Thursday, March 24, 2011

केही गन्थन

असाध्यै तिख्खर कविता र रमाइला गजलहरु लेख्ने मेरो एउटा साथी नयाँ रचनाको मेसो नजुरेको धेरै भएपछि भन्ने गर्थ्यो - 'म त अब भूतपूर्व कवि भैसकेँ यार।' अहिले आफू पनि उही पाराले 'भूतपूर्व ब्लगर' भइएला भन्ने भैसक्यो। लेख्ने विषय थुप्रै हुँदा पनि फुर्सद र 'मुड' को तादम्य मिलाउन सकिएको होइन। त्यसैले आज खत्राखुत्रु गन्थन कोरेर भए पनि 'भूपू ब्लगर' हुनबाट जोगिने प्रयास गर्दैछु। :)

सबैलाई अवगत भएकै कुरा हो, जापान अहिले प्राकृतिक महाविपत्तिबाट उत्पन्न बहुआयामिक समस्याहरुसँग जुध्दै छ। भूकम्पसम्बन्धि अध्ययन-अनुसन्धानमा वर्षौँदेखि संलग्न वैज्ञानिकहरु तथा पूर्वानुमानकर्ताहरुलाई समेत स्तब्ध बनाउने गरी गएको ९ रिक्टर स्केलको महाभूकम्प, त्यसले निम्त्याएको प्रलयकारी चुनामी अनि त्यसपछि आइलागेको आणविक विकिरण चुहावटको समस्याबाट जापानको उत्तर-पूर्वी तोहोकु-कान्तो क्षेत्र नराम्ररी आहत भएको छ। यस दुखद घडीमा निर्दयी प्रकोपका कारण ज्यान गुमाउन पुगेका सबैको आत्माको चीरशान्तिको कामना गर्दै यस सङ्कटबाट जापान र जापानबासी सबैलाई चाँडोभन्दा चाँडो मुक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु।

भूकम्प र चुनामीले सबैभन्दा बढी क्षति पुर्‍याएको सेन्दाइ आसपासको क्षेत्र तथा आणविक समस्याको केन्द्रस्थल फुकुसिमाभन्दा केही टाढा भए पनि म अहिले बसिरहेको टोकियो शहर पनि महाविपत्तिले सिर्जना गरेका दुष्प्रभावहरुबाट मुक्त छैन। भूकम्पका साना-ठूला धक्काहरुले अहिलेसम्म तर्साउन छोडेका छैनन् तर मुख्य चिन्ता भने टोकियोसम्म आणविक विकिरण प्रसारको त्रास र विद्युत आपूर्तिको अनिश्चितता बनेका छन्।

भाग्यवश आणविक विकिरणको त्रास अहिलेसम्म मोटामोटीरुपमा त्रासमै सिमित छ भन्दा फरक नपर्ला। टोकियोको वायुमण्डलमा रेडियोधर्मी विकिरणको मात्रा सामान्यभन्दा बढेको केही रिडिङमा देखिएको भए पनि खतराको स्तरमा नपुगेको प्रष्ट भैसकेको छ। तर खानेपानी तथा तरकारी, दूधलगायतका खाद्यवस्तुमा  चाहिँ सानै मात्रामा भए पनि समस्याहरु देखिएका छन्। यी समस्याहरु कति विकराल बन्नेछन् भन्ने कुरा फुकुसिमास्थित आणविक भट्टीहरुको अवस्था कहिलेसम्ममा पूर्ण स्थीर र नियन्त्रित हुनेछ भन्नेमा भर पर्नेछ। अहिलेसम्मको अवस्थालाई हेर्दा मलाई व्यक्तिगत रुपमा चाहिँ समस्याले त्यति ठूलो रुप लिइहाल्लाजस्तो लाग्दैन।

अर्कोतर्फ टोकियो क्षेत्रमा खपत हुने विद्युतको उल्लेख्य हिस्सा आपूर्ति गर्ने फुकुसिमास्थित आणविक उर्जा केन्द्र सञ्चालन हुनुको साटो आफैँ समस्याको केन्द्रबिन्दु बन्न पुगेका कारण स्वभाविक रुपमा यस क्षेत्रको विद्युतको माग र आपूर्तिबीचको सन्तुलन खल्बलिएको छ। तत्कालका लागि त उर्जा-वचतका उपायहरु अवलम्बन गरेर टोकियो महानगर क्षेत्रमा लोडसेडिङको समस्यालाई पन्छाउने प्रयास गरिएको छ तर दीर्घकालीनरुपमा कस्तो समाधानको उपाय अपनाइने हो, अनिश्चित नै छ।   

यिनै समस्याको पृष्‍ठभूमिमा मूलत: दुई विषयमा केही बिस्तारमा चर्चा गर्न मन लागेको छ। हुनत नकारात्मक सोँच र पाखण्डी प्रवृत्ति झन्पछि झन् हावी हुँदै गएको हाम्रो समाजको तस्वीर देख्दा हिजोआज नराम्रै कुरामा पनि नकारात्मक टिप्पणी गर्नुभन्दा मौन बस्नु पो श्रेयस्कर हो कि जस्तो पनि लाग्छ। तर साह्रै अपाच्य लागेका कारण यी दुई विषयमा भने केही लेख्ने अनुमति माग्दछु।

भगुवा दूतावास र लाज ढाकिदिनुपर्ने हामीहरु 

जापानमा आइलागेको विपत्तिपछि जापानको उत्तर-पूर्वी तथा अन्य भागका समेत विदेशीहरु सम्भावित त्रासका साथै पारिवारिक दबाव आदिका कारण जापानबाट बाहिरिने क्रम बढ्यो। तर त्यो बहिर्गमनमा (कम्तिमा पनि टोकियोबाट बाहिरिनेहरुको हकमा) वैज्ञानिक र तार्किक कारणभन्दा पनि भावनात्मक पक्ष प्रबल थियो। अनिश्चय, द्विविधा र अनेकथरि सूचनाको प्रदूषणका बीचमा त्यस्तो हुनु अस्वभाविक पनि थिएन। तर एक्कासी मार्च १९ तारिखका दिन नेपाली पत्रपत्रिकामा आएको टोकियोस्थित नेपाली राजदूतावासको स्थानान्तरणसम्बन्धि समाचार भने बडो आश्चर्यजनक र क्षोभपूर्ण थियो। समाचारबाट प्रष्ट हुन्थ्यो, दूतावासका मान्छेहरु चोरडाँकाको शैलीमा टोकियोबाट ओसाकातिर भागेका मात्र रहेनछन्, आफ्नो नालायकी ढाकछोप गर्न जापान सरकारबाट विशेष जानकारी पाएको भन्ने कुतर्क गरेर सर्वसाधारण नेपालीमा थप भ्रम र आतङ्क छर्न पनि भ्याएका रहेछन्। सेन्दाइबाट उद्धार गरेर टोकियो ल्याइपुर्‍याइएका नेपालीहरुलाई त्यसै अलपत्र छाडेर, अरुबेला निरन्तर सम्पर्कमा रहने टोकियोस्थित नेपाली संघसंस्था तथा तिनका अगुवाहरु कोहीकसैलाई सुइँको समेत नदिई एकाएक पत्रपत्रिकाबाट आफूहरु भागेको र टोकियो शहर आणविक विकिरणको चपेटामा परेर बस्नलायक नरहेको सनसनीपूर्ण समाचार प्रवाहित गर्ने दूतावासका मान्छेहरुको 'पुरुषार्थ' को जति चर्चा गरे पनि कमै होला।   

हुनत व्यक्तिगत रुपमा म अनि मजस्ता थुप्रै साथीहरुको लागि नेपाली दूतावास र त्यहाँका मान्छेहरु 'गाड जाऊन् कि भीर जाऊन्' कुनै सरोकार छैन। तर यहाँनेर कुरा हाम्रा सरकारी संयन्त्रहरुको जवाफदेहिताको स्तरको हो। गैरजिम्मेवारिताको पनि शायद एउटा हद हुनुपर्ने हो। तर हाम्रो दूतावासका लागि त्यो हद पनि नभएको देखियो। अरु देशका मान्छेहरु जापानमै बस्ने कि जापान छोड्ने वा जापानमै बस्ने भए केकस्तो सतर्कता अपनाउने भनेर आफ्नो देशको दूतावासबाट जानकारी लिइरहेका रहेछन् तर कठै! हाम्रो दूतावासको अवस्था भने 'कुरा गर्‍यो, कुरैको दु:ख' भनेजस्तो। टोकियोमै बस्ने कि अन्यत्र जाने भनेर अलमलमा परेका एकजना नेपाली साथीलाई एउटा विदेशीले भन्दै थियो रे - 'टोकियोमा तिम्रो देशको दूतावास छैन र? दूतावासको मान्छेलाई फोन गर न, उनीहरुले आवश्यक सल्लाह दिइहाल्छन् नि!' बिचरा साथी के भनून् र, 'हाम्रो दूतावासका मान्छेहरु सप्पै अहिले सेन्दाइतिरका नेपालीहरुको उद्धारमा खटिइरहेका छन्, त्यसैले टोकियोका मान्छेहरुलाई सेवा र सल्लाह दिन पाइरहेका छैनन्, नत्र त म दूतावासमा सोधिहाल्थेँ नि!' भनेर उम्किएछन्। खै, कहिलेसम्म हामीहरु देशको लाज ढाकेजस्तो गर्दै यसरी नै उम्किरहनुपर्ने हो!  

विकिरण चुहावाट र 'भिटामिन डाक्टर' हरुको प्रसङ्ग

फुकुसिमास्थित आणविक उर्जा केन्द्रका आणविक भट्टीहरुमा विकिरण चुहावटको समस्या देखिएपछि सो समस्या देश-विदेश सबैतिर चर्चा र चासोको विषय बन्न पुग्यो। विकिरण चुहावटको हावा, पानी, माटो आदिबाट हुने प्रसार तथा त्यसबाट तत्कालै तथा दीर्घकालमा हुने खतरनाक असरका कारण सर्वत्र चिन्ता छाउनु स्वभाविक थियो। तर यथार्थपरक चिन्तासँगै जिम्मेवार भनिएका संचारमाध्यममा समेत अतिरञ्जित व्याख्या र हल्लाखल्लाको पनि कमी रहेन। फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा फैलिएका हावादारी सूचनाको त झन् कुरै भएन। आणविक भट्टीलाई आणविक बमकै रुपमा व्याख्या गरिदिने र आणविक दुर्घटना भन्नेबित्तिकै बुझे पनि नबुझे पनि 'चेर्नोबिल' कै बारेमा खोकिदिने केही उपबुज्रुकहरुसँग कसले पो सक्थ्यो र! यस्तै उपबुज्रुकहरुबाट आजित भएर एकजनाले ट्विटरमा लेख्न भ्याएका रहेछन् - 'किन सबै स्कुल ड्रपआउटहरु यहाँ आणविक विशेषज्ञ बनिटोपल्दैछन्? किनकि यो इन्टरनेट हो!'

तर मैले यहाँ उठाउन खोजेको प्रसङ्ग भने स्कुल ड्रपआउटहरुको नभएर बकाइदा 'डाक्टर' उपाधिधारी वैज्ञानिकका नाममा आएको एउटा लेखको हो। माइसंसारमा आएको 'आणविक दुर्घटना हुनै लागेको हो त जापानमा?' शिर्षकको लेखले 'डाक्टर' उपाधि र वैज्ञानिक भन्ने सम्मानप्रति नै लाजमर्दो बनाइदियो। लेख वैज्ञानिकले लेखेका छन् तर एउटा सामान्य इन्टरनेट-साक्षर व्यक्तिले पुर्‍याउनेजति ढङ्ग पनि नपुर्‍याइकन। आजको अति विशिष्टिकृत ज्ञानको जमानामा एउटा जलस्रोत वैज्ञानिक आणविक विषयको पनि ज्ञाता हुनुपर्छ भन्ने जरुरी छैन (खासमा सम्भव पनि छैन)। तर कुनै विषयमा, त्यो पनि संवेदनशील र समसामयिक चासोको विषयमा, केही लेख्न जमर्को गर्ने मान्छे जोकसैले पनि तत् विषयमा मोटामोटी जानकारी त राखेको हुनुपर्‍यो नि! नत्र आफ्नै आङ कन्याएर छारो किन उडाउनु?

भोपालको ग्यास चुहावटलाई आणविक विकिरण चुहावटको उदाहरणको रुपमा पेश गरिदिने, रेडियोधर्मी विकिरणलाई 'तेजाबी विकिरण' भनिदिने, समुन्द्रको पानी खपत गरेर आणविक उर्जा गृहहरु सञ्चालनमा रहन्छन् भनेर व्याख्या गरिदिने, सारा संचारमाध्यममा आएको हाइड्रोजन ग्यासको विस्फोटलाई उच्च-तापीय वाष्पको विष्फोट भनिदिनेजस्ता 'डाक्टर' र 'वैज्ञानिक' हरु शायद हामीकहाँ मात्रै भेटिने हुन् कि?

यस्तै 'डाक्टर' र 'वैज्ञानिक' हरुबाट वाक्क भएर होला, केही स्वनामधन्य 'डाक्टर' हरुलाई देख्यो भने मेरो एउटा साथीलाई 'डाक्टरसा'ब भिटामिन लेखिदिनुस् न!" भन्न मन लाग्छ रे! त्यसैले उसले यस्ता 'डाक्टर' हरुको नाम नै 'भिटामिन डाक्टर' राखिदिएको छ। धन्य हुन् 'भिटामिन डाक्टर' हरु!

(द्रष्टव्य: डा. सोहन घिमिरे आफ्नो क्षेत्रको प्राविधिक ज्ञानमा पक्कै पनि निकै राम्रो दक्खल राख्नुहुन्छ होला। आफ्नो अध्ययन-अनुसन्धानका माध्यमबाट उहाँले देशकै शीर उँचो पार्ने काम पनि गरिरहनुभएको होला। एउटा प्रतिष्ठित अनुसन्धान संस्थामा कार्यरत वैज्ञानिकको क्षमतामा प्रश्न उठाउने हैसियत म बबुरोको हुनै सक्दैन। तर जुन किसिमका त्रुटीपूर्ण तथ्य र जानकारीसहितको लेख आयो, त्यसले दिएको नकारात्मक सन्देश र हामीबीचको स्वनामधन्य प्रवृत्तिको बारेमा मात्रै मैले चर्चा गर्न खोजेको हुँ।)

पुनश्च: कतै पढ्न पुगेको थिएँ, जापानबासी सर्वसाधारण नेपालीलाई आणविक विकिरण चुहावटसम्बन्धि तथ्यपरक जानकारी दिन भनेर टोकियोस्थित नेपालीहरुको पहलमा एउटा 'प्राविधिक' टिम बनाइएको कुरा। टिममा मैले चिनेका केही पत्रकारहरु हुनुहुँदो रहेछ तर कुनै प्राविधिक पृष्‍ठभूमिको मान्छे त्यहाँ भएजस्तो लागेन। प्राविधिक ज्ञाता नै नभएको 'प्राविधिक' टिम कस्तो हो, कुरो बुझ्न सक्या'भे मार्दिनू! :( :)   


3 comments:

  1. ध्रुबजी,
    कसैले भनेका थे रे
    कलियुगमा,
    धर्मं नि हुन्छ
    कर्म नि हुन्छ
    तर शर्म चाहीं हुन्न
    भनेर

    ReplyDelete
  2. जापानमा भुइचालो जानु भन्दा अघि देखि नै सेन्डाइमा रहेका साथी सँग गफ गरि रन्थे। गफ गर्दा गर्दै भुइचालो गयो। उनी सँग लाइभ कुरो कानी बन्द भयो तर मेडिया बाट त्यहाँ आएको सुनामी (जापानीहरु चुनामी भन्ने रैछन्।) पनि लाइभ हेरेको थिय। अनि आयो आणबिक बिकिरण चुहावटको घटना। कतिपय मेडियाले बढाइ चढाइ गरे। सामान्य जनतालाई सजिलो सँग बुज्ने गरि यो सम्बन्धी जानकारी कसैले दिएको पाइएन। नेपाली हरुको हकमा पनि त्यस्तै भएछ। दुताबास आफै भागे पछि अरु मान्छेको हालतको के कुरा गर्नु। अनि बिकिरण सम्बन्धी माइसन्सरको लेख्मा केही त्रुटी पक्कै पनि देखिएको छ। अलि ध्यान दिनु पार्ने यस्तो सम्बेदनशील बिषयमा कलम चलाउदा।

    ReplyDelete
  3. बुद्धजी र नयाँ लाउरेजी, प्रतिक्रियाका लागि धेरै-धेरै धन्यवाद!

    @ बुद्धजी: यी 'कसै' ले पनि के-के भने के-के है ;)

    @ नयाँ लाउरेजी: 'tsunami' शब्द आफैँ जापानी भाषाबाट आएको हुनाले यसको सही उच्चारण 'चुनामी' हुनुपर्ने हो तर अहिले गुगल गरेर हेर्‍यो भने 'सुनामी'का लागि ७२२,००० नतिजा भेटिने रहेछन् जबकि 'चुनामी' का लागि जम्मा १,३१०!

    ReplyDelete