Wednesday, December 30, 2009

कविता: नयाँ वर्ष आएको छ

लामो बिदा लिएर
रंगीचंगी वातावरणमा
मसक्क मस्किँदै
तामझामसहित
नयाँ वर्ष आएको छ।

तर मूड छैन
कुनै उत्सवमा सामेल हुने
नयाँ वर्षको बाहनामा
नयाँ संकल्प रोज्ने
नयाँ तालिका बनाउने
अनि घरिघरि धमिला हुन खोज्ने
आफ्नै पुराना रहर र सपनाहरुलाई ढाँटेर
नयाँ सपनाहरुको खेती गर्ने।

फेरि पनि
सुख कहाँ पाइएला र ?
पूरा गर्नैपर्ने केही विधिहरुले
थिच्ने नै छन्, मिच्ने नै छन्
अनि झल्याँस्स केही सम्झेझैँ गरी
सलाम ठोक्नु नै पर्नेछ
निष्ठुरी बन्दै गरेको समयलाई
किनकि
नयाँ वर्ष आएको छ
यो पराइ भूमिमा झन् पराइ लाग्ने
नयाँ वर्ष आएको छ।


ग्रेगोरिअन पात्रोको नयाँ वर्ष २०१० सुखद रहोस्! यो पेजसम्म आइपुग्नुहुने सबैमा हार्दिक मंगलमय शुभकामना!!

8 comments:

  1. यो पराइ भूमिमा झन् पराइ लाग्ने
    नयाँ वर्ष आएको छ।

    बिदेशीनु बाध्यता हो । तपाईकै भनाईमा.....(भर्खर वसन्त दाईको व्लगमा तपाईको कमेन्ट हेरेको थिएँ)
    थोरै महत्वकांक्षा र धेरै वाध्यता हो ।म पनि सहमत ।

    मीठो लाग्यो कविता ।

    अन्त्यमा शुभकामना तपाईलाई पनि नववर्ष २०१० को ।

    ReplyDelete
  2. पूर्वको मधुरो घाम फेरिएकै छैन
    बदलियो नारा तर काम फेरिएकै छैन
    नयाँ केही भएकै छैन
    पुरानो केही गएकै छैन
    अनि कुन मनले व्यक्त गरूँ खुसी ?
    गर्नु परेकै छ अप्ठेरोको सामना
    यो बेलामा भन साथी,
    कुन शब्दले दिऊँ
    नयाँ वर्षको शुभकामना ?

    ReplyDelete
  3. सुन्दर विचार पोख्नुभयो!

    तपाईँ र यहाँ पाल्नुहुने समस्त पाठकहरुमा नव वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  4. मिठो कविता आएछ नयाँ वर्षको उपलक्षमा ।
    आगामी वर्ष सुखद र सफल रहोस !

    ReplyDelete
  5. फेरि पनि
    सुख कहाँ पाइएला र ?
    पूरा गर्नैपर्ने केही विधिहरुले
    थिच्ने नै छन्, मिच्ने नै छन्
    अनि झल्याँस्स केही सम्झेझैँ गरी
    सलाम ठोक्नु नै पर्नेछ
    निष्ठुरी बन्दै गरेको समयलाई
    किनकि
    नयाँ वर्ष आएको छ
    यो पराइ भूमिमा झन् पराइ लाग्ने
    नयाँ वर्ष आएको छ।


    ध्रव जी, कविता निकै राम्रो लाग्यो । कवितामा निराशा सँगै आशाका विम्बहरुलाई पनि स्पर्ष गरेँ । आशा छ यो वर्ष तपाईको लागि निकै फलदायी भएर आएको छ ।

    नववर्ष २०१० को अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको सफल्ताको वर्ष होस् ।

    ReplyDelete
  6. अमूल्य प्रतिकृया दिनुहुने सबैमा हार्दिक धन्यवाद। एकपल्ट फेरि नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना।

    ReplyDelete
  7. पन्थीजी नयाँ बर्षले पराइपनलाइ गाढा बनायो , तर तपाइंको पढाईलाई त नयाँ उचाइमा लग्दैछ नि, होइन र ? पीर नगर्नुस, यो नयाँ बर्षे उत्सब पनि खासमा त पराइको पो !Happy New Year 2010!

    ReplyDelete
  8. पराइको ठाउँमा पराइकै उत्सवसँग मनको र्‍याङको ठ्याङ नमिलेको जस्तो भएर मात्रै हो चैतन्य सर :) तपाईंलाई पनि नयाँ वर्षको धेरै-धेरै शुभकामना।

    ReplyDelete