Saturday, June 12, 2010

'समयको इतिहास' पढ्दाको अनुभव

नयाँ विषयवस्तुमा कलम चलाउन मेसो नमिलिरहेको अवस्थाको उपज भनौँ वा कम्प्युटरमा सुरक्षित यो पुरानो लेखोटप्रतिको मोह, आज ब्लगमा यसैलाई बाँड्न मन लाग्यो। हुनत यो टाँसो 'पुरानो रक्सी, पुरानै बोतल' जस्तो पनि हुन सक्छ किनभने हकिङको यो पुस्तक आफैँमा नयाँ होइन (पहिलो संस्करण १९८८ मा निस्केको रहेछ) अनि मैले पढेको पनि झण्डै डेढ वर्ष पुग्न थालेछ। तैपनि अहिलेलाई यही पस्किएँ :)

अल्बर्ट आइन्स्टाइनको समयपछिका सबैभन्दा तिक्ष्ण वैज्ञानिक प्रतिभा भनेर चिनिएका भौतिकशास्त्री स्टेफन हकिङद्वारा लिखित चर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम: फ्रम द बिग ब्याङ टु ब्ल्याक होल्स्' (अर्थात् 'समयको संक्षिप्त इतिहास: महाविष्फोटदेखि काला छिद्रहरुसम्म') पढ्ने रहर पहिलेदेखि नै थियो । तर सो रहर पुरा गर्ने मौका भने भर्खरै मात्र जुर्‍यो । वास्तवमा पुस्तकको नाम नै आफैमा अचम्मको छ । हामीले सामान्य अर्थमा बुझ्दा समय त्यस्तो निरन्तर प्रवाह हो जसको न कुनै शुरुवात छ न कुनै अन्त्य नै । तर हकिङको पुस्तक पढ्दै जाँदा थाहा हुन्छ - समयको शुरुवात र अन्त्य त ब्रहृमाण्डको शुरुवात र अन्त्यसँग पो जोडिएको रहेछ । ब्रहृमाण्डको उत्पत्तिभन्दा पूर्व वा ब्रहृमाण्डको विलयपश्चात् समय भन्ने चिजको पनि कुनै अर्थ नहुँदो रहेछ । यर्सथ यो पुस्तक हाम्रो ब्रहृमाण्डको उत्पत्ति, यसको विकासक्रम, वर्तमान स्वरुप र भविष्यबारेको भौतिकशास्त्रीय दृष्टिकोणको नालीबेली हो ।

विभिन्न धर्मशास्त्रहरुले दैवीशक्तिलाई आधार बनाई ब्रहृमाण्डका बारेमा आआफ्नै ढङ्गले चर्चा गरेका भए पनि वैज्ञानिक अवलोकन र अनुसन्धानहरुका आधारमा ब्रहृमाण्डका बारेमा नयाँभन्दा नयाँ जानकारी हासिल गर्ने र अन्तिम सत्य (अल्टिमेट ट्रुथ) सम्म पुग्ने प्रयास भने जारी नै छ । यस पुस्तकमा यिनै प्रयासहरुलाई क्रमबद्ध रुपमा सरल भाषामा प्रस्तुत गरिएको छ । ईसापूर्व ३४० मा ग्रीक दार्शनिक एरिस्टोटलले पहिलोपल्ट पृथ्वी प्लेटजस्तो चेप्टो आकारको नभई गोलाकार भएको दावी गरेका थिए । त्यसपछि विभिन्न कालखण्डमा टोलेमी, कोपर्निकस, केप्लर, ग्यालिलियो आदि वैज्ञानिकहरुले गरेका खोजअनुसन्धानबाट पृथ्वी मात्र होइन, अन्तरिक्षमा रहेका अन्य ग्रह र नक्षत्रहरुको बारेमा समेत बढी विश्वसनीय जानकारी हासिल गर्ने क्रम जारी रहयो । सन् १६८७ मा सर आइज्याक न्यूटनले 'प्रिन्सिपिया म्याथमेटिका' भन्ने पुस्तक पकाशित गरेपछि त झन् गुरुत्वाकर्षण बलको सिद्धान्तका आधारमा ग्रह, उपग्रह आदिको अवस्थिति, तिनको आपसी चाल, तिनले अनुसरण गर्ने कक्ष आदिबारे ठिकठिक जानकारी लिन सम्भव भयो । तर अर्कोतर्फ न्यूटनको यसै सिद्धान्तले ब्रहृमाण्ड स्थीर नभई गतिशील वा विस्तार भइरहेको अवस्थामा रहेको इङ्गित गर्‍यो, जुन कुरा त्यतिबेला न्यूटन आफैलाई समेत विश्वास गर्न गाह्रो भयो । पछि सन् १९२९ मा अमेरिकी खगोल वैज्ञानिक एड्विन हबलले गरेको खोजबाट ब्रहृमाण्ड साँच्चिकै विस्तार भइरहेको पत्ता लाग्यो । यसले ब्रहृमाण्ड स्थीर छ र अनादिकालदेखि यही रुपमा छ भन्ने मान्यतालाइ खण्डन गरिदियो र ब्रहृमाण्डको शुरुवात अनन्त घनत्व भएको अत्यन्तै सुक्ष्म र तातो पिण्डको विष्फोटन अर्थात् 'बिग ब्याङ' बाट भएको हो भन्ने मान्यता स्थापित भयो ।

तर यतिले मात्र ब्रहृमाण्डसम्बन्धि रहस्यहरु सुल्झिएका छैनन्, बरु थुप्रै नयाँ जिज्ञासाहरु थपिएका छन् । ब्रहृमाण्डको व्याख्या गर्न अहिले वैज्ञानिकहरु बीसौं शताब्दीको पूर्वार्द्धका दुई ठूला सिद्धान्तहरु सापेक्षताको सामान्य सिद्धान्त र क्वान्टम यान्त्रिकीको सहायता लिन्छन् । यी दुवै सिद्धान्तहरु आफैमा भौतिक विज्ञानका ठूला उपलब्धि भए पनि यिनीहरु एकआपसमा बाझिने खालका पनि छन्, जसका कारण हकिङ र उनीजस्ता सैद्धान्तिक भौतिकशास्त्रका अनुसन्धाताहरुको लक्ष्य भनेको यी दुवै सिद्धान्त समेटिने गरी 'एकिकृत पूर्ण सिद्धान्त' विकास गर्नु हो । यसै सिद्धान्तलाइ हकिङले 'ब्रहृमाण्डको अन्तिम सिद्धान्त' पनि भनेका छन् । हुनत यस्तो सिद्धान्त अहिलेसम्म अनुसन्धानकै विषय रहिआएको छ तर यस्तो सिद्धान्तका आधार र विशेषताहरुबारे पुस्तकमा सविस्तार चर्चा गरिएको छ । पूर्ण सिद्धान्तसम्बन्धि आफ्नो पछिल्लो खोजलाइ प्रस्टयाउने क्रममा उनले प्रस्तावित 'स्ट्रिङ् सिद्धान्त' को बारेमा समेत उल्लेख गरेका छन्, जसमा कुनै पनि पदार्थ आधारभूत कणहरुको सट्टा लम्बाइ भएका तर मोटाइ नभएका स्ट्रिङ् अर्थात् डोरीजस्ता वस्तुहरुबाट बनेको हुन्छ ।

यदि हकिङ र अन्य भौतिकशास्त्रीहरुले खोज गरेजस्तै ब्रहृमाण्डको अन्तिम सिद्धान्त पत्ता लाग्यो भने त्यसले अहिलेसम्मको मानवीय ज्ञानमा कस्तो प्रभाव पार्ला त? पुस्तकमा यस सम्बन्धमा रमाइलो ढङ्गले वर्णन गरिएको छ । न्यूटनको पालासम्म कुनै पनि एउटा शिक्षित मानिसले मानवजातिले हासिल गरेका ज्ञानहरुको बारेमा मोटामोटी नै भए पनि सम्पूर्ण जानकारी राख्न सक्थ्यो । तर त्यसपछिको समयमा विज्ञान र प्रविधिमा भएको तीव्र विकासले यो कुरा असम्भव बनाउँदै लग्यो । आजको दिनसम्म आइपुग्दा त कुनै सानो विषयवस्तुबारे राम्ररी बुझन समेत सम्बन्धित क्षेत्रकै विशेषज्ञ हुनुपर्ने अवस्था छ । तर 'एकिकृत पूर्ण सिद्धान्त' आइसकेपछि भने यो अवस्था रहने छैन । हकिङ भन्छन् - यस्तो पूर्ण सिद्धान्त एकाध वैज्ञानिकहरुले मात्र नभई वृहत् अर्थमा सबैजनाले बुझ्न सक्नेछन् । त्यतिखेर हामी सबैजना, दार्शनिकहरु, वैज्ञानिकहरु र सर्वसाधारणहरु सँगै बसेर ब्रहृमाण्डको बारेमा छलफल गर्न सक्नेछौं । साँच्चै त्यस्तो समय कति टाढा होला - कल्पना मात्रैले पनि रोमाञ्चित बनाउँछ । रोमाञ्चित नबनाओस् पनि कसरी, यो कुनै काल्पनिक विज्ञान उपन्यासको प्रसङ्ग नभएर वास्तविकतामा आधारित वैज्ञानिक अनुसन्धानले औँल्याएको कुरा पो हो त ।

स्वभाविक हो, सबै मानिसले गल्ती गर्छन् । वैज्ञानिक खोजअनुसन्धानका कममा वैज्ञानिकहरुबाट पनि गल्ती नहुने कुरै भएन । अझ विज्ञानको इतिहास त झन् गल्ती गर्दै र तिनै गल्तीबाट सिकेर थप समृद्ध हुँदै अघि बढेको पाइन्छ । आफूले गरेको एउटा यस्तै गल्तीलाइ स्वीकार्दै हकिङ भन्छन् - गल्ती नस्वीकारी अघि बढेर गल्तीमाथि गल्ती गर्दै जानु वा त्यसबाट पन्छिन खोज्नुभन्दा लिखित रुपमा गल्ती स्वीकार्नु धेरै बेस हो । यस सन्दर्भमा उनले आइन्स्टाइनलाई असल उदाहरणको रुपमा लिएका छन्, जसले ब्रहृमाण्डलाई स्थीर देखाउनका लागि प्रयोग गरेको 'ब्रहृमाण्डीय अचल' (कस्मोलोजिकल कन्स्ट्यान्ट) लाई पछि आफ्नो जिन्दगीको सबैभन्दा ठूलो गल्ती भनेका थिए ।

यस पुस्तकको सबैभन्दा ठूलो विशेषता भनेकै भौतिकशास्त्रका सामान्यदेखि जटिलसम्मका सिद्धान्तहरुलाई साधारण मानिसले बुझ्ने भाषामा व्याख्या गर्दै ब्रहृमाण्डसम्बन्धि अध्ययनमा तिनको अन्तर्सम्बन्ध केलाइनु हो । आफू पनि विज्ञान र प्रविधि क्षेत्रकै एउटा विद्यार्थी भएको हिसाबले मैले अनुभव गरेको कुरा के हो भने जुन सिद्धान्त र परिकल्पना (हाइपोथेसिस) हरु पाठयपुस्तकमा पढ्दा अत्यन्तै पट्यारलाग्दा र अमूर्त लाग्छन्, तिनै कुरालाई यस पुस्तकमा यति चाखलाग्दो तरिकाले वर्णन गरिएको छ कि नजानिंदो पाराले विज्ञान र त्यसमा पनि भौतिकशास्त्रप्रतिको मोह चुलिएर जान्छ । ब्रहृमाण्डको व्याख्या गर्ने क्रममा आउने विभिन्न वैज्ञानिकहरु र उनीहरुले गरेका खोजअनुसन्धानका चर्चाहरु तथा तीसँगै जोडिएर आउने नोबेल पुरस्कारका प्रसङ्गहरुले त पुस्तकलाई एकैसासमा पढी सिध्याउन पाए हुन्थ्योजस्तो बनाइदिन्छन् ।

समष्टिमा भन्नुपर्दा यो पुस्तक ब्रहृमाण्डको भूत, वर्तमान र भविष्यबारे तर्कपूर्ण जिज्ञासा राख्ने सबैले एकपटक पढ्नैपर्ने पुस्तक हो । अझ त्यसमा पनि विज्ञानका विद्यार्थीहरुले त यो पुस्तक छुटाउनु नै हुँदैनजस्तो लाग्छ ।

२०६५/१०/०९
पाटनढोका, ललितपुर

6 comments:

  1. पुस्तक अत्यन्तै रोचक छ, त्यसमा द्विविधा छैन ; तर्क, उत्सुकता, बिज्ञान र कल्पनाले भरिपूर्ण ! पन्थीजीको विश्लेषण पनि निकै गहकिलो छ l एकपल्ट पढ्नैपर्ने किताब छ है यो !

    ReplyDelete
  2. मैले पनि करिव एक वर्ष अगाडि पढेको हो यो किताब।

    सुरुमा आफू विज्ञानको विद्यार्थी नभएको र भौतिक विज्ञानवारे अत्यन्तै कम जानकारी राख्ने भएकोले बुझीदैन कि भनेर सोचेको थिएँ तर साच्चै नै सम्भव भएसम्मको सरल छ यो किताब ।

    माथी ध्रुवजीले भन्नुभएजस्तै एकदमै प्राविधिक विषय भएपनि अत्यन्तै सरल भाषामा लेखिएको छ र म पनि उपलब्ध भएको र फुर्सद भएको अबस्थामा सबैलाई यो किताब पढ्न सल्लाह दिन्छु ।

    ReplyDelete
  3. राम्रो विश्लेषण गर्नुभयो एउटा उत्कृष्ट र अमर कृतिको! मैले पनि केहि वर्ष पहिला पढेको हुँ र अब फेरि पढ्ने विचारमा छु।

    ReplyDelete
  4. अमूल्य प्रतिक्रिया दिनुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु।

    ReplyDelete
  5. निकै समय हराउनु भयो त पन्थिजी, समयको इतिहास खोज्न आफैं निस्कनु भयो कि क्या हो ?

    ReplyDelete
  6. केही (अस्त)व्यस्तताले गर्दा मात्रै हो सर। समयको इतिहास खोज्ने जिम्मा त हकिङ दाइहरुको छँदैछ नि :)

    ReplyDelete