Friday, December 18, 2009

दुई फरक प्रसंगमाथि

हाम्रो कथा हाम्रै व्यथा

एउटा दैनिक पत्रिकामा लेखको रुपमा आएका दुइटा खबरले एकैपटक धेरै कुरा सोँच्न बाध्य बनाए। दुवै खबर झट्टा सुन्दा हाँसोउठ्दो खालका पनि छन् तर तिनले हाम्रो समाजको जुन तस्वीर उजागर गरेका छन्, त्यो साह्रै लज्जित र व्यथित बनाउने खालको छ।

मंसिर २२ को ‘कान्तिपुर’ मा कृष्णमुरारी भण्डारीले अपान वायु छोड्नुपरेको एउटा सानो घटनाबाट आहत भएर कसरी एउटी नवविवाहित युवती प्राणोत्सर्ग गर्न पुगिन् भन्ने विषयमा लेखेका छन्। घटना विवरण यस्तो छ:

'विवाह गरेर घर भित्र्याइएकी नयाँ बुहारीले भान्छामा खाना पकाइन् । खाना खान बसे ससुरा, जेठाजु र स्वयम् लोग्ने महाशय । खाना पस्कँदा-पस्कँदै बुहारीलाई वायु छोड्नुपर्ने भयो । रोकिन् । सकिनन् । आखिर घरका मान्यजन ससुरा, जेठाजु र पति परमेश्वर खाना खाँदैछन्, वायु छाडौं, असम्भव छ । भान्छा छाडेर हिँडौं, शोभाजनक भएन । वायु नछाडौं सक्दै नसकिने भयो । केही नलागेपछि उनी आफैंले अक्किल निकालिन्- तरकारी पकाएको कराइमा डाडु बजाउने र त्यही बेला वायु उत्सर्जन गर्ने अर्थात् पाध्ने । उनले त्यसै गरिन् ।'

तर जेठाजुले बुहारीको चलाखी थाहा पाए । उनले खाना खाइरहँदा पनि त्यो कुरा मनमा राख्न सकेनन् र प्रश्नवाचक खसखस पोखिहाले- 'पादको आवाज त भाँडा बजाएर छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ बुहारी ?'

त्यसपछि मुन्टो निहुराएर बुहारी भान्छाबाट फुत्त बाहिर निस्किन् । ससुरा, जेठाजु र श्रीमानले खाना खाएर चुठिनसक्दै हल्ला भयो- ए, नयाँ बुहारीले त पासो लगाएर आत्महत्या गरिन् ।


हाम्रा आम दिदीबहिनी र आमाहरुको स्थिती योभन्दा भिन्न छैन शायद। ती आम दिदीबहिनी र आमाहरु परम्परा, संस्कार, मर्यादा इत्यादि निर्वाह गर्ने नाममा यसरी नै पिल्सिएका छन्, ज्यानै उत्सर्ग गर्ने हदसम्म। यो कुरा छुट्टै हो कि यस्ता खबर मिडियामा खासै आउँदैनन् अनि गाउँघरमै पनि केही टाठाबाठा मिलेर गुपचुप राख्ने प्रयत्न हुन्छ। यता केही शहरीया महिलावादीहरुलाई भने टप्परटुइयाँ नारा उरालेर डलर सोहोर्दैमा फूर्सत देखिँदैन। त्यसैले त वैवाहिक बलात्कारजस्ता आम नेपाली समाजका लागि पूर्णत अव्यवहारिक (केही मुठ्ठिभर शहरीया सम्भ्रान्तवर्गको कुरा बेग्लै होला) मुद्दामा चर्का बहस गर्नेहरु यस्ता मुद्दामा चाहिँ चुइँक्क बोलेको पनि सुनिँदैन।

यो खबर छापिएको लगभग एक हप्तापछि ‘कान्तिपुर’ मै प्रतिमा बाँस्कोटाले अर्को एउटा नमिठो प्रसंग उप्काएकी छन्। दुई छोरीकी आमा भैसकेकी एउटी महिलाले लोग्नेले छोराको चाहनामा दिएको मानसिक पिडाबाट त्राण पाउन छिमेकीको सल्लाहमा गर्भवती भएको नाटक मात्र गरिनन्, सुत्केरी व्यथा लाग्यो भनेर अस्पतालसम्मै पुगिन्। तर छिमेकीले आफ्नो आफन्तले जन्माउँदै गरेका जुम्ल्याहा छोरामध्येबाट एउटा छोरा मिलाइदिने भनेर दिएको अश्वासन धोकामा परिणत भएपछि घटना सार्वजनिक हुन पुग्यो। प्रकृतिले छोरा वा छोरी के जन्मिने भन्ने निर्धारण पुरुषको शुक्रकिटमा रहेको क्रोमोजोमबाट हुने बनाइदिएको छ तर समाजमा व्याप्त छोराप्रतिको आशक्तीले महिलालाई नै प्रताडित गर्छ र यस्ता घटनाहरु राजाधनीमै घट्न छाड्दैनन्। खै कहिले हट्ला यो छोरावादी अन्धता? लौ यो अन्धता हट्न त समय लाग्ला रे तर छोरा नपाएको झोँकमा श्रीमतीलाई मानसिक यातना दिने लोग्नेमान्छेको कुबुद्धि त चाँडै हटिदिए हुन्थ्यो नि!

खाँचो फेरि पनि सकारात्मक सोँचकै

पत्रकार रवीन्द्र मिश्र, व्यवसायी कर्ण शाक्य र युवा नेता गगन थापा, यी तीनैजना विश्वास र श्रद्धा गर्न सकिने हाम्रो समाजका थोरै चर्चित व्यक्तिमध्ये पर्छन्। विश्वास र श्रद्धा गर्न सकिने यस अर्थमा कि यिनीहरुले कुराका अतिरिक्त व्यक्तिगत प्रयासमै केही प्रभावकारी काम पनि गरेर देखाएका छन् अनि सकारात्मक चिन्तन र इमान्दारिताको खडेरी पर्दै गएको समाजमा केही भए पनि आशा जगाउन सफल भएका छन्। यी तिनैजना जोडिन पुगे रवीन्द्र मिश्रले केही अघि लेखेको एउटा लेखमार्फत्, अलि अनपेक्षित ढंगले।

‘(अ) बौद्धिक बेइमानी’ शिर्षकमा मिश्रले लेखेको लेखमा शाक्य र थापाको उदाहरण दिँदै नेपाली समाजमा देखिने बौद्धिक बेइमानीको विषय उठाइएको थियो। कर्ण शाक्यले आफ्नो चर्चित पुस्तक ‘सोँच’ मा आफूलाई सकारात्मक सोँचका लागि उर्जा दिने पुस्तक ‘द पावर अफ पोजिटिभ थिङ्किङ’ का बारेमा उल्लेखै नगरेर र गगन थापाले एउटा टेलिभिजन अन्तर्वाताका क्रममा ‘भाइबहिनी अभियान’ को नाम लिँदा त्यो अभियानको शुरुवातकर्ता हेल्प नेपाल नेटवर्कको नाम लिन कन्जुस्याईँ गरेर इमान्दारिता र उदारता गुमाएको ठहर मिश्रको थियो। थापाको प्रसंगमा स्वयम् मिश्र आवद्ध हेल्प नेपाल नेटवर्कको कुरा जोडिएकोले व्यक्तिगत पूर्वग्रह राखेर लेख लेखिएको भन्ने अर्थ लगाउन सकिने भए पनि लेखको मूल आशय त्यस्तो देखिँदैनथियो। अपजश लिनै नचाहने अनि जश चाहिँ बाँड्नै नचाहने हाम्रो समाजको ठूलै रोग हो। मिश्रको लेख त्यही रोगको चिरफरमा केन्द्रित थियो।

तर हामीकहाँ कहिलेकाहीँ जानेर वा नजानेर हुने गल्ती स्विकार्दा सानो भइन्छ भन्ने सोँच राखेर एउटा गल्ती ढाक्न बरु अरु थप गल्ती गर्ने रोग झन् भयंकर छ। कता-कता त्यही कुरा झल्किएजस्तो लाग्यो मिश्रको लेखमाथि शाक्य र थापाका प्रतिकृया पढ्दा। ‘भाइबहिनी अभियान’ नामको प्रयोगका सम्बन्धमा ओँठे जवाफ नै दिएका भए पनि थापाको प्रतिकृया धेरै हदसम्म सन्तुलित नै थियो तर शाक्यको प्रतिकृया पढ्दा भने एमाले नेता प्रदीप नेपालको कुनै आलापप्रलापपूर्ण लेखको झल्को आयो। ‘द पावर अफ पोजिटिभ थिङ्किङ’ को नाम उल्लेख नगरेको सम्बन्धमा त उनले हदैसम्मको (कु) तर्क गर्न भ्याएका छन्:

जहँसम्म 'पावर अफ पोजिटिभ थिन्किङ'को कुरा छ, मैले थुप्रै त्यस्ता व्यक्तित्व विकासका किताब देखेको छु । तर इमानदारीका साथ भन्नुपर्दा मैले ती किताबहरू पढेको छैन । मलाई किताब पढ्न असाध्यै अल्छी लाग्छ र किताब पढ्ने धैर्य पनि ममा छैन । सायद त्यसैले होला, म सधैं स्कुल र कलेजको परीक्षामा तृतीय श्रेणीमा मात्र उत्तीर्ण हुन्थेँ ।

सकारात्मक सोँचको त्यत्रो पैरवी गर्ने मान्छेले पनि आफ्नो आलोचना यतिविघ्न सहन सक्दैन भन्ने कुरा शाक्यको प्रतिकृया पढेर देखियो। तर खाँचो फेरि पनि सकारात्मक सोँचकै छ। कर्ण शाक्यका योगदानहरुका अगाडि उनले देखाएको भावावेशपूर्ण कमजोरीलाई त्यही रुपमा बुझ्दै मिश्र, शाक्य र थापा तीनैजनाद्वारा र तीनैजनाका बारेमा सधैं राम्रो सुन्न-पढ्न पाइयोस् भन्ने हार्दिक कामना।

6 comments:

  1. धुर्व जी, तपाईले उठान गर्नुभएको विषय मलाई एकदमै सही लाग्यो । महिला आन्दोलनको नारा घन्काएर हिँड्ने महिलाहरु वास्तविक पीडित महिलाहरुसँग नजिकिएका छैनन् । सबै पद र प्रसिद्धीको लोभ हो । चर्चामा आउने तानाबाना हो जस्तो लाग्छ मलाई ।

    ReplyDelete
  2. दुवै प्रसंगहरू माथि गरिएको विष्लेशण सटिक लाग्यो मलाई । नारी ससक्तिकरणको नारा फगत नारामा मात्र सिमित भएको छ । सुन्दा सामान्य लाग्ने तर पत्रपत्रिकामा खासै स्थान नपाउँने यस्ता समाचारहरूले लैङ्गिक समानताका चर्चा परिचर्चा माथि धावा बोल्ने गर्छन् ।

    दोस्रो प्रसंग झनै अचम्म लाग्यो पढ्दा । धेर-थोर सकारात्मक सोच राख्ने अभ्यासको थालनी कर्ण शाक्यकै सोच पुस्तक पढेपछि गरेको हुँ मैले पनि । तर लेखक स्वयंले आफ्नै आलोचनामा त्यतिका शव्द खर्चेको देख्दा म स्तव्ध भएको छु ।

    यस्ता प्रवृतिहरू प्रति ध्रुवजीको टाँसोले मलाई नि सोच्न वाध्य वनाएको छ । ओजपुर्ण लेखको लागि धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  3. ध्रुब जी तपैले उल्लेख गरेको तिन वटै लेख मैले पनि हेरेको हो

    तर तपैले अरुणा उप्रेतीको लेख पनि पढ्नुभो होला नि के नारि को समस्या पुरुस को पनि समस्या हैन ? के नारी हाम्री आमा दिदि बैनी साथि हैनन ? के हामिले आफ्ना दिदि बैनी लाइ स्वतन्त्रता दिएका छौ त ?

    ReplyDelete
  4. अमूल्य प्रतिकृयाका लागि राजेशजी, अशेषजी र हावा ब्रो सबैमा धेरै-धेरै धन्यवाद।

    के गर्नु मेरो ब्लगमा 'आलोचकलाई भत्ता' र 'समर्थकलाई लत्ता' को व्यवस्था गर्न सकेको छैन, नत्र यसपली हावा ब्रोले भत्ता पाउनुहुने रै'छ ;) हावा ब्रो, तपाईंले भन्नुभएपछि अरुणा उप्रेतीको लेख खोजी खोजी पढेँ। उनी त मलाई आम महिलाका समस्यामै केन्द्रित भएर नारामुखी नभै सन्तुलित लेखहरु नै लेख्छिन् जस्तो लाग्छ। उनले सुकिला महिलाका पक्षमा व्यक्त गरेका विचारमा पनि खासै असहमति जनाउनुपर्ने ठाउँ देखिनँ मैले। समस्या त खाली केही टप्परटुइयाँ टाइपका 'महिलावादी' सँग न हो। यी 'महिलावादी' हरुले आफ्नो दुनो सोझ्याउन उठाउने बेतुकका मुद्दाले आम नेपाली महिलाका समस्या ओझेलमा परिरहेका र पर्ने खतरातर्फ मात्र मैले औँल्याउन खोजेको हुँ। जहाँसम्म महिलाको समस्या पुरुषको पनि समस्या हैन र भन्ने तपाईंको प्रश्न छ, त्यसको उत्तर त मेरो टाँसोको शिर्षक हेरेरै थाहा पाउन सक्नुहुन्छ। यो हामी सबैको समस्या भएको कुरामा शंकै छैन।

    ReplyDelete
  5. ल ठिक छ त तेसोभए ;)

    ReplyDelete
  6. धेरै पछि पढ्ने मेसो मिल्यो। अत्यन्त गम्भिर विषयहरुमा लेख्नुभएको रहेछ। नेपाली महिलाहरुको स्थिति, के शिक्षित-के अशिक्षित- अझै पनि दयनीयनै छ। उनीहरुमा जागरुकताको आवश्यक छ यो सही हो तर संगसंगै हामी पुरुषहरुले पनि आफ्नो सोचाई बदल्नु र आफूलाई परिपक्व बनाउनु अति जरुरी छ। महिलालाई गर्ने ब्यबहारको हकमा हामी पुरुषहरु अझै पनि हिंस्रक र परपीडक भन्दा माथिल्लो स्तरका छैनौं।
    यस्तो सामयिक विषयलाई टाँसोको विषय बनाउनुभएकोमा धन्यबाद@

    ReplyDelete