Friday, August 13, 2010

'दुरुजा' को राफ्टिङ यात्रा

नेपालमा 'भदौरे गर्मी' शुरु हुने बेला हुन लाग्दा यता जापानमा पनि ग्रीष्मयाम उत्कर्षमै छ र 'नाचुयासुमी' (गर्मीबिदा) को समय शुरु भएको छ। यही मेसोमा मेरो ल्याबबाट आयोजना गरिएको दुईदिने 'ट्रिप' का केही अनुभवहरु यहाँ साट्दैछु।

'ट्रिप' का लागि रोजिएको ठाउँ थियो टोकियोको उत्तर-पश्चिममा रहेको मिनाकामी र योजनामध्येको मुख्य थियो राफ्टिङको रमाइलो। हुनत राफ्टिङको कुरा चल्ने क्रममा शुरुमै मैले एक राउन्ड 'स्पष्टिकरण' दिइहाल्नुपरेको थियो ल्याबका साथीहरुलाई। नेपाल हिमालैहिमालको देश भनेर जति नाक फुलाए पनि हिउँ नै देख्न मुश्किल भएजस्तै नेपाल नदीनालाले भरिएको देश, अझ त्यसमाथि पनि नेपालका नदीहरु राफ्टिङका लागि विख्यात भनेर के गर्नु, आफूसँग राफ्टिङको अनुभव थोपो पनि भएको होइन। त्यसैले बेला-बेलामा दिनुपर्ने यस्ता 'स्पष्टिकरण' ले भविष्यका लागि भने सचेत बनाइदिएका छन्, आफ्नै देश चिन्ने र आन्तरिक पर्यटनको महत्त्व बुझ्ने कुरामा।

जे होस्, जापानमै भए पनि राफ्टिङ लगायतको अनुभव बटुल्नका लागि अगस्ट ८ को सबेरै लागियो मिनाकामीतिर। मिनाकामीमा हाम्रो यात्राको प्रबन्ध गर्ने जिम्मा 'काप्पा क्लब' नामको स्थानीय 'आउटडोर अपरेटर' को थियो र उसैको योजना अनुसार राफ्टिङ-पोशाक लगाइवरी हाम्रो गन्तव्य तोने नदीकिनारमा पुग्दा बिहानको नौजति बजेको थियो। त्यहाँ गफगाफ चल्दै गर्दा मेरो प्रोफेसरले भन्न थाल्नुभयो - 'तिमीहरुको देशमा त राफ्टिङका लागि यस्ता ठाउँहरु थुप्रै छन् हगि!' मैले पनि पाएको बेला 'अँ, यस्ता ठाउँ त कति कति' भनिदिएँ। अनि अलिक परबाट हेर्दा तोने नदी निकै सानोजस्तो लागेकोले (खासमा नदी त्यति सानो पनि होइन रहेछ भन्ने त पछि मात्र थाहा भयो) 'यहाँको राफ्टिङ त के 'एड्भेन्चर' होला र, नेपालका नदीहरुमा बल्ल राफ्टिङको वास्तविक 'एड्भेन्चर' लिन पाइन्छ' भनेर पनि थपिदिएँ। एकपटक नेपाल पुगिसक्नुभएका गुरुबाले मेरो भनाइमा सहमति नजनाउने कुरा थिएन, बरु उहाँले नेपालको अपार जलसम्पदाका कारण जलविद्युतको ठूलो सम्भावना रहेको कुरा पनि अरु जापानीहरुलाई सुनाउनुभयो।

केहीबेरमै हाम्रो राफ्टिङ शुरु भयो, बाह्रजनामध्ये छ-छ जना दुइटा 'राफ्ट' मा बाँडिएर। त्यसमध्ये म बसेको 'राफ्ट' मा म नै एकजना 'गाइजिन' (विदेशी) भएकोले राफ्टिङ गाइडलाई मेरो बारेमा जान्ने उत्सुकता भएछ र उसले मेरो नाम सोध्यो। जापानी भाषामा ध्वनिहरु तुलनात्मक रुपमा थोरै भएकाले धेरैजसो विदेशी नामहरु त्यही रुपमा उच्चारण गर्न हम्मेहम्मे पर्छ। त्यसैले मेरो नामको उच्चारण 'ध्रुव' को सट्टा 'दुरुबा' (दो+उ+रु+बा) भएको छ जापानीमा तर राफ्टिङ गाइडले भने त्यही 'दुरुबा' लाई पनि 'दुरुजा' सुनेछ। अनि त राफ्टिङ अवधिभर मेरो नाम नै 'दुरुजा' भयो।

शुरुमा त राफ्टिङ भनेको विशुद्ध राफ्टिङ मात्र होला भन्ने बुझाई थियो मेरो तर कुरो परिदियो अर्कै। त्यहाँ त नदीको रहमा 'डाइभ' हान्नेदेखि पौडी खेलेर नदी पार गर्नेसम्मका 'इभेन्ट' थपिन थाले। अब परेन त आपत! पौडीको नाममा उही ८-९ वर्षको उमेरमा घरनजिकैको पनाहा खोलाका सानातिना रहमा डुबुल्की मारेको बाहेक आफूसँग कुनै अनुभव छैन, अहिले पौडिने कुरो कसरी आँट्नु? 'मलाई त पौडिन आउँदैन' भनेर पछि हट्न खोजेको सबैजनाले 'हामीलाई पनि आउँदैन, ल ल कोशिस गरीहेरौँ' भन्ने थाले। मेरो पालो म पनि सुरिएँ। तर उनीहरुले आउँदैन भन्नु र मैले आउँदैन भन्नुमा कति अन्तर रहेछ भन्नेचाहिँ त्यतिखेर मात्रै थाहा भयो जतिखेर पानीमा अतासिएर फनफनी घुमेको घुम्यै भइयो। त्यसपछि गाइडलाई पछ्याउँदै पानीबाट बाहिर निस्किनुपर्दा अघिको 'एड्भेन्चर' शब्दले मात्रा पुग्ने गरी आफैँलाई गिज्याएजस्तो लाग्यो। मेरो हालत त्यस्तो छ तर अघि 'मलाई पनि पौडिन आउँदैन' भन्ने जापानी साथीहरु भने मज्जाले पौडिँदै छन्। यसको मतलब उनीहरुले झुटो बोलेका थिएनन् तर उनीहरुका लागि पौडी आउनुको अर्थ त्यसमा पूर्ण दक्ष हुनु थियो जबकि उनीहरुलाई जति पौडी आउने भएको भए म आफूलाई ठूलै पौडीबाजको दर्जामा राखिसकेको हुने थिएँ। बुझाइमा यस्तो अन्तर अक्सर पर्ने गर्छ जापानीहरुसँग व्यवहार गर्दा। त्यतिबेला मैले मेरा केही नेपाली साथीहरुलाई सम्झिएँ जो जापानीहरुलाई बुझ्दै नबुझी उनीहरुभन्दा आफू खुबै चलाख भएको भ्रम पालेर रमाउनमा पछि परेका छैनन्।

पौडी खेल्न आउने त कुरा थिएन तर पनि जोशैजोशमा 'डाइभ' समेत हान्ने दुस्साहस गरेको सम्झिँदा भने अहिले पनि हाँसो उठिरहेको छ। आखिर अनुभवै त हो। तर पनि पौडी खेल्न फिटिक्कै नजान्दाको अवस्था भने निकै लाजमर्दो भयो, जस्तो होला भनेर त्यस दिनसम्म कहिल्यै लागेकै थिएन। त्यहाँ हेरेको जापानी केटाकेटीदेखि बूढाबूढीसम्म पौडी नआउने कोही पनि देखिएनन्। एउटा 'दुरुजा' नै 'नमुना' भयो त्यहाँ र 'दुरुजा' को मतलब थियो एउटा प्रतिनीधि नेपाली। खासमा पौडी लगायत खेलकुदका विभिन्न क्रियाकलापहरु विद्यालयस्तरको पढाइसँगै सिकाइन्छन् जापानमा (र निश्चय नै अरु विकसित देशहरुमा पनि) तर हाम्रो शिक्षाप्रणालीको कुरै बेग्लै, जहाँ 'शारीरिक शिक्षा' लाई ऐच्छिक विषयकै रुपमा पढेको विद्यार्थी मजस्तो भएर निस्किन्छ :)

राफ्टिङ सकाएर १२ बजेतिर दिउँसोको खाना खाइवरी एकछिन आराम गरेपछि पालो आयो 'सावर क्लाइम्बिङ' (shower climbing) को। 'अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ' भनेजस्तो 'सावर क्लाइम्बिङ' मा पनि हुस्सु भइने हो कि भन्ने डर थियो तर धन्न त्यस्तो केही भएन। 'सावर क्लाइम्बिङ' भनेको ठाडो बगिरहेको खोलामा एक किसिमको 'पर्वतारोहण' (mountaineering) जस्तो रहेछ। खोलैखोल हिँड्न र पानीमा चिप्लेटी खेल्न खासै सीप चाहिने कुरा भएन, अलिकति आँट भए पुग्ने। त्यसैले 'सावर क्लाइम्बिङ' को चाहिँ पूरै रमाइलो लिन पाइयो राफ्टिङको तुलनामा।

साँझपख 'बार्बेक्यु' को छुट्टै रमाइलो भयो। तर बिहान पनि सबेरै उठ्नुपरेको र दिनभरि जीउ थाकेर लखतरान भएकोले हतार भने सबैलाई सुत्नकै थियो, त्यसैले चाँच्चाँडै ओछ्यान तताउने काम भयो। भोलिपल्ट बिहान उठ्दा जीउ हल न चल हुने अवस्थामा हुनु स्वभाविकै थियो। तर गुरुबा र केही जापानी साथीहरुलाई भने टेनिस खेल्न जाने हतार भैसकेको थियो। त्यसैले बिहानको नास्ता लिइसकेपछि टेनिस कोर्टतिर लागियो, जहाँ आफूले पनि अलि-अलि खेलेजस्तो गर्नैपर्‍यो। टेनिस सकिएपछि दिउँसोको खाना खाने उपक्रम पनि टुङ्ग्याइयो र पालो आयो 'ओन्सेन' (तातोपानी) मा नुहाउन जाने।

जापानीहरुसँग 'ओन्सेन' मा जाँदा निर्वस्त्र भएर जानुपर्छ भन्ने कुरा नेपालदेखि नै सुनेको हुनाले मनमा कौतुहलता र असहजता दुवै थियो। नाङ्गै भने पनि सर्वाङ्ग नाङ्गै नै हुने चाहिँ होइन होला जस्तो लागेको थियो तर हुने त सर्वाङ्ग नाङ्गै नै रहेछ। यसो हेरेको त गुरुबा लगायत सबैजना मजाले कपडा फुकाल्दै छन्, बिना कुनै संकोच। एउटा मात्र निर्वस्त्र हुने र अरुले कुरीकुरी गर्ने भए पो लाज हुने रहेछ त, सबैजना निर्वस्त्र हुँदा केको लाज! त्यसैले एकछिनमै मेरो पनि लाजशरम भाग्यो अनि 'लङ्गडाको देशमा गए खुट्टा उचाल्नु, कानाको देशमा गए आँखा छोप्नु' भन्ने आहानलाई शिरोधार्य गरेँ। यसरी जापान आएको लामै समयपछि भए पनि 'ओन्सेन' को रमाइलो अनुभव समेत बटुलियो। र अन्त्यमा, दिउँसो तीन बजेतिर फेरि टोकियो फर्किनका लागि हाम्रो टोली रवाना भयो।

2 comments:

  1. रमाइलो यात्रा समस्मरण !। यो संस्मरण पढेपछि आफूकहाँ भएका कुराहरुको अनुभव लिईहाल्नु पर्ने रहेछ भन्ने बुझीयो ...अब मौका मिलाएर एकचोटी राफ्टिङ जानै पर्ला :) ।

    यो निर्वस्त्र नुहाउने चलन चाही नेपाल बाहिर सबै यस्तै हो कि क्या हो ? । मैले पनि चीनमा पढ्दा आफ्ना प्रोफेसरहरुसँग पहिलो पटक यस्तै 'नग्न स्नान' गरेको थिएँ :) अहिले सम्झना आयो ।

    ReplyDelete
  2. दिलिप सर, प्रतिक्रियाका लागि हार्दिक धन्यवाद!

    चीनमा पनि यस्तो 'नग्न स्नान' को चलन रहेछ भनेपछि त अरु देशको पनि बुझ्नैपर्ने भयो :)

    ReplyDelete