर छैन, त्यसैले भोलिका दिनमा हाम्रा मित्रहरुसँग हाम्रो सम्बन्ध राम्रो रहेन भने के गर्ने भन्नेबारे पनि हामीले सोँच्नुपर्छ। त्यस्तो अवस्थामा हाम्रै आन्तरिक स्रोतबाट उत्पादन गर्न सकिने तेल केही महङ्गो भए पनि फरक पर्ने छैन।' अस्ट्रेलिया खनिज कोइलाका लागि विश्वकै चौथो ठूलो उत्पादनकर्ता हो र उससँग तेल तथा प्राकृतिक ग्यासका पनि ठूलै भण्डार छन्। ऊर्जा उत्पादन तथा उपयोगका हिसाबले अस्ट्रेलिया र नेपालको छेउटुप्पो पनि तुलना गर्न मिल्दैन। तर कूल उपयोगको केही भाग तेल आयातमा भर पर्ने (त्यो पनि कुनै एउटा वा दुईवटा निश्चित देशमाथि मात्र हैन) अस्ट्रेलियाजस्तो देशका लागि त ऊर्जा सुरक्षा त्यति ठूलो रणनीतिक महत्त्वको विषय रहेछ भने हाम्रा लागि थप भनिरहनुपर्ला र?

'याे नाकाबन्दी पनि बिर्सियाैं भने...' शिर्षकमा सेतोपाटी (फाल्गुण १३, २०७२) मा पहिलोपल्ट प्रकाशित।

Thursday, November 5, 2015

ऊर्जासम्बन्धि हाम्रा भ्रम र दीर्घकालीन ऊर्जा सुरक्षा रणनीतिको आवश्यकता

विद्युत अभावका कारण वर्षौँदेखि लोडसेडिङको चर्को मार खेप्दै आएका हामी नेपालीहरु यतिबेला छिमेकी देश भारतको अर्घेल्याइँले निम्त्याएको इन्धन संकट र त्यससँगै सिर्जित बहुआयामिक समस्याहरु भोग्न वाध्य छौँ। यही सन्दर्भमा हामीकहाँ जरो गाडेका ऊर्जासम्बन्धि केही सङ्कुचित र भ्रमपूर्ण अवधारणाबारे चर्चा गर्नु आवश्यक देखिएको छ। मुख्यत: ऊर्जा भन्नेबित्तिकै विद्युत र त्यसमा पनि जलविद्युत भनेर व्याख्या गर्ने, खनिज तेल र ग्यासजस्ता इन्धनलाई ऊर्जाको बहसभन्दा बाहिर केवल आपूर्ति मन्त्रालय वा आयल निगमको सरोकारको विषय मान्ने अनि नविकरणीय ऊर्जा भन्नेबित्तिकै निकै सानो परिमाणको र ग्रामीण ऊर्जा मात्र भनेर बुझ्ने प्रवृत्तिलाई नसच्याई नहुने भएको छ।

ऊर्जा मानव सभ्यता र विकासको महत्वपूर्ण अवयवको रुपमा रहीआएको छ। प्रतिव्यक्ति ऊर्जा खपतको आँकडालाई हेरेर कुनै पनि देश विकास र समृद्धिको कुन चरणमा छ भनेर मोटामोटी अनुमान गर्न सकिन्छ। स्वभाविक रुपमा हाम्रो वार्षिक प्रतिव्यक्ति ऊर्जा खपत निकै थोरै अर्थात् १५ गिगाजुलको हाराहारीमा छ, जुन विश्वको औसत ऊर्जा खपतको एक चौथाइभन्दा पनि थोरै हुन आउँछ। त्यसमाथि अहिले पनि हाम्रो प्रमुख निर्भरता ऊर्जाका परम्परागत स्रोतहरुमै छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७०/७१ को कूल ऊर्जा खपत ११,२३२ kTOE (१ kTOE = १००० TOE ≈ ४२,००० गिगाजुल) रहेको थियो (यहाँनेर स्मरणीय के छ भने अर्थ मन्त्रालयले हरेक वर्ष अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने आर्थिक सर्वेक्षणमा ऊर्जा खपतको इकाई त्रुटिपूर्ण रुपमा TOE वा 'तेल टन शक्ति' उल्लेख हुने गरेको छ। इकाईमा हरेक वर्ष दोहोरिने यो त्रुटी देख्दा ऊर्जासम्बन्धि आँकडाहरु कति गम्भीरतापूर्वक र विश्वसनीय ढङ्गले राखिएका होलान् प्रश्न पनि उठ्न सक्छ। तर अहिलेका लागि अन्य आधिकारिक स्रोत नभएका कारण आर्थिक सर्वेक्षणकै आँकडालाई इकाई सच्याएर सत्य मानौँ।)। यस कूल ऊर्जा खपतको झन्डै ८० प्रतिशत काठदाउरा, भुस, गुइँठाजस्ता परम्परागत ऊर्जास्रोतबाट, १७ प्रतिशत व्यापारिक ऊर्जास्रोतबाट र बाँकी ३ प्रतिशत नवीकरणीय ऊर्जास्रोत बाट पूर्ति भएको थियो। व्यापारिक ऊर्जास्रोतभित्र १६ प्रतिशत कोइला, ६५ प्रतिशत खनिज तेल र ग्यास तथा १९ प्रतिशत विद्युतको हिस्सा देखिन्छ। सर्वेक्षणमा उल्लेख भएको विद्युतको आँकडालाई शत प्रतिशत जलविद्युत नै भनेर मान्ने हो भने पनि यसले हाम्रो कूल ऊर्जा खपतको निकै सानो अंश ओगटेको प्रष्ट छ। फेरि पनि किन हामी ऊर्जा भन्नेबित्तिकै जलविद्युत भनेर बुझिरहेका छौँ त? किनभने हामीले हाम्रा सरकारी संरचना त्यसै अनुसार निर्माण गरेका छौँ। ऊर्जाको विषय हेर्नका लागि हामीकहाँ अलग्गै ऊर्जा मन्त्रालय छ तर यसको वेबसाइट मात्रै हेर्दा पनि बुझिन्छ यस मन्त्रालयको अधिकार क्षेत्र जलविद्युत मात्र हो। हामीकहाँ ऊर्जासम्बन्धि अर्को निकाय पनि छ: जल तथा ऊर्जा आयोग। तर यसको अवस्था पनि उस्तै छ, ‘जल-ऊर्जा आयोग’ भन्नुपर्नेमा जबर्जस्ती ‘जल तथा ऊर्जा आयोग’ भनिएजस्तो।

पक्कै पनि जलस्रोत हाम्रो अमूल्य सम्पदा हो। हामीकहाँ जलविद्युतको ठूलो सम्भावना छ र अहिलेसम्म सानो परिमाणमा भए पनि हामीले दोहन गर्न सकेको आधुनिक ऊर्जाको आन्तरिक स्रोत भनेको पनि जलविद्युत नै हो। तर सँगै जोडिएको कटुसत्य के पनि हो भने अहिलेको अवस्थामा ८१ प्रतिशत व्यापारिक ऊर्जाका लागि हामीहरु आयातित खनिज इन्धनमा भर पर्नुपरिरहेको छ। हाम्रो ऊर्जा खपतमा यस्तो उल्लेख्य हिस्सा ओगट्ने खनिज इन्धन ऊर्जा मन्त्रालयको सरोकारभित्र पर्नुपर्ने हो कि होइन? वास्तवमा ऊर्जाका विभिन्न स्रोतमध्ये सबैभन्दा रणनीतिक महत्वको स्रोत नै खनिज इन्धन हो। आफ्नो चर्चित पुस्तक 'द प्राइज' मा लेखक डेनियल यार्गिनले बीसौँ शताब्दीमा खनिज तेलले विश्व राजनीति र अर्थतन्त्रमा खेलेको केन्द्रीय भूमिका र एक्काइसौँ शताब्दीमा पनि कायम रहने तेलको रणनीतिक महत्वको बारेमा विस्तारमा चर्चा गरेका छन्। तर शत प्रतिशत आयातमा भर पर्नुपरे पनि खनिज इन्धनलाई हामीले अहिलेसम्म 'टेकन फर ग्रान्टेड' भन्दा माथि उठेर सोँचेकै छैनौँ। सोँचेका हुँदा हौँ त अहिले भारतसँग केही असमझदारी हुनेबित्तिकै यस्तो हाहाकार हुने अवस्था आउँदैनथ्यो होला। हुनत यो हाहाकारले हामीलाई मस्त निद्राबाट केहीबेरका लागि भए पनि ब्युँझाइदिएको छ तर यो ब्युँझाइ कति स्थायी हुनेछ भन्ने कुरा आगामी दिनमा हामीले तय गर्ने ऊर्जा सुरक्षा (इनर्जी सेक्युरिटी) को दीर्घकालीन रणनीति (तय गर्न सक्यौँ भने) मा भर पर्नेछ। ऊर्जा सुरक्षाको दीर्घकालीन रणनीति निर्माणका लागि ऊर्जा मन्त्रालयको पुनर्संरचना हुनु जरुरी छ, जसले ऊर्जाका सबै स्रोत र क्षेत्र समेट्न सकोस्। आपूर्ति मन्त्रालय वा आयल निगमको भूमिका खनिज इन्धनको आयात र वितरणमा मात्र सिमित छ। तर दीर्घकालमा खनिज इन्धनमाथिको निर्भरता कसरी घटाउने, देशभित्रै सम्भाव्य भनिएका ठाउँमा खनिज तेल र ग्यासको अन्वेषण कसरी गर्ने, आयात गरिने तेल र ग्यासका लागि पनि वैकल्पिक स्रोतहरु कसरी पहिचान गर्ने, भण्डारण र वितरण क्षमता कसरी बढाउने लगायतका गम्भीर विषयमा सोँच्नका लागि भने हामीसँग कुनै निकाय नै नभएको प्रतित हुन्छ। त्यसमाथि हामीले जलविद्युत उत्पादन उल्लेख्य रुपमा वृद्धि गरे पनि त्यसले आयातित खनिज इन्धनलाई रातारात विस्थापित गर्न सक्दैन। त्यसका लागि जलविद्युतको विकाससँगै विद्युतीय प्रविधिको प्रवर्धन (यातायात, खाना पकाउने लगायतका घरेलु क्रियाकलाप आदिमा) तथा ग्रिडमा बढी भएको विद्युतबाट हाइड्रोजन ग्यासजस्ता वैकल्पिक इन्धन उत्पादन गर्ने नीति र योजनाहरु बनाउन आवश्यक हुन्छ। यी सबै पक्षलाई एकीकृत ढङ्गले सोँच्न र अघि बढाउन हाम्रो ऊर्जासम्बन्धि एकाङ्गी धारणा परिवर्तन नगरी सुख छैन।







ऊर्जाको कुरा गर्दा बिर्सन नहुने अर्को पक्ष नविकरणीय ऊर्जाको प्रवर्धन हो। तत्कालका लागि हामीले जोड दिनुपर्ने जलविद्युतमै हो तर त्यसो भन्दैमा वायु, सौर्य, जैविकलगायतका नविकरणीय स्रोतहरुलाई अवमूल्यन गर्न भने पटक्कै मिल्दैन। यी स्रोतहरुलाई अहिलेसम्म हामीले ग्रामीण विद्युतीकरण तथा सानातिना यन्त्र-उपकरणको सञ्चालनका लागि प्रयोग गरेको साँचो हो तर यिनै स्रोतहरुले कतिपय देशमा ऊर्जाका 'मेनस्ट्रिम' स्रोतको ठाउँ लिइसकेको पनि उत्तिकै साँचो हो। त्यसैले जलविद्युतसँगै नविकरणीय ऊर्जालाई पनि प्रवर्धन गर्ने र यसलाई 'वैकल्पिक' बाट क्रमश: 'मेनस्ट्रिम' ऊर्जामा परिणत गर्ने नीति बन्नुपर्छ। यहाँनेर बिर्सन नहुने तथ्य के हो भने जलविद्युतजस्तै सौर्यऊर्जा पनि हाम्रा लागि दीर्घकालमा ठूलो सम्भावना बोकेको क्षेत्र हो। वैज्ञानिक अध्ययनबाट देखिए अनुसार सौर्यऊर्जा दोहन गर्न सकिने सबैभन्दा ठूलो सम्भाव्यता हाम्रै हिमालय क्षेत्रमा छ। तत्कालका लागि केही महङ्गो र ग्रीड कनेक्सनका लागि ठूलो विद्युत भण्डारण क्षमता चाहिने भए पनि प्राविधिक विकाससँगै सौर्य प्रविधिले फड्को मार्ने प्रष्टै छ।

सारांशमा भन्नुपर्दा हाम्रो समग्र ऊर्जा क्षेत्रको विकास तथा ऊर्जा सुरक्षाका लागि जलविद्युत, खनिज इन्धन र नविकरणीय ऊर्जाको रणनीतिक ढङ्गले उपयोग गर्ने समन्वित अवधारणा/निकाय र त्यसै अनुसारको ऊर्जा मिश्रण (इनर्जी मिक्स) चाहिएको छ। वर्षौँदेखि भोग्दै आएको लोडसेडिङ र वर्तमानमा भोग्नुपरिरहेको इन्धन सङ्कटले हामीलाई त्यो दिशामा अघि बढ्ने प्रेरणा दिन सकून्। आखिर मान्छेले सिक्ने सङ्कटमै हो। 

सेतोपाटी (कार्तिक १६, २०७२) मा पहिलोपल्ट प्रकाशित।

Wednesday, January 19, 2011

'उसलाई पिएचडी दिनोस्'

आइन्सटाइनसँग केही भलाकुसारी

प्र: एकजना  भौतिकशास्त्रीको रुपमा आफ्नो लामो करिअरको आधारमा तपाईँ विज्ञानलाई कसरी परिभाषित गर्नुहुन्छ?
उ: हाम्रो चेतना-अनुभवमा रहेको विश्रृङ्खल विविधतालाई तार्किक हिसाबले एकरुप विचारपद्धतिसँग सङ्गत बनाउने प्रयास नै विज्ञान हो। यस्तो  पद्धतिमा भिन्नभिन्न अनुभवहरु सैद्धान्तिक संरचनामा यसरी सम्बन्धित गरिनुपर्छ कि परिणामस्वरुप प्राप्त हुने संयोजन अद्वितीय तथा विश्वासिलो होस्... चेतना-अनुभवहरु उपलब्ध विषयवस्तु हुन्, तर तिनलाई व्याख्या गर्ने सिद्धान्तचाहिँ मानव-निर्मित हो। यो... काल्पनिक, अपूर्ण र जहिले पनि प्रश्न उठाउन तथा शंका गर्न सकिने हुन्छ।

प्र: विज्ञानको क्षेत्रमा करिअर बनाउन चाहने युवालाई तपाईँ कस्तो सामान्य सल्लाह दिनुहुन्छ?
उ: वैज्ञानिक कार्यका लागि प्रयास गर्दा -- निकै प्रतिभाशाली व्यक्तिले समेत -- कुनै साँच्चिकै मूल्यवान् कुरा प्राप्त गर्ने सम्भावना निकै थोरै हुन्छ... त्यसको एउटै मात्र समाधान छ: आफ्नो धेरैजसो समय केही प्रयोगात्मक काममा लगाउनोस्...  जुन तपाईँको स्वभावसँग मिल्छ, र बाँकी समय अध्ययनमा खर्च गर्नुहोस्। तब तपाईँ सक्षम हुनुहुनेछ... कुनै दैवी आशिर्वादबिना पनि एउटा सामान्य र सामञ्जस्यपूर्ण जिन्दगी बाँच्न। 

प्र: वैज्ञानिक करिअरका आर्थिक सीमाहरुको बारेमा नि?
उ: विज्ञान एउटा गजबको कुरा हो, यदि यसबाट गुजारा चलाउनुपर्दैन भने। मान्छेले आफू जुन काममा सक्षम छु भन्ने लाग्छ त्यसैबाट जीवन गुजारा चलाउनुपर्ने हुन्छ। वैज्ञानिक कार्यको आनन्द तब मात्र लिन सकिन्छ जब हामी कसैप्रति पनि जवाफदेही हुनुपर्ने हुँदैन।  

प्र: त्यसो भए वैज्ञानिक करिअरका परिणामहरु के हुन् जसले यसलाई सार्थक र रोमाञ्चक बनाउँछन्?
उ: मानवलाई उदात्त बनाउने र उनीहरुको स्वभावलाई समृद्ध गराउने कुरा वैज्ञानिक अनुसन्धानको परिणाम होइन, बरु रचनात्मक तथा खुला दिमागले बौद्धिक कार्य सम्पन्न गर्ने बेला बुझाइको निम्ति गरिने संघर्ष हो। यो मेरो भित्री विश्वास हो कि विज्ञानको विकासले मुख्यरुपमा विशुद्ध ज्ञानको उत्कण्ठालाई शान्त पार्छ।  

प्र: तर मलाई लागेको हुन सक्थ्यो कि प्रकाशमा ल्याइने नयाँ ज्ञान -- अर्थात् आविष्कार -- नै त्यस्तो कुरा हो जसले वैज्ञानिक करिअरलाई सार्थक बनाउँछ?
उ: 'आविष्कार' भन्ने शब्द आफैँमा खेदजनक छ। किनकि आविष्कारको अर्थ पहिल्यै अस्तित्वमा रहेको कुनै वस्तुको बारेमा थाहा पाउनु बराबर हुन्छ; यो प्रमाणसँग जोडिएको हुन्छ जसले 'आविष्कार' को होइन कि आविष्कारसम्म पुग्ने साधनको विशेषता बोक्छ। ...आविष्कार वास्तवमा कुनै रचनात्मक कार्य होइन।

प्र: वैज्ञानिक प्रशिक्षणको लागि सबैभन्दा राम्रो स्कुल छान्न कस्तो सल्लाह दिनुहुन्छ?
उ: स्कुलको लक्ष्य जहिले पनि कुनै तन्नेरी त्यहाँबाट एउटा सामञ्जस्यपूर्ण व्यक्तित्व बनेर निस्कोस् भन्ने हुनुपर्छ न कि एउटा विशेषज्ञ। अन्यथा ऊ -- उसको विशेष ज्ञानका कारण -- सामञ्जस्यपूर्णरुपमा विकसित मान्छेभन्दा एउटा सुप्रशिक्षित कुकुरको ज्यादा निकट हुन्छ।  

प्र: एउटा शिक्षकमा चाहिँ तपाईँ के चाहनुहुन्छ?
उ: सबैभन्दा मूल्यवान् कुरा जुन एउटा शिक्षकले केटाकेटीलाई दिनसक्छ, त्यो खासमा ज्ञान र सुझबुझ होइन बरु ज्ञान र सुझबुझप्रतिको तीव्र इच्छा हो, र बौद्धिक मूल्यहरुप्रतिको सराहना हो, चाहे ती कलात्मक, वैज्ञानिक वा नैतिक जुनसुकै होऊन्। रचनात्मक अभिव्यक्ति र ज्ञानको मजा जागृत गर्नु नै एउटा शिक्षकको सर्वोच्च कला हो। धेरै शिक्षकहरु विद्यार्थीले नजानेको कुरा पत्ता लगाउने अभिप्रायका प्रश्नहरु सोधेर आफ्नो समय बर्बाद गर्छन् जबकि सोधपुछको साँचो कला विद्यार्थीले कुन कुरा जान्दछ वा ऊ कुन कुरा जान्न सक्षम छ भन्ने पत्ता लगाउनु हो।

प्र: अनि विद्यार्थीको मनोभावचाहिँ कस्तो हुनुपर्ला?
उ: तथ्यहरु सिक्नु त्यति धेरै महत्त्वपूर्ण कुरा हैन। त्यसको लागि कुनै व्यक्तिलाई साँच्चिकै कलेजको खाँचो पर्दैन। उसले किताबबाट ती कुरा सिक्न सक्छ। एउटा लिबरल आर्ट्स कलेजमा लिइने शिक्षाको महत्त्व धेरै तथ्यहरु सिक्नु होइन बरु पाठ्यपुस्तकबाट सिक्न नसकिने कुरा सोँच्न दिमागलाई प्रशिक्षित गर्नु हो।

प्र: सफल वैज्ञानिक करिअरका लागि उचित शैक्षिक स्थान भेट्न गाह्रो छ?
उ: शिक्षाको उद्देश्य स्वतन्त्ररुपमा काम गर्ने र सोँच्ने व्यक्तिहरु प्रशिक्षित गर्ने हुनुपर्छ, तथापि त्यस्ता व्यक्तिले समुदायको सेवामा आफ्नो जीवनको उच्चतम प्राप्ती देखून्। वास्तवमा यो कुनै चमत्कारभन्दा कम छैन कि आधुनिक शिक्षणविधिहरुले अनुसन्धानको पवित्र जिज्ञासालाई पूर्णरुपमा अँठ्याएर मार्न सकेका छैनन्; किनकि यो सानो सुन्दर बिरुवा प्रोत्साहनबिना, मुख्यरुपमा स्वतन्त्रताको चाहनाले खडा हुन्छ; यसबिना यो कष्टमा पर्छ र निश्चितरुपमा नष्ट हुन्छ।    

प्र: शिक्षण प्रक्रियामा परीक्षाहरू कति महत्त्वपूर्ण छन्?
उ: म परीक्षाहरुको विरोधी हुँ -- तिनले पढाइप्रतिको रुचीलाई रोक्ने मात्र काम गर्छन्। एउटा विद्यार्थीको [कलेज] करिअरभरिमा दुइटाभन्दा बढी परीक्षा लिइनुहुँदैन। म सेमिनारहरु आयोजना गर्ने थिएँ र यदि तन्नेरीहरु इच्छुक छन् अनि सुन्छन् भने उनीहरुलाई डिप्लोमा दिने थिएँ।

प्र: त्यसो गर्दा भौतिकशास्त्रको प्राध्यापकको रुपमा आफ्नो लामो अनुभवको हिसाबले कहिलेकाहीँ अयोग्य विद्यार्थी पनि पार होला भन्ने तपाईँलाई लाग्दैन?  
उ: त्यस केटालाई उसको पिएचडी दिनोस्। फिजिक्सको पिएचडीले उसले खास बिगार गर्न सक्नेवाला छैन।

प्र: तपाईँको विचारमा विज्ञानमा काम गर्न कस्तो वातावरण सबैभन्दा प्रभावकारी हुन्छ?
उ: आधुनिक समाजमा समेत केही खास पेशाहरु छन् जसमा एक्लिएर बस्नुपर्छ र कुनै ठूलो शारीरिक वा बौद्धिक मेहनत गर्नुपर्दैन। लाइटहाउसहरु तथा लाइटसिपहरुमा काम गर्नेजस्ता पेशाहरु दिमागमा आउँछन्। तन्नेरीहरु जो वैज्ञानिक, खासगरि गणितीय वा दार्शनिक प्रकृतिका, समस्याहरुको बारेमा सोँच्छन्, उनीहरुलाई यस्ता पेशामा राख्न सम्भव नहोला र? यस्तो महत्त्वाकांक्षा भएका ज्यादै थोरै तन्नेरीहरुले मात्र आफ्नो जीवनको उर्वर अवधिमा समेत बिना कुनै बाधा-अवरोध जतिसुकै लामो समयसम्म पनि वैज्ञानिक प्रकृतिका समस्यामा आफूलाई समर्पित गर्ने अवसर पाउँछन्।

प्र: पृथकीकरणका निम्ति तपाईँको रोजाइ के एकहिसाबले प्रतिस्पर्धा र प्राथमिकताको चासोबाट प्रभावित हो?
उ: विज्ञानको विकासका लागि केही योगदान दिन सक्ने विशेष सुविधाप्राप्त व्यक्तिहरुले साधारण प्रयासका फलहरुको निम्ति आफ्नो खुशीमा ग्रहण लाग्न दिनुहुँदैन।

प्र: सहकर्मी छान्दा कस्ता गुणहरुलाई बढी महत्त्व दिनुहुन्छ?
उ: वैज्ञानिक विशिष्टता र व्यक्तिगत गुणहरु सधैँ सँगसँगै गएको देखिँदैन। म कुनै महाछट्टु सूत्रबाज वा प्रयोगबाजभन्दा एउटा मिलनसार मान्छेलाई अधिक महत्त्व दिन्छु।

प्र: आफ्नो अनुसन्धानका लागि लक्ष्यहरु तय गर्दै गरेको एउटा वैज्ञानिकलाई कस्तो सल्लाह दिनुहुन्छ?
उ: कसैले पनि सजिलै प्राप्त हुने लक्ष्य लिनुहुँदैन। हरेकले कडाभन्दा कडा मेहनतद्वारा मात्र प्राप्त हुने लक्ष्यका लागि आफूलाई तयार पार्नुपर्छ।   

प्र: एउटा वैज्ञानिक पथभ्रष्ट हुने मुख्य बाटाहरु के-के हुन्?
उ: १) राक्षसी शक्तिले उसलाई झुटो परिकल्पनातिर मोडिदिन्छ। (यसको लागि ऊ हाम्रो दयाको हकदार हुन्छ।)
    २) उसका तर्कहरु त्रुटीपूर्ण र हावादारी छन्। (यसको लागि ऊ हाम्रो पिटाइको हकदार हुन्छ।)

प्र: एउटा सच्चा परिकल्पनाको विशेषता के हो?
उ: मेरो निम्ति परिकल्पना एउटा त्यस्तो कथन हो जसको सत्यता अस्थायी रुपमा मानिएको हुन्छ तर जसको अर्थ सबै शंकाभन्दा माथि हुनुपर्छ।  

प्र: 'प्रकृति' लाई बुझ्ने क्रममा एउटा वैज्ञानिकले सामना गर्ने सबैभन्दा ठूला चुनौतीहरु के-के हुन्?  
उ: १) भगवान आफूले चाहेअनुसार गर्छन् र उनी कसैको आज्ञा मान्दैनन्।
    २) परमेश्वर सुक्ष्म छन्, तर दुष्टचाहिँ उनी छैनन्।
    ३) मेरो अर्कै विचार छ। हुनसक्छ, ईश्वर दुष्ट छन्

प्र: विज्ञानको कलासँग के सम्बन्ध छ?
उ: प्राविधिक सीपको एउटा निश्चित उच्चतह प्राप्त गरिसकेपछि विज्ञान र कला एक-अर्कामा विलय हुन खोज्छन् - सौन्दर्यशास्त्र, लचकता र रुपमा। महान् वैज्ञानिकहरु कलाकार पनि हुन्।  

प्र: पश्चिमा विज्ञानको विकासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
उ: पश्चिमा विज्ञानको विकास दुइटा महान् उपलब्धिमा आधारित छ: ग्रिसेली दार्शनिकहरुले आविष्कार गरेको औपचारिक तार्किक पद्धति (युक्लिडियन ज्यामितिको रुपमा), अनि व्यवस्थित प्रयोगद्वारा कारण-सम्बन्ध पत्ता लगाउन सकिने सम्भावनाको अन्वेषण (पुनर्जागरण अवधिमा)। 

प्र: विज्ञानको क्षेत्रमा हामी कति पर पुगिसकेका छौँ?
उ: लामो जीवनमा मैले सिकेको एउटा कुरा हो: यथार्थको तुलनामा हाम्रो पूरै विज्ञान आदिम र शिशुसमान छ -- यद्यपी यो हामीसँग भएको सबैभन्दा मूल्यवान् वस्तु हो।

प्र: त्यस्तो विरल अवस्था जतिबेला तपाईँको कुनै शोधपत्रको रुखो समीक्षा गरिएको थियो, तपाईंको प्रतिक्रिया के थियो?
उ: अज्ञात समीक्षकका सिफारिसहरुलाई पालना गर्नुपर्ने म कुनै आवश्यकता देख्दिनँ (जो संयोगले त्रुटीपूर्ण हुन्छन्)। उपरोक्त आधारमा म आफ्नो काम अन्यत्र कहीँ प्रकाशित गराउनेबारेमा सोँच्नेछु।

*********************************************************************************** प्रस्तुत भलाकुसारी आधुनिक भौतिक विज्ञानका पिता तथा बिसौँ शताब्दीका 'शताब्दीपुरुष' अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५) ले विभिन्न विषयमा उनको जीवनको आखिरीतिर व्यक्त गरेका विचारहरुलाई प्रश्नोत्तरको रुपमा ढालेर ले तयार पारेको भलाकुसारीको नेपाली अनुवाद हो। यहाँ समेटिएका आइस्टाइनका विचारहरु Dan Albert ले Alice Calaprice द्वारा सम्पादित The Ultimate Quotable Einstein बाट लिएका हुन्। तर आइन्स्टाइनसँगको 'गफगाफ' पढ्नुअघि Albert ले सुझाएका चेतावनीहरु यहाँ पनि सान्दर्भिक हुन सक्छन्:
१) आइन्स्टाइनले बुढ्यौलीसँगै अनेक विषयमा आफ्नो धारणा फेरेका थिए।
२) उनका अलिक कडा टिप्पणीहरु आंशिकरुपमा हाँसोमा भनिएका हुन सक्छन्।
३) उनले विज्ञानलाई ज्यादातर एउटा भौतिकशास्त्रीको आँखाले हेरेका छन्।
***********************************************************************************

अन्त्यमा, आइन्स्टानलगायत संसारका थुप्रै महान् वैज्ञानिकहरुलाई एकसाथ देख्न सकिने आधुनिक विज्ञानको स्वर्णिमकाल झल्काउने यो 'आइकोनिक' तस्वीर पनि:

सन् १९२७ मा ब्रसेल्समा सम्पन्न पाँचौँ सोल्वे कन्फरेन्समा लिइएको यस तस्वीरमा देखिएका २९ मध्ये १७ जना वैज्ञानिकहरु कोही त्यतिबेलैका र कोही त्यसपछिका नोबेल पुरस्कार विजेता हुन्। क्वान्टम सिद्धान्तमाथिको तातो बहसमा केन्द्रित उक्त कन्फरेन्समा आइन्स्टाइन र अर्का वैज्ञानिक निल्स बोरबीच चलेको जुहारी पनि निकै चर्चित छ। 'ईश्वरले पासा खेल्दैनन्,' हेइजेनबर्गको 'अनिश्चितताको सिद्धान्त' को आलोचना गर्दै आइन्स्टाइनले भनेका रहेछन्। बोर पनि के कम, उनले मुख फर्काएका रहेछन्, 'आइन्स्टाइन, ईश्वरले के गर्नुपर्छ भन्न छोड।'

Saturday, November 13, 2010

'फेन्सी टेक्नोलोजी' का पक्षमा

गत सोमबार नेपालका पूर्व जलश्रोत मन्त्री तथा होनहार जलश्रोतविद्का रुपमा चिनिने दीपक ज्ञवालीज्यूले दिनुभएको एउटा प्रवचन कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। हाल संयुक्त राष्ट्रसंघ विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट फर एड्भान्स्ड स्टडिज् तथा युनेस्को-अन्तर्राष्ट्रिय जलविज्ञान कार्यक्रमको अतिथि प्राध्यापकका रुपमा योकोहामामा रहनुभएका ज्ञवालीले 'सांस्कृतिक सिद्धान्त, परम्परागत जल-ज्ञान तथा द्वन्द्व सुधार' विषयमा टोकियो विश्वविद्यालयमा दिनुभएको करिब डेढघण्टा लामो प्रवचनका तारिफयोग्य पक्षहरु थुप्रै थिए। विषयवस्तुमाथिको उहाँको गहिरो र व्यापक ज्ञान, अङ्ग्रेजी भाषामाथिको राम्रो पकड तथा 'बोल्ड' प्रस्तुतिले प्रवचन अवधिभर सबैलाई मन्त्रमुग्ध बनाएको प्रष्टै थियो। फेरि नेपालको मन्त्री वा पूर्वमन्त्री भन्नेबित्तिकै झट्ट हाम्रो मानसपटलमा बन्ने 'जोकर' तस्वीरभन्दा फरक उहाँको उपस्थिति टोकियो विश्वविद्यालयका अन्य विद्यार्थी तथा प्राध्यापकहरुका सामु हामी नेपाली विद्यार्थीहरुका लागि गर्वको विषय पनि थियो। तर कुरा यतिमै टुङ्गिँदैन, टुङ्गिँदो हो त हाम्रो देशको दुरावस्था यस्तो हुने पनि थिएन कि!

ज्ञवालीले आफ्नो प्रवचन अवधिमा निकैचोटि दोहोर्‍याउनुभएको एउटा शब्दावली थियो - 'फेन्सी टेक्नोलोजी'। उहाँको कुरा सुन्दा लाग्थ्यो, हामीहरुले विश्विद्यालयमा हासिल गरेको/ गरिरहेको शिक्षा सबै व्यर्थ हो। विश्वविद्यालयहरुमा पढाइ हुने सुत्र, समीकरण आदि सबै बेतुकका कुरा हुन्। के साँच्चै त्यसो हो त? त्यसो भए तिनै सुत्र, समीकरणका आधारमा अरुहरुले गरेको विकास पनि मिथ्या हुनुपर्‍यो। हैन, अरुले गरेको सही हो तर हाम्रो सन्दर्भमा चाहिँ ती सुत्र, समीकरणहरु काम लाग्दैनन् भन्ने हो भने जति सकिन्छ काम लाग्ने बनाउने जिम्मा पनि हाम्रो आफ्नै हो। 'अङ्गुर अमिलो छ' भनेर भाग्दैमा हुन्छ र? ज्ञवालीले भन्नुभएजस्तै नयाँ प्रविधिको विकास सँगसँगै परम्परागत जल-ज्ञानलाई पनि उपयोग गर्नुपर्छ भन्ने कुरामा विमति राख्ने ठाउँ छैन, बरु यो कुरा प्रविधिका अन्य क्षेत्रमा पनि लागु हुन्छ। तर यसको मतलब हामी सधैँ माटोको बाँध वा पानीघट्ट प्रविधिको 'गफ चुटेर' बसौँ भन्ने हुन सक्छ र? आधुनिक विज्ञान र प्रविधिका कुरालाई 'फेन्सी' नाम दिएर परम्परागत प्रविधिको रट लगाउँदैमा अहिलेको प्रतिष्पर्धात्मक संसारमा हामी खरो उत्रन सकौँला?


दिगो विकासका लागि कुनै पनि नयाँ प्रविधि वा विकासको अवधारणा प्राविधिक रुपमा सम्भव, आर्थिक तथा वातावरणीय रुपमा व्यवहार्य र सामाजिक रुपमा स्वीकार्य हुनुपर्छ भन्ने मान्यता अहिले निर्विवाद भैसकेको छ। परम्परादेखि चलिआएका चलन, स्थानीय समुदायका सरोकारका मुद्दाहरु आदिलाई ध्यान नदिइकन विकासको लक्ष्य प्राप्त नहुने कुरा पनि साँचो हो। तर त्यसो भन्दैमा दुई-चारवटा असफलताका कथाहरुलाई बढाइँचढाइँ गरेर आधुनिक प्रविधिको धज्जी उडाउनु हामीजस्तो पछौटे राष्ट्रका लागि सुहाउँदो कुरा हुनै सक्दैन।

जलसम्पादकै उपयोगका सन्दर्भमा कुरा गर्दा सबैभन्दा धेरै 'पानीविज्ञ' हामीकहाँ नै होलान् जस्तो लाग्छ, तर फेरि पनि किन हामी मध्ययुगतिर धकेलिँदै छौँ त? भन्न त सकिन्छ, हाम्रो सरकारमा बस्नेहरु गतिला भएनन्, हाम्रो ब्युरोक्रेसी गतिलो भएन, आदि। तर सरकार वा सरकारी निकाय बाहिर बसेकाहरुले गर्ने तर्कहरु पनि परिणाममुखी छन् र? जलश्रोतको क्षेत्रमा वर्षौँको अनुभव बटुलेकाहरुबाट हुने ठूला आयोजनाको विरोध, राष्ट्रियताको चर्को वकालत आदि फगत उनीहरुको व्यक्तिगत वृत्तिविकासका आधार हुन् वा साँच्चिकै राष्ट्रहितप्रति उनीहरुको प्रतिवद्धताका उदाहरण हुन्, प्रश्न अनुत्तरित नै छ। काठमाडौं उपत्यकाका ढुङ्गेधाराहरु हाम्रा अमूल्य निधि हुन्, तिनको संरक्षण हुनुपर्छ, सम्वर्द्धन हुनुपर्छ। तर हामीलाई मेलम्ची वा त्योभन्दा अझ ठूला महत्वाकांक्षी आयोजनाहरु पनि चाहिन्छन्। समस्या ठूला आयोजनाको सैद्धान्तिक वा दार्शनिक पक्षसँग हुँदै होइन, समस्या त हाम्रो फितलो र भ्रष्ट कार्यान्वयन पक्षसँग पो हो।

चीनले याङ्जे नदीमा 'थ्री गर्जेज्' बाँध बाँधेर २२,५०० मेगावाट क्षमताको जलविद्युत गृह निर्माण गर्न लाग्दा ठूलो बहसको विषय बन्यो। लाखौँ मान्छेहरु विस्थापित हुने र आसपासको पर्यावरणमा प्रतिकूल असर पर्नेजस्ता विवादास्पद विषयका बाबजुद चीनले उक्त आयोजना सम्पन्न गरिछाड्यो किनभने उर्जाको बढ्दो मागलाई धान्नुपर्ने चुनौती उसका सामु थियो। चीनमा निर्माण भएको उक्त बाँध वा अन्यत्र पनि निर्माण भएका/ भैरहेका ठूला बाँधहरु सही वा निर्विकल्प नै भन्ने होइन तर एउटा कुरा केचाहिँ निश्चित हो भने विकासोन्मुख राष्ट्रले आफ्ना स्वार्थहरु आफैँ पहिचान गर्न सक्नुपर्छ। विकसित राष्ट्रमा जोडतोडका साथ उठ्ने मुद्दाहरु हाम्रा मुद्दा नहुन पनि सक्छन्। आइएस्सी पढ्दा एकजना सरले भन्नुभएको कुरा अहिले पनि म बेला-बेलामा सम्झने गर्छु। एउटा प्रसङ्गमा उहाँको सटिक टिप्पणी थियो - 'नेपालीका घरका छानामा प्वाल परेको मतलब छैन, यहाँ कसै-कसैलाई ओजोनमा प्वाल परेको चिन्ता छ।' विकास र सम्पन्नताको एउटा चरणमा पुगेपछि 'आदर्श' का कुरा जति गर्दा पनि सुहाउँछ तर ढुङ्गेयुगमै बसेर परम्परागत प्रविधिको रक्षा गर्छु, पृथ्वी जोगाउँछु भन्नुचाहिँ हुट्टिट्याउँले आकाश थाम्छु भन्नुभन्दा बढी केही पनि होइन।

पुल्चोक क्याम्पसमा पढ्दा भौतिकशास्त्रका एकजना सर 'हलो प्रविधि' को कुरा गर्ने गर्नुहुन्थ्यो। हाम्रो विज्ञान-प्रविधिको 'फोकस' ठुल्ठुला कुरा गर्नेभन्दा पनि हलो-कोदालो सुधार्ने प्रविधिको विकासतिर हुनुपर्छ भनेर उहाँ हामीहरुलाई हौँस्याउनुहुन्थ्यो। कुरा मिठो सुनिन्छ तर वास्तविकता सायद त्यस्तो मिठो छैन। अरुहरु आधुनिक बन्दुक लिएर शिकार गर्न निस्किरहेका बेला हामी उही गुलेलीको 'इनोभेसन' मा रमाएर बस्दैमा होला र? यसको अर्थ हामी एकैचोटि फुलचोकीको डाँडाबाट रकेट उडाउने गुड्डी हाँकेर बसौँ भन्ने होइन तर दुनियाँ कता जाँदैछ भन्ने कुरासँग हामी अवगत हुनै पर्छ। हामीसँग पनि ठूला सपना हुनै पर्छ। 'फेन्सी टेक्नोलोजी' हामीले पनि भित्र्याउन सक्नुपर्छ, विकास गर्न सक्नुपर्छ। आधुनिक विज्ञान-प्रविधिको 'कोर' ज्ञानलाई आत्मसात् नगरिकन, ठूला स्केलका उद्योगधन्दा र आयोजनाहरुलाई प्रवर्द्धन नगरिकन 'जोगवाड' का भरमा कुनै पनि समाजले काँचुली फेरेको उदाहरण हाम्रासामु छैन। देवकोटाले त्यसै भनेका होइनन् - 'उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक'।

Saturday, June 12, 2010

'समयको इतिहास' पढ्दाको अनुभव

नयाँ विषयवस्तुमा कलम चलाउन मेसो नमिलिरहेको अवस्थाको उपज भनौँ वा कम्प्युटरमा सुरक्षित यो पुरानो लेखोटप्रतिको मोह, आज ब्लगमा यसैलाई बाँड्न मन लाग्यो। हुनत यो टाँसो 'पुरानो रक्सी, पुरानै बोतल' जस्तो पनि हुन सक्छ किनभने हकिङको यो पुस्तक आफैँमा नयाँ होइन (पहिलो संस्करण १९८८ मा निस्केको रहेछ) अनि मैले पढेको पनि झण्डै डेढ वर्ष पुग्न थालेछ। तैपनि अहिलेलाई यही पस्किएँ :)

अल्बर्ट आइन्स्टाइनको समयपछिका सबैभन्दा तिक्ष्ण वैज्ञानिक प्रतिभा भनेर चिनिएका भौतिकशास्त्री स्टेफन हकिङद्वारा लिखित चर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम: फ्रम द बिग ब्याङ टु ब्ल्याक होल्स्' (अर्थात् 'समयको संक्षिप्त इतिहास: महाविष्फोटदेखि काला छिद्रहरुसम्म') पढ्ने रहर पहिलेदेखि नै थियो । तर सो रहर पुरा गर्ने मौका भने भर्खरै मात्र जुर्‍यो । वास्तवमा पुस्तकको नाम नै आफैमा अचम्मको छ । हामीले सामान्य अर्थमा बुझ्दा समय त्यस्तो निरन्तर प्रवाह हो जसको न कुनै शुरुवात छ न कुनै अन्त्य नै । तर हकिङको पुस्तक पढ्दै जाँदा थाहा हुन्छ - समयको शुरुवात र अन्त्य त ब्रहृमाण्डको शुरुवात र अन्त्यसँग पो जोडिएको रहेछ । ब्रहृमाण्डको उत्पत्तिभन्दा पूर्व वा ब्रहृमाण्डको विलयपश्चात् समय भन्ने चिजको पनि कुनै अर्थ नहुँदो रहेछ । यर्सथ यो पुस्तक हाम्रो ब्रहृमाण्डको उत्पत्ति, यसको विकासक्रम, वर्तमान स्वरुप र भविष्यबारेको भौतिकशास्त्रीय दृष्टिकोणको नालीबेली हो ।

विभिन्न धर्मशास्त्रहरुले दैवीशक्तिलाई आधार बनाई ब्रहृमाण्डका बारेमा आआफ्नै ढङ्गले चर्चा गरेका भए पनि वैज्ञानिक अवलोकन र अनुसन्धानहरुका आधारमा ब्रहृमाण्डका बारेमा नयाँभन्दा नयाँ जानकारी हासिल गर्ने र अन्तिम सत्य (अल्टिमेट ट्रुथ) सम्म पुग्ने प्रयास भने जारी नै छ । यस पुस्तकमा यिनै प्रयासहरुलाई क्रमबद्ध रुपमा सरल भाषामा प्रस्तुत गरिएको छ । ईसापूर्व ३४० मा ग्रीक दार्शनिक एरिस्टोटलले पहिलोपल्ट पृथ्वी प्लेटजस्तो चेप्टो आकारको नभई गोलाकार भएको दावी गरेका थिए । त्यसपछि विभिन्न कालखण्डमा टोलेमी, कोपर्निकस, केप्लर, ग्यालिलियो आदि वैज्ञानिकहरुले गरेका खोजअनुसन्धानबाट पृथ्वी मात्र होइन, अन्तरिक्षमा रहेका अन्य ग्रह र नक्षत्रहरुको बारेमा समेत बढी विश्वसनीय जानकारी हासिल गर्ने क्रम जारी रहयो । सन् १६८७ मा सर आइज्याक न्यूटनले 'प्रिन्सिपिया म्याथमेटिका' भन्ने पुस्तक पकाशित गरेपछि त झन् गुरुत्वाकर्षण बलको सिद्धान्तका आधारमा ग्रह, उपग्रह आदिको अवस्थिति, तिनको आपसी चाल, तिनले अनुसरण गर्ने कक्ष आदिबारे ठिकठिक जानकारी लिन सम्भव भयो । तर अर्कोतर्फ न्यूटनको यसै सिद्धान्तले ब्रहृमाण्ड स्थीर नभई गतिशील वा विस्तार भइरहेको अवस्थामा रहेको इङ्गित गर्‍यो, जुन कुरा त्यतिबेला न्यूटन आफैलाई समेत विश्वास गर्न गाह्रो भयो । पछि सन् १९२९ मा अमेरिकी खगोल वैज्ञानिक एड्विन हबलले गरेको खोजबाट ब्रहृमाण्ड साँच्चिकै विस्तार भइरहेको पत्ता लाग्यो । यसले ब्रहृमाण्ड स्थीर छ र अनादिकालदेखि यही रुपमा छ भन्ने मान्यतालाइ खण्डन गरिदियो र ब्रहृमाण्डको शुरुवात अनन्त घनत्व भएको अत्यन्तै सुक्ष्म र तातो पिण्डको विष्फोटन अर्थात् 'बिग ब्याङ' बाट भएको हो भन्ने मान्यता स्थापित भयो ।

तर यतिले मात्र ब्रहृमाण्डसम्बन्धि रहस्यहरु सुल्झिएका छैनन्, बरु थुप्रै नयाँ जिज्ञासाहरु थपिएका छन् । ब्रहृमाण्डको व्याख्या गर्न अहिले वैज्ञानिकहरु बीसौं शताब्दीको पूर्वार्द्धका दुई ठूला सिद्धान्तहरु सापेक्षताको सामान्य सिद्धान्त र क्वान्टम यान्त्रिकीको सहायता लिन्छन् । यी दुवै सिद्धान्तहरु आफैमा भौतिक विज्ञानका ठूला उपलब्धि भए पनि यिनीहरु एकआपसमा बाझिने खालका पनि छन्, जसका कारण हकिङ र उनीजस्ता सैद्धान्तिक भौतिकशास्त्रका अनुसन्धाताहरुको लक्ष्य भनेको यी दुवै सिद्धान्त समेटिने गरी 'एकिकृत पूर्ण सिद्धान्त' विकास गर्नु हो । यसै सिद्धान्तलाइ हकिङले 'ब्रहृमाण्डको अन्तिम सिद्धान्त' पनि भनेका छन् । हुनत यस्तो सिद्धान्त अहिलेसम्म अनुसन्धानकै विषय रहिआएको छ तर यस्तो सिद्धान्तका आधार र विशेषताहरुबारे पुस्तकमा सविस्तार चर्चा गरिएको छ । पूर्ण सिद्धान्तसम्बन्धि आफ्नो पछिल्लो खोजलाइ प्रस्टयाउने क्रममा उनले प्रस्तावित 'स्ट्रिङ् सिद्धान्त' को बारेमा समेत उल्लेख गरेका छन्, जसमा कुनै पनि पदार्थ आधारभूत कणहरुको सट्टा लम्बाइ भएका तर मोटाइ नभएका स्ट्रिङ् अर्थात् डोरीजस्ता वस्तुहरुबाट बनेको हुन्छ ।

यदि हकिङ र अन्य भौतिकशास्त्रीहरुले खोज गरेजस्तै ब्रहृमाण्डको अन्तिम सिद्धान्त पत्ता लाग्यो भने त्यसले अहिलेसम्मको मानवीय ज्ञानमा कस्तो प्रभाव पार्ला त? पुस्तकमा यस सम्बन्धमा रमाइलो ढङ्गले वर्णन गरिएको छ । न्यूटनको पालासम्म कुनै पनि एउटा शिक्षित मानिसले मानवजातिले हासिल गरेका ज्ञानहरुको बारेमा मोटामोटी नै भए पनि सम्पूर्ण जानकारी राख्न सक्थ्यो । तर त्यसपछिको समयमा विज्ञान र प्रविधिमा भएको तीव्र विकासले यो कुरा असम्भव बनाउँदै लग्यो । आजको दिनसम्म आइपुग्दा त कुनै सानो विषयवस्तुबारे राम्ररी बुझन समेत सम्बन्धित क्षेत्रकै विशेषज्ञ हुनुपर्ने अवस्था छ । तर 'एकिकृत पूर्ण सिद्धान्त' आइसकेपछि भने यो अवस्था रहने छैन । हकिङ भन्छन् - यस्तो पूर्ण सिद्धान्त एकाध वैज्ञानिकहरुले मात्र नभई वृहत् अर्थमा सबैजनाले बुझ्न सक्नेछन् । त्यतिखेर हामी सबैजना, दार्शनिकहरु, वैज्ञानिकहरु र सर्वसाधारणहरु सँगै बसेर ब्रहृमाण्डको बारेमा छलफल गर्न सक्नेछौं । साँच्चै त्यस्तो समय कति टाढा होला - कल्पना मात्रैले पनि रोमाञ्चित बनाउँछ । रोमाञ्चित नबनाओस् पनि कसरी, यो कुनै काल्पनिक विज्ञान उपन्यासको प्रसङ्ग नभएर वास्तविकतामा आधारित वैज्ञानिक अनुसन्धानले औँल्याएको कुरा पो हो त ।

स्वभाविक हो, सबै मानिसले गल्ती गर्छन् । वैज्ञानिक खोजअनुसन्धानका कममा वैज्ञानिकहरुबाट पनि गल्ती नहुने कुरै भएन । अझ विज्ञानको इतिहास त झन् गल्ती गर्दै र तिनै गल्तीबाट सिकेर थप समृद्ध हुँदै अघि बढेको पाइन्छ । आफूले गरेको एउटा यस्तै गल्तीलाइ स्वीकार्दै हकिङ भन्छन् - गल्ती नस्वीकारी अघि बढेर गल्तीमाथि गल्ती गर्दै जानु वा त्यसबाट पन्छिन खोज्नुभन्दा लिखित रुपमा गल्ती स्वीकार्नु धेरै बेस हो । यस सन्दर्भमा उनले आइन्स्टाइनलाई असल उदाहरणको रुपमा लिएका छन्, जसले ब्रहृमाण्डलाई स्थीर देखाउनका लागि प्रयोग गरेको 'ब्रहृमाण्डीय अचल' (कस्मोलोजिकल कन्स्ट्यान्ट) लाई पछि आफ्नो जिन्दगीको सबैभन्दा ठूलो गल्ती भनेका थिए ।

यस पुस्तकको सबैभन्दा ठूलो विशेषता भनेकै भौतिकशास्त्रका सामान्यदेखि जटिलसम्मका सिद्धान्तहरुलाई साधारण मानिसले बुझ्ने भाषामा व्याख्या गर्दै ब्रहृमाण्डसम्बन्धि अध्ययनमा तिनको अन्तर्सम्बन्ध केलाइनु हो । आफू पनि विज्ञान र प्रविधि क्षेत्रकै एउटा विद्यार्थी भएको हिसाबले मैले अनुभव गरेको कुरा के हो भने जुन सिद्धान्त र परिकल्पना (हाइपोथेसिस) हरु पाठयपुस्तकमा पढ्दा अत्यन्तै पट्यारलाग्दा र अमूर्त लाग्छन्, तिनै कुरालाई यस पुस्तकमा यति चाखलाग्दो तरिकाले वर्णन गरिएको छ कि नजानिंदो पाराले विज्ञान र त्यसमा पनि भौतिकशास्त्रप्रतिको मोह चुलिएर जान्छ । ब्रहृमाण्डको व्याख्या गर्ने क्रममा आउने विभिन्न वैज्ञानिकहरु र उनीहरुले गरेका खोजअनुसन्धानका चर्चाहरु तथा तीसँगै जोडिएर आउने नोबेल पुरस्कारका प्रसङ्गहरुले त पुस्तकलाई एकैसासमा पढी सिध्याउन पाए हुन्थ्योजस्तो बनाइदिन्छन् ।

समष्टिमा भन्नुपर्दा यो पुस्तक ब्रहृमाण्डको भूत, वर्तमान र भविष्यबारे तर्कपूर्ण जिज्ञासा राख्ने सबैले एकपटक पढ्नैपर्ने पुस्तक हो । अझ त्यसमा पनि विज्ञानका विद्यार्थीहरुले त यो पुस्तक छुटाउनु नै हुँदैनजस्तो लाग्छ ।

२०६५/१०/०९
पाटनढोका, ललितपुर

Thursday, December 10, 2009

डिजाइन @ सिसाकलम

The Practice of Machine Design को पछिल्लो क्लास एउटा पेन्सिलको डिजाइनमाथि छलफल गरेरै बित्यो। पेन्सिल थियो - जापानको मिचुबिसी पेन्सिलले केही पहिले बजारमा ल्याएको ‘कुरु तोगा’ नामको मेकानिकल पेन्सिल। सामान्यतया मेसिन डिजाइन भन्नेबित्तिकै अलि ‘हाइफाइ’ तस्वीर नै दिमागमा आउँछ तर छाता, पेन्सिल आदिजस्ता दैनिक प्रयोगका सामान्य वस्तुमा पनि डिजाइनसम्बन्धि कति ठूला अनुसन्धानहरु भैरहेका हुँदा रहेछन्, कहिलेकाहीँ त अचम्मै लाग्छ। मान्छेले सिर्जनशील जुक्ती प्रयोग नगरेको पनि कुनै ठाउँ छैन।

मेकानिकल पेन्सिल प्रयोग गर्ने गर्नुभएको छ भने तपाईंले यसको एउटा अवगुण पक्कै पनि ख्याल गरेको हुनुपर्छ। त्यो के भने लेख्दै जाँदा पेन्सिलको लीडको एकातिरको भाग खिइँदै जान्छ र लेखाइ मोटो तथा फिक्का हुन थाल्छ। हुनत मेकानिकल पेन्सिलमा प्रयोग हुने पेन्सिलको लीडको मोटाइ आफैमा निकै थोरै (०.५ मिलिमिटरको हाराहारीमा) हुन्छ तर पनि लीडको एकातिरको भाग खिइएर लेखाइको गुणस्तर बिग्रिँदै जाने कुरा टड्कारै अनुभव गर्न सकिन्छ। यही समस्यालाई हल गर्ने जुक्ती निकालेको रहेछ मिचुबिसी पेन्सिलले।


मिचुबिसीको 'कुरु तोगा' पेन्सिल यसरी डिजाइन गरिएको छ कि जब तपाईं लेख्दै जानुहुन्छ, यसको लीड आफै घुम्दै जान्छ र लीडको सबैतिरको भाग समानरुपमा खिइने भएकाले लेखाइ एकनास रहन्छ। अब प्रश्न उठ्छ, लीड कसरी घुम्छ त? यसको लागि विशेषखालको clutch mechanism प्रयोग गरिएको छ। लेख्ने बेलामा जब पेन्सिललाई कागजमाथि राखिन्छ, त्यतिबेला लीडमा पर्ने दवाबले lead-holding chuck मा जोडिएको toothed clutch माथि उठ्छ र क्लचका दाँतीहरु एकापसमा मिल्ने क्रममा लीड केही डिग्री घुम्दछ। यो क्रम हरेकपल्ट पेन्सिल कागजबाट माथि उठ्दा र कागजमा बस्दा दोहोरिइरहन्छ।

यसको डिजाइनको बारेमा अझ विस्तृत रुपमा बुझ्नचाहिँ पेन्सिललाई फुटाउनैपर्ने देखिँदैछ। तर झन्डै एकदिनको लञ्च बराबरको रकम (३७८ येन) हालेर किनेको पेन्सिल फुटाउन मनले अझै मानिहालेको छैन :) जे होस्, यो पेन्सिलले लेख्दा एउटा रमाइलो कुरा भने अनुभव गरेँ मैले। साधारण खालको लीड पेन्सिल प्रयोग गर्दा पेन्सिल घुमाई-घुमाई लेख्ने बानी परिसकेको रहेछ। त्यसैले यो पेन्सिल प्रयोग गर्दा पनि घुमाएरै लेख्न खोजिँदो रहेछ। अब automatically पनि घुम्ने, आफूले पनि घुमाउने भएपछि त समस्या सुल्झनुको सट्टा झन् बल्झने डर पो हुँदो रहेछ :)

‘कुरु तोगा’ पेन्सिल सम्बन्धि थप जानकारीका लागि यो ब्लग मा जान सक्नुहुन्छ (अंग्रेजी ब्लगहरुको विविधता देखेर पनि लोभै लाग्छ!)। युट्यूबको यो भिडियो मा पनि राम्रो जानकारी दिइएको छ।

Sunday, November 8, 2009

विज्ञान, वैज्ञानिक र हाम्रो नियति

नेपाल ईन्जिनियर्स एशोसिएसन जापान च्याप्टरले टोकियो विश्वविद्यालयमा आयोजना गरेको आजको वर्कशपमा विशुद्ध अध्ययन अनुसन्धानका अतिरिक्त थुप्रै समसामयिक विषयमा सुसूचित हुने अवसर जुर्‍यो। यसै क्रममा डा. सूर्यराज आचार्यले उठाउनुभएको एउटा प्रसंगले आफूलाई पनि केही समयदेखि खट्किरहेको यस विषयमा केही लेख्दैछु।

डा. आचार्यले उठाउनुभएको त्यो प्रसंग थियो - विज्ञान र प्रविधिको क्षेत्रमा हाम्रो टिठलाग्दो अवस्था झल्काउने गरी केही दिन अघि एउटा राष्ट्रिय दैनिकमा छापिएको ब्यानर न्यूज। साधनस्रोतको कमी र भौतिक विकासमा पछि परेको कुरा त छँदैछ, त्योभन्दा पनि विज्ञान-प्रविधिमा हाम्रो सोचाइको स्तर कति पछाडि छ भन्ने दर्शाउने शायद त्यो एउटा प्रतिनिधि समाचार थियो। यस्ता खबरहरु नेपाली मिडियामा आइरहन्छन्। हाइस्कूल/प्लस टूमा पढ्दै गरेका वा अन्य कोही सिकारु व्यक्तिलाई रातारात 'वैज्ञानिक' बनाइदिन पछि पर्दैनन् नेपाली मिडियाहरु। तर 'नेपालमा नयाँ आर्किमिडिज' शिर्षकको पछिल्लो समाचार अझ बढी ताज्जुबको किन थियो भने आर्किमिडिजको सिद्धान्त गलत सावित गर्ने विद्यार्थी गणितमा स्नातकोत्तर गर्दै रहेछन् र उनको दावीसँग सहमत हुनेमा एकजना फिजिक्स टिचर पनि रहेछन्। आजको युगको अध्ययन अनुसन्धानको प्रकृति प्राचीन ग्रीसको वा सत्रौँ-अठारौँ शताब्दीतिरको यूरोपको जस्तो पक्कै छैन। कुनै पनि सिद्धान्त अकाट्य हुन्छ भन्ने होइन तर आर्किमिडिजको सिद्धान्तजस्तो आधारभूत सिद्धान्तलाई नेपालका प्रयोगशालामा गलत प्रमाणित गरिएछ भन्ने सुने भने हामीमाथि कति हाँस्लान् विज्ञानको अनुसन्धानको बारेमा सामान्य ज्ञान मात्रै राख्ने मान्छेहरु समेत।

हुनत सम्बन्धित मिडियाकर्मीहरुको आशय राम्रो होला; सीप र प्रतिभा भएका अनि केही उदाहरणीय काम गर्न खोजेकाहरुलाई प्रोत्साहन गर्नु पक्कै पनि राम्रो हो। तर समस्या के हो भने साधारण पत्रकार मात्र होइन, राष्ट्रिय पत्रिका चलाएर बस्ने बडेबडे सम्पादकहरुलाई पनि थाहा छैन आविस्कार केलाई भनिन्छ वा वैज्ञानिक कसलाई भनिन्छ। थाहा हुँदो हो त कहिले नयाँ आर्किमिडिज जन्मेको अनि कहिले प्लस टू पढ्ने कुनै विद्यार्थीले अल्वर्ट आइन्स्टाइनको सिद्धान्तलाई गलत सावित गरिदिएको भनेर हाहोमै चाहिनेभन्दा ज्यादा महत्व दिएर लेखिएका यस्ता समाचार पढ्नुपर्थेन होला।

मेरो कुरा कसै-कसैलाई पटक्कै चित्त नबुझ्ला तर हामी आशावादी वा सकारात्मक बन्ने नाममा दिग्भ्रमित बन्नु पनि त जाती हुँदैन होला। केही समय अघिसम्म म पनि यस्ता समाचारलाई सकारात्मक ढंगले लिनुपर्छ भन्ने सोच्थेँ तर म गलत रहेछु भन्ने त्यतिखेर थाहा भयो जतिखेर एकन्ताक 'हेलिकप्टर वैज्ञानिक' भनेर मिडियाद्वारा चर्चामा ल्याइएका नवीन विश्वकर्माको बारेमा धेरै अन्तरालपछि एउटा टेलिविजन कार्यक्रममार्फत जान्ने अवसर पाएँ। उनी रुकुमको दुर्गम गाउँका बालक थिए तर रहर र परिश्रमले हेलिकप्टरको दुरुस्त मोडेल बनाउन सफल भएका थिए। नवीनको सिर्जनशीलता र लगन मुक्तकण्ठले प्रशंसा गर्न लायकको थियो। तर काठ वा फलामबाट हेलिकप्टरको मोडेल (आर्किटेक्चर) बनाउनु र वास्तविक हेलिकप्टरको विज्ञान बुझ्नु अनि त्यसलाई व्यवहारमा उतार्नुमा आकाश-जमीनको अन्तर थियो। त्यसैले स्वभाविक रुपमा उनको सिर्जनशीलताले चर्चा त पायो तर सही दिशा पाएन। केही समाजको (अतिरन्जित) अपेक्षा र केही आफ्नो रहरका कारण उनीभित्र हेलिकप्टर बनाउने धुन त अझै छ होला तर निराशा र गुनासो बढी सुनिन्थ्यो उनको बोलीमा।

नवीनको जस्ता कथा बोकेका अरु पनि थुप्रै होलान्। आज मिडियाले किशोर र युवा 'वैज्ञानिक' बनाइदिएकोमा दंग पर्दा भोलिको सही बाटो पहिल्याउन चुकियो भने दु:ख भोग्ने तिनै किशोर र युवाहरु हुनेछन्। र, हामी हाम्रो कमजोरी थाहा पाउनेतर्फभन्दा पनि नियतिलाई धिक्कार्नेतर्फ लाग्ने छौँ। यसको मतलब हामी सधैं हीन सोच राखेर, विज्ञान बुझ्नु वा वैज्ञानिक बन्नु भनेको हाम्रो वशको कुरा होइन भनेर पुर्पुरोमा हात लगएर बस्ने पक्कै पनि भन्न खोजिएको होइन। कुरो के मात्रै हो भने हामी दुनियाँ कता गैरहेको छ भन्ने वास्तविकतासँग पनि परिचित हुनुपर्‍यो। अरुहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो क्षमतामा निखार ल्याउनेतिर सोच्नुपर्‍यो। आखिर नेपालीका छोराछोरीले विदेशीलाई समेत हाँक दिएका वास्तविक सफलताका कथा पनि त छन् नि हैन र? बाग्लुङको एउटा स्कूले किशोरले सोलार प्यानल जोडेर गाडी चलाएर देखाउँछ भने उसको सिर्जनशीलतालाई सकारात्मक बाटोतिर कसरी डोर्‍याउने भन्नेतिर मिडियाले प्रचार गरिदिने हो। उसलाई सोलार कार वैज्ञानिक वा उसको कार्यलाई प्राविधिक चमत्कार भनेर फूलबुट्टा भर्ने होइन।

तपाईंलाई कस्तो लाग्छ कुन्नी?