Sunday, November 8, 2009

विज्ञान, वैज्ञानिक र हाम्रो नियति

नेपाल ईन्जिनियर्स एशोसिएसन जापान च्याप्टरले टोकियो विश्वविद्यालयमा आयोजना गरेको आजको वर्कशपमा विशुद्ध अध्ययन अनुसन्धानका अतिरिक्त थुप्रै समसामयिक विषयमा सुसूचित हुने अवसर जुर्‍यो। यसै क्रममा डा. सूर्यराज आचार्यले उठाउनुभएको एउटा प्रसंगले आफूलाई पनि केही समयदेखि खट्किरहेको यस विषयमा केही लेख्दैछु।

डा. आचार्यले उठाउनुभएको त्यो प्रसंग थियो - विज्ञान र प्रविधिको क्षेत्रमा हाम्रो टिठलाग्दो अवस्था झल्काउने गरी केही दिन अघि एउटा राष्ट्रिय दैनिकमा छापिएको ब्यानर न्यूज। साधनस्रोतको कमी र भौतिक विकासमा पछि परेको कुरा त छँदैछ, त्योभन्दा पनि विज्ञान-प्रविधिमा हाम्रो सोचाइको स्तर कति पछाडि छ भन्ने दर्शाउने शायद त्यो एउटा प्रतिनिधि समाचार थियो। यस्ता खबरहरु नेपाली मिडियामा आइरहन्छन्। हाइस्कूल/प्लस टूमा पढ्दै गरेका वा अन्य कोही सिकारु व्यक्तिलाई रातारात 'वैज्ञानिक' बनाइदिन पछि पर्दैनन् नेपाली मिडियाहरु। तर 'नेपालमा नयाँ आर्किमिडिज' शिर्षकको पछिल्लो समाचार अझ बढी ताज्जुबको किन थियो भने आर्किमिडिजको सिद्धान्त गलत सावित गर्ने विद्यार्थी गणितमा स्नातकोत्तर गर्दै रहेछन् र उनको दावीसँग सहमत हुनेमा एकजना फिजिक्स टिचर पनि रहेछन्। आजको युगको अध्ययन अनुसन्धानको प्रकृति प्राचीन ग्रीसको वा सत्रौँ-अठारौँ शताब्दीतिरको यूरोपको जस्तो पक्कै छैन। कुनै पनि सिद्धान्त अकाट्य हुन्छ भन्ने होइन तर आर्किमिडिजको सिद्धान्तजस्तो आधारभूत सिद्धान्तलाई नेपालका प्रयोगशालामा गलत प्रमाणित गरिएछ भन्ने सुने भने हामीमाथि कति हाँस्लान् विज्ञानको अनुसन्धानको बारेमा सामान्य ज्ञान मात्रै राख्ने मान्छेहरु समेत।

हुनत सम्बन्धित मिडियाकर्मीहरुको आशय राम्रो होला; सीप र प्रतिभा भएका अनि केही उदाहरणीय काम गर्न खोजेकाहरुलाई प्रोत्साहन गर्नु पक्कै पनि राम्रो हो। तर समस्या के हो भने साधारण पत्रकार मात्र होइन, राष्ट्रिय पत्रिका चलाएर बस्ने बडेबडे सम्पादकहरुलाई पनि थाहा छैन आविस्कार केलाई भनिन्छ वा वैज्ञानिक कसलाई भनिन्छ। थाहा हुँदो हो त कहिले नयाँ आर्किमिडिज जन्मेको अनि कहिले प्लस टू पढ्ने कुनै विद्यार्थीले अल्वर्ट आइन्स्टाइनको सिद्धान्तलाई गलत सावित गरिदिएको भनेर हाहोमै चाहिनेभन्दा ज्यादा महत्व दिएर लेखिएका यस्ता समाचार पढ्नुपर्थेन होला।

मेरो कुरा कसै-कसैलाई पटक्कै चित्त नबुझ्ला तर हामी आशावादी वा सकारात्मक बन्ने नाममा दिग्भ्रमित बन्नु पनि त जाती हुँदैन होला। केही समय अघिसम्म म पनि यस्ता समाचारलाई सकारात्मक ढंगले लिनुपर्छ भन्ने सोच्थेँ तर म गलत रहेछु भन्ने त्यतिखेर थाहा भयो जतिखेर एकन्ताक 'हेलिकप्टर वैज्ञानिक' भनेर मिडियाद्वारा चर्चामा ल्याइएका नवीन विश्वकर्माको बारेमा धेरै अन्तरालपछि एउटा टेलिविजन कार्यक्रममार्फत जान्ने अवसर पाएँ। उनी रुकुमको दुर्गम गाउँका बालक थिए तर रहर र परिश्रमले हेलिकप्टरको दुरुस्त मोडेल बनाउन सफल भएका थिए। नवीनको सिर्जनशीलता र लगन मुक्तकण्ठले प्रशंसा गर्न लायकको थियो। तर काठ वा फलामबाट हेलिकप्टरको मोडेल (आर्किटेक्चर) बनाउनु र वास्तविक हेलिकप्टरको विज्ञान बुझ्नु अनि त्यसलाई व्यवहारमा उतार्नुमा आकाश-जमीनको अन्तर थियो। त्यसैले स्वभाविक रुपमा उनको सिर्जनशीलताले चर्चा त पायो तर सही दिशा पाएन। केही समाजको (अतिरन्जित) अपेक्षा र केही आफ्नो रहरका कारण उनीभित्र हेलिकप्टर बनाउने धुन त अझै छ होला तर निराशा र गुनासो बढी सुनिन्थ्यो उनको बोलीमा।

नवीनको जस्ता कथा बोकेका अरु पनि थुप्रै होलान्। आज मिडियाले किशोर र युवा 'वैज्ञानिक' बनाइदिएकोमा दंग पर्दा भोलिको सही बाटो पहिल्याउन चुकियो भने दु:ख भोग्ने तिनै किशोर र युवाहरु हुनेछन्। र, हामी हाम्रो कमजोरी थाहा पाउनेतर्फभन्दा पनि नियतिलाई धिक्कार्नेतर्फ लाग्ने छौँ। यसको मतलब हामी सधैं हीन सोच राखेर, विज्ञान बुझ्नु वा वैज्ञानिक बन्नु भनेको हाम्रो वशको कुरा होइन भनेर पुर्पुरोमा हात लगएर बस्ने पक्कै पनि भन्न खोजिएको होइन। कुरो के मात्रै हो भने हामी दुनियाँ कता गैरहेको छ भन्ने वास्तविकतासँग पनि परिचित हुनुपर्‍यो। अरुहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो क्षमतामा निखार ल्याउनेतिर सोच्नुपर्‍यो। आखिर नेपालीका छोराछोरीले विदेशीलाई समेत हाँक दिएका वास्तविक सफलताका कथा पनि त छन् नि हैन र? बाग्लुङको एउटा स्कूले किशोरले सोलार प्यानल जोडेर गाडी चलाएर देखाउँछ भने उसको सिर्जनशीलतालाई सकारात्मक बाटोतिर कसरी डोर्‍याउने भन्नेतिर मिडियाले प्रचार गरिदिने हो। उसलाई सोलार कार वैज्ञानिक वा उसको कार्यलाई प्राविधिक चमत्कार भनेर फूलबुट्टा भर्ने होइन।

तपाईंलाई कस्तो लाग्छ कुन्नी?

8 comments:

  1. ”उसलाई सोलार कार वैज्ञानीक वा उसको कार्यलाई प्राविधिक चमत्कार भनेर फूलबुट्टा भर्ने होइन।”
    This one is nice point. The media in Nepal are completely not responsible or they may lack of far sighted knowledge too.

    ReplyDelete
  2. Thank you so much Rajendra for your comment.

    ReplyDelete
  3. ध्रुव जी, म तपाईको विचारप्रति पूर्ण सहमत छु । मैले पनि नयाँ पत्रिकामा आर्किमिडिजको सिद्धान्तलाई गलत साबित गरिएको समाचार पढेको हुँ । समाचार पढे पश्चात निकै आश्चर्य चकित एवं खुशी भएकोे थिएँ । अब वैज्ञानिकको दृष्टान्त दिन विदेशीको नाम लिनु पर्दैन भनेर, अधिक मात्रामा जलविद्युत पनि उत्पादन गर्न सकिन्छ भनेर तर अफसोच जुनदिन समाचार आयो त्यसै दिन त्यो सेलाएर गयो । जसलाई अरु सञ्चारमाध्यमहरुले ‘फओअप’ गरेको थाहा पाइनँ ।

    सञ्चारकर्मीहरुले मसालेदार समाचर पस्किएर हंगामा मचाउनुभन्दा सत्यता र विश्वसनीयतालाई ध्यान दिए राम्रो हुन्थ्यो कि ? साथै नेपाली यूवाहरुलाई पनि हौसला चाहिएको छ, उनिहरुलाई सबैको समर्थन आवश्यक हुन्छ । हौसला र समर्थन दिन पनि जान्नुप¥यो अबका दिनमा ।

    ब्लग निकै राम्रो लाग्यो । दिलीप दाईबाट चियाउँदै तपाईको ब्लग भित्र प्रवेश गरेको निकै राम्रो लाग्यो मलाई । आजदेखि तपाई एक पाठक बढेको छ है । ब्लग निरन्तरताको शुभकामना छ तपाईलाई ।

    www.onlinekhaskhas.blogspot.com

    ReplyDelete
  4. राजेशजी, प्रतिकृया दिई हौसला बढाइदिनुभएकोमा धेरै-धेरै आभारी छु। तपाईं आफै पत्रकारितामा संलग्न हुनुहुँदो रहेछ, मेरो विचारमा सहमति जनाउनुभएको देखेर फुरुंग पनि भएको छु :) आगामी दिनमा पनि तपाईंका रचनात्मक सुझाव र प्रतिकृयाको आशा गर्दछु।

    ReplyDelete
  5. यसपालि NEA-JCको कार्यक्रममा जाने मेसो मिलेन, छलफलको केहि सार यहाँ राखिदिनुभएकोमा धन्यबाद!
    हाम्रो देशमा पढ्ने, अपडेट हुने कुरालाई त्यति महत्व दिईँदैन। अझ त्यसमा पनि अन्त सबैतिर 'अलपत्रकार' भईसकेपछि 'पत्रकार' हुने चलन छ। अरुलाई सूसूचित गर्नुपर्ने मान्छे आफैंले अँध्यारोमा गोली हानेपछि यस्तै हो।

    सान्दर्भिक र सामयिक टाँसोका लागि फेरि पनि धन्यबाद!

    ReplyDelete
  6. हौसलाका लागि धन्यवाद वसन्त सर। मलाई पनि NEA-JC को कार्यक्रममा सरसँग भेट भैहाल्छ कि जस्तो लागेको थियो। आशा छ, चाँडै कुनै संजोग जुर्ला।

    ReplyDelete
  7. ध्रुव सर, निकै राम्रो कुरा उठाउनुभएको रहेछ तपाईँले। यस्तै 'हाँक', 'चुनौति', 'पुष्टि', मा मिडिया रूचि राख्दछ, र समाज पनि। सोचिन्छ, बसिसकेको नियमलाई नहल्लाई गरिएको शोध वा लेखिएको पेपर के काम। शायद मिडियाले नबुझेकै कारण होला, सूचनालाई अतिरञ्जित पारेर मासलाई उराल्ने खालका विषयहरुले मात्र स्थान पाउँदछन, विज्ञानका नाममा। साँच्चै नै खेदजनक छ। तर साँचो-झूठो के हो भनेर कसैले नसिकाए यो रीति रहिरहने पक्का छ। त्यसैले मैले गल्ती भेटेँ भने सच्याउने, सम्झाउने, सिकाउने, र उस्तै परेमा गिज्याउने (नेपाली मिडिया लास्टै चाम्रो पो छ त हाहा) विचार गरेको छु। थाहै नभएकालाई नभनी, नसिकाई बुझ्लान भनेर आशा गर्नु पनि बेकारै त छ आखिरमा।

    तपाईँको कमेन्टका लागि धन्यवाद। र यो लेखका लागि थप धन्यवाद! :)
    (यो साइटले मलाई log in गर्न दिएन, त्यसैले anonymous बाट पोस्ट गर्दै छु। -जुजुमान)

    ReplyDelete
  8. हार्दिक धन्यवाद जुजुमानजी, ब्लगसम्म पाल्नुभएकोमा र विचारपूर्ण टिप्पणी गर्नुभएकोमा। तपाईंले भनेजस्तै नेपाली मिडियालाई सच्याउने, सम्झाउने, सिकाउने, र उस्तै परेमा गिज्याउने (अझ म त घोँच्ने, चिमोट्ने पनि भन्छु :) ) नगरी हाम्रो कर्तव्य पनि पूरा हुँदैन।

    ReplyDelete