केही दिन पहिले ल्याबबाट साथीहरु मिलेर हिउँमा चिप्लेटी खेल्न जाने कुरा निस्कियो। कुरा रमाइलै भए पनि हिउँमा चिप्लेटी खेलेको आफ्नो कुनै अनुभव नभएका कारण के भन्नु के भन्नु! फेरि सामान्यतया नेपाल नपुगेका सबै विदेशीजस्तै जापानीहरु पनि नेपाल भनेपछि हिमालयको देश, जताततै हिउँ नै हिउँ होला भन्ठान्छन्। उनीहरुलाई के थाहा कि हिउँको मुखै नदेखेका नेपाली कति छन् भनेर। म आफैले पनि एकपटक मात्र हिउँसँग परिचित हुने मौका पाएको थिएँ नेपालमा छँदा। २०६३ सालको हिउँदमा हेटौँडाबाट अफिसका साथीहरुसँगै दामन पुगिएको थियो जीवनमा पहिलोपल्ट हिउँको दर्शन गर्न। धन्न त्यतिसम्म अनुभव बटुलेका कारण हिउँ नै देखेको छैन भन्नुपरेन जापानीहरुसँग। तर चिप्लेटी खेल्न (स्नोबोर्डिङ) चाहिँ फिटिक्कै आउँदैन भनेर भन्नैपर्यो। एउटा जापानी साथी पनि रहेछ स्नोबोर्डिङको खासै अनुभव नभएको। ल हामी सँगै सिकौँला नि त भन्न थाल्यो उसले। त्यसपछि मैले पनि हुन्छ भनेर हिउँमा चिप्लेटी खेल्न जाने निधो गरेँ।
हिउँमा खेल्ने ठाउँसम्म पुग्न टोकियोबाट केही घण्टाको यात्रा तय गर्नुपर्ने भएकोले बिहानै हिँड्नुपर्ने थियो। यसै त बिहान अबेलासम्म सुत्ने बानी, त्यसमाथि बिदाको दिनमा बिहान छ बजे स्टेशनमा भेट हुनका लागि चारै बज्ने उठ्नुपर्ने कुरो मेरा लागि टाउकामा हाने बराबर नै थियो। तर के गर्नु उठ्नु त परिहाल्यो। काठमाण्डौँ-घर गर्दा यसरी नै बिहानबिहानै उठेर हिँड्ने गरेको याद पनि ताजा भयो यसरी झिसमिसे हुन नपाउँदै उठेर हिँड्नुपर्दा। टोकियोको टोकियो नै भन्ने स्टेशनको ‘मिनामी गुची’ (south exit) मा भेट हुने कुरा भएको थियो चे दाइ - (मेरो ल्याबका पिएचडीमा अध्ययनरत सिनियर विद्यार्थी, हुनत उनी कोरियाका हुन् तर बोलीचालीदेखि हर हिसाबले जापानी नै लाग्छन् मेरा लागि) सँग। तर त्यति ठूलो स्टेशनमा उनले भनेको ‘मिनामी गुची’ र मैले बुझेको ‘मिनामी गुची’ कताको कता परेछ। लगभग आधा घण्टाजति अलमलमा यता र उता दौडेपछि बल्ल भेट भयो चे दाइ र अरु दुई साथीहरुसँग। धन्न बस छुट्ने समय नाघिसकेको रहेनछ र अरु विघ्न केही परेन।
बसमा पूरै पाँच घण्टा नै लाग्यो गुन्मा भन्ने प्रिफेक्चरमा पर्ने स्नो रिसोर्टसम्म पुग्न। स्नो रिसोर्ट आइपुग्नै लाग्दा बसबाट यसो बहिर चिहाएको त मजाले घाम लागिरहेको बेला पनि फुसुफुसु हिउँ झरिरहेको रहेछ। यसरी पहिलोपल्ट फुसुफुसु झरिरहेको हिउँ त्यो पनि घाम लागिरहेको बेलामा देख्न पाउँदा मन रोमाञ्चित नहुने कुरै भएन। बाटोको छेउमा र वरपर थुप्रिएको खातका खात हिउँ अनि हिउँले लछप्पै ढाकिएका घरका छाना, रुखका हाँगाबिँगा आदि पनि पहिलोपल्ट देख्दै थिएँ म।
बसबाट ओर्लिनेबित्तिकै हिउँमा खेल्न अनुकूलका जुत्ता-कपडा पहिरेपछि आ-आफ्ना बोर्ड बोकेर लागियो हिउँको एउटा पाखोतिर। चिप्लेटी खेल्नु त परैको कुरा, स्नोबोर्डमा त उभिन मात्रै पनि ठूलै अक्कल चहिने रहेछ। त्यसैले शुरुमा यसो उभिन मात्रै जान्दा पनि के-के नै गरेजस्तो लाग्यो। त्यही जोशमा उभिने, केही परसम्म चिप्लिने र पछारिने क्रममा चिप्लिनेभन्दा पछारिने कर्म बढि भयो। शुरुमा त त्यति चाल पाइएन तर विस्तारै पछाराइको पीडा अनुभव हुन थाल्यो। पछारिन पनि ढंग पुर्याएर जीउलाई कम चोट पर्ने गरी पछारिएको भए पो हुन्छ, मनपरी पछारिएपछि पीडा हुनु र चाँडै थाक्नु स्वभाविकै भयो। जब उभिएर चिप्लिन पनि अलि अलि सिकेजस्तो लाग्दै थियो, जीउ एक हिसाबले थिलोथिलो भैसकेको थियो। त्यसैले अर्कोपटक चाहिँ अलि ढंग पुर्याएर चिप्लेटी खेल्नुपर्ला भनेर आफैलाई सान्त्वना दिँदै थकाइ मार्न छेउतिर लागियो। स्नोबोर्डिङमा त्यति अभ्यस्त नभएको जापानी साथीको हालत पनि मेरैजस्तो रहेछ लगभग। त्यसैले अरु दुईजनालाई त्यहीँ छोडेर हामी दुई पेटपूजा गर्ने मेसोमा तलतिर लाग्यौँ।
बस फर्किने समय हुन अब केहीबेर मात्र बाँकी थियो। त्यसैले अरु दुईजना साथी पनि चाँडै नै तल आइपुगे। जापानीहरुको बानी नै भनौँ, सानो कुरामा पनि फुर्काइहाल्ने। त्यसैले मलाई पनि पहिलो प्रयासमै खुब राम्रो गरेको भन्न बाँकी राखेनन् जापानी साथीहरुले तर मैले कति सिकेको थिएँ, त्यो त आफ्नै ठाउँमा थियो।
करिब चार घण्टा हिउँको संसर्गमा बिताएपछि पुन: पाँच घण्टाको बस यात्रा पूरा गरेर टोकियो आइपुग्दा राति लगभग दश बजेको थियो। सिन्जुकु भन्ने ठाउँमा बसबाट ओर्लिएर रामेन (जापानी चाउचाउ) खाइवरी कोठासम्म आइपुग्दा बाह्र नै बज्यो। जीउ मजाले थाकेकोले र अघिल्लो दिनको निद्रा पनि कचल्टिएकोले राति त चाँडै नै भुसुक्क भइएछ। तर जीउ साँच्चिकै कति थाकेछ भन्ने चाहिँ भोलिपल्ट बिहान बल्ल महशुस हुँदै थियो।