'कर्नाली ब्लुज' मा कथावस्तुकै हिसाबले नयाँ कुरा उस्तो केही छैन। 'नागरिकन्युज' मार्फत् कटासे बजार र कालिकोटका प्रसङ्ग जोडिएका बुद्धिसागरका ब्लगहरु एकपल्ट पढिसकेको मान्छेले मोटामोटी अड्कल काट्न सक्छ, कैलालीको मटेरादेखि कालिकोटको खाँडाचक्रसम्मको कथा कसरी बुनिएको होला भनेर। तर कथावर्णनमा उपन्यासकारले जुन मिठास घोलेका छन्, त्यसले 'कर्नाली ब्लुज' लाई नेपाली साहित्यको श्रीवृद्धि गर्ने एउटा अब्बल दर्जाको कृतिको रुपमा उभ्याइदिएको छ।
उपन्यासमा एउटा निम्नमध्यमवर्गीय 'फिरन्ता' परिवारको कथा छ जो जिविकोपार्जनको सिलसिलामा सुर्खेतबाट मधेसतिर झरेको हुन्छ र जसलाई समयक्रमले फेरि कालिकोटको पहाडतिर उकालो लाग्ने बनाइदिन्छ। उपन्यासमा गाउँले जीवनका कुरा छन्, अनि छन् गाउँ पनि नरहेका र शहर पनि बन्न नसकेका साना 'बजारिया' बस्तीका कुरा। त्यस्ता ठाउँको जीवनशैली, सामाजिक मूल्यमान्यता, त्यहाँ भेटिने विविध प्रवृत्तिका पात्रहरु र तत्कालिन समाजको बदलिँदो चरित्रलाई एउटा बालक, उसको परिवार र उसका साथीसंगातीको माध्यमबाट उपन्यासमा निकै सरल र सजीव ढङ्गले प्रस्तुत गरिएको छ। त्यसमा मिसिन आउने बालसुलभ चञ्चलता र बिठ्याइँका प्रसङ्गहरुले त झन् पाठकलाई आफ्नै कथा पो पढिरहेको छु कि भन्ने भान समेत पारिदिन्छन्।
केही समयपछि विविध कारणवश बृषबहादुरको परिवार मटेराबाट कटासे बसाइँ सर्न पुग्छ। बसाइँ सर्ने बेलाको बालमनोविज्ञानलाई उपन्यासकारले मन छुने गरी पोखेका छन्:
… कसरी छाडिएला यो मटेरा? अघिसम्म छलफल भएको थियो, के-के लैजाने? कालो बाकस, सिरक-डसना, भाँडाकुँडा, नागरिकता, हाम्रा चिना। धेरै नाम भेटिएनन् जो हामीसँग साथ लाग्थे। मेरो मन च्यातियो। के-के छाड्ने? अमौरीखोला? डुम्रीको रुख? यो घर? यो गोठ? लहरै उभिएका मेवाका रुख? पन्चेगोरू? लक्ष्मीगाई? आँगनको घन्टीफूल? यी चरा?
मलाई सप्पै लैजाऊँजस्तो लाग्यो, कटासे। सप्पै। तर सप्पै अटाउने झोला मसँग थिएन। …
मटेराबाट कटासे बजार पुग्दा त्यहाँ अनुभव गर्न सकिने नौला कुराहरुको वर्णन घतलाग्दो छ। चन्द्रे, भागीराम, ममतादिदी, दैलेखी साउजी, राजासाहेब, खुशीराम, उमादिदी, मगरमामाजस्ता मटेराका प्रतिनिधि पात्रहरुको ठाउँमा कटासेका रमेश, एकराज, भक्ते, शिवशंकर, शर्मिला, शर्मा अंकल, बाटु, सद्दाम, बिष्टबुढा, गौली साउ, हजुर्को साउजी, ओमे साउजस्ता पात्रहरु उपन्यासमा झुल्किन आइपुग्छन्। सँगसँगै कर्नालीको पहाडतिरबाट किनमेलका लागि तल झर्ने हटेरुहरुका प्रसङ्ग पनि त्यहाँ जोडिन्छन्।
नजिकैको चिसापानीमा कर्नाली पुल बनेपछि चिसापानीको बजार चम्कने र कटासेको बजार सुक्ने गाइँगुइँका बीच 'हजुर्को चियापसल' मा सुनिने संवादले हाम्रो 'चियागफ' संस्कृतिको प्रतिनिधित्व मात्र गरिरहेको हुँदैन, बरु हाम्रो समाजको मिहिन चित्रण समेत गरिरहेको हुन्छ:
'नेपालाँ यस्तो पुलै छैन,' एउटाले गिलास नचाउँदै जवाफ दियो।
'हजुर्को संसारमै यस्तो पुल छैन रे!' साउजीले पनि अरुबाटै सुनेको कुरा सुनायो, 'अब त चिसापानीमा व्यापार सप्रिने भयो हजुर्को।'
'लाटो देशको गाँडो तन्नेरी भनेको यै हो,' बिष्टबुढा थर्थरी काँप्दै कराए, 'संसारका अरु पुल देख्या छस्? त्यसै ठूलो भन्छस्। पुलले व्यापार सप्रिन्छ, मुजी?'
कटासे बजार बिस्तारै उजाडिँदै गएपछि बृषबहादुरको परिवार फेरि बसाइँ सर्छ र यसपालिको गन्तव्य हुन्छ कालिकोटको सदरमुकाम रहेको खाँडाचक्र बजार। जरिलाल र अरु सात जना भरियासँगै कर्नालीको तिरैतिर कालिकोटतिर उकालो लाग्दाको बृषबहादुरको यात्रावर्णनले कर्नालीबासीको अपरिमित व्यथाभित्रको सानो अंश बोकेको जस्तो लाग्छ। ठाउँ र परिवेश मात्र हैन भाषा समेत नौलो लाग्ने कालिकोटमा बृषबहादुरहरु कसरी अभ्यस्त हुँदै गए भन्ने कुरा पनि चाखलाग्दो छ। शुरु-शुरुमा कर्नालीको भाषा नबुझेर खप्नुपरेको हैरानी एकठाउँमा यसरी व्यक्त गरिएको छ:
'बज्जै चट्टी छन् कि?'
ग्राहकले सोधेपछि आमा ट्वाल्ल। कहिले यस्तो व्यापार गरेको भए पो।
'के मागेका हुन्?' आमा मतिर फर्किनुहुन्थ्यो।
इन्डियाबाट आएको त होला नि! म अन्दाज गर्थेँ, चड्डी भनेको पो हो कि? म थरीथरीका कट्टु देखाउँथेँ।
'यी नाइँ।' ग्राहक हाँस्दै चप्पलका खाततिर देखाउँथ्यो।
उपन्यासको अन्त्यतिर माओवादी विद्रोहको शुरुवात र त्यसले सर्वसाधारणका जीवनमा समेत ल्याएको उथलपुथललाई चित्रित गरिएको छ। तर उपन्यासको उठानका विपरित बैठान अलि हतारमा गर्न खोजेजस्तो देखिन्छ। त्यसैले शुरुमा लामो टेलिसिरियलका जस्ता लाग्ने दृश्य पछि सिनेमाका दृश्यजस्ता लाग्छन्।
जेहोस्, लेखक बुद्धिसागर चपाईँ र प्रकाशक फाइनप्रिन्टले 'कर्नाली ब्लुज' मार्फत् नेपाली साहित्यजगत् र यसका पाठकहरुलाई ठूलो गुन लगाएका छन्। साहित्यसँगै नेपाली भाषालाई समृद्ध बनाउन समेत यो उपन्यासले महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ। उपन्यासमा खासगरी मध्यपश्चिममा बोलिने नेपाली भाषाको लवज र त्यहाँका झर्रा शब्दहरुको सुन्दर प्रयोग गरिएको त छ नै, नेपाली भाषा कति मिठो गरी लेख्न सकिन्छ भन्ने नयाँ मानक पनि यसले स्थापित गरिदिएको छ। उपन्यासमा धेरै ठाउँमा आमाचकारी गाली र अरु पनि अशिष्ट लाग्ने शब्दहरुलाई जस्ताको तस्तै राखिएको छ तर तिनको प्रयोग यति सहज र स्वभाविक ढङ्गले गरिएको छ कि कतै पनि भाषा बिझाएको अनुभव हुँदैन।
तर भाषाकै कुरामा केही खट्किने पक्षहरु पनि छन्। उपन्यासको नाम आफैँमा किन 'कर्नाली ब्लुज' जुराइयो, बुझ्न सकिएन। शहरिया युवापाठकका जिब्रोमा सजिलै झुन्डिने नाम रोजिएको हो भने कुरा बेग्लै हो, अन्यथा 'ब्लुज' जस्तो नेपाली जनजिब्रोमा अलिकति पनि नपचेको अङ्ग्रेजी शब्द यो उपन्यासलाई सुहाएको देखिँदैन। त्यस्तै उपन्यासमा प्रयुक्त थारू भाषा र कर्नाली भाषाले उपन्यासको सौन्दर्य वृद्धि त गरेका छन् तर कतै-कतै भने ती भाषाको मेसो नपाउने पाठकहरुलाई 'खाए खा, नखाए घिच' पो गरिएको हो कि जस्तो लाग्छ। उपन्यासमा दृष्टान्त, विम्ब र अनुकरणात्मक शब्दहरुको प्रचुर प्रयोग गरिएको छ तर केही ठाउँमा तिनको प्रयोगमा पर्याप्त ध्यान नपुर्याइएको देखिन्छ। उदाहरणको लागि 'डुङ्डुङ्ती उडिरहेको धुलो' भन्नुभन्दा 'बुङ्बुङ्ती उडिरहेको धुलो' भन्नु बढी स्वभाविक हुन्थ्यो होला। त्यसमाथि पहिलो संस्करण भएकोले पनि हुन सक्छ, उपन्यासमा स-साना मुद्रणत्रुटिहरु पनि थुप्रै भेटिन्छन्।
यहाँको समालोचनात्मक लेखले मजस्ता उक्त पुस्तक नपढेका पाठकलाई दुइटा फाइदा भयो | एक त पुस्तकमा के छ भन्ने थाहा भयो अर्को पुस्तक पढ्न लायक छ कि छैन भन्ने पनि ज्ञान भयो | मौका मिले पढ्ने सोचमा पुगें | नारायण वाग्लेको क्याफे भर्खरै पढिसकेको म (अर्थात् ढिलो गरि पढ्ने पाठक ) यस्तै कुनै युवा लेखकको अर्को कृति पनि पढ़िहेर्ने बिचारमा थिएँ| यहाँको विश्लेषण अत्यन्तै सन्तुलित र अभिव्यक्तिको शैली पनि निकै परिष्कृत लाग्यो मलाई |
ReplyDeleteप्रतिक्रियाका लागि धन्यवाद चैतन्य सर (निकै ढिलो भएकोमा क्षमाप्रार्थी पनि छु)। वाग्लेको क्याफे भर्खर पढ्नुभएको रहेछ, अनुकूल पर्यो भने 'कर्नाली ब्लुज' चाहिँ चाँडै पढ्नुहोला :)
ReplyDelete