२०६४ सालको असोज महिनातिरको कुरा हो। पहिलोपल्ट जागिर भन्ने चिजको अनुभव लिने क्रममा हेटौंडामा थिएँ। बिदाको दिन भएकोले कोठामा टीभी खोलेर रिमोट तल-माथि गराउँदै बसिरहेको बेला साथी सुरेन्द्रको फोन आयो। काठमाण्डौबाट आफ्नो घर जनकपुरतर्फ जाने क्रममा बस बिग्रिएर ऊ हेटौंडामा रोकिएको रहेछ। त्यसैले ऊसँग भेट हुन बस बनाउँदै गरेको ग्यारेजमा पुगेँ। गफगाफ चल्दै गर्दा सुरेन्द्रले जनकपुर जाउँ भन्न थाल्यो। जनकपुर जाने रहर त मलाई पनि पहिलेदेखि नै थियो। तर पछि कुनै बेला समय मिलाएर मजाले घुम्ने गरी जाउँला नि भनेको उसले मान्दै मानेन। लौ त जाने भने जाने भनेर मैले पनि हिँड्ने ‘मूड’ बनाइहालेँ। एकैछिनमा बस बन्यो र हामी लाग्यौँ जनकपुरतर्फ।
बाटो त लागियो तर जनकपुर बन्दको दिन पो परेछ। नेपालमा, खासगरी पूर्वी मधेसमा, बन्द-हड्ताल सामान्य नै बनेको समय पर्यो त्यो। साँझ पर्नै आँटेको बेला ढल्केवर पुगेपछि जनकपुरतिर छिर्न पाइने हो कि हैन भन्ने द्विविधा भयो एकैछिन तर भाग्यवश जनकपुरसम्म सजिलै पुगियो। समस्या चाँहि जनकपुरबाट सुरेन्द्रको गाउँ हर्दियासम्म पुग्न देखियो। हर्दिया जनकपुर-जलेश्वर मूलसडकमै पर्ने भए पनि बन्दले गर्दा गाडी पाइने सम्भावना थिएन। फेरि रातको समय र भय-त्रासको वातावरणको के कुरा गर्नु? आखिरमा डर मान्दै नै भए पनि जनकपुरमै बस्नुहुने सुरेन्द्रको भान्जदाइले मोटरसाइकलमा दुवैजनालाई राखेर पुर्याइदिनुभयो हर्दियासम्म।
खै यो बन्द-हड्तालको हल्लाले त कतै पनि घुमघाम गर्न नपाइने भो कि क्या हो भन्ने आशंकासँगै त्यो रात बिताइयो। धन्न भोलिपल्ट बन्दको हल्ला सुनिएन र अलिकता राहत महशुस गर्दै बिहानको चिया पिएर सुरेन्द्र र म जलेश्वरतर्फ लाग्यौँ। घरबाट निस्किनै लाग्दा सुरेन्द्रकी हजुरआमा सोध्दै हुनुहुन्थ्यो – “बस चलैछै?” मैले मैथिलीमै “अँ, बस चलेको छ” भनेर उत्तर दिने प्रयास गर्दा सुरेन्द्रलाई पछिसम्म हाँसोको विषय बन्यो।
जलेश्वर पुग्दा मधेसका औसत शहरहरुकै झल्को आउँथ्यो। पछिल्लो समयमा चर्केको मधेस आन्दोलनका चिन्हहरु देखिन्थे यत्रतत्र। त्यहाँको प्रसिद्ध जलेश्वर महादेवको दर्शन गरेर सुरेन्द्रको मामाघरमा खाना खाइसकेपछि सीमावर्ती बजार मटिहानी घुम्न जाने कुरा भयो। तर जलेश्वरबाट मटिहानीसम्म पुग्ने बाटोको अवस्था साह्रै नाजुक रहेछ। भर्खरैको वर्षाले गर्दा ठाउँठाउँमा बाटो छेँडेर ‘नदी’ वारपार भैरहेका रहेछन्। त्यसैले मोटरसाइकलमाभन्दा साइकलमा जान उचित हुने देखियो र एउटा साइकल लिएर लाग्यौँ मटिहानीतिर। दुईजनालाई एउटा साइकल, सास्ती र रमाइलो दुवै भयो। सुरेन्द्रको ज्यान हेरेर चलाउनको धौले पछाडि बस्छु भनेको, बस्न झन् आपत्। बरु सुरेन्द्रलाई बसालेर आफै साइकल चलाएँ पछि त।
मटिहानी, नेपालकै पुरानोमध्येको संस्कृत पाठशाला भएको ठाउँ। तर त्यहाँको वर्तमान अवस्था हेर्दा वैराग मात्र लाग्ने रहेछ। ऐतिहासिक मटिहानी मठ पनि जीर्ण र परित्यक्तजस्तै लाग्थ्यो। मटिहानीसँग टपक्क टाँसिएरै बसेको रहेछ भारतीय बजार मधवापुर। दशगजा भनिने अन्तरराष्ट्रिय सिमाना खुम्चिएर हराएजस्तै देखिन्थ्यो त्यहाँ। भारतीय बजारतर्फ लाग्दै गर्दा सरकार-प्रशासनविहिन लाग्ने नेपालतर्फको सीमा देखेर फेरि एकचोटि नरमाइलो अनुभव भयो।
मटिहानी वरपर घुमिसकेपछि जलेश्वरतर्फ फर्किँदै थियौँ। अलिक वर सुगा भन्ने गाउँमा केही केटाकेटीहरु बाटोमा खेल्दै थिए। उनीहरु खेलिरहेको ठाउँबाट अगाडि बढ्न नपाउँदै एउटा बच्चाको तिखो स्वर कानमा ठोक्कियो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?" मैले आवाज आएतिर हेरेँ तर त्यसो भन्ने बच्चालाई ठ्याक्कै ठम्याउन सकिनँ। शायद आफूहरुसँग खेल्न बोलाएको अर्को साथी नआइदिँदा उसले त्यो ‘डाइलग’ बोलेको थियो क्यारे। मैथिलीभाषी गाउँमा उसले बोलेको त्यो शुद्ध हिन्दी ‘डाइलग’ बलिउडको कुनै सिनेमाबाट प्रभावित थियो वा गाउँकै कुनै बुज्रुकको मुखबाट सुनेर उसले नक्कल गरेको थियो, त्यो त थाहा भएन तर उसको भनाइले हामी दुवैलाई अचम्मित र केही हदसम्म स्तब्ध पनि बनाइदियो। अनि मैले सम्झिन थालेँ हात्ती र कमिलाका प्रसंगहरु। हात्ती ठूलो हुनु र कमिला सानो हुनुमा नाथे पढाइको कुनै साइनो नभएको कुरासँग त हामी भलिभाँती परिचित नै थियौँ। तर भर्खर अक्षर चिन्दै गरेको उमेरको बालकको त्यो अभिव्यक्तिले खण्डित हुँदै गैरहेका हाम्रा सामाजिक मूल्य र मान्यतालाई थप उदांगो पारेजस्तो लाग्यो। हाम्रा कहिल्यै नटुंगिने आन्दोलन र विद्रोहका कथाले यस्तै मानकहरु पो स्थापित गर्दैछन् कि? 'कम्निस्ट' राजनीतिमा लागेकी एकजना क्याम्पसे दिदीको धेरै पहिलेको एउटा ‘दर्शन’ पनि सम्झना भयो। “तिम्रो ब्याकपेपर क्लियर भयो त नानी?” भनेर कसैले सोधिदिँदा लज्जित हुनुपरेपछि उनले "हामी त राजनीति गर्ने मान्छे, समाज नै हाम्रो विश्वविद्यालय हो, यो बुर्जुवा शिक्षाको के कुरा गर्नुहुन्छ?" भन्दै घोकेर कण्ठ पारिएको जस्तो लाग्ने ‘दर्शन’ सुनाएकी थिइन्। धन्य हो हाम्रो तर्कशीलता ! यस्ता तर्क सुने भने त वास्तविक अर्थमा समाजलाई विश्वविद्यालय बनाएका म्याक्सिम गोर्कीहरु नै तीनछक पर्न बेर छैन।
यस्तै कुरा कहिले मनमा खेलाउँदै र कहिले आपसमा गफिँदै जलेश्वर फर्कियौँ र त्यहाँ केहीबेर भुलेर जनकपुरतिर बाटो ततायौँ। जनकपुर पुग्दा साँझ परिसकेको थियो। भजनकिर्तनमय जानकी मन्दिर पुग्दा बेग्लै खालको आनन्द अनुभव भयो। त्यहाँको रमाइलो माहौलले गर्दा दिउँसो नै जनकपुर घुम्न नपाएकोमा पछुतो मान्नुपरेन। अनि झमक्क साँझ परिसकेको भए पनि फेरि आउने कहिले हो कहिले भन्दै त्यहाँ वरपरका मठमन्दिर, तालतलैया लगायत बाह्रबिघा मैदानतिर पनि घुमियो। जनकपुर पुगेपछि जेनतेन अस्तित्व धानिरहेको नेपालकै एकमात्र रेल पनि हेर्न छुटाउनु भएन। त्यसैले रेलवे स्टेसन पनि पुगियो। घुमघाम सकाएपछि त्यस दिन त्यहीँ सुरेन्द्रको सानीमाको घरमा बस्यौँ। भोलि त मलाई बिहानै फर्कनुपर्ने थियो दिउँसोसम्म भए पनि अफिस पुग्ने गरी।
भोलिपल्ट बिहानै मोटरसाइकलमा ढल्केवर पुगेर पश्चिम जाने गाडी कुरेर बसेको त एउटै गाडी आउँदैन। फेरि अर्को बन्दको पो हल्ला रहेछ। लौ आज फसिने भइयो कि क्या हो भनेको धन्न केहीबेरमा एउटा बस आइपुग्यो। सुरेन्द्रसँग बिदा भै म हतार-हतार बस चढेँ र लागेँ आफ्नै कर्मस्थलतर्फ।
यसरी बिना कुनै योजना र बन्दैबन्दको आतंकका बीच पनि रमाइलो र अविस्मरणीय रहने गरी सकियो मेरो छोटो जनकपुर यात्रा। सबैभन्दा अविस्मरणीय भने त्यही ‘डाइलग’ रह्यो - "पढ्ने दो सालेको, पढ्नेसे क्या होगा?"
[पहिलोपल्ट प्रकाशित टाँसोमा भूलचुकमा परेका केही अंशहरु सामान्य परिमार्जन गरेको छु।]