
प्र: एकजना भौतिकशास्त्रीको रुपमा आफ्नो लामो करिअरको आधारमा तपाईँ विज्ञानलाई कसरी परिभाषित गर्नुहुन्छ?
प्र: विज्ञानको क्षेत्रमा करिअर बनाउन चाहने युवालाई तपाईँ कस्तो सामान्य सल्लाह दिनुहुन्छ?
उ: वैज्ञानिक कार्यका लागि प्रयास गर्दा -- निकै प्रतिभाशाली व्यक्तिले समेत -- कुनै साँच्चिकै मूल्यवान् कुरा प्राप्त गर्ने सम्भावना निकै थोरै हुन्छ... त्यसको एउटै मात्र समाधान छ: आफ्नो धेरैजसो समय केही प्रयोगात्मक काममा लगाउनोस्... जुन तपाईँको स्वभावसँग मिल्छ, र बाँकी समय अध्ययनमा खर्च गर्नुहोस्। तब तपाईँ सक्षम हुनुहुनेछ... कुनै दैवी आशिर्वादबिना पनि एउटा सामान्य र सामञ्जस्यपूर्ण जिन्दगी बाँच्न।
प्र: वैज्ञानिक करिअरका आर्थिक सीमाहरुको बारेमा नि?
उ: विज्ञान एउटा गजबको कुरा हो, यदि यसबाट गुजारा चलाउनुपर्दैन भने। मान्छेले आफू जुन काममा सक्षम छु भन्ने लाग्छ त्यसैबाट जीवन गुजारा चलाउनुपर्ने हुन्छ। वैज्ञानिक कार्यको आनन्द तब मात्र लिन सकिन्छ जब हामी कसैप्रति पनि जवाफदेही हुनुपर्ने हुँदैन।
प्र: त्यसो भए वैज्ञानिक करिअरका परिणामहरु के हुन् जसले यसलाई सार्थक र रोमाञ्चक बनाउँछन्?
उ: मानवलाई उदात्त बनाउने र उनीहरुको स्वभावलाई समृद्ध गराउने कुरा वैज्ञानिक अनुसन्धानको परिणाम होइन, बरु रचनात्मक तथा खुला दिमागले बौद्धिक कार्य सम्पन्न गर्ने बेला बुझाइको निम्ति गरिने संघर्ष हो। यो मेरो भित्री विश्वास हो कि विज्ञानको विकासले मुख्यरुपमा विशुद्ध ज्ञानको उत्कण्ठालाई शान्त पार्छ।
प्र: तर मलाई लागेको हुन सक्थ्यो कि प्रकाशमा ल्याइने नयाँ ज्ञान -- अर्थात् आविष्कार -- नै त्यस्तो कुरा हो जसले वैज्ञानिक करिअरलाई सार्थक बनाउँछ?
उ: 'आविष्कार' भन्ने शब्द आफैँमा खेदजनक छ। किनकि आविष्कारको अर्थ पहिल्यै अस्तित्वमा रहेको कुनै वस्तुको बारेमा थाहा पाउनु बराबर हुन्छ; यो प्रमाणसँग जोडिएको हुन्छ जसले 'आविष्कार' को होइन कि आविष्कारसम्म पुग्ने साधनको विशेषता बोक्छ। ...आविष्कार वास्तवमा कुनै रचनात्मक कार्य होइन।
प्र: वैज्ञानिक प्रशिक्षणको लागि सबैभन्दा राम्रो स्कुल छान्न कस्तो सल्लाह दिनुहुन्छ?
उ: स्कुलको लक्ष्य जहिले पनि कुनै तन्नेरी त्यहाँबाट एउटा सामञ्जस्यपूर्ण व्यक्तित्व बनेर निस्कोस् भन्ने हुनुपर्छ न कि एउटा विशेषज्ञ। अन्यथा ऊ -- उसको विशेष ज्ञानका कारण -- सामञ्जस्यपूर्णरुपमा विकसित मान्छेभन्दा एउटा सुप्रशिक्षित कुकुरको ज्यादा निकट हुन्छ।
प्र: एउटा शिक्षकमा चाहिँ तपाईँ के चाहनुहुन्छ?
उ: सबैभन्दा मूल्यवान् कुरा जुन एउटा शिक्षकले केटाकेटीलाई दिनसक्छ, त्यो खासमा ज्ञान र सुझबुझ होइन बरु ज्ञान र सुझबुझप्रतिको तीव्र इच्छा हो, र बौद्धिक मूल्यहरुप्रतिको सराहना हो, चाहे ती कलात्मक, वैज्ञानिक वा नैतिक जुनसुकै होऊन्। रचनात्मक अभिव्यक्ति र ज्ञानको मजा जागृत गर्नु नै एउटा शिक्षकको सर्वोच्च कला हो। धेरै शिक्षकहरु विद्यार्थीले नजानेको कुरा पत्ता लगाउने अभिप्रायका प्रश्नहरु सोधेर आफ्नो समय बर्बाद गर्छन् जबकि सोधपुछको साँचो कला विद्यार्थीले कुन कुरा जान्दछ वा ऊ कुन कुरा जान्न सक्षम छ भन्ने पत्ता लगाउनु हो।
प्र: अनि विद्यार्थीको मनोभावचाहिँ कस्तो हुनुपर्ला?
उ: तथ्यहरु सिक्नु त्यति धेरै महत्त्वपूर्ण कुरा हैन। त्यसको लागि कुनै व्यक्तिलाई साँच्चिकै कलेजको खाँचो पर्दैन। उसले किताबबाट ती कुरा सिक्न सक्छ। एउटा लिबरल आर्ट्स कलेजमा लिइने शिक्षाको महत्त्व धेरै तथ्यहरु सिक्नु होइन बरु पाठ्यपुस्तकबाट सिक्न नसकिने कुरा सोँच्न दिमागलाई प्रशिक्षित गर्नु हो।
प्र: सफल वैज्ञानिक करिअरका लागि उचित शैक्षिक स्थान भेट्न गाह्रो छ?
उ: शिक्षाको उद्देश्य स्वतन्त्ररुपमा काम गर्ने र सोँच्ने व्यक्तिहरु प्रशिक्षित गर्ने हुनुपर्छ, तथापि त्यस्ता व्यक्तिले समुदायको सेवामा आफ्नो जीवनको उच्चतम प्राप्ती देखून्। वास्तवमा यो कुनै चमत्कारभन्दा कम छैन कि आधुनिक शिक्षणविधिहरुले अनुसन्धानको पवित्र जिज्ञासालाई पूर्णरुपमा अँठ्याएर मार्न सकेका छैनन्; किनकि यो सानो सुन्दर बिरुवा प्रोत्साहनबिना, मुख्यरुपमा स्वतन्त्रताको चाहनाले खडा हुन्छ; यसबिना यो कष्टमा पर्छ र निश्चितरुपमा नष्ट हुन्छ।
प्र: शिक्षण प्रक्रियामा परीक्षाहरू कति महत्त्वपूर्ण छन्?
उ: म परीक्षाहरुको विरोधी हुँ -- तिनले पढाइप्रतिको रुचीलाई रोक्ने मात्र काम गर्छन्। एउटा विद्यार्थीको [कलेज] करिअरभरिमा दुइटाभन्दा बढी परीक्षा लिइनुहुँदैन। म सेमिनारहरु आयोजना गर्ने थिएँ र यदि तन्नेरीहरु इच्छुक छन् अनि सुन्छन् भने उनीहरुलाई डिप्लोमा दिने थिएँ।
प्र: त्यसो गर्दा भौतिकशास्त्रको प्राध्यापकको रुपमा आफ्नो लामो अनुभवको हिसाबले कहिलेकाहीँ अयोग्य विद्यार्थी पनि पार होला भन्ने तपाईँलाई लाग्दैन?
उ: त्यस केटालाई उसको पिएचडी दिनोस्। फिजिक्सको पिएचडीले उसले खास बिगार गर्न सक्नेवाला छैन।
प्र: तपाईँको विचारमा विज्ञानमा काम गर्न कस्तो वातावरण सबैभन्दा प्रभावकारी हुन्छ?
उ: आधुनिक समाजमा समेत केही खास पेशाहरु छन् जसमा एक्लिएर बस्नुपर्छ र कुनै ठूलो शारीरिक वा बौद्धिक मेहनत गर्नुपर्दैन। लाइटहाउसहरु तथा लाइटसिपहरुमा काम गर्नेजस्ता पेशाहरु दिमागमा आउँछन्। तन्नेरीहरु जो वैज्ञानिक, खासगरि गणितीय वा दार्शनिक प्रकृतिका, समस्याहरुको बारेमा सोँच्छन्, उनीहरुलाई यस्ता पेशामा राख्न सम्भव नहोला र? यस्तो महत्त्वाकांक्षा भएका ज्यादै थोरै तन्नेरीहरुले मात्र आफ्नो जीवनको उर्वर अवधिमा समेत बिना कुनै बाधा-अवरोध जतिसुकै लामो समयसम्म पनि वैज्ञानिक प्रकृतिका समस्यामा आफूलाई समर्पित गर्ने अवसर पाउँछन्।
प्र: पृथकीकरणका निम्ति तपाईँको रोजाइ के एकहिसाबले प्रतिस्पर्धा र प्राथमिकताको चासोबाट प्रभावित हो?
उ: विज्ञानको विकासका लागि केही योगदान दिन सक्ने विशेष सुविधाप्राप्त व्यक्तिहरुले साधारण प्रयासका फलहरुको निम्ति आफ्नो खुशीमा ग्रहण लाग्न दिनुहुँदैन।
प्र: सहकर्मी छान्दा कस्ता गुणहरुलाई बढी महत्त्व दिनुहुन्छ?
उ: वैज्ञानिक विशिष्टता र व्यक्तिगत गुणहरु सधैँ सँगसँगै गएको देखिँदैन। म कुनै महाछट्टु सूत्रबाज वा प्रयोगबाजभन्दा एउटा मिलनसार मान्छेलाई अधिक महत्त्व दिन्छु।
प्र: आफ्नो अनुसन्धानका लागि लक्ष्यहरु तय गर्दै गरेको एउटा वैज्ञानिकलाई कस्तो सल्लाह दिनुहुन्छ?
उ: कसैले पनि सजिलै प्राप्त हुने लक्ष्य लिनुहुँदैन। हरेकले कडाभन्दा कडा मेहनतद्वारा मात्र प्राप्त हुने लक्ष्यका लागि आफूलाई तयार पार्नुपर्छ।
प्र: एउटा वैज्ञानिक पथभ्रष्ट हुने मुख्य बाटाहरु के-के हुन्?
उ: १) राक्षसी शक्तिले उसलाई झुटो परिकल्पनातिर मोडिदिन्छ। (यसको लागि ऊ हाम्रो दयाको हकदार हुन्छ।)
२) उसका तर्कहरु त्रुटीपूर्ण र हावादारी छन्। (यसको लागि ऊ हाम्रो पिटाइको हकदार हुन्छ।)
प्र: एउटा सच्चा परिकल्पनाको विशेषता के हो?
उ: मेरो निम्ति परिकल्पना एउटा त्यस्तो कथन हो जसको सत्यता अस्थायी रुपमा मानिएको हुन्छ तर जसको अर्थ सबै शंकाभन्दा माथि हुनुपर्छ।
प्र: 'प्रकृति' लाई बुझ्ने क्रममा एउटा वैज्ञानिकले सामना गर्ने सबैभन्दा ठूला चुनौतीहरु के-के हुन्?
उ: १) भगवान आफूले चाहेअनुसार गर्छन् र उनी कसैको आज्ञा मान्दैनन्।
२) परमेश्वर सुक्ष्म छन्, तर दुष्टचाहिँ उनी छैनन्।
३) मेरो अर्कै विचार छ। हुनसक्छ, ईश्वर दुष्ट छन्।
प्र: विज्ञानको कलासँग के सम्बन्ध छ?
उ: प्राविधिक सीपको एउटा निश्चित उच्चतह प्राप्त गरिसकेपछि विज्ञान र कला एक-अर्कामा विलय हुन खोज्छन् - सौन्दर्यशास्त्र, लचकता र रुपमा। महान् वैज्ञानिकहरु कलाकार पनि हुन्।
प्र: पश्चिमा विज्ञानको विकासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
उ: पश्चिमा विज्ञानको विकास दुइटा महान् उपलब्धिमा आधारित छ: ग्रिसेली दार्शनिकहरुले आविष्कार गरेको औपचारिक तार्किक पद्धति (युक्लिडियन ज्यामितिको रुपमा), अनि व्यवस्थित प्रयोगद्वारा कारण-सम्बन्ध पत्ता लगाउन सकिने सम्भावनाको अन्वेषण (पुनर्जागरण अवधिमा)।
प्र: विज्ञानको क्षेत्रमा हामी कति पर पुगिसकेका छौँ?
उ: लामो जीवनमा मैले सिकेको एउटा कुरा हो: यथार्थको तुलनामा हाम्रो पूरै विज्ञान आदिम र शिशुसमान छ -- यद्यपी यो हामीसँग भएको सबैभन्दा मूल्यवान् वस्तु हो।
प्र: त्यस्तो विरल अवस्था जतिबेला तपाईँको कुनै शोधपत्रको रुखो समीक्षा गरिएको थियो, तपाईंको प्रतिक्रिया के थियो?
उ: अज्ञात समीक्षकका सिफारिसहरुलाई पालना गर्नुपर्ने म कुनै आवश्यकता देख्दिनँ (जो संयोगले त्रुटीपूर्ण हुन्छन्)। उपरोक्त आधारमा म आफ्नो काम अन्यत्र कहीँ प्रकाशित गराउनेबारेमा सोँच्नेछु।
*********************************************************************************** प्रस्तुत भलाकुसारी आधुनिक भौतिक विज्ञानका पिता तथा बिसौँ शताब्दीका 'शताब्दीपुरुष' अल्बर्ट आइन्स्टाइन (१८७९-१९५५) ले विभिन्न विषयमा उनको जीवनको आखिरीतिर व्यक्त गरेका विचारहरुलाई प्रश्नोत्तरको रुपमा ढालेर को नेपाली अनुवाद हो। यहाँ समेटिएका आइस्टाइनका विचारहरु Dan Albert ले Alice Calaprice द्वारा सम्पादित ले तयार पारेको भलाकुसारीThe Ultimate Quotable Einstein बाट लिएका हुन्। तर आइन्स्टाइनसँगको 'गफगाफ' पढ्नुअघि Albert ले सुझाएका चेतावनीहरु यहाँ पनि सान्दर्भिक हुन सक्छन्:
१) आइन्स्टाइनले बुढ्यौलीसँगै अनेक विषयमा आफ्नो धारणा फेरेका थिए।
२) उनका अलिक कडा टिप्पणीहरु आंशिकरुपमा हाँसोमा भनिएका हुन सक्छन्।
३) उनले विज्ञानलाई ज्यादातर एउटा भौतिकशास्त्रीको आँखाले हेरेका छन्।
अन्त्यमा, आइन्स्टानलगायत संसारका थुप्रै महान् वैज्ञानिकहरुलाई एकसाथ देख्न सकिने आधुनिक विज्ञानको स्वर्णिमकाल झल्काउने यो 'आइकोनिक' तस्वीर पनि:
सन् १९२७ मा ब्रसेल्समा सम्पन्न पाँचौँ सोल्वे कन्फरेन्समा लिइएको यस तस्वीरमा देखिएका २९ मध्ये १७ जना वैज्ञानिकहरु कोही त्यतिबेलैका र कोही त्यसपछिका नोबेल पुरस्कार विजेता हुन्। क्वान्टम सिद्धान्तमाथिको तातो बहसमा केन्द्रित उक्त कन्फरेन्समा आइन्स्टाइन र अर्का वैज्ञानिक निल्स बोरबीच चलेको जुहारी पनि निकै चर्चित छ। 'ईश्वरले पासा खेल्दैनन्,' हेइजेनबर्गको 'अनिश्चितताको सिद्धान्त' को आलोचना गर्दै आइन्स्टाइनले भनेका रहेछन्। बोर पनि के कम, उनले मुख फर्काएका रहेछन्, 'आइन्स्टाइन, ईश्वरले के गर्नुपर्छ भन्न छोड।'