[ब्लगलाई चटक्कै माया मारेजस्तो भएको छ अचेल। न त आफूले केही लेख्न पाइएको छ, न त छिमेकी ब्लगहरुतिरै मजाले 'खुट्टा तन्काउन' निस्कन पाइएको छ। त्यसो त मेरो दैनिकी पनि अझै नियमित स्वरुपमा आउन सकेको छैन, पछिल्ला केही महिनादेखि। खासमा यसबीचमा मास्टर्स तहको थेसिस तयार पार्ने कामले स्वभाविकरुपमा बढी व्यस्त बनायो। गएको अगस्ट ३१ मा थेसिस डिफेन्स सकिएपछि अलिक फुर्सदिलो भइएला कि भनेको फेरि अहिले चलिरहेको इन्टर्नसिपले उत्तिकै बेफुर्सदी बनाइदिएको छ। टोकियोदेखि योकोहामासम्म आउजाउ गर्दा दिनको झन्डै चार घण्टा ट्रेनमा र अर्को नौ-दश घण्टा कार्यस्थलमा बित्ने भएपछि बाँकी समय नित्यक्रिया र निद्रादेवीलाई चढाउनु कि अर्थोक केही गर्नु! खैर, जापानजस्तो व्यस्त देशको टोकियोजस्तो तीव्र गतिमा हुइँकिने शहरमा अरुचाहिँ फुर्सदमै छन्, ममात्रै अचाक्ली व्यस्त छु भनेजस्तो गरी यसबारेमा थप चर्चा भने नगरुम् होला अहिलेलाई! :) तर पनि मे ७ मा ताकाओसानको बारेमा लेखेको टाँसोपछि एकैचोटि आज मात्र - त्यो पनि हाइकिङकै बारेमा - नयाँ टाँसो टाँस्ने संयोग जुराउन सकेकोमा अलिकति भूमिका त बाँध्नैपर्यो। :)]
जापानको सबैभन्दा अग्लो तथा कुनै कुशल कालिगढले धर्ती खोपेर तयार पारेजस्तो लाग्ने चिटिक्क आकार मिलेको फुजीसान (फुजी पहाड) (३,७७६ मिटर) जापानीहरुमाझ त अत्यधिक लोकप्रिय छ नै, विदेशीहरु पनि यसको सौन्दर्यको बखान गरेर थाक्दैनन्। हुनत शुरु-शुरुमा जापानीहरु फुजीसान-फुजीसान भनेर अति नै 'नाटक' गर्छन् जस्तो पनि लाग्थ्यो, तर केही समयअघि हाकोने घुम्न गएको बेला त्यहाँबाट देखिएको फुजीसानको अद्वितीय दृश्यले भने म आफैँ पनि असाध्यै रोमाञ्चित र मन्त्रमुग्ध भएको थिएँ। यही फुजीसान चढ्न जाने तारतम्मे मिल्यो गएको सेप्टेम्बर १० र ११ को सप्ताहान्तमा।
फुजीसान चढ्ने हाम्रो टोली ठूलै थियो - जापानी र विदेशीहरु गरी झन्डै ५० जना जति। त्यसमा ८ जना त हामी नेपाली नै थियौँ, त्यसैले हाम्रो आफ्नै हालीमुहाली थियो। :) १० तारिख बेलुका टोकियोबाट प्रस्थान गरेको हाम्रो टोली करिब तीन घण्टाको बसयात्रापश्चात् राति नौ बजेतिर फुजीसानको बेस स्टेसन (खावागुचीको रुटमा पर्ने स्टेसन नं. ५) (२,३०५ मिटर) मा पुगेपछि फुजीसानको आरोहण शुरु भयो। रातभरि उकालो उक्लेर भोलिपल्ट बिहान फुजीसानको टाकुराबाट ५:१८ को सूर्योदय हेर्ने योजनामा थियौँ हामीहरु।
आकाश छ्याङ्ग खुलेको जुनेली रात र अगाडि-पछाडि मान्छेहरुको लर्को हुनाले रातिपख हिँडेकोजस्तो खासै अनुभव नभए पनि कति उकालो चढियो र अझै कति बाँकी छ भन्ने मेसो भने केही नपाइने रहेछ। फुजीसानको टाकुरासम्म पुग्न पाँचौँ स्टेसनबाट दशौँ स्टेसनसम्म पुग्नुपर्नेमा शुरुको छैठौँ स्टेसन आउनै झन्डै दुईघण्टा लाग्दा त फुजीसानको उकालोले सातो नै लेलाजस्तो भयो। तर छैठौँ स्टेसनपछि सातौँ स्टेसन भने थाहै नपाइने गरी केहीबेरमै आइपुग्यो। अनि त केही माथि बलिरहेको बत्ति र त्यहीँनेर पुगेर टुङ्गिएकोजस्तो देखिने फुजीसानलाई औँल्याउँदै अब यस्सो दौडियो भने एकछिनमै टाकुरामा पुगिने रहेछ भन्ने 'अड्कलाइजेसन' गर्न पनि पछि परिएन। त्यही बेला एकजना साथीले भन्ने गरेको 'नाथे फुजीसान' को पनि सम्झना भयो। तर फुजीसानको टाकुरा त्यति नजिक त कहाँ थियो र! आठौँ स्टेसन कटेपछि भने बल्ल बाँकी उकालोको अलिअलि रुपरेखा थाहा भयो। यसबीचमा सुरक्षाका लागि बाटोको छेउमा राखिएको डोरीको साहरा लिँदै चट्टानमा सुरेली खेलेजस्तै गरी चढ्नुपर्ने उकालोले फेरि एकचोटि तर्स्याउन भ्याइसकेको थियो। धन्न, आठौँ स्टेसनपछिको उकालो लामो भए पनि चढ्न भने उस्तो अप्ठ्यारो रहेनछ।
अन्तत: बिहानको झिसमिसेसँगै हामी फुजीसानको टाकुरासम्म उक्लन सफल भयौँ। बढ्दै गरेको उज्यालोमा बल्ल हामीहरु अनुभव गर्दै थियौँ, ज्वालामुखी चट्टानबाट बनेको पहाड कस्तो हुँदो रहेछ। फुजीसान टाढाबाट हेर्दाजस्तो वा तस्वीरहरुमा देखिनेजस्तो कहाँ रहेछ र! नजिक पुग्दा त यो डढेको रातो माटो, ढुङ्गा, बालुवा र खरानीकोको थुप्रो पो रहेछ! तर फुजीसानको विशेषता भन्नु नै यसको सममितीय (symmetrical) कोणाकार (अझ frustum को आकार भन्नु बेस हुन्छ होला) हो जसले गर्दा जताबाट जसरी हेर्दा पनि यो उत्तिकै राम्रो देखिन्छ। त्यसमाथि हिउँदयाममा हिउँको टोपीले छोपिँदा देखिने यसको अद्भूत सौन्दर्य त छँदैछ। जेहोस्, फुजीसानको टाकुरामा पुगेको केहीबेरमै हाम्रो बहुप्रतिक्षित घडी आइसकेको थियो अर्थात् पूर्वको क्षितिजमा लालीमा भर्दै सूर्यनारायण बिस्तारै आकाशतर्फ उक्लँदै थिए। त्यो क्षण थप आनन्ददायी र रोमाञ्चक यसकारण पनि थियो कि हामी 'सूर्योदयको देश' को सबैभन्दा अग्लो भागमा बसेर सूर्योदयको दृश्यास्वादन गरिरहेका थियौँ। हामी विशेष कृतज्ञ भने त्यो बिहानीको मौसमप्रति भयौँ जसले हामीलाई पूर्णरुपमा साथ दिएको थियो। तलपट्टि होचो भागमा कपासजस्तै गरी फैलिएको बादल र माथिपट्टि खुला आकाशमा उदाउँदै गरेको सूर्य, त्यो दृश्य साँच्चिकै अनुपम थियो।
अन्तत: बिहानको झिसमिसेसँगै हामी फुजीसानको टाकुरासम्म उक्लन सफल भयौँ। बढ्दै गरेको उज्यालोमा बल्ल हामीहरु अनुभव गर्दै थियौँ, ज्वालामुखी चट्टानबाट बनेको पहाड कस्तो हुँदो रहेछ। फुजीसान टाढाबाट हेर्दाजस्तो वा तस्वीरहरुमा देखिनेजस्तो कहाँ रहेछ र! नजिक पुग्दा त यो डढेको रातो माटो, ढुङ्गा, बालुवा र खरानीकोको थुप्रो पो रहेछ! तर फुजीसानको विशेषता भन्नु नै यसको सममितीय (symmetrical) कोणाकार (अझ frustum को आकार भन्नु बेस हुन्छ होला) हो जसले गर्दा जताबाट जसरी हेर्दा पनि यो उत्तिकै राम्रो देखिन्छ। त्यसमाथि हिउँदयाममा हिउँको टोपीले छोपिँदा देखिने यसको अद्भूत सौन्दर्य त छँदैछ। जेहोस्, फुजीसानको टाकुरामा पुगेको केहीबेरमै हाम्रो बहुप्रतिक्षित घडी आइसकेको थियो अर्थात् पूर्वको क्षितिजमा लालीमा भर्दै सूर्यनारायण बिस्तारै आकाशतर्फ उक्लँदै थिए। त्यो क्षण थप आनन्ददायी र रोमाञ्चक यसकारण पनि थियो कि हामी 'सूर्योदयको देश' को सबैभन्दा अग्लो भागमा बसेर सूर्योदयको दृश्यास्वादन गरिरहेका थियौँ। हामी विशेष कृतज्ञ भने त्यो बिहानीको मौसमप्रति भयौँ जसले हामीलाई पूर्णरुपमा साथ दिएको थियो। तलपट्टि होचो भागमा कपासजस्तै गरी फैलिएको बादल र माथिपट्टि खुला आकाशमा उदाउँदै गरेको सूर्य, त्यो दृश्य साँच्चिकै अनुपम थियो।
सूर्योदयको दृश्य |
सूर्योदयको दृश्यलाई क्यामेरा र मन दुवैमा कैद गरिसकेपछि पालो आयो - फुजीसानको शिखरमा नेपाली झण्डा फहराएर 'फोटो सेसन' गर्ने। जापानीहरु यताबाट गएर हाम्रा सगरमाथा लगायतका हिमशिखरहरुमा आफ्नो झण्डा फहराउँछन् भने हामी पनि उनीहरुको सर्वोच्च शिखरमा पुगेका बेला राष्ट्रिय झण्डा फहराउन किन पछि पर्नु! (गफै त हो:)) हाम्रो 'फोटो सेसन' देखेर वरिपरिका जापानीहरु भने अनौठो मान्दै थिए।
नेपाली झण्डासहितको सामूहिक 'फोटो सेसन' :) |
फुजीसानको आकारजस्तै यसको टाकुराको आकार र विशालता पनि मन लोभ्याउने खालको थियो। फुजीसानको टाकुराको चौडाइ र यसको बीचमा रहेको ज्वालामुखीको मुख (volcanic crater) को बारेमा केही त सुनिएको थियो, तर त्यो त्यति भव्य होला भन्ने चाहिँ मेरा लागि कल्पनाबाहिरकै कुरा थियो। बीचभागमा रहेको गहिरो 'क्रेटर' र वरिपरि केही माथि उठेका आठवटा थुम्काहरुका कारण फुजीसानको टाकुरालाई हेर्दा ठ्याक्कै एउटा ठूलो मैरी (तुलसीको मठ) जस्तो भान हुने रहेछ। फुजिसानको टाकुराको वरिपरि एक चक्कर लगाउन झन्डै डेढ घण्टाजति लाग्दो रहेछ, तर समयको सिमितताले गर्दा शुरुमा यसो कस्सिए पनि पछि दौडादौड गर्ने आँट गर्न सकिएन। ११ बजे तल पाँचौँ स्टेसनबाट छुट्ने भनेको हाम्रो बस छुट्ला र व्यर्थमा अर्को सास्ती पाइएला भन्ने डरले ओरालो लाग्नु नै बेस ठानेर फुजीसानको शिखरलाई 'सायोनारा' गरियो।
फुजीसानको 'क्रेटर' र वरिपरिका थुम्काहरु |
टाकुरामा देखिएको मान्छेको भीडभाड |
ज्वालामुखी चट्टानले बनेको फुजीसानको सतह |
टाकुराबाट हेर्दा तलपट्टि देखिएको मनोरम दृश्य |
ओरालो झर्दा चाल पाइयो, फुजीसानको उकालोभन्दा त ओरालो पो मापाको रहेछ। सुस्त रफ्तारमा रातिको समयमा हिँडेको भएर पनि होला, उकालोले त्यतिसारो हायलकायल बनाएको थिएन जति ओरालोले बनायो। मसिना ढुङ्गा र धुलोले भरिएको ओरालो बाटोमा खुट्टा राम्रोसँग अडिने कुरै भएन, लिरिक्क-लिरिक्क लिर्किँदै हिँड्नुपर्ने। त्यसमाथि रातिको अनिँदोले गर्दा पनि होला, एकैछिनको हिँडाइमा थाकेर चुर भइयो। तर यसो तल हेर्यो, ओरालोले सकिने नाम भने लिने होइन। सबैभन्दा ठूलो आपत चाहिँ शौचालयले पार्यो। उकालो चढ्ने रुटमा ठाउँठाउँमा शौचालय हुनाले केही अप्ठ्यारो परेको थिएन तर ओरालो झर्ने रुटमा भने शौचालयको नाकमुखै नदेखिने। बल्लतल्ल भेटियो भनेको निकै तलको एउटा शौचालय पनि स्थानीय सरकारले फुजीसान चढ्न तोकेको अवधि अघिल्लो हप्तै सकिएकाले बन्द अवस्थामा रहेछ। रुनु न हाँस्नु भइयो निकैबेर। यही शौचालय खोज्ने धुन र ओरालो झर्नका लागि हामीलाई भनिएको योसिदा रुटबारेको अलमल समेतले गर्दा हामी आठजना नेपाली साथीहरु पनि तीन-चारतिर हुन पुग्यौँ। सँगै रहनुभएका डमरू सर र म ओरालोमा अघि बढ्दै गर्दा अरु नेपाली साथीको त के कुरा, हाम्रो टोलीका अरु कोही विदेशी समेत देखिन छाडेपछि एकैछिन त बाटो बिराइएछ कि भन्ने डर पनि भयो। तर कुँदाकुँद गर्दै केहीबेरमा ओरालो सकेर तेर्छो लाग्ने बाटोसम्म पुगेपछि भने अलिकति सास आयो।
तेर्छो लागेपछि पनि फर्कने रुट निकै घुमाउरो रहेछ। एउटा घुम्ती सकिएपछि अब त हाम्रो स्टेसन आइपुग्यो होला भन्यो, फेरि अर्को घुम्ती आइपुग्ने। जेहोस्, जसोतसो सवा दश बजेतिर पाँचौँ स्टेसनमा पुगियो। यतिञ्जेलसम्ममा एकातिर थकाइले जीउ थिलोथिलो भैसकेको थियो भने अर्कोतिर बाटोको धुलो, खरानी र पसिनाले एक-अर्काको अनुहार पनि हेर्नलायक बनाइदिएको थियो। पाँचौँ स्टेसनबाट ओन्सेनका लागि बस छुट्ने समय अर्थात् ११ बजेसम्ममा हामी ६ जना नेपाली साथीहरु मात्र त्यहाँ जम्मा हुन सक्यौँ। ६२ वर्षमा टेकिसक्नुभएका एकजना जापानी गुरुबालाई ओरालो झर्न केही गाह्रो परेका कारण उहाँसँगै रहनुभएका जीत सर र प्रमिला दिदीलाई फर्कन ढिलो हुने भयो र उहाँहरुले अर्को पब्लिक बस समात्नुपर्ने भयो। यसरी उहाँहरुलाई पर्खन नपाई स्नानादिका लागि ओन्सेनतर्फ लाग्नुपर्दा हामी सबैलाई केही नरमाइलो हुनु स्वभाविक थियो।
ओन्सेनको तातो पानी र 'साउना' मा एक-डेढ घण्टाजति बिताउँदा अलिकति भए पनि थकाइ हराएजस्तो अनुभव भयो र जीउ पनि केही चङ्गा बन्यो। अनि दिउँसोको दुई बजेतिर फुजीसानको फेदीसँग समेत बिदा हुँदै हामी पुन: टोकियोकै दिशातर्फ मोडियौँ। यसरी पवर्तारोहण भने पनि, सामान्य पदयात्रा भने पनि फुजीसानसम्मको हाम्रो अविस्मरणीय यात्रा सम्पन्न भयो।
ओरालो झरेर पाँचौँ स्टेसनमा पुग्ने क्रममा बाटोमा देखिएको घोडागाडी। तेर्छोमध्येको अन्तिम एक किलोमिटरजति बाटो यो गाडी चढेर पनि पार गर्न सकिने रहेछ। |
ओन्सेनको तातो पानी र 'साउना' मा एक-डेढ घण्टाजति बिताउँदा अलिकति भए पनि थकाइ हराएजस्तो अनुभव भयो र जीउ पनि केही चङ्गा बन्यो। अनि दिउँसोको दुई बजेतिर फुजीसानको फेदीसँग समेत बिदा हुँदै हामी पुन: टोकियोकै दिशातर्फ मोडियौँ। यसरी पवर्तारोहण भने पनि, सामान्य पदयात्रा भने पनि फुजीसानसम्मको हाम्रो अविस्मरणीय यात्रा सम्पन्न भयो।
यात्रा संस्मरण राम्रो लाग्यो । सूर्योदय भएको समय ५:१८ जस्तो लाग्छ । खैर एउटै कुरा हो । यात्रा धेरै रमाइलो भएको थियो, जसको प्रस्तुतिकरण पनि रमाइलो पाराले गर्नुभएको रहेछ ।
ReplyDeleteडमरू पौडेल
डमरू सर, प्रतिक्रियाका लागि हार्दिक धन्यवाद! सूर्योदयको समयको बारेमा भएको त्रुटी सच्याएको छु:)
ReplyDeleteआफु नचढेको भए पनि बडो नजिकै बाट बुझ्न पाईयो है फुजिसानलाई !तस्बिरहरु पनि असाध्यै राम्रा !
ReplyDeleteयहाँलाई बिजया दशमीको हार्दिक शुभकामना !
यात्रा संस्मरण र तस्वीरहरु मन पराइदिनुभएकोमा धन्यवाद, चैतन्य सर। तपाईंलाई पनि ढिलै भए पनि विजयादशमीको हार्दिक मंगलमय शुभकामना!
ReplyDelete