शायद
हाम्रो 'जीन' नै त्यसैगरी विकास भैसकेको छ। हामीलाई सानो कुरा गर्न पटक्कै मन लाग्दैन।
हरेक मान्छे आफ्नो पेशा-व्यवसाय आदिसँग सम्बन्धित काम र कर्तव्यहरुबाट बाँधिएको हुन्छ।
त्यसमाथि पृष्ठभूमि, तालीम, अनुभव आदिका आधारमा मान्छेका आ-आफ्ना सीप, दक्षता र रुचीका
क्षेत्रहरु हुन्छन्। तर हाम्रा लागि त्यस्ता काम, कर्तव्य, सीप, दक्षता, रुची इत्यादि
भनेका गौण कुरा हुन्। प्रधान कुरा त 'देश बनाउने', 'देशको नाम राख्ने' पो हो। यस्तो
दिव्य ज्ञान बोकेका हामीहरुले सानो कुरा गर्न कसरी जान्नु! सबुत-प्रमाणका लागि धेरै
टाढा जानु पर्दैन। एउटा अनलाइन पत्रिकामा फागुन २८ (मार्च १२) मा एकैदिन छापिएका दुईवटा
प्रतिनिधि समाचारहरु नै पर्याप्त छन्।
तलदेखि
माथिसम्म सबैलाई 'देशको नाम राख्ने' भूत सवार भएको देशमा संविधान सभाका माननीय सभासदहरुलाई
पनि 'देशको नाम राख्ने' केही काम गर्ने रहर जाग्नु अस्वभाविक भएन। त्यसैले आफूलाई प्रगति
र अग्रगमनको पर्याय ठान्ने पार्टीका दुईजना 'साहसी' सभासदहरुले संविधान सभाबाट ४५ दिनको
विदा लिएर सगरमाथा आरोहण गर्ने तयारी गर्दै रहेछन्। लाटो बुद्धिले हेर्दा सभासदहरुको
काम, कर्तव्य वा उपलब्धि भनेको संविधान निर्माणमा उनीहरुको योगदान हो र उनीहरुका क्रियाकलापहरु
त्यसैतर्फ केन्द्रित हुनुपर्ने हो। तर 'देशको नाम राख्ने' महान् बुद्धिले त्यसो भन्दो
रहेनछ। यस महान् बुद्धिले त 'विश्वमै नभएको' काम गर्ने भन्दो रहेछ। निर्लज्जताको पराकाष्ठा
नाघ्ने धेरै कामहरु संसारमा हुन बाँकी नै छन्। त्यस्तै एउटा 'अनुपम' काम होला, आफ्नो
जिम्मेवारीलाई विद्रुप ठट्टा बनाउँदै सगरमाथाको टाकुरामा पुगेर 'विश्वमा नयाँ सन्देश'
दिने पनि। पर्वतारोहण आफैमा एउटा साहसिक काम हो, त्यसमा पनि सगरमाथाको शिखर चुम्ने
काम त पर्वतारोहणमा लामो अनुभव र रुची भएकाहरुका लागि समेत एउटा ठूलो र रोमाञ्चक चुनौती
हो भन्ने कुरामा शंका छैन। तर त्यही काम आफ्नो तोकिएको काम र कर्तव्यको खिल्ली उड्ने
गरी कसैले गर्छ र उल्टो 'रेकर्ड' राख्छु भन्छ भने त्योभन्दा ठूलो पाखण्ड के होला! फेरि
एकपछि अर्को गरी यस्तै पाखण्डी क्रियाकलापहरु 'अनुमोदन' गरेर हामीले तर्कसंगत र तर्कहीन
कुराहरुबीचको भेद पनि मेटिसकेका हौँ कि! कुरा पक्कै पनि यी दुईजना सभासदहरुको मात्रै
होइन। कुरा त आफ्नो काम, कर्तव्य र जवाफदेहिताबाट च्यूत हुँदै 'देशको नाम राख्ने' लहडबाजहरुको
हो र त्यस्तो लहडबाजीलाई संस्थागत गर्ने हाम्रा राजनीतिक दलहरु, नागरिक समाज, संचारमाध्यम
र पछिल्ला वर्षहरुमा हामीले विकास गरेको समग्र 'संस्कार' को हो।
सगरमाथालगायत
हाम्रा मनोरम हिमश्रृंखलाहरु अवलोकन गर्न, पदयात्रा आदि गर्न नेपाल आउन चाहने थुप्रै
पर्यटकहरु सिधा हवाइसम्पर्कको अभावमा वैकल्पिक गन्तव्य खोज्न बाध्य छन्। सिधा हवाइसम्पर्कको
अभावका बाबजुद नेपाल आउन चाहने पर्यटकहरु समेत देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको 'ख्याती' सुनेर उतै रोकिने वा केही गरी नेपाल आइहाले पनि यहाँको बेथिति र चरम अव्यवस्था
देखेर 'खुइय्य' गर्दै फर्कनुपर्ने स्थिति छ। अरु कुरा छाडेर सगरमाथाकै मात्र कुरा गर्दा
पनि पछिल्लो समयमा त्यहाँ फोहरमैला व्यवस्थापनलगायतका वातावरणीय समस्याहरु टड्कारोरुपमा देखिन थालेका खबरहरु आइरहेका छन्। यस्ता समस्याहरुका विषयमा संवेदनशील हुँदै
तिनको समाधानका लागि सिर्जनात्मक प्रयास गरेर 'विश्वलाई नयाँ सन्देश' दिनेतर्फ हाम्रो
ध्यान जाँदैन। बस्, एउटा उट्पट्याङ काम गर्यो, सकिन्छ भने त्यसकै नाममा जनताले आफ्नो गास काटेर तिरेको कर दुरुपयोग गर्यो अनि त्यसैलाई 'महान्' र 'ऐतिहासिक' भन्यो, हामीले जानेको-सिकेको यत्ति हो क्यारे! हाम्रो 'चेतनास्तर उठेको' पनि यही हो क्यारे!
त्यसैदिनको अर्को समाचार अनुसार 'नेपाललाई विश्वमा चिनाउन' विश्व साइकलयात्रामा निस्केका
एकजना नेपाली अमेरिकाको ग्रीनकार्ड लिएर उतै एउटा रेस्टुरेन्टमा काम गर्दै बस्न थालेका
रहेछन्। औपचारिक रुपमा देशको प्रतिनिधित्व गर्दै विदेश जाने र सोही 'मौका' मा उतै भासिने
खेलाडी, कलाकारदेखि देशको उच्च ओहोदामा पुगिसकेर पनि विदेशमा 'शरणार्थी' हुन किञ्चित
संकोच नमान्ने नेता, राजदूतसम्मको कमी नभएको देशमा एकजना साइकलयात्रीको बारेमा आएको
यो समाचार नयाँ भए पनि खासै आश्चर्यजनक भने छैन। आश्चर्यजनक त हामीले समाजमा स्थापित
गरेको 'देशप्रेम' को मानक छ। अन्य थुप्रै सोख र रुचीजस्तै हो साइकलयात्रा पनि। त्यसैले
साइकलयात्रामा रुची राख्ने मान्छे आफ्नो साइकल लिएर देशभित्र वा विदेशसम्म यात्रामा
निस्कनु अनौठो कुरा होइन। फेरि उसको यात्राका लागि केही मनकारीहरुले थोरैधेरै आर्थिक
सहयोग गर्छन् भने त्यो पनि अनौठो कुरा भएन। तर यस्तो साइकलयात्रालाई कसैले 'देशको नाम
राख्न' को लागि गरेको भन्छ र उसलाई सहयोग गर्नेहरुले पनि 'देशको नाम राख्ने' गहिरो
भावनामा डुबेर सहयोग गर्छन् भने त्योचाहिँ अनौठो कुरा हो। यसो भनिरहँदा मैले साइकलयात्राका
माध्यमबाट बाँड्न सकिने केही सन्देश र प्रचारप्रसारका कुरालाई पूरै नकार्न खोजेको होइन।
तर यस्ता यात्रा वा क्रियाकलापहरुलाई आवश्यकताभन्दा बढी देशप्रेम र देशको चिनारीसँग
जोड्नुचाँहि हाम्रो मूर्खता मात्रै हो।
यी
प्रतिनिधि समाचारहरुले उदाङ्गो पार्छन, देशप्रेम वा देशको नाम राख्ने कुरा कति हलुका
छ हाम्रो लागि। तर निर्मम सत्य के हो भने जबसम्म विश्व मानचित्रमा हामी 'भिखारी देश'
को हैसियतबाट माथि उठ्न सक्दैनौँ, तबसम्म हामीले 'विश्वलाई दिने सन्देश' एउटा कारुणिक
'ठट्टा' भैरहनेछ। 'भिखारी' को देशको हैसियतबाट माथि उठ्न भने हामी आफ्नो स्वैरकल्पनाको
संसारबाट बहिर निस्कन सक्नुपर्छ। हामीले हाम्रो वर्तमान सम्पन्न र गर्वलायक बनाउन सक्यौँ
भने सगरमाथा र लुम्बिनी नेपालमा छन् भनेर विदेशीहरुसँग व्यग्र भएर भनिरहनै पर्दैन।
सगरमाथा र लुम्बिनीको सन्देश विश्वलाई दिने भनेर नानाथरि उट्पट्याङ पनि गर्नु पर्दैन।
हामीले साँचो अर्थमा उपलब्धिपूर्ण काम गर्न सक्यौँ भने त्यसको सन्देश लिन मान्छेहरु
आफै आउने छन्, हामीले 'हाम्रो सन्देश लिइदिनुहोस्' भनेर उनीहरुसँग रोइकराइ गर्नुपर्ने
आवश्यकतै पर्ने छैन।
देशको
चिनारीका लागि पहिलो र अपरिहार्य कदम भनेको हामी आफ्नै काम-कर्तव्यमा लगनशील र इमान्दार
हुनु हो। जुन दिनदेखि हामी सबैले 'देश बनाउने काम' छोडेर आ-आफ्नो जिम्मेवारी निष्ठापूर्वक
पूरा गर्न थाल्ने छौँ, त्यो दिनदेखि देश आफैँ बन्न थाल्नेछ वा कम्तीमा देश बन्ने लक्षणहरु
देखिन थाल्ने छन् । देश बन्ने र चिनिने सिर्जनात्मक र उत्पादनमूलक कामहरुले हो, सस्तो
प्रचारका लागि गरिने 'कीर्तिमानी' कामहरुले होइन। हामी सबैको घैँटोमा बेलैमा घाम लागोस्!
![]() |
तस्वीर श्रोत: http://www.cartoonstock.com/directory/m/mountaineering.asp |
(मार्च १५, २०१५)